कोरियाबाट फर्किएर स्वदेशमा कागती खेतीमा रमाउँदै तनहुँका राजु रेग्मी
तनहुँ । पैसा कमाउन बिदेशिने क्रम बढ्दै गएको अवस्थामा तनहुँका एक युवक कोरियाबाट फर्केपछि पुनः त्यहाँ जानुको साटो यहीँ कागती खेतीमा रमेका छन् । नौ वर्षसम्म कोरियामा रहेका व्यास नगरपालिका–१३ आसपानीका राजु रेग्मी स्वदेश फर्किएर व्यावसायिक कागती खेतीतर्फ लागेका हुन् । मासिक रु तीन लाखको नोकरी छाडेर कृषि पेसा अगाँलेका उनले वैदेशिक रोजगारीमा विदेशिने युवायुवतीका लागि यही नै लगनशिल भएर काम गरे प्रशस्त आम्दानी गर्न सकिने उदाहरण प्रस्तुत गरेका छन् । स्वदेशमा बसेर पनि केही उद्यम गर्न सकिन्छ भन्ने सोचले कोरियाको राम्रो आम्दानी छाडेर घर फर्किएको रेग्मी बताउँछन् । पुख्यौली घर स्याङ्जाबाट विसं २०७३ मा रेग्मीका परिवार तनहुँमा बसाइँसराई गरिआएको थियो । बसाइँसराई गरेर आएको केही वर्षपछि व्यावसायिकरूपले कागती खेती सुरुवात गरिएको उनकी पत्नी सिर्जना कोइराला जानकारी दिन्छिन् । कागती खेतीबाट बर्सेनी उत्पादन वृद्धि हुँदै गएपछि थप हौसला मिलेको उनी बताउँछिन् । ‘कागतीका बिरुवा आफूले हुर्काएपनि उत्पादन लिने वर्षदेखि पति विदेशबाट फर्किएर यो पेसा सम्हाल्दै आउनुभएको छ’, सिर्जना भन्छिन्, ‘घरपरिवार सबैको साथ र सहयोग पाएपछि अहिले खेती गर्न र रेखदेख गर्न सहज भएको छ ।’ विसं २०७८ मा रु चार लाख, २०७९ मा रु सात लाख र २०८० मा रु पन्ध्र लाखको कागती बिक्री गरिसकेको रेग्मी परिवार बताउँछन् । यसवर्ष गत बैशाख र जेठ महिनामा हावाहुरीसहितको असिनाले क्षति नबनाएको भए करिब रु बीस लाख बराबरको कागती बिक्री हुने लक्ष्य उनीहरूको थियो । करिब २६ रोपनी जमिनमा एक हजार सुन कागतीको बिरुवा लगाइएकामा अहिले छ/सात सय बिरुवाले उत्पादन दिन थालेको छ । आउँदो वर्ष अन्य बाँकी बिरुवाले पनि उत्पादन दिने हुँदा उत्पादन राम्रो हुने विश्वास गरिएको छ । कृषि ज्ञान केन्द्रले अनुदानमा कागतीका बिरुवा उपलव्ध गराएको थियो । आफूहरुलाई व्यावसायिक कृषि पेसामा लाग्न उत्प्रेरण दिनुहुने तत्कालीन वरिष्ठ कृषि विकास अधिकृत कूलप्रसाद तिवारीको ठूलो योगदान रहेको किसान सिर्जना स्मरण गर्छिन् । कागतीका बिरुवा छाँटकाँटदेखि रोगको उपचार र बजारीकरणका लागि वरिष्ठ कृषि विकास अधिकृत तिवारीको गुन कहिल्यै भुल्न नसकिने उनी बताउँछिन् । पछिल्ला समय जिल्लामा कागती खेतीतर्फ किसानको आर्कषण बढ्दै गएको छ। हाल जिल्लामा दुई सय त्रिसठ्ठी हेक्टर जमिनमा कागती खेती हुँदै आएको छ भने दुई सय एक्काइस हेक्टर जमिनमा बिरुवाले उत्पादन दिन सुरु गरेको छ । आर्थिक वर्ष २०७९/८० मा एक हजार पाँच सय पच्चीस मेट्रिकटन कागती उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत किरण परियार जानकारी दिन्छन् । बिक्रीका लागि समस्या छैन उत्पादन गरिएका कागती बिक्रीका लागि बजारको लागि कुनै समस्या नरहेकाले उत्साहित भएर उत्पादनतर्फ लागेको सिर्जना बताँछिन् । उत्पादित कागती पोखरा,चितवनलगायत बजारमा लगेर बिक्री गर्ने गरिएको छ । प्रतिकिलो रु एक सयदेखि रु एक सय पचाससम्म कागती बिक्री हुने गरेको छ । कतिपय व्यवसायी फार्ममै आएर कागती लिएर जाने गरेका छन् । कागती खेतीका लागि गाईको मल उपयुक्त हुने बताइन्छ । कागती खेती छोराछोरी हुर्काए जस्तै कठिन कागतीबाट आम्दानी लिन जति सजिलो छ तर हुर्काउन त्यति नै कठिनाइ हुने रेग्मी परिवार बताउँछन् । सानोतिनो मेहनत र परिश्रमले कागती खेती हुदैन्, सिर्जना भन्छिन्, ‘सफलता हासिल गर्न उत्तिकै रुपमा खट्नु पनि पर्छ ।’ सुरुमा उक्त जग्गामा सुन्तला खेती गर्ने सोच भए पनि कागती खेतीका लागि हावापानी र माटो सुहाउदो भएकाले यसैतर्फ आकर्षित भएको उनको भनाइ छ । कागती फागुन र चैत महिनादेखि फूल्न सुरु गरी जेठ महिनादेखि उत्पादनका लागि तयारी हुने किसान रेग्मी बताउँछन् । बाँदरले नखाने र चोरी पनि खासै नहुने भएकाले पछिल्ला समय कागती खेतीतर्फ आर्कषण बढ्दै गएको सम्बद्ध किसान बताउँछन् । रासस
