उद्योग प्रतिष्ठानका प्राविधिकको क्षमता अभिवृद्धिका लागि तालिम सुरु
विराटनगर । उद्योग संगठन मोरङको आयोजना र इन्स्योर परियोजनाको प्राविधिक सहयोगमा यस क्षेत्रका उद्योग प्रतिष्ठानमा कार्यरत प्राविधिकहरुका लागि बाह्र दिने उर्जा दक्षता अभिवृद्धि तालिम प्रारम्भ भएको छ । तालिमको प्रारम्भ गर्दै संगठनका अध्यक्ष राकेश सुरानाले उद्योग प्रतिष्ठानको उत्पादकत्व र वस्तुको गुणस्तर प्रविधिकहरुमा निर्भर रहने भएकाले उर्जा दक्षता तालिमको आयोजना गरिएको बताए । उनले उद्योगहरुले प्राप्त उर्जाको व्यवस्थापन गरी त्यसबाट बढी भन्दा बढी लाभ लिनसके उद्योगको उत्पादन खर्च कटौतिमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । उद्योगहरुको लागि आवश्यक दक्ष प्राविधिकको विकासलाई मध्यनजर गरी यसप्रकारको तालिम आयोजनालाई भविष्यमा पनि निरन्तरता दिने अध्यक्ष सुरानाले बताए । इन्स्योर परियोजनाका कोशी प्रदेश प्रमुख संजव कुमार राईले परियोजनाले आगामी दिनमा उद्योग प्रतिष्ठानका आवश्यकता अनुरुप नयाँ क्षेत्र पहिचान गरी सोही आधारमा पाठयक्रम विकास गरी थप तालिम संचालन गरिने जानकारी दिए । दक्ष जनशक्तिले उद्योगको उत्पादकत्वमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यस प्रकारको तालिम आवश्यक रहेको औल्याए । तालिमका प्रशिक्षक संजय कुमार साहले तालिम अवधिमा प्राविधिकहरुलाई उर्जा खपत न्यूनिकरणका उपायहरु, खेर गईरहेको उर्जा नियन्त्रण तथा मेशिनको प्रयोग र संचालन विधि, प्राप्त उर्जाको समूचित उपयोग एवं व्यवस्थापन, उर्जा दक्षता पद्धती र महत्वका विषयमा सिकाईने बताए । बाह्र दिनसम्म संचालन हुने तालिमका यस क्षेत्रका उद्योग प्रतिष्ठानका बीस जना प्राविधिकहरुको सहभागिता रहेको छ ।
एडीबीद्वारा चीनको अर्थतन्त्र ५.२ प्रतिशतले वृद्धि हुने प्रक्षेपण
चीन । एसियाली विकास बैंक (एडीबी)ले एसिया प्रशान्त क्षेत्रका विकासशील अर्थतन्त्रका लागि आफ्नो आर्थिक प्रक्षेपण बढाएको छ । चीनको अर्थतन्त्रमा अपेक्षाभन्दा उच्च वृद्धि भएको एडीबीको प्रतिवेदन बुधबार सार्वजनिक भएको हो । एसियाली विकास समीक्षा डिसेम्बर २०२३ले तेस्रो त्रैमासिकमा घरायसी उपभोग र सार्वजनिक लगानीमा वृद्धि गरेपछि चीनको अर्थतन्त्र यस वर्ष ५.२ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ । क्षेत्रीय अर्थतन्त्र भने यस वर्ष ४.९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ । जुन अघिल्लो बर्षको सेप्टेम्बरमा ४।७ प्रतिशतको प्रक्षेपण गरिएको थियो । आगामी वर्षको लागि भने ४.८ प्रतिशत प्रक्षेपण कायम गरिएको छ । उद्योगमा दोहोरो अङ्कको वृद्धिसँगै जुलाई–सेप्टेम्बरमा अर्थतन्त्रको अपेक्षितभन्दा धेरै विस्तार भएपछि भारतको वृद्धिको दृष्टिकोण ६.३ प्रतिशतबाट बढेर ६.७ प्रतिशत पुगेको छ । एडिबीको प्रतिवेदनअनुसार चीन तथा भारतको स्तरवृद्धिमा उत्पादन क्षेत्रको कमजोर भुमिका देखापरेका कारण दक्षिणपूर्वी एसियाको प्रक्षेपण प्रभावित भएको हो । उत्पादित सामानको कमजोर निर्यात तथा न्युन मागका कारण यस वर्ष दक्षिणपूर्वी एसियाको वृद्धिदर ४.६ प्रतिशतबाट घटेर ४.३ प्रतिशतमा झरेको छ । प्रतिवेदनका अनुसार मध्य एसियामा अर्थतन्त्रको दृष्टिकोण थोरै बढेको छ भने प्रशान्त क्षेत्रको अर्थतन्त्रका लागि गरिएका अनुमानहरू सबै जसो अपरिवर्तित छन् । नतिजा प्रभावित हुनुलाई संयुक्त राज्य अमेरिकालगायत उन्नत अर्थतन्त्रमा लगातार बढेको ब्याज दरहरू जिम्मेवार देखिएका छन् । यसले कमजोर क्षेत्रका अर्थतन्त्रमा उच्च ऋण भएकाहरूमा वित्तीय अस्थिरतामा योगदान पु¥याउन सक्छ । विकसित एशियाले चुनौतीपूर्ण विश्वव्यापी वातावरणको सामनाका बाबजुद पनि बलियो गतिमा वृद्धि भइरहेको एडिबीका प्रमुख अर्थशास्त्री अल्बर्ट पार्कले बताएका छन् । उनका अनुसार यस क्षेत्रमा मुद्रास्फीति पनि बिस्तारै नियन्त्रणमा आउँदैछ । उच्च विश्वव्यापी ब्याज दरदेखि एल निनो जस्ता जलवायु घटनाहरू सम्म जोखिमहरू बढ्दै छन् । एशिया तथा प्रशान्त क्षेत्रका सरकारहरूले आफ्नो लचिलो अर्थतन्त्र वृद्धि सुनिश्चित गर्न सतर्क रहनु आवश्यक छ । चालु वर्षको लागि यस क्षेत्रको मुद्रास्फीति दर अघिल्लो ३.६ प्रतिशतको प्रक्षेपणबाट ३.५ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष ३.५ प्रतिशतको प्रक्षेपणको बावजुद आगामी वर्ष मुद्रास्फीति ३.६ प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ । एल निनो मौसम ढाँचा वा रूस–युक्रेन द्वन्द्वको कारणले हुने सम्भावित खाद्य र ऊर्जाको आपूर्ति अवरोधहरूले पनि मुद्रास्फीतिलाई पुनःजगाउन सक्ने सन्दर्भ प्रतिवेदनमा उल्लेख गरिएको छ । रासस
सचेत रहन वैदेशिक रोजगार विभागको आग्रह
काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायलमा रोजगारीको प्रलोभन देखाउने विभिन्न व्यक्ति तथा समूह सक्रिय रहेको जनाउँदै सचेत रहनआग्रह गरेको छ । नेपाल सरकार र इजरायल सरकारबीचको श्रम सम्झौता बमोजिम मात्रै इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट सहायक कामदार पठाउने काम भइरहेको विभागका प्रवक्ता तथा सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिए। उनका अनुसार इजरायलको कृषि क्षेत्रमा नेपाली श्रमिक लैजाने विषयमा इजरायलसँग छलफल भइरहे पनि यस विषयमा कुनै पनि निर्णय भइसकेको छैन । वैदेशिक रोजगार विभागले सार्वजनिक सूचना प्रकाशित गरी कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’ कार्यक्रम तथा अरु क्षेत्रमा रोजगारीको अवसर जनाउँदै ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै सचेत रहन आग्रहसमेत गरेको छ । यस्तो खालको ठगीका सम्बन्धमा सुक्ष्म अनुसन्धान भइरहेको र यस्ता सूचना तथा गिरोहको प्रलोभनमा नपर्न विभागद्वारा प्रकाशित उक्त सूचनामा उल्लेख गरिएको छ । इजरायलका विभिन्न क्षेत्रमा रोजगारीको प्रलोभन देखाइ विभिन्न व्यक्ति तथा समूहले गैरकानुनी रुपमा प्रलोभनमा पारी रकम उठाउने गरेको सूचना विभागमा आएकाले सचेत रहन आग्रह गरिएको प्रवक्ता तथा सूचना अधिकारी उप्रेतीले बताए । उनले भने, ‘इजरायलका विभिन्न क्षेत्रमा रोजगारीको प्रलोभन देखाइ पैसा माग्ने गरेको भन्ने सूचना हामीलाई प्राप्त भएको छ, हामी छानबिन गर्दैछौँ ।’ रासस
