इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित
काठमाडौं । एयर ट्राफिक कन्ट्रोल (एटीसी) प्रणालीमा प्राविधिक समस्या आउदा शुक्रबार दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल (आईजीआईए) मा सयौं उडानहरू प्रभावित भएको एक वरिष्ठ अधिकारीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ। दिल्ली इन्टरनेसनल एयरपोर्टका प्राविधिक विज्ञहरू प्राविधिक समस्या समाधान गर्नका लागि सक्रिय रहेको र उडान पुनः सञ्चालन कहिले देखि सुरु हुन्छ भन्ने अझै थाहा हुन सकेको जनाइएको छ । विमानस्थलले जारी गरेको विज्ञप्तिमा 'एटीसी प्रणाली' मा प्राविधिक समस्या आएका कारण आइजिआईएमा उडान सञ्चालनमा ढिलाइ भइरहेको उल्लेख गरिएको छ । विज्ञप्तिमा प्राविधिक टोलीसहित सबै सम्बन्धित निकायहरू समस्यालाई चाँडै समाधान गर्न सक्रिय रूपमा काम गरिरहेको जनाइएको छ । यात्रुहरूलाई नयाँ उडान अपडेटका लागि आ–आफ्नो सम्बन्धित एयरलाइन्ससँग सम्पर्कमा रहन सल्लाह दिएको छ । धेरै निजी एयरलाइन्सहरूले पनि उडान सञ्चालनका बारेमा अपडेटहरूका लागि सम्पर्कमा रहन आ–आफ्ना उडानकर्ताहरूलाई सल्लाह दिएका छन् ।
शेखरको नयाँ प्रस्ताव- १५ औं महाधिवेशन पुष २१ मा गरौं
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १५ औं महाधिवेशन पुष २१ मा गर्ने प्रस्ताव गरेका छन् । शुक्रबार बिहान आफूनिकट नेताहरूको भेटमा कोइरालाले उक्त प्रस्ताव गरेका हुन् । पार्टीभित्र महाधिवेशनको मितिमा किचलो चलेको बेला आफूलाई भेट्न आएका केन्द्रीय नेता, जिल्ला सभापति र पूर्व जिल्ला सभापतिहरूसँगको संवादमा कोइरालाले आफू नियमित महाधिवेशनकै पक्षमा रहेको बताएको एक केन्द्रीय सदस्यले जानकारी दिए । विगत दुई बर्षदेखि आफू नियमित महाधिवेशनको माग गरेको कोइरालालाई उद्धृत गर्दै ती सदस्यले भने, ‘अहिले पनि शेखर दाजु नियमित महाधिवेशनकै पक्षमा हुनुहुन्छ ।’ विशेष महाधिवेशन गर्नैपर्ने अवस्था आए केन्द्रीय समितिले निर्णय गरेर मात्रै गर्नुपर्ने कोइरालाले आफूहरूलाई भनेको ती नेताले बताए । नियमित महाधिवेशन नगर्ने र हस्ताक्षरको भरमा विशेष महाधिवेशन गर्दा पार्टी विभाजन हुनसक्ने भएकोले विशेष महाधिवेशन गर्ने परे केन्द्रीय समितिले निर्णय गर्नुपर्नेमा कोइरालाको जोड रहेको छ । नेपाली कांग्रेसमा महामन्त्री गगन थापाले पुष १६ मा र सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ मा महाधिवेशन मिति प्रस्ताव गरेका छन् ।
६ बैंकले घटाए खराब कर्जा, ८ बैंकको ५ प्रतिशत नाघ्यो
