विकासन्युज

आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले दिए राजीनामा

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले राजीनामा दिएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसमक्ष मंगलबार उनले राजीनामा बुझाएका हुन् । कार्यकारी निर्देशक थानीले राजीनामा बुझाएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । कार्यकाल सकिन अगाडि २१ महिना काम गरेर राजीनामा बुझाएका थानीले राजीनामाको कारण भने खुलाएका छैनन् । उनी २०७८ फागुनमा निगमको कार्यकारी निर्देशक पदमा तीन वर्षे कार्यकालका लागि नियुक्ति भएका थिए ।

धुलिखेल जीपलाइनमा ‘विन्टर अफर’, कति लाग्छ शुल्क ?

काठमाडौं । नेपालकै पहिलो सुपरम्यान जिपलाइन सञ्चालनमा ल्याएर देशभर जिपलाइनको माहोल सिर्जना गर्न सफल भएको धुलिखेल जिपलाइनले ‘विन्टर अफर’ सार्वजनिक गरेको छ । अफर अन्तर्गत सबैखाले जिपलाइन खेल्दा २० प्रतिशत छुट पाइनेछ । नेपालमा जिपलाइन सुरू भएको करिब एक दशकसम्म जिपलाइन खेल्नकै लागि झन्डै १० हजार छुट्याउनुपर्ने समयमा धुलिखेलमा ३ हजारमा फोटो, भिडिओसहित जिपलाइन नै खेल्न पाइने भएपछि यसप्रति आकर्षण ह्वात्तै बढेको हो । राजधानी नजिकै भएकाले पनि धुलिखेल यसको सहज गन्तव्य बनेको छ । सर्वसुलभ मूल्य धुलिखेल जिपलाइनको अर्को आकर्षण बन्यो । क्लासिक जिपलाइन, उडेझैं खेल्न मिल्ने सुपरम्यान जिपलाइन र टेण्डम (दुई जनासँगै खेल्न मिल्न) जिपलाइन वर्ल्ड–वाइड एडभेन्चर प्रालिले धुलिखेलमा सञ्चालनमा ल्याएको ४ वर्ष भएको छ । सुपरम्यान र टेण्डम जिपलाइन नेपालमै पहिलोपटक धुलिखेलमा सुरू गरिएको हो । धुलिखेल नगरपालिकाको थाक्लेदेखि ११ सय मिटरको जिपलाइनले पाँचखालको खावालाई जोडेको छ । जिपलाइन औसत ७५ किमि प्रतिघण्टाको गतिमा हुत्तिन्छ । करिब ३०० मिटर भर्टिकल ड्रपमा उडिरहँदा नजिकका खेतबारी, जङ्गलको हरियालीसँगै लाङटाङ, दोर्जे लाक्पा, फुर्बीच्याचु लगायतका हिमालको समेत दृश्यावलोकन गर्न सकिन्छ । सिन्धुपाल्चोकका केदार थापा र काठमाडौंका भुपेश श्रेष्ठले धुलिखेल जिपलाइन सुरू गरेका हुन् । युरोपियन र अमेरिकी सुरक्षा मापदण्डमा आधारित भएर निर्माण गरिएको र सुरक्षामा कुनै कसर बाँकी नराख्ने भएकाले ढुक्कसँग जिपलाइनको मज्जा लिन सकिने सञ्चालक बताउँछन् । कति लाग्छ शुल्क ? क्लासिक जिपलाइन २५ सय रुपैयाँ रहेकोमा छुटपछि जम्मा २ हजार रुपैयाँमा खेल्न सकिन्छ । सुपरम्यान ३५ सय रुपैयाँ रहेकोमा छुटपछि जम्मा २८ सय रुपैयाँमा खेल्न पाइन्छ । टेन्डम (जोडी) खेल्दा ४ हजार ५ सय रहेकोमा छुटपछि जम्मा ३६ सय रुपैयाँमा जीपलाइनको मज्जा लिन सकिन्छ । यो अफर डिसेम्बर २८ सम्म उपलब्ध रहेको सञ्चालकले जानकारी दिए । कसरी पुग्ने ? काठमाडौंको बानेश्वरदेखि ३५ किलोमिटर दूरीमा रहेको धुलिखेल जिपलाइन पुग्न सार्वजनिक सवारीसाधन सहजै पाइन्छ । धुलिखेल बजारबाट पाँचखालतर्फ तीन किलोमिटर अगाडि थाक्लेमा जिपलाइनको टेकअफ स्टेशन रहेको छ । जिपलाइन गरिसकेपछि ल्याण्डिङ स्टेशनबाट टेकअफ स्टेशनसम्म कम्पनीकै गाडीले फिर्ता ल्याइदिन्छ । सुकुटे, कालिञ्चोक, तातोपानी क्षेत्र यात्रा गर्दै हुनुहुन्छ भने धुलिखेल जिपलाइन बाटोमै पर्छ । केही मिनेट रोकिएर जिपलाइनको मज्जा लिएर जान सकिन्छ ।

अलैंचीको मूल्य बढ्यो

किमाथाङ्का, सङ्खुवासभा । सङ्खुवासभामा एक दशकअघिदेखि ओरालो लागेको अलैँचीको मूल्यमा यस वर्ष केही सुधार आएको छ । अलैँचीको मूल्य हाल प्रतिमन ‘४० किलो’ ७० हजार पुगेको छ । झन्डै १० वर्षअघि प्रतिमन एक लाख २० हजारसम्म कारोबार हुँदै आएको अलैँचीको मूल्य घटेर प्रतिमन २५ हजारसम्म झरेको थियो । पछिल्लो समय नेपालबाट भारत, पाकिस्तानलगायत देशमा अलैँची निर्यात हुन थालेपछि यसको मूल्य बढेको हो । जिल्लाका किसानको मुख्य आम्दानीको स्रोत मानिने अलैँचीको मूल्य यस वर्ष सुरुवातदेखि नै बढ्दो क्रममा रहेको अलैँची व्यवसायी महासङ्घका जिल्ला अध्यक्ष कुमार श्रेष्ठले बताए । उत्पादन कम, माग बढी भएका कारणले अलैँचीको मूल्य वृद्धि भएको उनको भनाइ छ । यहाँ उत्पादित ९८ प्रतिशत अलैँची नेपालबाहिर निर्यात हुने गरेको तथ्याङ्क छ । अलैँचीको मूल्य वृद्धि भए पनि यसबाट किसानले भने प्रत्यक्ष फाइदा लिन सकेका छैनन् । सङ्खुवासभामा दुई हजार आठ सय ७१ हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको छ । जिल्लामा गत वर्ष नौ सय ४० मेट्रिक टन अलैँची उत्पादन भएको थियो । यस वर्ष भने अलैँचीको उत्पादन घट्ने महासङ्घको अनुमान छ । अलैँची सङ्खुवासभा, पाँचथर, ताप्लेजुङ, इलाम, धनकुटासहित पहाडी र उच्च पहाडी जिल्लामा उत्पादन हुन्छ । व्यवसायीका अनुसार अलैँचीलाई गुणस्तरका आधारमा क, ख र ग गरी तीन तहमा विभाजन गरिएको छ । नेपालमा उत्पादित अलैँचीको मुख्य बजार भारत हो । अलैँची पूर्वी पहाडी जिल्लाका किसानको आम्दानीको भरपर्दो स्रोत हो । जिल्लामा करिब ४० वर्षभन्दा पुराना बोट भएकाले पनि उत्पानमा ह्रास आएको कृषि ज्ञान केन्द्र सङ्खुवासभाले जनाएको छ । अधिकांश अलैँची बगानमा पुराना बोट भएकाले उत्पान घट्नुका साथै बोटसमेत डढ्ने गरेका छन् ।

