मेलम्ची खानेपानीको काम अन्तिम चरणमा, १० दिनभित्र काम सम्पन्न हुने
काठमाडौं । मेलम्ची खानेपानी आयोजना मर्मतको काम ७० प्रतिशत सम्पन्न भएको छ । बाढीले ध्वस्त बनाएको संरचनामा अहिले पुनः पानी पथान्तरणका लागि काम भइरहेको छ । बुधबार हेलम्बु–१ अम्बाथानस्थित मुहानस्थलमा अवलोकनका लागि पुगेका प्रतिनिधिमण्डललाई त्यहाँ भइरहेको कामबारे जानकारी गराउँदै आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले सो कुराको जानकारी दिए । उनले अबका बाँकी काम केही कठिन रहेको जनाउँदै जस्तोसुकै परिस्थिति आए पनि अबको १० दिनभित्र काम सम्पन्न हुने बताए । उनले सरकारको लक्ष्यअनुसारनै पानी पथान्तरणका लागि तीव्र गतिमा काम भइरहेको बताए । सांसद अमरेशकुमार सिंहले सरकारले मेलम्ची आयोजनालाई प्राथमिकता दिएर बाह्रै महिना काठमाडौंवासीलाई पानी खुवाउनुपर्ने बताए । खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले दीर्घकालीन रुपमा काठमाडौँमा पानी लाने गरी काम गर्न लागि परेको बताए । अवलोकनमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल, सांसद सिंह, वित्त आयोगका सदस्य जुद्द गुरुङ, विपिनराज निरौला, खानेपानी मन्त्रालयका सचिव आचार्य, खानेपानी विभागका महानिर्देशक कमलराज श्रेष्ठ, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारीलगायतको सहभागिता रहेको थियो । अहिले ४५ जना कामदारले द्रुत गतिमा काम गरिरहेको इन्जिनियर कुँवरले बताए । गत वर्षको बाढीले हेडवक्र्सको संरचनालाई करिब २० फिट अग्लो गेग्रानले पुरेको थियो । अहिले उक्त गेग्रान हटाएर अर्डिट सुरुङमा पसेको ढुङ्गा, गिट्टी र बालुवा झिक्ने काम भइरहेको छ । विसं २०७८ असारमा आएको बाढीले मुहान क्षेत्रलाई तहसनहसनै बनाएपछि पानी काठमाडौं अस्थायीरुपमा ल्याउने गरिएको छ ।
निर्जीवन बीमा कम्पनीका सीईओलाई किन डाक्याे प्राधिकरणले ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरूको सेवाका विषयमा निर्जीवन बीमा कम्पनीहरूबाट प्रतिक्रिया लिएको छ । बुधबार निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूलाई प्राधिकरणमा बोलाएर पुनर्बीमा कम्पनीहरूले दिईरहेको सेवाका विषयमा प्रतिक्रिया लिएको हो । हाल नेपालमा नेपाल पुनर्बीमा कम्पनी र हिमालयन पुनर्बीमा कम्पनी सञ्चालनमा छन् । स्रोतका अनुसार नेपाल पुनर्बीमा र हिमालयन पुनर्बीमा कम्पनीले दिइरहेको सेवा कस्तो छ भनेर प्राधिकरले सोधेको थियो । यदि पुनर्बीमा कम्पनीहरूले दिइरहेको सेवामा प्राधिकरणबाट केही गर्नु पर्ने छ भने सो कार्य गर्न तयार रहेको प्राधिकरणले बताएको थियो । ‘पुनर्बीमा कम्पनीहरूले कस्तो सेवा दिइरहेका छन्, केही कमीकमजोरी छन् प्राधिकरणले सच्याउन निर्देशन दिन तयार छ,’ छलफलमा सहभागी एक सीईओले विकासन्युजसँग भने । छलफलमा सहभागी सीईओहरूले दुवै पुनर्बीमा कम्पनीहरूले राम्रो सेवा दिइरहेको प्रतिक्रिया दिएको स्रोतको भनाइ छ ।
महासंघ र घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रले सीप र प्रविधिमा सहकार्य गर्ने
