काठमाडौं । धादिङ घर भएकी रोजिना काप्री पढाइको सिलसिलामा काठमाडौं बबरमहल बस्छिन् । उनको साहित्यमा एकदमै रुचि छ । विशेषगरी उनलाई उपन्यास पढ्न मन पर्छ । तर, ६ महिनादेखि उनले पुस्तक किनेकी छैनन् । उनले पुस्तक नकिन्नुको एउटै कारण हो महँगी ।
‘अहिले त म पढ्न मनलागे अनलाइनमै पढ्छु, साथीहरूले नयाँ किताब किने भने मागेर पनि पढ्छु,’ उनी भन्छिन्, ‘पछिल्लो समयमा बढेको महँगीले दैनिक गुजारा गर्न पनि गाह्रो छ । तेल, चामल, आलु, प्याज र चिनीको मूल्यले आकास छोइसक्यो । अब किताब किन्ने पैसा कहाँबाट जोहो गर्नु रु अहिले दैनिकी सामान्य तरिकाले चलोस् भन्नेमात्र हो ।’
अहिले काठमाडौं बागबजारका अधिकांश पुस्तक पसलमा चहलपहल छैन । बागबजार चोकमै रहेको लक्ष्मण पुस्तक भण्डारकी सञ्चालक रिता उप्रेती किताब बिक्री एकदमै कम भएको बताउँछिन् । अहिले लोकसेवा र कोरियाली भाषाका केही किताबमात्रै बिक्री गर्न सकिएको उनको भनाइ छ ।
‘केही विद्यार्थी स्कुलको किताबमात्रै खोज्न आउँछन्,’ उनी भन्छिन्, ‘आख्यान गैर–आख्यानका किताब पढ्ने पाठक पछिल्लो केही महिनायता देख्न पाइएको छैन ।’
रिताले सटर भाडा महिनाको २२ हजार रुपैयाँ बुझाउनुपर्ने हुन्छ । तर, अहिले महिनामा १८/१९ हजारको मात्रै किताब बेच्न सकिएको बताइन् ।
‘अघिल्लो वर्ष लेखक सुविन भट्टराईको उपन्यास ‘इजोरिया’ भने राम्रो बिक्री भएको थियो,’ रिताले भनिन्, ‘अहिलेको मदन पुरस्कार विजेता ‘ऐँठन’ भने त्यति राम्रो बिक्री भएन । पाठकमा आर्थिक मन्दी लागेर हो कि पढ्ने मान्छे विदेश पलायन भएर हो, किताब बिक्रीमा गिरावट आयो ।’
त्यसैगरी बागबजारकै भण्डारी बुक्स एन्ड स्टेसनरीकी सञ्चालक अहिलेको अवस्थामा महँगी बढेको भएर हुनुपर्ने जति व्यापार नभएको बताउँछिन् ।
‘दैनिकी गुजारा गर्न नै गाह्रो छ, विद्यार्थीसँग पनि पैसा छैन,’ उनी भन्छिन्, ‘टियु (त्रिभुवन विश्वविद्यालय) को कुरा गर्दा ब्याचलरको विद्यार्थी नै छैनन् । अलिअलि पढ्नेले सोलुसन र गाइड किनेर निर्वाह गरेका छन् ।’
बेलाबेला लोकसेवा खुल्ने हुँदा लोकसेवाका केही किताब बेच्न सकेको उनको भनाइ छ । ‘बेलाबेला लोकसेवा खुल्छ र अलिअलि बिक्री भएको किताबले धानिएको छ,’ उनी भन्छिन्, ‘किराना सामानजस्तो दिनमा यति बिक्री हुन्छ भन्ने अवस्था पनि छैन अहिले । बिक्री कम नै छ ।’
अहिले केही पाठक महावीर पुनको किताब खोज्न आउने गरेको उनले बताइन् । स्कुल कलेजका गाइड, सोलुसनबाहेक साहित्यका किताब त्यति धेरै बिक्री नभएको उनको भनाइ छ ।