कुमारी बैंकको ऋणपत्र सूचीकृत, भोलिदेखि कारोबार गर्न सकिने
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा कुमारी बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको अंकित मूल्य एक हजार रुपैयाँ दरका ५० लाख थान ऋणपत्र मंसिर २७ गते नेप्सेमा सूचीकृत भएको हो । बैंकको १० प्रतिशत केबिएल डिबेञ्चर २०९०’ सूचीकरणको लागि नेप्से र बैंकबीच सम्झौता भएको छ । यससँगै मंसिर २८ गतेदेखि उक्त ऋणपत्र दोश्रो बजारमा किनबेच गर्न पाइने छ । बैंकले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग मार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि बिक्री खुला गरेको थियो ।
मुक्तिनाथ कृषि कम्पनीको आईपीओ सूचीकृत, न्यूनतम रेञ्ज ७६.८१ रुपैयाँ
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बुधबार कम्पनीको ७० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै कम्पनीको सेयर भोलि अर्थात बिहीबारदेखि दोश्रो बजारमा किनबेच हुने छ । जसको लागि नेप्सेले प्रतिकित्ता सेयर न्यूनतम ७६.८१ रुपैयाँदेखि अधिकतम २३०.४३ रुपैयाँसम्मको रेञ्ज तोकिदिएको छ । यससँगै बजारमा कम्पनीको पहिलो कारोबार उक्त रेञ्जभित्र रहेर हुने छ । जसको स्टक सिम्बोल भने ‘एमकेसीएल’ दिइएको छ । यससँगै कम्पनीले सेयर सूचीकरण पश्चात दिनुपर्ने आरटीएस सेवा नक्सालमा रहेको मुक्तिनाथ क्यापिटल मार्फत हुने छ ।
कौसीखेतीबाट मनग्य आम्दानी गर्दै गायक प्रेमराज
दोधारा चाँदनी । कञ्चनपुर भीमदत्त नगरपालिका–३ तिलकपुरका प्रेमराज खत्रीले घरको छतभरि कौसीखेती गरी विभिन्न प्रकारका तरकारी फलाएका छन् । उनको कौसीमा बाँसले बनाएका र्याकमा गोलभेँडा, काउली, हरियो खुर्सानी, रायो र चाइनिज सागलगायत हिउँदे तरकारीले हराभरा छ । उनको बारीमा विभिन्न प्रजातिका फलफूलका बिरुवा र जडीबुटीले हराभरा देख्निछ । गाउँका धेरैले उनको बारीलाई अशोक बाटीका भन्ने गर्दछन् । उक्त बारीमा नभएको कुनै बिरुवा छैन । ‘२०६६ सालमा प्रहरीबाट सेवानिवृत्त भएपछि मैले खेती सुरु गरेको हुँ’ उनले भने ‘सुरुआतमा घरमा खानलाई उत्पादन गर्न खोजेको हुँ अहिले बिक्री गर्न थालेको छु मासिक चार/पाँच हजार आम्दानी हुन्छ ।’ उनले आफुसँग जग्गा नभएका कारण घरको छतमा खेती गर्नुपरेको बताए । ‘यहाँ मेरो दुई कठ्ठा एक धुर जग्गा छ त्यसमा घर बनेको छ तरकारी खेती गर्न ठाउँ छैन’ खत्रीले भने’ जग्गा नभएपछि छतमा खेती सुरु गरे यहाँ सबै प्रकारका तरकारी छन् राम्रो फल्छ ।’ तरकारी बिक्रीबाट मासिक चार/पाँच हजार र दूध बिक्रीबाट मासिक १६ हजार आम्दानी हुने गरेको उनले बताए । ‘केही गरौँ भन्ने भावना भएको मानिस कहिले बेरोजगार हुँदैन’ उनले भने ‘यहाँ धेरै मानिस आफ्नै मनिस्थितिले बेरोजगार भएका छन् ।’ उनले आफ्नो सीप प्रयोग गरे स्वदेशमै रोजगार रहेको बताए । ‘मेरो परिवारले अहिलेसम्म बजारको औषधि खानुपरेको छैन’ उनले भने ‘घरको उत्पादनले आफू पनि स्वस्थ्य भइन्छ आम्दानी पनि हुन्छ ।’ अहिले खेतीबाटै आएको आम्दानीले छोराछोरीको पठनपाठन खर्च चलेको उनले बताए । ‘छोरो विएससी सिएसआई र छोरी विएससी अध्ययन गर्दै छन्’ उनले भने’तरकारी बिक्रीबाट आएको रकमले घरखर्च सबै चलेको छ ।’ उनी कृषि सँगसँगै भाषा संस्कृति संरक्षणमासमेत सक्रिय छन् । २०३९ सालमा रेडियो नेपालबाट स्वर परीक्षण उत्तीर्ण गरेका उनी ‘हो… जिल्ला बैतडी’ बोलको देउडा गीतका रचनाकारसमेत हुन् । बैतडीको प्रसिद्ध धार्मिक जगन्नाथ र त्रिपुरासुन्दरी मन्दिर बैतडी जिल्लाको परिचय र धार्मिक देवालयको इतिहास समेटेर बजारमा ल्याएको उनको उक्त गीत अहिले पनि उत्तिकै चर्चामा छ । रासस
काठमाडौंमा २६४ वटा बस बिसौनी बनाउँदै महानगर, यातायात प्रणालीमा थप सुधार गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले २६४ ठाउँमा बस बिसौनी निर्माण गर्ने योजना बनाएको छ । २९ औँ महानगर दिवस २०८० का अवसरमा बुधबार महानगरपालिकामा आयोजना गरिएको महानगरपालिका र ट्राफिक प्रहरीबीच समन्वय तथा सहकार्य सम्बन्धी अन्तरक्रियामा महानगरले उक्त योजना सर्वाजनिक गरेको हो । महानगरले यातायात प्रणालीको सुधारका लागि बसको रुट मिलाउने, पेलिकन क्रसिङ् लाइट विस्तार गर्दै जाने, एकतर्फी सडकहरुको व्यवस्थापन गर्ने, मोटरसाइकल ग्यारेज सञ्चालनका लागि मापदण्ड बनाउने, सडकमा कोन र डिभाइडरको व्यवस्थापन गर्ने, पेट्रोल पम्प व्यवस्थापन गर्ने, सडक संकेत र चिन्ह व्यवस्थापन गर्नेलगायत काम गर्ने तयारी गरेको छ । यससँगै दैनिक उपभोग्य बस्तुको ढुवानी, मालबाहक सवारी, विद्यालयका बसहरुको समय निर्धारण गर्ने, पार्किङ्ग व्यवस्थापन गर्ने, विद्यालयमा यातायात प्रणाली सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन हुनेछन् । कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले, संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को पहिलो बैठक सम्पन्न भइसकेको जानकारी गराउँदै सम्बद्ध कार्यालयहरुसँग सहकार्य अगाडि बढाइएको बताए । उनले अहिले सानातिना सुधारका काम गर्दा प्रणालीमा सुधार गरौं र काठमाडौँमा अटो रिक्सा, इरिक्सा र ठेला प्रयोगमा पूर्ण रोक लगाउने बताए । अन्तरक्रियामा प्रस्तुतिकरण गर्दै अतिरिक्त प्रहरी महानिरीक्षक पोषराज पोखरेलले महानगरपालिकासँगको सहकार्यमा जनशक्तिमा प्रोत्साहन बढ्ने, प्रणालीमा सुधार हुने काम गर्न सकिने बताए । बागमती, विष्णुमती, धोवीखोला र मनोहरा करिडोरलाई दुईतर्फी सञ्चालन गराउन पाए सवारी चाप गराउन सकिने