एमएडब्लु इन्भेष्टमेन्टको आम्दानी बढ्यो, पोर्टफोलियोको आकार साढे २ अर्ब नजिक

काठमाडौं । एमएडब्लु इन्टरप्राइजेजको सहायक कम्पनी एमएडब्लु इन्भेष्टमेन्ट प्रा. लि.को आम्दानी १३.४४ प्रतिशतले बढेको छ । कम्पनीको आम्दानी आर्थिक वर्ष २०२२ को तुलनामा २०२३ मा सो मात्राले बढेको हो । आर्थिक वर्ष २०२२ मा ३८ करोड ७० लाख रुपैयाँ बराबरको आम्दानी गरेको कम्पनीले आर्थिक वर्ष २०२३ मा ४३ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै, कम्पनीको नेटवर्थ पनि बढेर ५० करोड पुगेको छ । जुन अघिल्लो वर्षमा ४९ करोड ९४ लाख रुपैयाँ थियो । आर्थिक वर्ष २०२०मा ३५ करोड ५० लाख रुपैयाँ रहेको कम्पनीको नेटवर्थ चार वर्षमा ४०.८५ प्रतिशतले बढेर ५० करोड रुपैयाँ पुगेको छ । कम्पनीको पोर्टफोलियोको आकार भने घटेको छ । आर्थिक वर्ष २०२० मा २ अर्ब ४९ करोड ९० लाख रुपैयाँ रहेको कम्पनीको पोर्टफोलियो २०२३ मा घटेर २ अर्ब ३७ करोड ३० लाखमा झरेको छ । जुन अघिल्लो वर्ष अर्थात २०२२ को तुलनामा ७.०९ प्रतिशत घटी हो । २०२२ मा बढेर २ अर्ब ५५ करोड ४० लाख रुपैयाँ पुगेको कम्पनीको पोर्टफोलियो २०२३ मा पुनः घटेको तथ्यांकले देखाउँछ । पोर्टफोलियोको आकारसँगै कम्पनीको सम्पत्ति पनि घटेर २ अर्ब ५६ करोड ९० लाख रुपैयाँमा झरेको छ । जुन २०२२ मा २ अर्ब ७२ करोड ९० लाख रुपैयाँ पुगेको छ । कम्पनीको कूल एनपीए भने बढेर ५.२९ प्रतिशत पुगेको छ । २०२२ मा यस्तो एनपीए ४.९९ प्रतिशत थियो । २०११ मा स्थापना भएको यो कम्पनी एमएडब्लु ग्रुपको एक हिस्सा हो, जसले सन् १९६५ देखि अटोमोबाइल क्षेत्रमा प्रवेश गरेको थियो । यो ग्रुपले विभिन्न अटोभोटिभ सेग्मेन्ट जस्तै सीई, पीभीएस, टुडब्लु एस र कमर्शियल भेइकलहरुसँग डिल गर्दै आफ्नो व्यवसायलाई अघि बढाएको छ । एमएडब्लु इन्टरप्राइजेजको ४० प्रतिशत र भगिनी संस्था एमएडब्लु अर्थमूभर्सको ३० प्रतिशत सेयर स्वामित्व छ । त्यस्तै, उद्योगी विष्णुकुमार अग्रवालको २९.५ प्रतिशत र प्रणनाथ भट्टराईको ०.५ प्रतिशत सेयर छ । अग्रवाल कम्पनीको अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन् । कम्पनीले २ अर्ब ७९ करोड रुपैयाँ बराबरको कर्जाको लागि इक्रा नेपालमा रेटिङ्ग गराएको छ । जसमध्ये इक्रा नेपालले २ अर्ब ७२ करोड रुपैयाँ बराबरको कर्जाको एलबीबी प्लस र बाँकी ७ करोड कर्जाको लागि एफोर प्लस रेटिङ्ग पुनः पुष्टि गरिदिएको छ । यसअघि कम्पनीले ३ अर्ब रुपैयाँ बराबरको कर्जाको लागि रेटिङ्ग गराएको इक्रा नेपालले जानकारी गराएको छ ।

