विकासन्युज

इपानद्वारा ऊर्जा व्यापारसम्बन्धी सम्झौताको स्वागत

काठमाडौं । निजी क्षेत्रका ऊर्जा उद्यमीले नेपाल र भारतबीच सम्पन्न दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सम्झौताको स्वागत गरेको छ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)द्वारा आईतबार आयोजित पत्रकार सम्मेलनमा दीर्घकालीन विद्युत् व्यापार सम्झौताले बजार सुनिश्चित गरेको उल्लेख गरिएको छ । आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी दुई देशबीच भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौताले बजार सुनिश्चित गरेको इपानले जनाएको छ । सन् १९७१ देखि नेपाल र भारतबीच विद्युत् आदानप्रदान हुँदै आएकोमा सन् २०१४ मा विद्युत् व्यापार सम्झौता (पीटीए) भएको थियो । सोही सम्झौतामा टेकेर पछिल्लो समय नेपालबाट विद्युत् अल्पकालीन रुपमा भारतमा निर्यात हुँदै आएको थियो । चालू आवमा मात्रै नेपालबाट रु १५ अर्बभन्दा बढीको विद्युत् भारत निर्यात भएकोमा निजी क्षेत्रले निर्माण गरेका जलविद्युत् आयोजनाको ठूलो हिस्सा रहेको थियो । भारतीय विदेशमन्त्री एस जयशङ्करको नेपाल भ्रमणका क्रममा २०८० पुस १९ गते भारतसँगभ एको दीर्घकालीन विद्युत् व्यापार सम्झौताबाट नेपालको निजी क्षेत्रले ठूलो लाभ लिन सक्ने इप्पानको विश्वास छ । जेठमा सम्पन्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा विद्युत् निर्यातको प्रारम्भिक समझदारी भएकोमा अहिले आएर भएको सम्झौताको ऐतिहासिक महत्व रहेको इप्पानको ठम्याइ छ । यो सम्झौतासँगै अब नेपाल विद्युत् प्राधिकरणले रोकी राखेको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) पूर्णरुपमा खुला हुनुपर्ने तथा निजी क्षेत्रलाई विद्युत् निर्यातका लागि अनुमतिपत्र दिने, बैंक तथा वित्तीय संस्थाले ऊर्जामा लगानी बढाउनुपर्नेमा जोड दिइएको छ । सरकारले ऊर्जा उत्पादनका लागि थप सहुलियत घोषणा गर्ने तथा ऊर्जा आयोजना निर्माणका लागि हाल देखिएका नीतिगत, प्रशासनिक तथा प्रक्रियागत समस्याको समाधानका लागि सरकार थप सक्रिय भई तुरुन्तै अघि बढ्नुपर्ने माग पनि इप्पानको छ । इप्पानका अध्यक्ष गणेश कार्कीले सरकारले सहजीकरण गरिदिएमा निजी क्षेत्रले पाँच वर्षमै १० हजार मेगावाट विद्युत् उत्पादन गर्न सक्ने बताउनुभयो । सम्झौताले नेपालको ऊर्जा विकासमा महत्त्वपूर्ण अवसर सृजना भई थप ढोका खुल्दै जाने अध्यक्ष कार्कीको भनाइ छ । यसले नेपाल र भारतबीचको बिजुली व्यापारमा वृद्धि भई नेपालको अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्ने तथा निर्यात वृद्धि र आयात न्यूनीकरणमा ठूलो योगदान पुर्‍याउने पनि अध्यक्ष कार्कीले बताए । यो सम्झौतापछि दीर्घकालीन रुपमा विद्युत् व्यापारका लागि निजी क्षेत्रका कम्पनीलाई बाटो खुला गर्ने गरी सरकारले थप नीतिगत व्यवस्था गर्ने अपेक्षा रहेको इप्पानका पूर्वअध्यक्ष कृष्णप्रसाद आचार्यले बताए। यसका लागि नेपाल तथा भारत सरकारले दुई देशका निजी क्षेत्रलाई विद्युत् व्यापारका लागि निर्वाध रुपमा पहुँच दिने गरी थपकार्य तुरुन्तै अघि बढाउनुपर्ने र यसका लागि आवश्यक सहयोग गर्न ऊर्जा उत्पादकको साझा संस्थाको हैसियतमा इप्पान सदैव तयार रहेको पनि आचार्यले बताए । ऊर्जा क्षेत्रका समस्या समाधान गर्ने गरी अधिकार सम्पन्न एकद्वार प्रणालीमा आधारित विशेष डेस्क स्थापना गरी चुस्तदुरुस्त रुपमा काम गर्नु आवश्यक रहेको इप्पानका महासचिव बलराम खतिवडाले बताए ।