भुँडीपुराण प्रकाशनका सञ्चालक केशव पराजुली भौतिकरूपमा किताब पढ्नेको संख्या कम हुँदै गएको बताउँछन् । ‘अहिले १२ कक्षा पास हुनासाथ अलि पढ्न रुचि राख्ने विद्यार्थीले देश छाड्न थाले,’ उनले भने, ‘अब यसलाई चलायमान भएन भन्नुपर्यो । कोरोनापछि एक खालको जनशक्ति डिजिटलाइज्ड भयो । जनसंख्या बढेको छ, किताब नै पल्टाएर अक्षर पढ्नेको संख्या घट्दो छ ।’ 
दुई/चार किताब बिक्दैमा हल्लाखल्ला गर्नुपर्ने अवस्था अहिले नभएको पराजुली बताउँछन् । ‘अहिले पुस्तक प्रकाशन गृहको मात्र नभई सबै क्षेत्रको व्यापार धरापमा छ,’ उनी भन्छन्, ‘अहिले किताब पढ्ने विद्यार्थी नै नभेटिने अवस्था आइसक्यो ।’
समग्र किताब व्यापारको अवस्था हेरेर भन्नुपर्दा बजार चलायमान नभएको उनी बताउँछन् । २० देखि ४० वर्ष उमेर समूहका ४५ प्रतिशत जनशक्तिले देश छाडेको उनी बताउँछन् । ‘१२ कक्षा पढ्ने र उमेर घर्किसकेको मान्छेले किताब बजार चलायमान बनाउन सक्दैन,’ उनी भन्छन्, ‘किताब पढ्ने मान्छे विदेश पलायन हुँदा पनि असर गरेको छ ।’
पहिला २ हजार क्वान्टिटीमा किताब छापिन्थ्यो भने अहिले ५ सयदेखि ३ सयमात्रै मात्रै छापिने गरेको छ । टाइटल मात्रै बढे पनि बिक्री घटेको उनको भनाइ छ ।
रत्न पुस्तक भण्डारका प्रमुख गोविन्द श्रेष्ठ पहिलाको तुलनामा पुस्तक बजार धेरै नै खस्किएको बताउँछन् । धेरै मान्छे विदेश पलायन हुनु र आर्थिक अवस्था राम्रो नहुनुलाई उनी किताब बजार खस्किनुको कारण मान्छन् ।
‘पाठकलाई दैनिक गुजारा कसरी चलाउने भन्ने चिन्ता छ । अहिलेको अवस्थामा बिहान बेलुका छाक टार्न पाए त्यही नै ठूलो कुरा हो भन्ने भएको छ,’ उनी भन्छन्, ‘किताब मान्छेको प्राथमिकतामा परेको छैन । यसको मतलब पठन संस्कृति घटेको भन्ने होइन । पाठकले अन्य विकल्प पनि अपनाउन थालेका छन् ।’
अहिलेका पाठक भौतिकरूपमा किताब नकिनेर पनि अनलाइन पत्रिका, म्यागेजिनजस्ता माध्यमबाट आफूलाई चाहिने ज्ञान लिने र अतिरिक्त खर्च नगर्ने श्रेष्ठ तर्क गर्छन् ।
आम्दानी धेरै हुने मान्छेले मात्रै किताबमा पैसा खर्च गर्ने उनी बताउँछन् । ‘महँगीले आकास छोएको छ, तर मान्छेको आम्दानीको स्रोत बढेको छैन,’ उनी भन्छन्, ‘यसको असर किताब बिक्रीमा पनि परेको प्रष्टै देख्न सकिन्छ ।’
राम्रा किताब बजार आउनासाथ पाठकले किनिहाल्छन् भन्ने कुरा वास्तविक नभएको उनको भनाइ छ । मदन पुरस्कारको सूची सार्वजनिक हुँदा ती पुस्तक बिक्री उल्लेख्यरूपमा नभएको उनी बताउँछन् । ‘किताब नै बिक्री भएन भन्ने चाहिँ होइन, तर तुलनात्मकरूपमा व्यापार छैन,’ उनी भन्छन् ।