व्यवसायी पलायन हुने क्रम रोकिएन, नवलपरासीका ३० प्रतिशत सटर खाली

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा व्यापारिक प्रयोजनमा प्रयोग भइरहेका सटर खाली हुने क्रम बढेको छ । पछिल्लो समय आर्थिक सङ्कटका कारण व्यवसायी पलायन हुने क्रम बढेसँगै मुख्य बजारका सटर खाली हुन थालेका हुन् । आर्थिक गतिविधि सुस्त हुँदा व्यापार व्यवसायबाट पलायन हुनेको सङ्ख्या बढ्दै गएको नवलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष बैकुण्ठप्रसाद अर्यालले बताए। ‘घरधनीको भाडा वृद्धि, बैङ्कको उच्च ब्याजदर र ऋणको किस्ता तिर्न नसक्दा २५ देखि ३० प्रतिशत व्यावसायिक सटर खाली भएका छन्,’ उनले भने, ‘व्यापार राम्रोसँग नहुँदा बालबच्चा पढाउन नसक्ने अवस्थामा पुगेपछि धेरै जना व्यवसाय छाडेर वैदेशिक रोजगारीमा गएकाले पनि सटर खाली भएका हुन् ।’ खाद्यान्न किरानासँगै अत्यावश्यक व्यवसाय चले पनि अन्य व्यवसायमा कारोबार न्यून रहेकाले सरकारले तत्काल अहिलेको समस्या समाधान गर्न आवश्यक रहेको अध्यक्ष अर्यालले बताए। जिल्लाका अन्य बजारको तुलनामा कावासोतीमा व्यवसायी पलायन हुने क्रम बढी छ । बैङ्कको ब्याजका कारण मारमा परेका व्यवसायी बजारमा ग्राहक नै आउने क्रम घटेसँगै पलायन हुने क्रम बढेको अध्यक्ष अर्यालले बताए । व्यवसायी पलायन हुने क्रममा जिल्लाको मध्यविन्दु नगरपालिकामा समेत बढ्दै गएको छ । १५ देखि २० प्रतिशतको हाराहारीमा व्यवसायी पलायन भएका मध्यविन्दु उद्योग वाणिज्य सङ्घका अध्यक्ष किरण श्रेष्ठले बताए । ‘व्यापार हुन छोडेपछि व्यवसायी पलायन हुन थालेका छन्’, उनले भने । व्यवसायी पलायनको समस्या देवचुली नगरपालिकामा पनि उस्तै छ । देवचुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष सूर्यप्रसाद दवाडीले देवचुलीमा पलायन हुने व्यवसायी ३० प्रतिशतभन्दा बढी रहेको बताए । ‘झण्डै ३० प्रतिशतले व्यवसाय छोडेका छन्,’ उनले भने । वित्तीय संस्थाको ब्याजका कारणले व्यवसायी निरन्तर पलायन हुँदै गएको उद्योग वाणिज्य सङ्घ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले बताए। बैङ्क तथा वित्तीय संस्थाले ब्याजका लागि ताकेता बढाइरहेको तर व्यापार ठप्प भएकाले यस्तो अवस्था आएको उनको भनाइ छ । बैङ्क तथा वित्तीय संस्थाको ताकेताका कारण व्यवसायबाट पलायन हुनेको सङ्ख्या बढ्न थालेको अध्यक्ष भट्टचनको भनाइ छ । अर्थतन्त्रमा देखिएको समस्याले व्यावसायिक मन्दी बढिरहँदा नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा नयाँ व्यवसाय दर्ता गर्ने दरमा समेत कमी आएको छ । आर्थिक वर्ष २०७९/८० मा जिल्लामा तीन हजार पाँच सय ९४ उद्योग दर्ता भएका थिए भने आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा ७० उद्योग दर्ता भएको पर्यटन तथा उद्योग कार्यालय नवलपुरका अध्यक्ष नगेन्द्र पौडेलले बताए । आर्थिक वर्ष २०७९/८० मा जिल्लामा दुई हजार दुई सय ९१ उद्योग नवीकरण भएकामा चालु आवको पहिलो तीन महिनामा एक सय ९५ वटा मात्रै उद्योग नवीकरण भएका छन् । रासस

सेयर बजारमा छायो हरियाली, परिसूचक ३७ अंकले बढ्दा २१४ कम्पनीको मूल्यमा देखियो सुधार

काठमाडौं । मंगलबारको सेयर बजारमा हरियाली छाएको छ । सोमबार दोहोरो अंकले घटेको नेप्से परिसूचक मंगलबार ३६.८६ अंकले बढेर १९८५.४४ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.८९ प्रतिशतले बढी हो । बजारमा ४ अर्ब ३० करोडको सेयर कारोबार भएको छ । कारोबारमा आएका २९७ वटा स्क्रीप्समध्ये शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन १८ करोड ७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, अन्य ५ वटा कम्पनीको १० करोडभन्दा बढी कारोबार भएको छ । जसमा सोनापुर मिनिरल्स एण्ड आयल, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, माउन्टेन इनर्जी नेपाल, सोल्टी होटल र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । बजारमा कारोबारमा आएका २९७ वटा स्क्रीप्समध्ये २४२ वटा कम्पनी रहेका छन् । जसमध्ये अधिकांश अर्थात २१४ वटा कम्पनीको सेयर मूल्य बढेको छ । त्यसमा पनि १० कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । जसमा बोटलर्स नेपाल (बालाजु), धौलागिरी लघुवित्त वित्तीय संस्था, नेपाल रिपब्लिक मिडिया र सोनापुर मिनिरल्स एण्ड आयलको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, १० प्रतिशतभन्दा कम र ९.७० प्रतिशतभन्दा बढी सेयर मूल्य बढ्नेको सूचीमा सानिमा लार्ज क्याप फण्ड, मानुषी लघुवित्त वित्तीय संस्था, त्रिशुली जलविद्युत कम्पनी, डोल्टी पावर कम्पनी, मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर र साधना लघुवित्त वित्तीय संस्था रहेका छन् । बजारमा कारोबारमा आएका सबै समूहमा हरियाली छाएको छ ।

