सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। पुस १६ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट ५.२६३२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । इन्स्योरेन्सले हाल कायम ३ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद गरी कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । इन्स्योरेन्सले १८ करोड ७५ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । बोनस सेयरपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ हुनेछ । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।
शैक्षिक गुणस्तर सुधारमा जुट्दै षडानन्द नगरपालिका
भोजपुर । जिल्लाको षडानन्द नगरपालिकाले शैक्षिक सुधार नियम तर्जुमा गरी त्यसको अक्षरसः कार्यान्वयनमा जोड दिएको छ । नगर क्षेत्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाले नियम बनाएर सुधार योजना कार्यान्वयन थालेको हो । बालागुरु षडानन्द अधिकारीले विसं १९३२ चैतमा स्थानीयको संलग्नतामा नर्मदेश्वर शिव मन्दिर निर्माण गरी पहिलो संस्कृत पाठशाला स्थापना गरेका थिए। जनस्तरबाट व्यवस्थित यो विद्यालय नेपालको पहिलो भनिन्छ । शिक्षाको उर्वरभूमि मानिने षडानन्द क्षेत्रका सामुदायिक विद्यालयको खस्किँदो गुणस्तरमा सुधार ल्याउन नगरले आवश्यक सुधारका लागि जोड दिएको हो । विशेषगरी नगरपालिकाले कुनै पनि विद्यालयमा कुनै कारणवश शिक्षक पद रिक्त भएमा त्यहाँ पदपूर्तिका लागि लिइने परीक्षामा पारदर्शिता कायम राख्दै क्षमतावान् शिक्षकको छनोटका लागि आफ्नै नियम बनाएर सुधार अभियान थालेको छ । जिल्लाका धेरै विद्यालयमा करारमा शिक्षक छनोट प्रक्रियाको परीक्षा पारदर्शी नभएको, मिलेमतोमा आफ्ना मान्छेलाई जागिर खुवाएको भन्ने स्थानीयबाट आउने गरेको आरोपलाई ध्यानमा राख्दै नगरले आफ्नै नियम तयार गरेको नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले जानकारी दिए । नगरका सामुदायिक विद्यालयमा शिक्षकको रिक्त दरबन्दीमा पदपूर्तिका लागि लिइने परीक्षालाई लक्ष्य गरेर नियम बनाइएको उनको भनाइ छ । नगरले शिक्षकको पदपूर्तिका लागि लिइने परीक्षा विज्ञहरूबाट गोप्यरूपमा प्रश्नपत्र सङ्ग्रह (प्रश्न बैंक)को समूह निर्माण गरेर मात्र परीक्षा सञ्चालन गरिने प्रमुख उदासले बताए । ‘शिक्षक छनोटका लागि लिइने धेरै परीक्षा पारदर्शी भएन भन्ने मैले पनि सुन्ने गरेको छु, जनतामा शङ्का उत्पन्न हुनु राम्रो होइन । नगरले कुनै पनि विद्यालयमा करारमा शिक्षक छनोटका लागि लिइने परीक्षाका लागि नियम बनाएको छ’, उनले भने । सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि नगरले प्राथमिकताको साथ काम गरिरहेको उनले बताए । नगर क्षेत्रका विद्यालयमा प्राविधिक शिक्षामा जोड दिएको उनको भनाइ छ । त्यसनिम्तियोजनाबद्धरूपमा काम गरिरहेको उनले जानकारी दिए । रासस
ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवको अवसरमा छात्रालाई छात्रवृत्ति
काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको छ । ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रम अन्तर्गत बैंकले विभिन्न सामुदायिक तथा सरकारी विद्यालयबाट कक्षा ६ उत्तीर्ण गरी कक्षा ७ मा प्रवेश गरेका विपन्न वर्गका ३५ जना जेहेन्दार छात्राहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । यी छात्राहरुलाई कक्षा १२ सम्मको अध्ययनका लागि बैंकले हरेक वर्ष छात्रवृत्ति प्रदान गर्नेछ । यस कार्यक्रम अन्तर्गत बैैंकले प्रत्येक प्रदेशबाट ५ जना जेहेन्दार छात्राहरु छनौट गरी जम्मा ३५ जना छात्रालाई वर्षको १२ हजार रुपैयाँको दरले छात्रवृत्ति प्रदान गर्नेछ । यो कार्यक्रम अन्तर्गत बैंकले अहिलेसम्म १०५ जनालाई उक्त छात्रवृत्ति व्यवस्था गरी छात्राहरुको शैक्षिक गुणस्तरमा योगदान गरिरहेको छ । समाजको विकासमा शिक्षाको महत्त्वपूर्ण भूमिका रहेको र महिला शिक्षित भएमा समाजको चेतनास्तर अभिवृद्धि हुनुका साथै महिलाहरु आर्थिक रुपमा सबल हुन समेत मद्दत पुग्ने हुनाले यो कार्यक्रम गरिएको बैंकले जनाएको छ । यस कार्यक्रमबाट आर्थिक समस्याका कारण बिचमै विद्यालय छाड्न बाध्य छात्राहरुलाई न्यूनतम् विद्यालय शिक्षा पूरा गर्न सहयोग पुग्ने बैंकको विश्वास छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता किसिमका विभिन्न सामाजिक कार्यक्रमहरुलाई निरन्तरता दिँदै आएको छ ।
इलामको एकै बगानबाट दश लाखको सुन्तला बिक्री
इलाम । इलाम नगरपालिका- ५ बरबोटेका किसान सामवेद चापागाईंले २० रोपनी क्षेत्रफलमा सुन्तलाखेती गरेका छन् । अन्यत्र उत्पादन घटेका बेला चापागाईंको बगानमा भने सुन्तला लटरम्म फलेको छ । ‘मैले २०६० सालदेखि सुन्तलाखेती गर्न थालेको, यस वर्ष सबैभन्दा बढी रु १० लाखमा बेच्न सफल भएको छु’, चापागाईंले भने । सुन्तला लगाएको पहिलो वर्ष रु तीन हजारमा बिक्री भएको सम्झँदै उनले यस वर्ष आफ्नो बगानको सुन्तला पाक्न नपाउँदै रु १० लाखमा बिक्री भएको बताए । जिल्लाका विभिन्न ठाउँमा सुन्तला मासिँदै गएकाले चापागाईंको जस्तो बगान भेट्न निकै मुस्किल पर्छ । ‘गत वर्ष रु चार लाखमा बिकेको यस बगानमा यस वर्ष उत्पादन राम्रो छ’, उनले भने, ‘धेरैतिर उत्पादन कम भएपछि व्यापारीले पोहोरको तुलनामा दोब्बरभन्दा बढी मूल्य दिएका छन् ।’ कृषि ज्ञान केन्द्र इलामले पनि चापागाईँको बगान नै इलाममा अहिले सबैभन्दा बढी सुन्तला उत्पादन हुने बगान रहेको हुनसक्ने जनाएको छ । केन्द्र प्रमुख टोनी बर्देवाले केन्द्रले किसानलाई सुन्तलाखेतीमा अनुदान र प्राविधिक सहयोग गरिरहेको बताए । गत वर्ष दुई हजार सात सय ४४ मेट्रिक टन सुन्तला उत्पादन भएको इलाममा यस वर्ष दुई हजार सात सय ४० मेट्रिक टन सुन्तला उत्पादन भएको बर्देवाले बताए । कार्यालयका अनुसार यो वर्ष इलाममा विगतको तुलनामा सुन्तलाखेती गर्ने क्षेत्रफलसमेत घटेको