राष्ट्र बैंकले भक्तपुरको सानोठिमीमा भौतिक संरचना निर्माण गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले भवन निर्माण गर्ने भएको छ । राष्ट्र बैंकले सानोठिमी भक्तपुरस्थित बैंकको जग्गामा भौतिक संरचना निर्माण गर्ने जनाएको छ । राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले भौतिक संरचना निर्माण गर्ने भएकाले आह्वान गरेको बोलपत्र खोल्ने भएको हो । भौतिक संरचना निर्माण गर्न २०७९ मंसिर २३ गते बोलपत्र आह्वान गरेको थियो । उक्त आह्वान पत्र २०७९ माघ १० गतेको सूचना मार्फत रद्द भएको जानकारी गराएको बोलपत्र उच्च अदालत, पाटनले सार्वजनिक खरिद ऐन, २०६३ को दफा २२ र राष्ट्र बैंक खरिद विनियमावली, २०७१ को विनियम ५९ बमोजिम बोलपत्र खोलिने भएको हो । माघ १० गते दिउसो १ बजे राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग काठमाडौंमा बोलपत्र खोल्ने भएको हो ।
क्याबिन क्रुको सेवा सुविधामा विभेद नगर्न अदालतको आदेश
काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगममा कार्यरत विमान परिचारक र परिचारिका (क्याबिन क्रु)लाई सेवा सुविधाका आधारमा कुनै पनि विभेद नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले आइतबार निगमका नाममा परिचारिक र परिचारिकालाई सेवा सुविधामा फरक पर्ने गरी कुनै पनि कदम नचाल्न अन्तरिम आदेश गरेको हो । निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता डा.चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरु अनन्तराज लुइँटेल, कीर्तिनाथ शर्मा पौडेल, लीलाधर उपाध्याय, प्रतिभा उप्रेती, विशाल थापालगायतले बहस गरेका थिए । अदालतले निवेदकहरु करारका कर्मचारी भएकाले कारबाही गर्ने, करार भङ्ग गर्ने तथा सेवा सुविधामासमेत हस्तक्षेप गर्न सक्ने कुनै पनि काम नगर्न भनेको छ । निगममा कार्यरत सबै विमान परिचारक र परिचारिकाले आफूहरुमाथि अन्याय र विभेदपूर्ण व्यवहार भएको उल्लेख गर्दै यही पुस १८ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । वरिष्ठ विमान परिचारिका प्रजिता कार्कीसहित १३५ जनाले सामूहिकरुपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयायन मन्त्रालय र नेपाल वायुसेवा निगमलाई विपक्षी बनाइ रिट निवेदन दायर गरेका थिए । रिटमा आफूहरुमाथि विभेदकारी व्यवहार भएको, सेवा(सुविधामा कानुन विपरीत विभेदको नीति ल्याएको भन्दै त्यस्ता प्रावधान खारेजीको माग गरिएको छ । रिट निवेदनमा निगमका कर्मचारीहरुको सेवा, सर्तसम्बन्धी कानुनमा भएको व्यवस्थाले विमान परिचारक र परिचारिकालाई अन्य कर्मचारीभन्दा विभेदपूर्ण व्यवहार गरी दोस्रो दर्जाको कर्मचारीको व्यवहार गरिएको दाबी गरिएको छ । कर्मचारीको अवकाश उमेर ५८ वर्ष कायम गरेकोमा विमान परिचारक र परिचारिकाको हकमा ४० वर्षमा अवकाश दिने, एक महिनाको तलब दिएर जहिल्यसुकै हटाउन सक्ने, सेवा अवधिभर करारको करार नै राखी अवकाश गराउने र उपदान पनि नदिनेलगायतका प्रावधानको बदर रिट निवेदनमा माग गरिएको छ ।
गुडविल फाइनान्सले माघ १५ गते डाक्यो २९औँ वार्षिक साधारणसभा
काठमाडौं । गुडविल फाइनान्सले वार्षिक साधारणसभा आह्वान गरेको छ । फाइनान्स सञ्चालक समितिको पुस २२ गते बसेको बैठकले २९औं वार्षिक साधारणसभा माघ १५ गते हात्तीसार काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । फाइनान्सको सभाले प्रबन्धपत्रमा उद्देश्य थप गर्ने, नियामकबाट कुनै निर्देशन आएमा सोही अनुरुप अघि बढ्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । सभाले एक महिलासहित संस्थापक सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्नेछ । यस्तै, सञ्चालक समितिको थप अवधिमा भए गरेका कामको अनुमोदन गर्नेछ । आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।
समयमै योजना सम्पन्न गर्न भरतपुर महानगरले ल्यायो ९ करोडको पूरक बजेट