पैसाको बोट

इतिहासको कुनै पनि घटनालाई कल्पना गरेकै भरमा पनि मस्तिष्कको पर्दामा हेर्न सकिन्छ, किताबमा पनि बडो सजीव ढङ्गले पढ्न सकिन्छ तर इतिहासलाई आफ्नै हातले छुन भने सकिँदैन । जसरी छत आफ्नै घरको भए पनि र स्वयम् गृहपतिले नै माथि जान चाहेको भए पनि भर्याङ लगाउनै पर्छ, त्यहाँ लालपुर्जा वा घरको स्वामित्वको अभिमानले काम गर्दैन । त्यसरी नै आफ्नै कथाको इतिहाससम्म पुग्न पनि कुनै न कुनै संयोजक वा माध्यमको पुल हालिनु आवश्यक हुन्छ । त्यसैले आज यो पङ्क्तिकार पनि कल्पना र किताबबाट मुक्त भएर हजुरबाका आँखाबाट त्यो समय अर्थात् उहाँले बिताएको युवावस्थाका दिनहरूलाई हेर्ने प्रयत्न गर्दै छ । १९६४ सालको भदौ १३ गतेका दिन अर्थात् तत्कालको राणाकालीन समयको भौगोलिक विभाजन अनुसार थुम ताप्लेजुङको याङ्रूप दोरम्बा, अलिपछि आएर पञ्चायतकालको पाँचथरको अमरपुर र त्यसभन्दा पनि पछि आएर हालको गणतन्त्रले बनाएको हिलिहाङ गाउँपालिकामा जन्मेका मेरा हजुरवा अविकेशर ढकालले २०१६ साल जेठ १३ गतेका दिन भुटानको दागापैला जिल्लामा जन्मेको र जयपुर बुधवारे गाउँ पञ्चायतको वडा नं.५ मा भर्खर मात्र खुलेको प्राइमरी स्कुल जान थालेको आफ्नै नाति अर्थात् अहिले यो कुरो लेखिरहेको म प्रतीक ढकाललाई २०२३/२४ सालतिर झापामा सुनाएका कथाहरू अनौठा अनौठा र अहिलेको पुस्ताले कल्पना पनि गर्न नसक्ने खालका हुन्थे । उहाँले मलाई यस्ता धेरै कुराहरू सुनाउनुभएको छ जसमध्ये आज म बैंक, वित्त, मुद्रा, आर्थिक कारोबार र बजार व्यवस्थाका बारेमा सुनेका केही कुराहरू मात्र पाठकलाई सुनाउन लागिरहेको छु । तर, ती कुराहरूको चर्चा गर्नुभन्दा अगाडि झापाको त्यस क्षेत्रका गाउँहरूको तत्कालीन आर्थिक, सामाजिक, भौगोलिक, जनसाङ्ख्यिक, शैक्षिक र सांस्कृतिक परिवेशको मनमनै कल्पना गरौं किनकि आँखा खोलेरभन्दा आँखा चिम्लेर बढी दृश्यहरू देख्न सकिन्छ । माथि भनिएकै छ-कल्पनाशीलताले हामीलाई इतिहाससम्म पुग्न धेरै सजिलो बनाउँछ । यसो सोच्नुहोस् त-बिचमा आँगन छ । एकातिरको छेउमा गाईभैसी बाँध्ने गुवाली बनाइको छ । अर्कातिर छुट्टै सानो भान्साघर छ । अनि त्यसैका छेउमा थोरै ढुड्गा, माटो र अधिकांश चाहिँ काठले बनेको पालीसहितको सुन्दर घर छ । अनि त्यो घरमा पुग्ने आलीआलीको डोरेटो त छ तर बाटो छैन । जङ्गलका बिचमा बोरा वा अलि सक्नेले त्रिपाल टाँगेर केही छापे पसलहरू खोलिएका छन् र त्यसैलाई नाम चलेको ‘बजार’ भनिन्छ । देश छ तर त्यसको आफ्नो मुद्रा छैन । त्यो देशभरिमै कतै कुनै विश्वविद्यालय छैन । घर हुने त कुरै छोडौं, देश जोड़ने पनि बाटो छैन । जिल्लाभरिमा बडो मुस्किलले एक वा दुई हाइस्कुलहरू चलेका छन र त्यसमा पढाउने शिक्षकहरू प्रायः भारतबाट ल्याइएका छन् । कहीँ कतै अस्पताल छैन, बरु कताकति नाम चलेका धामी झाक्रीहरू छन् र जनताको उपचारको जिम्मेवारी तिनैले बहन गरिरहेका छन् । जिल्लाभरिमा एस.एल.सी. पास गरेका मान्छेको सङ्ख्या औंलामै गन्न सकिने खालको छ । यदि गाउँमै कोही पढेलेखेको मान्छे छ भने ऊ काशी अर्थात् बनारसबाट पढेर आएको हो भन्ने कुरो स्वतः नै बुझिन्छ । काँधमा पित्तलका अक्षरले ‘नेपुफो’ लेखेको बिल्ला लगाएको एकजना मात्र प्रहरी कहीँ कतैबाट गाउँमा आइपुग्यो भने सबै थर्कमान हुन्छन् । जहाँ प्रत्येक घरमा कोही न कोही बिरामी छ र हरेक बेलुकाका पहेँला घाममा प्रत्येक घरमा लागोभागो मन्साउन कोही न कोही ‘जान्ने’ले अवश्यै ‘सेरगेम’ गरिरहेकै छ । पैसा कसैसँग पनि छैन तर जङ्गल सबैतिर छ । आगो ताप्न अँगेनाका वरिपरि बसेका बेला पनि भूतप्रेतका कथाबाहेक अरू केही सुन्न पाइँदैन । सञ्चारका नाममा पूरै गाउँमा एउटा पनि रेडियो छैन र चिठीपत्रको कुरो हुँदा पनि काँचो धागोले बाँधेको पो छ कि भनेर वडो सन्त्रस्त भएर बुझ्नुपर्ने स्थिति छ । अनि बुझेर पनि थोरै घरले मात्र आफ्नो चिट्टी आफैँ पदछन्, अधिकांश घरले त त्यही चिठी वाचन गरिदिनका लागि पनि जान्ने खेतालो खोज्नुपर्ने अवस्था छँदै छ । अविकासको चर्चा गर्दा अहिले हामीले हुम्लाको कुनै विकट गाउँको जस्तो चित्र दिमागमा उतार्छाैं, ठिक त्यस्तै हालत त्यस बेलाको झापाको पनि छ । अझ त्योभन्दा पनि खतरनाक बनाएको छ । औलोको बिगबिगीले झापातिर त भनिन्थ्यो नै – कुनै मान्छेसँग एक मन (४० किलो) चामल छ भने बाँचुन्जेल खान पुगेर काजकिरिया गर्न पनि त्यही चामल पर्याप्त हुनेछ । भन्नुको मतलब सरदर आयुको हालत यस्तो छ । खतराको पक्ष अर्को पनि छ-भारतीय सिमाना नजिकै हुनु । जुनसुकै अपराध गरेर पनि मान्छे लालटिनमा एक ‘पावा’ मट्टितेल पनि नबाली मेची तरिहाल्छ । किसानकै गोरु घोरिएर मेचीपारि पुगिहाल्छन् । दुहुना गाई-भैंसी