काठमाडौं । ‘विगतमा हाम्रो बैंकको पनि १ प्रतिशत भन्दा कम खराब कर्जा थियो । तर, आजको दिनमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको पनि १ प्रतिशतभन्दा बढी पुगिसक्यो । अब १ प्रतिशतभन्दा कम खराब कर्जा रहेको एभरेष्ट बैंक मात्रै हो,’ एक बैंकका उच्च व्यवस्थापकले भने, ‘यो आर्थिक वर्षदेखि समाधान हुन खोजिरहेको थियो । तर, जेनजी आन्दोलनको प्रत्यक्ष तथा अप्रत्यक्ष असर परेको छ । प्रत्यक्ष तथा अप्रत्यक्ष असर जति परेको छ, त्यहि नै प्रोभिजन राख्नु भनेर राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकले रिस्ट्रक्चरिङ गर्न नपाउने भनिएको छ ।’ उनका अनुसार आन्दोलन पछि ऋण असुलीमा ठूलो सकस भोगिरहनु परेको छ । अहिलेको जस्तो स्थिति आफ्नो बैंकिङ अनुभवमा कहिले पनि नदेखेको उनी बताउँछन् । बैंकिङ क्षेत्रमा देखिएको सकस साम्य हुन १/२ वर्ष लाग्न सक्ने उनले बताए । ती बैंकरले भने जस्तै बैंकहरुको खराब कर्जा उच्च विन्दुमा पुगेकाे छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरुको औसत खराब कर्जा (एनपीएल) ४.६ प्रतिशत पुगेको छ । जुन गत वर्षको असोज मसान्तको तुलनामा १७.६६ प्रतिशत बढेर ४.७ प्रतिशत विन्दुमा पुगेको हाे । गत वर्षको असोजसम्म बैंकहरुको खराब कर्जा ३.९१ प्रतिशत थियो । समीक्षा अवधिमा सबैभन्दा धेरै खराब कर्जा हिमालयन बैंकको रहेको छ । हिमालयन बैंकको खराब कर्जा ४८.३९ प्रतिशत बढेर ७.३९ प्रतिशत विन्दुमा पुगेको छ । जबकि गत वर्षको असोजमा ४.९८ प्रतिशत विन्दु थियो । असोज मसान्तसम्ममा नेपाल एसबीआई बैंकको खराब कर्जा ६३.५८ प्रतिशत ३.०१ प्रतिशत विन्दु रहेकाे छ ।प्रतिशतका आधारमा यस बैंकको खराब कर्जा सबैभन्दा धेरै बढेको देखिन्छ । यस्तै, नेपाल बैंकको ५७.३० प्रतिशत बढेर ५.४९ प्रतिशत विन्दु, हिमालयन बैंकको ४८.३९ प्रतिशत बढेर ७.३९ प्रतिशत विन्दु, कुमारी बैंकको ४०.७२ प्रतिशत बढेर ६.९८ प्रतिशत विन्दुमा खराब कर्जा रहेको छ । सार्वजनिक तथ्याङ्क अनुसार सानिमा बैंकको ३२.९९ प्रतिशत बढेर ३.९१ प्रतिशत विन्दु, माछापुच्छे बैंकको ३१.११ प्रतिशत ४.१३ प्रतिशत विन्दु, सिटिजन्स बैंकको २६.४३ प्रतिशत ६.८४ प्रतिशत विन्दु, एनएमबि बैंकको २६.१७ प्रतिशत ४.५८ प्रतिशत विन्दुमा खराब कर्जा रहेका छन् । प्राइम बैंकको २०.५७ प्रतिशत बढेर ५.८६ प्रतिशत विन्दु, प्रभु बैंकको १७ प्रतिशत बढेर ५.७८ प्रतिशत विन्दु, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को १३.९१ प्रतिशत बढेर ६.६३ प्रतिशत विन्दु, ग्लोबल आइएमई बैंकको ६.६३ प्रतिशत बढेर ४.९८ प्रतिशत विन्दु, नबिल बैंकको १.१७ प्रतिशत बढेर ४.३१ प्रतिशत विन्दुमा खराब कर्जा रहेको तथ्याङ्क छ । तर, कृषि विकास बैंकको खराब कर्जा भने स्थिर रहेको छ । असोजसम्म बैंकको खराब कर्जा ४.७८ प्रतिशत विन्दुमा रहेको छ । समीक्षा अवधिमा ६ बैंकले भने खराब कर्जा घटाएका छन् । एनआइसी एशिया बैंकको १६.३४ प्रतिशत घटेर १.७४ प्रतिशत विन्दु, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १२.३० प्रतिशत घटेर १.७१ प्रतिशत विन्दु, राष्ट्रिय वाणिज्य बैंकको ९.४५ प्रतिशत घटेर ३.८३ प्रतिशत विन्दु, एभरेष्ट बैंकको ३.८९ प्रतिशत घटेर ०.७४ प्रतिशत विन्दु, सिद्धार्थ बैंकको २.८१ प्रतिशत घटेर ३.८ प्रतिशत विन्दु र लक्ष्मी सनराइज बैंकको ०.३६ प्रतिशत घटेर ५.४२ प्रतिशत विन्दुमा खराब कर्जा झारेका छन् ।
