काठमाडौं उपत्यका खानेपानीको सीईओका लागि ८ जना सर्टलिष्ट, को-को हुन् ?
काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि ८ जनाको नाम सर्टलिष्ट गरिएको छ । सीईओ छनोट सिफारिस समितिले आवेदन दिएका उम्मेदवारहरूमध्ये ८ जनाको नाम सर्टलिष्ट गरेको जनाएको छ । कार्यालयका अनुसार ई.अर्जुनबाबु ढकाल, अशोक कुमार पौडेल, ई.उमेश बाबु मरहट्टा, डा.ई.डोल प्रसाद चापागाईंको नाम सर्टलिष्ट गरिएको हो । यस्तै, ई.दिपेन्द्र कुमार देव, प्रकाश कुमार राई, ई.रमशे केसी र राजेन्द्र श्रेष्ठको नाम सर्टलिष्ट गरिएको सिफारिस समितिले जानकारी दिएको छ । शैक्षिक योग्यता र अनुभवसँग सम्बन्धित कागजातहरूको आधारमा मूल्याङ्कन गर्दा ४० प्रतिशत भन्दा बढी अङ्क ल्याउने उम्मेदवारहरू मध्ये क्रमश सबैभन्दा बढी अङ्क प्राप्त गर्ने ७ जना र सातौं स्थानका लागि बराबर अङ्क प्राप्त गर्नेलाई सर्टलिष्ट गरिएको हो । उपत्यका खानेपानी लिमिटेडले गत असोज २३ गते सीईओका लागि आवेदन आह्वान गरेको थियो । अब सर्टलिष्ट भएकामध्ये ३ जनाको नाम सिफारिस गरिनेछ र तीन जनामध्येबाट एक जना सीईओ बन्नेछ । सीईओको कार्यकाल चार वर्षको हुनेछ ।
अवैधरूपमा औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी
काठमाडौं । औषधि व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैधरूपमा औषधि बिक्री गर्ने एक फार्मेसीलाई शिलबन्दी गरेको छ । विभागको टोलीले कपन क्षेत्रका औषधि पसलबाट लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा मङ्गलबार नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिसँगको सहकार्यमा गरेको बजार अनुगमनका क्रममा अवैधरूपमा औषधि बिक्री वितरण गर्ने बूढानीलकण्ठ नगरपालिका–१० आदर्शनगर चोकस्थित लाइफ केयर फर्मालाई शिलबन्दी गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले बूढानीलकण्ठ क्षेत्रका चारवटा औषधि पसल अनुगमन गर्दा अवैधरूपमा औषधि बिक्री गर्ने लाइफ केयरमा शिलबन्दी गरिएको जानकारी दिए । विभागको टोलीले उक्त पसलबाट विभिन्न ३६ प्रकारका औषधिसमेत बरामद गरेको छ । टोलीले ओखलढुङ्गा फर्मा, जेन्स हेल्थ केयर सेन्टर र सुर्याम्स फार्मेसीलाई सचेत गराएको प्रवक्ता ढुङ्गेलले बताए ।
गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर रहेको उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । मङ्गलबार अपराह्न नियमित स्वास्थ्य परीक्षणका निम्ति सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी पुग्नुभएका उनलाई डा.अरुण मास्केसहितको चिकित्सक टोलीले सघन उपचार कक्षमा राखेर उपचार थालेको गृह मन्त्रालयले जनाएको छ । यसअघि गत असोज ३० देखि कात्तिक १ गतेसम्म चीनको भ्रमणमा रहेका बेला मन्त्री श्रेष्ठ अचानक मुटुको समस्याबाट पीडित भएपछि त्यहाँ उनको उपचार गएिको थियो ।
परराष्ट्र सचिव पौड्यालले लिए अवकाश, राजदूत बन्दै
काठमाडौं । परराष्ट्र सचिव भरतराज पौड्यालले सेवाबाट अवकाश लिएका छन् । ३७ वर्ष निजामति सेवाबाट उनले आजबाट अवकाश लिएका हुन् । “करिब ३७ वर्ष लामो सक्रिय निजामती सेवाबाट आजदेखि अवकाश लिएको छु”, सामाजिक सञ्जालमा उनले लेखेका छन् । सरकारले पौड्याललाई क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ । संसदीय सुनुवाइ समितिले सरकारको उक्त सिफारिसलाई अनुमोदन गरिसकेको छ । सचिव पौड्यालले अनिवार्य अवकाश लिएसँगै परराष्ट्र मन्त्रालयकी वरिष्ठ सहसचिव सेवा लम्सालले निमित्त परराष्ट्र सचिवको जिम्मेवारी पाएका छन् । सरकारले उनलाई सचिव नियुक्त गर्ने सम्भावना छ ।
१० % लाभांश पारित गर्न मितेरी बैंकले डाक्यो १८औँ साधारणसभा, बुक क्लोज कहिले ?
