विकासन्युज

इतिहासकै ठूलो तलब योजना पारित, मस्कले टेस्लाबाट ‘१ ट्रिलियन डलर’ तलब प्याकेज पाउने

काठमाडौं । टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले बिहीबार कम्पनीको इतिहासकै सबैभन्दा ठूलो तलब प्याकेजको स्वीकृति प्राप्त गरेका छन् । सेयरधनीहरूले टेस्लालाई बिजुली सवारीसाधन (ईभी) निर्माता मात्र नभई कृत्रिम बौद्धिकता (एआई) र रोबोटिक्सको विशाल कम्पनीमा रूपान्तरण गर्ने योजनालाई समर्थन जनाएका हुन् । यो प्रस्ताव ७५ प्रतिशतभन्दा बढी समर्थनसहित पारित भयो । त्यसपछि मस्क टेक्सासको अष्टिनस्थित टेस्लाको कारखानामा आयोजित वार्षिक साधारण सभामा नाच्ने रोबोटहरूको साथ स्टेजमा पुगे । पहिल्यै नै विश्वका सबैभन्दा धनी व्यक्ति बनेका मस्कले आगामी दशकमा अधिकतम एक ट्रिलियन डलरसम्मको सेयर प्राप्त गर्न सक्छन्, यद्यपि आवश्यक भुक्तानीहरू पछि गर्दा यसको वास्तविक मूल्य झरेर करिब ८७८ अर्ब डलरसम्म पुग्नेछ । यो मतदान टेस्लाको भविष्यका लागि अत्यन्तै महत्त्वपूर्ण मानिएको छ, किनभने कम्पनीको मूल्याङ्कन मस्कको दृष्टिकोणमा आधारित छ— स्वचालित सवारीसाधन विकास, अमेरिकाभर रोबोट्याक्सी नेटवर्क विस्तार र मानव–जस्तै रोबोट बिक्री गर्ने योजनामा । यद्यपि उनको दक्षिणपन्थी राजनीतिक वक्तृत्वले यस वर्ष टेस्लाको ब्रान्ड छविमा असर पारेको छ । कम्पनीको सञ्चालक समितिले चेतावनी दिएको थियो कि यदि मस्कले यो तलब प्याकेज नपाए भने उनी टेस्ला छोड्न सक्छन् । केही लगानीकर्ताले यो अत्यधिक महँगो र अनावश्यक भनेका थिए, तर धेरैले यसलाई मस्कलाई टेस्लामा राख्ने उपायका रूपमा देखे र प्याकेजमा तोकिएका लक्ष्य पूरा भएमा सेयरधनीहरूलाई पनि प्रतिफल मिल्ने विश्वास गरे । मस्कले उत्साहित सेयरधनीहरूलाई भने, ‘हामी अहिले टेस्लाको भविष्यको नयाँ अध्यायमा मात्र होइन, नयाँ पुस्तककै सुरुवात गर्न लागेका छौं ।’ उनी स्टेजमा पुगेपछि उनले धेरै वाचा गरे—एप्रिलदेखि दुई सिट भएको स्टियरिङविहीन ‘साइबरक्याब’  नामक रोबोट्याक्सी उत्पादन सुरु गर्ने, नयाँ पुस्ताको रोडस्टर इलेक्ट्रिक स्पोट्र्स कार सार्वजनिक गर्ने, र एआई चिप निर्माणका लागि ‘विशाल चिप फ्याक्ट्री’ आवश्यक पर्ने भन्दै इन्टेलसँग सहकार्य गर्ने सम्भावना पनि व्यक्त गरे । सेयरधनीहरूले टेस्लाको सञ्चालक समितिमा रहेका तीन जना सदस्यलाई पुनःनिर्वाचन पनि गरे, सबै सदस्यका लागि वार्षिक निर्वाचनको समर्थन गरे र अदालतमा अड्किएको मस्कको अघिल्लो तलब प्याकेजको सट्टा नयाँ योजना स्वीकृत गरे । सेयरधनीहरूले मस्कको एआई कम्पनी एक्सएआईमा टेस्लाको लगानीको समर्थन पनि गरे, यद्यपि धेरैले मतदान नगरी तटस्थ रहन रोजे । यसले ठूला लगानीकर्ताहरूको संकोच झल्काउँछ कि सञ्चालक समितिले अझ बलियो अनुगमन बिना यस्तो सम्बन्ध अनुमोदन गर्नु उचित नठानेको हो ।  