नेपाल रि इन्स्योरेन्सको निमित्त सीईओमा भण्डारी नियुक्त
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि इन्स्योरेन्स) को निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दामोदर भण्डारी नियुक्त भएका छन् । पुस १२ गते बसेको सञ्चालक समितिको बैठकले सहायक सीईओ भण्डारीलाई निमित्त सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । सीईओ शंकरकुमार रायमाझीको कार्यकाल सकिएसँगै अर्को व्यवस्था नभएसम्मको लागि भण्डारीलाई उक्त पदमा नियुक्त गरिएको हो । रायमाझीको गत पुस ११ गते सेवा अवधि सकिएको हो ।
बन्द भयो चियाको उत्पादन
मङ्लबारे । चिया उत्पादन हुने जिल्ला इलामसहितका जिल्लामा चियाको टिपाइ बन्द भएको छ । हिउँद लागेसँगै हरियो चियाको उत्पादन बन्द भएको हो । चियाको उत्पादन मङ्सिर अन्तिमदेखि बन्द भएसँगै किसान चियाको बोट छाँटकाटमा लागेका छन् । प्रायः बर्खायाममा उत्पादन हुने चिया मङ्सिर अन्तिमदेखि पूर्णरुपमा बन्द हुने गरेको छ । उत्पादन बन्द भएपछि कारखानाले यसअघि तयार गरेको चियालाई ग्रेडिङ र चिया निर्यातलाई प्राथमिकता दिन थालेका छन् । प्रशोधित चियालाई विभिन्न वर्गमा ग्रेडिङ गरेर बिक्रीका लागि तयार गरिन्छ । उत्पादन बन्द भएपछि किसान भने यतिबेला बोटको चिया काट्न व्यस्त छन् । यतिबेला काटिएको चियाबाट पुनःवैशाख महिनादेखि उत्पादन सुरु गरिन्छ । योबेला चियाको बोटलाई छाँटकाट गर्नुपर्ने हुन्छ । मल हाल्ने बेला पनि यही हो । केही किसानले चैत महिनाभित्रै चियाको फेद वरिपरि खनेर मल हाल्ने गर्छन् । बर्खामा पलाउने झारलाईसमेत यही बेला फाल्ने गरिन्छ । आफ्नै ज्ञानअनुसार पुरानै तरिकाबाट चिया छाँटकाट गर्दै आएका किसान पछिल्लो समय प्राविधिक तालिमपछि आधुनिक तरिकाले चिया काट्न थालेका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गत वर्षदेखि किसानलाई तालिम दिन दिएकाले आधुनिक तरिकाबाट चिया काट्न थाले पनि अझै पर्याप्त सिकाइ नपुगेको सम्बद्ध किसानको भनाइ छ । गत वर्ष नै चियाको गुणस्तर र उत्पादन वृद्धिका लागि उक्त बोर्डले गुणस्तरीय चिया टिपाइसम्बन्धी तालिम दिएपछि किसानलाई केही सहज भएको थियो । बीचमा चियाखेतीप्रति कम चासो दिएका किसानलाई केही राहत भए पनि अझ पर्याप्त सिकाइ नपुगेको उनीहरू बताउँछन् । सूर्योदय नगरपालिकाको फिक्कल, देउमाई नगरपालिकाको मङ्गलबारे, इलाम नगरपालिका, शान्तिडाँडा, जस्विरे, साँखेजुङलगायत स्थानमै पुगेर उक्त बोर्डले दुई हजार सात सय ९० जनालाई तालिम दिएको थियो । नेपालमा उत्पादन हुने चिया १० प्रतिशत नेपालमै खपत हुने तथ्याङ्कमा उल्लेख छ । करिब २० प्रतिशत तेस्रो मुलुक र बाँकी भारत जाने गरेको छ । उक्त बोर्डको तथ्याङ्कअनुसार इलाममा आठ हजार आठ सय ७६ किसान चियामा आश्रित छन् । जिल्लाको सात हजार दुई सय ३६ हेक्टर जमिनमा चियाखेती भइरहे पनि समयमा चियाको मूल्य पाउन अझै पनि किसानलाई समस्या हुँदै आएको छ । रासस