छ । आर्थिक वर्ष २०८०/८१ मा दुई सय ७८ दशमलव पाँच हेक्टरमा मात्र सुन्तलाखेती भएको छ । गत आव २०७९/८० मा दुई सय ८० हेक्टरमा सुन्तलाखेती गरिएको थियो। इलाम नगरपालिका-५ माइजोगमाईको नामसालिङ, रोङको वडा नं ६ लगायत क्षेत्रमा व्यावसायिकरुपमा सुन्तला उत्पादन भएको उनले बताए । ‘पुरानो बोट, रोग–कीरा, मौसम परिवर्तन, समयमा छाँटकाँट, सिँचाइ अभाव, जलवायु परिवर्तनको असर आदि कारणले पनि बगान मासिँदैछन्’, उनले भने, ‘अहिले उच्च क्षेत्रमा पनि सुन्तला फल्न थालेको खबर आएका छन् । किवीखेती हुने स्थानतिर सुन्तला फलेको पाइएको छ।’ केन्द्रले पनि सुन्तला मासिन नदिन बगैंचा व्यवस्थापन सुदृढीकरण कार्यक्रम सुरु गरेको बर्देवाले बताए । सुन्तलाको आम्दानीलाई नियमित बनाउन जिल्लाका किसानको मेहनत घटेको छैन । किसान चापागाईँ बिहान उज्यालो नहुँदै सुन्तला स्याहार्न पुग्छन् । साँझसम्म पनि सुन्तलाको स्याहारसुसारमै दिन बित्छ । सुन्तलामा लाग्ने कीरा नियन्त्रणका लागि उनले बेग्लै प्रविधि निर्माण गरेका छन्। उनको बगान हेर्दा सफाचट देखिन्छ । बेला-बेला सिँचाइसमेत गर्नुपर्छ । ‘बोटदेखि भुइँसम्म लत्रिएका दाना, देख्दै टिपौं–टिपौं लाग्ने सुन्तला स्याहार्दै दिन बिताउन खुब मज्जा लाग्छ’, उनले भने । बगानमा केही पुराना बोट मरे पनि नयाँ थपेको बताउँदै उनले भने, ‘एउटा उत्कृष्ट बगान बनाउन मन छ, त्यसमै लागिपरेको छु ।’ यो समय सुन्तला उत्पादनको मुख्य सिजन पनि हो। कात्तिक दोस्रो सातादेखि बजारमा निस्किएको सुन्तलाको खुद्रा मूल्य अहिले प्रतिकिलो रु एक सय २० देखि एक सय ५० छ । तर धेरैजसो बगान बोट सुकेर रित्तिइसकेका छन् । वर्षैपिच्छे बोटै सुकेर सुन्तलाको उत्पादन कम हुन थालेपछि किसान चिन्तित भएका छन् । यो वर्ष गत वर्षभन्दा निकै कम फल लागेको सूर्योदय नगरपालिका-३ का गणेश अर्यालले बताए । पाँच-छ वर्षको वयस्क बोटमा पनि दाना कलिलैमा पहेँलो हुने, भित्रभित्रै कीरा पर्ने र बोटै पहेँलो भएर सुक्ने भएपछि त्यसको उपचार गर्नै नसकिएको अर्यालको गुनासो छ । चार नगरपालिका र छ गाउँपालिका भएको इलामका १० स्थानीय तहमा नै सुन्तलाको आंशिक खेती हुँदै आएको छ । रासस
९० हजार विदेशी पर्यटकद्वारा मुस्ताङ भ्रमण
काठमाडौं । पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा ९० हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् । सन् २०२३ मा ९० हजार तीन सय ५६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० इलाका कार्यालयले जनाएको छ । एक्यापका प्रमुख पदमराज रेग्मीले सन् २०२२ को तुलनामा २४ हजार चार सय २५ जना बढी पर्यटक मुस्ताङ भ्रमणमा आएका जानकारी दिए । “ राष्ट्रिय सडक सञ्जालमा जोडिएको, अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका उत्कृष्ट १० गन्तव्यमा समेटिएको यो जिल्लाको प्रचुर मात्रामा प्रचार–प्रसार भएसँगै सुविधायुक्त होटल खुलेका कारण मुस्ताङमा पर्यटक