विकासन्युज

प्रधानमन्त्रीकाे छोरीले व्यापारीबाट पैसा असुलेको आरोप, सल्लाहकार गजुरेल बाहिरिए

 काठमाडौं । केही समय यता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनकी छोरी गंगा दाहाललाई जोडेर स्वतन्त्र सांसद अमरेशकुमार सिंहले गम्भीर आरोप लगाउँदै आएका छन् । पत्रकार सम्मेलन, संसदको लेखा समिति बैठकदेखि अन्तार्वार्ताहरूमा सांसद सिंहले विभिन्न आरोपहरू लगाउँदै आएका हुन् । प्रधानमन्त्री र उनकी छोरी गंगाले एनसेललाई कानूनअनुसार राज्यको स्वामित्वमा आउन नदिन विभिन्न हर्कत गरेको सांसद सिंहको आरोप छ । सांसद सिंह यतिमात्रैमा सीमित भएका छैनन्, उनले प्रधानमन्त्रीकी छाेरी तथा स्वकीय सचिव समेत रहेकी गंगाले कुन-कुन व्यापारीसँग के विषयमा कति रकम लिइन् भन्ने विषय नै प्रमाणसहित सार्वजनिक गर्ने बताइरहेका छन् । ‘प्रधानमन्त्रीकी छोरी तथा स्वकीय सचिव गंगा दाहालले कुन-कुन व्यापारीसँग कुन-कुन मामिलामा कति रकम बुझेकी छिन्, त्यो सबै प्रमाण मसँग सुरक्षित छ, समय आएपछि त्यो सबै प्रमाण जनता र मिडियामा लिएर जानेछु,’ उनले सामाजिक सञ्चालमार्फत् भनेका छन् । सिंहको यो धारणाले प्रधानमन्त्रीको सचिवालय र माओवादी पार्टी नै तरंगित बनेको छ । वि.सं २०७३ मा एक कठ्ठा सात धुर जग्गा र २ तोला सुन सम्पत्तिको रूपमा सार्वजनिक गरेका प्रधानमन्त्री परिवारको जीवनशैलीमाथि सामाजिक सञ्जाल र मिडियामा बेला बखत नकारात्मक टिकाटिप्पणी हुँदै आएका छन् । स्वतन्त्र सांसद सिंहले प्रधानमन्त्री र उनकी छोरीको गतिविधिमाथि निरन्तर आरोप लगाउन थालेपछि भने सामाजिक सञ्जालमा पक्षविपक्षमा टिकाटिप्पणी  हुन थालेको छ । सांसद सिंहको निरन्तर आरोपपछि प्रधानमन्त्री सचिवालयका स्वकीय सचिव रमेश मल्लले आइतबार सचिववालयको तर्फबाट प्रतिवाद गरेका छन् । मल्लले सांसद सिंहले बार्गेनिङको रूपमा प्रधानमन्त्री परिवार र सचिवालयको विरूद्धमा उत्रिएको भन्दै आरोपको प्रतिवाद गरेका हुन् । ‘मा. अमरेश कुमार सिंहले आफ्नो निहित स्वार्थ पूरा नभएपछि सम्माननीय प्रधानमन्त्रीज्यू, उहाँको परिवार र सचिवालयका विरूद्ध विद्वेषपूर्ण ढंगले अनर्गल, भ्रामक प्रचार र झुठको खेती गर्दै आएका छन्उ, उनको यो अस्वभाविक प्रस्तुति र अराजनीतिक बार्गेनिङ सरकारको पूर्णतासँगै सुरू भएको तथ्य स्पष्ट नै छ’, मल्लले भनेका छन् । तर, मल्लले स्वतन्त्र सांसद सिंहले के कुरामा बार्गेनिङ गरेका थिए भन्ने तथ्य उल्लेख गरेका छैनन् । सांसद सिंहले लेखा समितिको बैठकमा प्रधानमन्त्रीकी छोरी गंगाले एनसेलको टावरहरूको स्वामित्व छुट्टै कम्पनीलाई दिन दूरसञ्चारका प्रमुखलाई दबाब दिएको आरोप लगाएका थिए । उनले सो विषय विभिन्न कार्यक्रममा पनि बताउँदै आएका छन् । सिंहले लगाएको सो आरोपको प्राधिकणका प्रमुखले पनि आधिकारिक रुपमा खण्डन गरेका छैनन् । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्षले पनि यस विषयमा आफूले कुनै प्रतिक्रिया नदिने बताए । ‘यस विषयमा म अहिले कुनै प्रतिक्रिया दिँदैन, दिनै पर्यो भने औपचारिक रूपमा विज्ञप्ति जारी गर्छु,’ उनले भने । प्रधानमन्त्री सचिवालय र सांसद सिंहबीचमा जुहारी चल्न थालेपछि यसले राजनीतिक वृत्तलाई पनि छुन थालेको छ । सोही सन्दर्भमा एमालेका सचिव योगेश भट्टराइले सांसद सिंहको बचाउ गर्दै सरकार पोलपोटीकरणको बाटोमा जान लागेको आरोप लगाएका छन् । ‘एउटा खास बिषयमा बोल्दा माननीय शुनिल शर्मा सत्ताको निसानामा, फेरि माननीय अमरेशमाथि धम्की, के सत्ताको पोलपोटीकरण हुँदैछ ?’, सचिव भट्टराइले भनेका छन् । विगतदेखि वर्तमानसम्मका सबै सरकार सञ्चालक र राजनीतिक नेतृत्व आशंका र प्रश्नरहित छैनन् । तर, सांसद सिंह र प्रधानमन्त्रीको सचिवालयको तर्फबाट भएको अपुष्ट आरोप प्रत्यारोपले भने पदीय मर्यादामाथि नै प्रश्न उठाएको छ । यो विषय गम्भीरताका साथ बाहिँरिदा यतिखेर नै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन् । अहिलेसम्म उनले के कारणले पदबाट राजीनामा दिए भन्ने विषय बाहिर आउन नसके पनि उनकाे संकेत भने संशयपूर्ण छ । उनले आफ्नो राजीनामा स्वीकृत नभइसकेकोले राजीनामा स्वीकृतपछि मात्रै त्यसकाे कारण बताउने बताएका छन् ।