विदेशमा गइ परिवार पाल्छु भन्ने युवालाई गृह प्रशासनले हत्या गर्यो : सभापति लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा रोजगारी नपाउँदा विदेशमा गइ कमाएर परिवार पाल्छु भन्ने युवाहरुको हत्या गृह प्रशासनले गरेको भन्दै सरकारको विरोध गरेका छन् । सोमबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको कमी कमजोरीका बालकुमारीमा दुई जना युवाले ज्यान गुमाएको जिकिर गरे । उनले सरकारले दुई युवाहरुको हत्या गरेको बताए । भुसको थुप्रोमुनि हराएको सियो र गृहमन्त्री र समुन्द्रमा हराएको टाइटनिक भेटिए पनि सरकार र गृहमन्त्रीमा नैतिकता नभेटिने टिप्पणी गरे । उनले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले झुटो बोलेको कुराबारे के हुन्छ ? भन्दै प्रश्न गरे । ‘तपाई नेतृत्वको गृह प्रशासनले देशमा रोजगारी नपाउँदा विदेशमा गएर पेट पाल्छु, विदेशमा गइ कमाएर परिवार पाल्छु, भन्ने आशा बाकेर गएका युवाको हत्या गर्नुभयो, यो महशुस गरेर तपाईंहरु यो बैठकमा बस्नुहोला, हामीले दुई होनहार युवाको हत्या गरेका छौँ, भुसको थुप्रोमुनि हराएको सियो भेटिएला, मन्त्री प्रकाश ज्वालाले ढाँट्नुभएको छ, विभिन्न राजनीतिक आस्थामा तपाईले कार्यभार सम्हालीसकेपछि भएका घटनाहरुको दृष्टान्त दिनैपर्छ,’,उनले भने । सभापति लामिछानेले नक्कली भूटानी शरणार्थी प्रकरणमा बिना कारण प्रहरी अधिकारीहरुलाई सरुवा गर्नु, प्रकरणमा मुसिएकाहरुलाई बयान नै नलिनुले गृहमन्त्री राजनीतिक संरक्षणमा रहेको पुष्टि भएको जिकिर गरे ।
यसरी मनाइयो टोपी दिवस (तस्बिरसहित)
काठमाडौं । ‘नेपाली टोपी : नेपाली पहिचान’ भन्ने मूल नाराका साथ आज ११ औं नेपाली टोपी दिवस भव्यरुपमा मनाएको छ । जागरुक युवा अभियान नेपालले हरेक अंग्रेजी नयाँ वर्षको अवसर पारेर सोमबार बसन्तपुरमा भेला भएर ११ औं नेपाली‘टोपी दिवस’ मनाएको हो । सदियौंदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यू चोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि नेपाली टोपी (ढाका टोपी, भाद्गाउँले टोपी) लाई राष्ट्रिय पहिचानकारुपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाउँदै आइएको छ । विगतदेखि नै नेपालीलाई चिनाउँदै आएको ढाकाटोपी र भाद्गाउँले टोपीलाई राष्ट्रिय पहिचानकारुपमा घोषणा गर्न संस्थाले सरकारसँग जोडदार माग गरेको छ । नेपाल बहुजातीय र बहुसांस्कृतिक मुलुक भएकाले यहाँ थुप्रै जातीय टोपीहरु पनि छन् । त्यसैले ती टोपीहरुको संरक्षण र प्रवर्द्धनमा ध्यान दिन पनि सरकारसँग जगारुक युवा अभियान नेपालले माग गरेको छ । यस बर्ष पनि जनवरी १ (पुस १६) का दिन सम्भव भएसम्म दौरा सुरुवाल टोपी र गुन्यूचोली लगाउन र त्यो सम्भव नभए नेपाली टोपी अवश्य लगाउन संस्थाले सबैमा अनुरोध गरेको छ । नेपाली टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गराउनको लागि सामाजिक संजालमार्फत पनि सरकारलाई दबाब दिन संस्थाले आग्रह गरेको छ । जागरुक युवा अभियान नेपालका अभियन्ताहरुमा घनश्याम श्रेष्ठ, रामजी बलामी, जनार्जन पौडेल, शिव धिताल, अज्मत अलि, ज्ञानमणि नेपाल कालोटोपी, जनक कार्की, लक्ष्मण लम्साल, वसन्त हुमागाईं, शोभराज बराल, निरोज थापा र राजेश खत्री रहेका छन् ।