काठमाडौं । घरेलु तथा साना उद्योग प्रवर्द्धनका क्षेत्रमा साझेदारी र सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल सरकार, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र बीच आज एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा महासंघका महानिर्देशक गोकर्णराज अवस्थी र केन्द्रका कार्यकारी निर्देशक दिपक घिमिरेले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार दुवै संस्थाको संयुक्त सहकार्यमा घरेलु तथा साना उद्योग प्रवर्द्धनका क्षेत्रमा साझेदारी र सहकार्यका कार्यक्रमहरु संचालन गरिनेछ । त्यसैगरी नेपाल सरकारको स्वीकृत वार्षिक कार्यक्रम बमोजिम कार्यान्वयन हुने विषयहरुको सफल कार्यान्वयनका लागि महासंघ र केन्द्रले एक आपसमा सकृय सहकार्य गर्ने, कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम कार्यान्वयन सम्बन्धमा महासंघले सहजीकरण गर्ने, घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन गर्न आवश्यक शीप तथा प्रविधि हस्तान्तरणका क्षेत्रमा सहकार्य गर्न दुवै संस्था सहमत भएका छन् । हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दे महासंघका उपाध्यक्ष सुर कुष्ण वैद्यले उद्योगी व्यापारी तथा व्यवसायीहरुको ठूलो संजाल रहेको महासंघले मुलुकको घरेलु तथा साना उद्योग विकासमा सरकारसंगको सहकार्यमा महत्वपूर्ण कामहरु गर्दै आएको र आगामी दिनमा यस क्षेत्रको विकास तथा प्रवर्द्धनको लागि मिलेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे । त्यसैगरी कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक घिमिरेले उद्योग व्यवसाय प्रवर्द्धन लगायत रोजगारी सिर्जना गर्ने लगायत मुलुकको अर्थतन्त्र विकासको महत्वपूर्ण मेरुदण्डको रुपमा रहेको महासंघसंग मिलेर काम गर्दा केन्द्रको कार्यक्रमहरु सफल हुने विश्वास व्यक्त गर्दै समझदारीपत्र अनुसार सहकार्य गरिने प्रतिबद्धता व्यक्त गरे । महासंघका घरेलु तथा साना उद्योग विकास समितिका सभापति नरेन्द्र कुमार खड्काले नेपाल सरकार लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रले ल्याएको कार्यक्रमहरु सफल बनाउन महासंघ, घरेलु तथा साना उद्योग विकास समितिले भरपुर सहयोग गर्ने साथै केन्द्र कार्यक्रमको पूर्ण सफलताको लागि शुभकामना व्यक्त गरेका छन् । कार्यक्रममा कार्यकारिणी समितिका सदस्यहरु एवं महासंघको घरेलु तथा साना उद्योग विकास समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।
रोजगारी र उत्पादन गुम्नेगरी बासस्थान निर्माण गर्नु हुँदैन : अर्थमन्त्री महत
पाटन । अर्थमन्त्री डा प्रकाशशरण महतले भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माण अघि बढाउँदा रोजगारी र उत्पादन गुम्नेगरी बासस्थान निर्माण गरिनु नहुने धारणा राखेका छन् । भूकम्प प्रभावित जिल्लाका जनप्रतिनिधिको संयुक्त आयोजनामा आज ललितपुरमा आयोजित जाजरकोट रामिडाँडा भूकम्प प्रभावित क्षेत्रको पुनः निर्माणसम्बन्धी वृहत् अन्तरक्रियामा मन्तव्य राख्नदै अर्थमन्त्री डा महतले नागरिकको अपेक्षा बमोजिमको उपयुक्त