सराङ्कोटसँगै पर्यटकको रोजाइमा पुम्दीकोट डाँडा
कास्की । पोखरा घुम्न आएका पर्यटक पोखरा बजार र आसपासको पर्यटकीय क्षेत्रमा मात्र सीमित हुन चाहन्नन् । उनीहरूको रोजाइ बन्ने गरेको छ, नजिकैका गाउँ अनि डाँडापाखाहरू । एकै मेसोमा फेवाताल, हिमशृङ्खला अनि पोखरा बजार हेर्नका लागि पोखरा नजिक धेरै डाँडा र थुम्का छन् । यसका लागि केही वर्षअघिसम्म शान्ति स्तुपा अनि सराङ्कोट धेरैको रोजाइ थियो । तर, पछिल्लो समय पोखरा महानगरपालिका–२२ स्थित पुम्दीकोट डाँडा पनि यसको विकल्प बनेको छ । शान्ति स्तुपाबाट केही पर विशाल महादेवको मूर्ति निर्माणपछि पुम्दीकोट डाँडाको परिचय नै फेरिएको छ । नजिकैको शान्ति स्तूपामा पर्यटक आएको देख्दा भुम्दीकोटका स्थानीय यहाँ पनि पर्यटक ल्याउन हौसिए । उनीहरूले ‘भ्यूटावर’ निर्माणदेखि धेरै योजना अघि सारे । सोही समयमा व्यवसायी तथा समाजसेवी चन्द्रकान्त बरालले विशाल महादेवको मूर्ति बनाउने योजना ल्याए । उनको परिकल्पनामा गाउँलेले साथ दिए । सबै गाउँले मिलेर पुम्दीकोट कोट विकास समिति गठन गरी त्यस ठाउँलाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्न लागि परे । ‘पुम्दीकोटमा पूर्खादेखि नै महादेवभूमि देवता भनी पुज्ने चलन थियो । समय–समयमा लाग्ने मेलामा दर्शनार्थी पनि आउथेँ र शिवको दर्शन गरी फर्किन्थेँ’, समाजसेवी बरालले भने, ‘पुर्खादेखिको धार्मिक आस्थालाई जीवन्तरुप दिन विशाल महादेवको मूर्ति निर्माण गर्ने परिकल्पना आयो ।’ मूर्ति निर्माणार्थ समितिले दुई पटक महायज्ञ आयोजना गर्यो । पुम्दीकोटका पर्यटकीय सम्भावनालाई उजागर गर्ने लक्ष्यका साथ विसं २०७३ र २०७८ मा महाशिवपुराण आयोजना गर्यो । सुरुमा छ करोड १८ लाखसहित दानस्वरुप २० रोपनी जग्गा र दोस्रो पटक करिब तीन करोड सहयोग प्राप्त भएको उनले जानकारी दिए । यो अभियानमा तीनवटै तहका सरकार र आम सर्वसाधारणको साथ र सहयोग प्राप्त भएको उनले बताए । दोस्रो पटकको महायज्ञपछि मूर्ति स्थापनाको कार्य सुरु गरिएको समितिका सदस्य मातृका बरालले बताए । कोरोना महामारीकै बेला विशाल महादेव मूर्ति ठडियो । अहिले दक्षिण फर्काएर राखिएको ५१ फिट अग्लो महादेवको मूर्ति तयार भएको छ । मूर्ति बनेपछि त्यहाँ पर्यटकको घुइँचो लाग्ने गरेको छ । जनस्तरको सक्रियतामा पुम्दीकोटमा महादेवको मूर्ति निर्माण गरिएपछि पुम्दीकोट डाँडाको परिचय फेरिएको समितिका सदस्य मातृकाले बताए । उनले भने, ‘जनस्तरबाट निर्माण गरिएको विशाल महादेव मूर्तिसँगै गुरुयोजनामा समेटिएका अन्य पूर्वाधार निर्माणका काम बढिरहेका छन् ।’ मूर्ति स्थापना गरिएपछि पुम्दीकोट डाँडामा पर्यटकको भीड लाग्ने गरेको छ । दैनिक सयौँको सङ्ख्यामा पर्यटक पुग्ने गरेका छन् । शुक्रबार, शनिबार र अन्य बिदाका दिन पुम्दीकोट पुग्ने आन्तरिक पर्यटकको भीड थेगिनसक्नुहुन्छ । पोखराको मुख्य बजार क्षेत्रबाट झण्डै १३ किमी दूरीमा रहेको यहाँ आएर पर्यटकले विशाल महादेवको मूर्तिसँगै पोखरा, फेवाताल र हिमशृङ्खला एकसाथ अवलोकन गर्न सकिन्छ । पहिले गाईबस्तु चराउने डाँडामा पर्यटकको भीड देख्दा स्थानीय तारापति बराल पनि निकै खुसी छन् । ‘हामी सानो हुँदा गाईबस्तु चराउने डाँडाले यसरी मुहार फेर्छ भनेर मैलै कल्पना पनि गरेको थिइन’, उनले भने, ‘घर नजिकै यति धेरै पर्यटक आउँदा मनै फुरुङ्ग हुन्छ ।’ पछिल्लो समय मूर्तिकै कारण आसपासका क्षेत्रमा पर्यटकीय पूर्वाधारमा लगानी बढिरहेको स्थानीय उनले बताए । ‘पछिल्ला समयमा होटेललगायत पूर्वाधारमा लगानीको क्रम पनि उत्तिकै बढेको छ’, उनले भने,‘विगतमा सुविधाको खोजीमा गाउँ छोड्ने पनि गाउँ फर्कन थालेका छन् ।’ सुरुमा २० करोड लगानी गरेर भौतिक संरचना बनाउने योजना अघि सारेको समितिले पछि ४० करोडको परिमार्जित गुरुयोजना तयार गरेको समितका अध्यक्ष बरालले बताए । अहिलेसम्म २७ करोडको संरचना बनाइसकिएको उनले जानकारी दिए । परिमार्जित गुरुयोजनाअनुसार, सुमेरु पर्वत, विद्युतीय चियर कार, ग्रिनेरी पार्क, व्यास्थित पार्किङ रहेका छन् । यीमध्ये सुमेरु पर्वत निर्माण भइसकेको छ । हालसम्म ५१ फिट अग्लो महादेवको मूर्ति, ३१ फिट अग्लो विशाल डमरु, विशाल महादेवको विशाल क्षेत्र कुण्ड ९गङ्गा पोखरी०, १०८ धारा जडित तेस्रो आँखा निर्माण सम्पन्न भइसकेको समितिका अध्यक्ष बरालले जानकारी दिए । दुई सय १६ शिवलिङ्ग, १०८ स्वर्गद्वारी सिँढी, शिव ताण्डव नृत्य तथा अन्तर्राष्ट्रिय ध्यान केन्द्र, शौचालयसहित सुविधासम्पन्न प्रशासनिक भवन, फूलमाला बिक्रीका लागि ४१ वटा सटर, कम्पाउडवाल, दुई सय मिटर पक्की पहुँचमार्ग पनि निर्माण सम्पन्न भइसकेको उनले बताए । आगामी दिनमा परियोजनाका अधुरा कार्य सम्पन्न गर्ने लक्ष्य रहेको अध्यक्ष बरालले बताए । साँझको समयमा लेजर लाइटमार्फत महादेवको मूर्तिलाई पर्दा बनाई शिव ताण्डव नृत्य र महादेवको जीवनलीलासहितको वृत्तचित्र प्रस्तुत गर्ने योजना रहेको उनले सुनाए । रासस
शौर्य मिथिला लोक चित्रकलाको दोस्रो चरणको प्रतियोगिता सम्पन्न
काठमाडौं । शौर्य मिथिला लोक चित्रकला प्रतियोगिताअन्तर्गत दोस्रो चरणको प्रतियोगिता सम्पन्न भएको छ । ‘मिथिला चित्रकला मधेशक शान एहिके उजागर करब शौर्यक अभियान’ मूल नाराका साथ शौर्य सिमेन्टले आयोजना गरेको मिथिला लोक चित्रकलाको दोस्रो चरणको प्रतियोगिता सम्पन्न भएको हो । मधेस प्रदेश स्तरमा गरिएको कार्यक्रममा १५० भन्दा बढी आवेदन परेको थियो, जसबाट दोस्रो चरणमा ७५ जनालाई छनौट गरिएको हो । छनौट भएका ७५ जनालाई शौर्य सिमेन्ट उद्योग परिसरमा रहेको हलमा क्यानभासमा दिइएको विषयवस्तुअनुसार चित्र बनाउन लगाइएको थियो । क्त चित्रकलाका आधारमा तेस्रो चरणका लागि १५ जना छनौट गरिने कम्पनीले जनाएको छ । छनोट हुने प्रतियोगीले