लगानी सम्मेलन अघिनै कन्ट्री रेटिङको काम गर्छौं, बलियो कानून बनाउँछौं : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले वैशाखमा लगानी सम्मेलन आयोजना हुनुअगावै कन्ट्री रेटिङको प्रक्रिया सम्पन्न गर्ने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा विभिन्न विकास साझेदारलाई लगानी सम्मेलनका विषयमा जानकारी दिन भएको छलफलमा वैशाखअघि नै कन्ट्री रेटिङ गरिसक्ने बताएका हुन् । नेपालमा लगानी गर्न आवश्यक पर्ने सबै खालका नीतिगत ऐन नियमहरु परिमार्जन गर्न सरकारले प्रमुख प्राथमिकता दिने बताउँदै उनले काम गर्ने प्रक्रियागत झन्झट, काम गर्ने कार्यशैली सम्मेलन अगावै परिवर्तन हुने उल्लेख गरे । अर्थमन्त्री महतले सरकारले निजी क्षेत्रको लगानी ल्याउन कठिन भएपनि लगानी भित्र्याउन सहजिकरण गर्न प्रतिवद्ध रहेको बताए । सम्पत्ति शुद्धीकरणसम्बन्धी बलियो कानून बनाउनुपर्ने र अन्य कानुनमा पनि सुधार गर्नुपर्ने आवश्यकता रहेको, लगानी सम्मेलनमा निजी क्षेत्रलाई आकर्षित गर्ने मुख्य उद्देश्य रहेको उनको भनाई छ । वैदेशिक लगानीका लागि नेपाल सबैभन्दा उपयुक्त रहेको दाबी गर्दै अर्थमन्त्री महतले नेपालमा जलविद्युत, पर्यटन, सफ्टवेयर लगायतका क्षेत्रमा लगानी गरेर नाफा कमाउने सम्भावना रहेको बताए । साथै, उनले लगानी भित्र्याउनको लागि सरकार नीति र कानूनमार्फत सहयोग गरेर नेपालमा लगानी गर्ने कम्पनीलाई नाफा कमाउने अवसर सिर्जना गर्न तयार रहेको जानकारी गराए । लगानीकर्ताका खराब अनुभवलाई हटाउँदै जान सके पनि नेपालमा लगानी आकर्षित गर्न सकिने उनको भनाई छ ।