१७ खर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति
काठमाडौं । विदेशी मुद्राको सञ्चिति बढेर १७ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत कात्तिकसम्म विदेशी मुद्राको सञ्चिति १६ खर्ब ९६ अर्ब ७८ करोड रुपैयाँ पुगेको हो । यसअघि गत असारसम्म विदेशी मुद्रा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्ष २०८०÷८१को ४ महिनामा कुल विदेशी विनिमय सञ्चिति १०.२ प्रतिशत बढेको हो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विदेशी मुद्रा ८.९ प्रतिशत बढेर १२ अर्ब ७५ करोड पुगेको छ । गत असारसम्म अमेरिकी डलर ११ अर्ब ७१ करोड थियो । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा असारसम्म १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ रहेकोमा १०.८ प्रतिशत बढेर कात्तिकमा १४ खर्ब ९० अर्ब ८३ करोड रुपैयाँ पुगेका छ । सातै, बैंक तथा वित्तीय संस्थासँग विदेशी विनिमय सञ्चिति ६.४ प्रतिशत बढेर २ खर्ब ५ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । गत असारसम्म भने १ खर्ब ९३ अर्ब ५९ करोड रुपैयाँ रहेको थियो । कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
पौने पाँच खर्ब भित्रियो रेमिट्यान्स, गत वर्षको भन्दा २६ प्रतिशत बढी
काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत साउनदेखि कार्त्तिकसम्ममा सो रकम बराबरको रेमिट्यान्स नेपाल भित्रिएको हो । जुन अघिल्लो वर्षको तुलनामा २६.४ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.४ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३.१ प्रतिशतले वृद्धि भई ३ अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.८ प्रतिशतले बढेको थियो । त्यस्तै, समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या एक लाख ३७ हजार ४७५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ६८ हजार ८४१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १९६,७३५ र ८७,४२८ रहेको थियो । त्यसैगरी, समीक्षा अवधिमा खुद ट्रान्सफर २४.९ प्रतिशतले वृद्धि भई रु.५२१ अर्ब ४० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २०.२ प्रतिशतले बढेको थियो ।
पूर्वाधारका कर्मचारीले दुई महिनादेखि तलब पाएनन्
लमजुङ । बेँसीसहर नगरपालिका–८मा रहेको पूर्वाधार विकास कार्यालय लमजुङमा लेखा अधिकृत नहुँदा कर्मचारीले दुई महिनादेखि तलब पाएका छैनन् । कार्यालयका सूचना अधिकारी आशिष पोखरेलले दसैँ अघि लेखा अधिकृत यमबहादुर थापा सरुवा भएर अन्यत्र गएसँगै हालसम्म लेखा अधिकृत नहुँदा गत कात्तिक र यही मङ्सिरको तलब पाउन नसकेको बताए । यहाँ सहायक लेखा अधिकृतसमेत नभएको लामो समय भएको छ । यी दुवै पदमा दरबन्दी रिक्त हुँदा तलबका साथ साथै विल भुक्तानीसमेतमा समस्या भइरहेको उनको भनाइ छ । सूचना अधिकारी पोखरेलले भने, ‘हामीले गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयमा दिनहुँ फोन गरेर लेखा अधिकृत पठाउन माग गरिरहेको र मन्त्रालयबाट चाँडै पठाउने आश्वासन आउँछ तर कर्मचारी आउनुहुन्न ।’ २१ जनाको दरबन्दी रहेको यस कार्यालयमा हाल १३ जना कार्यरत् रहेका छन् भने आठ जनाको दरबन्दी रिक्त रहेको छ । नौ तहको उपसचिव सरहको कार्यालय प्रमुख तीन वर्षभन्दा बढीबाट रिक्त हुँदा निमित्त कार्यालय प्रमुखको भरमा पूर्वाधार विकास कार्यालय सञ्चालन हुँदै आएको छ । दरबन्दी अनुसारका कर्मचारी नहुँदा कार्यालयको काम, गुणस्तरीय योजना, स्थलगत अनुगमन गर्न, कार्यालयमा डकुमेन्ट बनाउनदेखि योजना कार्यान्वयन गर्नलाई समस्या भइरहेको निमित्त कार्यालय प्रमुख विवेक सिग्देलले बताए । रासस
फरवार्ड माइक्रोफाइनान्सले पनि लाभांश नदिने
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने भएको छ । गत मंसिर २७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश नदिने घोषणा गरेको हो । त्यस्तै, संस्थाले कम्पनीको नाफा नोक्सान, हिसाव र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने लगायतका वित्तीय विवरणहरु अनुमोदनको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने छ । उक्त विवरणहरु स्वीकृत भएपछि संस्थाको साधारण सभाले पारित गर्ने छ ।
ज्योति विकास बैंकले जर्बुटा स्वास्थ्य चौकी र खड्गभञ्ज्याङ स्वास्थ्य चौकीलाई दियो बेबी वार्मर
काठमाडौं । ज्योति विकास बैंकले जर्बुटा स्वास्थ्य चौकी र खड्गभञ्ज्याङ स्वास्थ्य चौकीलाई बेबी वार्मर प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत सुर्खेतस्थित जर्बुटा स्वास्थ्य चौकी र नुवाकोटस्थित खड्गभञ्ज्याङ स्वास्थ्य चौकीलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर (न्यानो नानी) प्रदान गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालको उपस्थितिमा कार्यक्रम आयोजना गरि बेबी वार्मर हस्तान्तरण गरिएको हो । नवजात शिशु र विशेष गरी निरन्तर नर्सिङ सहयोग आवश्यक पर्ने गम्भीर रुपमा विरामी शिशु तथा चिसो वातावरणमा उपचार भइरहेका शिशुलाई अल्पतापबाट जोगाउन प्रयोग हुने उक्त बेबी वार्मर मेशिनहरु बैंकको सुर्खेत शाखा र रातमाटे शाखा कार्यालयको पहलमा प्रदान गरिएको हो। स्वास्थ्य चौकी जर्बुटामा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले स्वास्थ्य चौकीका हेल्थ असिष्टेन्ट अमर सुनार र वीरेन्द्रनगर नगरपालिका वडा नं. १३ सुर्खेतका वडा अध्यक्ष दिपेन्द्र राज कोइरालालाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरेका हुन्। खड्गभञ्ज्याङ स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकका विभिन्न पदाधिकारीहरुबाट स्वास्थ्य चौकीका पदाधिकारीहरु लगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीहरुको उपस्थितिका बिच सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो। साथै, सोहि कार्यक्रमका बीच अस्पतालका डाक्टर, नर्स लगायत सम्बन्धित कर्मचारीहरुलाई आविष्कार केन्द्रका स्वास्थ्य इन्जिनियर मार्फत बेबी वार्मर संचालन सम्बन्धि विशेष तालिम पनि प्रदान गराईएको थियो। नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने उक्त मेशिनबाट नुवाकोट जिल्लाको बिदुर नगरपालिका वडा नं. ३ स्थित खड्गभञ्ज्याङ स्वास्थ्य चौकी र सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नं. १३ स्थित जर्बुटा स्वास्थ्य चौकीमा प्रसुति सेवा लिन आउने सेवाग्राही प्रत्यक्ष्य रुपमा लाभान्वित हुनेछन्। आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ। संस्थागत शुशासनलाई शिरोपर गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, शेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्याउन ज्योति विकास बैंक सदैव प्रतिवद्ध रहेको छ।