स्थानमा बासस्थान निर्माण गर्ने गरी पुनःनिर्माणका काम अघि बढाउनुपर्ने बताएका हुन् । ‘नागरिकलाई सुरक्षित गर्ने कुरामा गम्भीर ढङ्गले लागेको छ । पुनःनिर्माणका कामलाई प्रभावकारी बनाउन स्रोत र साधनको परिचालन र वितरणमा स्थानीय र प्रदेश सरकारको प्रत्यक्ष सहयोग र कार्यान्वयनमा ध्यान दिनुपर्छ । रोजगारी र उत्पादन गुम्नेगरी बासस्थान निर्माण गरेर पनि सहज हुँदैन, उनीहरुको रोजगारी र उत्पादनलाई पनि सुरक्षित हुने गरी नागरिकको अपेक्षा बमोजिमको उपयुक्त स्थानमा बासस्थान निर्माण गर्ने गरी पुनःनिर्माणका काम अघि बढाउनुपर्छ ।’, डा महतले भने । उनले विपद् व्यवस्थापनमा आवश्यक बजेट उपलब्ध गराउनु नेपाल सरकारको जिम्मेवारी हो भन्दै स्रोत र साधन जुटाएर खर्चको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए । डा महतले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत स्थानीय तहमा पु¥याउनुपर्ने धारणा राख्नदै बजेटको सीमाभित्र रहेर काम गर्नुपरेको भए पनि हामी व्यवस्थापन गर्ने प्रयत्न गर्ने प्रष्ट पारे । उनले पुनःनिर्माणका लागि बजेट नपुग भएको खण्डमा मित्रराष्ट्रका प्रतिनिधिसँग पनि समन्वय गरेर कुन रुपमा सहयोग आउन सक्छ भन्ने केही दिनमै निक्र्यौल निकाल्ने जानकारी गराए । अब पुनः निर्माणका काम गर्दा ठूलो भूकम्प आउँदा पनि थेग्न सक्ने भवन निर्माण गर्नुपर्नेमा जोड दिदै सरकारले यसका लागि वडा तहसम्म दक्ष प्राविधिकको व्यवस्थापन गर्ने अर्थमन्त्री महतको प्रतिबद्धता छ । पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले जनजीवनलाई जोड्ने तथा रोजगारी र सीपलाई उठाउने गरी पुनः निर्माणका काम अगाडि बढाउन तीनै तहका सरकारहरुबीच समन्वय र सहकार्य हुनुपर्ने धारणा राखे । उनले भूकम्प प्रभावित क्षेत्रमा एकीकृत बस्ती निर्माणमा जोड दिनुपर्ने बताए । वातावरण संरक्षण सहितको प्रविधिमैत्री पुनःनिर्माणका लागि जोड दिँदै विपद् थेग्न सक्ने गरी पुनःनिर्माण अगाडि बढाउनुपर्ने धारणा उनको थियो । भूकम्प प्रभावित जिल्लाको भू–भागलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर प्राथामिकताका साथ त्यहाँको जनजीवनलाई सहज बनाउने गरी पुनःनिर्माणका काम तीव्र गतिमा अगाडि बडाउनुपर्नेमा कार्यक्रमका सहभागीले जोड दिएका थिए । रासस
होटल म्यानेजमेन्टमा विद्यार्थीको आकर्षण बढ्दै, रोजगारीका अवसर धेरै हुने
नवलपुर । पछिल्लो समय ‘होटल म्यानेजमेन्ट’ विषयतर्फ विद्यार्थीको आकर्षण बढ्दै गएको छ । अध्ययन र उत्तीर्ण गर्न सहज तथा रोजगारीका अवसर धेरै हुने भएकाले होटल म्यानेजमेन्टतर्फ विद्यार्थीको आकर्षण बढ्न थालेको हो । