विकासन्युज

निर्माण व्यवसायीको प्राविधिक परामर्श शाखा स्थापना

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको सचिवालयमा बिहीबारदेखि विविधत् रुपमा कानुनी तथा प्राविधिक परामर्श शाखा स्थापना गरिएको छ । महासंघका अध्यक्ष रवि सिंह र निर्माण व्यवसाय प्रवर्धन तथा व्यवस्थापन कार्यान्वयन समितिका अध्यक्ष समेत रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव ई. भीमार्जुन अधिकारीले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका हुन् ।  उद्घाटनपछिको कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष रवि सिंहले देशभरका निर्माण व्यवसायीहरूको सशक्तिकरणमा कानुनी तथा प्राविधिक परामर्श शाखाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राखे । विगतमा कानुनी तथा प्राविधिक ज्ञानको अभावमा निर्माण व्यवसायीहरूले विभिन्न खाले समस्याहरू सामना गर्नु परेको भन्दै अध्यक्ष सिंहले अब त्यस्ता समस्या समाधान हुने बताए ।  निर्माण व्यवसाय प्रवर्धन तथा व्यवस्थापन कार्यान्वयन समितिका अध्यक्ष ई. भीमार्जुन अधिकारीले महासंघमा कानुनी तथा प्राविधिक परामर्श शाखा सञ्चालन हुनु अत्यन्त सकारात्मक भएको बताए । अधिकारीले शाखाबाट साना निर्माण व्यवसायीहरू अझ बढी लाभान्वित हुने विश्वास व्यक्त गरे ।  जिल्ला जिल्लामा रहेका साना निर्माण व्यवसायीहरूका लागि सचेतनाका अन्य कार्यक्रम पनि आवश्यक भएको अधिकारीले बताए । महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी) ले सबै खाले निर्माण व्यवसायीहरूका लागि कानूनी तथा प्राविधिक ज्ञान अत्यन्त महत्वपूर्ण भएको विचार व्यक्त गरे । महासचिव रोशन दाहालले सिक्ने सिकाउने परिपाटी सबैका लागि लाभदायी भएको बताउँदै सबै खाले व्यवसायीहरूको वृद्धि विकासका लागि महासंघ क्रियाशील रहेको जानकारी दिए  । कार्यक्रममा महासंघका अन्य पदाधिकारीहरू र कार्य समिति सदस्यहरूको उपस्थिति रहेको थियो ।