रणनीतिक सल्लाहकार कम्पनी लङ्गेकर स्क्वायरकी पार्टनर जेसिका म्याकडुगलका अनुसार धेरै लगानीकर्ताहरू ‘सञ्चालक समितिबाट स्पष्ट आश्वासन चाहन्छन् कि दुबै व्यवसायबीच अत्यधिक मिश्रण नहोस् भन्ने ग्यारेन्टी सुनिश्चित गरिएको छ ।’ मस्कले करिब १५ प्रतिशत सेयर आफैको स्वामित्वमा राखेकाले मतदानमा भाग लिन पाएका थिए, जसका कारण उनको जित अपेक्षित थियो । यद्यपि मस्कको प्रभाव हटाएर हेर्दा समर्थनको बहुमत सामान्य कम्पनीमा सीईओको तलब पुनरावलोकन गर्न पर्याप्त सानो थियो ।  केही ठूला लगानीकर्ताहरू— जस्तै नर्वेको सार्वभौम कोष र प्रोक्सी सल्लाहकार कम्पनीहरू ग्लास लुइस र इन्स्टिट्युसनल सेयरहोल्डर सर्भिसेजले यो योजना विरोध गरेका थिए । यो मतदानले लगानीकर्ताहरूको त्यो चिन्ता हटाएको छ कि मस्कले आफ्नो ध्यान स्पेसएक्स र एक्सएआई जस्ता अन्य कम्पनीतर्फ मोड्नेछन् । सञ्चालक समिति र मस्कका समर्थक लगानीकर्ताहरूले भने यो रेकर्ड तोड्ने तलब प्याकेजले दीर्घकालमा सेयरधनीहरूलाई लाभ र्पुयाउने बताएका छन् किनभने मस्कले तलब पाउनका लागि टेस्लाले धेरै लक्ष्य हासिल गर्नैपर्छ । ‘यदि यी सेयरका ट्रान्चहरू पूरा भए भने टेस्लाको आम्दानी वृद्धिमा बलियो सुधार आउनेछ,’ जाक्स इन्भेस्टमेन्ट म्यानेजमेन्टका वरिष्ठ पोर्टफोलियो प्रबन्धक ब्रायन मुलबरीले भने । ‘यो वृद्धिले सेयर पतनका चिन्ताहरू कम गर्नेछ त वा यो केवल एलनलाई एआईको भविष्य नियन्त्रण गर्न पर्याप्त प्रभाव दिने इच्छा पूरा गर्ने माध्यम हो ? त्यो त पछि मात्र थाहा हुनेछ,’ उनले थपे । आगामी दशकमा मस्कका लागि तोकिएका लक्ष्यहरूमा टेस्लाबाट २ करोड सवारीसाधन उत्पादन, १० लाख रोबोट्याक्सी सञ्चालनमा ल्याउने, १० लाख रोबोट बिक्री गर्ने र ४०० अर्ब डलरसम्मको कोर नाफा कमाउने योजना समावेश छन् । तर यी सबैका लागि टेस्लाको बजार मूल्य पनि बढ्नुपर्नेछ— हालको १.५ ट्रिलियन डलरबाट सुरु गर्दै पहिलो चरणमा २ ट्रिलियन र अन्ततः ८.५ ट्रिलियन डलरसम्म । हरेक चरण (सञ्चालन लक्ष्य र मूल्याङ्कन माइलस्टोन) पूरा हुँदा मस्कलाई कम्पनीको १ प्रतिशत सेयर प्राप्त हुनेछ । त्यसैले सबै लक्ष्य हासिल नभए पनि उनले अरबौँ डलरको सेयर पाउन सक्छन् । यदि सबै लक्ष्य पूरा भए भने मस्कलाई कम्पनीको १२ प्रतिशत सेयर—अर्थात् करिब १ ट्रिलियन डलर बराब मिल्नेछ । तर त्यसको शुद्ध मूल्य करिब ८७८ अर्ब डलर हुनेछ, किनभने प्याकेजको गणना सेप्टेम्बरको सुरुवातमा सञ्चालक समितिले प्रस्ताव पारित गरेको दिनको सेयर मूल्यबाट गणना गरिएको हो । मस्कले चाहँदा त्यो रकम नगदमा तिर्न सक्छन् वा सो मूल्यको हिसाबले कम सेयर लिन सक्छन् । यो प्याकेजको मूल्य सधैं परिवर्तनशील रहनेछ किनभने सेयर मूल्यमा हुने उतारचढावसँगै यसको गणना बदलिरहन्छ । मस्कका अनुसार उनले यो प्याकेजमा रुचि तलबका कारण नभई टेस्लामा आफ्नो मताधिकार बढाउने उद्देश्यले देखाएका हुन् ।

कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व असुली

मुस्ताङ । कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा ३ अर्ब २ करोड ७३ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ ।  भन्सार प्रमुख रमेश खड्काका अनुसार बितेका तीन महिनामा एक हजार ४९८ वटा विद्युतीय सवारीसाधनका साथै ६७१ वटा मालबाहक कन्टेनरबाट सामान आयात भएको छ ।  यो नाकाबाट २८ वटा मालबाहक सवारीसाधनले स्वदेशी उत्पादन चीनको स्वशासित क्षेत्र सिजाङ पुर्‍याएका छन्।  बाढी-पहिरोले तातोपानी र रसुवागढी नाका  अवरुद्ध भएपछि कोरला नाकाबाट चीनसँगको मुलुकको आयात/निर्यात जारी छ ।   

आन्दोलनको असर बैंकको नाफामा, १८.८२ प्रतिशत गिरावट आउँदा ५ बैंकको मात्रै बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ३ महिनामा वाणिज्य बैंकहरुको नाफामा व्यापक गिरावट आएको छ । सार्वजनिक वित्तीय विवरण अनुसार २० वटा वाणिज्य बैंकको खुद नाफामा १८.८२ प्रतिशत अर्थात् ३ अर्ब ४ करोड ७६ लाखले रुपैयाँ गिरावट आएको हो ।  चालु आवको असोज मसान्तसम्ममा बैंकहरुले १३ अर्ब १४ करोड ८ लाख रुपैयाँ खुद नाफा गरेका छन् । जबकि गत वर्षको असोजसम्ममा बैंकहरुले १६ अर्ब १८ करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । बैंकहरुको सञ्चालन लागत, कर्जाको गुणस्तर र तरलता व्यवस्थापनका कारण बैंकहरुको नाफामा ठूलो असर परेको बैंकरहरु बताउँछन् ।  देशको पछिल्लो अवस्थाबाट सिर्जना भएको असामान्य परिस्थितीबाट समग्र अर्थतन्त्रमा देखिएको संरचनागत शिथिलताका कारण पनि बैंकमा असर परेको बैंकरहरुको भनाइ छ । साथै, केही नीतिगत कारणबाट आर्थिक क्रियाकलापमा देखिएको सुस्तताका कारण देशको व्यवसायिक वातावरण सकारात्मक बन्न नसकेको कारण व्यवसायीहरूको मनोबल न्यून रही कर्जाको माग तथा विस्तार उल्लेख्य रूपमा बढ्न नसकेको बैंकरहरु बताउँछन् ।  साथै, बाढी पहिरो, जेनजी आन्दोलन लगायत कारण पनि बैंकको ब्याज तथा कर्जाको साँवा असुलीलाई समेत नकारात्मक असर पर्न गएको छ ।  समीक्षा अवधिमा विभिन्न ५ बैंकको मात्रै नाफा बढेको छ भने अन्य सबै बैंकको नाफामा गिरावट आएको छ । चालु आवको असोजसम्ममा राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा सबैभन्दा धेरै बढेको छ । बैंकको नाफा २८९.