‘म अर्थमन्त्री बनेपछि घरजग्गा र सेयर बजारमा सुधार आयो, ब्याजदर घट्यो’
काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफूले अर्थमन्त्रीकारूपमा कार्यभार सम्हालेपछि अर्थतन्त्रमा सुधार भएको बताएका छन् । बुधबार वर्तमान आर्थिक अवस्थाकाबारेमा जानकारी दिने उद्देश्यले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अहिले अर्थतन्त्रमा धेरै सुधार आएको बताएका हुन् । उनका अनुसार आफू अर्थमन्त्री हुनुअघि बैंकको ब्याज बढ्ने अवस्थामा रहेको, सेयर र घरजग्गामा मन्दी रहेको बताउँदै आफू आएपछि ती क्षेत्रमा धेरै सुधार भएको धारणा राखे । ‘मैले अर्थमन्त्रीको कार्यभार सम्हाल्दा अर्थतन्त्रका अधिकांश परिसूचक अनुकूल अवस्थामा थिएनन्, कोभिडको समयमा लिइएको खुकुलो मौद्रिक तथा वित्त नीतिका कारण घरजग्गा, सेयर र वस्तु आयात तर्फ उच्च कर्जा प्रवाह भएकोमा विदेशी विनियम संचितिमा परेको चापलाई समाधान गर्न भनी लिइएको नियन्त्रणकारी मौद्रिक नीतिले गर्दा कर्जा प्रवाह विस्तार हुन नसकेको, व्याजदर बढ्न गएको, उपभोग प्रभावित हुँदा र केही वस्तुको आयात प्रतिबन्धका कारण आयात घट्न गएकोले राजस्व संकलन कमजोर भई सार्वजनिक वित्त सन्तुलनमा चाप परेको थियो, घर जग्गा र सेयर कारोवारमा ठूलो गिरावट आएको थियो, तर म अर्थमन्त्री बनेपछि यी सबै क्षेत्रमा सुधार आयो,’ उनले भने । यस्तै, उनले सार्वजनिक खर्च तर्फ आयोजनाको प्राथमिकिकरणको अभाव र सम्भावित दायित्वको आँकलन नगरी खरिद प्रक्रिया अगाडि बढाउँदा खर्च व्यवस्थापन चुनौतीपूर्ण अवस्थामा रहेको बताए । अहिले कतिपय वाह्य परिस्थितिका कारण पनि अर्थतन्त्रमा सिथिलता आउनुमा थप योगदान पुगेको बताए ।
आर्थिक मन्दीले पर्साका १७७ उद्योग बन्द, अघिल्लाे वर्ष पनि १५२ उद्योग बन्द
पर्सा । आर्थिक मन्दीका कारण पर्सामा आर्थिक वर्ष २०७९/८० मा १७७ उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यायलका अनुसार आर्थिक वर्ष २०७९/८० मा १७७ उद्योगले लगत कट्टा गराएका छन् । आव २०७८/७९ मा पर्सामा १५२ उद्योगले लगत कट्टा गरिएका थिए । बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभावलगायत कारणले उद्योगहरुको धमाधम बन्द भएका घरेलु तथा साना उद्योग कार्यालय प्रमुख धनञ्जयकुमार सिंहले बताए । घरेलु तथा साना उद्योग कार्यालयमा आर्थिक वर्ष २०७९/८० मा एक हजार ८९ नयाँ उद्योग दर्ता भएका थिए भने आव २०७८/८९ मा एक हजार ४८० उद्योग दर्ता भएका थिए । आव २०७९/८० मा एक हजार २७५ उद्योगको नवीकरण, १६५ वटाको पुँजीवृद्धि, ३३ वटाको ठाउँसारी र ८४ वटाको नामसारी भएको सो कार्यालय जनाएको छ । आर्थिक वर्ष २०७९/८० मा एक करोड ६ लाख ३९ हजार २५० राजस्व सङ्कलन भएको थियो। उक्त आवमा चार हजार ४६० जनाले रोजगारी पाएको प्रमुख सिंहले जानकारी दिए । रासस
त्रिविको दीक्षान्त समारोहमा पदक तथा पुरस्कार पाउनेको नामावली सार्वजनिक
काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ४९ औँ दीक्षान्त समारोह पुस २ गते दशरथ रङ्गशालामा हुने भएको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ४९ औँ दीक्षान्त समारोहमा पदक तथा पुरस्कार पाउने विद्यार्थीहरूको नामावली सार्वजनिक गरेको छ । सो समारोहमा विश्वविद्यालयबाट विभिन्न तह एवं विषयका उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीहरूलाई पदक एवं पुरस्कार प्राप्त गर्न लागिएको हो । त्रिविले यो पटक हरेक वर्ष