हिमालय एअरलाइन्सद्वारा काठमाडौं-चोङकिङ उडान सेवा पुनः सुचारु
काठमाडौं । नेपाल-नेपाल-चीन संयुक्त लगानी भएको हिमालय एअरलाइन्स्ले मंगलबारदेखि काठमाडौं-चोङकिङ-काठमाडौं उडान सेवा पुनः सुचारु गरेको छ । यो सेवा बिस्तारलाई एअरलाइन्स्ले नेपाल र चीनबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवद्र्घन गर्ने प्रतिबद्धताका रुपमा लिएको जनाएको छ । यस काठमाडौं-चोङकिङ-काठमाडौं रुटले यात्रुहरूलाई नेपालको राजधानी र चीनको व्यस्त सहरको बीचमा सहज यात्राको विकल्प प्रदान गर्नेछ। दुई सहरका बीच हुने प्रत्यक्ष सम्पर्कले सहज, सुरक्षित एवम् प्रभावकारी यात्रा प्रदान गर्ने हिमालय एअरलाइन्स्कोे प्रतिबद्धतालाई समेत प्रतिविम्बित गरेको छ । समृद्ध सांस्कृतिक सम्पदा, आधुनिक सहरी परिदृश्य र आर्थिक गतिशीलताका लागि प्रसिद्ध चोङकिङले ऐतिहासिक, विशिष्ट विविध पाक-कला एवम् उच्च प्रविधि विकासयुक्त ठाउँको अनुपम सम्मिश्रण समेत प्रदान गर्दै नेपाली यात्रुहरूमाझ आकर्षक गन्तव्यको आफूलाई प्रस्तुत गरेको छ । पहिलो आउटबाउन्ड उडान, एन ९७८७, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान १०ः०७ मा प्रस्थान गरेको थियो र चोङ्किङ्कोे जियाङ्गबेइ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार साँझकोे १५ः५० बजे अवतरण गर्ने छ । यस उडानको अवधि ३ घण्टा १४ मिनेटको रहनेछ । पहिलो उडानमा कूल यात्रु संख्या एक सय पच्चिस रहेको थियो । डिसेम्बर १२ पश्चात् एअरलाइन्स्ले हरेक मंगलबार र शनिबार गरी हप्तामा दुई पटक यी दुई सहरहरूका बीचमा उडान सेवा सञ्चालन गर्ने छ। यस उडान सेवासँगै नेपाल र चीनबीच हिमालय एअरलाइन्स्को यो चौथो सिधा उडान सेवा हुनेछ । एअरलाइन्स्ले यस अघि नै बेइजिङ, छिन्ताओ र सांघाईमा नियमित रूपमा उडान सेवा सञ्चालन गर्दै आएको छ ।
नेप्सेको अध्यक्षमा शोभाकान्त पौडेल नियुक्त
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अध्यक्षमा शोभाकान्त पौडेलले नियुक्त भएका छन् । अर्थ मन्त्रालयले भन्सार विभागका महानिर्देशकको जिम्मेवारीमा रहेका पौडेललाई नेप्सेको अध्यक्षको जिम्मेवारी दिएका हुन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेप्सेका वर्तमान अध्यक्ष भूपराज बरालको ठाउँमा पौडेललाई जिम्मेवारी दिएका हुन् । वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख बराललाई भने मन्त्रालयले फिर्ता बोलाएको छ । बरालले गत असार ३ गतेदेखि नेप्सेको अध्यक्षको जिम्मेवारी सम्हालिरहेका थिए । नवनियुक्त अध्यक्ष पौडेलले भने हालसम्म पदभार ग्रहण गरेका छैनन् तर अध्यक्षमा नियुक्त भएको चिठ्ठी भने पाइसकेका छन् ।