अर्थतन्त्रका सूचकहरू ठिकठाक, विदेशी मुद्रा संचिती १३ अर्ब डलर

काठमाडौं । देशको अर्थतन्त्र समस्यामा रहेको भन्दै चिन्ता, चासो र बहस भइरहेको बेला राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले भने देशको आर्थिक अवस्था सन्तोषजनक रहेको देखाएको छ । देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदन अनुसार अर्थतन्त्रका मुख्य सूचकहरु सन्तोषजनक नै देखिएका हुन् । तथ्याङ्क अर्थतन्त्रका हरेक सूचकहरु सुधारको गतिमा छन् । पछिल्लो समय महँगी पनि केही घटेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । साथै, अर्थमन्त्री डा.प्रकाश शरण महतले बुधबार गरेको पत्रकार सम्मेलनमा देशको अर्थतन्त्र सुधारोन्मुख रहेको बताएका थिए । सोही अनुरुप राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कले पनि मिल्दोजुल्दो नतिजा देखाएको छ । पछिल्लो समय रेमिट्यान्स आयात बढिरहँदा विदेशी मुद्रा सञ्चिति पनि थुप्रिँदै गएको देखिन्छ । एकातिर रेमिट्यान्स भित्र्याइरहने र अर्काेतिर आयातमा कमी आउँदा विदेशी मुद्रा थपिँदै गएको हो । विदेशी मुद्रा प्रयाप्त भएपनि आवश्यक वातावरण नहुँदा सरकार र निजी क्षेत्रको खर्च गर्ने क्षमतामा वृद्धि भएको देखिँदैन । १७ खर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति विदेशी मुद्राको सञ्चिति १६ खर्ब ९६ अर्ब ७८ करोड रुपैयाँ पुगेको हो । यसअघि गत असारसम्म विदेशी मुद्रा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्ष २०८०/८१को ४ महिनामा कुल विदेशी विनिमय सञ्चिति १०.२ प्रतिशत बढेको हो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विदेशी मुद्रा ८.९ प्रतिशत बढेर १२ अर्ब ७५ करोड पुगेको छ । गत असारसम्म अमेरिकी डलर ११ अर्ब ७१ करोड थियो । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा असारसम्म १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ रहेकोमा १०.८ प्रतिशत बढेर कात्तिकमा १४ खर्ब ९० अर्ब ८३ करोड रुपैयाँ पुगेका छ । सातै, बैंक तथा वित्तीय संस्थासँग विदेशी विनिमय सञ्चिति ६.४ प्रतिशत बढेर २ खर्ब ५ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । गत असारसम्म भने १ खर्ब ९३ अर्ब ५९ करोड रुपैयाँ रहेको थियो । कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । चार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३.६ महिनाको वस्तु आयात र ११.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकको भनाइ छ । कात्तिकसम्म विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३१.५ प्रतिशत, ९४.३ प्रतिशत र २६.७ प्रतिशत रहेका छन् । पौने पाँच खर्ब भित्रियो रेमिट्यान्स चालु आर्थिक वर्षको चार महिनामा ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत साउनदेखि कात्र्तिकसम्ममा सो रकम बराबरको रेमिट्यान्स नेपाल भित्रिएको हो । जुन अघिल्लो वर्षको तुलनामा २६.४ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.४ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३.१ प्रतिशतले वृद्धि भई ३ अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.८ प्रतिशतले बढेको थियो । यस्तै, समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या एक लाख ३७ हजार ४७५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ६८ हजार ८४१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ९६ हजार ७३५ र ८७ हजार ४२८ रहेको थियो । शोधनान्तर स्थिति डेढ खर्ब र चालु खाता १ खर्ब रुपैयाँले बचत कात्तिकसम्मको तथ्याङ्क अनुसार शोधनान्तर स्थिति १ खर्ब ४७ अर्ब ११ करोड रुपैयाँ बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २० अर्ब ३ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १४ करोड ९६ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ११ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा चालु खाता ९६ अर्ब ३८ करोड रुपैयाँले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३७ अर्ब ७९ करोड रुपैयाँले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २९ करोड ६१ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ७२ करोड ५१ लाखले बचतमा रहेको छ । गत कात्तिकसम्म पुँजीगत ट्रान्सफर ४६.६ प्रतिशतले कमी आई १ अर्ब ५९ करोड रुपैयाँ कायम छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर २ अर्ब ९७ करोड रुपैयाँ कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४२ करोड ९२ लाख रुपैयाँ थियो । आयात निर्यात घट्यो चार महिनामा कुल वस्तु निर्यात ७.७ प्रतिशतले कमी आएको छ भने आयातमा ३.८ प्रतिशतले कमि आएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार ५० अर्ब ५७ करोड बराबरको आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३३.३ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात १४.