विकासन्युज

लुम्बिनी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । लुम्बिनी विकास बैंकले आर्थिक वर्षको लाभांश प्रस्ताव गरेको छ। मंसिर २६ गते बिहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । बैंकका अनुसार आर्थिक वर्षको मुनाफा र सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ३ अर्ब ८२ करोड २८ लाख २१ हजार २८६.३२ रुपैयाँको कुल ८.५ प्रतिशतले हुन आउने २८ करोड ७५ लाख ३९ हजार ८०९.३३ रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसमा ४ प्रतिशतले हुन आउने १३ करोड ५३ लाख १२ हजार ८५१.४५ रुपैयाँ बराबरको बोनस सेयर र ४.५ प्रतिशतले हुन आउने १५ करोड २२ लाख २६ हजार ९५७.८८ रुपैयाँबराबरको नगद लाभांश (करसहित) रहेका छन् । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा लाभांश वितरण हुने छ ।

बीवाईडीद्वारा फास्ट चार्जिङ्गको विस्तार, पहिलो चरणमा ११ डीसी चार्जरको जडान

काठमाडौं । बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इन्क प्रालिले नेपालका मुख्य मुख्य स्थानहरुमा ११ डीसी फास्ट चार्जर जडान गरेको छ । नयाँ जडित डीसी फास्ट चार्जर देशका मुख्य शहरहरु, पोखरा, नेपालगंज, बुटवल, विराटनगर, जनकपुर, नारायणघाट, अनामनगर, मुलकोट, बिर्तामोड, नक्साल र गुह्येश्वरीमा राखिएको हो । यी चार्जरहरुमध्ये, १० वटा चार्जरले ३० किलोवाटको पावर आउटपुट दिनेछ भने मुलकोटमा जडित चार्जर भने ६० किलोवाटको फास्ट चार्जर बाट सुसज्जित रहेको कम्पनीले जनाएको छ । साइमेक्सद्वारा पहिले नै विभिन्न स्थानमा जडान गरिसकिएका ४० किलोवाटका १४ फास्ट चार्जर नेटवर्कलाई थप विस्तार गरिएको हो । यी चर्जिङ्ग पुर्वाधारहरुको सर्वसुलभ र व्यापक स्थापनाले, सवारी साधनमा दिगो समाधान खोज्ने कम्पनीको प्रतिबद्धतालाइ अझै स्पष्ट पारेको छ । विद्युतीय साधन चार्जिङ्ग स्टेसनको बढ्दो मागको सम्बोधन गर्दै साइमेक्सले चार्जिङ्ग नेटवर्कहरुको थप विकास र विस्तार गर्ने योजना राखेको छ। साथै, डिसेम्बर २०२३ को अन्त्यसम्ममा थप १८ डीसी फास्ट चार्जरहरु पनि संचालनमा ल्याइनेछन् । बीवाईडी अट्टो ३ का लागि ८८ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ्गको प्रयोग गर्न सकिन्छ भने बीवाईडी डल्फिनमा ६० किलोवाटसम्मको चार्ज दिन सकिन्छ। यसले ३० देखि  ४५ मिनेटमा बीवाईडी विद्युतीय साधनहरुलाइ ८० प्रतिशतसम्म चार्ज गर्न सकिनेछ ।