बताउँदै पोखरेलले, यसका लागि महानगरपालिकाको भूमिका आवश्यक रहेको बताए । यातायात प्रणाली सुधारका विषयमा प्रस्तुतिकरण गर्दै महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले, संकेत चिन्हहरु मिलाउन तत्काल काम थाल्नुपर्ने बताए । यस्ता चिन्हहरु आधिकारिक निकायले अध्ययन गरेर मात्र राख्नु पर्ने भएकोले महानगरपालिकाले यसतर्फ काम गरिरहेको उनको भनाइ छ । प्रणाली सुधार गर्न धेरै काम गर्नु पर्ने र यस वर्ष यातायात क्षेत्रको सुधारका लागि ४४ करोड रुपैयाँ छुट्याएर काम भइरहेको उनले बताए । अन्तरक्रियामा विभिन्न ट्राफिक पोष्टमा बसेर काम गरिरहेका इञ्चार्जहरुले आफ्नो क्षेत्रको अवस्थामा विषयमा जानकारी गराएका थिए ।
अर्थतन्त्रले सही बाटो समाएको छ, नतिजा देखिन समय लाग्नेछ
मैले अर्थमन्त्रीको कार्यभार सम्हाल्दा अर्थतन्त्रका अधिकांश परिसूचक अनुकूल अवस्थामा थिएनन् । कोभिडको समयमा लिइएको खुकुलो मौद्रिक तथा वित्त नीतिका कारण घरजग्गा, सेयर र वस्तु आयाततर्फ उच्च कर्जा प्रवाह भएकोमा विदेशी विनियम संचितिमा परेको चापलाई समाधान गर्न भनी लिइएको नियन्त्रणकारी मौद्रिक नीतिले गर्दा कर्जा प्रवाह विस्तार हुन नसकेको, व्याजदर बढ्न गएको, उपभोग प्रभावित हुँदा र केही वस्तुको आयात प्रतिबन्धका कारण आयात घट्न गएकोले राजस्व संकलन कमजोर भई सार्वजनिक वित्त सन्तुलनमा चाप परेको थियो भने घर जग्गा र शेयर कारोवारमा ठूलो गिरावट आएको थियो । अर्को, सार्वजनिक खर्चतर्फ आयोजनाको प्राथमिकिकरणको अभाव र संभावित दायित्वको आंकलन नगरी खरिद प्रक्रिया अगाडि बढाउँदा खर्च व्यवस्थापन चुनौतीपूर्ण अवस्थामा रहेको थियो । कतिपय वाह्य परिस्थितिका कारण पनि अर्थतन्त्रमा सिथिलता आउनुमा थप योगदान पुगेको थियो । बजेटमा प्रस्तावित सुधार र कार्यान्वयनको स्थिति मैले आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत घोषणा गरेको आर्थिक सुधार र बजेट प्रणाली सुधारका विषयहरु अहिले क्रमश: कार्यान्वयनका क्रममा रहेका छन् । सरकारी खर्च तर्फ वित्त अनुशासनलाई जोड दिइएको छ । स्रोतको उपलब्धताका आधारमा बहुवर्षिय ठेक्कामा सहमती दिने गरी नयाँ मापदण्ड जारी गरिएको छ जसमा चालु आर्थिक वर्षको विनियोजनको ४ गुणासम्म मात्र सहमती दिन सकिने व्यवस्था गरिएको छ । यस व्यवस्थाले आयोजनाको प्राथमिकिकरण हुनुका साथै भविष्यमा सिर्जना हुन सक्ने दायित्व व्यवस्थापन सहज हुन जान्छ। त्यसै गरी आयोजनाको महत्वका आधारमा बजेट विनियोजन गर्ने प्रणाली बसालिएको छ । अन्तर्राष्ट्रिय विकास सहायता सम्बन्धी नयाँ नीतिको तर्जुमा शुरु गरिएको छ। जुनसुकै परियोजनामा अनावश्यक ऋण सहायता लिने प्रवृत्तिको सट्टा आवश्यकता र औचित्यका आधारमा मात्र ऋण परिचालन गर्न शुरु गरिएको छ। जलवायु परिवर्तनका कारण मुलुकलाई पर्न गएको असरको क्षतिपूर्ति स्वरुप अनुदान र सहुलियतपूर्ण ऋण सहायता परिचालनमा जोड दिने नीति