एम च्याम नेपालको अध्यक्षमा निर्मलकाजी श्रेष्ठ नियुक्त
काठमाडौं । मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठ अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एम च्याम नेपाल) को अध्यक्षमा नियुक्त भएका छन् । अमेरिकी व्यवसाय र नेपाली बजारबीचको सम्बन्ध थप सुमधुर बन्ने उद्देश्यसहित एम च्याम नेपालले उनलाई अध्यक्ष पदमा नियुक्त गरेको हो । उनको नियुक्तिसँगै बीमा क्षेत्र र व्यावसायी समुदायमा नयाँ अनुभव र नेतृत्वलाई झल्काउने बताइएको छ । साथै, उनको नेतृत्वले संयुक्त राज्य अमेरिका र नेपालबीच व्यापार, लगानी र आर्थिक सहयोगलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ । एम च्याम नेपालमा सञ्चालित अमेरिकी व्यापारिक संस्थाहरूको एक संगठन हो । मेटलाइफ नेपालको महाप्रबन्धकको भूमिकामा उनले कम्पनीलाई सफलताको दिशामा लैजान र व्यवसायिक परिदृश्य भित्र सकारात्मक सम्बन्धहरू बढाउन महत्वपूर्ण भूमिका खेलेका छन् । उनी नेपाल लाइफ इन्स्योरेन्स एसोसिएसन (जेबिसान) का भूतपूर्व अध्यक्ष तथा संस्थापक सदस्य पनि हुन् ।
कैलालीको त्रिनगर र कपिलवस्तुको सुठौली नाकामा क्वारेन्टाइन चेकपोस्ट स्थापना गरिने
काठमाडौं । सरकारले कैलाली जिल्लाको त्रिनगर नाका र कपिलवस्तु जिल्लाको सुठौली नाकामा विरुवा जाँच्ने क्वारेन्टाइन चेकपोस्ट स्थापना गर्ने भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आज राजपत्रमा सूचना प्रकाशित गर्दै बिरुवा तथा बिरुवाजन्य उपज निकासी तथा पैठारी गर्दा जाँच वा उपचार गर्न ती क्वारेन्टाइन चेकपोस्ट स्थापना गर्ने भएको हो । ती नाकामा चेकपोस्ट सञ्चालन गर्न कञ्चनपुर जिल्लामा रहेको क्वारेन्टाइन र कपिलवस्तु जिल्लाको क्वारेन्टाइन कार्यालय तथा कृष्णनागरको प्राविधिक जनशक्ति परिचालन गर्ने राजपत्रमा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।
कुमारी बैंकको सहायक कम्पनी केबीएल सेक्युरिटिज सञ्चालनमा
काठमाडौं । केबीएल सेक्युरिटिज (सेयर ब्रोकर नं. ९४) ले औपचारिक रुपमा धितोपत्र कारोबार सुरु गरेको छ। आज एक कार्यक्रमको आयोजना गरी कुमारी बैंकको सञ्चालक समितिका अध्यक्ष अमिरप्रताप ज.ब.राणाले कम्पनीको कारोबार शुभारम्भको उद्घाटन गरेका हुन् । कार्यक्रममा केबीएल सेक्युरिटिज, कुमारी बैंक तथा कुमारी क्यापिटल सञ्चालक समितिका पदाधिकारी, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका कर्मचारी तथा लगानीकर्ताको उपस्थिति थियो । कारोबार शुभारम्भ गरेसँगै सेयर बजारका लगानीकर्तालाई उत्कृष्ट र सर्वसुलभ सेवा प्रदान गर्न केबीएल सेक्युरिटिज सदैव प्रयासरत रहने कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनय रेग्मीले बताए। केबीएल सेक्युरिटिज कुमारी बैंकको पूर्ण स्वामित्व रहेको नेपाल धितोपत्र बोर्डबाट मान्यता प्राप्त सीमित कारोबार गर्ने धितोपत्र दलाल व्यवसायी हो।