मदन पुरस्कार विजेता कृति रत्न पुस्तकले पहिला महिनाकै ५०/५५ हजार कपी बिक्री गर्थ्यो । तर, अहिले त्यो घटेर १० हजारमा पुगेको छ । त्यसबाहेक अरू कृति ५र६ हजार बिक्री गर्न पनि धौ–धौ परेको श्रेष्ठ बताउँछन् ।
चलेका लेखकहरू पनि किताब प्रकाशन गर्न इच्छुक देखिएको तर लगानी डुब्ने डर पनि उस्तै रहेको श्रेष्ठको भनाइ छ । ‘लेखक त इच्छुक देखिनुहुन्छ नि,’ उनी भन्छन्, ‘पाठक छैनन् । त्यति बिक्री हुँदैन । कुनै कर्मशियल हाउसले रिटर्न खोज्छ । यसमा लगानी गरेर मेरो लगानी उठ्छ कि उठ्दैन भनेर डराएको अवस्था छ ।’
रत्न पुस्तकले अब रत्न अनलाइन डटकम डिजिटल प्लेटफर्म पनि सञ्चालनमा ल्याएको छ । जुन नेपालमा मात्रै सीमित नभएर वर्ल्डवाइड हो । जसमा दैनिक १२र१३ जना ग्राहक भेटिने श्रेष्ठले बताए ।
रत्न पुस्तकले सटर भाडा तिर्नु नपर्ने भएकाले अहिलेको बिक्रीमा पनि निराश हुने अवस्था नभएको श्रेष्ठको भनाइ छ ।
पुस्तक प्रकाशन गृह बुक हिलका प्रकाशक भूपेन्द्र खड्का बजारमा देखाउनकै लागि पुस्तक प्रकाशन भए पनि ‘हामी अस्तित्वमा छौं है’ भन्नुपर्ने अवस्था रहेको बताउँछन् । 
‘पहिला दैनिक पत्रिकाले १२ पेजको पत्रिका निकाल्थे, अहिले ८ पेज अथवा ४ पेज निकाल्न थालेका छन्,’ उनी भन्छन्, ‘पहिला उनीहरूका ग्राहक लाख थिए होलान्, अहिले हजारमा झरे होलान् । किताब बजारको अवस्था पनि त्यस्तै छ ।’
आवश्यकताका केही किताब भने बिक्री भइरहेको भूपेन्द्र बताउँछन् । ‘कोरोनाअघि किताबको व्यापार जुनरूपमा थियो, त्यो अवस्थामा भने अहिले बिक्री छैन,’ उनी भन्छन्, ‘सबैतिर आर्थिक मन्दी छ । किताब किन्नैपर्ने अत्यावश्यक वस्तुमा पनि पर्दैन । सरकारले साहित्यिक किताबलाई पनि पाँचौं तहको मनोरञ्जनमा लगेर राखेको छ । त्यसले गर्दा हाम्रो व्यापार हुने कुरै भएन ।’
अहिलेको अवस्थामा गाँस, बास, कपास, शिक्षा र स्वास्थ्य प्राथमिकताको विषय रहेको भूपेन्द्र बताउँछन् । ‘नेपालीलाई चाँडै प्रभाव पार्ने कुरा भनेको प्रविधि पनि हो,’ उनी भन्छन्, ‘किताब बिक्री घट्नु सोसल साइटदेखि लिएर मिडियाको प्रभाव पनि होला ।’
नेपाली किताबको बजार घट्नुको ठूलो कारक तत्व स्कुलमा नै नेपाली भाषालाई महत्व नदिनु रहेको भूपेन्द्रको तर्क छ । ‘स्कुलमा दुईवटा विषयमात्रै नेपाली पढाइन्छ,’ उनी भन्छन्, ‘अधिकांश बच्चालाई विद्यालयमा पाठ्यक्रमबाहेकका किताब पढ्नुपर्छ भनेर सिकाइएको पनि छैन । हुर्किरहेको जेनेरेसनले पनि अंग्रेजी पढिरहेको छ । काठमाडौंका अधिकांश पुस्तक पसलले अंग्रेजी किताबको राम्रो व्यापार गरिरहेका छन् ।’
