गुडविल फाइनान्सले पनि लाभांश नदिने
काठमाडौं । गुडविल फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने भएको छ । गत पुस ६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश नदिने घोषणा गरेको हो । बैठकले २०८०/३/३१ को वासलात, २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो । कम्पनीले पुस २९ गते २९औं वार्षिक साधारण सभा गर्ने भएको छ । उक्त सभा विहान ११ बजे कम्पनीको कार्यालय हातिसार काठमाडौंमा गर्ने कम्पनीले जनाएको छ ।
केराखेतीको केन्द्र बन्दै टीकापुर, खेती विस्तारका लागि ६० लाख विनियोजन
कैलाली । कैलालीको टीकापुर केराखेतीबाट निकै परिचित छ । अन्य उत्पादनभन्दा केराखेतीबाट आकर्षक आम्दानी हुने र बजारीकरणको समस्या नहुँदा टीकापुर केराखेतीको केन्द्रका रूपमा विकसित हुँदै गएको छ । टीकापुरमा केराखेतीको सुरुआत ज्ञानी साह र थोमस बर्गिजले गरेको स्थानीय बुढापाका बताउँछन् । त्यसलाई व्यावसायिकरूपमा २०४० सालदेखि कालु हमालले निरन्तरता दिए । उनले थोमस बर्जिजबाट १० बोट हरिखाल जातको केराबाट व्यवसाय सुरु गरेको व्यवसायी हमाल बताउँछन् । केराका लागि सुहाउँदो माटो भएपछि हमालसँगै यतिबेला सयौँ किसानले व्यावसायिक केराखेती गरेका छन् । ‘व्यवसायको सुरुआत १० बोट केराबाट भएको हो । त्यसपछि त्यसलाई विस्तार गर्दै लगियो । बीचको समयमा अन्य व्यवसाय गरेँ । त्यसबाट सोचेजस्तो लाभ लिन नसकेपछि त्यो छाडेँ । अन्तिममा केरालाई नै निरन्तरता दिएको हुँ’, हमाल भन्छन्, ‘त्यो बेला म केरा व्यवसाय गर्ने एक्लो थिएँ । अहिले मभन्दा कैयौँ किसान केराखेतीमा अब्बल भएर लागेका छन् ।’ हमालले केराखेतीलाई पर्यटन व्यवसायसँग जोडे । केराको मात्रै परिकार पाइने ‘बननाज रिसोट’ टीकापुरमा प्रसिद्ध छ । यहाँ उत्पादन भएको केराको चिप्स देशभर निर्यात हुन्छ । त्यतिमात्र होइन, टीकापुर आएको व्यक्ति उहाँको बननाज रिसोर्ट नपुगी फर्कदैनन् । ‘मैले लगाउने केरा आफ्नै रिसोर्टका लागि मात्र हो । फेरि मैले स्थानीय जातका केरा लगाउँछु’, हमाल भन्छन्, ‘अहिले खेतीभन्दा पर्यटन प्रवर्द्धनमा टेवा पुग्न सक्ने काममा मेरो ध्यान छ । उनी राष्ट्रपतिबाट उत्कृष्ट किसानका रूपमा सम्मानित भइसकेका छन् । टीकापुर क्षेत्रमा हाल एक हजार दुई सय बिघा क्षेत्रफलभन्दा बढी जग्गामा केराखेती हुँदै आएको छ । यो वर्ष दुई सय बिघा केराखेती विस्तार भएको व्यवसायी टेकेन्द्र धामी बताउँछन् । ‘किसान केराखेतीमा आकर्षित हुँदै गएका छन् । बजारीकरणको समस्या नहुनु, एकपटक खेती गर्दा तीनपटकसम्म आम्दानी हुने भएपछि नोक्सान हुँदैन’, धामी बताउँछन्, ‘टीकापुरमै सहजरूपमा केराको बेर्ना पाइने तथा सरकारी निकायको सहयोग पनि प्राप्त भएपछि केराखेती फस्टाएको छ ।’ किसान धामीले केराको बेर्ना पनि बेच्दै आएका छन् । उनले सात वर्षदेखि टिस्युकल्चर प्रविधिबाट केराको बेर्ना हुर्काएर बिक्री गर्दै आएका हुन् । केही वर्ष पहिले भारतबाट बेर्ना मगाउने धामी अहिले नवलपरासीबाट बेर्ना ल्याएर त्यसलाई माटो सुहाउँदो हावापानीमा हुर्काएर बिक्री गर्छन् । यो वर्ष पनि उनले करिब दुई लाख बिरुवा बिक्री गरिसकेको बताए । ‘गत वर्ष तीन लाख बिरुवा बिक्री भएको थियो । यस वर्ष पनि त्योभन्दा बढी बिक्री हुन्छ होला’, व्यवसायी धामी भन्छन्, ‘केराखेती गर्ने सिजन भर्खर सुरु भएकाले खपत कम देखिएको हो, अझै बढ्छ ।’ केराको बजारीकरणका लागि टीकापुरमा समस्या छैन । टीकापुरबाट सबैभन्दा बढी निर्यात हुनेमा केरा हो । टीकापुरमा उत्पादन भएको केरा कैलाली जिल्लासँगै बर्दिया, बाँके, दाङ, रुपन्देही हुँदै पोखरा, काठमाडौँसम्म निर्यात हुने गरेको छ । ‘प्राकृतिक विपत्ति नआए केरामा जस्तो राम्रो आम्दानी अन्य क्षेत्रमा छैन । एक बिघामा १० देखि १५ लाखसम्मको केरा उत्पादन गर्न सकिन्छ’, व्यवसायी राजकुमार चौधरी भन्छन्, ‘बजारीकरणको समस्या छैन, व्यापारी बारीमै आएर नगदमा केरा लिन्छन् ।’ केराखेतीका लागि राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले किसानलाई सहयोग गर्दै आएको छ । एकाइले केराको बेर्ना खरिद, मलखाद, विषादी, कृषि उपकरण ५० प्रतिशत अनुदानमा सहयोग गर्दै आएको छ । कार्यान्वयन एकाइका सूचना अधिकारी दिलीपजङ्ग रानाले चालु आर्थिक वर्षमा मात्रै केराखेतीका लागि आयोजनाले ६० लाख बजेट विनियोजन गरेको बताए । ‘यस वर्ष हाम्रो कमाण्ड क्षेत्रभित्र ६० हेक्टर क्षेत्रफलमा केराखेती विस्तारको लक्ष्य लिएका छौँ । अहिले किसानले केराखेतीका लागि कार्यालयमा आएर सम्झौता गर्ने काम भइरहेकाले कति हुन्छ, यकिन भन्न सकिने अवस्था छैन’, सूचना अधिकारी राना भन्छन् । कृषि कार्यक्रम कार्यान्वयन एकाइले टीकापुरमा विषादीरहित बजारीकरणका लागि केरा पकाउने च्याम्बर पनि निर्माण गरेको छ । जसमा एकाइको एक करोड ९० लाख खर्च भएको छ भने उपभोक्ताको एक करोड ५० लाख रुपैयाँ खर्च भएको छ । निर्माण सम्पन्न भएको चार वर्ष हुनलाग्दा पनि च्याम्बर पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन । च्याम्बरमा पकाएको केरा बजार पुर्याउँदासम्म महँगो हुन थालेपछि व्यापारीले केरा किन्न छाड्दा केही महिना सुरु भएको च्याम्बर बन्द भएको हो । ‘केरा बजारीकरणमा समस्या भएपछि च्याम्बर बन्द गर्न बाध्य भएका थियौँ । त्यहाँ पकाएको केरा टीकापुर बाहिर पुर्याउन नसकिने, बजारमा बिक्री नहुने भएपछि बन्द भएको हो’, च्याम्बर सञ्चालक शिलाकान्त झा भन्छन्, ‘अब नयाँ विकल्पका साथ केही दिनमै च्याम्बर सञ्चालनमा ल्याउँछौँ ।’ च्याम्बरमा पकाएको केराको बजारीकरण हुन नसके त्यसलाई सुकाएर राख्ने मेसिन च्याम्बर सञ्चालकले जडान गर्न थालेका छन् । सुकाएको केरा छ महिनासम्म राख्न सकिन्छ । त्यसैमा केराका अन्य परिकार तयार गरेर त्यसको बजारीकरणको तयारी भइरहेको झाले बताए । केराका अन्य परिकार तयार पारेर बजारीकरण गर्न सके त्यसबाट टीकापुरलाई केराको हबका रूपमा चिनाउन सकिने व्यवसायी बताउँछन् । रासस
एकैदिन सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढ्यो
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो । आइतबार प्रतितोला ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १९ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो । आइतबार प्रतितोला ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १९ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साथै, आइतबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १४ सय ८५ रुपैयाँमा कारोबार भएको छ ।
रिडी पावर कम्पनीले लाभांश नदिने
काठमाडौं । रिडी पावर कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने भएको छ । गत पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश नदिने घोषणा गरेको हो । कम्पनीले पुस २८ गते बार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि पुस १७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । पुस १६ गतेसम्म कायम रहेका सेयरधनी सभामा भाग लिन पाउनेछन् ।
