सेयर बजार २७ अङ्कले बढ्यो, चार अर्ब चार करोडको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । बुधबार नेप्से परिसूचक २७.९० अङ्कले बढेर दुई हजार ५८ को विन्दुमा कायम भएको हो । आज तीन सय छ कम्पनीको एक करोड पाँच लाख चार सय ९८ कित्ता सेयर ९६ हजार दुई सय ५२ पटक खरिदबिक्री हुँदा रू चार अर्ब चार करोड ८८ लाख ५७ हजार चार सय ५४ बराबरको कारोबार भएको छ । सबै समूहका उपसूचक बढेका छन् । सबैभन्दा धेरै जलविद्युत् समूह तीन दशमलव ०८ र उत्पादन तथा प्रशोधन समूह दुई दशमलव ०८ प्रतिशतले बढेको छ । आजको कारोबारमा सातवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । दिव्यश्वरी हाइड्रोपावर लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड, पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, सोनापुर मिनरल्स एन्ड आयल लिमिटेड र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको हो । सबैभन्दा धेरै गुमाउनेमा भने लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य पाँच दशमलव १० र प्रभु स्मार्ट फन्डको सेयर मूल्य चार दशमलव ८१ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्यामा आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको रू २६ करोड ६३ लाख ९१ हजार चार सय १६ बराबरको पाँच लाख ७० हजार सात सय १७ कित्ता सेयर किनबेच भएको छ ।
टर्कीको मुद्रास्फीति दर ६५ प्रतिशत पुग्यो
एजेन्सी । टर्कीको वार्षिक मुद्रास्फीति दर डिसेम्बरमा ६५ प्रतिशत अर्थात् सन् २०२३ कै उच्च विन्दुमा पुगेको छ । मुद्रास्फीति दर मे महिनासम्ममा ७०.७५ प्रतिशत पुग्ने प्रक्षेपण अर्थशास्त्रीहले गरेका छन् । यद्यपि, राष्ट्रपति रेसेप तैयप एर्दोगानको बजारमामिला अध्ययन गर्ने अर्थशास्त्रीहरूले नयाँ टोलीले आगामी चार महिनाभित्र मुद्रास्फीति अहिलेसम्मकै उच्च विन्दुबाट घट्न थाल्ने बताएका छन् । दशकौं लामो उच्च मुद्रास्फीति दर सन् २०२२ को अक्टोबरमा ८५ प्रतिशत पुगेको थियो र त्यसपछि स्थिर आरोहण सुरु हुनुअघि नै यो दर घटेको थियो । टर्कीको आधिकारिक वार्षिक मुद्रास्फीति दर डिसेम्बरमा ६४.७७ प्रतिशत सम्म पुगेको छ, जुन नोभेम्बरमा ६१.९८ प्रतिशत रहेको थियो । तर, मासिक २.९३ प्रतिशतको वृद्धि दर विगत छ महिनामा सबैभन्दा कम हो । कोनोटोक्सिया इन्भेस्टमेन्ट हाउसका बजार विश्लेषक बार्टोस्ज साविकीले भने, ‘मुद्रास्फीतिको प्रवृत्तिमा केही सुधार आएको छ र पछिल्ला महिनाहरूमा मुद्रास्फीति दर स्थिर भएको छ ।’ क्यापिटल इकोनोमिक्सका लियाम पीचका अनुसार पछिल्लो तथ्याङ्कले केन्द्रीय बैंकलाई सामान्यतया सान्त्वना दिनेछ । उच्च ब्याज दरलाई ‘सबै दुष्टहरूको आमा र पिता’ भनेका एर्दोगानलाई विश्लेषकहरूले यसका लागि जिम्मेवार देखेका छन् । राष्ट्रपति एर्दोगानले सन् २०२१ मा ‘नाम मात्रको स्वतन्त्र’ केन्द्रीय बैङ्कलाई उधारो लागत घटाउन निर्देशन दिनुलाई विश्लेषकहरूले मुद्रास्फीतिको श्रृङ्खलालाई बढाउने वर्तमान् समस्याको जड मानेका छन् । गत वर्षको मे महिनामा पुनः चुनाव जितेपछि आफ्नो पूरानो प्रतिबद्धतालाई उल्टाउँदै अर्थतन्त्र सुधारका लागि अग्रसरता लिन उनले टर्कीका चर्चित अर्थविद् मेहमेट सिम्सेकलाई अर्थमन्त्रीको रूपमा र पूर्व वाल स्ट्रीटका कार्यकारी प्रमुख हाफिज गए एर्कानलाई केन्द्रीय बैंकको गभर्नरमा नियुक्त गरेका थिए । एर्दोआनको उच्च ऋण लागतको विगतको घृणालाई तोड्दै केन्द्रीय बैङ्कले महत्वपूर्ण ब्याज दरलाई ४२.५ प्रतिशतबाट ८.५ प्रतिशतमा झारेको छ । दुई दशकभन्दा बढी सत्तामा रहेपछि आर्थिक नीति उल्टाउने बृहत् सङ्केत एर्दोगानले नयाँ कार्यक्रमलाई समर्थन गरेका छन् ।
पशुपति क्षेत्र विकास कोषले तयार गर्यो बहाल व्यवस्थापन कार्यविधि मस्यौदा
