लकइन पिरियड सकिनु ३० दिनअघि नै सूचना दिन सेबोनको निर्देशन
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सूचीकृत संस्थाहरूलाई संस्थापक समूह तथा अन्य समूहको लकइन पिरियड सकिनुभन्दा ३० दिनअघि सार्वजनिक गर्न निर्देशन दिएको छ । सोमबार एक निर्देशन जारी गर्दै सेबोनले सूचीकृत कम्पनीहरूको संस्थापक समूह तथा अन्य समूहको लकइन अवधि समाप्त हुनुभन्दा ३० दिन अघि नै सार्वजनिक सूचना प्रकाशन गर्न निर्देशन दिएको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत संगठित संस्थाको संस्थापक तथा अन्य समूहको सेयरको लक इन अवधि सम्बन्धी व्यवस्था रहेको छ । उक्त व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न, सर्वसाधारण लगानीकर्ताहरूलाई समेत जानकारी तथा दोस्रो बजारमा हुने कारोबारलाई थप व्यवस्थित तथा पारदर्शी बनाउन नेप्से, सिडिएस एण्ड क्लियरिङ्ग र सम्पूर्ण कम्पनीलाई लक इन अवधि समाप्त हुनुभन्दा ३० दिन अगाडि जानकारी गराउन निर्देशन दिईएको उपकार्यकारी निर्देशक अम्बिका प्रसाद गिरीले जानकारी दिए । ‘कम्पनीले संस्थापक समूह तथा अन्य समूहको सेयरको बिक्री गर्न नपाईने गरी तोकिएको लक इन अवधि समाप्त हुनुभन्दा कम्तीमा ३० दिन अगाडि जानकारी गराउन सेयर लक इनमा रहेको वर्ग (जस्तैः संस्थापक, स्थानीय प्रभावित आदि), लक इनमा रहेको कुल सेयर संख्या, लक इन अवधी समाप्त हुने मिति समेत स्पष्टरुपमा खुलाई सूचना प्रकाशन गर्नुपर्नेछ,’ बोर्डले जारी गरेको निर्देशनमा उल्लेख छ । साथै, उक्त जानकारी बोर्ड, नेप्से र सिडिएस एण्ड क्लियरिङ्गलाई उपलब्ध गराउनुपर्ने छ । साथै सो सम्बन्धी सूचना तथा जानकारी कम्तीमा जारी भएको मितिदेखि लक इन अवधी समाप्त भए पछिको एक हप्तासम्म सबैले सहजै देख्न सक्नेगरी सम्बन्धित संस्थाले आफ्नो वेवसाईटमा समेत राख्नु पर्ने बोर्डले भनेको छ ।
सिक्लेसमा बढ्दो पर्यटक आगमनसँगै व्यवस्थापनको चिन्ता
काठमाडौं । मङ्सिरको १५ गते शुक्रबार पोखरा महानगरपालिका–३३ भरतपोखरीको बर माझथरका सात युवा कास्कीकै मादी गाउँपालिका–१ स्थित सिक्लेसको भ्रमणका लागि निस्किए । पछिल्लो समयमा बढ्दो पर्यटकको आगमनले चासो र चर्चा कमाएको सिक्लेस सञ्चारमाध्यममा सुनेका उनीहरुको उद्देश्य सिक्लेसमै पुुगी त्यहाँको वातावरण प्रत्यक्ष अवलोकन गर्नु थियो । मोटरसाइकलमार्फत यात्राको तय गरेका उनीहरुलाई घरबाट निस्कँदा कतै भीडभाडका कारण बस्ने ठाउँ नै पाइँदैन की भन्ने चिन्ता पनि थियो । त्यसै चिन्ताले यात्राकै क्रममा त्यहाँका होमस्टे सञ्चालकलाई फोन गरी आफूहरू आउन लागेको जानकारी गराएको भ्रमणटोलीका सदस्य कमलप्रसाद पौडेलले बताए । ‘बाटोबाटै फोन गरिएका कारण हामीलाई त्यहाँ पुुगेर बस्न र खान धेरै सजिलो भयो’, स्थानीय चण्डी माध्यमिक विद्यालयका शिक्षक रहेका उनले भने, ‘त्यो दिन सिक्लेस पुुग्नेको ठूूलै उपस्थिति थियो, स्थानीयवासीलाई व्यवस्थापन गर्न हम्मेहम्मे देखिन्थ्यो ।’ आफूहरू पनि पहिलोपटक सिक्लेस पुुगेको बताउँदै पौडेलले सञ्चारमाध्यम एवम् विभिन्न सामाजिक सञ्जालमा सुनेको भन्दा पनि अझै रमणीय स्थान भएको बताए । सिक्लेस जाने बाटो ठाउँ ठाउँमा निर्माणकै क्रममा रहेका कारण दुुईपाङ्ग्रे सवारीसाधनमार्फत जाँदा होसियारीपूर्वक नै जानुपर्ने उनको सुुझाव थियो । पर्यटकीय गाउँ र ठाउँलाई आन्तरिक रुपमा पनि प्रवद्र्धन आवश्यक भएको पौडेलले उल्लेख गरे । उनले भनेजस्तै बढ्दो पर्यटकको आगमनले यहाँका पर्यटन व्यवसायी ठूलो सङ्ख्यामा आउन थालेकाले तिनको व्यवस्थापन कसरी गर्ने भन्ने चिन्तामा छन् । विगतका वर्षमा कोरोनाको महामारीले लामो समय सुनसान जस्तै बनेको सिक्लेसमा देशका विभिन्न भागबाट पर्यटक आउन थालेसँगै यहाँको चहलपहल ह्वात्तै बढेको हो । सिक्लेसमा गाउँमाथिका पदमार्ग क्षेत्रकासमेत गरी ४१ वटा होटेल सञ्चालनमा आइसकेको मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिए । होटेलका साथै यहाँका झण्डै दुुई दर्जन सङ्ख्याका घरवास (होमस्टे) ले यहाँ दैनिक रुपमा पर्यटकलाई खाने बस्ने सुविधा दिइरहेका छन् । आफ्नो मौलिक कला, संस्कृति तथा मनोरम प्रकृतिका कारण सिक्लेसले स्वदेशी एवम् विदेशी पर्यटकलाई लोभ्याउने गरेको उनले बताए । सिक्लेस समुद्री सतहबाट दुई हजार मिटरको उचाइमा छ । वरिपरि हरियो वनजङ्गल रहेको यो गाउँमा चरा र वन्यजन्तुप्रेमी पनि रमाउने गरेका छन् । यहाँबाट नजिकै देखिने लमजुङ हिमाल र अन्नपूर्ण दोस्रो हिमालले जो कोहीलाई लोभ्याउने गरेको छ । पछिल्ला समयमा पर्यटकको आगमनले यहाँको पयर्उटन राम्रै प्रवद्र्धन भएको उल्लेख गर्दै वडाध्यक्ष गुुरुङ आगामी दिनमा यसको व्यवस्थापन कसरी गर्ने भन्ने विषयले आँफूहरूलाई सचेत गराएको बताए । ‘पर्यटकको आगमनलाई लक्ष्य गरी यहाँको प्रकृति, संस्कृति र मौलिकता समेतको संरक्षण गर्दै उचित व्यवस्थापन गर्नुु जरुरी छ’, उनले भने, ‘बढ्दो पर्यटकको आगमनमा समेत यहाँको सरसफाइ, प्राकृतिक एवम् सांस्कृतिक मौलिकता जोगाउन आजैदेखि लाग्नुु अपरिहार्य देखिएको छ ।’ लगभग चार सय कुरिया घरधुरी रहेको सिक्लेस नेपालकै ठूलो गुरुङ गाउँ हो । सिक्लेसमा ढुङ्गाले छाएको तथा ढुङ्गा छापिएको गुजुमुच्च तर अत्यन्त सफा र सुन्दर बस्ती छन् । सरसफाइमा निकै ध्यान दिइएका कारण बाटाघाटा तथा घर, चोकमा प्लास्टिक एवम् कागज केही नभेटिनु यहाँको विशिष्टता हो । यो गाउँ अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतको घलेखर्क सिक्लेस ईको ट्रेकभित्र पर्दछ । कला र संस्कृति बचाउनका लागि यहाँ गरिने मेला तथा महोत्सवमा लोपोन्मुख अवस्थामा रहेका लगभग चार दशकअघिसम्म प्रचलित खेल झिझिलि, हेकुचे, घुर्राजस्ता प्रतियोगिता समेत गराउने गरिएको छ । संस्कृतिकै निरन्तरतास्वरुप सूचना दिने प्राचीन प्रचलन कटुवाल घोकाउने प्रथा पनि सिक्लेसमा कायमै छ । परम्परागत हस्तकला व्यवसाय, राडिपाखी, थैलो, भाङ्ग्रा (रेँका), बख्खु र मान्द्रो, भकारी, डोकोडालो, नाम्लो र गुन्द्री उत्पादन आदिले पनि यहाँको मौलिकता बचाएको छ । गुरुङ जातिको कला तथा संस्कृतिको जीवन्त सङ्ग्रहालय जस्तै बनेको यो गाउँबाट गुरुङ जातिको अन्तिम राज्य क्होलासोंथर पनि एक दिनमा पुग्न सकिन्छ । त्यसैले गुरुङ जातिको अध्ययन अनुसन्धानका लागि पनि स्वदेशी एवं विदेशीसमेत सिक्लेस जाने गरेका छन् । त्यहाँ रहेको सिक्लेस ईको म्युजियम पनि दर्शनीयस्थलका रुपमा विकास भएको छ । सङ्गहालयमा गुरुङ संस्कृतिको वेशभूषा, रहनसहन तथा परम्परालाई जीवन्त रुपमा झल्काउने सामग्री राखिएको इको म्युजियम व्यवस्थापन समितिका अध्यक्ष हुमकुमारी गुरुङले बताए । सङ्ग्रहालयमा आउने पर्यटकले हिमाली जीवन र संस्कृतिसँगै विभिन्न जडीबुटी आदिबारे पनि जानकारी लिन पाउँछन् । त्यहाँ आउने पर्यटकले गुरुङ पहिरन लगाएर तस्बिर खिच्ने गर्दछन् । संङ्ग्रहालयको व्यवस्थापनका लागि विदेशी पर्यटकसँग १ सय ५०, अन्य सर्वसाधारणसँग एक सय र विद्यार्थीसँग ३० रुपैयाँ प्रवेश शुल्क लिने गरिएको उहाँको भनाइ थियो । सिक्लेस क्षेत्रमा पाइने अत्यन्त महत्वपूर्ण कुट्को, कुरिलो, सतुवा, विष, जटामसी, सिल्टीमुर, पाँचऔँले र यार्सागुम्बाजस्ता जडीबुटीका बारेमा यहाँ पुग्ने पर्यटकले अभिरुचिपूर्वक जानकारी लिने गरेका छन् । सिक्लेसबाट कफुचे हिमतालका साथै कोरिसम्म पदयात्राका लागि जाने पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ । वडाध्यक्ष गुुरुङका अनुसार सिक्लेसबाट कफुचे, कोरीसम्मको पदयात्रा मार्गलाई केटुु पदमार्गका रुपमा विकास गर्ने सोच राखिएको छ । यस पदमार्ग क्षेत्रका कफुचे, होगुँ, कोरी, पासाँलगायत स्थानमा होटेलपनि सञ्चालनमा आएको उनले जानकारी दिए । सिक्लेसबाट पहिलो दिन कफुचे हिमताल पुुगेका पर्यटक दोस्रो दिन कोरी र तेस्रो दिन पुनः सिक्लेस फर्कन सक्ने अध्यक्ष गुरुङले बताए । ‘सिक्लेसबाट तारहिलटप हुँदै तिइँ, कफुचेसम्मको नयाँ पदमार्ग समेत विकास गर्ने हाम्रो सोच छ’, उनले भने, ‘पदयात्राका क्रममा उक्त मार्गबाट देखिने धवलागिरिदेखि मनास्लु हिमशृङ्खलासम्मका दृश्यलाई एकसाथ अवलोकन गर्न पाउनु यहाँको विशिष्टता हो ।’ यस पदमार्गलाई मादी गाउँपालिका वडा नं ६ को थाक हिल, चिप्ली, मादीकै वडा नं १ को सिलाङ गाउँका साथै घलेखर्कबाट पनि जोड्न सकिने उनले जानकारी दिए ।गुराँसै गुराँसले भरिएका यस पदमार्ग गुराँस फुल्ने समयमा अझै मनमोहक देखिने अध्यक्ष गुरुङले बताए । पोखराबाट ४० किलोमिटर उत्तरमा रहेको सिक्लेस जान काहुँ खोलामा जीप सहज रुपमा नै उपलब्ध हुन्छन् । नेपालको १२ वर्षे द्वन्द्व अन्त्यका लागि तत्कालीन सशस्त्र आन्दोलनरत नेकपा (माओवादी)का नेता पुष्पकमल दाहाल पहिलो पटक यही सिक्लेसबाट सार्वजनिक बनेकाले यो शान्ति प्रक्रियाको उद्गमस्थलका रुपमा चित्रित भएको छ । गाउँपालिकाले यही गाउँमा शान्ति स्मारकसमेत निर्माण गरिसकेको छ । रासस
विदेशबाट फर्केर २० लाख लगानीमा सामूहिक माछापालन, मनग्य आम्दानी
गलेश्वर । वैदेशिक रोजगारीमा भनेजस्तो कमाइ नभएपछि स्वदेश फर्केर पश्चिम म्याग्दीको मालिका गाउँपालिका–३ का तीन जना युवाले सामूहिक माछापालन गरेका छन् । स्थानीय पूर्णबहादुर रोका, तेजेन्द्र बुढा र यमेन्द्र रोकाले मालिका–३ मा पर्ने टिमुरे खोलामा सामूहिक माछापालन थालेका हुन् । उक्त सामूहिक माछापालन पश्चिम म्याग्दीका लागि उदाहरणीय व्यवसाय बनेको छ । पूर्ण कतारमा छ र यामेन्द्र तीन वर्ष तथा तेजेन्द्र बहराइनमा तीन वर्ष काम गरेर स्वदेश फर्किएपछि सामूहिक माछापालनमा लागेका हुन् । टिमुरे खोला नजिकैको आठ रोपनी जग्गा भाडामा लिएर उनीहरुले सामूहिक रूपमा ट्राउट जातका