आगमन बढेको हो”, उनले भने, “भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ र मुस्ताङको भ्रमण गरेपछि भारतीय नागरिक मुस्ताङ भ्रमणमा आउने क्रम पनि बढेको छ ।” सन् २०२२ मा ६५ हजार ९४०, सन् २०२१ मा २ हजार ३ सय र २०२० मा २ हजार ३४७ जना पर्यटक मुस्ताङ आएका थिए । कोरोना महामारीअघि मुस्ताङमा अधिकतम वर्षिक ६० हजार जनासम्म पर्यटक आएका थिए । सन् २०२३ मा मुस्ताङ भ्रमणमा आएकामध्ये ७२ हजार १९० जना दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रका र १८ हजार १६६ जना तेस्रो मुलुकका छन् । १० हजार ७३३ जना पर्यटक थोराङ्ला पास भएर मनाङ हुँदै मुस्ताङ आएका एक्याप प्रमुख रेग्मीले बताए । कागबेनीबाट कोरला नाकासम्मको उपल्लो मुस्ताङको अर्धनिषेधित भूगोलमा भ्रमण गर्न विदेशीले ७ दिनका लागि ५ सय डलर शुल्क तिर्नुपर्छ । गण्डकी प्रदेशको लमजुङ, कास्की, मनाङ, मुस्ताङ र म्याग्दी जिल्लामा समेटिएको एक्याप क्षेत्रको भ्रमण गर्न सार्क मुलकका पर्यतटकलाई प्रतिव्यक्ति १ हजार र तेस्रो मुलुककालाई प्रतिव्यक्ति ३ हजार तोकिएको छ । उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफा मुस्ताङका आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताललगायत मुस्ताङका धार्मिक र पर्यटकीयस्थलमा पर्यटक आगमन पुरानै लयमा फर्किएको छ । म्याग्दी हुँदै सडक र पोखराबाट हवाईमार्ग भएर पर्यटक मुस्ताङ पुग्ने गरेका छन् । मनाङ हुँदै थोरङ्ला भञ्ज्याङ पार गरेर केही पर्यटक मुस्ताङ प्रवेश गर्ने गरेका छन् । विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा समेटिएको मुस्ताङ आन्तरिक र बाह्य पर्यटकको रोजाइमा परेको छ । समग्रमा मुस्ताङमा विदेशी पर्यटकको सङ्ख्या बढेको पाइए पनि सार्क मुलुक बाहिरका पर्यटकको सङ्ख्या भने घट्दै जानु चुनौती रहेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले राससलाई बताए ।
टाट पल्टिएको ५ वर्षपछि तलब दिन नेपाली कामदार खोज्दै साउदी कम्पनी
काठमाडौं । साउदी अरबको एक कम्पनीले नेपाली श्रमिकहरूले पाउने तलब सुविधा लिन बोलाएको छ । साउदीको मोहमद अल मोजिल गु्रप कम्पनी पाँच वर्षपहिले टाट पल्टिएर श्रमिकको पारिश्रमिक नै नदिई नेपाल फर्काइएका ५ सय ७१ नेपालीलाई कम्पनीले बाँकी रहेको तलब लिन आउन अनुरोध गरेको हो । रियादस्थित नेपाली दूतावासका श्रम सहचारी देवेन्द्र कार्कीले अनुसार करिब पाँच वर्षअगाडि कम्पनी टाट पल्टिएर स्वदेश फर्किएका नेपाली कामदारले पाउनुपर्ने तलब सुविधा लिनका लागि दूतावासमा कम्पनीका तर्फबाट अनुरोध आएको र सोहीनुसार सूचना जारी गरिएको छ । दूतावासले पनि आफ्नो आधिकारिक फेसबुक पेजबाट एक सूचना जारी गर्दै मोहमद अल मोजिल गु्रप कम्पनीमा काम गरेबापत कम्पनीबाट पाउनुपर्ने तलब तथा अन्य सुविधा लिन बाँकी रहेका नेपाली कामदारहरूलाई सम्पर्क गराई कम्पनीबाट पाउनुपर्ने भुक्तानी सहजीकरण गरिदिन दूतावासमा