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा कक्षा ११ मा होटल म्यानेजमेन्ट (एचएम) अध्ययनरत गौरव गुरुङले अध्ययनपछि तुरुन्त रोजगार पाइने भएकाले यो विषय पढेको बताएका छन् । बाँकेको नेपालगञ्ज घर भएका गुरुङ होटल म्यानेजमेन्ट पढ्नकै लागि यहाँ आएको बताउँछन् । होटल म्यानेजमेन्ट अध्ययनपछि स्वदेशमा रोजगार तथा विदेशमा पनि उच्च माग भएको आफूले बुझेको भन्दै गुरुङले स्वरोजगार हुन र जीवनोपयोगी शिक्षाका लागि समेत यो विषय पढेको बताए । नेपालको पूर्वी जिल्ला खोटाङबाट एचएम पढ्न यहाँ आएकी रोनिशा भुजेलले भान्छामा हुने सामान्य कामदेखि बोल्ने शैली, सरसफाइलगायत धेरै कुराको सिकाइ होटल म्यानेजमेन्टमा हुने गरेको बताएकी छन् । ‘हामीले पढेको सिद्धान्तलाई व्यवहारमा लागू गर्दै अध्ययन गर्न रमाइलो हुने गरेको छ’, उनले भनिन् ‘एचएम पढेपछि होटलमात्रै नभएर धेरै क्षेत्रमा रोजगारको अवसर खुल्ने भएर पढ्न सुरु गरेको हो ।’ एचएमको पढाइले आफ्नो दैनिक जीवनमा समेत परिवर्तन ल्याएको उनले सुनाइन् । होटल म्यानेजमेन्टका प्रशिक्षक सरोज तामाङले अहिले देशमा भएका धेरैजसो होटल, रेस्टुरेन्टमा पढेर नभई गरेर सिकेका कामदारमात्रै भएको भन्दै त्यस्ता जनशक्तिसँग काम राम्रै गर्ने ज्ञान भए पनि होटल व्यवस्थापनको सैद्धान्तिक ज्ञान नहुने बताए । अन्तर्राष्ट्रियस्तरका पाहुनालाई स्वागत गर्न सैद्धान्तिकसँगै व्यावहारिक ज्ञान आवश्यक पर्ने हुँदा आधुनिक र ठूला होटलले पढेकै जनशक्ति खोज्ने भएकाले पनि एचएम पढ्न विद्यार्थीको आकर्षण बढेको उनको भनाइ छ । स्वेदशमै रोजगारबोहक धेरैजना विदेश जानका लागि पनि होटल म्यानेजमेन्ट पढ्न आकर्षित हुने गरेको तामाङले बताए । अक्सफोर्ड कलेजमा राष्ट्रिय परीक्षा बोर्डतर्फको व्यवस्थापन सङ्कायका विभागीय प्रमुख हरि थपलियाले कक्षा ११ मा होटल म्यानेजमेन्ट पढ्न आउने विद्यार्थीको सङ्ख्या बर्सेनि बढ्दै गएको बताए । अरूको रोजगारी गर्न मन नहुनेले आफैँ होटल, रेस्टुरेन्ट खोलेर सञ्चालन गर्ने क्षमताको समेत विकास हुने हुँदा स्वरोजगार बन्ने र अरूलाई रोजगारी दिने अवसर पनि होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीमा हुने उनको भनाइ छ । होटल म्यानेजमेन्ट अध्ययन हुने अर्को शैक्षिक संस्था इडन गार्डेन माविका प्रिन्सिपल प्रेमहरि सुवेदीले होटल म्यानेजमेन्टतर्फ विद्यार्थीको आकर्षण बढेसँगै यो विषय पढाउने शैक्षिक संस्थासमेत बढेको बताए । नवलपुर र चितवनमा कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट पढाउने विद्यालयमात्रै नभएर स्नातक तहमा होटल म्यानेजमेन्ट पढाउने कलेजको सङ्ख्यासमेत बढ्दै गएको बताए । ‘नवलपुर र चितवनबाहेक अन्य छिमेकी जिल्लाबाट समेत हाम्रो विद्यालयमा एचएम पढ्नैका लागि विद्यार्थी आउने गरेका छन्’, उनले भने, ‘यो शैक्षिक सत्रमा हामीले पनि एचएमका दुईवटा कक्षा सञ्चालन गरेका छौँ ।’ किताबमा पढेका सैद्धान्तिक विषयवस्तु विद्यार्थीले प्रयोगात्मकरूपमा गरेर अनुभव हासिल गर्न पाउने भएकाले पनि यो विषयमा विद्यार्थीको आकर्षण बढेको हुनसक्ने उनको भनाइ छ । स्तरीय होटल खुल्ने क्रम बढेको र त्यहाँ पढेको जनशक्तिको माग हुने भएकाले पनि एचएममा विद्यार्थीको आकर्षण बढेको उनको भनाइ छ । रासस
उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त
