फरवार्ड माइक्रोफाइनान्सको सेयर कारोबार रोक्का, नेप्सेले सोध्यो स्पष्टिकरण
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरिदिएको छ । नेप्सेले संस्थासँग तीन दिने स्पष्टिकरण माग्दै कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको हो । लघुवित्तले लाभांश घोषणा सम्बन्धी निर्णय नेप्सेलाई ढिला जानकारी गराएको भन्दै नेप्सेले कारवाही स्वरुप कम्पनीको सेयर कारोबार रोकिदिएको हो । कम्पनीको मंसिर २७ गते बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरेको थियो । जसको जानकारी नेप्सेलाई मंसिर २८ गते बिहीबार दिउँसो १२ बजेर ४६ मिनेटमा मात्रै उपलब्ध भएको नेप्सेले जनाएको छ । यससँगै धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनिमय २२(१) मा भएको व्यवस्था बमोजिम धितोपत्रको मूल्यमा प्रभाव पार्ने निर्णय वा सूचना नेप्सेलाई जानकारी सोहि दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि नै सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने उल्लेख छ । तर लघुवित्तले त्यसको विपरित अर्थात कारोबार खुला रहेको समयमा लाभांश सम्बन्धी जानकारी गराएको भन्दै नेप्सेले कम्पनीको कारोबार स्थगन गरेको हो । साथै, यस विषयमा के भएको हो ? के कारणले समयमा नै जानकारी दिन नसकेको हो ? भन्दै यसमा नेप्सेले संस्थासँग यसको स्पष्टिकरण माग गरेको छ । जसको लागि तीन कार्यदिनको समय दिइएको छ । यससँगै कम्पनीले पुस २ गते सोमबारभित्रमा नेप्सेलाई स्पष्टिकरण दिइसक्नु पर्ने हुन्छ ।
सूर्यज्योति लाइफका सञ्चालक शर्माले दिए राजीनामा
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सका सञ्चालक नन्दकिशोर शर्माले राजीनामा दिएका छन् । संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक शर्माले आफ्नो व्यक्तिगत कारण देखाई राजीनामा दिएका हुन् । उनको राजीनामालाई मंसिर २७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ ।
हस्तकला व्यापार मेला सुरु, लाखौं मूल्यका सामग्री प्रदर्शनीमा
काठमाडौं । नेपाल हस्तकला महासंघले आयोजना गरेको २०औं हस्तकला व्यापार मेला तथा १८औं हस्तकला प्रतियोगिता आजबाट सुरु भएको छ । दरबारमार्गस्थित होटेल डेल अन्नपूर्णमा भइरहेको उक्त व्यापार मेला पुस २ गतेसम्म सञ्चालनमा हुनेछ । महासंघ स्थापनाको ५१ औं वार्षिकोत्सव तथा १२औं हस्तकला दिवसको अवसर पारेर सुरु गरिएको उक्त मेलाको बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरे । उद्घाटनका क्रममा पौडेलले विदेशी मुद्रा अर्जन गर्ने प्रमुख वस्तुका रूपमा हस्तकला रहेकोले यसको प्रवर्द्धन गर्न अपरिहार्य रहेको बताए । ‘नेपाली हस्तकलाका सामग्री निर्यात गर्न सरकारको सहयोग पनि व्यवसायीलाई आवश्यक छ, परम्परामा आधारित वस्तुलाई उपयोगितासँगै सौन्दर्य थप्दै लैजाने पद्धति हस्तकलाभित्र पर्छ, त्यसैले युवा पुस्तालाई पनि यसको सीप दिन जरुरी देखिन्छ,’ उनले भने । नेपाली हस्तकला वस्तुको अन्तर्राष्ट्रिय बजारमा पुर्याउन व्यवसायीलाई सरकारले सहयोग गर्नुपर्ने पौडेलको भनाइ छ । यस्तै, महासंघका अध्यक्ष प्रचण्ड शाक्यले मेलाबाट हस्तकलाका वस्तुहरूको स्थानीय र अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा सहयोग पुर्याउने बताए । उनका अनुसार हाल नेपालबाट वार्षिक १२ अर्ब रुपैयाँको हस्तकलाका सामग्रीहरू निर्यात भइरहेको छ । मेलामा धातुकला, काष्ठकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा आदि हस्तकला सामानहरूको प्रदर्शनी राखिएको पनि शाक्यले बताए । मेलामा ३ वटा प्याभिलियनसहित करिब १ सय ३० वटा हस्तकलाका वस्तुका स्टलहरू रहेका छन् । लाखौं मूल्य पर्ने हस्तकलाका सामग्री प्रदर्शनीमा राखिएको छ । महासंघले मेलामा झण्डै १ लाख आगन्तुक आउने अपेक्षा गरेको छ । जसमध्ये २० हजार आगन्तुकका लागि निःशुल्क प्रवेश पास वितरण गरिने पनि बताइएको छ । यस्तै, व्यापार मेला अवलोकन गर्नको लागि महासंघले एक सय रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ । जेष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिहरूलाई निःशुल्क प्रवेशको व्यवस्था महासंघले मिलाएको हो ।