७७ प्रतिशत बढेर ५८ करोड ९७ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको असोजमा बैंकले १५ करोड १३ लाख रुपैयाँ नाफा गरेको थियो ।  यस्तै, ग्लोबल आइएमई बैंकको २२.९१ प्रतिशत बढेर १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ, सानिमा बैंकको १३.८६ प्रतिशत बढेर ४५ करोड ४९ लाख रुपैयाँ, एनआइसी एशिया बैंकको १०.५२ प्रतिशत बढेर १२ करोड २१ लाख रुपैयाँ र एभरेष्ट बैंकको ४.५६ प्रतिशत बढेर १ अर्ब १७ करोड ९२ लाख रुपैयाँ नाफा गरेका छन् । यी बैंकको नाफा घट्यो  चालु आवको ३ महिनामा विभिन्न १५ वाणिज्य बैंकको नाफा घटेको छ । जसमध्ये सिटिजन्स बैंकले २२ करोड ४ लाख रुपैयाँ नोक्सानी बेहोरेको छ । जबकि सो बैंकले गत वर्षको असोजमा १९ करोड ८२ लाख रुपैयाँ नाफा गरेको थियो ।  यस्तै, कृषि विकास बैंकको ९६.९९ प्रतिशत घटेर ५७ लाख ३८ हजार रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमिब)को ९६.९२ प्रतिशत घटेर ४ करोड ५० लाख ५० हजार रुपैयाँ, प्रभु बैंकको ४६.३३ प्रतिशत घटेर ५५ करोड ८४ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।  यस्तै, नेपाल एसबीआई बैंकको ३८.४३ प्रतिशत घटेर ५० करोड १५ लाख ६५ हजार रुपैयाँ, लक्ष्मी सनराइज बैंकको ३८ प्रतिशत घटेर ३३ करोड २३ लाख ३१ हजार रुपैयाँ, एनएमबि बैंकको २० प्रतिशत घटेर ९१ करोड ५९ लाख ८३ हजार रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १९.६२ प्रतिशत घटेर ६९ करोड २१ लाख ६९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।  सार्वजनिक तथ्याङ्क अनुसार माछापुच्छे बैंकको १६.९५ प्रतिशत घटेर ४१ करोड ७९ लाख ५६ हजार रुपैयाँ, सिद्धार्थ बैंकको १५.१७ प्रतिशत घटेर ३२ करोड ४० लाख ९१ हजार रुपैयाँ, नबिल बैंकको १४.५६ प्रतिशत घटेर १ अर्ब ७५ करोड ६९ लाख ९१ हजार रुपैयाँ नाफा गरेका छन् ।  यस्तै, हिमालयन बैंकको ३.२४ प्रतिशत घटेर ७० करोड २८ लाख ९४ हजार रुपैयाँ, नेपाल बैंकको २.३१ प्रतिशत घटेर ५८ करोड ८२ लाख ८७ हजार रुपैयाँ, प्राइम बैंकको २.२० प्रतिशत घटेर १ अर्ब २५ करोड ८४ लाख ३० हजार रुपैयाँ, कुमारी बैंकको २ प्रतिशत बढेर १ अर्ब ५ करोड ६५ लाख ३१ हजार रुपैयाँ नाफा गरेको तथ्याङ्कले देखाएको छ । 

