पहिरोले महाकाली राजमार्ग अवरुद्ध
बैतडी । पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्तरगत दोगडाकेदार गाउँपालिका–५ सलसेनामा आज बिहान पहिरो खसेको हो । पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्घ भएको प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए । सडकमाथिबाट खसेको पहिराले राजमार्ग ठप्प छ । राजमार्ग अवरुद्घ हुँदा दार्चुलाका लागि छुटेका गाडी र दार्चुलाबाट छुटेका गाडीहरु अहिले बीचबाटोमै रोकिएका छन् । राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय र स्थानीय निकायसँग समन्वय भइरहेको प्रहरी नायव उपरीक्षक रायले बताए । यसअघि मङ्गलबार पनि पहिरोका कारण उक्त राजमार्ग अवरुद्ध भएको थियो ।
सागर डिष्टिलरीको आईपीओ खरिद गर्ने समय लम्बियो, अब कहिलेसम्म आवेदन दिन पाइन्छ ?
काठमाडौं । सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने समय थप गरिएको छ । भदौ ३० गतेदेखि बिक्री खुला गरिएको कम्पनीको आईपीओमा अब सर्वसाधारण लगानीकर्ताहरुले असोज ५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत अर्थात् १४ करोड ५२ लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १४ लाख ५२ हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये पहिलो चरणमा १० प्रतिशत अर्थात् १ करोड ४५ लाख २० हजार रुपैयाँको १ लाख ४५ हजार २ सय कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ । साथै, ५ प्रतिशत अर्थात् ७२ हजार ६०० कित्ता सामूहिक लगानी कोष, ४३ हजार ५६० कित्ता कर्मचारीलाई छुट्याएर बाँकी रहेको ११ लाख ९० हजार ६४० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिङ्गल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व पुरा गर्न सक्ने अवस्थामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयर बिक्री खुला, यसरी दिन सकिन्छ आवेदन
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले असोज २ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले हाल कायम चुक्ता पुँजी २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँको १ सय प्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको हो । बैंकले २६ करोड २४ लाख ६७ हजार ६ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । हकप्रद सेयर बिक्रीपश्चात् बैंकको चुक्ता पुँजी ५२ करोड ४९ लाख ३५ हजार २ सय रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ बैंकले भदौ ९ गते बुकक्लोज गरेको थियो । त्यसैले भदौ ८ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरुले हकप्रद सेयरमा आवेदन दिन पाउने छन् । बैंकको हकप्रद सेयरमा असोज २२ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकको भुमही, नवलपरासी शाखा र नारायणी डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय, यज्ञपुरी, टाँडी, पर्सा र नारायणगढ शाखाबाट आवेदन दिन सक्नेछन् । यस्तै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
उपल्लो मुस्ताङको चराङमा चार्जिङ स्टेसन, कोरला नाकासम्म पुग्ने इभीलाई राहत
काठमाडौं । जोमसोम-कोरला राजमार्ग सडक अन्तर्गत उपल्लो मुस्ताङको चराङमा चार्जिङ स्टेसन स्थापना गरिएको छ । चार्जिङ स्टेसनको बुधबार लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले शुभारम्भ गरे । अध्यक्ष विष्टले पछिल्लो चार्जिङ स्टेसन सञ्चालनमा आएपछि उपल्लो मुस्ताङ र कोरला नाकासम्म पुग्ने विद्युतीय सवारीसाधनका लागि ठूलो सहयोग मिलेको बताए । जोमसोमदेखि माथिल्लो क्षेत्रमा विद्युतीय चार्जिङ स्टेसन नहुँदा कोरलासम्म जाने यात्रुले जोमसोममै विद्युतीय सवारी छाडेर जानुपर्ने अवस्था थियो । चार्जिङ स्टेसन ओमडा एण्ड जेको नेपाल कम्पनीले सञ्चालनमा ल्याएको हो । उक्त कम्पनीका प्राविधिक कृष्ण पोखरेलले चराङमा नेपाल विद्युत् प्राधिकरणको ३३ केभी क्षमताको प्रसारण लाइन नभएकाले तत्कालका लागि सामान्य चार्जिङ स्टेसन स्थापना गरिएको बताए । स्थानीय जनप्रतिनिधि र सरोकारवालासँग छलफलपछि चार्जिङ स्टेसन स्थापना गरिएको पोखरेलले बताए । चार्जिङ स्टेसन स्थापनाले स्थानीयस्तरमा रोजगारी सृजना हुनुका साथै वातावरणमा पनि सहयोग पुग्ने उनको विश्वास छ ।
एमाले युवाहरूको पार्टी हो : महासचिव पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले एमाले युवाहरूको पार्टी भएको स्पष्ट पारेका छन् । एमालेका केन्द्रीय विभागको बैठकलाई बुधबार सम्बोधन गर्दै उनले एमाले कहिल्यै युवाबाट टाढा नरहेको बताए । महासचिव पोखरेलले एमालेले जिल्लादेखि केन्द्रसम्म युवालाई आरक्षण प्रदान गरेको उल्लेख गरे । सोही क्रममा जेनजी प्रदर्शनमा ज्यान गुमाएका सहिदप्रति उनले श्रद्धाञ्जली अर्पण गरे । एमालेले असोज ३ गते संविधान दिवस मनाउने तयारीका लागि पार्टीको विभागीय बैठक राखेको थियो । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि आगामी असोज ३ गते संविधान दिवस भव्यता पूर्वक मनाउने जानकारी दिए । महासचिव पोखरेलले परिपत्र गर्दै संविधान दिवस भव्यताका साथ मनाउन प्रदेश कमिटी र जिल्ला कमिटी अध्यक्षलाई निर्देशन दिइसकेका छन् ।