माछा पालेका छन् । रू २० लाख लगानीमा माछापालनका लागि १० पोखरी निर्माण गरिएको पूर्णले जानकारी दिए । विसं २०७९ कात्तिकदेखि मालिका रेन्बो ट्राउट फर्म दर्ता गरी माछापालन व्यवसाय सुरु गरिएको उनले बताए । ‘सुरुमा रू आठ लाखको लगानीमा छ वटा पोखरी (रेसवे) निर्माण गरी माछापालन थालनी गर्यौँं । अहिले १० पोखरी निर्माण गरेका छौंँ’,उनले भने । गण्डकी रेन्बो ट्राउटबाट १० हजार अण्डा ल्याएर ह्याचिरिङ गरिएको जनाउँदै पूर्णले करिब नौ महिनामा माछा बिक्रीका लागि तयार हुने बताए । अहिले पोखरीमै भुरा उत्पादन हुने भन्दै १२ हजार बढी माछा हुर्किरहेका उनले जानकारी दिए । पूर्णका अनुसार पहिलो वर्ष सात सय केजी बढी माछा बिक्री भएको थियो । यस वर्ष दुई हजार केजी उत्पादन गर्ने लक्ष्य रहेको उनको भनाइ थियो । पहिलो वर्षको आम्दानी पनि व्यवसाय विस्तारमा लगाइएको बताउँदै उनले यस वर्षदेखि राम्रो आम्दानी लिन सकिने बताए । माछापालनका लागि चिसो र बहाव भएको स्वच्छ पानी आवश्यक हुने सञ्चालक पूर्णको भनाइ थियो । वर्षातको समयमा माछाका भुरा बचाउन गाह्रो हुने तेजेन्द्रले सुनाए । यहाँ उत्पादित माछा नजिकैको दरबाङ बजारसहित सदरमुकाम बेनी र छिमेकी जिल्ला बागलुङसम्म लगिएको उनले बताए । पहिलो वर्ष प्रतिकेजी रू एक हजार दुई सयमा बिक्री गरिएकामा यस वर्ष भने दानाको मूल्य बढेकाले रू एक हजार तीन सयमा बेच्ने गरिएको तेजेन्द्रले जानकारी दिए । बजारमा माग बढे पनि पर्याप्त उत्पादन गर्न नसकिएको उनको भनाइ थियो । उनीहरुले टिमुरेमा सामूहिक रुपमा आफ्नै रेष्टुराँ पनि सञ्चालन गरेका छन् । पोखरीमा उत्पादित माछा रेस्टुराँमा समेत खपत हुने गरेको माछापालका यमेन्द्रले जानकारी दिए । माछापालन गरी मनग्य आम्दानी भएकाले विदेशभन्दा नेपालमै फाइदा भएको उनको भनाइ थियो । आधुनिक किसिमले पोखरी निर्माण गरेर व्यावसायिक रूपमा माछापालन सुरु गरिएकाले फर्ममा परिवारका अन्य सदस्यलेसमेत साथ दिएको यमेन्द्रले बताए । मालिका–३ का वडाध्यक्ष मोतीप्रसाद बुढाले गाउँमै युवाको लगानीमा व्यावसायिक माछापालन गरेसँगै अन्य युवाका लागि पनि प्रेरणाको स्रोत बनेको बताए । उनका अनुसार वडाको ५० प्रतिशत अनुदान कार्यक्रमबाट पोखरी वरिपरी घेरबार गरिएको छ । सरकारबाट पाउने ऋण र अनुदानमा समेत झन्झटिलो प्रक्रिया भएको भन्दै वास्तविक किसानसँग अनुदान पुग्न नसकेको माछापालक रोकाले गुनासो गरे। आगामी दिनमा यस व्यवसायलाई अझै विस्तार गर्ने सोच रहेको उनले बताए । रासस
रोयल इनफिल्डको हन्टर ब्रेकफाष्ट राइड
काठमाडौं । रोयल इनफिल्डको ‘हन्टर ब्रेकफाष्ट राइड’ आयोजना भएको छ । निरन्तर उत्पादनमा सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड, ‘रोयल इनफिल्ड’को लागी आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले आन्तरिक पर्यटन प्रर्बद्धन गर्ने उद्देश्यले ‘रोयल इनफिल्ड हन्टर ब्रेकफाष्ट राइड कार्यक्रम आयोजना गरिएको हो । यस राइडमा ४१ वटा रोयल इन्फिल्डका हन्टर मोटरसाइकल राइर्डस्हरु सहभागी भएका थिए । यस कार्यक्रमको मुख्य उद्देश्य सडक सुरक्षा सम्बन्धी जनचेतना, सुरक्षित राइड, ठाऊ संरक्षण एवम् प्रर्बद्धन गर्नु रहेको थियो । मंसिर २३ गते बिहान ७ः३० बजे रोयल इनफिल्डको शोरूम नक्सालबाट सुरु भएको यो राइड रोयल इन्फिल्ड सोरुमदेखि दरबारमार्ग, शहिदगेट, त्रिपुरेश्वर, कालिमाटी, सोल्टिमोड, कंलकी, हुदै कालुपाण्डे हिलसम्मको रहेको कम्पनीले जनाएकाे छ।