ग्लोबल आइएमई बैंकको सहायक कम्पनी जेबीएनएल सेक्यूरिटिज सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंकको सहायक कम्पनीको रुपमा रहेको जेबीएनएल सेक्यूरिटिज् लिमिटेडले सोमबारदेखि धितोपत्र कारोबार सम्बन्धी सेवा सुरु गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक समारोहबिच सो कम्पनीको उद्घाटन गरी टीएमएस मार्फत धितोपत्र खरिद सेवाको शुभारम्भ गरेका छन् । सो समारोहमा अध्यक्ष ढकालले संस्थाको पूर्ण व्यवसायिक सफलताको कामना गर्नुभयो र धितोपत्र बजारको विकास र विस्तारसंगै मुलुकको आर्थिक गतिविधिमा समेत यो कम्पनीले महत्वपुर्ण भूमिका खेल्न सक्नुपर्ने बताए । त्यसैगरी ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संस्थागत सुशासन, पूर्वाधार तथा नियमनकारी निकायहरुबाट प्राप्त निर्देशनको पूर्ण परिपालनामा यो कम्पनी उदाहरणीय हुने बताए । समारोहमा ग्लोबल आइएमई बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, कम्पनी सचिव विष्णुप्रसाद बास्कोटा, कम्पनीका संचालकहरु लगायत बैंकको उच्च व्यवस्थापन तहका कर्मचारीहरुको उपस्थिति रहेको थियो । नेपाल धितोपत्र बोर्डबाट धितोपत्र कारोवारको लागि इजाजत प्राप्त यो कम्पनीको कारोबार स्थान कामनपा वडा नं १० नयाँबानेश्वर शंखमुलमार्ग र नेपाल स्टक एक्सचेञ्ज लि.को धितोपत्र दलाल सदस्य नं ८९ रहेको छ ।

सोमबारको बजारमा तीव्र उतारचढाव, कारोबार भने पाँच महिनायताकै उच्च

काठमाडौं । सोमबारको बजारमा तीव्र उतारचढाव देखिएको छ । कारोबार शुरुभए लगत्तै उकालोको बाटो समातेको नेप्से परिसूचक बजार बन्द हुँदा दोहोरो अंकले घटेको हो । बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक १५.४० अंकले घटेर १९४८.५७ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.७८ प्रतिशतले घटी हो । अघिल्लो दिन अर्थात आइतबारको सेयर बजार अस्वभाविक रुपमा बढेर बन्द भएसँगै सोमबारको बजारमा करेक्सन देखिएको र यो सामान्य रहेको जानकारहरु बताउँछन् । परिसूचक घटेपनि कारोबार रकममा भने उछाल देखिएको छ । दिनभरमा ३०३ वटा स्क्रीप्सको ४ अर्ब ८४ करोड रुपैयाँ बराबरको भएको सेयर कारोबार भएको छ । जुन विगत ५ महिना यताकै सर्वाधिक रकम हो । गत असार १७ गते आइतबारको बजारमा ५ अर्ब ८ करोड रुपैयाँ माथिको सेयर कारोबार भएको थियो । सोमबार सोनापुर मिनिरल्स एण्ड आयलको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन २५ करोड १५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड ५७ लाख, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको १४ करोड ५६ लाख, माउन्टेन इनर्जी नेपालको १४ करोड ४० लाख र शिवम् सिमेन्टको १३ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दोहोरो अंकले घटेको बजारमा पनि ५ कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । जसमध्ये बोटलर्स नेपाल (बालाजु), सामूदायिक लघुवित्त वित्तीय संस्था र डोल्टी पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, हाथवे इन्भेष्टमेन्ट नेपालको ९.९० प्रतिशत र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.६० प्रतिशतले बढेको छ । टप लुजरको शीर्ष स्थानमा समता घरेलु लघुवित्त वित्तीय संस्था रहेको छ । जसको सेयर मूल्य ७.१५ प्रतिशतले घटेर प्रतिकित्ता ६१० रुपैयाँमा झरेको छ । समूहको आधारमा हेर्ने हो भने चार वटा समूह बाहेक बाँकी समूह राताम्मे देखिएका छन् । उत्पादनमूलक, माइक्रोफाइनान्स, म्यूचुअल फण्ड र निर्जीवन बीमा समूह बढेका छन् भने बाँकी समूह घटेका छन् ।