लिइएको छ । विभिन्न अन्तर्राष्ट्रिय फोरमहरुमा जलवायु परिवर्तनसँग सम्बन्धित अन्तर्राष्ट्रिय दातृ निकाय तथा कोषबाट अनुदान र सहुलियतपूर्ण ऋण सहायता परिचालन हुनुपर्ने विषयमा स्पष्ट धारणा राखिएको र यसमा विकास साझेदारहरु सहमत भएकोले आगामी दिनमा यसको नतिजा आउने स्थिति बनेको छ । त्यसैगरी, राजस्व परिचानलमा क्रमशस् सुधार भएको छ । बजेट मार्फत गरिएका नीतिगत परिवर्तन, नयाँ कराधार विस्तार र दरमा गरिएको औचित्यपूर्ण परिवर्तन र राजस्व चुहावट नियन्त्रण गर्न गरिएका प्रयासले परिणाम देखिन थालेको छ।कर प्रणालीमा सुधारका लागि उच्च स्तरिय समिति गठन भई समितिले काम गरिरहेको छ । त्यसैगरी अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक बिचको उच्च स्तरको निरन्तर छलफल र समन्वयबाट मौद्रिक नीतिलाई क्रमशस् खुकुलो बनाउँदै लगिएको छ । हालै भएको मौद्रिक नीतिको चौमासिक समीक्षाबाट मौद्रिक नीतिमा महत्वपूर्ण परिवर्तन भएको छ । सार्वजनिक संस्थान सुधारका लागि निजिकरण समितिलाई क्रियाशिल बनाई काम अगाडि बढाइएको छ । सम्मानीय प्रधानमन्त्री तथा मेरो उपस्थितिमा निजी क्षेत्र, अर्थविद र सरोकारवालासँग पटक पटक अन्तर्क्रिया गरी प्राप्त सुझावका आधारमा आर्थिक सुधारका विषयलाई अगाडि बढाइएको छ । वर्तमान आर्थिक अवस्था र परिणामहरु माथी उल्लेख गरिएका सुधारका प्रयासले आर्थिक क्रियाकलापहरु क्रमशस् चलायमान भएका छन् । यस अवधिमा पुँजीगत खर्चतर्फ करीब ६.० प्रतिशत वृद्धिदर रहेको छ । त्यसैगरी भन्सार महसुल तर्फ करीब १३ प्रतिशत, मूल्य अभिवृद्धि कर तर्फ करीब ७.१९ प्रतिशत, आयकर तर्फ करीब १२ प्रतिशत र समग्र कर राजस्व तर्फ ७.५७ प्रतिशत वृद्धिदर कायम रहेको छ । वित्तीय क्षेत्र तर्फ मौद्रिक नीति मार्फत नीतिगत दर ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत, बैंक दरलाई ७.५ प्रतिशतबाट ७ प्रतिशत र निक्षेप संकलनको बोलकबोल दर ४.५ प्रतिशतबाट ३.० प्रतिशत कामय गरिएको छ । जसबाट ब्याजदर क्रमशस् घट्दै गएको छ । हाल अन्तर बैंक दर २.५ प्रतिशतको हाराहारीमा रहेको छ । २०७९ चैत्र महिनामा बाणिज्य बैंकहरुको औषत आधार दर १०.४८ प्रतिशत रहेको २०८० असोज मसान्तमा बाणिज्य बैंकहरुको औषत आधार दर ९.९४ प्रतिशत रहेको छ । २०७९/८० को पहिलो चार महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा रु ६८.५५ अर्ब रहेकोमा यस वर्ष यस अवधिमा रु १३० अर्ब पुगेको छ । निक्षेप तर्फ २०७९/८० को पहिलो चार महिनामा रु ४६.