मेलम्चीको पानी पूर्ण रूपमा रोकियो
काठमाडौं । आफ्ना माग पुरा नभएको भन्दै भेण्डर, मेलम्ची बाढी पीडितलगायतका समितिहरूको समूहले मेलम्ची खानेपानी काठमाडौं पथान्तरण बन्द गरेका छन् । मेलम्ची खानेपानी आयोजना अन्तर्गतको मुहान क्षेत्रमा बिहीबार स्थानीयवासीले काठमाडौं पथान्तरण गरिने पानी बन्द गरेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासले जानकारी दिए । उनले भने, ‘गतवर्ष तत्कालीन खानेपानीमन्त्री प्रदीप यादवसँग भएको सम्झौता कार्यान्वयनको माग गर्दै स्थानीयले आज मुहान बन्द गर्नु भएको छ । मुहान बन्द गरिएपछि बिहीबार दिउँसोदेखि काठमाडौंमा आउने मेलम्चीको पानी पूर्ण रूपमा रोकिएको छ ।’ विसं २०७८ सालको बाढीपहिरो पीडितलगायतका अन्य पीडितहरुका माग पूरा नभएको भन्दै स्थानीयवासीले पानी बन्द गरेका हुन् । वर्षा सुरु भएपछि गएको असारमा बन्द गरिएको मेलम्चीको पानी आपूर्ति गत असोज २६ गतेदेखि सुरु गरिएको थियो । मेलम्चीको पानी काठमाडौंमा आपूर्तिका लागि आन्दोलनरत पक्षसँग कुरा गरी निकास निकालिने कार्यकारी निर्देशक दासले बताए । सिन्धुपाल्चोक र काभ्रेका चार वटा सरोकार समितिले एक हप्ता अघि काठमाडौँको पानीपोखरीस्थित मेलम्ची खानेपानी कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।
२ अर्ब ७१ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने राष्ट्र बैंकको तयारी
काठमाडौं । नेपाल राष्ट्र बैंकले २ अर्ब ७१ करोड लगानी गर्ने भएको छ । विभिन्न बैंकहरूमा राष्ट्र बैंकले मुद्दति निक्षेपमार्फत लगानी गर्ने तयारी गरेको हो । राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको २ अर्ब ७१ करोड ८५ लाख रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने जनाएको हो । केन्द्रीय बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा उक्त परिमाण बराबर रकम मुद्दति निक्षेपमा लगानी गरिने छ । वाणिज्य बैंकमा २ अर्ब १७ करोड ४९ लाख रुपैयाँ, विकास बैंकमा ४० करोड ७७ लाख रुपैँया र वित्त कम्पनीमा १३ करोड ५९ लाख रुपैँया मुद्दती निक्षेपमा लगानी गरिने छ । २३ नोभेम्बर २०२५ देखि २३ नोभेम्बर २०२६ सम्म ३ सय ६६ दिनको मुद्दति निक्षेपमा उक्त रकम लगानी गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने, राष्ट्र बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष कायम गरेको हुनुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति केन्द्रीय बैंकले तोकेको न्यूनतम सीमा कायम गरेको हुनुपर्ने, कर्जा÷निक्षेप अनुपात समय–सयममा निर्धारण गरिएको सीमाभित्र रहेको हुनुपर्ने र निकटतम अघिल्लो आर्थिक वर्षमा खुद मुनाफामा रहेको हुनुपने सर्त राष्ट्र बैंकको छ । त्यसैगरी, निक्षेप लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक वा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई राष्ट्र बैंकले जरिबाना गरेको अवस्थामा त्यस्तो जरिबाना गरिएका सञ्चालक वा सीईओ उक्त संस्थामा कायम नरहेको हुनुपर्ने र यदि कायम रहेको भए जरिवाना भुक्तान गरेको मितिले ६ महिना अवधि पूरा भएको हुनुपर्ने, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने पनि सर्त छ । त्यस्तै, राष्ट्र बैंकको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको हुनुपर्ने भएको भए फुकेवा भएको ६ महिना अवधि पूरा भएको हुनुपर्ने तथा सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने सर्त केन्द्रीय बैंकको छ । उक्त मुद्दति राख्न चाहने बैंक वित्त संस्थाले कात्तिक २३ गते भित्रै राष्ट्र बैंकमा ब्याजदर प्रश्ताव पठाउन भनिएको छ ।
सुनको मूल्य फेरि उकालिन थाल्यो
काठमाडौं । सुनको मूल्य उकालो लाग्न थालेको छ । अघिल्लो दिन बिहीवार ६०० रुपैयाँले बढेको सुन आज पनि सोही मूल्यले वृद्धि भएको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ६ सय रुपैयाँले बढेर एक तोलाको २ लाख ३८ हजार ४ सय कायम भएको छ । बिहीबार प्रतितोला सुनको मूल्य २ लाख ३७ हजार ८ सय पुगेको थियो । सुनको मूल्यसँगै चाँदीको पनि मूल्य बढेको छ । महासंघका अनुसार १० रुपैयाँले बढेर एक तोलाको ३ हजार २० रुपैयाँ पुगेको हो । दशैं–तिहार अघिसम्म सुनको भाउ निरन्तर बढे पनि बीचमा सुनको भाउ घट्न थालेको थियो तर फेरि दुई साता अघिबाट भाउ बढ्न थालेको छ ।
९ पालिकाको प्रमुख प्रशासकीय अधिकृत सरुवा
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ९ जना नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सरुवा गरिएको छ । मन्त्रालयले बिहीबार नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरिएको हो । मन्त्रालयका अनुसार दैलेखको दुल्लु नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पदम बहादुर बुढा, बर्दियाको ठाकुरबाबा नगरपालिकामा मंगलबहादुर शाही, लमजुङको राइनस नगरपालिकामा राजेन्द्रप्रसाद पन्थीलाई सरुवा जिम्मेवारी दिइएको छ । त्यस्तै, रौतहटको देवाहीगोनाही नगरपालिकामा महमद शेरे मुस्ताफा, रौतहटकै राजदेवी नगरपालिकामा विकाउकुमार यादव, निजगढ नगरपालिकामा सूर्यप्रसाद गौतम, धनुषाको हंशपुर नगरपालिकामा ओमप्रकाश महतो, गलकोट नगरपालिकामा डम्बरबहादुर जिसी र दमक नगरपालिकामा सुनिल निरौलालाई सरुवा गरिएको छ ।
माउन्टेन इनर्जीको लाभांश घोषणा
काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको कात्र्तिक २० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले आव २०८१/८२ को मुनाफाबाट सेयरधनीहरूलाई कम्पनीको हालको चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । मङ्सिर २९ गते बस्ने साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ । कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। मङ्सिर १६ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।