अख्तियारको प्रवक्तामा नरहरि घिमिरे नियुक्त

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा नरहरि घिमिरे नियुक्त भएका छन् । हालका प्रवक्ता भोला दहालको सरुवा भएसँगै उनको ठाउँमा सहसचिव घिमिरेलाई नयाँ प्रवक्ताको रुपमा तोकिएको हो । नवनियुक्त प्रवक्ता घिमिरेले मंसिर २५ गतेदेखि नै आफ्नो जिम्मेवारी सम्हाल्ने छन् ।

हिमपातका कारण चीनका विद्यालयमा अनलाइन पढाइ

चीन । सोमबार बिहानैदेखि शुरु भएको हिमपातका कारण पूर्वी चीनको शानडोङ प्रान्तको राजधानी जिनानमा प्राथमिक र माध्यमिक विद्यालयका साथै शिशु कक्षाहरू अनलाइन माध्यमबाट सञ्चालन गरिएका छन् । सोमबार एक्कासि जिनानमा हिउँपात र हावाहुरी शुरु भई बिहान ३ बजेदेखि १० बजेसम्म ७ मिलिमिटर हिमपात भएको थियो। हिमपातसँगै नियमित जनजीवन प्रभावित भएको छ । जिनानको शिक्षा विभागले सोमबार अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन जारी गर्दै विद्यालयको पठनपाठन अवरुद्ध हुन नहुने प्रतिबद्धता जनाएको छ । मङ्गलबार विद्यार्थीहरूलाई सुरक्षित पठनपाठनका लागि शिक्षकहरूलाई तालिम दिंदै विद्यालयको खेल मैदानमा हिउँ हटाउन समन्वय गरिरहेका छन् । रासस

डिशहोमले आईसीसी टी–२० आई विश्वकप छनोट अन्तर्गत गरेको पुरस्कार घोषणाको रकम खेलाडीलाई प्रदान

काठमाडौं । डिशहोमले आईतबार १० डिसेम्बर, २०२३ मा भैसेँपाटीमा रहेको आफ्नै मुख्य कार्यालय परीसद भित्र कार्यक्रम गरी पुरस्कार जित्ने खेलाडीहरुलाई नगद पुरस्कार प्रदान गरेको छ । कार्यक्रममा नेपाल क्रिकेट संघका सचिव-पारस खड्का, मुख्य प्रशिक्षक-मोन्टी देसाई, कप्तान-रोहित कुमार पौडेल लगायत अन्य खेलाडीहरु पनि उपस्थित भएका थिए । २९ अक्टोवर, २०२३ देखी सुरु भएको आईसीसी टी–२० आई विश्वकप एसिया क्षेत्र छनोटको खेलमा डिशहोम फाइबरनेटले ‘अब इतिहास रच्ने पालो हाम्रो’ भन्ने नारासहित नगद पुरस्कार घोषणा गरेको थियो । पुरस्कार अन्तर्गत खेलमा शतक प्रहार गर्ने नेपाली खेलाडीले १० लाख रुपैयाँ । त्यस्तै, एकै खेलमा शतक र ५ विकेट लिने खेलाडीले २० लाख रुपैयाँ दिइने डिशहोमले जनाएको थियो । एकै खेलमा ५ विकेट लिएमा ५ लाख, अर्धशतक बनाएमा १ लाख, कम्तीमा ३ विकेट लिएमा १ लाख, कम्तीमा ३५ रन बनाएमा ५० हजार र कम्तीमा ३ क्याच वा स्टम्पिङ गर्ने खेलाडीलाई ५० हजार रुपैयाँ दिइने जनाएको थियो । नेपाल दश वर्षपछि टी-२० विश्वकपमा छनोट भईसकेको त हामी सबैलाई अवगत नै छ । आईसीसी टी–२० आई विश्वकप एसिया छनोट अन्तर्गत सेमिफाइनलमा ०३ नोवेम्बर,२०२३ मा युएईलाई ८ विकेटले हराउँदै नेपालले विश्वकपमा स्थान सुरक्षित बनाएको थियो । युएईले दिएको १ सय ३५ रनको लक्ष्य नेपालले १७.१ ओभरमा २ विकेट गुमाएर भेट्टाएको थियो । यसै सँगै डिशहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले उत्साह व्यक्त गर्दै भने, ‘हामी नेपाल टोलीलाई समर्थन गर्न र नेपाली क्रिकेटको प्रवर्द्धन गर्न पाउँदा उत्साहित छौं । हाम्रो प्रतिबद्धता क्यानलाई आवश्यक स्रोत र सहयोग उपलब्ध गराउनु हो ।’ साथै अबका दिनमा क्यानसँग जोडीएर अघी बढ्ने प्रतिबद्धता पनि जनाएका छन् ।