ग्लोबल आईएमई बैंकको वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौं । ग्लोबल आईएमई बैंकले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मधेश र गण्डकी प्रदेशमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले मधेश प्रदेश अन्तर्गत सिरहा जिल्ला सुखिपुर नगरपालिका वडा नं. ८ स्थित सुखिपुर स्वास्थ्य चौकीमा १७० र गण्डकी प्रदेश म्याग्दी जिल्ला अन्र्नपुर्ण गाँउपालिका वडा नं. ६ पोखरे आधारभुत बिद्मालयमा १८० भन्दा बढि महिलाहरुको स्वास्थ्य चेकजाँच गरी स्थानिय महिलाहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गरेको हो । नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सञ्चालित उक्त शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरु निःशुल्क रुपमा उपलब्ध गराएको हो । प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचक अनुसार मुलुककै सबैभन्दा ठुलो बैंक वाणिज्य बैंक हो । देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क/वैदेशिक प्रतिनिधि कार्यालय सहित १,१०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।

म्याग्दीको राखुगाउँबाट डेढ करोडको सुन्तला बिक्री

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली राखुगाउँका कृषकले सुन्तला बिक्री गरेर रु डेढ करोडभन्दा बढी रकम गाउँमा भित्र्याउन सफल भएका छन् । यस वर्ष जिल्लामा समग्रमा सुन्तलाको उत्पादन घटेको जनाइएको छ । राखुगाउँका एउटै किसानले रु पाँच लाखदेखि रु नौ लाखसम्म सुन्तला बिक्री गरेर आम्दानी गरेका छन् । राखुकी मनकुमारी पुनले यस वर्ष रु नौ लाखको सुन्तला बिक्री भएको बताए । उनले विगत डेढ दशकदेखि नर्सरी स्थापना गरी सुन्तलाको बिरुवा उत्पादन गर्दै आएका छन् । अगुवा कृषक पुनले यस वर्ष अन्यत्र जिल्लाबाट आएका व्यापारीलाई बोटबाटै सुन्तला बिक्री गरेको बताए । सुन्तला उत्पादनका लागि जिल्लामै प्रख्यात मानिने तल्लो र माथिल्लो राखुमा रहेका ६५ घरधुरीले यस वर्ष करिब डेढ करोडको सुन्तला फलाएको अर्का अगुवा कृषक खिम पुनले जानकारी दिए । सो गाउँका कृषकले न्यूनतम ३० हजारदेखि नौ लाखसम्मको सुन्तला उत्पादन गरेका छन् । यस वर्ष नयाँ बोटले समेत फल दिएकाले आम्दानी बढेको सुन्तला जोन कार्यक्रमका संयोजकसमेत रहेका खिम पुनले जानकारी दिए । ‘उत्पादन घटे पनि आम्दानी घटेको छैन, सुन्तला खेतीमा लागेका कृषकले घरआँगनमै लाखौँ कमाएका छन्’, उनले भने । राखुबाट सुन्तला खरिद गरी सुर्केमेलाको सडकमा ग्रेडिङ गरी काठमाडौँ पठाउन लागेका कृषक पुनले जिल्लामा सबैभन्दा धेरै सुन्तला उत्पादन हुने राखु क्षेत्रको सुन्तला खरिदमा व्यापारीले प्रतिस्पर्धा गर्दा किसानले उचित मूल्यसमेत पाएको बताए । यहाँका सुन्तला यस वर्ष काठमाडौँका व्यापारीले बोटबाट नै खरिद गरेका उनले जानकारी दिए । राखुमा कुलबहादुर गर्बुजा, जशीकला रोका, भीमकुमारी घर्ती, खिरमती राना, थबहादुर पुन, जसबहादुर घर्ती मगरलगायते सात लाखभन्दा बढीको सुन्तला फलाएका छन् भने सुन्तला बिक्री गरेर रु चार लाखभन्दा धेरै कमाउने कृषकको सङ्ख्या हरेक वर्ष बढ्दै गएको छ । परम्परागत खेतीबाली लगाउन छाडेर व्यावसायिक सुन्तला खेती गर्दै आइरहेका राखुका राजेन्द्र रोका र  मनबहादुर बुढाथोकीले यस वर्ष नयाँ बिरुवा थपेका छन्। सुन्तला खेतीले कृषकको जीवनस्तरमा समेत परिवर्तन आएपछि गत वर्षदेखि गाउँभरि नै सुन्तलाका थप बिरुवा रोपिएको वडाध्यक्ष पदम पुनले बताए  । हरेक वर्ष नयाँ बिरुवा वितरण, कृषि ज्ञान केन्द्रसहित विभिन्न निकायबाट समेत प्रोत्साहनका साथै कृषक आफ्नै अगुवाइमा समेत सुन्तलाको खेती विस्तारमा सक्रिय रहेको उहाँको भनाइ रहेको छ  । सुन्तला खरिदका लागि ठूला ट्रक लिएर व्यापारी गाउँमा नै आएका छन् ।  टाढाटाढाबाट आउन थालेपछि सडकसमेत व्यवस्थित बनाइएको छ । अन्नबालीभन्दा सुन्तला खेती गर्दा नगद आम्दानी हुन थालेपछि राखुका स्थानीय सुन्तला खेतीतर्फ आकर्षित हुँदै गएपछि अहिले बाँझो जमिनसँगै घरआँगनसमेत सुन्तलाको लटरम्मै बोटले पहेलपुर भएको छ । रासस