अस्तव्यस्त छन् सिन्धुपाल्चोकका पर्यटकीय गन्तव्य
चौतारा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘हन्ड्रेड डेस्टिनेसन’ मा सिन्धुपाल्चोकको भोटेकोशी र सुनकोशी नदीमा र्याफ्टिङ, बञ्जीजम्प, हेलम्बु र पाँचपोखरीलाई छान पनि प्रवद्र्धन अभावमा अझै व्यवस्थित बन्न सकेका छैनन् । प्रदेश र स्थानीय सरकारबाट केही संरचना निर्माण भइरहे पनि पर्यटकको मुख्य आकर्षक क्षेत्र अहिले पनि उभिन सकिरहेका छैनन् । चीन जोड्ने प्रमुख नाकामात्र नभई पर्यटकीय गन्तव्यमा उत्तिकै चर्चित तातोपानी नाका बल्ल शून्यबाट उभिँदैछ । भूकम्प, भोटेकोशी बाढी, बर्खे पहिराले खण्डहर बनेका यहाँका पर्यटकीयस्थल अझै पुरानो अवस्थामा फर्किन सकेका छैनन् । बर्सेनि धेरै सङ्ख्यामा तातोपानी धारा नुहाउन आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या अहिले भारी गिरावट आएको धारा संरक्षण समितिका सचिव विष्णुलाल श्रेष्ठ बताउँछन् । भोटेकोशी गाउँपालिकामा रहेको ऐतिहासिक स्थल दुगुनागढी नेपाली सेनाले पुनःनिर्माण गरेर पुरानै अवस्थामा फर्काए पनि त्यहाँ पर्यटक पुग्ने वातावरणको बनेको छैन । भूकम्पअघि वार्षिक पश्चिमा मुलुकका दुई हजारभन्दा बढी नागरिक दुगुनागढी र भैरवकुण्ड भ्रमणमा आउने गरेका थिए । तातोपानीको बाटो प्रयोग गरेर वार्षिक ५० हजारभन्दा बढी विदेशी पर्यटक आउनेजाने गर्थे । सोमध्ये ५० हजारभन्दा बढी चीनका हुन्थे । अहिले यो कथाजस्तै भएको तातोपानीका व्यापारी दीपेन्द्र श्रेष्ठ बताउँछन् । भोटेकोशी र सुनकोशी नदीमा गरिने र्याफ्टिङ र बञ्जीजम्पको पर्यटन पनि नदी उत्खनन र प्रदूषणले बगरमा परिणत गराएपछि व्यवसायी निरुत्साहित छन् । ‘जलपर्यटनलाई अरु चुनौती छैन, जथाभावी दोहन र नदी प्रदूषणलाई नियन्त्रण नगरिँदा यहाँको भविष्य धर्मराउँदो छ’, सुकुटे बिच एडभेन्चर रिसोर्टका सञ्चालक महेन्द्रसिंह थापा भन्छन् । विश्वका सानाठूला गरी छ हजार नदीनालामध्ये एडभेन्चरका लागि उत्कृष्ट १० नदीमा भोटेकोशी र सुनकोशी सातौँमा परेको छ । विसं २०५६ मा पहिलोपटक न्यूजील्याण्डका डेविट र नेपाली विष्णुप्रसाद न्यौपानेबाट सञ्चालित बञ्जीजम्प पर्यटकीय गन्तव्यका रुपमा प्रख्यात छ । दैनिक ७० जना पर्यटकमा ४५ जना नेपालीले ‘बञ्जी एड्भेन्चर’ हान्छन् । सडकलाई व्यवस्थित नबनाइएकाले बञ्जीसम्म आउने अवस्था जोखिम बन्दै गएको छ । भूकम्पअघि वार्षिक ३६ हजार पर्यटक पदमार्गको आनन्द लिँदै हेलम्बुको बस्तीबाट पाँचपोखरीका विभिन्न धार्मिकस्थल अवलोकन गर्ने गर्दथे । अहिले पूर्वाधार र धार्मिक मन्दिर तङ्ग्रिने चरणमा रहे पनि दैनिक ४० पर्यटक मात्रै आउने गरेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए । अध्यक्ष शेर्पाका अनुसार ह्योल्मो जातिको उद्गमस्थल मानिने तार्केघ्याङ, गुरु रिन्पोछेको गुफा, चिरी गुम्बा, मेलम्ची घ्याङ, महादेव पाइला, आमायाङ्ग्री, ग्रेटटेल र पाँचपोखरी घुम्न अत्यधिक आन्तरिक पर्यटक आउने गरेका छन् । रासस