राम्रो किताब आउनासाथ केही पाठकले किनेर पनि पढिहाल्ने भूपेन्द्र बताउँछन् । ‘उपन्यास, इतिहास, भूगोल, राजनीति, अर्थतन्त्र, सेयर बजार र सेल्फ हेल्पका किताब पाठकका रोजाइमा छन्,’ उनी भन्छन्, ‘यसको बजार केही छ । धेरै थोरै बिक्री हुन्छन् ।’
प्रकाशकले प्रयास गरे पनि सुधारात्मक अवस्था नआएको उनी बताउँछन् । भूपेन्द्र भन्छन्, ‘मैले त यस विषयमा प्रष्ट कुरा राख्दै आएको छु । कतिपय साथीहरूले मुख फोरेर सार्वजनिकरूपमा नभन्नु भएको मात्रै हो, तर उत्पादन गर्न सक्ने अवस्था कठिन छ ।’
साहित्यकार अमर न्यौपाने पनि पहिलेको तुलनामा अहिले किताबको भौतिक बजार सुस्त भएको बताउँछन् । ‘पठन संस्कृति कम भएको होइन, पढ्ने माध्यम अलिअलि परिवर्तन भएको हो,’ उनी भन्छन्, ‘अहिले सोसल मिडिया पनि धेरै छन् । मान्छेले विश्वप्रसिद्ध किताबहरू अनलाइनमै पढ्न थालेका छन् । अनलाइनमै किताबका पिडिएफ हुन्छन् । उनीहरूले त्यहीँबाट पढ्छन् ।’
किताबको बजार अहिले हल्ला भएजस्तो निराशाजनक भने नभएको उनको भनाइ छ । ‘फिजिकल किताब बिक्री घटेको त हो, तर त्यसरी निराश भइहाल्नुपर्ने अवस्था छैन,’ उनी भन्छन्, ‘यसमा अनेक कारण हुनसक्छन् । आर्थिक मन्दी पनि होला, राम्रो किताब बजारमा नआएर पनि होला । एकदमै राम्रा किताब बिकिरहेका पनि छन् ।’ 
साहित्यकार न्यौपाने अहिलेका पाठकमा पढ्ने संस्कृति एकदमै सीमित र डिजिटलाइज्ड भएको बताउँछन् । ‘पहिला मान्छेले किताब पढ्दा गहिरिएर, बुझेर पढ्थे,’ उनी भन्छन्, ‘अहिले मान्छे कुनै पनि इन्फर्मेसन चाँडै लिन चाहन्छ । अहिले मान्छे हतारमा छ, रसमा छ । यसैले ऊ एक मिनेट पनि अडिन सक्दैन । सबै त्यस्ता हुँदैनन् । किताब नै किनेर पढ्ने पनि छन् ।’
यस्तो अवस्था सधैं नरहनेमा न्यौपाने विश्वस्त छन् । ‘यो अवस्था सधैं रहँदैन,’ उनी भन्छन्, ‘सहज परिस्थिति हुनासाथ मानिसहरू पुस्तकतिर फर्किन्छन् ।’
पछिल्लो समय अर्थतन्त्रमा देखिएको सुस्ततासँगै अधिकांश क्षेत्र मन्दीमा छ । पछिल्लो समय किताब बजारमा पनि आर्थिक मन्दी लागेको प्रकाशक तथा व्यापारीहरूले अनुभव गर्न थालेका छन् । कोरोना महामारीअघि राम्रै चलिरहेको किताब बजार कोरोनापछि खस्किँदै गएको थियो । खस्किएको बजार अहिलेसम्म उठ्न नसकेको उनीहरूको भनाइ छ ।