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले बहाल मस्यौदा तयार गरेको छ । पशुपति क्षेत्र विकास कोषले बहाल व्यवस्थापन मस्यौदा तयार गरी मन्त्रलयमा पेश गरेको छ । बहाल व्यवस्थापन कार्यविधी बनाएर कोषको आम्दानी वृद्धी गर्ने जनाएको छ । कार्यविधि नबन्द कोषको अचल सम्पती कौडीको मुल्यमा प्रयोग हुँदै आएको छ । कोषका कोषाध्यक्ष नारायण प्रसाद सुवदीको संयोकत्वमा रहेको ६ सदस्य मस्यौदा समितिले आज सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई मस्यौदा बुझाएको हो । मस्यौदा अध्यान गरेर कार्यन्वयमा लाने मन्त्री किरातीले बताएका छन् ।
एपोलो हाइड्रोको आईपीओ प्रत्याभूतिकर्तामा मुक्तिनाथ क्यापिटल
काठमाडौं । एपोलो हाईड्रोपावरले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले १४ लाख १० हजार कित्ता साधारण सेयर प्रत्याभूति ब्यवस्थापनको कार्य गर्न मुक्तिनाथ क्यापिटलसँग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष आङ तेन्जी शेर्पा र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । कम्पनीले निमार्ण गरी रहेको बुकु खोला जलविद्युत आयोजना ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिका, सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका र रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका भई बग्ने बुकु खोलाको पानी उपयोग गरी ६ मेगावाट विद्युत उत्पादन क्षमता रहेको छ । यस कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग मिति २०७५ साल साउन २२ गते विद्युत खरिद सम्झौता गरी उक्त आयोजनाको निमार्ण कार्य ५५ प्रतिशत सम्पन्न गरिसकेको छ ।
सौराहामा पर्यटक बढेसंगै व्यवसायी उत्साहित, ९० प्रतिशतभन्दा बढी होटल बुकिङ
काठमाडौं । प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक चितवनस्थित सौराहामा घुम्न आउने चिनियाँ र भारतीय पर्यटकको सङ्ख्या बढेको छ । बाह्य पर्यटकले सौराहाका होटल भरिभराउ भएपछि यहाँका व्यवसायी उत्साहित भएका छन् । सौराहास्थित क्षेत्रीय होटल सङ्घका अध्यक्ष गङ्गा गिरीले अङ्ग्रेजी नयाँ वर्षसँगै चिनियाँ र भारतीय पर्यटकको सङ्ख्या बढेको बताए । ‘यो अवस्था रहिरह्यो भने चिनियाँ पर्यटकको सङ्ख्या पुरानै लयमा फर्कन्छ’, उनले भने, ‘सौराहाका ९० प्रतिशतभन्दा बढी होटल बुकिङ छन् । भारतमा सार्वजनिक बिदा भएका कारण पनि घुम्न आउने भारतीय नागरिक बढेका हुन् ।’ चीन र भारतसँगै तेस्रो मुलुकबाट पनि सौराहा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ । सन् २०२३ मा तीन लाख पर्यटक सौराहा भित्रिएकामा सन् २०२४ मा तीन लाख ५० हजार पर्यटक भित्र्याउने योजना रहेको अध्यक्ष गिरीको भनाइ थियो । सौराहामा पर्यटक बढाउन प्रचारप्रसार अभियान लिएर देश–विदेश जाने योजना रहेको बताउँदै उनले ‘घुमौँ सौराहा अभियान’ लिएर चीन र भारतका विभिन्न ठाउँ र पश्चिम नेपाल जाने योजना रहेको जानकारी दिए । नेपालको सडक पूर्वाधार राम्रो नहुँदा पर्यटकको सङ्ख्या बढ्न नसकेको र हवाई यातायात पनि महँगो भएको अध्यक्ष गिरीको गुनसो थियो । क्षेत्रीय होटल सङ्घका पूर्वअध्यक्ष दीपक भट्टराईले सौराहामा चिनियाँ र भारतीय पर्यटक बढेपछि उत्साह थपिएको बताए । ‘यसरी नै पर्यटकको सङ्ख्या बढ्दै जाने हो भने व्यवसायबाट पलायन हुनु पर्दैन’, उनले भने, ‘थप लगानी र सम्भावनाका ढोका खुल्दै जान्छन् । देशभित्रका सडक समयमै निर्माण नहुँदा पर्यटकको बसाइ लम्ब्याउन सकिएको छैन ।’ सौराहाका रेष्टुराँमा विभिन्न खानाको स्वाद लिन आउने पर्यटकको चाप पनि उत्तिकै रहेको रेवानका अध्यक्ष नरेश गिरीले बताए । उनका अनुसार सौराहामा आन्तरिक पर्यटकको सङ्ख्या उल्लेख्य छ । यहाँ झण्डै दुई सय रेष्टुरेन्ट छन् । सौराहामा मात्र साना–ठूला गरी एक सय ४१ होटल छन् भने पश्चिम चितवनको जगतपुर र मेघौलीमा समेत सुविधायुक्त होटल छन् । दैनिक छ हजार चार सय २६ पर्यटक बस्न मिल्ने क्षमता सौराहामा छ । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनभित्र दुर्लभ एकसिङ्गे गैँडा, बाघलगायत वन्यजन्तु हेर्न पर्यटक आउँछन् । जङ्गल सफारी गर्ने, नदीमा डुङ्गा सयर गर्ने र निकुञ्जमा पदयात्रा गर्ने पर्यटकको मुख्य उद्देश्य रहेको देखिन्छ । रासस