चोरिन्छन्, हुनेखाने र धनीमानीका घरबाट साइकल चोरिन्छन्, भान्साघरबाट भाँडाकुंडा चोरिन्छन्, कुन्युँबाट धानका बिटा चोरिन्छन् । यति मात्र होइन, खाएर बाँकी रहेको बासीभात पनि चोरिन्थ्यो कहिलेकाहीँ । त्यसैले चोरको पनि वर्गीकरण गरेको थियो तत्कालीन समाजले गोरु चोर, भाँडा चोर, गहना चोर, साइकल चोर, बासीभाते चोर, बाख्रा चौर, टापटिपे चोर आदि भनेर । देश त नेपाल नै हो तर पैसा भने पूरै भारू चल्थ्यो । हामी त सामान्य किनमेल गर्न पनि भारतको सीमावर्ती बजार नक्सालबाडी वा नजिकैको ठूलो सहर सिलिगुडी पुग्थ्यौं । अहिलेको बिर्तामोडमा २/४ वटा छाप्रे चियापसल मात्र थिए जसलाई हामी ‘दोकान’ भन्ने गथ्र्याैं । मूल चोकको बाटो पनि सामान्य चक्रेटोको क्रस मात्रै थियो र सबैभन्दा ठुलो कुरो त अहिलेको बिर्तामोड क्षेत्रमा ७ सय रुपैयाँमा एक बिघा नै जग्गा किन्न सकिन्थ्यो । तर, पनि ठाउँ रुखो हुनाले खेती हुँदैन भनेर हजुरबाले त्यहाँ जग्गा नकिनी अलि माथि बुधबारेको जयपुर भन्ने ठाउँमा आफ्नो परिवार थन्क्याउनुभएको थियो । अनि यही परिवेशमा हाम्रो वंशबाटै स्कुल भर्ना भएको पहिलो भाग्यमानी नाति मलाई हजुरबाले अनौठा लाग्ने किस्साहरू सुनाउनुहुन्थ्यो । म उहाँको सबैभन्दा प्रिय पात्र किन पनि थिए भने उहाँका ६ वटी छोरी र एक भाइ मात्र छोरो जन्मिएका थिए । त्यही एउटा छोराबाट पनि लगातार दुइटी छोरी जन्मेपछि मात्र जन्मेको, सारा देवीद्यौता गुहारेर बल्ल बल्ल पाइएको, त्यस बेलासम्मको एक मात्र नाति थिएँ म । त्यही माथि स्कुल पनि जान थालेको र जाँचमा पनि ‘फस्र्ट’ हुन थालिसकेको मान्छे थिएँ म फुच्चो । अनि त म सानै मान्छे पनि सबैको हाइहाइ हुने नै भएँ । त्यस बेला हाम्रा हातमा पर्ने सबैभन्दा ठुलो दरको पैसा भनेकै पित्तलको १० पैसे सिक्का हुन्थ्यो । त्रिभुवनका पालाको तामाको गहुँङ्गो ५ पैसे ढ्याक पनि चलनचल्तीम थियो तर पनि हामीलाई त्यत्ति काममा आउँदैनथ्यो । त्यो वास्तवमै ढ्याक भएकाले त्यसलाई हामी खोपी खेल्दा मात्र हुत्याउने ढ्याकका रूपमा प्रयोग गर्दथ्यौं । अरू बेला हामीलाई चाहिने पैसा भनेकै पित्तलको १० पैसे र तामाको २ पैसे सिक्का थिए । यो १२ पैसाले ६४ पेजको एउटा रेलमार्का कापी र एउटा सिङ्गो पेन्सिल किन्न पुगिहाल्थ्यो । त्योभन्दा बढी हामीलाई के नै चाहिन्थ्यो र ? अनि चाहियो नै भनेर रोइकराई नै गरे पनि दिन्थ्यो कसले र ? तर, त्यस समयमा पनि हाम्रा हातमा भारतीय सिक्का भने प्रशस्तै पर्दथे । हामीलाई भेट्न आउने हाम्रा आफन्तहरू प्रायः भुटान र भारततिरबाट आउने भएकाले नेपालीभन्दा भारतीय सिक्काहरूमा हाम्रो पहुँच बढी थियो । ती भारतीय सिक्काहरू त आकार, प्रकार, तौल, कुँदिएका चित्र, प्रयोग भएको धातु आदिका आधारमा पनि नेपालका भन्दा झनै विचित्रका देखिन्थे । भुटान र भारतका विभिन्न ठाउँमा बस्ने आफन्तहरूसँग जब रैरकमको हिसाब-किताब मिलाउनु हुन्थ्यो तब मैले हजुरबाले भन्ने गरेको सुनेको थिएँ ‘भारूभन्दा मोरू ठुलो हो ।’ भारू १ रुपियाँको मूल्य नेपालमा मोरू १० आना मात्र हुन्छ । भारूभन्दा मोरू ठुलो हो भनेका बेला उहाँका अनुहारमा एउटा बेग्लै प्रकारको प्रदीप्ति देखिन्थ्यो । मलाई लाग्छ, देश बलियो हुँदा नागरिकले पनि सुरक्षित र बलियो भएको महसुस गर्छन् भनेको यही होला सायद । नेपालको मौद्रिक इतिहासमा कुनै समय भारूभन्दा नेरू ठुलो थियो कि थिएन ? रुपियाँ र दश आनाका अनुपातमा सरकारी हिसाब मिलाइयो कि मिलाइएन ? वा हालको सटही दरको डालो प्रणाली कसरी विकसित हुँदै आयो ? यो मेरो अहिलेको जिज्ञासाको विषय होइन । यस कुराको सत्य तथ्य यस क्षेत्रका विज्ञहरूलाई प्रस्टै थाह छ – म गैरआर्थिक क्षेत्रको मान्छेले केही खोकिरहनै पर्दैन । म त सिर्फ हजुरबाको मौद्रिक ज्ञानका आधारमा उभिएर त्यस समयका बुज्रुक मानिसहरूको धारणा भन्दै छु । त्यस बेलाको मौद्रिक मूल्यअनुसार भारूको मूल्य सानो र नेपाली पैसा मोरूको मूल्य ठुलो थियो । अलि पछि आएर हजुरबाको घरायसी हिसाब–किताबले फेरि अर्कै रूप देखाउन थाल्यो । घरमा पैसा राख्दा पनि भारु र नेरू छुट्टयाएर राख्नै छोडियो । कहिलेकाहीँ पैसा लेनदेन गरेको देख्ने मौका परेका बेलामा हामी भुराले पनि एउटै मुठोमा दुवै देशका नोटहरू मिलाएर राखेको देख्न थाल्यौं । त्यसबेला हजुरबाले भन्न थालिसक्नुभएको थियो- “नेरू भारू सराबरी, दुइटै पैसा बराबरी ।’’ समय आफ्नै गतिमा बगिरह्यो । थाहा छैन कति बेला के के भयो । विदेशमा बस्ने आफन्तहरू पनि हाम्रा घरमा आइरहे, हाम्रो कारोबार पनि चलिरह्यो उहाँहरूसँग । हिसाब-मिलान पनि गरिरहनुपर्याे तर केही समयअघिदेखि नै हजुरबाले भन्न थालिसक्नुभएको थियो ‘अब भारू ठुलो भयो, नेरूको भाउ घट्यो । हिसाब-किताब गर्दा अब यही अनुसार गर्नुपर्छ ।’ आफ्नो पैसा सानो भएको खिन्नता उहाँका अनुहारमा प्रस्टै देखिन्थ्यो तर मौद्रिक विनिमयको दर निर्धारण गर्ने कुरो उहाँको वशको विषय थिएन । हाट भर्न जाने सिलसिलामै एक दिन रोड्याईँ गरी गरी हजुरबाको पुच्छर भएर छिमेकी गाउँमा रहेको शनिश्चरे बजार पुगेँ । यस बजारलाई यतातिरको जनजिब्रोले ‘सन्सरे’ बजार भन्दथ्यो । हो, म पनि त्यहीं पुगेँ । काठको सानो टाँडे घरको बाहिरपट्टि नै बन्दुक बोकेर उभिएको एउटा मानिसमा मेरो नजर पर्यो । त्यो बन्दुके मान्छे र त्यस मान्छेले पहरा दिइरहेको त्यस घरलाई देखाउदै हजुरबाले भन्नुभयो- “यो घर किराइ (भाडा) मा लिएर ब्याङ्क (बैंक) बसेको छ । यो घरभित्र त पैसैपैसा मात्र हुन्छ, ब्याङ्का बसेपछि । हाम्रो घर जत्रो त याभित्र लोठ (नोट) कै थुप्रो होला । क्वै चोर डाकाले पैसा चोरेर लैजान नपाऊन् भनेर बाहिर बन्दुक बोकेको गाठ (गार्ड) उभिएको छ । बाहिर एक जना रुँगालोजस्तो उभिएको देखिए पनि मित्र अरू धेरै जना ‘गाठ’ ट्यान्छ्यान (अटेन्सन) भएर डिप्टीमा बसेका हुन्छन् । ती सबैका हातमा यस्तै बन्दुक हुन्छ । यस ब्याङ्काको नाउँ नेपाल ब्याङ्का हो । यो हाम्रै देशका आफ्नै राजाले खोलेको ब्याङ्का हो । नेपालभरिको पैसा यसमै छ । त्यै भ’र सर्खारले पनि पुलिस पठा’र गाठ राखेको । यो त नेपाल देशको पैसाको बोट हो । यसमा त लोठैलोठ (नोटैनोट) फल्छ ।’’ मैले जीवनमा पहिलो पल्ट कुनै बैंक देखेँ । ती बैंकहरूमध्ये पनि जुद्धशमशेरकै पालामा अर्थात् १९९४ सालको कार्तिक ३० गते स्थापना भएको नेपालकै सबैभन्दा जेठो बैंकका रूपमा रहेको नेपाल बैंक लिमिटेडको एउटा गौरवशाली शाखा देखेँ । त्यो पनि आफ्नै नजिकैको हाट शनिश्चरे बजारमा देखेँ । बैंकमा पैसा राखेको हुन्छ र त्यसलाई कुरा पनि सुरक्षा दिन सिपाही खटिएका हुन्छन् भन्ने पाएँ । तर पैसाको बोट भने हजुरबाले देखाउनु भएन । सोचेँ-घरभित्र जालीले छोपेर राखिएको हुँदो हो । त्यस बोटमा चाहिँ पातका ठाउँमा नोट झुन्डिएका हुँदा हुन् । यो कुरो सुन्नासाथ वास्तवमा मलाई त्यो बोट हेर्ने रहर पलाइसकेको थियो । तर बन्दुक बोकेका सिपाहीहरू उभिएको देखेपछि यताउता तन्केर हेर्ने आँट भने गर्न सकेको थिइँन । के थाहा, ड्याम्म बन्दुक पड्कायो भने त कथा त सक्किहाल्छ नि । बजारबाट फर्केको धेरै दिनसम्म पनि मेरो मनबाट त्यो पैसाको बोट उखेलिनै सकेन । कस्तो हुन्छ होला पैसाको बोट ? अशोक झैँ खिरिलो होला कि चौतारीको वर झैँ झ्याम्म परेको हुन्छ होला ? अथवा कुट्मिरो, कटहर, निवारो, काब्रो, पिँडारी, डुम्री वा के जस्तो ? मेरो दिमागमा पैसाको बोट मात्र खेल्न थाल्यो । कहिलेकाहीँ त सम्झेर झसङ्ग पनि हुन थालेँ–कतै मैले पैसाको बिरुवा भेट्टाएर पनि नचिनेर छोडेर पो हिडेँ कि ? यसलाई चिन्नु धेरै जसरी छ । अनि त के थियो र रात-दिन, सपना विपना सबै बेला म पैसाको बोट कस्तो हुँदो हो भन्ने चिन्तनमै डुब्न थालेँ । अनि एक दिन मौका पारेर हजुरबालाई नै सोधेँ- ‘पैसाको बोट कस्तो हुन्छ हजुरबा ? मलाई पनि देखाउनु न एकपल्ट ! जाऊँ न सन्सरेको नेपाल ब्याङ्का ।’ मैले जिज्ञासा राखेको प्रश्नमै ‘सन्सरेको ब्याङ्का’ भने शब्दावली नपरेको भए त हजुरबाले पैसाको बोटको कुरै नसम्झनु हुने रहेछ । ठुला मान्छेले त कुरो चलेका बेला एउटा प्रसङ्गमा एकपटक भनिदिए कुरै सिद्धियो पो हुने रहेछ त ! तर आफू त ‘सप्रसङ्ग व्याख्या गर’ भन्ने ढाँचामा बानी लागेको विद्यार्थी बिर्सिने कुरै थिएन । सायद मेरो बाल मनमा खेलेका कुराको आयतन अनुमान गर्नुभयो होला हजुरबाले र मलाई तानेर छेउमै बसाएर भन्नुभयो- ‘हेर नाति केटा पैसाको बोट भनेको धान, मकै, कोदो, केरा, सयपत्री, सिमल, तरुल, बाँस, मल्लिँडोको बोटजस्तो विरुवा हुने कुरो होइन । पैसा कुनै पनि प्रकारको बोटमा फल्दैन । तर, सर्खारको हुकुमले ‘न्यामकानुन बना’र पैसा एकै ठाउँमा थुपार्न पनि सक्छ, सबैतिर छर्न पनि सक्छ । यो देशाँ भ’को सप्पै पैसाको मालिक ‘पान्सर्खार’ (श्री ५ को सरकार) हो, अनि सर्खारको सप्पै पैसा यै ब्याङ्कामा भएपछि भएन त यो पैसाको बोट ? तर पान्सर्खारकै पैसाको बोट भए पनि यसमा अन्तको तुलफूलमा जस्तो फूल फुलेर चिचिला लागेर पैसा फल्ने होइन । यसमा त हामी गाउँ गाउँका जनताले नै आफूसँग भएको पैसा लगेर राखिदिनुपर्छ । “मैले हजुरबाको कुरो केही पनि बुझिनँ । म कुरै नबुझेर अलमल्ल परेको भाव अनुहारमै देखियो होला सायद । अनि मेरो बुझाइको स्तरलाई समेत ध्यानमा राख्दै मलाई झाउने गरी हजुरबाले भन्न थाल्नुभयो- ‘कहिलेकाहीँ हामीसँग पनि अलि धेरै पैसा हुन्छ, हो कि होइन ? फलानाले धेरै धान बेच्यो, पाटा (जुट) बेच्यो, मनका मन मकै बेच्यो भन्ने हल्ला त चोर डाँकाले पनि सुन्छन् नि, हैन त ? अनि हामीले त्यो पैसा कसरी जोगाउँछौँ त, थाहा छ तलाईं ? त्यो पैसा हामी सुरक्षाको राम्रो व्यवस्था भएको कुनै घरी, मुखिया, जिम्मुवाल वा जिम्दारकोमा लिएर जान्छौंँ । अनि, कागजमा हिसाब लेखेर उसैको जिम्मा लगाएर छोडेर आउँछौं । उसले हाम्रो पैसा जोगाइदिए बापत सालको सयकडा ५ लिन्छ । यो भनेको तैले अहिले चन्द्रप्रसाद जिम्दारकाँ लगेर १०० रूप्पे राख्न दिइस् र आघौँ यै बेलाँ माग्न गइस् भने तैले ९५ रुप्पे मात्र फिर्ता पाउँछस् । तर, अब ता सुरक्षा दिएवापत साहुले गर्ने यस्तो उल्टो ब्याजकट्टीलाई उल्टाउन अब सर्खारले यो ब्याङ्का बनायो । यो ब्याङ्काले के गर्छ त भन्दाखेरि हामीले लगेर पैसा राखेपछि ‘गाठ’ राखेर जोगाइदिन्छ । अनि, गाउँका ठालुलाई जस्तो सयकडा ५ को हिसाब कटाउनु पनि पर्दैन, यल्ले त झन् उल्टो ब्याज पो दिन्छ त । तैले राखेको १०० रूप्पे साहुको जस्तो घटेर ९५ हुँदैन, बरु उल्टै बढेर एक बर्खमा ११० रूप्पे हुन्छ । अब त देशैभरिका किसानले यसैमा पैसा राख्न ल्याउँछन् । अनि, लु हेर त सर्खारलाई पनि विकास गर्ने छेलोखेलो पैसा यहीँ जम्मा हुने भयो ।’ किसानको पैसा पनि नखोटिईकन जोगियो । झन् उल्टै ब्याज कमाइ भयो । सबैलाई चाहिने पैसा हो, त्यो त यहीँ पो फल्न थाल्यो त ! अनि भएन त पैसाको बोट ? यस्ता कुरालाई त अलि मिलाएर बुझ्नुपर्छ क्या लाटा ? का सिधै पैसाको बोट भनेको हो त मैले ? पैसाको ‘सेन्टर’ पो भन्या हुँ त ! सन्सरे बजारमा सोमनाथहरूको एउटा घर छ होइन ? त्यो घरमा उनेरू त बस्तैनन् । त्यां त अर्कै एउटा बङ्गाली परिवार बस्छ । उल्ले मैनैपिच्छे कँडुवाल बुढालाई किराइ तिर्छ । अब त्यो घर उनेर्का लागि पैसाको बोट भएन त ! लाटा मैनैपिच्छे पैसा फल्ने पैसाको बोट भएन त ! यो ब्याङ्का पनि त्यस्तै झन् ठुलो पैसाको बोट हो भनेको ।’ ? समय यसरी बदलियो कि देशमा २००७ सालमा १०४ वर्ष लामो जहानिया राणाशासनको अन्त्य भयो, रेडियो नेपाल खुल्यो, २००८ सालदेखि त राष्ट्रको बजेट नै सार्वजनिक भएर आउन थाल्यो । लोक सेवा आयोगको स्थापना भयो, निजामती सेवाको गठन भयो, विभुवन विश्वविद्यालयको स्थापना भयो । मुलुक संयुक्त राष्ट्र सङ्घको सदस्य बन्यो । यही कालखण्डमा नेपाल राष्ट्र बैकको स्थापना भयो, देशमा लागू हुने गरी संविधान आयो, बहुदलीय प्रणालीमा आधारित चुनाव भयो र जनताको छोरो विश्वेश्वरप्रसाद कोइराला दुई तिहाई बहुमत प्राप्त गरी नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बने । त्यो सरकार पनि आफ्नै व्यवहारका कारण ढल्यो । देशमा पञ्चायतका नाममा नयाँ व्यवस्थाको सुरुवात भयो । देशलाई बडो वैज्ञानिक ढङ्गले १४ अञ्चल ७५ जिल्लामा विभाजन गरियो । पूर्व–पश्चिम राजमार्गको शिलान्यास गरियो र काम पनि दूर्त गतिले अघि बढ्यो । राष्ट्रको दीर्घकालीन सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै दक्षिणी सिमाना क्षेत्रमा सेवानिवृत्त सुरक्षाकर्मीहरूलाई पुनर्वास गराइयो । हुलाकी राजमार्गको अवधारणा आयो । यही गौरवमय कालखण्डमा सिद्धार्थ राजमार्ग बन्यो, अरनिको राजमार्ग बन्यो, पृथ्वी राजमार्ग बन्यो र यो सानो र गरिब मुलुक पनि आफ्नै सडक सञ्जालमा गर्व गर्ने ठाउँमा अघि बढ्दै गयो । मुलुक औद्योगिकीकरणका बाटामा लम्किँदै गयो । साँच्चै भन्ने हो भने २०४६ पछि विभिन्न कारणले भन्द भएका उद्योगधन्दा यही कालमा स्थापित भएका थिए । यी सबै उद्योगहरू रोजगारीको राम्रो माध्यम बनेका थिए । परिवर्तनका यी सबै कुराको एक्लो वित्तीय साक्षी बनेर नेपाल बैंक लिमिटेडले भूगोल पार्कबाट देशलाई नियालिरहयो । २०२२ साल माघ १० गतेका दिन सरकारकै अर्को उपक्रमको फलस्वरूप दोस्रो बैंकका रूपमा उदाएको राष्ट्रिय वाणिज्य बैंकको स्थापना नहुञ्जेलसम्मको २८ वर्षको यो लामो कालखण्डमा नेपाली वित्तीय आकाशमा ‘नेपाल बैंक लिमिटेड’ बाहेक अरू कुनै पात्र नै अस्तित्वमा थिएन, जे थियो, एक्लो ‘नेपाल बैंक लिमिटेड’ थियो । अनि त्यही नेपाल बैंक लिमिटेड पनि विराटनगरका जुट मिलहरूबाट उत्पादित छोरी बोकेर सिङ्गै देशलाई एकताको सूत्रमा जोड्न लागिपरेको थियो । जसरी पृथ्वीनारायण शाहले नेपालको भौगोलिक एकीकरण गरे, भानुभक्तले रामायणमार्फत भाषिक एकीकरण गरे । त्यसरी नै नेपाल बैंक लिमिटेडले पनि नेपालको वित्तीय क्षेत्रको सहजीकरण र बजारीकरणमार्फत मुलुकलाई जोड्यो । मेरा हजुरबा पुस्ताले जानेको बैंकिङ साक्षरता यसैको उपस्थितिको परिणाम थियो । अनि, यही कालखण्डमा नेपालमा नेपाली मुद्राका प्राचुर्य बढ्यो । सेना र हुलाक जस्ता पुराना संस्थाले जोडेको यस देशलाई नेपाल