साना किसान विकास लघुवित्तको लाभांश संशोधन, बोनस र नगद दुबै घट्यो
काठमाडौं । साना किसान विकास लघुवित्तले प्रस्ताव गरेको लाभांश संशोधन भएको छ । नेपाल राष्ट्रले बैंकले प्रस्तावित लाभांश संशोधन गर्न निर्देशन दिएसँगै लघुवित्तले संशोधन गरेको हो । संशोधित लाभांश अनुसार अब लघुवित्तले सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जुन अघिल्लो प्रस्तावित लाभांशको तुलनामा ५ प्रतिशतले घटी हो । संशोधित लाभांश अनुसार संस्थाले सेयरधनीलाई १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद (करसहित) लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांशलाई राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । यसअघि संस्थाले चुक्ता पुँजीको १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
विद्यालयको सिकाइ र कमाइ कार्यक्रम : बाँझो जमिनमा तोरी खेती
चितवन । भरतपुर महानगरपालिका–१९ मा स्थित शारदा माध्यामिक विद्यालयको बाँझो जमिनमा तोरी खेती गरिएको छ । विद्यालयको करिब तीन बिघा जमिनमा तोरी खेती गरिएको हो। अहिले विद्यालय ओरपरको क्षेत्रमा तोरी फुलेर ढकमक्क छ । विद्यायलको जग्गा संरक्षणसंगै विद्यार्थीलाई सिकाइ उपलब्धिका लागि तोरी खेती गरिएको विद्यालयका प्रधानाध्यापक एन्डिला रिजालले बताइन् । उनले विद्यालय व्यवस्थापन समिति, शिक्षक र विद्यार्थी मिलेर तोरी खेती गरिएको जानकारी दिइन् । यस विद्यालयमा त्रिभुवन विश्वविद्यालयको अनुसन्धान कार्यक्रम समेत सञ्चालनमा छ । ‘विद्यालयमा सिकाइ र कमाइ कार्यक्रम चलिरहेको छ’, उनले भनिन्, ‘त्यो कार्यक्रमको खाकाले हामीलाई पनि हौसला प्रदान गर्यो ।’ उनले अनुसन्धान कार्यक्रम बाहेक रहेको जमिनमा विद्यालयले नै खेती गर्ने व्यवस्थापन समितिको निर्णयपछि तोरी खेती गरेको बताइन् । ‘झाडीमा परिणत भएको विद्यालयको जमिन ढकमक्क छ’, उनले भनिन्, ‘यसमा विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी र अभिभावकको साथ छ ।’ विद्यार्थीलाई माटो चिनाउन र उनीहरुले पढेका कुरालाई व्यवहारिक रुपमा जोड्न विद्यालयले गरेको खेती उपयोगी हुने उनले बताइन् । कक्षा कोठामा सिकेका सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक सिकाइ मार्फत दिगो बनाउन सकिने जनाउँदै उनले यसले विद्यालयको शैक्षिक गुणस्तरलाई समेत बढाउने विश्वास व्यक्त गरिन् । उनले भनिन् ‘स्थानियले भैसी बाख्रा चराउने ठाउँ हो तर हामीले खनजोत गरेपछि उहाँहरु सबैले राम्रो गर्नुभएको छ भन्दै सहयोग गर्न आउनुहुन्छ ।’ प्रधानाध्यापक रिजालले विद्यालयले गरेको प्रयासमा समुदायको पनि साथ रहेको बताइन् । खेतीले विद्यालयलाई समुदायसंग जोड्ने सेतुको रुपमा काम गरेको अनुभव भएको उनले बताइन् । विद्यालयका शिक्षक ठाकुर ढकालले आगामी पाँच वर्षमा विद्यालयको सबै जामिनलाई उपयोग गर्ने योजना बनाइएको बताए । उनले सिचाइँको समेत तयारी गरिएको जनाउँदै जमिनमा तारबारका लागि स्थानीय सरकारसंग अनुरोध गरिएको जानकारी दिए । ‘विद्यालयलाई यो कार्यक्रम मार्फत नमूना विद्यालयको रुपमा अघि बढाउने योजना छ’,उनले भने,’विद्यार्थीलाई सिकाइसंग र अभिभावकलाई विद्यालयसंग जोड्ने यो महत्वपूर्ण छ ।’ जीवन उपयोगी शिक्षा आजको आवश्यकता रहेकाले विद्यालयमा सिकाइने व्यवहारिक शिक्षाले हरेक घरपरिवार खुसी र सुखी हुने शिक्षक ढकालले बताए । रासस