फरवार्ड माइक्रोफाइनान्सको सेयर कारोबार रोक्का, नेप्सेले सोध्यो स्पष्टिकरण

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरिदिएको छ । नेप्सेले संस्थासँग तीन दिने स्पष्टिकरण माग्दै कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको हो । लघुवित्तले लाभांश घोषणा सम्बन्धी निर्णय नेप्सेलाई ढिला जानकारी गराएको भन्दै नेप्सेले कारवाही स्वरुप कम्पनीको सेयर कारोबार रोकिदिएको हो । कम्पनीको मंसिर २७ गते बसेको बैठकले [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरिदिएको छ । नेप्सेले संस्थासँग तीन दिने स्पष्टिकरण माग्दै कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको हो ।

लघुवित्तले लाभांश घोषणा सम्बन्धी निर्णय नेप्सेलाई ढिला जानकारी गराएको भन्दै नेप्सेले कारवाही स्वरुप कम्पनीको सेयर कारोबार रोकिदिएको हो ।

कम्पनीको मंसिर २७ गते बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरेको थियो । जसको जानकारी नेप्सेलाई मंसिर २८ गते बिहीबार दिउँसो १२ बजेर ४६ मिनेटमा मात्रै उपलब्ध भएको नेप्सेले जनाएको छ ।

यससँगै धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनिमय २२(१) मा भएको व्यवस्था बमोजिम धितोपत्रको मूल्यमा प्रभाव पार्ने निर्णय वा सूचना नेप्सेलाई जानकारी सोहि दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि नै सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने उल्लेख छ । तर लघुवित्तले त्यसको विपरित अर्थात कारोबार खुला रहेको समयमा लाभांश सम्बन्धी जानकारी गराएको भन्दै नेप्सेले कम्पनीको कारोबार स्थगन गरेको हो ।

साथै, यस विषयमा के भएको हो ? के कारणले समयमा नै जानकारी दिन नसकेको हो ? भन्दै यसमा नेप्सेले संस्थासँग यसको स्पष्टिकरण माग गरेको छ । जसको लागि तीन कार्यदिनको समय दिइएको छ ।

यससँगै कम्पनीले पुस २ गते सोमबारभित्रमा नेप्सेलाई स्पष्टिकरण दिइसक्नु पर्ने हुन्छ ।

Share News