बैकले इतिहासमै पहिलो पटक बैंकिङ सुविधा दियो । अर्को शब्दमा भन्ने हो भने नेपाल बैंकले बैंकिङ कारोबार गर्न थालेको ठिक १९ वर्षपछि आफैँलाई मार्गनिर्देशन गर्ने आमाका रूपमा राष्ट्र बैंकको स्थापना गर्नुपर्ने परिस्थितिको निर्माण गर्याे । त्यसैले आफ्नी आमा जन्माउने गौरव पनि यही नेपाल बैंक लिमिटेडलाई छ, जो आज संस्थापनाको ८७ औं जन्मोत्सव मनाइरहंदा पनि उत्तिकै तरोताजा र ‘नबैलि’ नै रहेको छ । समयसँगै चाउरी पर्ने त कुरै छोडौं, अझ डिजिटल बैंकिङको सुन्दर अनुहार बोकेर हाम्रो नाति पुस्ताका सामु पनि उत्तिकै ‘ग्याजेट- फ्रेन्ड्ली’ भएर उपस्थित छ । त्यसबेला सेयर बजार पनि थिएन । स्टक एक्सचेन्ज, नेप्से, धितोपत्र बोन्ड, डिबेन्चर इन्भेस्टमेन्ट आदि जस्ता शब्दहरू त सुनिएको पनि थिएन । सहरतिरका मान्छेले सुनेकै भए पनि गाउँतिर यो कुरो पुगेकै थिएन । त्यसबेला पनि हजुरबा बडो ढुक्क भएर भन्नुहुन्थ्यो- ‘सुन र ऊनमा गरेको लगानी कहिल्यै पनि डुब्दैन । यसले जैले पनि नाफा नै दिन्छ ।’ सुन र ऊन सुनको भाउ जहिले पनि बढ्ने नै हो । म जुन समयको कुरो गर्दै छु, त्यस बेला सुनको मूल्य प्रतितोला रू.२०० भन्दा पनि तलै हुँदो हो । हजुरबाको लगानीसम्बन्धी दृष्टिकोण बडो प्रस्ट थियो फाल्टु पैसा हुनेले सुन किनेर राखे हुन्छ । यसले कहिल्यै पनि घाटा हुँदैन । त्यस्तै लगानीको अर्को क्षेत्र ऊन पनि फाइदाकारी हुन्छ । ऊन अर्थात् राडी, पाखी, भेडा, बाख्रापालनसँग जोडिएका सबै क्षेत्र । म अहिले पो आएर कुरो बुझ्दै छु- उहाँले त व्यावसायिक पशुपालनतर्फ पो सङ्केत गर्नुभएको रहेछ । घरव्यवहारका अरू मामिलामा पनि हजुरबा निकै खरो व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको त एउटा स्थायी आदेश नै थियो हामी परिवारका सबै सदस्यहरूलाई ‘चाहे जोसुकै बिचमा भए पनि हिसाब र निसाफ सधैं क्लियर हुनुपर्छ ।’ इमान्दारीका साथ भन्छु, जहाँजहाँ हामीले यो सूत्रपूर्ण रूपमा लागू गर्न सक्यौं, त्यहाँको सम्बन्ध सधै सुमधुर रह्यो । तर, हिच्किचाहटका कारणले, मुख फोर्न नसकेका कारणले वा यति नजिकका मान्छेलाई त के भनिरहनुपर्ला र हौ भनेर जहाँजहाँ हामीले यो सूत्र लगाउन सकेनौं, त्योत्यो ठाउँमा आखिर उहाँले नै भन्ने गरेको जस्तो ‘पैसाको मुख रातो भएरै छोड्यो । उहाँको भनाइ नै थियो- ‘हातले दिएर खुट्टाले खोज्ने काम नगर्नू । यो धेरै गाह्रो काम हो । यसो गर्न थाल्यो भने त दुनियाँले पैसा थन्क्याएको व्यान पनि एक दिन डुब्छ ।’ अचेल पो यसो सम्झिँदा लाग्छ, मैले आफ्नो जीवनमा भेटेको पहिलो अर्थमन्त्री भने पनि, हाम्रो गार्हस्थ्य बैंकको कुशल गभर्नर भने पनि, सामाजिक क्षेत्रको व्यवस्थापक भने पनि वा मसँग साक्षात्कार भएका जीवनकै पहिलो मुद्राविज्ञ जे भने पनि उहाँ नै पो हुनु हुँदो रहेछ । मेरो त बैंक पनि उहाँ नै हुनुहुन्थ्यो । त्यसैले मैले आफ्नो नाममा खोलेको पहिलो बैंक खाता पनि नेबैलिकै थियो । तर, जिन्दगीले यसरी हुत्यायो कि म झापाको मान्छेको पहिलो बैंक खाता नैबैलिको तानसेन (पाल्पा) शाखामा पुगेर खोलियो । मेरा हजुरबा अब यो धर्तीमा हुनुहुन्न तर उहाँले चोर औंला तेर्स्याएर देखाएको नेपाल बैंक धर्तीमै छ । अब त म आफैं पनि हजुरबा भइसकेको छु । नातिलाई अस्ति नै लगेर नेबैलिको गोठाटार शाखा बसेको घर देखाइसकेँ । म चाहन्छु- अन्तरिक्षमा चन्द्र र सूर्य रहुञ्जेल धर्तीका प्रत्येक हजुरबाहरूले आफ्ना नाति नातिनाहरूलाई औंलो तेर्स्याएर नेपाल बैंकतिर देखाइरहून् । (नेपाल बैंकको वार्षिकोत्सव विशेषाङ्क, २०८० बाट साभार)

जनकपुरमा तीन दिनसम्म मदिरा र मासु बिक्री वितरणमा रोक

महेन्द्रनगर । जनकपुरधाममा श्रीसीताराम विवाहपञ्चमी महोत्सवको अवसरमा तीन दिनसम्म मदिरा तथा माछा/मासु बिक्री वितरणमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले आज एक सूचना जारी गर्दै मङ्सिर २८ गते राति १२ बजेदेखि पुस १ गते राति १२ बजेसम्म मदिरा तथा माछा/मासुको बिक्री वितरणमा रोक लगाएको हो । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवलाई सुरक्षित, मर्यादित र सौहार्दपूर्ण वातावरणमा मनाउनका लागि जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको प्रशासकीय अधिकृत विश्वविजय शर्माले जानकारी दिए । यस अवधिमा जनकपुरधामको परिक्रमा क्षेत्रभित्र र परिक्रमा सडकको दायाँबायाँ मदिरा बिक्री वितरण, सेवन तथा पशुपक्षी काट्न, माछा, मासु बिक्री वितरण, ओसारपसार गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी चक्रपानी पाण्डेले बताए । निर्देशकको पालना नगरे प्रचलित कानुन बमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । रासस