काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफूले अर्थमन्त्रीकारूपमा कार्यभार सम्हालेपछि अर्थतन्त्रमा सुधार भएको बताएका छन् । बुधबार वर्तमान आर्थिक अवस्थाकाबारेमा जानकारी दिने उद्देश्यले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अहिले अर्थतन्त्रमा धेरै सुधार आएको बताएका हुन् ।
उनका अनुसार आफू अर्थमन्त्री हुनुअघि बैंकको ब्याज बढ्ने अवस्थामा रहेको, सेयर र घरजग्गामा मन्दी रहेको बताउँदै आफू आएपछि ती क्षेत्रमा धेरै सुधार भएको धारणा राखे ।
‘मैले अर्थमन्त्रीको कार्यभार सम्हाल्दा अर्थतन्त्रका अधिकांश परिसूचक अनुकूल अवस्थामा थिएनन्, कोभिडको समयमा लिइएको खुकुलो मौद्रिक तथा वित्त नीतिका कारण घरजग्गा, सेयर र वस्तु आयात तर्फ उच्च कर्जा प्रवाह भएकोमा विदेशी विनियम संचितिमा परेको चापलाई समाधान गर्न भनी लिइएको नियन्त्रणकारी मौद्रिक नीतिले गर्दा कर्जा प्रवाह विस्तार हुन नसकेको, व्याजदर बढ्न गएको, उपभोग प्रभावित हुँदा र केही वस्तुको आयात प्रतिबन्धका कारण आयात घट्न गएकोले राजस्व संकलन कमजोर भई सार्वजनिक वित्त सन्तुलनमा चाप परेको थियो, घर जग्गा र सेयर कारोवारमा ठूलो गिरावट आएको थियो, तर म अर्थमन्त्री बनेपछि यी सबै क्षेत्रमा सुधार आयो,’ उनले भने ।
यस्तै, उनले सार्वजनिक खर्च तर्फ आयोजनाको प्राथमिकिकरणको अभाव र सम्भावित दायित्वको आँकलन नगरी खरिद प्रक्रिया अगाडि बढाउँदा खर्च व्यवस्थापन चुनौतीपूर्ण अवस्थामा रहेको बताए । अहिले कतिपय वाह्य परिस्थितिका कारण पनि अर्थतन्त्रमा सिथिलता आउनुमा थप योगदान पुगेको बताए ।