काठमाडाैं । अन्तर्राष्ट्रिय बजारमा गत आर्थिक वर्ष २०७९ कात्तिक मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ९२.६१ रहेको कच्चा पेट्रोलियमको मूल्य चालु आर्थिक वर्षको कात्तिक मसान्तमा १६.१ प्रतिशतले कमी आई अमेरिकी डलर ७७.७३ कायम भएको छ राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०७९ कात्तिक मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर १७७३ रहेकोमा चालु आर्थिक वर्षको कात्तिक मसान्तमा ११.७ प्रतिशतले वृद्धि भई अमेरिकी डलर १९८०.१० पुगेको छ । त्यस्तै चालु आर्थिक वर्षको असार मसान्तको तुलनामा कात्तिक मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ १.१८ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ १.५१ प्रतिशतले अवमूल्यन भएको थियो । चालु आर्थिक वर्षको कात्तिक मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १३२.७४ रुपैयाँ पुगेको छ । असार मसान्तमा उक्त विनिमय दर १३१.१७ रुपैयाँ रहेको थियो ।
नेपालीले चार महिनामा गरे विदेश भ्रमणमा ६१ अर्ब र विदेशमा पढ्न ३८ अर्ब खर्च
काठमाडौं । नेपालीले चालु आर्थिक वर्षको चार महिनामा विदेश भ्रमणमा ६१ अर्ब ९२ करोड र विदेशमा पढ्न ३८ अर्ब ४४ करोड रुपैयाँ खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको तुलनामा समिक्षा अवधिमा नेपालीहरुले विदेश भ्रमणमा ६५ प्रतिशत खर्च गरेका हुन् । समीक्षा अवधिमा शिक्षातर्फको व्यय ३८ अर्ब ४४ करोड रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ३७ अर्ब ५४ करोड रहेकोमा शिक्षातर्फको व्यय २२ अर्ब ६१ करोड रहेको थियो । त्यस्तै, सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय पनि ४७.२ प्रतिशतले वृद्धि भई २५ अर्ब ७४ करोड पुगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख गरिएको छव । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १७ अर्ब ४९ करोड रहेको थियो ।
राष्ट्र बैंकको तथ्यांकमा घट्यो मूल्यवृद्धि, मरमसलाको भाउ भने ३६.४६ प्रतिशतले वृद्धि
काठमाडौं । कात्तिक महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत कार्त्तिक महिनामा मुद्रास्फीति घटेर ५.३८ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.०८ प्रतिशत रहेको थियो । कात्तिकमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.०१ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८९ प्रतिशत रहेको छ । खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ३६.४६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १४.५९ प्रतिशत, फलफूलको १४.०१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.०२ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ११.०० प्रतिशतले बढेको छ । कात्तिकमा घ्यू तथा तेल र तरकारी उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक क्रमशः १४.२३ प्रतिशत र ५.३५ प्रतिशतले घटेको छ । गैर-खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १२.८४ प्रतिशत, विविध वस्तु तथा सेवाहरूको १०.७६ प्रतिशत, शिक्षाको ८.९२ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरूको ५.२७ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ४.९६ प्रतिशतले बढेको छ । कात्तिकमा यातायात उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १.८६ प्रतिशतले घटेको छ । कात्तिक महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.०० प्रतिशत, तराईको ४.४२ प्रतिशत, पहाडको ६.०७ प्रतिशत र हिमालको ८.७९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरूको यस्तो मुद्रास्फीति क्रमशः ७.५६ प्रतिशत, ८.५२ प्रतिशत, ८.०३ प्रतिशत र ६.६८ प्रतिशत रहेको थियो ।