कामना सेवा र हातेमालो फाइनान्सबीच फाइभ इन वान सेवा सम्झौता
काठमाडौं । कामना सेवा विकास बैंकले नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त ब्रोकर कम्पनी हातेमालो फाइनान्स सर्भिस प्रालिसँगको सम्झौता गरी फाइभ इन वान सेवा सार्वजनिक गरेको छ । सम्झौतापश्चात बैंकका ग्राहकले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि-आस्वा र मेरो सेयर एकै सेवामार्फत प्राप्त गर्न सक्नेछन् । ग्राहकले सरल रुपमा सेयर कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले यस्ता सेवा उपलब्ध गराएको कम्पनीले जनाएकाे छ । काठमाडौं–३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न स्थानमा १३५ शाखा सञ्जाल, २१ शाखारहित बैंकिङ सेवा र ७७ वटा एटीएममार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सि-आस्वालगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।
साझा यातायातमा सीईओका लागि दरखास्त आह्वान
काठमाडौं । साझा यातायातमा रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ । कम्पनीले सोमबार सूचना प्रकाशित गर्दै रिक्त रहेको सीईओको पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गरिने जनाएको छ । कम्पनीका अनुसार दरखास्त दिने व्यक्तिको कम्तीमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण गरी सार्वजनिक वा सङ्गठित सङ्घ संस्थामा दशौँ तह वा सो सरहको श्रेणीको जिम्मेवारी लिइसकेको हुनुपर्नेछ । त्यस्तै सहकारी वा सार्वजनिक प्रशासन वा यातायात व्यवस्थापनको क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव हासिल गरेको, दरखास्त दिने अन्तिम मितिसम्म पैँतिस वर्ष उमेर पूरा भएको र दरखास्त दिने अन्तिम मितिसम्म अन्ठाउन्न वर्ष उमेर ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ । इच्छुकले ४५ दिनभित्रमा आवेदन दिन सक्ने कम्पनीको जनाएको छ ।
हुलाकी सडकले यसरी फेरिँदै जनजीवन, दुर्गम गाउँ सुगम बन्दै
बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ गोरदोई गाउँ निवासी ७१ वर्षीय तोमान वली घरै अगाडि फराकिलो हुलाकी पक्की सडक बनेपछि खुसी छन् । ‘घरै अगाडि यस्तो पक्की सडक बन्ला भन्ने सोचेको थिएनौँ, अहिले त हामीलाई जता जान पनि सजिलो भएको छ’, सडक नै नहुँदा बसेको बस्तीमा खेती किसानी गर्दै आएका वलीले भने, ‘हुलाकी सडक बनेपछि अब बजारमा किनमेल गर्न जान, बिरामी हुँदा अस्पताल जान धेरै सजिलो भएको छ, सडक बन्दा दुई कट्ठा जमिन खेर गयो तर अहिले सडकले जग्गाको भाउ पनि बढाएको छ ।’ राप्ती सोनारी गाउँपालिका–५ बिनौनास्थित भुवरभवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक चेतबहादुर बिष्ट नेपालगञ्जबाट दैनिक मोटरसाइकलमा विद्यालय जाने आउने गर्छन् । दुई वर्ष अघिसम्म बिनौना गाउँमै डेरा खोजेर बस्दै आएका बिष्ट फत्तेपुरदेखि नारायणपुर हुलाकी सडक पक्की बनेपछि अहिले नेपालगञ्जबाटै आवत जावत गर्न थालेका हुन् । सडक बनेपछि घरदेखि आधाघण्टामै पुगिने भएपछि अहिले घरबाटै आउन जान सम्भव भएको उनले बताए । ‘हुलाकी सडक बनेपछि सर्वसाधारण जनताको जीवनयापनमा ठूलो प्रभाव परेको छ, अब सहरमा काम गरेर साँझ घर फर्किन सक्ने स्थिति बनेको छ’, प्रधानाध्यापक विष्टले भने, ‘रोजगारीको लागि पनि नेपालगञ्ज गएर आउनसक्ने अवस्था भयो । यतै पनि रोजगारी खुलेका छन् ।’ नेपालगञ्ज–बघौडा ४४ किलोमिटर र फत्तेपुर–नारायणपुर २१ किलोमिटर हुलाकी सडकले स्थानीयको जीवनमा परिवर्तन ल्याएको छ । बिनौना र बैजापुर चोक अहिले बजारको रुपमा विकसित हुँदै गएका छन् । पहिला फाट्टफुट्ट झुप्रोमा पसल हुने बिनौनामा अहिले ठूला पसल, होटल र मेडिकल खुलेपछि स्थानीय खुसी छन् । राप्ती सोनारी ४ बैजापुरका अगुवा तुलसी थारुका अनुसार हुलाकी सडक बैजापुर र बिनौनावासीको लागि वरदानै सावित भएको छ । हुलाकी सडक बनेपछि अब गाउँको उत्पादन सहज तरिकाले आधा घण्टामै नेपालगञ्ज पुगेर बिक्रीवितरण गर्नसक्ने अवस्था सिर्जना भएको र मौसम अनुसारको तरकारी उत्पादन गरेर बजार पु¥याउँदा किसानको आम्दानीको स्तर बढेको उनको भनाइ छ । दुर्गम गाउँ सुगम बन्दै बाँके जिल्लाका ग्रामीण क्षेत्र हुलाकी सडक निर्माणसँगै अहिले सुगम बन्दै गएका छन् । हुलाकी सडक निर्माणले राप्ती सोनारीको बैजापुर देखि नरैनापुरको सुइया बघौडालाई सदरमुकाम नेपालगञ्जसँग सीधा सम्पर्क गराएको छ । विगतमा दुर्गम क्षेत्रका रुपमा मानिने नरैनापुरबाट अहिले आधा घण्टामै नेपालगञ्ज पुग्ने गरिएको नरैनापुरका स्थानीय अगुवा सोहनलाल यादवले बताए। ‘पहिले भारतको बाटो हुँदै नेपालगञ्ज पुग्नुपथ्र्यो, अहिले आधाघण्टामै पुगिन्छ’, यादवले भने, ‘हुलाकी सडक नरैनापुरबासीको लागि ‘लाइफलाइन’ बन्न पुगेको छ ।’ नेपालगञ्जदेखि नरैनापुरको सुइया बघौडासम्म हुलाकी सडक पुगेपछि स्वास्थ्य र शिक्षामा पनि उल्लेख्य प्रगति भइरहेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद साहले बताए । उनले नेपालगन्ज–बघौडा ४४ किलोमिटर हुलाकी सडकको निर्माण र कोहलपुर–धामपुर–सुईया बघौडा विद्युतीकरणको काम पूरा भएपछि नरैनापुरवासीको मुहार उज्यालो हुँदै गएको उल्लेख गरे । यातायातका साधन सञ्चालन भएपछि भारतमा निर्भर रहँदै आएका गाउँको सम्बन्ध सिधा नेपालगन्ज सहरसँग जोडिएको छ । नरैनापुर गाउँपालिकाका स्थानीय अगुवा बिक्रम यादवले हुलाकी सडक कालोपत्र भएसँगै अहिले दैनिकरूपमा क्षेत्रमा बस, जीप, बोलेरो, ट्याक्टर, मोटरसाइकल आवतजावत गर्न थालेको बताए । उनका अनुसार, सडक पुगेपछि स्थानीय उत्पादनको बजारीकरणमा पनि सहज हुँदै गएको छ । बघौडामा उत्पादित वस्तुहरु सिधै सदरमुकाम पुग्न थालेका छन् । शिक्षा, स्वास्थ्य, यातायातलगायत विकासको पूर्वाधारले गति लिन थालेपछि सो क्षेत्रको महत्व पनि बढ्दै गएको छ । गाउँमा सडक नपुग्दा सीमापारी भारतमा दैनिक उपभोग्य सामान किनबेच गर्नुपर्ने बाध्यता पनि अहिले समाप्त भएको छ । हुलाकी सडकले सो क्षेत्रको मुहार नै फेरिदिएको यादवको भनाइ छ । हुलाकी सडकले गाउँबस्तीको मुहार फेर्दै नेपालगञ्ज–गुलरिया हुलाकी सडक विस्तारको काम धमाधम अघि बढेपछि स्थानीयवासी उत्साहित देखिएका छन् । हुलाकी सडक अन्तर्गत अहिले बाँकेको जानकी र खजुरा गाउँपालिका क्षेत्रमा नाली निर्माण र ग्रावेल गर्ने कार्य भईरहेको छ । एक वर्षको अवधिमानै सडकको मुहारै फेरिने गरी काम भएको जानकी–४ नहरचोकका दिनेश बर्माले बताए । ‘यही गतिमा काम भए हाम्रो घरै अगाडि छिटै चारलेन सडक बन्ने छ’, बर्माले खुशी हुँदै भने,’यति छिटो काम भएकोमा स्थानीयवासिन्दा सबै खुशी भएका छन् ।’ गत वर्षको भदौ अन्त्यमा बोलपत्र तथा शिलान्यास भएको यो सडक ठेक्कासम्बन्धी कानुनी प्रक्रिया पूरा गरी निर्माण कार्य सुरु भएको हो । यो सडक निर्माण भएपछि बाँकेको खजुरा क्षेत्रसहित कैलाली र बर्दियाका बासिन्दालाई नेपालगञ्ज पुग्न सहज हुने भएकाले यसलाई गौरवको योजनाका रूपमा लिइएको छ । खजुरामा निर्माणाधिन चारलेन सडक निर्माण लामो समयसम्म अलपत्र हुँदा निराश बनेका स्थानीयवासीमा अहिले सडक विस्तारको काम धमाधम हुँदा उत्साह थपेको खजुरा गाउँपालिका अध्यक्ष डम्बर विकले बताए । उनले नेपालगञ्ज–गुलरिया सडक विस्तारको काम अहिले उत्साहजनकरुपमा भईरहेको उल्लेख गर्दै यहि गतिमा काम सम्पन्न गर्न गराउन आफूले आवश्यक पहल गरिरहेको सुनाए । निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी शर्मा एण्ड कम्पनीका प्रतिनिधि नवीन शर्माले सम्झौता अवधिभन्दाअगावै सकिने गरी काम गरिरहेको बताए । बाँकेमा अहिले राप्ती सोनारीको फत्तेपुरस्थित कुण्डादेखि वैजापुरको नारायणपुरसम्म २१ किलोमिटर, नेपालगञ्ज–गुलरिया सडकखण्डको २८ किलोमिटर र नेपालगञ्जको पुष्पलाल चोकदेखि पूर्व १० किलोमिटर क्षेत्रको हुलाकी सडक निर्माण कार्य भईरहेको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय, नेपालगञ्जका सूचना अधिकारी इन्जिनियर कृष्ण पाण्डेले बताए । उनका अनुसार, राप्ती सोनारीको फत्तेपुरस्थित कुण्डादेखि बैजापुरको नारायणपुरसम्म २१ किलोमिटर कालोपत्रे काम एपिक्स कन्काई खड्का जेभीले ७६ करोडको लागतमा गरिरहेको छ भने नेपालगञ्ज–गुलरिया सडकखण्डको २८ किलोमिटर मध्ये ११ दशमलव छ किलोमिटर चारलेन र बाँकी दुईलेनको काम रु दुई अर्ब ७८ करोडमा शर्मा एण्ड कम्पनीले गरिरहेको छ । यसैगरी नेपालगञ्जको पुष्पलाल चोकदेखि पूर्व १० किलोमिटर क्षेत्रको हुलाकी सडक विस्तारको काम ज्ञानिस शारदा जेभिले रु १२ करोडमा विस्तारको काम गरिरहेको छ । फत्तेपुरस्थित कुण्डादेखि बैजापुरको नारायणपुरसम्म २१ किलोमिटर कालोपत्रे सडक निर्माण सकिएर रङरोगनको काम भइरहेको छ भने अन्य दुईवटै हुलाकी सडकको काम तीव्र गतिमा भइरहेको इञ्जिनियर पाण्डेले जानकारी दिए। हुलाकी सडक अगैयासम्म विस्तार गरिँदै बाँकेको राप्तीसोनारी गाउँपालिका हुँदै दाङ जोड्ने हुलाकी राजमार्गसँग जोडिएको राप्तीसोनारी–३ नारायणपुरबाट पूर्व–पश्चिम राजमार्गअन्तर्गत रहेको अगैयासम्म विस्तार गरिने भएको छ । नेपालगञ्जबाट राप्तीसोनारीको नारायणपुर हुँदै दाङ जोड्ने हुलाकी राजमार्गबाट अगैयासम्म जाने एक हजार छ सय मिटर सडकको चौडा र कालोपत्रे गरी विस्तार गर्ने योजना अगाडि बढेको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय, नेपालगञ्जका सूचना अधिकारी इन्जिनियर