शौर्य सिमेन्टको पर्खालमा मिथिला चित्रकला बनाउनुपर्नेछ । तेस्रो चरणको प्रतियोगिता पुस २ देखि ७ सम्म चल्नेछ । प्रतियोगितामा प्रथम हुनेलाई ७५ हजार, द्वितीय हुनेलाई ५० हजार, तृतीय हुनेलाई २५ हजार र बाँकी १२ जनालाई ५ -५ हजार नगद प्रदान गरिने कम्पनीले जनाएकाे छ । कार्यक्रमको निर्णायक टिममा मिथिला आर्ट ग्यालरिका सञ्चालक श्यामसुन्दर यादव र सुनैना आर्ट ग्यालरीका सुनैना ठाकुर छन् । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शौर्य सिमेन्ट इन्डस्ट्रिजले कार्यक्रम आयोजना गरेको हो ।
जलवायु परिवर्तनका मुद्दालाई निष्पक्ष र न्यायोचित रूपमा सम्बोधन गर्न आवश्यक छ : कोप २८ अध्यक्ष
काठमाडौं । कोप २८ का अध्यक्ष सुल्तान अहमद अल जाबेरले जलवायु परिवर्तन न्युनिकरणका लागि भइरहेको बसहलाई चाँडो भन्दा चाँडो अन्तिम निस्कर्षमा पुर्याउनुपर्नेमा जोड दिएका छन् । संयुक्त राष्ट्र जलवायु शिखर सम्मेलनका पक्षहरूले जोखिममा रहेका मुद्दाहरूमा सहमतिमा पुग्न वार्ता थप जोड दिन आवश्यक रहेको बताएका हुन् । उनले प्रगति भइरहेपनि पर्याप्त र छिटो काम हुन नसकेको बताए । संयुक्त अरब इमिरेट्सको दुबईमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्षहरूको सम्मेलनको २८ औँ सत्रमा कोप २८ को पछिल्लो घटनाक्रमबारे जानकारी दिँदै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले जलवायु परिवर्तनका मुद्दालाई गहन रुपमा लिएर खुला रुपमा छलफल गर्न आवश्यक रहेको बताए । उनले मुद्दाहरूलाई निष्पक्ष र न्यायोचित रूपमा सम्बोधन गर्न आवश्यक रहेको बताए । आफूले समाधानका लागि सबै देशहरु तयार हुनुपर्ने चाहेको बताए । सबैजना लचिलो हुन र सम्झौता स्वीकार गर्न तयार हुनुपर्ने बताए । कोप २८ नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म चल्नेछ । संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलनले सबै देशहरूले सामना गरिरहेको दबाबपूर्ण जलवायु संकटको समाधानको लागि काम गर्न विश्वभरबाट १ लाख १० हजार भन्दा बढी सहभागी भएका छन् ।
आत्मनिर्भर लघुवित्तले पहिलोपटक घोषणा गर्याे लाभांश
काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले पहिलो पटक सेयरधनीहरूलाई लाभांश वितरण गर्ने भएको छ । लघुवित्त सञ्चालक समितिको मंसिर २४ गते बसेको बैठकले गत वर्षको नाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ ।
समता घरेलु लघुवित्तको लाभांश घोषणा, गत वर्षभन्दा घट्यो
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले हालसम्मकै न्यून लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्त सञ्चालक समितिको मंसिर २४ गते बसेको बैठकले गत वर्षको नाफाबाट ५.७० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजी ३९ करोड ४१ लाख ५५ हजार रुपैयाँको ५.४२२२ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ०.२८४४ प्रतिशत नगद गरी कूल ५.७०७६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ । यसअघि लघुवित्तले गत आर्थिक वर्ष २०७८÷७९मा सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर ३ प्रतिशत नगद गरी कूल १८ प्रतिशत लाभांश वितरण गरेको थियो ।