५ प्रतिशतले कमी आएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ३०७.९ प्रतिशत र ४.७ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, तयारी पोसाकपोलिस्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, चिया, ऊनी गलैचा, रोजिन लगायतका वस्तुको निर्यात घटेको छ । चार महिनामा कुल वस्तु आयात ३.८ प्रतिशतले कमी आई ५ खर्ब १२ अर्ब ५० करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १८.१ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलकबाट भएको आयात क्रमशः २.५ प्रतिशत र २७.७ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३४.४ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा तयारी पोशाक, एम.एस.तार, छड, बार तथा क्वाइल, विद्युत्तीय उपकरण, लत्ताकपडा, हवाईजहाजका स्पेयर पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, सुन, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, एम.एस.विलेट लगायतका वस्तुको आयात घटेको छ । सरकारको खर्च न्यून महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिकसम्म नेपाल सरकारको कुल खर्च ३ खर्ब ५५ अर्ब ६३ करोड रुपैयाँ भएको छ । सरकारी खर्च गत आर्थिक वर्षको पहिलो चार महिनामा २२.१ प्रतिशतले वृद्घि भएकोमा, समीक्षा अवधिमा १.३ प्रतिशतले मात्र वृद्घि भएको छ । समीक्षा अवधिमा चालु खर्च २ खर्ब ७१ अर्ब १७ करोड, पँुजीगत खर्च २९ अर्ब ९९ करोड रुपैयाँ र वित्तीय व्यवस्था खर्च ५४ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) २ खर्ब ७६ अर्ब ६४ करोड रुपैयाँ भएको छ । गत आर्थिक वर्षको पहिलो चार महिनामा १९.८ प्रतिशतले घटेको राजस्व, समीक्षा अवधिमा ३.० प्रतिशतले बढेको छ । यस अन्तर्गत कर राजस्व २ खर्ब ५४ अर्ब ३० करोड रुपैयाँ र गैर कर राजस्व २२ अर्ब ३४ करोड रुपैयाँ परिचालन भएको छ । डेढ खर्ब निक्षेप बढाउँदा कर्जा प्रवाह १ खर्ब पुग्यो राष्ट्र बैंकका अनुसार ४ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले २.१ प्रतिशत अर्थात् ९९ अर्ब ४० करोड रुपैयाँ बढाएर कर्जा प्रवाह गरेका छ । अघिल्लो वर्षको सोही अवधिमा १.५ प्रतिशत अर्थात् ६८ अर्ब ५५ करोड रुपैयाँ कर्जा प्रवाह बढाएका थिए । वार्षिक बिन्दुगत आधारमा कात्तिकसम्म निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ४.४ प्रतिशत बढेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.० प्रतिशत र ३६.० प्रतिशत रहेको थियो । समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह २.१ प्रतिशतले, विकास बैंकहरूको १.८ प्रतिशतले र वित्त कम्पनीहरूको कर्जा प्रवाह १.४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । कात्तिकसम्म बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये १२.१ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ भने ६७.३ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.३ प्रतिशत र ६६.८ प्रतिशत रहेको थियो । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप २.७ प्रतिशत अर्थात् १ खर्ब ५४ अर्ब ६१ करोड रुपैयाँ बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा ०.९ पतिशत अर्थात् ४६ अर्ब ७४ करोड रुपैयाँले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा कात्तिकसम्म निक्षेप १४.३ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.१ प्रतिशत, २७.३ प्रतिशत र ६०.२ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.० प्रतिशत रहेको छ । मुद्रास्फीति ५.३८ प्रतिशतमा झर्याे राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१को कात्तिकसम्मको तथ्यांकअनुसार मुद्रास्फीति घटेर ५.३८ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.०८ प्रतिशत रहेको थियो । कात्तिकमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.०१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८९ प्रतिशत रहेको छ । मरमसलाको मूल्य सूचकांक ३६.४६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १४.५९ प्रतिशत, फलफूलको १४.०१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.०२ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ११.०० प्रतिशतले बढेको छ । कात्तिकमा घ्यू तथा तेल र तरकारीको मूल्य सूचकांक क्रमशः १४.२३ प्रतिशत र ५.३५ प्रतिशतले घटेको छ । मनोरञ्जन तथा संस्कृतिको मूल्य सूचकांक १२.८४ प्रतिशत, विविध वस्तु तथा सेवाहरूको १०.७६ प्रतिशत, शिक्षाको ८.९२ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरूको ५.२७ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ४.९६ प्रतिशतले बढेको छ । यातायातको मूल्य सूचकांक १.८६ प्रतिशतले घटेको छ । काठमाडौं उपत्यकाको उपभोक्ता मुद्रास्फीति ६.०० प्रतिशत, तराईको ४.४२ प्रतिशत, पहाडको ६.०७ प्रतिशत र हिमालको ८.७९ प्रतिशत रहेको छ ।