विद्युत् छ : पङ्खा, टिभी र पानी तान्ने उपकरण चल्दैन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–४ सिकलपट्टिका दुई सय बढी बासिन्दाको घर–घरमा विद्युत्का मिटर जडान गरिएका छन् । नियमित रूपमा प्रत्येक महिनाको अन्त्यमा स्थानीय बासिन्दाले विद्युत्को महसुल पनि तिर्दै आएका छन् । विद्युत् शक्ति (भोल्टेज) कम हुँदा एक दशकदेखि विद्युत् सेवा भने सहज रूपमा पाउन सकेका छैनन् । एक बल्बबाहेक अन्य विद्युतीय उपकरण नचल्ने गरेको वीरबहादुर चन्दले गुनासो गरे । ‘पङ्खा चल्दैन, खेतमा सिँचाइ गर्ने विद्युतीय मोटर चल्दैन, टिभी राखेका छौँ, कम भोल्टेजकै कारण हेर्न पाएका छैनौँ’, उनले भने, ‘यस समस्याबारे पटक–पटक वडादेखि विद्युत् कार्यालयसम्म पुगे पनि सुनवाइ हुन सकेको छैन ।’ दुई वर्षअघि वडामा गाउँका सबै जनाको संयुक्त हस्ताक्षर गरी निवेदन दिए पनि बेवास्ता गरिएको उनले बताए । ‘पोलमा विद्युत्का दुई वटामात्रै तार तानिएका छन्’, स्थानीय हेमराज जोशीले भने, ‘विद्युत्को भोल्टेज नपुग्दा ‘डिमलाइट’ हुने गरेको छ, एक दशकदेखि समस्या भए पनि निराकरण हुन सकेको छैन ।’ तार तानेर तीन वा चार फेसको विद्युत् लाइन बनाइनुपर्ने उनको माग छ । विद्युतीय मोटर चलाउनका लागि भोल्टेज नपुग्दा सबै जनाले विकल्पका रूपमा डिजेल इन्जिन राखेर खेतमा सिँचाइ गर्दै आएका छन् । ‘विद्युत् सेवा सहज भए विद्युतीय मोटरबाट पानी तान्न सस्तो पर्ने थियो’, स्थानीय मानसिंह जाग्रीले भने, ‘महँगो डिजेल इन्जिन खरिद गरी सिँचाइको व्यवस्था गर्नुपर्ने बाध्यता छ ।’ वडाध्यक्ष कमल ठकुल्लाले ट्रान्फर्मरले भार धान्न नसक्दा नयाँ ट्रान्सफर्मर जडानका लागि पहल भइरहेको बताए । ‘प्राविधिकले ट्रान्सफर्मर जडान गर्ने ठाउँ हेरेर गएका छन्’, उनले भने ‘एक–दुई महिनाभित्रै ट्रान्सफर्मर जडान गर्ने कार्यसँगै थ्री फेज विद्युतीय लाइन जडानको कार्य हुन्छ ।’ सिकलपट्टिका बासिन्दाको विद्युत्को समस्या समाधान गर्नका लागि पटक-पटक विद्युत् कार्यालयसम्म पुगेको उल्लेख गर्दै उनले पटक पटक पत्राचार गरिएको बताए । धेरै पहलपछि सङ्घीय सरकारका तर्फबाट ‘ट्रान्सफर्मर’ उपलब्ध हुन लागेको उनको भनाइ छ । रासस

फिस्लिङ-तोक्दाङ ९ किमी सडक : ९ करोड खर्चिए पनि उस्तै !