काठमाडौं । भरतपुर महानगरपालिकाले ९ करोड ३ लाखको पूरक बजेट प्रस्तुत गरेको छ । आइतबार सम्पन्न चौधौँ नगरसभाको बैठकबाट पूरक बजेट प्रस्तुत भएको हो । उपप्रमुख चित्रसेन अधिकारीले विनियोजन ऐन, २०८० ले चालु आर्थिक वर्षका लागि विभिन्न बजेट खर्च शीर्षक तथा उपशीर्षकअन्तर्गत खर्च गर्न दिएको अख्तियारी रकम पर्याप्त नभएकाले पूरक बजेट ल्याउनु परेको बताए । चालू आर्थिक वर्षका लागि विनियोजन ऐनले अख्तियारी नदिएको नयाँ खर्च शीर्षकमा खर्च गर्न आवश्यक भएको, विभिन्न खर्च शीर्षक तथा उपशीर्षकअन्तर्गत नयाँ कार्यक्रम थप एवं संशोधन गर्नुपरेको उनले बताए । बजेट शीर्षक तथा उपशीर्षकअन्तर्गत स्रोत सुनिश्चितता गरी योजना समयमै सम्पन्न गर्न, आर्थिक, भौतिक एवं सामाजिक र वातावरणीय पूर्वाधार विकास गरी समुन्नत र सुदृढ महानगर बनाउन पूरक बजेट ल्याइएको उनको भनाइ छ । महानगरले आर्थिक वर्ष २०८०/८१ का लागि ६ अर्ब ३९ करोड ७९ लाख ९० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । पूँजीगत खर्चतर्फ विनियोजित ३ अर्ब ७२ करोड ६५ लाख ६ हजार रुपैयाँमा पुस मसान्तसम्म ४६ करोड ७७ लाख रुपैयाँ (१३ प्रतिशत) खर्च भएको छ । महानगरले यस वर्ष १ अर्ब ७५ करोड रुपैयाँ आन्तरिक आम्दानी प्रक्षेपण गरेकामा पुस १८ गतेसम्म ५३ करोड ३ लाख रुपैयाँ सङ्कलन भएको छ । महानगर प्रमुख रेनु दाहालले पूरक बजेटबाट समपूरक साझेदारी कोषका लागि विद्युत् प्राधिकरणसँग ‘स्मार्ट लाइट’ साझेदारी कार्यक्रम सञ्चालन गर्न लागिएको बताए । उनले सहरी सौन्दर्यकरण, चोक सुधार कार्यक्रम, मानव सेवा आश्रम पूर्वाधार निर्माण, दलित विद्यार्थी छात्रवृत्तिलगायत कार्यक्रममा पूरक बजेट राखिएको जानकारी दिए ।
१२ वाणिज्य बैंकको लाभांश
काठमाडौं । २० वटा वाणिज्य बैंकमध्ये हालसम्ममा १२ बैंकले गत आर्थिक वर्ष २०७९/८०को मुनाफाबाट लाभांश घोषणा गरेका छन् । माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, एनआईसी एशिया बैंक, सिटिन्स बैंक, सिद्धार्थ बैंक, स्ट्याण्डर्ड चार्टड बैंक, ग्लोबल आइएमई बैंक, नेपाल एसबिआई बैंक, नबिल बैंक, लक्ष्मी सनराइज बैंक र राष्ट्रिय बाणिज्य बैंकले गत वर्षको नाफाबाट लाभांश वितरण गरेका हुन् । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरि कूल १४ प्रतिशत लाभांश वितरण गरेको हो । असोज १८ गते सम्पन्न बैंकको २५औं वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरिसकेको छ । एभरेष्ट बैंकले आर्थिक वर्ष २०७९/८०को नाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद गरी कूल २०.५३ लाभांश वितरण गरेको हो । उक्त लाभांश असोज ३० गते सम्पन्न २९औं वार्षिक साधारणसभाले पारित गरिसकेको छ । सानिमा बैंकले आर्थिक वर्ष २०७९/८०को नाफाबाट चुक्ता पूँजीको ९ प्रतिशत बोनस सेयर र ५.७ प्रतिशत नगद गरी कूल १४.७० लाभांश वितरण गरेको हो । उक्त लाभांश कात्तिक २ गते सम्पन्न १९औं वार्षिक साधारणसभाले पारित गरिसकेको छ । एनआईसी एशिया बैंकले सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको २९ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद गरी कूल ३०.५ लाभांश वितरण गरेको हो । उक्त लाभांश असोज २८ गते सम्पन्न २६औं वार्षिक साधारणसभाले पारित गरिसकेको छ । सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट चुक्ता पुँजीको ५.७९ प्रतिशत नगद लाभांश वितरण गरेको हो । उक्त लाभांश असोज २६ गते सम्पन्न १७औं वार्षिक साधारणसभाले पारित गरिसकेको छ । सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैयाँको ४.२१ प्रतिशत अर्थात् ५९ करोड ३१ लाख ८८ हजार १६६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गरेको हो । उक्त लाभांश मंसिर ५ गते सम्पन्न २२औं वार्षिक साधारणसभाले पारित गरिसकेको छ । स्टयान्डर्ड चार्टर्ड बैंकले हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत लाभांश वितरण गरेको हो । उक्त लाभांश मंसिर २४ गते सम्पन्न ३७औं वार्षिक साधारणसभाले पारित गरिसकेको छ । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट चुक्ता पूँजीको १ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ८ प्रतिशत नगद गरी कूल ९ प्रतिशत लाभांश वितरण गरेको हो । उक्त लाभांश मंसिर २८ गते सम्पन्न १७औं वार्षिक साधारणसभाले पारित गरिसकेको छ । नेपाल एसबिआई बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी १० अर्ब १२ करोड ६ लाख २८ हजार रुपैयाँको ३.७५ प्रतिशत बोनस सेयर र ६.८० प्रतिशत नगद गरी कूल १०.५५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बैंकको पुस १३ गते सम्पन्न ३०औं वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरिसकेको छ । नबिल बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश वितरण गरेको हो । उक्त लाभांश पुस १२ गते सम्पन्न ३९औं वार्षिक साधारणसभाले पारित गरिसकेको छ । लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०७९/८०को नाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत बोनस र ०.३७ प्रतिशत नगद (करसहित) गरी कूल ७.३७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न बैंकले २३औं वार्षिक साधारणसभा पुस २६ गते अग्रवाल भवन कमलपोखरी काठमाडौंमा दिनको २ बजे आह्वान गरेको हो । राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार रुपैयाँको ५.५ प्रतिशत अर्थात् ८६ करोड ५५ हजार ७३८ रुपैयाँ बराबरको नगद प्रस्ताव गरेको हो । उक्त लाभांश पारित गर्न बैंकले पुस २९ गते १७औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।
ईपीएस परीक्षामा थप २० हजारको आवेदन
काठमाडौं । दक्षिण कोरियाका लागि उत्पादनतर्फको कोरियन भाषा परीक्षा (ईपीएस)मा थप २० हजार ९०४ जनाले आवेदन दिएका छन् । उच्च अदालत पाटनको आदेशसँगै वैदेशिक रोजगार विभाग अन्तर्गत रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले उत्पादनतर्फ पुनः आवेदन माग गरेको थियो । त्यसमा त्यो सङ्ख्याको आवेदन परेको हो । उच्च अदालत पाटनले शुक्रबार बालकुमारी घटनापछि पानीजहाज बनाउने काम (सिप बिल्डिङ)का लागि कोरियन भाषा परीक्षामा सहभागी भएका कसैलाई पनि उत्पादन क्षेत्रको परीक्षा आवेदनबाट वञ्चित नगराउन आदेश दिएको थियो । त्यसपछि गत पुस १६ गते पुनः आवेदन खुला गरेको थियो । उत्पादनतर्फ थप आवेदनसहित अहिलेसम्मकै धेरै १ लाख ६४ हजार ७१६ जनाको आवेदन परेको ईपीएस शाखाले जनाएको छ । सो शाखाका अनुसार गत साउनमा भएको सिप बिल्डिङको परीक्षामा सहभागी हुन पुस १६ देखि १८ सम्म आवेदन माग गरिएको थियो । त्यसमा आवेदन नपरेपछि पुनः २० गतेसम्म समय थप गरेर आवेदन सङ्कलन गरिएको सो शाखाले जनाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनः सुदूरपश्चिम प्रदेशबाट ३ सदस्यको चयन हुँदै
काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचन २०८० अन्तर्गत सुदूरपश्चिम प्रदेशबाट रिक्त हुन लागेका तीन पदमा आगामी माघ ११ गते निर्वाचन हुँदैछ । सुदूरपश्चिम प्रदेशबाट पदावधि सकिन लागेका महिला, अपाङ्गता तथा अल्पसङ्ख्यक र अन्य समूह (खुला) गरी तीन पदका लागि निर्वाचन हुन लागेको निर्वाचन अधिकृतको कार्यालय कैलालीले जनाएको छ । महिला कोटाबाट निर्वाचित नेकपा (एमाले)का इन्दु कडरिया (कञ्चनपुर), अपाङ्गता तथा अल्पसङ्ख्यक कोटाबाट निर्वाचित नेकपा (माओवादी केन्द्र)का महेशकुमार महरा (डडेलधुरा) र अन्य कोटाबाट निर्वाचित सोही पार्टीका हरिराम चौधरी (कैलालीका)को पदावधि आगामी फागुनमा सकिँदैछ । प्रदेशसभा सदस्य, स्थानीय पालिकाका प्रमुखउपप्रमुख÷अध्यक्ष उपाध्यक्ष रहेको निर्वाचनमण्डलले राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनमा मतदान गर्न पाउने राष्ट्रियसभा सदस्य निर्वाचन ऐनमा व्यवस्था छ । सुदूरपश्चिम प्रदेशसभामा ५३ सदस्य रहेकोमा बझाङ जिल्लाको प्रदेशसभामा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित पृथ्वीबहादुर सिंहको केही महिनाअघि दुर्घटनामा परेर निधन भएको थियो । प्रदेशका सबै ९ जिल्लामा गरी ८८ स्थानीय तह छन् । प्रदेशसभा सदस्य र पालिका तहका प्रमुख उपप्रमुखरअध्यक्ष उपाध्यक्ष गरेर यो प्रदेशमा जम्मा मतदाता २२८ छन् । प्रदेशसभाका सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख÷अध्यक्ष उपाध्यक्षको मतभार भने फरक रहेको छ । प्रदेशसभामा सबैभन्दा ठूलो दल कांग्रेसका (निधन भएका एक जनाबाहेक) १८ सदस्य छन् । माओवादी केन्द्र का ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी) का चार, राप्रपाका एक र स्वतन्त्र एक सदस्य छन् । पालिका तहका प्रमुख उपप्रमुखरअध्यक्ष उपाध्यक्षमा सबैभन्दा बढी सङ्ख्यामा कांग्रेसका छन् । दोस्रो स्थानमा एमाले र तेस्रो स्थानमा माओवादी केन्द्र छ । निर्वाचन आयोगद्वारा प्रकाशित राष्ट्रियसभा सदस्य २०८० अन्तर्गतको निर्वाचन कार्यक्रमअनुसार आइतबार निर्वाचन अधिकृतको कार्यालय कैलालीमा मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको छ । आज उम्मेदवारीको मनोनयन दर्ता गर्ने कार्यक्रम छ । पुस २४ मा उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ र २६ गते मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, २६ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, २७ मा उम्मेदवारको नाम फिर्ता लिने, २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र माघ ११ गते मतदान गर्ने कार्यक्रम छ । निर्वाचनका लागि उम्मेदवारीको मनोनयन गर्ने दिन नजिकिएसँगै दल उम्मेदवार छनोटमा लागेका छन् । राष्ट्रियसभा सदस्यको पद रिक्त हुनुभन्दा ३५ दिनअगावै निर्वाचन गरी सदस्य चुन्नुपर्ने कानुनी व्यवस्था छ ।
राष्ट्रियसभा सदस्य निर्वाचन : उम्मेदवारी मनोनयन आज
काठमाडौं । राष्ट्रियसभा सदस्यको रिक्त १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचनको आज उम्मेदवारी मनोनयनपत्र दर्ता हुँदैछ । सातै प्रदेश मुकाममा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ । उम्मेदवारी मनोनयन दर्ता गर्नुअघि आयोगका तर्फबाट गरिनुपर्ने सम्पूर्ण तयारी र कार्य जिम्मेवारी पूरा गरिएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिए । यस निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता छन् । कानुनी व्यवस्थाअनुरुप प्रदेशसभा सदस्य पाँच सय ४९ र पालिका प्रमुख र उपप्रमुख गरी जम्मा २०४७ जनाको मतदाता नामावलीमा स्वीकृत भएको छ । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ५३ तथा पालिका प्रमुख र उपप्रमुखको मतभार १९ कायम गरिएको छ । उक्त निर्वाचनमा प्रदेशसभा सदस्यको कूल मतभार २९ हजार ९७ र पालिका प्रमुख र उपप्रमुखको कूल मतभार २८ हजार चार सय ६२ रहने छ । आयोगका अनुसार मतदाताको अन्तिम नामावली आइतबार प्रकाशन भइसकेको छ । यस्तो छ निर्वाचन कार्यक्रम उम्मेदवारीउपर यही पुस २४ गते दाबीविरोध र उजुरी, २५ र २६ गते जाँचबुझ गरी उम्मेदवारीको नामावली प्रकाशन हुनेछ भने २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ प्रदान गरिने छ । यस निर्वाचनमा सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र कायम गरिएको छ । मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । स्थायी सदनका रुपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल प्रत्येक दुई वर्ष पूरा सकिन्छ । यस निर्वाचनमा विभिन्न प्रदेश र क्षेत्रबाट महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र अन्य समुदायबाट सदस्यको चयन हुनेछ । –––