टिभिएस आईक्युब एक्सचेन्ज एक्ट्राभगान्जा सुरु

काठमाडौं। टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले आजबाट ललितपुरको भनीमन्डलस्थित बास्केटबल कोर्टमा टिभिएस आईक्युब एक्सचेन्ज एक्ट्राभगान्जा सञ्चालन गर्ने भएको छ । यस एक्सचेन्ज एक्ट्राभगान्जामा ग्राहकहरुले कुनै पनि बाइक अथवा स्कुटरसँग आईक्युब एक्सचेन्ज गर्दा २५,००० सम्मको थप भ्यालुएसन पाउन सक्नुका साथै ० प्रतिशत ब्याजमा टिभिएस आईक्युब खरिद पनि गर्न सक्ने कम्पनीले जनाएको छ । त्यसैगरि जम्मा १,०७,००० को डाउनपेमेन्टमा नै टिभिएस आईक्युब खरिद गर्न सकिने पनि कम्पनीले जानकारी दिएको छ । साथै यस एक्सचेन्ज क्याम्पमा ग्राहकहरुले फ्रि एक्सेसोरिज र फ्रि राइडको मजा पनि लिन सक्नेछन् । टिभिएसले नेपालमा आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर आईक्युब नाडा अटो शोमा लन्च गरेको थियो । यो  एक्सचेन्ज एक्ट्राभगान्जा मङ्सिर २८ गते देखि पुस २ सम्म हुनेछ ।