काठमाडौं । न्याय परिषद्को आज बसेको बैठकले उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो । सिफारिस भएका न्यायाधीशमध्ये २६ जिल्ला अदालतका न्यायाधीश रहेका छन् । न्याय सेवा र सरकारी वकिलबाट चार अधिकृतलाई उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको छ । यस्तै नौ कानुन व्यवसायीलाई उच्च अदालतको न्यायाधीश नियुक्त गर्न सिफारिस गरिएको छ । बैठकले उच्च अदालतका १६ न्यायाधीशको सरुवासमेत गरेको छ ।
५५ वटा चार्जिङ स्टेशन बनाउँदै एमएडब्लू वृद्धि, फोटोनका गाडी मात्र चार्ज गर्न मिल्ने
काठमाडौं । फोटोन गाडीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्शियल भेहिकलले देशका विभिन्न ठाउँमा ५५ वटा चार्जिङ स्टेशनको निर्माण गर्ने भएको छ । विद्युतीय सवारीको विस्तारसँगै चार्जिङ स्टेशनको आवश्यकता ठम्याई कम्पनीले चार्जिङ स्टेशनको निर्माण गर्ने योजना बनाएको हो । पहिलो चरणमा १५ र दोस्रो चरणमा ४० वटा गरी जम्मा ५५ वटा चार्जिङ स्टेशन निर्माण गर्ने योजना बनाएको कम्पनीले बताएको छ । कम्पनीका अनुसार केही चार्जिङ स्टेशन निर्माण भई सञ्चालनमा आइसकेका छन् भने केही स्टेशनहरु निर्माणको चरणमा छन् । महेन्द्रनगर, जनकपुरमा चार्जिङ स्टेशन तयार भई सञ्चालनमा आइसकेको एमएडब्लू वृद्धिका सेल्स हेड रविन आचार्यले बताए । चियाबारी, मुलकोट लगायतका ठाउँमा केही दिनभित्र चार्जिङ स्टेशन सञ्चालनमा आउने उनको भनाइ छ । कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ मा चार्जिङ स्टेशन निर्माणको लागि २ करोड रुपैयाँ बजेट छुट्याएको छ । आचार्यका अनुसार कम्पनीले यो वर्ष करिव ३५ वटा चार्जिङ स्टेशन निर्माण गर्ने लक्ष्य राखेको छ । कम्पनीले जडान गरेको चार्जरबाट सबै गाडी भने चार्ज गर्न मिल्दैन । उक्त चार्जरबाट फोटोनका गाडी र कारहरू मात्र चार्ज गर्न मिल्ने आचार्यले बताए । नेपाल विद्युत् प्राधिकरणले तोकेको शुल्क अनुरूप नै शुल्क बुझाएर गाडी चार्ज गर्न सकिने उनको भनाइ छ । सवारी साधनहरूमा रहेको ब्याट्री क्षमता अनुसार ४० किलोवाटको चार्जरले १ घण्टा १५ मिनेटमा फुल चार्ज हुन्छ । कम्पनीका अनुसार स्टेशन अनलाइन बिलिङ प्रणालीको जडान गरिएको छ । पहिलो चरणमा तयार हुने १५ वटा चार्जिङ स्टेशन मध्ये १२ वटा ६० किलोवाटका र बाँकी ३ वटा क्रमशः १२०, ४० र ३० किलोवाट क्षमताका हुनेछन् । विद्युतीय सवारी साधन प्रयोगमार्फत वातावरणमैत्री यातायात प्रणालीको विकासका लागि चार्जिङ स्टेशन स्थापना गरिएको आचार्यले बताए । ‘फोटोनका ईभी गाडी किनेर सञ्चालन गर्दा सहज रूपमा ती गाडीलाई चार्ज गर्न सकियोस् भनेर स्टेशनको निर्माण गर्ने योजना बनाएका छौं’, उनले भने, ‘चार्जिङ स्टेशनले गाडी चार्ज साथै सुरक्षित यात्रा गर्नमा मद्दत पुर्याउने छ ।’ कम्पनीले अधिकांश रुटमा चल्ने गाडीलाई लक्षित गर्दै चार्जिङ स्टेशनको निर्माण गरिरहेको छ । ईभी गाडीका प्रयोगकर्ता बढेसँगै ईभीका लागि चाहिने पूर्वाधारको कमी नहोस् भन्ने उद्देश्य राखी चार्जिङ स्टेशन निर्माण गरिएको आचार्यको भनाइ छ । सर्भिस सेन्टर पनि विस्तार गर्दै एमएडब्लू वृद्धिले गाडी बिक्री पछिको सर्भिसलाई पनि मध्यनजर गर्दै सर्भिस सेन्टर पनि विस्तार गर्दै जाने योजना बनाएको छ । कम्पनीले हाल १० वटा सर्भिस सेन्टर