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले लाभांश वितरण प्रस्ताव पारित गर्न वार्षिक साधारसभा डाकेको छ । बैंक सञ्चालक समितिको मंसिर १९ गते बसेको बैठकले १८औँ वार्षिक साधारणसभा पुस १४ गते सुनसरीमा बिहान ११ बजे बोलाएको हो । बैंकको सभाले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद गरी कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकको सभाले आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । यस्तै, बैंकको अधिकृत पुँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ । यस्तै, गत वर्ष संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतर रहेको १ लाखभन्दा बढीको खर्च सभाले अनुमोदन गर्नेछ । लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर २८ गतेदेखि पुस १४ गतेसम्म सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंसिर २७ गतेसम्म कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन्
नागरिक स्टक डिलरले पुस २० गते बोलायो साधारणसभा
काठमाडौं । नागरिक स्टक डिलरले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको मंसिर १८ गते बसेको बैठकले चौंथो वार्षिक साधारणसभा पुस २० गते काठमाडौंमा अपरान्ह ३ बजे बोलाएको हो । कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । सञ्चालक समितिले रिक्त रहेको सञ्चालक पदमा नियुक्ति गरेका व्यक्तिको सभाले अनुमोदन गर्नेछ । कम्पनीको प्रबन्धपत्र संशोधन गर्नेछ ।
१०.५२ प्रतिशत लाभांश पारित गर्न नेपाल इन्स्योरेन्स डाक्यो साधारणसभा
काठमाडौं । लाभांश वितरण प्रस्ताव पारित गर्न नेपाल इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभा आह्वान गरेको छ । इन्स्योरेन्स सञ्चालक समितिको मंसिर १७ गते बसेको बैठकले ७५औं वार्षिक साधारणसभा पुस १३ गते प्रज्ञाभवन कमलादी काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । कम्पनीको सभाले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ४९ करोड ४७ लाख ६५ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ०.५२६३ प्रतिशत नगद गरी कूल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सजल मास्केको नियुक्तिलाई सभाले अनुमोदन गर्नेछ । बोनस सेयर वितरण पश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब ६४ करोड ४२ लाख रुपैयाँ पुग्ने भएकाले सोही अनुसार प्रबन्धपत्र संशोधन गर्नेछ । कम्पनीले लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर २८ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंसिर २७ गतेसम्म कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।
३१ देशका २६१ विदेशी कैदीबन्दी, कुन देशका कति ?
काठमाडौं । मुलुकको सबैभन्दा ठूलो र पुरानो केन्द्रीय कारागार सुन्धारामा २६१ विदेशी कैदीबन्दी रहेका छन् । विभिन्न मुलुकबाट नेपाल आएर विभिन्न आपराधिक क्रियाकलापमा संलग्न २६१ कैदीबन्दीलाई केन्द्रीय कारागारमा राखिएको हो । विसं १९७१ मा स्थापना भएको केन्द्रीय कारागार जगन्नाथदेवलमा हाल ३ हजार ४६९ कैदीबन्दी रहेकामध्ये २६१ विदेशी कैदीबन्दी रहेको कारागार प्रशासक ललितकुमार बस्नेतले जानकारी दिए । केन्द्रीय कारागारमा हाल ३१ देशका कैदीबन्दी रहेका छन् । उनका अनुसार भारतीय १३५, चिनियाँ २९, पाकिस्तानका १७, दक्षिण अफ्रिकाका १४, बगङ्लादेश ९, थाइल्याण्ड ८, बोलिभिया ५, मलेसिया ४, फिलिपिन्स ३, अमेरिका ३, जर्मनी ३, सुडान ३ रहेका छन् । साउदी अरब, सुडान, हङकङ, बेलारुस, नर्वेलगायतका देशका १/१ जना कैदीबन्दी रहेको कारागार प्रशासक बस्नेत बताउँछन् । वदेशी कैदीबन्दीमध्ये लागुऔषधका धेरै कारागार प्रशासक बस्नेतका अनुसार केन्द्रीय कारागारमा रहेका विदेशी कैदीबन्दीमध्ये लागुऔषध मुद्दाका बढी कैदीबन्दी रहेका छन् । उहाँका अनुसार ११३ विदेशी नागरिक अवैध लागुऔषध ओसारपसारमा संलग्न रहेकाले कारागार बसेका छन् । त्यसैगरी जबरजस्ती करणीमा ३३ विदेशी नागरिक जेल परेको देखिन्छ । त्यसबाहेक अवैध रुपमा सुन ओसारपसारमा २५, ठगी मुद्दामा १६, कर्तव्य ज्यानमा १०, अपहरणमा ८, जीउ बेच्ने मास्नेमा ७ र विविध मुद्दामा २५ विदेशी नागरिक जेल परेका छन् । नेपालकै सबैभन्दा पुरानो र ठूलो कारागार सुन्धारामा स्थान अभावका कारण ५६ कैदीबन्दीलाई भर्खरै नख्खु कारागार स्थानान्तरण गरिएको कारागार प्रशासक बस्नेत बताउँछन् । नख्खु स्थानान्तरण गरिएका कैदीबन्दीमध्ये ५४ नेपाली र २ विदेशी रहेका छन् । केन्द्रीय कारागारको क्षमता १ हजार ७ सय रहेपनि हाल ३ हजार ४ सयभन्दा बढी कैदीबन्दी हुँदा साँघुरो भएको छ । ३ वटा कारागार भवन रहेको केन्द्रीय कारागारमा केन्द्र जेलमा १ हजार ८६६, भद्र जेलमा १ हजार १३९ र महिला जेलमा ४६४ कैदीबन्दी रहेका छन् । महिला जेलमा ११ नाबालक कैदीबन्दीसँगै रहेको केन्द्रीय कारागार व्यवस्थापनले जनाएको छ । कारागार प्रशासक बस्नेत काठमाडौँमा उपचारका लागि विभिन्न जिल्लाबाट कैदीबन्दी स्थानान्तरण हुँदा केन्द्रीय कारागारमा कैदीबन्दीको सङ्ख्या बढ्न गएको बताउँछन् । “अड्डा अदालतदेखि उपचारका लागि विभिन्न अस्पताल काठमाडौँमा हुँदा विभिन्न जिल्लाबाट केन्द्रीय कारागार आउने कैदीबन्दी बढेका छन्”, उनले भने ।