ग्लोबल आइएमई लघुवित्तले घोषणा गर्यो लाभांश
काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । लघुवित्तले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश घोषणा गरेको हो । मंसिर २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले कायम चुक्ता पूँजी ६१ करोड ८९ लाख रुपैयाँको १० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा लाभांश वितरण हुने छ ।
फलाम खानी उत्खननको लागि पुनः अध्ययन गरिँदै
रुकुम । रुकुम पूर्वमा फलाम खानीको विस्तृत अध्ययन पुनः थालिएको छ । भूमे गाउँपालिकामा फलाम खानी भएको पत्ता लागेपछि भूगर्भविद्ले गत साताबाट उत्खननको लागि सम्भाव्यता अध्ययन सुरु गरेका हुन् । खानी तथा भूगर्भ विभागका भूगर्भविद् सुजन देवकोटा र सौनक भण्डारीको समूहले भूमे-३ स्थित झुम्लाबाङमा अध्ययन सुरु गरेको हो । आर्थिक अभावले सो क्षेत्रको विस्तृत अध्ययन अहिलेसम्म अघि बढ्न सकेको थिएन । भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठले गाउँपालिकाको विभिन्न क्षेत्रमा फलाम खानीको बारेमा अध्ययन सुरु भएको बताएका छन् । हाल फलाम खानी पत्ता लागेको भनिएको ठाउँमा एक सय वर्षअघिसम्म तामा खानी उत्खनन हुने गरेको स्थानीयले जानकारी दिएका छन् । तत्कालीन समयमा तामा खानी उत्खनन गर्दा भूमे गाउँपालिकाको २, ३, ४ र ५ नम्बर वडाको विभिन्न ठाउँमा बनेका ठूला खाडल र सुरुङ अहिले पनि देख्न सकिने अध्यक्ष श्रेष्ठले जानकारी दिए । गत वर्ष तीनै ठाउँमा फलाम रहे नरहेको अध्ययन गर्दा फलाम खानी रहेको पत्ता लागेपछि अहिले उत्खननको लागि विस्तृत अध्ययन थालिएको उनले बताए । ‘गत साल गरिएको अध्ययनबाट हाम्रो गाउँपालिकाको झुम्लाबाङमा फलाम खानी भएको कुरा पत्ता लाग्यो’, अध्यक्ष श्रेष्ठले भने, ‘झुम्लाबाङमा फलाम खानी रहेको पत्ता लगेको छ ।’ रुकुम पूर्वमा हालसम्म खानी तथा भूगर्भ विभागले फलाम र तामा खानीको बारेमा तीन पटकसम्म अध्ययन गरिसकेको जनाइएको छ । रासस
अमेरिकन चेम्बर अफ कमर्स नेपालको अध्यक्षमा निर्मलकाजी श्रेष्ठ
काठमाडौं। अमेरिकी लगानीमा नेपालमा संचालित व्यवसायीहरुको छाता संस्था अमेरिकन च्याम्बर्स अफ कमर्स नेपाल (एमच्याम)को अध्यक्षमा निर्मलकाजी श्रेष्ठ निर्वाचित भएका छन् । संस्थापक अध्यक्ष अजित बिक्रम शाहको दुई वर्षे कार्यकाल सकिएसँगै आइतबार सम्पन्न एमच्यामको वार्षिक साधारणसभाले मेटलाइफ, अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी नेपालका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । सात