ठूला कम्पनीको शून्य लाभांश
काठमाडौं । पुँजी बजारमा अर्बाैं रूपैयाँ लगानी भएका ठूला कम्पनीहरूले सेयरधनीलाई लाभांश दिन नसक्ने जनाएका छन् । पब्लिक कम्पनीले धेरै नाफा गरे भनेर विरोध भईरहँदा अर्बाैं रूपैयाँ लगानी भएका कम्पनीहरूले लाभांश दिन नसक्ने घोषणा गरेका हुन् । पुँजी बजारमा सूचीकृत कम्पनीहरूमध्ये वाणिज्य बैंकहरूसँग अर्बाैं रुपैयाँ पुँजी छ । तर, अर्बाैं पुँजी भएपनि गत वर्षको नाफाबाट आधा दर्जन बैंकहरूले सेयरधनीलाई लाभांश वितरण नगर्ने घोषणा गरेका छन् । तीन वटा बैंकको आधिकारिक धारणा आउन बाँकी छ । प्राइम कमर्सियल बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । बैंकको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । साथै, बैंकले १६औं वार्षिक साधारणसभा पुस २९ गते अमृतभोग क्याटर्स कालिकास्थान डिल्लीबजार काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । बैंकमा सेयर पुँजी २० अर्ब रूपैयाँ भन्दा बढी छ भने १० लाख भन्दा बढी सेयरधनी रहेका छन् । बैंकले आर्थिक वर्ष २०७८/७९को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र ४.९५ प्रतिशत नगद गरी कुल ८.९५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, २१ अर्ब ६५ करोड बढी लगानी रहेको हिमालयन बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । बैंकको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष सेयरधनीहरूलाई २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको थियो । बैंकले ३१औं वार्षिक साधारणसभा पुस २९ गते नेपाल प्रज्ञाप्रतिष्ठान कमलादी काठमाडौंमा बिहान साढे ९ बजे बोलाएको डाकेको छ । यस्तै, साढे १४ अर्ब पुँजी भएको नेपाल बैंकको पुस ६ गते बसेको बैंकको सञ्चालक समिति बैठकले लाभांश बिना नै ६४औं वार्षिक साधारणसभा बोलाएको छ । बैंकको साधारणसभा पुस २९ गते प्रधान कार्यालय काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । यस्तै, १८ अर्ब ३६ करोड रुपैयाँ पुँजी रहेको एनएमबि बैंक सञ्चालक समितिले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो । बैंकले २८औं वार्षिक साधारण सभा पुस २६ गते राष्ट्रिय सभागृह काठमाडौंमा बिहान १० बजे डाकेको छ । २६ अर्ब २२ करोड रुपैयाँ पुँजी भएको कुमारी बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने घोषणा गरेको भएपनि हालसम्म वार्षिक साधारणसभा आह्वान गरेको छैन । बैंक सञ्चालक समितिको मंसिर २८ गते बसेको बैठकले आर्थिक वर्ष २०७९/८०को नाफाबाट कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको थियो । अधिकांश बैंकले लाभांश सम्बन्धि निर्णय गरेको भएपनि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र कृषि विकास बैंकले भने हालसम्म कुनै निर्णय गरेका छैनन् ।