कृष्ण पाण्डेले बताए । केही दिनअघि बाँके आएका सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पनि उक्त सडकको स्तरोन्नति गर्नका लागि निर्देशन पनि दिएको उनले जानकारी दिए । नारायणपुरदेखि अगैयासम्मको एक हजार छ सय मिटर सडकखण्डको राप्ती नदीस्थित सिक्टाको बाँधसम्म र बाँधलाई छाडेर पारी अगैया बजारसम्मको सडकको स्तरोन्नति गरिने उनले जानकारी दिए । नेपालगञ्जदेखि राप्ती नदी तरेर राप्तीसोनारीको फत्तेपुर, विनौना बैजापुर हुँदै अगैयासम्मको हुलाकी सडकको दुरी छोटो भएका कारण नेपालगन्जबाट पूर्व–पश्चिम राजमार्गको कोहलपुर हुँदै अगैयासम्म जाने सवारी साधनहरूले उक्त सडक प्रयोग गर्दै आएका छन् । नेपालगञ्जदेखि राप्तीपारी हुँदै अगैयासम्मको सडकको दुरी करिब ३५ किलोमिटर छ भने कोहलपुरबाट पूर्व–पश्चिम राजमार्गको बाँके राष्ट्रिय निकुञ्ज हुँदै अगैया पुग्नका लागि करिब ६१ किलोमिटरको दुरी छ । दुरी छोटो पने भएकोले सवारी साधनहरूले अगैयासम्म पुग्नका लागि राप्तीपारीकै सडक रोज्ने गरेका छन् । हुलाकी सडकको नियमित अनुगमन गर्दै आएका बाँके क्षेत्र नं १ का सांसद सूर्य ढकाललले काम तीव्र गतिमा सञ्चालनमा रहे पनि निर्माण कम्पनीको मागबमोजिम भुक्तानी, मुआब्जाको समस्या र विद्युत पोलको चुनौती रहेको बताउँदै देखिएका समस्या र चुनौती नीतिगत तहमा उठाउने आश्वासन दिए । उनले हुलाकी सडक निर्माण कार्य समयमै सम्पन्न गर्न आफुले आवश्यक समन्वय र चासो देखाएको बताउँदै हुलाकी सडकले बाँकेवासी जनतालाई विकासको अनुभूति गराएको उल्लेख गरे । रासस
इस्लिङ्टन कलेजमा साइबर सुरक्षा अनुसन्धान केन्द्रको उद्घाटन
काठमाडौं । इस्लिङट्न कलेजले नेपालको पहिलो शैक्षिक साइबर सुरक्षा अनुसन्धान केन्द्रको उद्घाटन गरेको छ । लण्डन मेट्रोपोलिटन विश्वविद्यालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधिहरूसँगको सहकार्यमा आयोजित कार्यक्रमबिच केन्द्रको उद्घाटन गरिएको हो । उद्घाटन समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको पनि उपस्थिति रहेको थियो । अनुसन्धान केन्द्रको मुख्य लक्ष्य साइबर सुरक्षा खतराहरूमा अनुसन्धानलाई प्रोत्साहित गर्ने रहेको कलेजले जनाएको छ । शैक्षिक कर्मचारी, विद्यार्थी र पूर्व विद्यार्थीहरूले यहाँ गरेको अनुसन्धानको आधारमा साइबर सुरक्षा डोमेन भित्र उदीयमान प्रविधिहरू अन्वेषण गर्ने र प्रशिक्षणमा ध्यान केन्द्रित गरेर साइबर घटनाहरूको डिजिटल फोरेन्सिक अभ्यास गर्ने जनाइएको छ । यी लक्ष्यहरू प्राप्त गर्न केन्द्र डिजिटल फोरेन्सिक प्रयोगशाला, सुरक्षा अपरेसन केन्द्र, र अनुसन्धान केन्द्रसँग आवश्यक पूर्वाधार सुसज्जित रहेको छ । अनुसन्धान केन्द्रले नेपालको महत्त्वपूर्ण पूर्वाधारलाई साइबर आक्रमणबाट जोगाउन आवश्यक पर्ने दक्ष साइबर सुरक्षा अधिकारीहरु नेपालमै छन् भनी सुनिश्चित गर्न पनि मद्दत गर्ने कलेजको भनाई छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै लण्डन मेट्रोपोलिटन विश्वविद्यालयका प्रो – भाइस चान्सलर नोना म्याकडफले साइबर सुरक्षाशिक्षाको क्षेत्रमा इस्लिङटन कलेजको अन्तर्राष्ट्रिय सहकार्य र मान्यताको विषयमा चर्चा गरेकी थिइन् ।