२६.३१ प्रतिशत लाभांश बाँड्ने नबिलको घोषणा
काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ १२ गते बसेको बैठकले २६.३१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतका दरले ८ करोड १० लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित १.३१ प्रतिशतका दरले ४२ लाख ६३ हजार १५७ रुपैयाँ नगद गरी कुल २६.३१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले लाभांश प्रस्ताव पारित गर्न असोज २४ गते बिहान ११ बजे काठमाडौंमा १६औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले जारी तथा चुक्ता पुँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन स्वीकृत गर्ने र आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, चालु आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त र पारिश्रमिक निर्धारण गर्ने, स्वतन्त्र सञ्चालकको पुनर्नियुक्ति लगायत सञ्चालक समितिमा भएका परिवर्तनलाई अनुमोदन गर्नेछ ।
२ महिनामा ३९.१५ अर्ब रुपैयाँ राजस्व सङ्कलन, जेनजी आन्दोलनले १ दिन ठप्प
काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको २ महिनामा ३९ अर्ब १५ करोड ५५ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले चालु आवको २ महिनासम्म कार्यालयलाई ४३ अर्ब ३ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेकोमा सो अवधिमा भने लक्ष्यको ९०.९९ प्रतिशत राजस्व सङ्कलन गरेको हो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले भदौ महिनामा विषम परिस्थितिमा पनि राजस्व सङ्कलन उत्साहजनक भएको बताए । ‘साउन महिनामा कार्यालयले १८ अर्ब ४४ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । जेनजी समूहको आन्दोलनले भदौ महिनाको १ दिन राजस्व सङ्कलन ठप्पजस्तै हुँदा पनि राजस्व सङ्कलनमा वृद्धि भएको छ । भदौ महिनामा मात्रै मासिक लक्ष्यको ९३.९७ प्रतिशत राजस्व सङ्कलन गरेका छौँ,’ उनले भने । वीरगञ्ज भन्सार कार्यालयले भदौ १२ गते एकै दिनमा २ अर्ब ३७ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । त्यस्तै गरी भदौ १७ गते १ खर्ब ९२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । त्यस्तै भदौ २८ गते १ अर्ब ७१ करोड रुपैयाँ र भदौ ३१ गते भने १ अर्ब ११ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । त्यस्तै जेनजी समूहको प्रदर्शनका दिन भदौ २४ गते ३ करोड रुपैयाँ, भदौ २५ गते भने शून्य राजस्व सङ्कलन भएको छ । त्यस्तै भदौ २६ गते ६ करोड रुपैयाँ र भदौ २७ गते भने ११ करोड रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । कार्यालयले साउन महिनामा १८ अर्ब ४४ करोड रुपैयाँ राजस्व सङ्कलन गर्याे भने भदौ महिनामा भने २० अर्ब १२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
सिप्रदी र नाडाको सहयोगमा उपत्यकाका १५ ठाउँमा यात्रु सहायता कक्ष, चाडपर्व दुर्घटना रहित बनाउने
काठमाडौं । नजिकिँदो चाडपर्वमा उपत्यका बाहिर जाने यात्रुको सहजतालाई लक्षित गरी ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाको १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गर्ने भएको छ । ट्राफिक प्रहरीले सिप्रदी र नाडाको सहयोग तथा काठमाडौं महानगरपालिकाको सहकार्यमा काठमाडौं उपत्यकाभित्रका यात्रु सहायता कक्ष स्थापना गर्न लागेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार नयाँ बसपार्क, नाग ढुङ्गा, कलङ्की, स्वयम्भू, हलचोक, माछापोखरी, चावहिल, तिलगङ्गा, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र साँगामा यात्रु सहायता कक्ष स्थापना गर्न लागिएको हो । उक्त स्थानको यात्रु सहायता कक्ष आजदेखि सञ्चालनमा आउनेछ । ‘यात्रुको सहज आवतजावत, सवारी चाप व्यवस्थापन तथा चाडपर्वलाई दुर्घटना रहित बनाउने उद्देश्यले यातायात व्यवसायीको सहभागितामा यात्रु सहायता कक्षको स्थापना गर्न लागिएको हो,’ उनले भने । यात्रु सहायता कक्षमा खटिएको यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र व्यवसायीसहितको टोलीले तोकिएको भाडा दरभन्दा बढी भाडा लिए-नलिएको, लामो दूरीका सवारीसाधनमा दुईजना चालक भए/नभएको जाँच गर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए । यस्तै, यात्रु सहायता कक्षले प्रत्येक टिकट काउण्टरमा भाडा दर टाँस्न लगाउनेछ । सवारीसाधनको क्षमताभन्दा बढी यात्रु राख्ने, टिकटमा कालो बजारी गर्ने र यात्रुलाई गन्तव्यमा नपुर्याई बाटोमै अलपत्र पार्ने जस्ता कार्यको निगरानी गरिने ट्राफिक प्रहरीले जनाएको छ ।