आईपीओमा १० कित्ते नीति हटाउने तयारी

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आईपीओमा न्यूनतम १० कित्ता दिनै पर्ने नीति हटाउने तयारी गरेको छ । सेबोनले १० कित्ते नीति पुनरावलोकनको लागि समिति गठन गरेर हटाउने तयारी थालेको हो । सेबोनका प्रवक्ता मुक्ति श्रेष्ठका अनुसार १० कित्ते नीति पुनरावलोकनको लागि बोर्ड सदस्य प्रविण कुमार झाको संयोजकत्वमा समिति गठन गरिएको छ । साथै, समितिमा बोर्ड सदस्य भोलानाथ ढुंगाना, कार्यकारी निर्देशक समेत रहेका मुक्ति श्रेष्ठ र उपकार्यकारी निर्देशक अम्बिका प्रसाद गिरी सदस्य रहेका छन् । आईपीओमा न्यूनतम १० कित्ते नीति सम्बन्धी व्यवस्था पुनरावलोकन गर्न समितिले अध्ययन गरेर यथावत राख्ने की हटाउने भनेर सुझाव पेश गर्नेछ । सोही सुझाव अनुरुप बोर्डले निर्णय गर्ने प्रवक्ता श्रेष्ठ बताउँछन् । उनका अनुसार विभिन्न कम्पनी तथा लगानीकर्ताहरूले यो व्यवस्था हटाउनु पर्ने माग गर्दै आएका छन् । सोही मागलाई सम्बोधन गर्न अध्ययनका लागि समिति गठन गरिएको उनको भनाइ छ । ‘१० कित्ते नीतिले पुँजी बजारमा कम्पनीको सेयर मूल्य बढेन, सेयर छरिएर कम्पनीको मूल्य वास्तविक हुन सकेन, सप्लाइ १० कित्ता मात्रै भएपछि माग धेरै हुन थाल्यो, सप्लाइ कम भएपछि प्रतिस्पर्धी मूल्य बन्दैन,’ विज्ञहरूले दिएको सुझावलाई उदृत गर्दै उनले भने । १० कित्ते नीति हुनु अगाडि आईपीओमा समानुपातिक व्यवस्था थियो । आवेदन दिएको आधारमा सबै लगानीकर्तालाई समानुपातिक रुपमा सेयर बाँडफाँट गरिँदै आएको थियो । साथै, १० कित्ते नीतिले जस्तो सुकै कम्पनीको सेयर बिक्ने र कमजोर कम्पनी पनि बजारमा आउन उत्साहित हुन थालेको उनको भनाइ छ । ‘जस्तो कुनै लगानीकर्ताले १ हजार कित्ताका लागि आवेदन दिएको छ भने १० प्रतिशत सेयर बाँड्न मिल्छ भने १ सय कित्ता पाउने भयो, १ सय कित्ता आवेदन दिएको छ भने १० कित्ता, १ लाख कित्ता आवेदन दिँदा १ हजार कित्ता पाउने गरी समानुपातिक व्यवस्था थियो, थोरै कित्ता आवेदन दिने र ठूलो संख्यामा आवेदन दिने लगानीकर्तालाई छुट्टै समूह बनाएर बाँडिन्थ्यो,’ उनले भने, ‘१० कित्ता दिँदा विद्यार्थी लगायत साना लगानीकर्ताहरूले पाउँदा मुख्य लगानीकर्ताले सेयर पाएनन्, जस्तो कुनै लगानीकर्ताले १० कित्ता पाएको छ भने ५ हजार फाइदा गर्याे भने चिया चुरोटमा मात्रै खर्च हुन थाल्यो, त्यसबाट कुनै उपलब्धि भएन, अब १ सय कित्ता परेर ५० हजार फाइदा भयो भने केही उपलब्धि गर्न सक्छ ।’