महालक्ष्मी विकास बैंकका ग्राहकले एपोलो डाइग्नोष्टिक सेन्टरमा छुट पाउने
काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकले एपोलो डाइग्नोष्टिक सेन्टरमा छुट पाउने भएका छन् । बैंकले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ एपोलो डाइग्नोष्टिक सेन्टरसँग सम्झौता गरेको छ । बैंकका ग्राहकहरुको सेवा तथा सुविधालाई ध्यानमा राखी बैंकले यस्तो सम्झौता गरेको हो । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाका विभिन्न स्वास्थ्य सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । प्राप्त गर्न सकिने छुट निम्नलिखित छन् :
जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ६४ पुग्यो
जापान । जापानको इशिकावा प्रान्तमा बुधबार गएको भूकम्पमा तथा पराकम्पनका कारण मृत्यु हुनेको सङ्ख्या ६४ पुगेको छ । सोमबार गएको ७.६ म्याग्निच्युडको भूकम्पले इशिकावाको बाजीमा सहरमा व्यापक संरचनात्मक क्षति तथा आगलागी भएको छ । बुधबारसम्म पनि भग्नावशेष र भत्किएका सडकहरूले खोजी र उद्धार कार्यमा असहजता भएकाले हालसम्मको पूर्ण जानकारी आउन सकेको छैन । भूकम्प प्रभावित क्षेत्र नोटो प्रायद्वीपमा बुधबार बिहान ५.४ र मङ्गलबार साँझ पनि ४.६ म्याग्निच्युडका दुई ठूला पराकम्पन गएका छन् । जापान मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार भूकम्पीय तीव्रता स्केल ७ रहेको र जमिनमा उभिन कठिन भएको थियो । स्थानीय सञ्चारमाध्यममा आएका विवरणअनुसार इशिकावाका अधिकारीहरूले सरकारलाई विपद् तथा राहतको लागि ‘सेल्फ डिफेन्स फोर्स’का कर्मचारीहरू पठाउन आग्रह गरेका छन । भूकम्पका कारण स्थल यातायातको पहुँच टुटेका क्षेत्रहरूमा आपूर्तिहरू पु¥याउन हेलिकप्टर प्रयोग गर्ने तयारी गरेको सशस्त्र बलहरूले जनाएका छन् । क्षतिको रिपोर्टसँगै प्रभावित क्षेत्रमा मानिसहरू भत्किएका घरहरूमा फसेको तथा उद्धारको पर्खाइमा रहेको धेरै घटनाहरू आइरहेको नगरपालिका अधिकारीहरूले जनाएका छन् । जेएमएले भूकम्पपछि जापानी समुद्रमा राखिएका सुनामीसम्बन्धी सुचनाहरू हटाएको छ । यद्यपी मौसम अधिकारीहरूले अर्को दुई तीन दिनसम्म शक्तिशाली पराकम्पनहरू आउन सक्ने चेतावनी दिएका छन् । रासस
सातै प्रदेशमा आइएमईको रेमिटेन्स साक्षरता कार्यक्रम
काठमाडौं । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले सातै प्रदेशमा रेमिटेन्स साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ । गत मंसिर २०८० बाट सातै प्रदेशमा सन्चालन गरिएको उक्त कार्यक्रममा प्रत्येक प्रदेश अन्तर्गतका व्यवसायिक साझेदार मित्रहरुको उत्साहपूर्वक उपस्थित रहेको थियो । उक्त साक्षरता सम्बन्धि कार्यक्रममा सुरक्षित माध्यमबाट रेमिटेन्स र यसको प्रयोग बिषयमा केन्द्रित रहेर रेमिटेन्स मार्फत प्राप्त भएको रकम सुरक्षित रूपमा कसरि हस्तान्तरण गर्ने , रेमिटेन्स गरि रकम पठाउने तथा प्राप्त गर्ने ग्राहकले बिशेषगरि के कुरामा ध्यान पुराउने तथा रेमिटेन्सको डिजिटल प्रगोग सम्बन्धि बिषयमा रहेर प्रशिक्षण सम्पन्न गरिएको हो । स्थापनादेखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्ध आइएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीहरु तथा स्वदेशमै दुख गरि कमाएको रकमको सुरक्षाको उद्देश्यका साथ सो कार्यक्रम सम्पन्न गरिएको हो ।