७४ अर्ब रहेकोमा यस वर्ष सोही अवधिमा रु २४४ अर्ब पुगेको छ । मौद्रिक नीतिमा हालै गरिएको परिवर्तनले बैंक तथा वित्तीय क्षेत्रमा परेको सकारात्मक प्रभाव क्रमशः आर्थिक क्रियाकलापमा प्रतिबिम्वित हुँदैछ । घरजग्गा र शेयर कारोवार बढ्न शुरु भएको छ । हालै शेयर बजारमा आएको उत्साहले सकारात्मक संकेत गरेको छ । त्यसैगरी २०८० चैत्र सम्म समस्यामा परेका ऋणीहरुलाई कर्जाको पुनर्संरचना गर्ने अवधि दिइएको छ । साथै, हाल घट्दो व्याजदरले विविध कारणले बैंक ऋण तिर्न नसकेका व्यवसायीलाई राहत दिनेछ । सम्झौता बमोजिम काम सम्पन्न भई अर्थ मन्त्रालयमा प्राप्त निर्माण व्यवसायीलाई भुक्तानी दिन बाँकी रकमको अधिकांश दायित्व व्यवस्थापन गरिसकिएको छ । अर्थतन्त्रको वाह्य क्षेत्रका परिसूचकहरु अनुकूल बनेका छन् । २०८० असोज मसान्तसम्म चालु खाता रु ५९ अर्ब ले बचतमा रहेको, रु ९९ अर्बले सोधनान्तर बचतमा रहेको र १२ अर्ब ३३ करोड अमेरिकी डलर विदेशी विनिमय संचिति रहेको छ । विप्रेषणको आप्रवाह २०८० असोजमसम्ममा ३० प्रतिशले बढेकोले वाह्य क्षेत्र सन्तुलनको अवस्था राम्रो रहेको छ । चालु आर्थिक वर्षमा पर्यटक आगमनमा उत्साहजनक वृद्धि भई २०२३ को हालसम्म ९ लाख ५४ हजार पर्यटक आगमन भएको छ जुन अहिलेसम्मकै उच्च हो । चालु आर्थिक वर्षमा करीब ९०० मेगावाट जलविद्युत राष्ट्रिय प्रशारणमा जोडिने क्रममा रहेको छ । आगामी कार्यदिशा सरकारले शुरु गरेका आर्थिक र वजेट प्रणाली सुधारका कार्यक्रमलाई अझ विस्तार गरिनेछ।अल्पकालमा सरकार र निजी क्षेत्र बिच उच्च स्तरको समन्वय कायम गरी हाल अर्थतन्त्रमा देखिएको सकारात्मक अवस्थालाई उपभोग र लगानीमा प्रतिबिम्बित गराउने, सरकारको खर्चमा मितव्ययिता कायम गर्दै सरकारी लगानीमा विद्यमान अवरोधहरु फुकाउने, मुलुकको पश्चिम क्षेत्रमा आएको भूकम्पबाट प्रभावितहरुलाई तत्काल राहत र अस्थायी आवासको व्यवस्था गरी ध्वस्त संरचनाको छिटो पुनर्संरचना गर्ने र युवाहरुलाई स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गर्दै अपेक्षित आर्थिक वृद्धिदर हासिल गर्न जोड दिइनेछ । आगामी वैशाख ९ र १० गते सरकारले लगानी सम्मेलनको घोषण गरी त्यसको तयारी शुरु गरेको छ । लगानी सम्मेलन अघि नै लगानी सँग सम्बन्धित कतिपय नीतिगत र कानुनी सुधार अगाडि बढाइनेछ । लगानी सम्मेलनमा तुलनात्मक लाभका र आयात प्रतिस्थापन गर्न सकिने क्षेत्रमा संभावित लगानीकर्ताहरुको उपस्थितिमा सार्थक लगानी सम्मेलन गर्न सरकार लागि परेको छ । दीर्घकालमा आर्थिक सुधारसँग जोडिएका नीति र कानुनको तर्जुमा र कार्यान्वयन गर्दै लगानीको अनुकूल वातावरण सिर्जना गरिनेछ । जलविद्युतको विकास, पर्यटन, कृषिको व्यवसायीकरण, सूचना प्रविधि क्षेत्रको प्रचुर संभावनालाई ध्यानमा राखी स्वदेशी र विदेशी लगानी आकर्षित गर्ने नीति सरकारले लिनेछ। समग्रमा मुलुकको अर्थतन्त्रले सही बाटो समाएको छ । थप आर्थिक सुधारका साथ आगामी बजेट तर्जुमाको गृहकार्य शुरु भइसकेको छ । सबै सुधारका प्रयासले नतिजा दिन केहि समय लाग्नेछ । मिडिया जगतबाट समेत अर्थतन्त्रमा देखिएका सकारात्मक संकेतहरुको यथार्थ सुचना प्रवाहमा मद्दत पुग्नेछ भन्ने विश्वास लिएको छु । यसले अर्थतन्त्रमा थप आत्मविश्वास कायम गर्नेछ । (अर्थमन्त्री डा. महतले बुधबार पत्रकारसँगको अन्तर्क्रिया कार्यक्रममा राखेका मन्तव्य)