सदस्यीय कार्यसमितिमा श्रेष्ठसहित लिपफ्रग टेक्नोलोजीका कैलाशराज विजयानन्द, पठाओ नेपालका अशिममान सिंह बस्न्यात, गो फोर्डका आकाश गोल्छा, लक्ष्मी सनराइज बैंकका मनिष थापा, मोघा इनर्जीका समर्थ मोघा र बोटलर्स नेपाल लिमिटेडका स्नेह राजभण्डारी निर्वाचित भएका छन् । संस्थाको उपाध्यक्ष, सचिव र कोषाध्यक्षको चयन संस्थाको सञ्चालक समितिले आगामी बैठकबाट गर्नेछ । एमचयामको स्थापनामा शाहको योगदानलाई सम्मान गर्दै शाहलाई संस्थापक अध्यक्षको रुपमा बोर्डको मानार्थ सदस्यमा राखिएको नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बताए। त्यसैगरी, अभिनव ल च्याम्बर्सका सेमान्त दाहाल मानार्थ सदस्यको रुपमा कार्यसमितिमा रहने छन् । श्रेष्ठले आफू नेतृत्वको टिममा उर्जाशील पदाधिकारी तथा सदस्यहरू रहेको भन्दै सांगठनिक र व्यवसायिक हितका लागि काम गर्ने बताए । उर्जा, पर्यटन तथा सूचना प्रविधि क्षेत्रमा प्राथमिकताका साथ लगानी भित्र्याउनका लागि आवश्यक पहल गर्ने अध्यक्ष श्रेष्ठको भनाइ छ। उनले आफ्नो कार्यकालमा लगानी तथा उद्यम सम्बन्धित विभिन्न सम्मेलनहरू नेपाल तथा अन्य मुलुकमा आयोजना गर्ने तथा अन्तरराष्ट्रिय सम्मेलन तथा मेलाहरुमा सहभागी हुने बताए। एमच्याम स्थापनाले छरिएर रहेका व्यवसायीहरूलाई संगठित गर्ने काम भएको थियो । संस्थापक अध्यक्ष शाहको दुई वर्षे कार्यकालमा एमच्याममा ४५ व्यवसाय आवद्ध भैसकेका छ न्। यस्तै एमच्याम स्थापनाको दुई वर्षभित्रै नेपालभन्दा ८ सय गुणा ठूलो अर्थतन्त्र भएको देश अमेरिकाको ’अमेरिकन च्याम्बर अफ कमर्स’सँग संघको आवद्धता प्राप्त गर्नु शाह कार्यकालको महत्वपूर्ण उपलब्धि हो । जसले नेपालमा अमेरिकी लगानीको सम्भावना समेत थप बढाएको छ । यससँगै एमच्याम नेपाल अमेरिकन च्याम्बर अफ कमर्सको विश्वव्यापि नेटवर्कको १३०औं सदस्य बनेको छ । यस्तै एमच्यामले आफ्ना व्यवसायीहरूको व्यवसाय प्रवद्र्धनका निम्ति मेम्बरशीप लर्निङ सिरिज सञ्चालन गर्दै आएको छ । जसले सदस्यहरूबीच नेटवर्किङ, फेलोशिप तथा एकअर्काका व्यवसायबारे नजिकबाट बुझ्ने र सहकार्य गर्ने समेत अवसर पाएका छन् । संघकै पहलमा अमेरिकी लगानी नेपालमा भित्र्याएका व्यवसायीहरू र नेपाल सरकारका विभिन्न निकायका प्रतिनिधिहरूबीच छलफलहरू भएको छ । जसले मुलुकमा लगानीको वातावरण राम्रो बनाउन ठूलो भूमिका खेलेको संघले जनाएको छ । युएसएड तथा विभिन्न संस्थासँग व्यवसायिक साझेदारी गर्दै अगाडी बढेको शाहले बताए । उनले सन् २०२४ जुन महिनामा नेपालका निजी कम्पनीहरूलाई अमेरिकामा लगानी तथा उद्यमसम्बन्धी कार्यक्रममा सहभागी गराउने र डिसेम्बरमा अमेरिकाको निजी क्षेत्रका प्रतिनिधिलाई नेपालमा बोलाएर कार्यक्रम गर्ने जानकारी दिए । यसका लागि अन्य संस्थाहरूसँग समेत सहकार्य गरेर अगाडि बढ्ने एमच्यामको योजना छ।