पुरुष पनि घरेलु हिंसामा, ४० जनाले दिए उजुरी
राँझा । बाँकेमा पुरुष पनि घरेलु हिंसामा परेको जनाउँदै न्यायका लागि प्रहरी कार्यालयमा उजुरी दिन पुगेका छन् । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ४० जना पुरुषले न्यायका लागि उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र प्रमुख प्रहरी निरीक्षक महेश्वरी विष्टले जानकारी दिए। उनका अनुसार पुरुषको तर्फबाट पनि हिंसामा परेको उजुरी आइरहेका छन् । तर पुरुषले दिने उजुरीको तुलनामा महिलाको सङ्ख्या अत्यधिक छ । ‘अधिकांश हिंसामा परेको उजुरी महिलाको तर्फबाट आउने गरेका छन्’, प्रहरी निरीक्षक विष्टले भने, ‘कतिपय अवस्थामा पुरुषको तर्फबाट पनि उजुरी आइरहेका छन्, हामीले आवश्यक कारबाही गरिरहेका छौँ ।’ जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याङ्कअनुसार बाँकेमा पछिल्लो तीन वर्षमा घरेलु हिंसाका दुई हजार सात सय ५० वटा उजुरी दर्ता भएका छन् । अधिकांश घटनामा महिला पीडित रहेका छन् । अहिले पुरुषले समेत आफूमाथि हिंसा भएको भन्दै उजुरी दिन थालेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेमा आव २०७७/७८ मा सात सय ३८, २०७८/७९ मा आठ सय ८९, २०७९/८० मा आठ सय ८५ र चालु आवको साउनदेखि हालसम्म घरेलु हिंसामा परेको जनाउँदै तीन सय ३२ वटा उजुरी परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले हिंसामा परेको भन्दै उजुरी दिने महिलामा बयान फिर्ता गरी उजुरी फिर्ता हुने प्रवृत्ति पनि देखिएको बताए । ‘निवेदन दिइसकेपछि कतिपय निवेदनकर्ता सम्पर्कमा आउँदैनन् । प्रतिशोध साँध्नका लागि उजुरी दिने र त्यसपछि वास्तै नगर्ने प्रवृत्तिसमेत बढ्दै गएको छ’, उनले भने, ‘उजुरी परेपछि हिंसासँग जोडिएका घटनालाई सुक्ष्मरूपले गम्भीरतापूर्वक अनुसन्धान गर्ने गरिएको छ ।’ रासस
मनाङको तापक्रम माइनस १६, चिसो बढेपछि स्थानीय बेँसी झर्न थाले
मनाङ । जाडो बढेसँगै हिमाली जिल्ला मनाङको तापक्रम दैनिक घट्दै गएको छ । मङ्सिरको अन्तिम साता आइपुग्दा यहाँको तापक्रम घटेर माइनस १६ डिग्री सेल्सियस पुगेको छ । बिहानीपखको तापक्रम माइनस आठदेखि १० को हाराहारीमा भए पनि रातिमा करिब माइनस १६ देखि १८ डिग्रीसम्म पुग्ने गरेको छ । प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार मनाङ सदरमुकाम चामे आसपासका क्षेत्रमा माइनस १६ देखि १८ डिग्रीसम्म पुग्ने गरेको छ । तापक्रम मापन गर्दा अत्यन्त कम देखाउँदै गएको उनले बताए । जसका कारण यहाँको जनजीवन कष्टकर बन्दै गएको उनले बताए । प्रजिअ लामिछानेले भने, ‘चिसोले धारामा पानी जमेको छ भने खोलानालामा पनि पानी जम्दै गएको छ । बाटोमा हिउँ छ । सवारीसाधनको आवतजावत न्यून मात्रामा छ । पिउने पानी जोहो गर्नै मुस्किल हुन थालेको छ ।’ चिसो बढ्दै जाँदा यहाँका पूर्वाधार निर्माणका काम ठप्प भएको प्रजिअ लामिछानेले जानकारी दिए । चामे गाउँपालिकाले सूचना जारी गरी विकास निर्माणमा प्रयोग हुने सिमेन्टजन्य काम नगर्न आग्रह गरेको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत नमनारायण मल्लले चिसोका कारण सिमेन्टसँग सम्बन्धित निर्माण कार्यमा समस्या हुने भएकाले काम बन्द गर्न भनिएको बताए । पूर्वाधार कार्यालय मनाङका प्रमुख जय विष्टले भने, ‘चिसो अत्यधिक छ । त्यसैले सिमेन्टजडित कार्य ठप्प भएको छ । योजनाको नापजाँच, परीक्षणको काम गरिरहेका छौँ ।’ पहिलो हिमपात हुनासाथ यहाँका शैक्षिक संस्था बन्द भएका छन् । शैक्षिक संस्था बन्द भएपछि यहाँका अधिकांश स्थानीय जाडो छल्न जिल्लाबाहिर गएका छन् । यहाँका स्थानीय लमजुङ, काठमाडौँ, पोखरातर्फ झर्ने क्रम जारी रहेको छ । चिसोका कारण स्थानीय तल झरेपछि नार्पाभूमि गाउँपालिकामा रहेका दुई प्रहरी चौकी सदरमुकाम सारिएको प्रजिअ लामिछानेले जानकारी दिए । उनका अनुसार नार्पाभूमिका अत्यावश्यक कामकाजका लागि सदरमुकामस्थित चामे गाउँपालिका-३ कोतोमा अस्थायी कार्यालय स्थापना गरी सेवा प्रवाह भइरहेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इकाई कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले चिसो बढिरहेको अवस्थामा पनि पर्यटकको आगमन भइरहेको बताए । ‘सिजन’मा भन्दा पर्यटकको आगमन कम भए पनि आउने क्रममा जारी रहेको उनले जानकारी दिए । उनले भने, ‘चिसोमा पनि दैनिक १५ देखि २० पर्यटक आएका छन् । बाटोमा केही मात्रामा हिउँ छ । हिउँ खेल्दै रमाउँदै पर्यटक थोराङ्ला भञ्ज्याङ, तिलिचो तालतर्फ जाने आउने भइरहेको छ ।’ माथिल्लो क्षेत्रमा रहेका होटल व्यवसायी पूर्ण रुपमा बन्द नभएको भुजेलले जानकारी दिए । पर्यटकलाई मौसमसम्बन्धी जानकारीका साथै बाटोमा हुनसक्ने जोखिमलाई मध्यनजर गरी यात्रा गर्न सुझाव दिँदै आएको उनले बताए । मनाङ ङिस्याङ गाउँपालिका-५ भ्राकाका किसान सोनाम लामाले धेरैजसो गाउँले तल झरेका बताए । आफूहरु घर कुर्ने र याकचौँरी हेर्न घरमै बसेको उनले बताए । उनले भने, ‘चिसोमा माउ चौँरी र युवा अवस्थाका याकलाई खुवाउन र बचाउन सजिलै हुन्छ । तर, चिसोमा बच्चालाई जोगाउन भने मुस्किल हुन्छ । ठूला पशुचौपायले पानी, घाँस आफैँ खोज्न सक्छन् ।’ ‘लामो समयसम्म हिमपात भयो भने अलिअलि जम्मा गरेर राखेको घाँस सकिन्छ र खान नपाई दुब्लाएर मर्ने गर्छन् । जाडो मौसममा बच्चालाई गोठ बनाएर राखिन्छ भने हिउँ बढी परे पनि ठूला पशुचौपायलाई हिउँमै छाड्नुपर्छ । जाडोमा घाँस कम हुने भएकाले दूध पनि कम हुने हुँदा बच्चालाई मात्र पुग्छ । हामीले यो समयमा दूध दुहुँदैनाँं, उनले भने, ‘लेकका खर्कबाट गाउँघर नजिक याकचौँरी ल्याइन्छ । नावर पनि याकचौँरीसँगै अलि तल नै झर्छन् । जसले गर्दा हिउँ चितुवा पनि पशुचौपाया नजिकै आहाराका लागि आउने गर्दछन् । यसबाट जोगाउन पनि हामी यहाँ बस्नुपर्ने हुन्छ ।’ यहाँ फागुनको पहिलो सातादेखि खेतीपातीको समय सुरु हुन्छ । त्यसबेला बेँसीमा झारिएका गोठ लेकका खर्कतर्फ लैजाने गरिन्छ । हाल जिल्लाभर चार हजार तीन सय ९७ याकचौँरी रहेका भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्रका प्रमुख नरेन्द्र राईले जानकारी दिए । जाडो कम हुँदै गएपछि यहाँका स्थानीय पनि घर फर्कन थाल्छन् । रासस
सिन्धु विकास बैंकको डीसीईओमा गणेश कुमार केसी नियुक्त
काठमाडौं । सिन्धु विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा गणेश कुमार केसी नियुक्त भएका छन् । मंसिर २६ गते बसेको बैंक संचालक समितिको बैठकले केसीलाई डीसीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त डीसीईओ केसीले पौष १ गतेदेखि कार्यभार सम्हाल्नेछन् ।
किताबमा पनि आर्थिक मन्दी, पाठकले किन्नै छाडे
काठमाडौं । धादिङ घर भएकी रोजिना काप्री पढाइको सिलसिलामा काठमाडौं बबरमहल बस्छिन् । उनको साहित्यमा एकदमै रुचि छ । विशेषगरी उनलाई उपन्यास पढ्न मन पर्छ । तर, ६ महिनादेखि उनले पुस्तक किनेकी छैनन् । उनले पुस्तक नकिन्नुको एउटै कारण हो महँगी । ‘अहिले त म पढ्न मनलागे अनलाइनमै पढ्छु, साथीहरूले नयाँ किताब किने भने मागेर पनि पढ्छु,’ उनी भन्छिन्, ‘पछिल्लो समयमा बढेको महँगीले दैनिक गुजारा गर्न पनि गाह्रो छ । तेल, चामल, आलु, प्याज र चिनीको मूल्यले आकास छोइसक्यो । अब किताब किन्ने पैसा कहाँबाट जोहो गर्नु रु अहिले दैनिकी सामान्य तरिकाले चलोस् भन्नेमात्र हो ।’ अहिले काठमाडौं बागबजारका अधिकांश पुस्तक पसलमा चहलपहल छैन । बागबजार चोकमै रहेको लक्ष्मण पुस्तक भण्डारकी सञ्चालक रिता उप्रेती किताब बिक्री एकदमै कम भएको बताउँछिन् । अहिले लोकसेवा र कोरियाली भाषाका केही किताबमात्रै बिक्री गर्न सकिएको उनको भनाइ छ । ‘केही विद्यार्थी स्कुलको किताबमात्रै खोज्न आउँछन्,’ उनी भन्छिन्, ‘आख्यान गैर–आख्यानका किताब पढ्ने पाठक पछिल्लो केही महिनायता देख्न पाइएको छैन ।’ रिताले सटर भाडा महिनाको २२ हजार रुपैयाँ बुझाउनुपर्ने हुन्छ । तर, अहिले महिनामा १८/१९ हजारको मात्रै किताब बेच्न सकिएको बताइन् । ‘अघिल्लो वर्ष लेखक सुविन भट्टराईको उपन्यास ‘इजोरिया’ भने राम्रो बिक्री भएको थियो,’ रिताले भनिन्, ‘अहिलेको मदन पुरस्कार विजेता ‘ऐँठन’ भने त्यति राम्रो बिक्री भएन । पाठकमा आर्थिक मन्दी लागेर हो कि पढ्ने मान्छे विदेश पलायन भएर हो, किताब बिक्रीमा गिरावट आयो ।’ त्यसैगरी बागबजारकै भण्डारी बुक्स एन्ड स्टेसनरीकी सञ्चालक अहिलेको अवस्थामा महँगी बढेको भएर हुनुपर्ने जति व्यापार नभएको बताउँछिन् । ‘दैनिकी गुजारा गर्न नै गाह्रो छ, विद्यार्थीसँग पनि पैसा छैन,’ उनी भन्छिन्, ‘टियु (त्रिभुवन विश्वविद्यालय) को कुरा गर्दा ब्याचलरको विद्यार्थी नै छैनन् । अलिअलि पढ्नेले सोलुसन र गाइड किनेर निर्वाह गरेका छन् ।’ बेलाबेला लोकसेवा खुल्ने हुँदा लोकसेवाका केही किताब बेच्न सकेको उनको भनाइ छ । ‘बेलाबेला लोकसेवा खुल्छ र अलिअलि बिक्री भएको किताबले धानिएको छ,’ उनी भन्छिन्, ‘किराना सामानजस्तो दिनमा यति बिक्री हुन्छ भन्ने अवस्था पनि छैन अहिले । बिक्री कम नै छ ।’ अहिले केही पाठक महावीर पुनको किताब खोज्न आउने गरेको उनले बताइन् । स्कुल कलेजका गाइड, सोलुसनबाहेक साहित्यका किताब त्यति धेरै बिक्री नभएको उनको भनाइ छ । भुँडीपुराण प्रकाशनका सञ्चालक केशव पराजुली भौतिकरूपमा किताब पढ्नेको संख्या कम हुँदै गएको बताउँछन् । ‘अहिले १२ कक्षा पास हुनासाथ अलि पढ्न रुचि राख्ने विद्यार्थीले देश छाड्न थाले,’ उनले भने, ‘अब यसलाई चलायमान भएन भन्नुपर्यो । कोरोनापछि एक खालको जनशक्ति डिजिटलाइज्ड भयो । जनसंख्या बढेको छ, किताब नै पल्टाएर अक्षर पढ्नेको संख्या घट्दो छ ।’ दुई/चार किताब बिक्दैमा हल्लाखल्ला गर्नुपर्ने अवस्था अहिले नभएको पराजुली बताउँछन् । ‘अहिले पुस्तक प्रकाशन गृहको मात्र नभई सबै क्षेत्रको व्यापार धरापमा छ,’ उनी भन्छन्, ‘अहिले किताब पढ्ने विद्यार्थी नै नभेटिने अवस्था आइसक्यो ।’ समग्र किताब व्यापारको अवस्था हेरेर भन्नुपर्दा बजार चलायमान नभएको उनी बताउँछन् । २० देखि ४० वर्ष उमेर समूहका ४५ प्रतिशत जनशक्तिले देश छाडेको उनी बताउँछन् । ‘१२ कक्षा पढ्ने र उमेर घर्किसकेको मान्छेले किताब बजार चलायमान बनाउन सक्दैन,’ उनी भन्छन्, ‘किताब पढ्ने मान्छे विदेश पलायन हुँदा पनि असर गरेको छ ।’ पहिला २ हजार क्वान्टिटीमा किताब छापिन्थ्यो भने अहिले ५ सयदेखि ३ सयमात्रै मात्रै छापिने गरेको छ । टाइटल मात्रै बढे पनि बिक्री घटेको उनको भनाइ छ । रत्न पुस्तक भण्डारका प्रमुख गोविन्द श्रेष्ठ पहिलाको तुलनामा पुस्तक बजार धेरै नै खस्किएको बताउँछन् । धेरै मान्छे विदेश पलायन हुनु र आर्थिक अवस्था राम्रो नहुनुलाई उनी किताब बजार खस्किनुको कारण मान्छन् । ‘पाठकलाई दैनिक गुजारा कसरी चलाउने भन्ने चिन्ता छ । अहिलेको अवस्थामा बिहान बेलुका छाक टार्न पाए त्यही नै ठूलो कुरा हो भन्ने भएको छ,’ उनी भन्छन्, ‘किताब मान्छेको प्राथमिकतामा परेको छैन । यसको मतलब पठन संस्कृति घटेको भन्ने होइन । पाठकले अन्य विकल्प पनि अपनाउन थालेका छन् ।’ अहिलेका पाठक भौतिकरूपमा किताब नकिनेर पनि अनलाइन पत्रिका, म्यागेजिनजस्ता माध्यमबाट आफूलाई चाहिने ज्ञान लिने र अतिरिक्त खर्च नगर्ने श्रेष्ठ तर्क गर्छन् । आम्दानी धेरै हुने मान्छेले मात्रै किताबमा पैसा खर्च गर्ने उनी बताउँछन् । ‘महँगीले आकास छोएको छ, तर मान्छेको आम्दानीको स्रोत बढेको छैन,’ उनी भन्छन्, ‘यसको असर किताब बिक्रीमा पनि परेको प्रष्टै देख्न सकिन्छ ।’ राम्रा किताब बजार आउनासाथ पाठकले किनिहाल्छन् भन्ने कुरा वास्तविक नभएको उनको भनाइ छ । मदन पुरस्कारको सूची सार्वजनिक हुँदा ती पुस्तक बिक्री उल्लेख्यरूपमा नभएको उनी बताउँछन् । ‘किताब नै बिक्री भएन भन्ने चाहिँ होइन, तर तुलनात्मकरूपमा व्यापार छैन,’ उनी भन्छन् । मदन पुरस्कार विजेता कृति रत्न पुस्तकले पहिला महिनाकै ५०/५५ हजार कपी बिक्री गर्थ्यो । तर, अहिले त्यो घटेर १० हजारमा पुगेको छ । त्यसबाहेक अरू कृति ५र६ हजार बिक्री गर्न पनि धौ–धौ परेको श्रेष्ठ बताउँछन् । चलेका लेखकहरू पनि किताब प्रकाशन गर्न इच्छुक देखिएको तर लगानी डुब्ने डर पनि उस्तै रहेको श्रेष्ठको भनाइ छ । ‘लेखक त इच्छुक देखिनुहुन्छ नि,’ उनी भन्छन्, ‘पाठक छैनन् । त्यति बिक्री हुँदैन । कुनै कर्मशियल हाउसले रिटर्न खोज्छ । यसमा लगानी गरेर मेरो लगानी उठ्छ कि उठ्दैन भनेर डराएको अवस्था छ ।’ रत्न पुस्तकले अब रत्न अनलाइन डटकम डिजिटल प्लेटफर्म पनि सञ्चालनमा ल्याएको छ । जुन नेपालमा मात्रै सीमित नभएर वर्ल्डवाइड हो । जसमा दैनिक १२र१३ जना ग्राहक भेटिने श्रेष्ठले बताए । रत्न पुस्तकले सटर भाडा तिर्नु नपर्ने भएकाले अहिलेको बिक्रीमा पनि निराश हुने अवस्था नभएको श्रेष्ठको भनाइ छ । पुस्तक प्रकाशन गृह बुक हिलका प्रकाशक भूपेन्द्र खड्का बजारमा देखाउनकै लागि पुस्तक प्रकाशन भए पनि ‘हामी अस्तित्वमा छौं है’ भन्नुपर्ने अवस्था रहेको बताउँछन् । ‘पहिला दैनिक पत्रिकाले १२ पेजको पत्रिका निकाल्थे, अहिले ८ पेज अथवा ४ पेज निकाल्न थालेका छन्,’ उनी भन्छन्, ‘पहिला उनीहरूका ग्राहक लाख थिए होलान्, अहिले हजारमा झरे होलान् । किताब बजारको अवस्था पनि त्यस्तै छ ।’ आवश्यकताका केही किताब भने बिक्री भइरहेको भूपेन्द्र बताउँछन् । ‘कोरोनाअघि किताबको व्यापार जुनरूपमा थियो, त्यो अवस्थामा भने अहिले बिक्री छैन,’ उनी भन्छन्, ‘सबैतिर आर्थिक मन्दी छ । किताब किन्नैपर्ने अत्यावश्यक वस्तुमा पनि पर्दैन । सरकारले साहित्यिक किताबलाई पनि पाँचौं तहको मनोरञ्जनमा लगेर राखेको छ । त्यसले गर्दा हाम्रो व्यापार हुने कुरै भएन ।’ अहिलेको अवस्थामा गाँस, बास, कपास, शिक्षा र स्वास्थ्य प्राथमिकताको विषय रहेको भूपेन्द्र बताउँछन् । ‘नेपालीलाई चाँडै प्रभाव पार्ने कुरा भनेको प्रविधि पनि हो,’ उनी भन्छन्, ‘किताब बिक्री घट्नु सोसल साइटदेखि लिएर मिडियाको प्रभाव पनि होला ।’ नेपाली किताबको बजार घट्नुको ठूलो कारक तत्व स्कुलमा नै नेपाली भाषालाई महत्व नदिनु रहेको भूपेन्द्रको तर्क छ । ‘स्कुलमा दुईवटा विषयमात्रै नेपाली पढाइन्छ,’ उनी भन्छन्, ‘अधिकांश बच्चालाई विद्यालयमा पाठ्यक्रमबाहेकका किताब पढ्नुपर्छ भनेर सिकाइएको पनि छैन । हुर्किरहेको जेनेरेसनले पनि अंग्रेजी पढिरहेको छ । काठमाडौंका अधिकांश पुस्तक पसलले अंग्रेजी किताबको राम्रो व्यापार गरिरहेका छन् ।’ राम्रो किताब आउनासाथ केही पाठकले किनेर पनि पढिहाल्ने भूपेन्द्र बताउँछन् । ‘उपन्यास, इतिहास, भूगोल, राजनीति, अर्थतन्त्र, सेयर बजार र सेल्फ हेल्पका किताब पाठकका रोजाइमा छन्,’ उनी भन्छन्, ‘यसको बजार केही छ । धेरै थोरै बिक्री हुन्छन् ।’ प्रकाशकले प्रयास गरे पनि सुधारात्मक अवस्था नआएको उनी बताउँछन् । भूपेन्द्र भन्छन्, ‘मैले त यस विषयमा प्रष्ट कुरा राख्दै आएको छु । कतिपय साथीहरूले मुख फोरेर सार्वजनिकरूपमा नभन्नु भएको मात्रै हो, तर उत्पादन गर्न सक्ने अवस्था कठिन छ ।’ साहित्यकार अमर न्यौपाने पनि पहिलेको तुलनामा अहिले किताबको भौतिक बजार सुस्त भएको बताउँछन् । ‘पठन संस्कृति कम भएको होइन, पढ्ने माध्यम अलिअलि परिवर्तन भएको हो,’ उनी भन्छन्, ‘अहिले सोसल मिडिया पनि धेरै छन् । मान्छेले विश्वप्रसिद्ध किताबहरू अनलाइनमै पढ्न थालेका छन् । अनलाइनमै किताबका पिडिएफ हुन्छन् । उनीहरूले त्यहीँबाट पढ्छन् ।’ किताबको बजार अहिले हल्ला भएजस्तो निराशाजनक भने नभएको उनको भनाइ छ । ‘फिजिकल किताब बिक्री घटेको त हो, तर त्यसरी निराश भइहाल्नुपर्ने अवस्था छैन,’ उनी भन्छन्, ‘यसमा अनेक कारण हुनसक्छन् । आर्थिक मन्दी पनि होला, राम्रो किताब बजारमा नआएर पनि होला । एकदमै राम्रा किताब बिकिरहेका पनि छन् ।’ साहित्यकार न्यौपाने अहिलेका पाठकमा पढ्ने संस्कृति एकदमै सीमित र डिजिटलाइज्ड भएको बताउँछन् । ‘पहिला मान्छेले किताब पढ्दा गहिरिएर, बुझेर पढ्थे,’ उनी भन्छन्, ‘अहिले मान्छे कुनै पनि इन्फर्मेसन चाँडै लिन चाहन्छ । अहिले मान्छे हतारमा छ, रसमा छ । यसैले ऊ एक मिनेट पनि अडिन सक्दैन । सबै त्यस्ता हुँदैनन् । किताब नै किनेर पढ्ने पनि छन् ।’ यस्तो अवस्था सधैं नरहनेमा न्यौपाने विश्वस्त छन् । ‘यो अवस्था सधैं रहँदैन,’ उनी भन्छन्, ‘सहज परिस्थिति हुनासाथ मानिसहरू पुस्तकतिर फर्किन्छन् ।’ पछिल्लो समय अर्थतन्त्रमा देखिएको सुस्ततासँगै अधिकांश क्षेत्र मन्दीमा छ । पछिल्लो समय किताब बजारमा पनि आर्थिक मन्दी लागेको प्रकाशक तथा व्यापारीहरूले अनुभव गर्न थालेका छन् । कोरोना महामारीअघि राम्रै चलिरहेको किताब बजार कोरोनापछि खस्किँदै गएको थियो । खस्किएको बजार अहिलेसम्म उठ्न नसकेको उनीहरूको भनाइ छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकका ७ ठूला सेयरधनीमा ५ जना नेपाली
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकमा विभिन्न ७ व्यक्ति तथा कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको छ । वार्षिक प्रतिवेदन अनुसार बैंकमा ५ जना नेपाली लगानीकर्तासहित ७ व्यक्ति तथा कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको तथ्याङ्क छ । बैंकमा विदेशी लगानीकर्ता स्ट्यान्डर्ड चार्टर्ड ग्रिन्डलेज पीटीवाइ लिमिटेड र स्ट्यान्डर्ड चार्टर्ड बैंक यूकेको कुल ७०.२१ प्रतिशत लगानी छ । जसमध्ये स्ट्याण्डर्ड चार्टर्ड ग्रिन्डलेजको ४६.८१ प्रतिशत अर्थात् ४ करोड ४१ लाख ३६ हजार ३३८.६९ कित्ता र स्ट्यान्डर्ड चार्टर्ड बैंक यूकेको २३.४० अर्थात् २ करोड २० लाख ६८ हजार १६९.३५ कित्ता सेयर स्वामित्व छ । बैंकमा ५ जना नेपाली व्यक्तिको पनि ०.५ प्रतिशत भन्दा बढी सेयर स्वामित्व छ । जसमध्ये शशि अग्रवालको ०.७० प्रतिशत अर्थात् ६ लाख ६० हजार ८३६ कित्ता, प्रियंका अग्रवालको ०.७० प्रतिशत अर्थात् ६ लाख ६० हजार ८३६ कित्ता सेयर स्वामित्व छ । यस्तै, कोमल अग्रवालको ०.७० प्रतिशत अर्थात् ६ लाख ६० हजार ८३६ कित्ता, अभिनाश अग्रवालको ०.७० प्रतिशत अर्थात् ६ लाख ६० हजार ८३६ कित्ता र शंकरलाल अग्रवालको ०.६६ प्रतिशत अर्थात् ६ लाख २० हजार ८९ कित्ता सेयर स्वामित्व रहेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालमा सन् १९८७ देखि सञ्चालनमा रहेको छ । स्ट्याण्डर्ड चार्टड समूहको अभिन्न अंगको रुपमा रहेको बैँकमा नेपाली सर्वसाधारणको २९.७९ प्रतिशत स्वामित्व रहेको छ ।
छिमेक लघुवित्तको लाभांश घोषणा, बोनसभन्दा नगद दोब्बर
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब ८३ करोड ५४ लाख २ हजार रुपैयाँको ५ प्रतिशत बाेनस शेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत भई आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।