नागरिक लगानी कोषले १० अर्ब ३६ करोड बैंकको मुद्दतीमा लगानी गर्दै

काठमाडौं । नागरिक लगानी कोषले वाणिज्य बैंकहरूको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कोषले १० अर्ब ३६ करोड ८४ लाख ४४ हजार रुपैयाँ बैंकहरूको मुद्दतीमा जम्मा गर्ने भएको हो । कोषका अनुसार बैंकको एक वर्षे मुद्दती निक्षेपमा उक्त रकम जम्मा राख्ने भएको हो । बैंक तथा वित्तीय संस्थाबाट लिन चाहेको रकम ब्याजदर तथा ब्याज भुक्तानी गर्ने समयाबधी उल्लेख गर्न कोषले आह्वान गरेको छ । उक्त निक्षेप लिन चाहेका बैंकहरूले पुस २४ गते दिउँसो २ बजेभित्र लाहाछाप सहित सिलबन्दी प्रस्ताव बुझाउन कोषले आग्रह गरेको छ । उक्त रकममा माघ २७ गतेसम्मको भुक्तानी म्याद समाप्त हुने मुद्दती निक्षेप समेत समावेश गरिएको कोषले जनाएको छ ।

राष्ट्र बैंकले भक्तपुरको सानोठिमीमा भौतिक संरचना निर्माण गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले भवन निर्माण गर्ने भएको छ । राष्ट्र बैंकले सानोठिमी भक्तपुरस्थित बैंकको जग्गामा भौतिक संरचना निर्माण गर्ने जनाएको छ । राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले भौतिक संरचना निर्माण गर्ने भएकाले आह्वान गरेको बोलपत्र खोल्ने भएको हो । भौतिक संरचना निर्माण गर्न २०७९ मंसिर २३ गते बोलपत्र आह्वान गरेको थियो । उक्त आह्वान पत्र २०७९ माघ १० गतेको सूचना मार्फत रद्द भएको जानकारी गराएको बोलपत्र उच्च अदालत, पाटनले सार्वजनिक खरिद ऐन, २०६३ को दफा २२ र राष्ट्र बैंक खरिद विनियमावली, २०७१ को विनियम ५९ बमोजिम बोलपत्र खोलिने भएको हो । माघ १० गते दिउसो १ बजे राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग काठमाडौंमा बोलपत्र खोल्ने भएको हो ।

क्याबिन क्रुको सेवा सुविधामा विभेद नगर्न अदालतको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगममा कार्यरत विमान परिचारक र परिचारिका (क्याबिन क्रु)लाई सेवा सुविधाका आधारमा कुनै पनि विभेद नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले आइतबार निगमका नाममा परिचारिक र परिचारिकालाई सेवा सुविधामा फरक पर्ने गरी कुनै पनि कदम नचाल्न अन्तरिम आदेश गरेको हो । निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता डा.चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरु अनन्तराज लुइँटेल, कीर्तिनाथ शर्मा पौडेल, लीलाधर उपाध्याय, प्रतिभा उप्रेती, विशाल थापालगायतले बहस गरेका थिए । अदालतले निवेदकहरु करारका कर्मचारी भएकाले कारबाही गर्ने, करार भङ्ग गर्ने तथा सेवा सुविधामासमेत हस्तक्षेप गर्न सक्ने कुनै पनि काम नगर्न भनेको छ । निगममा कार्यरत सबै विमान परिचारक र परिचारिकाले आफूहरुमाथि अन्याय र विभेदपूर्ण व्यवहार भएको उल्लेख गर्दै यही पुस १८ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । वरिष्ठ विमान परिचारिका प्रजिता कार्कीसहित १३५ जनाले सामूहिकरुपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयायन मन्त्रालय र नेपाल वायुसेवा निगमलाई विपक्षी बनाइ रिट निवेदन दायर गरेका थिए । रिटमा आफूहरुमाथि विभेदकारी व्यवहार भएको, सेवा(सुविधामा कानुन विपरीत विभेदको नीति ल्याएको भन्दै त्यस्ता प्रावधान खारेजीको माग गरिएको छ । रिट निवेदनमा निगमका कर्मचारीहरुको सेवा, सर्तसम्बन्धी कानुनमा भएको व्यवस्थाले विमान परिचारक र परिचारिकालाई अन्य कर्मचारीभन्दा विभेदपूर्ण व्यवहार गरी दोस्रो दर्जाको कर्मचारीको व्यवहार गरिएको दाबी गरिएको छ । कर्मचारीको अवकाश उमेर ५८ वर्ष कायम गरेकोमा विमान परिचारक र परिचारिकाको हकमा ४० वर्षमा अवकाश दिने, एक महिनाको तलब दिएर जहिल्यसुकै हटाउन सक्ने, सेवा अवधिभर करारको करार नै राखी अवकाश गराउने र उपदान पनि नदिनेलगायतका प्रावधानको बदर रिट निवेदनमा माग गरिएको छ ।