प्रदान गर्दै आएको कुलपति पदक भने वितरण नगर्ने जनाएको छ। नामावलीमा उल्लेख भएका विद्यार्थीहरू बाहेक अन्य कुनै विद्यार्थीले दीक्षान्त पदक एवं पुरस्कारहरू प्राप्त गर्नुपर्ने आधार भए मङ्सिर २९ गतेभित्र स–प्रमाण परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क गर्न सकिने जनाइएको छ । जसअन्तर्गत गत २०७८ सालको एम फिल तहमा १ जना २०७६ सालको स्नातोकोत्तर तर्फ १ जना र २०७७ सालको स्नातोकोत्तर तहमा ४ जना र २०७८ सालको स्नातकतहमा १ जनाले स्वर्ण पदक पाउने भएका छन् भने बाँकीले विभिन्न विद्याको पुरस्कार पाउने भएका छन् ।
श्री इन्भेष्टमेन्ट फाइनान्सले घोषणा गर्यो लाभांश, ५ प्रतिशत नगद लाभांश
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले लाभांश घोषणा गरेको छ । मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ५.०५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको हो । संस्थाले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सो मात्राको नगद लाभांश वितरण गर्न लागेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्छ । हाल संस्थाको चुक्ता पुँजी ९८ करोड १६ लाख ८३ हजार रुपैयाँ छ ।
मध्य भोटेकोशीले बोलायो वार्षिक साधारण सभा, छैन लाभांश प्रस्ताव
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले आगामी पुस २७ गते वार्षिक साधारण सभा बोलाएको छ । मंसिर २६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सो दिन कम्पनीको १२औं साधारण सभा गर्ने निर्णय गरेको हो । उक्त सभामा जाने प्रयोजनको लागि कम्पनीले आगामी पुस १७ गते एक दिन बुक क्लोज गर्दै छ । तर कम्पनीले लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव राखेको छैन ।
लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा
काठमाडौं । लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा भएको छ । बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई ७.३७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत बोनस र ०.३७ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत र कम्पनीको साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।
एक्सेल डेभलपमेन्ट बैंकको सञ्चालकमा शर्मा नियुक्त
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको सञ्चालकमा यज्ञ प्रसाद शर्मा नियुक्त भएका छन् । मंसिर २६ गते बसेको संचालक समितिको वैठकले शर्मालाई बैंकको सञ्चालमा नियुक्त निर्णय गरेको हो । यस अघिका सञ्चालक पूरुषोत्तम लम्सालले आफ्नो पदबाट राजिनामा दिएसँगै रिक्त रहेको उक्त पदमा शर्मा नियुक्त भएका हुन् ।
प्याजको मूल्यमा मनोमानी, चीनबाट आयात गर्न व्यवसायी सक्रिय
काठमाडौं । दक्षिणी छिमेकी भारतले तीन दिनअघि शनिबारबाट लागु हुने गरी प्याज निर्यातमा अचानक प्रतिबन्ध लगाइदियो । हरेक खाद्यान्नदेखि कृषि उपजमा छिमेकीकै भर गर्ने नेपालमा भारतको प्रतिबन्धनको फाइदा यहाँका व्यापारी र बिचौलियाले मजाले लुटिरहेका छन् । भारतले नेपालमात्र होइन, अन्य कुनै पनि देशमा प्याज निर्यात नगर्ने भन्दै सूचना जारी गरेपछि त्यसको सिधा असर नेपालीको भान्छासम्म पुगेको छ । नेपालीहरूको भान्छा एक्कासि महँगो हुन पुगेको छ, मात्र एउटा प्याजको भाउका कारण । भारत सरकारको निर्णयलगत्तै नेपाली बजारमा प्याजको भाउले आकास छोइसकेको छ । अहिले बजारमा प्याजको मूल्यमा मनपरी वृद्धि