प्रभु बैंकको सञ्चालकमा बस्नेत नियुक्त
काठमाडौं । प्रभु बैंकको सञ्चालकमा बृष बहादुर बस्नेत नियुक्त भएका छन् । पुस ६ गते बसेको बैंक संचालक समितिको बैठकले बस्नेतलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा
काठमाडौं । सुपर मादी हाइड्रोपावर कम्पनीले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको पुस ६ गते बसेको बैठकले गत वर्षको नाफाबाट साढे ४ करोड रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँको २ प्रतिशत (कर बाहेक)का दरले ४ करोड २ लाख रुपैयाँ नगद लाभांश र कर प्रयोजनका लागि २२ लाख १० हजार ५२६ रुपैयाँ नगद गरी कूल ४ करोड ४२ लाख १० हजार ५२६ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो । कम्पनीले उक्त लाभांश पारित गर्न पुस २८ गते १३ र १४औं वार्षिक साधारणसभा बिहान ११ बजे काठमाडौंमा बोलाएको छ । कम्पनीको सभाले संस्थापक समूहबाट ५ जना, सर्वसाधारण समूहबाट १ जना र स्वतन्त्र १ जना गरी ७ जना सञ्चालकको निर्वाचन तथा मनोनयन गर्नेछ । साथै, सञ्चालकहरूको बैठक भत्ता, कर्जाको अनुमोदन, उपयुक्त अन्य आयोजनामा लगानी गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन सभाले पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । लाभांश तथा साधारणसभा प्रयोजनका लागि पुस १७ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा अघिल्लो दिनसम्म कायम सेयरधनीहरूले मात्रै कम्पनीको साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।
नोभेम्बरमा जापानको मुख्य उपभोक्ता मूल्य २.५ प्रतिशतले बढ्यो
काठमाडौं । जापानको कोर उपभोक्ता मूल्य नोभेम्बरमा एक वर्ष अघिको तुलनामा २.५ प्रतिशतले बढेको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयकाअनुसार राष्ट्रव्यापी उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) मा वृद्धिको गति उनीहरूको अस्थिरताका कारण ताजा खाद्यान्न मूल्यहरू बाहेक, लगातार २० औं महिनामा बैंक अफ जापानको २ प्रतिशत मुद्रास्फीति लक्ष्यभन्दा माथि रह्यो । उल्लेखित अवधिमा खाद्यान्नको मूल्यमा ७.३ प्रतिशतले वृद्धि भएको देखिए पनि सेवाको मूल्य २.३ प्रतिशतले बढेको छ । जुन विगतको उपभोग कर वृद्धिको प्रभावलाई बाहेक तीन दशकमा सबैभन्दा ठूलो लाभ हो । इन्धन लागत घटाउन सरकारी अनुदानका कारण ऊर्जाको मूल्य १०.१ प्रतिशतले घटेको मन्त्रालयले जनाएको छ । पर्यटन उद्योगमा सुधार आएपछि नोभेम्बरमा आवास लागत वार्षिक ६२.९ प्रतिशतले बढेको छ ।
आजदेखि सबै उच्च अदालतहरुमा स्वचालित पेसी प्रकृया लागू हुने
काठमाडौं । आजदेखि सबै उच्च अदालत र इजलासमा स्वचालित पेशी तारेख प्रणाली लागू हुने भएको छ । कर्मचारीहरुले तोक्दै आएको पेशी र तारेखमा डिजिटल माध्यमको जडान गरी स्वचालित प्रणाली कार्यान्वयन गरिने भएको हो । प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले बिहान ११ बजे पाटन उच्च अदालतबाट सेवाको शुभारम्भ गर्दै स्वचालित प्रणाली कार्यान्वयनमा आउने सर्वोच्च प्रशासनले जनाएको छ । प्रधानन्यायाधीश श्रेष्ठले गत भदौ ११ गतेदेखि सर्वोच्च अदालतमा स्वचालित प्रणालीबाट मुद्दाको पेशी तोक्ने व्यवस्थाको शुरुवात गरिसकेका छन् ।