प्रधानमन्त्रीकाे छोरीले व्यापारीबाट पैसा असुलेको आरोप, सल्लाहकार गजुरेल बाहिरिए

<p> काठमाडौं । केही समय यता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनकी छोरी गंगा दाहाललाई जोडेर स्वतन्त्र सांसद अमरेशकुमार सिंहले गम्भीर आरोप लगाउँदै आएका छन् । पत्रकार सम्मेलन, संसदको लेखा समिति बैठकदेखि अन्तार्वार्ताहरूमा सांसद सिंहले विभिन्न आरोपहरू लगाउँदै आएका हुन् । प्रधानमन्त्री र उनकी छोरी गंगाले एनसेललाई कानूनअनुसार राज्यको स्वामित्वमा आउन नदिन विभिन्न हर्कत गरेको सांसद [&hellip;]</p>

 काठमाडौं । केही समय यता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनकी छोरी गंगा दाहाललाई जोडेर स्वतन्त्र सांसद अमरेशकुमार सिंहले गम्भीर आरोप लगाउँदै आएका छन् । पत्रकार सम्मेलन, संसदको लेखा समिति बैठकदेखि अन्तार्वार्ताहरूमा सांसद सिंहले विभिन्न आरोपहरू लगाउँदै आएका हुन् ।

प्रधानमन्त्री र उनकी छोरी गंगाले एनसेललाई कानूनअनुसार राज्यको स्वामित्वमा आउन नदिन विभिन्न हर्कत गरेको सांसद सिंहको आरोप छ । सांसद सिंह यतिमात्रैमा सीमित भएका छैनन्, उनले प्रधानमन्त्रीकी छाेरी तथा स्वकीय सचिव समेत रहेकी गंगाले कुन-कुन व्यापारीसँग के विषयमा कति रकम लिइन् भन्ने विषय नै प्रमाणसहित सार्वजनिक गर्ने बताइरहेका छन् ।

‘प्रधानमन्त्रीकी छोरी तथा स्वकीय सचिव गंगा दाहालले कुन-कुन व्यापारीसँग कुन-कुन मामिलामा कति रकम बुझेकी छिन्, त्यो सबै प्रमाण मसँग सुरक्षित छ, समय आएपछि त्यो सबै प्रमाण जनता र मिडियामा लिएर जानेछु,’ उनले सामाजिक सञ्चालमार्फत् भनेका छन् ।

सिंहको यो धारणाले प्रधानमन्त्रीको सचिवालय र माओवादी पार्टी नै तरंगित बनेको छ ।

वि.सं २०७३ मा एक कठ्ठा सात धुर जग्गा र २ तोला सुन सम्पत्तिको रूपमा सार्वजनिक गरेका प्रधानमन्त्री परिवारको जीवनशैलीमाथि सामाजिक सञ्जाल र मिडियामा बेला बखत नकारात्मक टिकाटिप्पणी हुँदै आएका छन् । स्वतन्त्र सांसद सिंहले प्रधानमन्त्री र उनकी छोरीको गतिविधिमाथि निरन्तर आरोप लगाउन थालेपछि भने सामाजिक सञ्जालमा पक्षविपक्षमा टिकाटिप्पणी  हुन थालेको छ ।

सांसद सिंहको निरन्तर आरोपपछि प्रधानमन्त्री सचिवालयका स्वकीय सचिव रमेश मल्लले आइतबार सचिववालयको तर्फबाट प्रतिवाद गरेका छन् । मल्लले सांसद सिंहले बार्गेनिङको रूपमा प्रधानमन्त्री परिवार र सचिवालयको विरूद्धमा उत्रिएको भन्दै आरोपको प्रतिवाद गरेका हुन् ।

‘मा. अमरेश कुमार सिंहले आफ्नो निहित स्वार्थ पूरा नभएपछि सम्माननीय प्रधानमन्त्रीज्यू, उहाँको परिवार र सचिवालयका विरूद्ध विद्वेषपूर्ण ढंगले अनर्गल, भ्रामक प्रचार र झुठको खेती गर्दै आएका छन्उ, उनको यो अस्वभाविक प्रस्तुति र अराजनीतिक बार्गेनिङ सरकारको पूर्णतासँगै सुरू भएको तथ्य स्पष्ट नै छ’, मल्लले भनेका छन् ।

तर, मल्लले स्वतन्त्र सांसद सिंहले के कुरामा बार्गेनिङ गरेका थिए भन्ने तथ्य उल्लेख गरेका छैनन् ।

सांसद सिंहले लेखा समितिको बैठकमा प्रधानमन्त्रीकी छोरी गंगाले एनसेलको टावरहरूको स्वामित्व छुट्टै कम्पनीलाई दिन दूरसञ्चारका प्रमुखलाई दबाब दिएको आरोप लगाएका थिए । उनले सो विषय विभिन्न कार्यक्रममा पनि बताउँदै आएका छन् । सिंहले लगाएको सो आरोपको प्राधिकणका प्रमुखले पनि आधिकारिक रुपमा खण्डन गरेका छैनन् ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्षले पनि यस विषयमा आफूले कुनै प्रतिक्रिया नदिने बताए । ‘यस विषयमा म अहिले कुनै प्रतिक्रिया दिँदैन, दिनै पर्यो भने औपचारिक रूपमा विज्ञप्ति जारी गर्छु,’ उनले भने ।

प्रधानमन्त्री सचिवालय र सांसद सिंहबीचमा जुहारी चल्न थालेपछि यसले राजनीतिक वृत्तलाई पनि छुन थालेको छ । सोही सन्दर्भमा एमालेका सचिव योगेश भट्टराइले सांसद सिंहको बचाउ गर्दै सरकार पोलपोटीकरणको बाटोमा जान लागेको आरोप लगाएका छन् ।

‘एउटा खास बिषयमा बोल्दा माननीय शुनिल शर्मा सत्ताको निसानामा, फेरि माननीय अमरेशमाथि धम्की, के सत्ताको पोलपोटीकरण हुँदैछ ?’, सचिव भट्टराइले भनेका छन् ।

विगतदेखि वर्तमानसम्मका सबै सरकार सञ्चालक र राजनीतिक नेतृत्व आशंका र प्रश्नरहित छैनन् । तर, सांसद सिंह र प्रधानमन्त्रीको सचिवालयको तर्फबाट भएको अपुष्ट आरोप प्रत्यारोपले भने पदीय मर्यादामाथि नै प्रश्न उठाएको छ ।

यो विषय गम्भीरताका साथ बाहिँरिदा यतिखेर नै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन् । अहिलेसम्म उनले के कारणले पदबाट राजीनामा दिए भन्ने विषय बाहिर आउन नसके पनि उनकाे संकेत भने संशयपूर्ण छ । उनले आफ्नो राजीनामा स्वीकृत नभइसकेकोले राजीनामा स्वीकृतपछि मात्रै त्यसकाे कारण बताउने बताएका छन् ।

Share News