१३.८६ प्रतिशत बढ्यो सानिमा बैंकको नाफा, वितरणयोग्य नाफा २ अर्ब १३ करोड रुपैयाँ

काठमाडौं । सानिमा बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा खुद नाफा १३.८६ प्रतिशत बढेर ४५ करोड ४९ लाख रुपैयाँ गरेको छ । गत वर्षको असोजसम्ममा बैंकले ३९ करोड ९५ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।  चालु आवको असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी २७.९१ प्रतिशत बढेर १ अर्ब ६८ करोड ८५ लाख रुपैयाँ गरेको छ । गत वर्ष बैंकले १ अर्ब ३२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  यस अवधिमा बैंकको सञ्चाल नाफा १४.९४ प्रतिशत बढेर ६५ करोड ७६ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको सञ्चाल नाफा ५७ करोड २१ लाख रुपैयाँ थियो । १३ अर्ब ५८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ भने बैंकको वितरणयोग्य नाफा २ अर्ब १३ करोड रुपैयाँ छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १३.१५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७२.७१ रुपैयाँ रहेको छ । 

लक्ष्मी सनराइज बैंकको वितरणयोग्य नाफा २.६२ अर्ब रुपैयाँ, घटायो एनपीएल

काठमाडौं । लक्ष्मी सनराइज बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा खुद नाफा ३८ प्रतिशत घटेर ३३ करोड २३ लाख रुपैयाँ गरेको छ । गत वर्षको असोजसम्ममा बैंकले ५३ करोड ६३ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।  चालु आवको असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी १.५९ प्रतिशत बढेर २ अर्ब ७१ करोड ५१ लाख रुपैयाँ गरेको छ । गत वर्ष बैंकले २ अर्ब ६७ करोड २७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  यसअवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी २६.५९ प्रतिशत बढेर ६१ करोड ६८ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १४.८० प्रतिशत बढेर ३ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ, सञ्चालन नाफा ४२.११ प्रतिशत घटेर ४३ करोड ८१ लाख रुपैयाँ रहेको छ ।  २४ अर्ब ३४ करोड ६५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १८ अर्ब ४ करोड ४८ लाख रुपैयाँ छ । असोज मसान्तसम्ममा बैंकको निक्षेप संकलन २.१७ प्रतिशत बढेर ३ खर्ब ७५ अर्ब ९६ लाख रुपैयाँ र कर्जा लगानी २.६७ प्रतिशत बढेर २ खर्ब ८२ अर्ब ३७ करोड ७४ लाख रुपैयाँ प्रवाह गरेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ६२ करोड ३७ लाख रुपैयाँ रहेको छ । उक्त वितरणयोग्य नाफाका आधारमा बैंकको १०.७८ प्रतिशत लाभांश क्षमता रहेको छ ।  बैंकको प्रतिसेयर आम्दानी ३.७९ रुपैयाँ घटेर ५.४६ रुपैयाँमा सीमित छ । बैंकको प्रतिसेयर नेटवर्थ १८४.८९ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ३९.७४ गुणा रहेको छ ।  गत वर्षको असोजमा बैंकको खराब कर्जा (एनपीएल) ५.४४ प्रतिशत थियो । तर, यस वर्षको असोजमा खराब कर्जा सामान्य घटाएर ५.४२ प्रतिशतमा झारेको छ ।

देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन ।  देशका अधिकांश भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहने अनुमान गरिएको छ भने बाँकी भागमा मौसम मुख्यतः सफा रहनेछ ।  विभागका अनुसार कोशी र गण्डकी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने छ ।

त्रिवेणी सिन्थेटिकले तिर्यो बक्यौताको पहिलो किस्ता, जोडियो बिजुली लाइन

काठमाडौं । बारा-पर्सा औद्योगिक करिडोरमा सञ्चालित त्रिवेणी सिन्थेटिक यार्न इण्डस्ट्रिज प्रालिले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम बिहीबार तिरेको छ ।  पहिलो किस्ता तिरेपछि ४ कात्तिकमा विच्छेद गरिएको त्रिवेणी सिन्थेटिकको विद्युत लाइन बिहीबार साँझ जडान गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।  त्रिवेणी सिन्थेटिकले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हो । त्रिवेणी सिन्थेटिकको ४ करोड ३९ लाख ८३ हजार रुपैयाँ बक्यौता रहेको छ ।  बक्यौतालाई २८ किस्तामा विभाजन गरी त्रिवेणी सिन्थेटिकलले १५ लाख ७१ हजार रुपैयाँ पहिलो किस्ता बुझाएको हो ।

सिटिजन्स बैंकको ब्याज आम्दानी १.६६ अर्ब रुपैयाँ, यस्ता छन् अन्य सूचक

काठमाडौं । सिटिजन्स बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा १ अर्ब ६६ करोड ६२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकले गत वर्षको पहिलो त्रैमासमा १ अर्ब ४९ करोड ७८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।  चालु आवको असोजसम्ममा बैंकको कुल सञ्चालन आम्दानी २ अर्ब २१ करोड ४९ लाख रुपैयाँ र खुद शुल्क तथा कमिसन आम्दानी २० करोड १७ लाख रुपैयाँ रहेको छ ।  समीक्षा अवधिमा बैंकको नाफा भने २२ करोड ४ लाख रुपैयाँ ऋणात्मक रहन पुगेको छ । गत वर्षको असोजमा बैंकको खुद नाफा १९ करोड ८२ लाख रुपैयाँ थियो ।  १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ८ अर्ब २८ करोड ७२ लाख रुपैयाँ रहेको छ ।  गत वर्षको असोजसम्ममा ६७ करोड ८४ लाख रुपैयाँ रहेको बैंकको वितरणयोग्य नाफा यसपटक ४१ करोड ४७ लाख रुपैयाँ ऋणात्मक रहेको छ । असोज मसान्तसम्ममा बैंकले २ खर्ब १२ अर्ब ६८ करोड ११ लाख रुपैयाँ निक्षेपक संकलन गरी १ खर्ब ६८ अर्ब ८६ करोड ३१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा गत वर्षको असोजमा ५.४१ प्रतिशत रहेकोमा यस वर्ष बढेर ६.८४ प्रतिशत पुगेको छ ।