अस्ट्रेलियामा बेरोजगारी दर ३.९ प्रतिशत पुग्यो

अस्ट्रेलिया । नोकरीमा वृद्धि भए पनि अस्ट्रेलियाको बेरोजगारी दर १८ महिनाको उच्चतम स्तरमा पुगेको छ । अस्ट्रेलियन ब्युरो अफ स्टाटिस्टिक्स (एबिएस) ले बिहीबार प्रकाशित गरेको आधिकारिक श्रम तथ्याङ्कमा आधिकारिक बेरोजगारी दर अक्टोबरमा तीन दशमलव आठ प्रतिशतबाट बढेर तीन दशमलव नौ प्रतिशत भएको उल्लेख छ । यो सन् २०२२ अप्रिलपछिको सबैभन्दा उच्च बेरोजगारी दर हो । यद्यपि अक्टोबर र नोभेम्बरबीच रोजगारीमा रहेका अस्ट्रेलियालीहरूको सङ्ख्या ६१ हजारले बढेको एबिसीको आँकडामा उल्लेख छ । उक्त वृद्धिको भर्पाइ सहभागिता दरमा भएको वृद्धिबाट भएको छ र यसले कामकाजी उमेरको जनसङ्ख्याको अनुपातलाई मापन गर्दछ । कार्यरत वा सक्रियरूपमा कामको खोजीमा रहेका मानिसको सङ्ख्या अक्टोबरमा ६७ प्रतिशतबाट बढेर ६७ दशमलव दुई प्रतिशतको कीर्तिमानी स्तरमा पुगेको छ । एबिएसद्वारा बेरोजगारी दर गणना गर्नका लागि व्यक्ति कामविहीन हुनुपर्छ वा सक्रियरूपमा नोकरीको खोजी गरेको हुनुपर्छ । एबिएसका अनुसार नोभेम्बरमा एक करोड ४२ लाख ६० हजार अस्ट्रेलियाली रोजगारीमा छन् । यो कामकाजी उमेरको जनसङ्ख्याको ६४ दशमलव छ प्रतिशत हो । अक्टोबर र नोभेम्बरबीच रोजगारीमा रहेका अस्ट्रेलियालीहरूको सङ्ख्या बढे पनि यो अवधिमा सबै नोकरीमा अस्ट्रेलियालीले काम गरेको घन्टाको कूल सङ्ख्या शून्य दशमलव एक प्रतिशतले घटेको छ । रासस