चितवन । पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङबाट इच्छाकामना मन्दिरसम्म सडकको नयाँ ट्रयाक खन्ने काम विसं २०६५ मा सम्पन्न भयो । तत्कालीन दारेचोक गाउँ विकास समितिबाट रु ५० हजार बजेट विनियोजन गरी सडकको नयाँ ट्रयाक फिस्लिङबाट खन्ने काम सुरु गरिएको थियो । उक्त ५० हजारबाट सडकको ट्याक खन्न सम्भव थिएन । स्थानीयले चन्दा उठाएर ट्रयाक खन्ने काम सम्पन्न गरे । सो ट्रयाक खन्ने काममा मनकामना दर्शन प्रालिले पनि साथ दियो । स्थानीय लोकबहादुर गुरुङका अनुसार मनकामना दर्शन प्रालिले सडक खन्ने एउटा मेसिन उपलब्ध गराएको थियो । उनका अनुसार उक्त ट्रयाक खोल्न रु ४६ लाख खर्च भएको थियो । पन्ध्र वर्षअघि ट्रयाक खनेर गाडी गुड्न थालेको यस ग्रामीण सडकमा यात्रा भने सधैँ जोखिपूर्ण रहेको छ । हिउँदमा केही सहज भए पनि भरपर्दो नाली, पर्खाल नहुँदा वर्षायाममा निकै जोखिम रहेको र नियमित सवारीसाधन जान सक्ने अवस्था नहुने उनको भनाइ छ । स्थानीय गुरुङले भने, ‘सडक निर्माण गरेको १५ वर्ष भयो, सडक स्तरोन्नति नहुँदा जोखिम यात्रा गर्न बाध्य छौँ, हिउँदमा केही सहज भए पनि बर्खामा भने नियमित सवारी नै चल्न सक्ने अवस्था रहँदैन ।’ उनका अनुसार यस भेगमा वर्षायाममा उत्पादन हुने तरकारी बजारसम्म लैजान समस्या छ । इच्छाकामनाको तोक्दाङ, माझगाउँलगायतका गाउँ सुन्तला र तरकारी खेतीका लागि उर्वर भूमि मानिन्छ । यस भेगका स्थानीयको मुख्य अम्दानीको स्रोत सुन्तला र तरकारी खेती हो । गाउँपालिकाले माँझगाउँलाई सुन्तलाको पकेट क्षेत्र घोषणा गरेको छ । सडक सहज नहुँदा यहाँका स्थानीय किसान मर्कामा परेका छन् । नौ करोड खर्चिए पनि सडक उस्तै उक्त सडकखण्डअन्तर्गत फिस्लिङबाट तोक्दाङसम्म नौ किलोमिटर विसं २०७४ मा रु नौ करोड खर्चिएर स्तरोन्नति गरिए पनि एक वर्ष पनि टिक्न सकेन । वर्ष दिन नपुग्दै सडक पुरानै अवस्थामा आएको स्थानीयको भनाइ छ । ग्रामीण सडक सञ्जाल सुधार आयोजनाअन्तर्गत उक्त नौ किलोमिटर सडकको स्तरोन्नतिको काम भएका थिए । ग्राभेल, पर्खाल, नाला निर्माणलगायतका काम पनि ती भत्किएका छन् । धार्मिक पर्यटकीयस्थल इच्छाकामना मन्दिर जाने यस मुख्य ग्रामीण सडकको स्तरोन्नतिका लागि प्राथमिकतामा राखेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले यस सडक स्तरोन्नतिका लागि गाउँपालिकाले पहल गरिरहेको जानकारी दिनुभयो । तत्काल गाउँपालिकाको बजेटबाट एक किलोमिटर सडक कालोपत्र गर्ने काम भइरहेको र बढी जोखिम रहेको स्थानमा ढलान गरिने बताए । अध्यक्ष गुरुङले भने, ‘इच्छाकामना मन्दिर जाने यस सडकलाई हामीले प्राथमिकतामा राखेका छौँ, कालोपत्रक लागि केन्द्र र प्रदेशमा पहल गरेका छौँ, तत्काल गाउँपालिकाको बजेटले एक किलोमिटर कालोपत्र गर्ने काम भइरहेको छ भने अप्ठ्यारा खण्डमा ढलान गर्ने छौँ ।’ फिस्लिङ–शक्तिखोर ग्रामीण सडक आयोजनाभित्र पर्ने यस सडक कालोपत्रका लागि छुट्याएको बजेटसमेत आर्थिक अभाव रहेको जनाउँदै अर्थ मन्त्रालयले रोकेको उनको भनाइ छ । रासस

माछापुच्छ्रे बैंकले पनि घटायो ब्याजदर, आजैदेखि लागू हुने

काठमाडौं । माछापुच्छ्रे बैंकले पनि ब्याजदर घटाएको छ । बैंकले मंसिर २६ गतेदेखि लागू हुने गरी निक्षेपतर्फको ब्याजदर घटाएको हो । बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४.६० प्रतिशतदेखि अधिकतम ७.६० प्रतिशतसम्म प्रदान गर्ने भएको छ । यसअघि न्यूनतम ५.६०३ प्रतिशतदेखि अधिकतम ८.६०३ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको थियो । बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ७.६० प्रतिशतसम्म र ब्यक्तिगततर्फ ९.६० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको हो । बैंकले रेमिट्यान्स मुद्दती खातामा भने १०.६० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि मंसिरमा बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ८.६०३ प्रतिशत र ब्यक्तिगततर्फ १०.६०३ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । साथै, रेमिट्यान्स मुद्दती खातामा ११.६०३ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