शोधनान्तर स्थिति डेढ खर्ब र चालु खाता १ खर्ब रुपैयाँले बचत
काठमाडौं । चालुु आर्थिक वर्षको चार महिनामा शोधनान्तर स्थिति डेढ खर्ब बचत रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को कात्तिकसम्मको तथ्याङ्क अनुसार शोधनान्तर स्थिति १ खर्ब ४७ अर्ब ११ करोड रुपैयाँ बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २० अर्ब ३ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १४ करोड ९६ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ११ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा चालु खाता ९६ अर्ब ३८ करोड रुपैयाँले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३७ अर्ब ७९ करोड रुपैयाँले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २९ करोड ६१ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ७२ करोड ५१ लाखले बचतमा रहेको छ । गत कात्तिकसम्म पुँजीगत ट्रान्सफर ४६.६ प्रतिशतले कमी आई १ अर्ब ५९ करोड रुपैयाँ कायम छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर २ अर्ब ९७ करोड रुपैयाँ कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४२ करोड ९२ लाख रुपैयाँ थियो ।
अर्थतन्त्रका सूचकमा सुधार हुँदै गएको छ : अर्थमन्त्री
ललितपुर । अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रका सूचकहरुमा सुधार हुँदै गएको जानकारी गराएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसद्वारा आज ललितपुरमा आयोजित औद्योगिक नीति तथा श्रम सम्बन्ध विषयक कार्यक्रममा उनले पर्यटकहरुको वृद्धि हुँदै गएको, बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घट्दै गएको, रेमिट्यान्स बढ्दै गएको जानकारी गराउँदै अहिले अर्थतन्त्रका सबै सुचकहरुमा सुधार हुँदै गएको बताएका हुन् । ‘अहिले अर्थतन्त्रका सूचकहरुमा सुधार हुँदै गएको छ, पर्यटकको वृद्धि हुँदै गएको छ, ब्याजदर घट्दै छ, रेमिट्यान्स पनि बढ्दैछ, हामीले छलफल गरेर मौद्रिक नीतिमा पनि केही लचिलो बनाउन प्रयत्न गरेका छौं, विस्तारै उद्योग व्यवसाय पनि सबल बन्दै जानेछ, श्रमिककको माग पनि वृद्धि हुँदै जाने छ, श्रमिकहरु विस्थापित हुने अवस्था अन्त्य हुनेछ,’ अर्थमन्त्री महतले भने, ‘नेपालको अर्थतन्त्र समस्यामा थियो, अहिले हामी हटाउन लागेका छौं ।’ उनले बेरोजगारहरुलाई पनि रोजगारको अवसर सिजना गर्न ट्रेड युनियनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले श्रमिक र उद्योग व्यवसायीबीच निरन्तर वार्ता तथा सम्वादमार्फत एकअर्कालाई बुझ्नुपर्ने र सम्बन्धलाई सुमधुर बनाउनु पर्ने धारणा राखे । उनले सरकारले नेपालमा लगानी भित्र्याउनका लागि आगामी वैशाखमा लगानी सम्मेलन गरिने बताए । महतले बाहिरबाट आयात हुने सामानको तुलनामा नेपालमा उत्पादन हुने औद्योगिक सामानको लागत कम गर्न नसकिएको उल्लेख गर्दै सक्रिय श्रमिकहरुको क्षमतालाई प्रोत्साहन गर्न पनि नसकिएको धारणा राखे । उनले उत्पादकत्व कम हुँदा समयसापेक्ष श्रमिकको पारिश्रमिक बढ्न नसकेको धारणा व्यक्त गरे । ‘उत्पादकत्व बढाउने हाम्रो चुनौती छ, यसका लागि पूर्वाधारको विकास आवश्यक छ,’ उनले भने । उनले सरकारको प्राथमिकता पूर्वाधार विकासमा रहेको बताए । उनले यातायातको लागत कम गर्न र कामदारहरुको ज्ञान तथा क्षमताको सही उपयोग हुन आवश्यक रहेकामा जोड दिँदै लागत कम गर्ने कुरामा उद्योगी व्यवसायीले नयाँ प्रविधि उपयोग गर्नुपर्ने र श्रमिकका सङ्गठनहरुले पनि श्रमिकको क्षमता अभिवृद्धिमा लाग्नुपर्नेमा ध्यानाकर्षण गराए । श्रमिकका अधिकारका कुरामा हस्ताक्षर गर्नेमा नेपाल अगाडि नै रहेको उल्लेख गर्दै अर्थमन्त्री महतले कतिपय कुरा पूरा गर्न स्रोतको सुनिश्चितता हुन नसक्दा समस्या भएको बताए । रासस