कक्षा ८ का विद्यार्थीले पनि नयाँ सिम पाउने, टेलिकमले थप्यो निःशुल्क सुविधा

काठमाडौं । नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड लिएर चलाउँदा उपलब्ध हुने विभिन्न निःशुल्क सुविधा थप हुने भएको छ । त्यसैगरी कक्षा ८ देखि माथिका विद्यार्थीलाई समेत नयाँ सिम उपलब्ध गराइने टेलिकमले जनाएको छ । टेलिकमका अनुसार रिचार्ज गर्दा पाइने बोनस सुविधा समेत थप गरिएको छ । टेलिकमका अनुसार हाल ९० मा उपलब्ध हुने नयाँ प्रिपेड सिमकार्डमार्फत ३०० एमबी डाटा चलाउन, ४० मिनेट कल गर्न र २० वटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध भइरहेको छ । तर अब सो सिमकार्डमार्फत १ जीबी डाटा चलाउन सकिने छ भने नेपाल टेलिकमकै नेटवर्कमा १०० मिनेट भ्वाइस कल गर्न र १०० वटा एसएमएस पठाउन सकिने छ । यी सबै सुविधा ३० दिन सम्म प्रयोग गर्न सकिने छ। पहिले जस्तै यसमा १० रुपैयाँ ब्यालेन्स समेत उपलब्ध हुने टेलिकमले जनाएको छ । यस्तै कक्षा ८, ९ र १० का विद्यार्थीलाई समेत निजको अभिभावकको नागरिकता र सम्बन्धित विद्यालयद्वारा जारी गरिएको परिचय पत्रको आधारमा ९० रुपैयाँमा प्रिपेड सिमकार्ड उपलब्ध हुनेछ । सो सिमकार्डमा समेत नयाँ सुविधा उपलब्ध हुनेछ । नयाँ सिमकार्डमार्फत १ जीबी डाटा चलाउन सकिने छ भने नेपाल टेलिकमकै नेटवर्कमा १०० मिनेट भ्वाइस कल गर्न र १०० वटा एसएमएस पठाउन सकिने छ । सो सिमकार्डमा पनि १० रुपैयाँ ब्यालेन्स हुने टेलिकमले जनाएको छ । यस्तै विभिन्न दरका एमपोस तथा फिजिकल रिचार्ज कार्डमार्फत प्रिपेड तथा पोस्टपेड मोबाइलमा रिचार्ज गर्दा डाटा बोनस पनि उपलब्ध गराइने भएको छ । अब १०० रुपैयाँको रिचार्ज गर्दा समेत डाटा बोनस उपलब्ध हुनेछ । यस अनुसार एमपोसमार्फत १०० रुपैयाँ देखि १९९ को रिचार्ज गर्दा १ दिनका लागि १ जीबी, २०० देखि ४९९ को रिचार्ज गर्दा प्रतिदिन १ जीबीका दरले २ दिनका लागि २ जीबी र ५०० वा सो भन्दा माथिको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिनका लागि ८ जीबी डाटा बोनसको रुपमा उपलब्ध हुने टेलिकमले जनाएको छ । त्यसैगरी फिजिकल रिचार्जमार्फत १०० रुपैयाँको रिचार्ज गर्दा १ दिनका लागि १ जीबी, २०० को रिचार्ज गर्दा प्रतिदिन १ जीबीका दरले २ दिनका लागि २ जीबी र ५०० तथा १००० रुपैयाँको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिनका लागि ८ जीबी डाटा बोनसको रुपमा उपलब्ध हुनेछ । टेलिकमका अनुसार यी सबै नयाँ सुविधा आगामी पुस १ देखि प्रारम्भ हुनेछ र फागुन ३० सम्म उपलब्ध हुनेछ ।

बिहीबार यी ९ कम्पनीको सेयर मूल्यमा लाग्यो सर्किट

काठमाडौं । बिहीबारको सेयर बजारमा विभिन्न ९ वटा कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । बजारमा विभिन्न सूमहका ९ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेसँगै सकारात्मक सर्किट लागेको हो । कूल १४० कम्पनीको सेयर मूल्य बढेको बजारमा ४ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने ५ कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । बोटलर्स नेपाल (बालाजु), हिमालयन लघुवित्त वित्तीय संस्था, नेपाल हाइड्रो डभेलपर्स र नेपाल रिपब्लिक मिडियाको सेयर मूल्य १०/१० प्रतिशतले बढेको छ । र, सेयर मूल्य बढेर क्रमशः प्रतिकित्ता ३ हजार ५९१ रुपैयाँ, ६४५ रुपैयाँ, ३८२ रुपैयाँ र ३१५ रुपैयाँ पुगेको छ । त्यस्तै, दोल्टी पावर कम्पनी र मिड सोलु हाइड्रोपावर दुबैको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । जसको सेयर मूल्य प्रतिकित्ता ३३०.५० र ४११.२० रुपैयाँ पुगेको छ । त्यसैगरी, मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य ९.९६ प्रतिशत र आँखु खोला जलविद्युत कम्पनीको सेयर मूल्य ९.५७ प्रतिशतले बढेको छ । यससँगै बिहीबार यी दुई कम्पनीको अन्तिम कारोबार क्रमशः प्रतिकित्ता १९६.६० र १८९ रुपैयाँमा भएको छ । बजारमा ९१ वटा कम्पनीको सेयर मूल्य घटेको छ । जसमध्ये गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा बढी अर्थात ४.९८ प्रतिशतले घटेको छ । बजारमा नेप्से परिसूचकमा सुधार आएको छ भने कारोबार रकम भने घटेको छ । बुधबारको तुलनामा बिहीबारको परिसूचक ६.५५ अंकले बढेर १९९४.६० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.३२ प्रतिशतले बढी हो । त्यस्तै, बुधबार ३ अर्ब ९० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बिहीबार ३ अर्ब १५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सबैभन्दा बढी सोनापुर मिनरल्स एण्ड आयलको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन १६ करोड ४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ३६१.८० रुपैयाँ छ । त्यस्तै, रिलायबल नेपाल लाइफको ११ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ५४७ रुपैयाँ छ ।

योजना आयोगले लियो सातै प्रदेशमा सुझाव, कस्तो बन्ला त १६औँ योजना ?