भएको छ । उपभोक्ताले महँगोमा प्याज खरिद गर्नुपरेको गुनासो गरिरहेका छन् । तर, सुनुवाइ कतैबाट हुने देखिँदैन । अहिले फाट्टफुट्ट केही पसलमा मात्रै प्याज पाइन्छ । तर, उनीहरूले किलोमै ७० देखि ८० रुपैयाँसम्म भाउ बढाएको र प्रतिकिलाे १ सय ४० रूपैयाँसम्म बिक्री गरिरहेकाे उपभोक्ताको गुनासो छ । भारतको वैदेशिक व्यापार महानिर्देशनालयले गत बिहीबार एक राजपत्र प्रकाशित गर्दै चालू डिसेम्बर महिना अन्तिमसम्म प्याज निर्यातको कसिलो व्यवस्था परिमार्जन गर्दै शनिबारबाट लागू हुने गरी प्याज निर्यातमा प्रतिबन्ध लगाएको जनाएको थियो । भारतले आगामी सन् २०२४ मार्च अन्तिमसम्मका लागि प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । त्यसको प्रत्यक्ष मार भने नेपालीको भान्छामा परेको छ । अहिले नेपाली बजारमा प्याजको हाकाकार देखिएको छ । काठमाडौंलगायत अन्य बजारमा व्यापारीले मनखुसी प्याजको मूल्य बढाएका छन् । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा प्याजको हाहाकार देखिएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका सूचना अधिकृत विनय श्रेष्ठ बताउँछन् । ‘नेपालमा प्याज आउने भनेकै भारतबाट हो । त्यहाँबाट नआएपछि समस्या त हुने नै भयो,’ श्रेष्ठले विकासन्युजसँग भने, ‘नेपालमा सिजनमा मात्रै प्याज उत्पादन हुन्छ । प्रत्येक नेपालीको भान्छामा प्याजको प्रयोग हुन्छ । नेपालमा उत्पादित प्याजले २ प्रतिशत भान्छा पनि धान्दैन ।’ अलि–अलि कहीँ कतैबाट व्यवसायीले जोहो गरेर ल्याएको प्याज बजारमा बिक्री भइरहेको उनले बताए । ‘एक साता अगाडि १ सय देखि १ सय २० रुपैयाँ किलोमा बिक्री भएको प्याज आज मंगलबार १ सय ३५ देखि ४० रुपैयाँसम्ममा बिकिरहेको छ । बजारमा स्टक नै छैन । केही आएको बिक्री भएको हो ।’ अन्य सहरी क्षेत्रमा प्याजको मूल्य १ सय ५० रूपैयाँ नाघेको छ । ‘केही व्यापारीले चीनबाट प्याज आयात गर्न लागेको भन्ने पनि सुन्नमा आएको छ,’ श्रेष्ठ भन्छन्, ‘नेपालको केसमा विशेष व्यापारिक सम्पर्क भनेको भारतीय व्यापारिक केन्द्र तथा व्यापारीसँग हो । र, नजिकको बजार पनि भारत हो । चीनबाट पनि प्याज आयात गर्न नसकिने त होइन । तर, प्याज आउनै समय लाग्छ । फेरि चीनमा व्यापारिक सम्बन्ध पनि स्थापना गर्नुपर्यो । कानुनी प्रक्रिया पनि छन् । अहिले नै भन्न सकिने अवस्था छैन ।’ श्रेष्ठले बजारमा आलुको अभाव भने नभएको बताए । गत शुक्रबार आन्तरिक राजस्व विभागले स्वदेशी प्याज तथा आलुमा भ्याट नलाग्ने स्पष्ट पारेसँगै अहिले आलुको आपूर्ति सहज भएको उनको भनाइ छ । नेपाल कृषि उपज आलु, प्याज तथा थोक विक्रेता संघका महासचिव प्रकाश गजुरेल भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाए पनि केही व्यापारीले व्यापारिक मित्रताका आधारमा पहल गरेर थोरै मात्रामा प्याज उपलब्ध भएको जस्तो देखिएको बताए । ‘आउन नसक्ने सामानलाई बजार ल्याएर बेच्दा अलिकति महँगो त पर्ने नै भयो,’ उनले भने ‘राष्ट्रियस्तरबाट पनि केही पहल हुन्छ भन्नेमा हामी विश्वस्त छौं । एक–दुई दिनमा सरकारको निर्णय पनि आउला ।’ केही व्यवसायीले चीनबाट पनि प्याज निर्यात गर्न लागेको खबर सुन्नमा आएको उनले बताए । ‘सामान लोड भइसकेको भए पनि नेपाल भित्रिन १०–१२ दिन त लागिहाल्छ,’ उनले भने, ‘यता, व्यवसायीले चीनबाट अर्डर गर्ने र उता भारतको प्रतिबन्ध खुल्ने भयो भने नेपाली बजारमा चिनियाँ प्याज बिकाउन गाह्रो हुन्छ ।’ उपभोक्ता हितमा कसले बोल्छ ? उपभोक्ता हितबारे सोच्ने र बोल्ने फुर्सद सायदै कसैलाई होला । उपभोक्ता अधिकारकर्मीबाहेक सरकारले पनि यसबारे बोलेको कमै सुनिन्छ । हाल भइरहेको प्याज हाहाकार र यसको अचाक्ली मूल्यवृद्धिप्रति उपभोक्ता अधिकारकर्मी के भन्छन् त ? ‘सरकारले भारतसँग कूटनीतिक पहल नगर्दा तस्करी भएर प्याज नेपाल भित्रिरहेको छ । नेपाल, बंगलादेश र भुटानका हकमा नेपालले भारतलाई चिठी लेख्यो भने भारतले निर्यात खुलाउने सम्भावना छ,’ उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ भन्छन्, ‘यसको मतलब नेपालमा प्याजको अभाव छैन भन्न खोजिएको हो । तर, बजारमा त प्याज छैन ।’ अझै विस्तृत बानियाँकै शब्दमाः नेपाल र भारतबीच खुला सीमाना । २० वटा साइकलमा प्याज ल्याइयो भने पनि एक ट्रक भइहाल्ने रहेछ । साइकलमै ल्याउँदा पनि रोकतोक गर्ने कोही छैन । त्यसरी प्याज भित्रिँदा बजार अभाव हुँदैन । पछि व्यापारीले अभाव देखाएर आफूखुसी मूल्यवृद्धि गर्छन् । उपभोक्ताले महँगो पनि तिर्नुपर्ने अनि राजस्व पनि उठ्ने । यो त आलु र प्याजमा जहिलेसम्म मूल्य अभिवृद्धि कर (भ्याट) लाग्छ, त्यो बेलासम्म यही अवस्था आउँछ । नेपालमा उत्पादन भएको आलु र प्याजमा भ्याट हटाउने भने पनि नेपाली आलु हो कि भारतीय कसरी चिन्ने ? आलुमा ठाउँको नाम लेखेको हुँदैन । राति २० देखि २२ वटा साइकलमा प्याज आइरहेको छ । सम्बन्धित निकायले के हेरेर बसेको छ थाहा छैन । ९ देखि १४ प्रतिशत सरकारले कृषि प्यवसाय प्रवद्र्धन कर लगाउने गरेको थियो । अहिले त्यो पनि खुकुलो गरेको छ । चीनबाट प्याज आयात गर्ने कुरा जुन आइरहेको छ, अहिले त्यो सम्भव छैन । स्याउ, लसुनलगायत अन्य वस्तु चीनबाट आयात त हुन्छ । तर, प्याज आयात गर्ने कुरा भन्नासाथ सहज भने छैन । अब प्याज र आलुमा भ्याट फिर्ता नगर्दासम्म हालत यस्तै हुन्छ । भारतले उत्पादन गरेको प्याज र आलुमा भ्याट लगाउने भनेको कुरा सही हो त ? नेपालले उत्पादन गरेका वस्तुमा सरकारले भारतलाई भ्याट लगाउन दिन्छ त ? त्यसैले गर्दा नै प्याजमा भारतले प्रतिबन्ध लगाएको हो । ००० अब कुरा सुनौं सरकारको । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव तथा प्रवक्ता गजेन्द्र ठाकुर प्याजको समस्याका विषयमा के कसरी गर्ने भनेर छलफल भइरहेको बताउँछन् । ‘भारत सरकारले आफैं प्याज बाहिरबाट आयात गरिरहेको अवस्था छ । भारतले नै अफ्रिकाबाट १० लाख टन प्याज आयात गरेको तथ्यांकले देखाएको छ,’ प्रवक्ता ठाकुर भन्छन्, ‘हामी पनि वैकल्पिक उपायहरू खोज्दै छौं । भारतलाई अनुरोध गर्ने एउटा बाटो छ । तर, उसले आयात गरेको प्याज मगाउँदा झनै महँगो पर्न जान्छ ।’ उनका अनुसार नेपालले पनि कुन वैकल्पिक माध्यमबाट ल्याउन सकिन्छ वा अफ्रिकाबाट लिएर आउने भन्ने योजना बनिरहेको छ । प्याज नाशवान वस्तु भएकाले ल्याइहाल्न पनि समस्या छ । ‘हामीले गृहकार्य गरिहेका छौं । तर, अहिले नै यो हुन्छ भन्न सक्ने अवस्था छैन,’ ठाकुर भन्छन्, ‘हामीलाई चाहिने खाद्यान्नमा हामी आफैं आत्मनिर्भर हुन सक्नुपर्छ । त्यसका लागि कृषिमै जोड दिने हो ।’ चालू आर्थिक वर्ष २०८०/८१ को चार महिनामा भारत र चीनबाट २ करोड २२ लाख ८२ हजार रुपैयाँको १ लाख २० हजार ७ सय ८४ किलो सुक्खा प्याज आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ । त्यस्तै गत आर्थिक वर्ष २०७९/८० मा ११ करोड ७४ लाख ४ हजार रुपैयाँको १३ लाख २८ हजार ६ सय ११ किलो प्याज आयात भएको थियो ।