सञ्चालन गर्दै आएकोमा २ वटा थपेर १२ वटा सर्भिस सेन्टर बनाउने योजना बनाएको कम्पनीले जनाएको छ । ‘हामी सबै डिलरलाई थ्रीएस दिन्छौं, नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म कभर हुने गरी सर्भिस र सेल्स नेटर्वक विस्तार गर्दै छौं,’ विकासन्युजसँग कुरा गर्दै आचार्यले भने । विश्वभरी फोटोन मोटर्सका एक करोड १० लाख गाडी बिक्री भएका छन् । नेपालका सडकमा करिब ५ सय वटा फोटोनका गाडीहरू कुद्ने गरेको कम्पनीको भनाइ छ । एमएडब्लू वृद्धिका अनुसार फोटोनका डिजेल, पेट्रोल, हाइड्रोजन, इलेक्ट्रिक, आदि गाडी उपलब्ध छन् । पछिल्लो समय एमएडब्लू वृद्धिले नेपालमा १४ र १५ सिटर ‘हाई रुफ ईभी भ्यान’ पनि सार्वजनिक गरेको छ । फोटोन मोटर्सले सन् २००३ देखि ईभी गाडी र २००५ मा इलेक्ट्रिक बसको उत्पादन गर्दै आएको छ । हाल फोटोनले विश्वभर २२ वटा फ्याक्ट्रीबाट आफ्ना उत्पादन गरिरहेको छ ।
ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवमा अध्यक्ष ढकालले गरे २५३ कर्मचारीलाई सम्मान
काठमाडौं । ग्लोबल आइएमई बैंकले १७ औँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पुरा गरेका २५३ कर्मचारीहरुलाई सम्मान गरेको छ । बैंकद्वारा आयोजित कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकमा १५ वर्षदेखि निरन्तर बैंकमा सेवारत कर्मचारीहरुलाई सम्मान गरेका हुन् । अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले मर्जर र व्यवसाय विस्तारसँगै बैंकको गुणस्तर वृद्धिलाई ध्यानमा राख्दै ग्राहकको सेवा तथा सन्तुष्टिलाई प्राथमिकतामा राखेर बैंकको सेवालाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने बताए । उनले बैंक आफ्नो स्थापनाको १७ वर्षमा आफूलाई अधिकांश वित्तीय सूचकहरुमा अब्बल बनाउन सफल रहेको बताएका छन् । नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकका नीतिहरको परिपालन गर्दै जाँदा बैंक अहिलेको अवस्थामा आइपुगेको बताउँदै लक्ष्य प्राप्ति भन्दा मिहिनेत र लगनशिलतामा जोड दिन आम कर्मचारीहरुलाई आग्रह गरे । कर्मचारीको अथक मिहिनेत र लगनशिलताका कारण बैंक अहिलेको अवस्थासम्म आइपुगेको बताउँदै अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकलाई उत्कृष्ट बैंक बनाउन आफ्नो तर्फबाट पु¥याउनु भएको विशेष योगदानप्रति सबै कर्मचारीहरुलाई धन्यवाद प्रकट गरे । यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बैंकले आफ्नो सेवालाई नविनतम तथा ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिनेगरी लक्ष्य निर्धारण गरेर अगाडि बढेको बताए । बैंकका वरिष्ठ नायव प्रमुुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकले आगामि वर्षहरुमा ग्राहकको सेवा र सन्तुष्टिलाई ध्यानमा राख्दै अझ गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५५ शाखा, ३७९ एटिएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आएको छ । त्यसैगरी, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुबेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।