डेढ दर्जन लघुवित्तको लाभांश घोषणा, ५ लघुवित्तका सेयरधनीहरूको हात रित्तो

काठमाडौं । चालु आर्थिक वर्षमा डेढ दर्जन लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने/नगर्ने घोषणा गरेका छन् । पुँजी बजारमा सूचीकृत लघुवित्तहरूमध्ये १८ वटा लघुवित्त संस्थाहरूले लाभांश सम्बन्धी निर्णय गरेका हुन् । जसमध्ये १२ वटा लघुवित्तले लाभांश वितरण गर्ने घोषणा गरेका छन् भने ६ वटा लघुवित्तले भने लाभांश वितरण नगर्ने निर्णय गरेका हुन् । हालसम्म युनिक लघुवित्त, आरएसडिसी लघुवित्त, स्वाबलम्बन लघुवित्त, एनआईसी एशिया लघुवित्त, सपोर्ट लघुवित्त, धौलागिरी लघुवित्त, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त, साना किसान विकास लघुवित्त, समता घरेलु लघुवित्त, आत्मनिर्भर लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, छिमेक लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएका हुन् । युनिक लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयधनीहरुलाई हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै, आरएसडिसी लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट चुक्ता पुँजी ८६ करोड ९५ लाख ६८ हजार २ सय रुपैयाँको ८.६० प्रतिशत र कर प्रयोजनार्थ ०.४५२६ प्रतिशत नगद गरी कूल ९.०५२६ प्रतिशत लाभांश वितरण गरेको हो । लघुवित्तको गत मंसिर १५ गते सम्पन्न १०औं वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरिसकेको छ । यस्तै, स्वावलम्बन लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट चुक्ता पुँजी १ अर्ब २९ करोड ४ लाख ९५ हजार रुपैयाँको १२.३६ प्रतिशत बोनस सेयर र ०.६५ प्रतिशत नगद गरी कूल १३.०१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न लघुवित्तले २२औं वार्षिक साधारणसभा पुस ४ गते काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । लाभांश तथा साधारणसभा प्रयोजनका लागि मंसिर २२ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको थियो । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंसिर २१ गतेसम्म कायम सेयरधनीहरू मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्ने छन् । यस्तै, एनआईसी एशिया लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को हाल कायम चुक्ता पूँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँको १५ प्रतिशतका दरले २६ करोड ९ लाख १६ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न लघुवित्तले छैठौँ वार्षिक साधारणसभा पुस ६ गते धरान सुनसरीमा बिहान ९ बजे बोलाएको हो । लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर २५ गतेदेखि पुस ६ गतेसम्म सेयरधनी बुक क्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले नेप्सेमा मंसिर २४ गतेसम्म कायम सेयरधनीहरू मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्ने छन् । यस्तै, सपोर्ट लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पूँजी ९ करोड ५२ लाख ३८ हजार रुपैयाँको १३ प्रतिशत बोनस सेयर र ०.६८ प्रतिशत नगद गरी कूल १३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस्तै, धौलागिरी लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी १३ करोड ३१ लाख रुपैयाँको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस्तै, फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजी १ अर्ब १४ करोड ७७ लाख ४५ हजार रुपैयाँको ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ७.५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस्तै, साना किसान विकास लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजी ३ अर्ब ३३ करोड १६ लाख १८ हजार रुपैयाँको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । यस्तै, समता घरेलु लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजी ३९ करोड ४१ लाख ५५ हजार रुपैयाँको ५.४२२२ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ०.२८४४ प्रतिशत नगद गरी कूल ५.७०७६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । यस्तै, आत्मनिर्भर लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । यस्तै, ग्लोबल आइएमई लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी ६१ करोड ८९ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ६ करोड १८ लाख ९० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस्तै, छिमेक लघुवित्तले गत आर्थिक वर्ष २०७९÷८०को नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब ८३ करोड ५४ लाख २ हजार रुपैयाँको ५ प्रतिशत र कर प्रयोजनसहित १० प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । ५ लघुवित्तका सेयरधनीहरूको हात रित्तो गत वर्षको नाफाबाट विभिन्न ५ वटा लघुवित्तले भने सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने घोषणा गरेका छन् । गुराँस लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, उपकार लघुवित्त, हिमालयन लघुवित्त, सामुदायिक लघुवित्त र ग्रामीण विकास लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएका हुन् । गुराँस लघुवित्तको गत मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने घोषणा गरेको हो । लघुवित्त सञ्चालक समितिको मंसिर २५ गते बसेको बैठकले आठौं वार्षिक साधारणसभा पुस १८ गते धनकुटामा बिहान ११ बजे आह्वान गरेको छ । यस्तै, मनकामना स्मार्ट लघुवित्तको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट बोनस र नगद लाभांश वितरण नगर्ने निर्णय गरेको हो । उपकार लघुवित्तको कात्तिक २१ गते हिमालयन लघुवित्तको मंसिर ८ गते र सामुदायिक लघुवित्तको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो । ग्रामीण विकास लघुवित्तले भने लाभांश बिना नै साधारणसभा आह्वान गरिसकेको छ । लघुवित्तको सञ्चालक समितिको मंसिर ४ गते बसेको बैठकले ८औँ वार्षिक साधारणसभा मंसिर ३० गते बुटवलमा बिहान ११ बजे बोलाएको हो ।

बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख मङ्गलबार पशुपतिमा देखाइने

काठमाडौं । पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख मङ्गलबार बिहान पशुपति क्षेत्रमा सर्वसाधारणका लागि प्रदर्शन गरिने भएको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन वर्षभर सुरक्षित राखिएको छ भनेर बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख सर्वसाधारणलाई देखाउने गरिन्छ । यसैगरी मार्गशीर्ष कृष्ण औँसीका दिन भने अब एक वर्षका लागि सुरक्षितसाथ राखिन्छ भनी देखाउने परम्परा रहेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । यस वर्ष त्रयोदशीका दिन आइतबार सर्वसाधारणका लागि पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख सुरक्षित छ भनी प्रदर्शन गरिएको थियो । मङ्गलबार भने अब अर्को वर्षलाई यी सामग्री सुरक्षितसाथ राखिन्छ भनी देखाउन लागिएको कोषले जनाएको छ । बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्खलाई मार्गशीर्ष कृष्ण औँसीका दिन मङ्गलबार भण्डारको तेस्रो तलामा राख्ने कार्यक्रम रहेको छ । राख्नुअघि अर्थात् बिहान १० बजे अगावै पशुपतिनाथमा बाला चतुर्दशीका दिन मेलामा आएका भक्तजनका लागि सुरक्षित छ भनी यी सामग्री देखाइँदै छ । बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख प्रत्येक महिना पशुपतिका भण्डारीको पालो परिवर्तनका बेला कोष, प्रहरीलगायत सरोकार भएका निकायका रोहवरमा बुझाउने गरिन्छ । भण्डारी परिवर्तन हुँदा भने यी सामग्री भण्डारभित्र नै रोहवरमा राख्ने गरिन्छ । मङ्गलबार बिहान साढे ९ बजेदेखि करिब तीन घण्टासम्म बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख देखाउने तयारी गरिएको हो । पशुपतिनाथको पश्चिमढोकाअघि यी बहुमूल्य सामग्री देखाइने छ । मङ्गलबार नै पशुपति क्षेत्रमा बालाचतुर्दशीका दिन सोमबार शतबीज छर्दा जम्मा भएको फोहर सफा गर्ने कार्यक्रम रहेको जनाइएको छ । सफाइमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, वाग्मती सफाइ अभियानकर्मीलगायतको सहभागिता रहने छ । केही फोहर भने आजै कोषका कर्मचारीले सफा गरेका छन् । बालाचतुर्दशीका मेलाका अवसरमा पशुपति क्षेत्रमा जम्मा भएका लाखौँ भक्तजनका कारण भएको फोहर कोषका कर्मचारीले मात्र सफाइ गर्न नसक्ने भएकाले सफाइ कार्यक्रम आयोजना गरिएको पनि प्रवक्ता अधिकारीले जानकारी दिए ।

बाराकी २० वर्षीया मिन्कुदेवीले जन्माइन् तिम्ल्याहा शिशु

काठमाडौं । बाराको कलैया उपमहानगरपालिका–१६ मझौलियाकी २० वर्षीया मिन्कुदेवी रामले तीन सन्तानलाई जन्म दिएकी छिन् । वीरगञ्जको विर्तास्थित श्रीराम अस्पतालमा उनले शल्यक्रियामार्फत गत आइतबार दुई छोरा र एक छोरीलाई जन्म दिएकी हुन् । अस्पतालमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ दिप्ती यादवले ती नवजात तिम्ल्याहा नवजात शिशु तथा आमाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिइन् । उनले भनिन्, “शल्यक्रियामार्फत तिम्ल्याहा शिशु जन्मिएका हुन् । शिशु सहित आमाको स्वास्थ्यस्थित सामान्य रहेको छ । ” मिन्कुदेवीका पति सङ्खुरामले स्थानीय स्वास्थ्यचौकीले सिफारिस गरेपछि सुत्केरी हुनका लागि मिन्कुलाई वीरगञ्ज लगिएको बताए ।