गुडविल फाइनान्सले माघ १५ गते डाक्यो २९औँ वार्षिक साधारणसभा

काठमाडौं । गुडविल फाइनान्सले वार्षिक साधारणसभा आह्वान गरेको छ । फाइनान्स सञ्चालक समितिको पुस २२ गते बसेको बैठकले २९औं वार्षिक साधारणसभा माघ १५ गते हात्तीसार काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । फाइनान्सको सभाले प्रबन्धपत्रमा उद्देश्य थप गर्ने, नियामकबाट कुनै निर्देशन आएमा सोही अनुरुप अघि बढ्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । सभाले एक महिलासहित संस्थापक सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्नेछ । यस्तै, सञ्चालक समितिको थप अवधिमा भए गरेका कामको अनुमोदन गर्नेछ । आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।

समयमै योजना सम्पन्न गर्न भरतपुर महानगरले ल्यायो ९ करोडको पूरक बजेट

काठमाडौं । भरतपुर महानगरपालिकाले ९ करोड ३ लाखको पूरक बजेट प्रस्तुत गरेको छ । आइतबार सम्पन्न चौधौँ नगरसभाको बैठकबाट पूरक बजेट प्रस्तुत भएको हो । उपप्रमुख चित्रसेन अधिकारीले विनियोजन ऐन, २०८० ले चालु आर्थिक वर्षका लागि विभिन्न बजेट खर्च शीर्षक तथा उपशीर्षकअन्तर्गत खर्च गर्न दिएको अख्तियारी रकम पर्याप्त नभएकाले पूरक बजेट ल्याउनु परेको बताए । चालू आर्थिक वर्षका लागि विनियोजन ऐनले अख्तियारी नदिएको नयाँ खर्च शीर्षकमा खर्च गर्न आवश्यक भएको, विभिन्न खर्च शीर्षक तथा उपशीर्षकअन्तर्गत नयाँ कार्यक्रम थप एवं संशोधन गर्नुपरेको उनले बताए । बजेट शीर्षक तथा उपशीर्षकअन्तर्गत स्रोत सुनिश्चितता गरी योजना समयमै सम्पन्न गर्न, आर्थिक, भौतिक एवं सामाजिक र वातावरणीय पूर्वाधार विकास गरी समुन्नत र सुदृढ महानगर बनाउन पूरक बजेट ल्याइएको उनको भनाइ छ । महानगरले आर्थिक वर्ष २०८०/८१ का लागि ६ अर्ब ३९ करोड ७९ लाख ९० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । पूँजीगत खर्चतर्फ विनियोजित ३ अर्ब ७२ करोड ६५ लाख ६ हजार रुपैयाँमा पुस मसान्तसम्म ४६ करोड ७७ लाख रुपैयाँ (१३ प्रतिशत) खर्च भएको छ । महानगरले यस वर्ष १ अर्ब ७५ करोड रुपैयाँ आन्तरिक आम्दानी प्रक्षेपण गरेकामा पुस १८ गतेसम्म ५३ करोड ३ लाख रुपैयाँ सङ्कलन भएको छ । महानगर प्रमुख रेनु दाहालले पूरक बजेटबाट समपूरक साझेदारी कोषका लागि विद्युत् प्राधिकरणसँग ‘स्मार्ट लाइट’ साझेदारी कार्यक्रम सञ्चालन गर्न लागिएको बताए । उनले सहरी सौन्दर्यकरण, चोक सुधार कार्यक्रम, मानव सेवा आश्रम पूर्वाधार निर्माण, दलित विद्यार्थी छात्रवृत्तिलगायत कार्यक्रममा पूरक बजेट राखिएको जानकारी दिए ।