काठमाडौं । कर्णाली प्रदेशलाई विशेष प्राथमिकतामा राखेर १६औँ योजना बनाउन प्रदेश सरकारदेखि कर्णालीका स्थानी सरकारसम्मले अनुरोध गरेका छन् । राष्ट्रिय योजना आयोगले बनाउने १६औँ पञ्चवर्षीय योजनाका लागि सुझाव दिदै कर्णाली प्रदेश सरकार, प्रदेश स्तरीय राजनीतिक दल, निजी क्षेत्र, प्रदेशका सबै जिल्ला समन्वय समिति तथा स्थानीय तहहरुका प्रमुख तथा प्रतिनिधिले यस्तो अनुरोध गरेका हुन् । प्रदेश राजधानी सुर्खेतमा २ दिनसम्म चलेको कार्यक्रममा प्रदेश सरकार र स्थानीय सरकारसँग छुट्टाछुट्टै सुझाव लिइएको थियो । कर्णाली प्रदेशको सम्भावनालाई दृष्टिगत गरेर राष्ट्रिय योजना बनाउन कर्णाली प्रदेशबाट सुझाव दिइएको छ । कर्णाली पर्यटन, जडीबुटीसँगै कृषि र फलफूल खेतीका लागि अथाह सम्भावना रहेको भन्दै यसैलाई मध्यनजर गरेर राष्ट्रिय योजनामा समावेश गर्नुपर्ने सुझाव दिइएको हो । सडक पूर्वाधार र अन्य संरचना नहुँदा कर्णालीको सम्भावना हुँदाहुँदै पनि अवसर लिन नसकिएको भन्दै आगामी योजनामा समावेश गर्न सुझाव दिइएको छ । कर्णालीलगायत विशेष विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव आयोगलाई दिइएको छ । युवालक्षित उद्यमशीलता विकास तथा रोजगारीमूलक विशेष कार्यक्रम, जलविद्युत् उत्पादन र जडिबुटी उत्पादन तथा प्रशोधन विशेष कार्यक्रम योजनामा समावेश गर्न आग्रह गरिएको छ । यस्तै कृषि बीमा, खेती, खण्डीकरण नियन्त्रण र व्यवस्थित गरिने, वित्तीय स्रोतलाई उत्पादनसँगै रोजगारी सिर्जनामा केन्द्रित गरी समावेशी परिचालन गर्नेगरी योजनामा समावेश गर्न सुझाव दिइएको हो । हिमाली क्षेत्रमा चौँरी, भेडापालन र स्याउखेती प्रवद्र्धन तथा मध्यपहाडी क्षेत्रमा तरकारी र फलफूल उत्पादनका कार्यक्रम सञ्चालन गरिने, रैथाने बालीको संरक्षण र प्रवद्र्धन गर्नेगरी योजना बनाउनुपर्नेमा जोड दिइएको छ । यसैगरी जलवायु परिवर्तनबाट हुने प्रतिकूल प्रभाव न्यूनीकरण तथा अनूकूलनका लागि क्षमता अभिवृद्धि गर्ने खालका कार्यक्रम सञ्चालन गर्ने, प्रकृतिमा आधारित पर्यटनको प्रवद्र्धन गर्ने, जैविक विविधता सम्वद्र्धन तथा पेटेन्ट अधिकार सुनिश्चित गर्नपर्नेलगायतका सुझाव योजनामा समावेश गर्न आग्रह गरिएको छ । कर्णाली करिडोरलाई पनि योजनामा समावेश गर्न सुझाव दिँदै करिडोरमा आधारित आर्थिक क्रियाकलाप तथा एकीकृत बस्ती विकास गर्नुपर्ने, पालिकास्तरमा आर्थिक क्रियाकलाप रोजगारी सिर्जनासहित आधुनिक ग्रामीण सहर निर्माणलगायतका विषय योजनामा समावेश गर्न भनिएको छ । योजनामा समावेश गर्नेगरी शिक्षा, स्वास्थ्य क्षेत्रमासमेत कर्णालीबाट सुझाव दिइएको छ । शिक्षा र स्वास्थ्यलाई राज्यले क्रमिकरुपमा आफ्नो दायित्वभित्र लैजानुपर्ने, शिक्षामा असल दर्जाको जनशक्तिलाई आकर्षित गर्नुपर्ने, विद्यालयमा मनोसामाजिक परामर्श सञ्चालन गर्नेगरी योजना बनाउनेलगायतका सुझाव कर्णालीबाट दिइएको हो । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेश उपेक्षामा पारिएको गुनासो गरेका थिए । उनले १६औँ योजना भने त्यस्तो नहोस् भन्ने आफूहरुले चाहेको बताए । अन्य प्रदेशहरु भन्दा कर्णाली प्रदेशलाई पछि पारिएको भन्दै संघीय सरकारले त्यसको क्षतिपुर्ति दिनुपर्ने समेत मूख्यमन्त्री शर्माले बताए । आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले १६औँ योजना संघीय संरचनालाई बलियो बनाउनेगरी योजना बन्ने बताए । चौधौँ योजना सफल भएको बताउदै उपाध्यक्ष श्रेष्ठले चौधौँ योजना जस्तैगरी सोह्रौँ योजना बनाउनेगरी आयोगले सुझाव संकलन गरिरहेको बताए । लक्ष्य हासिल हुनेगरी सोह्रौँ योजना तर्जुमा हुने र कार्यान्वयनमा जोड दिइने उनको भनाइ छ । १६औँ योजनाका लागि कर्णाली प्रदेशमा सुझाव लिन आयोगका उपाध्यक्ष डा. श्रेष्ठ, सदस्य सचिव डा. तोयनारायण ज्ञवालीसहितको टोली गत मंगलबार सुर्खेत पुगेको थियो । दुई दिनसम्म चलेको अन्तरक्रियाको पहिलो दिन कर्णाली प्रदेशका मुख्यमन्त्री तथा सबै मन्त्रीहरू, कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष तथा सबै सदस्यहरू, कर्णाली प्रदेश भित्रका जिल्ला समन्वय समितिका प्रमुखहरू, प्रदेश मन्त्रालयका सचिवहरू, विभिन्न राजनीतिक दलका प्रदेशस्तरीय प्रमुख एवम् प्रतिनिधिहरू, निजी क्षेत्रका छाता सङ्गठनका प्रदेशस्तरीय प्रमुख एवम् प्रतिनिधिहरू, जिल्ला समन्वय समिति प्रमुख/उपप्रमुख तथा जिल्ला समन्वय अधिकारी, गैरसरकारी तथा सहकारी क्षेत्रका प्रतिनिधिहरू, प्राध्यापक तथा विकास प्रशासनका विज्ञहरूको उपस्थिति थिए । त्यसैगरी कार्यक्रमको दोस्रो दिन कर्णाली प्रदेश भित्रका सबै पालिकाका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत लगायत अन्य प्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो । दुई दिनको कार्यक्रममा आयोगका सहसचिव महेश भट्टराईले चालु पन्ध्रौँ योजनाको पहिलो चार वर्षको प्रगति अवस्थाको समीक्षा सहित प्रस्तावित सोह्रौँ योजनाको आवश्यकता र यसको प्रारम्भिक मस्यौदाले समेटेका विषयवस्तुको प्रस्तुतीकरण गरेका थिए । यससँगै आयोगले सात प्रदेश सरकार र ७५३ वटै स्थानीय सरकार समेतको सहभागितामा १६ औँ योजनाका लागि सुझाव लिने कार्यक्रम सम्पन्न गरेको छ ।

जन्ती बोकेको गाडी दुर्घटना हुँदा एकको मृत्यु

प्युठान । प्यूठानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । प्यूठानको ऐरावती गाउँपालिका-२ बरौलाबाट खलङ्गाको बुढाचौर जन्ती लिएर आउँदै गरेको स्कार्पियो बरौलाको मोति माध्यमिक विद्यालयको पूरानो भवन नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ । आज बिहान ११ः२० बजे लु ३ च ६८७४ नं को स्कार्पियोको अगाडीको टायर पङ्चर भई ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए। दुर्घटनामा परि गाडीको अगाडी बाटोमा हिडेका मल्लरानी गाउँपालिका–३ का वडासदस्य दामोदर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख इश्वर थापाले जानकारी दिए । उनका अनुसार दुर्घटनामा घाइते भएकाहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।