हुन्डाईले ल्यायो नयाँ वर्ष स्कीम, ५ लाखसम्म नगद छुट पाइने
काठमाडौं । हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई न्यू इयर डिलाइट-२०२४’ स्कीम सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको स्कीममा ग्राहकलाई नगदै नगद छुट अफर गरेको हो । सोमबारबाट लागु भएको यो स्कीम देशभर रहेका हुन्डाईको शोरुमहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ । उक्त स्कीममा हुन्डाईका गाडी किन्ने ग्राहकले मोडल अनुसार अधिकतम ५ लाखसम्म नगद छुट पाउने छन् । त्यस्तै ईभी किन्दा ‘गो-ग्रीन’ स्कीममा अतिरित्त ५० हजार नगद छुट उपलब्ध हुने कम्पनीले जनाएको छ । त्यसैगरी मोडल इयरको आधारमा अघिल्ला वर्षहरुमा बनेका कारमा ५ लाखसम्मको नगद छुट, एक वर्षको निःशुल्क बीमा र वार्षिक सवारी कर पनि कम्पनीले दिने छ । साथै, तुरुन्तै मूल्य पुराना गाडी मूल्याङ्कन र एक्सचेन्ज सुविधा पनि उपलब्ध गराइएको छ । कम्पनीले आफ्नो पेट्रोलियम पदार्थबाट चल्ने कारमा ३ वर्ष वारेन्टी, ६ वर्षको निःशुल्क सर्भिसिङ दिएको छ भने ईभीको ब्याट्रीमा ८ वर्ष र गाडीमा २ वर्षको वारेन्टी प्रदान गर्दै आएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाल भर १७ शोरुम र १९ सर्भिस सेन्टर मार्फत आफ्नो सेवा दिदै आएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठको दाबी : प्रहरी संगठनभित्र सरुवा, बढुवामा पैसाको चलखेल शुन्यमा झारियो
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूले प्रहरी संगठनलाई राजनीतिक हस्तक्षेप मुक्त बनाएको दाबी गरेका छन् । सोमबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले प्रहरी संगठनलाई आफ्नो सिस्टमअनुसार काम गर्ने वातावरण आफूले बनाएको जिकिर गरेका हुन् । उपप्रधानमन्त्री श्रेष्ठले प्रहरी संगठनको सरुवा, बढुवामा हुने पैसाको चलखेललाई शुन्यमा झारिएको समेत बताए । गृह मन्त्रालय वा प्रहरी संगठनका अधिकारीहरुले पैसाको चलखेल गरेर सरुवा, बढुवा गरेको सुन्न पाउने अवस्थाको आफूले अन्त्य गरेको उनको भनाई थियो । उपप्रधानमन्त्री श्रेष्ठले अबको ५० वर्षपछि छानविन गरेपनि आफ्नो कार्यकालमा प्रहरीको सरुवा, बढुवामा पैसाको चलखेल भएको नपाउने जिम्मेवारी पनि आफूले लिने बताए । ‘म त के दावा गर्छु भने राजनीतिक हस्तक्षेप करिवकरिव भन्छु म हन्ड्रेड पर्सेन्ट त कसरी भनुँ ? फेरि यो सरकार भनेको पनि म मात्रै होइन, गृहमन्त्री मात्रै होइन, त्यो के हो भने प्रमोशन गर्दा, सरुवा गर्दा पैसाको चलखेल शुन्यमा झारिएको छ, गृह मन्त्रालयको कुनै अधिकारीले, प्रहरी कर्मचारीको कुनै अधिकारीले प्रमोशन गर्दा पैसा लियो, सरुवा गर्दा पैसा लियो भन्ने सुन्न पाउनुहुन्न अहिले तपाईले, यो कुरा पनि म तपाईहरुलाई जानकारी गराउन चाहन्छु’, उनले भने । उपप्रधानमन्त्री श्रेष्ठले अहिले प्रहरी संगठनले विना राजनीतिक हस्तक्षेप काम गर्ने वातावरण बनेको बताए ।