कक्षा १२ सम्म शिक्षा निःशुल्क हुन्छ : मन्त्री बस्नेत
चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुने बताएका छन्। चितवनको भरतपुर अस्पतालको बर्थिङ युनिटको आज उद्घाटन गर्दै उनले शिक्षा र स्वास्थ्य सहज तथा निःशुल्क हुनुपर्ने बताए । शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारमा मन्त्री हुनुभन्दा पहिलादेखि नै आफू निरन्तर लाग्दै आएको मन्त्री बस्नेतले बताए । ‘शिक्षा १० कक्षासम्म निःशुल्क गर्नुपर्छ भनेर जोड दिदै आएको हुँ’, उनले भने, ‘यही सरकारले कक्षा १२ सम्म विद्यार्थीलाई निःशुल्क पढाउने व्यवस्था गर्छ ।’ आफ्नो गृह जिल्ला सिन्धुपाल्चोकका सबै स्थानीय तहले कक्षा १२ सम्म निःशुल्क शिक्षाको व्यवस्था गरेको उल्लेख गर्दै उनले शिक्षा र स्वास्थ्यमा राज्यले लगानी गर्नुपर्नेमा जोड दिए । चिकित्सा शिक्षा ऐन संशोधन गरेर अहिलेको समस्या समाधान गर्नुपर्ने उनको भनाइ थियो । “चिकित्सा शिक्षा नीतिका कारण नेपालबाट खर्बौं रुपैयाँ बाहिर गयो । चिकित्सा शिक्षा ऐन संशोधन गर्ने प्रक्रिया अघि बढेपछि कतिपय अनशन बस्ने कुरा आएको प्रसङ्गमा मन्त्री बस्नेतले भने, ‘जो जो अनशन बसुन् राज्यले खुट्टा कमाउनु हुँदैन ।’ सरकारी अस्पतालले राम्रो सेवा दिनसक्यो र जनताको भरोसा जोगाउन सक्यो भने राज्यको स्वास्थ्य नीति सफल भएको ठानिने उनको भनाइ थियो । निजी विद्यालय, क्याम्पस र विश्वविद्यालयभन्दा सरकारीमा गुणस्तरका कारण विद्यार्थी बढे भने त्यहाँ शिक्षा सुध्रियो भन्ने सबैले बुझ्नुपर्ने मन्त्री बस्नेतले उल्लेख गरे । उनले भने, ‘स्वास्थ्य क्षेत्रमा निजी अस्पतालमा भन्दा गुणस्तरका कारण सरकारीमा बढी चाप हुन थाल्यो भने स्वास्थ्य नीति राम्रो छ भन्ने बुझिन्छ।’ अहिले पनि उपचार गर्न नपाएर आत्महत्या गरेका घटना धेरै सुनिने गरेको भन्दै मन्त्री बस्नेतले निजी अस्पतालमा १० प्रतिशत श्यया अनिवार्य निःशुल्क गरिएको बताए । उनले भने, ‘निःशुल्क नगर्ने अस्पतालको नवीकरण हुँदैन र नयाँ स्वीकृत पनि पाउँदैन ।’ पैसाको अभावमा कसैको पनि उपचार नरोकिने भन्दै उनले भने, ‘गरिब र विपन्न बिरामीको उपचार गरेमा सरकारी अस्पताललाई सरकारले सोधभर्ना दिन्छ । गरिब र विपन्नले निःशुल्क उपचार पाउनुपर्छ ।’ स्वास्थ्य क्षेत्रमा निकै कम दरबन्दी रहेको भन्दै छिट्टै थप गरिने मन्त्री बस्नेतको भनाइ थियो । कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले विपन्न नागरिकले निःशुल्क उपचार पाउने बताए । स्थानीय, प्रदेश र सङ्घीय अस्पतालमा विपन्नका लागि निःशुल्क उपचारको सुविधा रहेको भन्दै उनले भने, ‘उपचार अभावमा कसैको ज्यान जानु हुँदैन ।’ अस्पतालमा उपकरण खरिद गर्दा अनावश्यकरुपमा तनाव र आरोप लगाइने गरेको उल्लेख गर्दै उनले काम पारदर्शीरुपमा गर्न निर्देशन दिए। भरतपुर अस्पताल सङ्घीय भए पनि प्रदेश सरकारकोतर्फबाट सहयोग गरिँदै आएको उनले बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल, प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारी, निक साइमन इन्स्टिच्युटका निर्देशक डा अर्चना अमात्य, अस्पतालका प्रसूति रोग विभाग प्रमुख प्रा डा सुनिलमणि पोखरेल, डा गोविन्द कँडेललगायतले आ–आफ्नो धारणा राखेका थिए । अस्पतालमा गत आवमा ११ हजार आठ सय ९८ शिशु जन्मिएका थिए । दैनिक ३० देखि ४० गर्भवती महिला प्रसूति सेवाका लागि अस्पताल आउने गरेको तथ्याङ्क छ । रासस
पर्वतमा उन्नत जातका गाईभैँसी खरिद गर्नेलाई २० हजार अनुदान
पर्वत । पशुपालनका माध्यमबाट गाउँपालिकालाई आत्मनिर्भर गराउने उद्देश्यले पर्वतको विहादी गाउँपालिकाले उन्नत जातका गाईभैँसी खरिद गर्नेलाई अनुदान दिने भएको छ । दुध उत्पादनमा गाउँपालिकालाई आत्मनिर्भर गराउने उद्देश्यले चालु आर्थिक वर्षदेखि उन्नत जातका गाईभैँसी खरिद गरेबापत अनुदान वितरण गर्न थालिएको हो । पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अर्जुन रिजालका अनुसार उन्नत जातका गाई वा भैँसी जुनसुकै खरिद गरेर दुध तथा पाडापाडी र बाच्छाबाच्छी उत्पादन गर्नेलाई प्रति गाईभैँसी २० हजार अनुदान दिने निर्णय भएको छ । ‘बढ्दो बसाइँसराइ, शिक्षा तथा रोजगारीका लागि अधिकांश युवा सहर पस्न थालेका छन् । स्थानीयस्तरमा रोजगारीका सम्भावना बढाउँदै पशुपालक कृषकलाई व्यावसायिक बनाउन पशुपालनमा आकर्षित गर्न थालिएको हो,’ उनले भने । रिजालका अनुसार यससँगै दुध उत्पादन बढाउने र गाउँगाउँमा संकलन केन्द्र बनाउने कार्यक्रम छ । लिमे पाराकोटे भैँसी र रैथाने जातका गाईपालन गर्दा कृषकलाई समेत फाइदा नहुने र बाह्रैमास बाह्य जिल्लाबाट दुध तथा दुग्धजन्य वस्तु आयात गर्नुपर्ने अवस्था भएपछि कार्यपालिकाको बैठकले कृषकलाई अनुदान दिने निर्णय गरेको उनले जानकारी दिए । पालिकाभित्र व्यावसायिक रुपमा पशुपालन गर्दै आएका अगुवा कृषक, कृषि फार्म वा कृषि सहकारी संस्था र कृषक समूहले जतिसुकै सङ्ख्यामा खरिद गरे पनि सङ्ख्याको हिसाबले अनुदान वितरण गरिने रिजालले बताए । अनुदान कार्यक्रमले कृषकलाई पशुपालनतर्फ प्रोत्साहन गर्नुका साथै स्वयं कृषक र गाउँपालिका पनि दुध, घ्यु, दहीलगायत दुग्धजन्य पदार्थमा आत्मनिर्भर हुने तथा बाह्य क्षेत्रमा निर्यात गर्न सकिने गाउँपालिकाका अध्यक्ष परवीन गुरुङको भनाइ छ । ‘स्थानीय जातका गाईभैँसी पाल्न र उन्नत जातका गाईभैँसी पाल्न उही समय, उही मेहनत र उही प्रकारको दानापानी आवश्यक हुन्छ,’ उनले भने, ‘एउटै खर्च लाग्ने भएपछि उन्नत जातका गाईभैँसी पालेर प्रशस्त आम्दानी गर्न सकिन्छ ।’ अध्यक्ष गुरुङले चालु आवमा यो कार्यक्रमका लागि ६ लाख विनियोजन गरिएको र आगामी वर्षदेखि कृषकको मागका आधारमा बढाउँदै लैजाने बताए । उनले यस वर्ष ३० वटा उन्नत जातका गाई वा भैंसी खरिद गर्नेलाई २० हजारका दरले वितरण गरिने जानकारी दिए । रकम अपुग भएमा अर्को वर्ष मिलान गर्नेगरी व्यवस्थापन गरिने उनको भनाइ छ । पालिकाले सूचना जारी गर्दै उन्नत गाईभैँसी खरिद गरेबापत कृषकलाई उपलब्ध गराउने अनुदान कार्यक्रम सञ्चालन मापदण्ड २०७७ बमोजिम त्यस्ता पशु खरिद गर्नुपूर्व गाउँपालिकाबाट स्वीकृत लिनुपर्ने जनाएको छ । खरिद गरेपछि निवेदन र कृषकको नागरिकता, खरिद गर्नुपूर्व लिइएको सिफारिस, वडाको सिफारिस, कम्तीमा तीनदेखि पाँच वर्ष गाईभैँसी व्यावसायिक रुपमा पल्ने प्रतिबद्धता पत्र, बीमा पोलिसी तथा खरिद गरेको गाई वा भैँसीको तस्विर उपलब्ध गराएर भुक्तानी लिन सकिने लेखा अधिकृतसमेत रहेका निमित्त प्रमुख प्रशासकीय अधिकृत रिजालले बताए । यसअघि पालिकाले काठेगाई अर्थात् स्थानीय जातका गाईपालन गर्ने कृषकलाई सुत्केरी भत्तास्वरुप पाँच हजार उपलब्ध गराउँदै आएको थियो । धार्मिक तथा जैविक र सांस्कृतिक हिसाबले महत्वपूर्ण मानिने स्थानीय जातका गाई लोप हुन नदिन विगत दुई वर्षदेखि उक्त कार्यक्रम सञ्चालन गर्दै आएको थियो । विहादीमा झन्डै पाँच सयको सङ्ख्यामा स्थानीय जातका गाईपालन हुँदै आएको पालिकाले जनाएको छ । रासस
साढे ४४ करोडको आईपीओ ल्याउँदै विकास हाइड्रो
काठमाडौं । विकास हाइड्रोपावर कम्पनीले कुल ४४ करोड ५४ लाख रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) निष्काशन गर्ने भएको छ । सो मात्राको आईपीओ निष्काशन गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डमा ओवदन दिई प्रकृया अघि बढाइसकेको छ । बोर्डको अनुमति पाए पश्चात हाइड्रोले अंकित मूल्य १०० रुपैयाँको दरले ४४ लाख ५४ हजार ५९६ कित्ता आईपीओ सर्वसाधारणमा बिक्री गर्ने छ । कम्पनीले बिक्री प्रबन्धक प्रभु क्यापिटलमार्फत आईपीओ जारी गर्न गत मंसिर १९ गतेनै बोर्डसँग अनुमति मागेको हो ।
अप्पर अरुणको पहुँचमार्गका लागि दुई हजार रुख काटिने
संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको अप्पर अरुण आयोजनाको पहुँचमार्ग निर्माणका लागि दुई हजारभन्दा बढी रुख कटान गरिने भएको छ । आयोजनाको पहुँचमार्ग निर्माणका लागि भोटखोला २ र ४ नम्बर वडाका राष्ट्रिय र सामुदायिक वनका दुई हजारभन्दा बढी रुख काट्न अनुमति दिइएको हो । पहुँचमार्ग निर्माणका लागि भोटखोला ४ मा राष्ट्रिय वन तथा भोटखोला २ मा पारिपाखा र माक्पालुङ सामुदायिक वन क्षेत्रले ओगटेको करिब २१.०८ हेक्टर क्षेत्रफलका दुई हजार एक सय ६८ रुख काट्न अनुमति दिइएको डिभिजन वन कार्यालयका प्रमुख भीम कालिकोटेले जानकारी दिए । आयोजना सञ्चालनका क्रममा विकास सम्झौता (पीडीए) अनुसार रुख कटान भए पनि बिरुवा अर्को ठाउँमा रोपिनुपर्ने व्यवस्था रहेको उनले बताए । योसँगै आयोजनाका लागि पहुँचमार्ग बनाउने प्रक्रिया थालिएको उनको भनाइ छ । प्राधिकरणले २.०३ किलोमिटर सुरुङमार्गसहित करिब २२ किलोमिटर पहुँच सडक निर्माणका लागि भारतीय गायत्री जेभी र झापाको कनकाई सुरुंगा जेभी कम्पनीसँग ठेक्का सम्झौता गरिसकेको छ । पहुँचमार्गमा पर्ने अरुण नदी र चेपुवामा पक्की पुलसमेत निर्माण गरिने आयोजना कार्यालयले जनाएको छ । पहुँचमार्ग भोटखोला गाउँपालिका ४ छोराङदेखि भोटखोला २ रुकुमा फेदीसम्म निर्माण गरिनेछ । सात अर्ब ९१ करोड ३९ लाखमा उक्त सडक निर्माण हुन लागेको प्राधिकरणले जनाएको छ । अप्पर अरुण आयोजनाका प्रभावित क्षेत्रका लागि दुई अर्ब २३ करोड १९ लाख मुआब्जा रकम वितरण भइसकेको छ । जलविद्युत् आयोजनाको अनुमानित लागत दुई खर्ब २६ करोड बढी छ । सन् २०२४ को मध्यदेखि जलविद्युत् आयोजनाको निर्माण सुरु हुनेछ । हाइड्रोपावर निर्माण सुरु भएको ६ वर्षभित्रमा सम्पन्न गर्ने योजना छ । आयोजनाको ३० प्रतिशत पुँजी र ७० प्रतिशत स्वदेशी तथा विदेशी बैंक तथा वित्तीय संस्थासँग कर्जा जुटाइने आयोजना कार्यालयले जनाएको छ । जलविद्युत आयोजनाका लागि १४ हजार रूख कटान जिल्लामा निर्माणाधीन जलविद्युत् आयोजनाका लागि १४ हजारभन्दा बढी रुख कटान गरिएको छ । निर्माणाधीन अरुण तेस्रो जलविद्युत् परियोजना र कोसी करिडोरलगायत विभिन्न आयोजना विस्तारका लागि १४ हजारभन्दा बढी रुख काटिएको डिभिजन वन कार्यालयले जनाएको छ । विद्युत् आयोजनाका लागि जिल्लामा सामुदायिक र निजी क्षेत्रका रूख काट्ने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । नौ सय मेगावाटको अरुण तेस्रो र दुई सय २० मेगावाटको कोसी करिडोर प्रसारण लाइन निर्माणका लागि उक्त सङ्ख्यामा रूख काटिएका हुन् । अरुण तेस्रो र कोसी करिडोर प्रसारण लाइनका लागि जिल्लामा १८ सामुदायिक वनका १४ हजार ६ सय २७ रुख कटान गरिएको डिभिजन वन कार्यालयका प्रमुख कालिकोटेले जानकारी दिए । रासस
नेप्सेमा अरुण काबेलीको हकप्रद सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अरुण काबेली पावरको हकप्रद सेयर सूचीकृत भएको छ । सोमबार कम्पनीको शतप्रतिशत अर्थात एक करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत उक्त सेयर, सम्बन्धित सयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न मिल्ने छ ।