अनुरोध प्राप्त भएको जनाएको छ । दूतावासले प्रकाशित गरेको लिंक प्रयोग गरी यथाशीघ्र आवश्यक विवरण भरी बुझाउन सम्बन्धित सबैमा दूतावासले अनुरोधसमेत गरेको छ । सूचीमा संग्लन भएका व्यक्तिहरूलाई चिनेको वा उनीहरूसँग सम्पर्क छ भने यो सूचना समयमै उनीहरूसम्म पु¥याई सहयोग गरिदिन पनि दूतावासले अनुरोध गरेको छ । यसअघि टाट पल्टिएपछि पारिश्रमिकलगायत सुविधा नदिई कम्पनीले कर्मचारी बिदा गरेको थियो । ५ सय ७१ जना नेपाली श्रमिकले सो कम्पनीबाट तलब सुविधा लिन बाँकी छ । कम्पनीबाट पाउनुपर्ने तलब तथा अन्य सुविधा लिन बाँकी रहेका नेपाली कामदारको सूची सार्वजनिक गर्दै सो कम्पनीले उनीहरूलाई बोलाएको दूतावासले जनाएको छ । पछिल्लो समय साउदी अरबमा कार्यरत धेरै नेपालीलाई कम्पनीले समयमा तलब नदिएको र अकामा पनि नबनाइदिएर समस्यामा पारेको खबर आइरहेका बेला मोहमद अल मोजिल गु्रप कम्पनीले भने टाट पल्टिएपछि पनि तलब तथा अन्य सुविधा लिनका लागि सम्पर्कमा आउन यसअघि त्यस कम्पनीमा काम गरेका नेपालीलाई बोलाएको र अझै साउदीमा यस्ता इमानदार कम्पनी पनि रहेको पुष्टि गरेको छ । यो समाचार राजधानी दैनिकमा छ ।
एक लघुवित्तसहित ४ कम्पनीको आज सेयर खरिद गरे लाभांश पाइने
काठमाडौं । मंगलबार विभिन्न ४ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल ), युनिभर्सल पावर कम्पनी, कालिका पावर कम्पनी र जीवन विकास लघुवित्तको लाभांश सुरक्षित गर्ने आज पुस १७ गते अन्तिम दिन हो । साधारणसभा तथा लाभांश प्रयोजनार्थ यी कम्पनीहरूले पुस १८ गते सेयरधनी किताब बन्द (बुक क्लोज)गर्ने निर्णय गरेका छन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजसम्म सेयर खरिद गर्नेले लाभांश प्राप्त गर्नेछन् । एचआइडीसीएलले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी २२ अर्ब ७७ करोड ५७ लाख रुपैयाँको ५.२६ प्रतिशत अर्थात् १ अर्ब १९ करोड ८७ लाख २६ हजार २८३ रुपैयाँ रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश पारित गर्न पुस २९ गते १२ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । यूनिभर्सल पावर कम्पनीले हाल कायम चुक्ता पुँजीको ८.५५ प्रतिशत बोनस सेयर र ०.४५ प्रतिशत नगद गरी कूल ९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश पारित गर्न कम्पनीले पुस २९ गते काठमाडौंमा दिउँसो १२ः१५ बजे प्रथम वार्षिक साधारणसभा आह्वान गरेको छ । कालिका पावरले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद गरी कूल १०.६२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न पुस २८ दियालो फुडल्याण्ड चितवन भरतपुरमा वार्षिक साधारणसभा बिहान ११ बजे डाकेको छ । जीवन विकास लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट चुक्ता पूँजी १ अर्ब १८ करोड २० लाख ३४ हजार रुपैयाँको १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७३६९ प्रतिशत नगद गरी कूल १४.७३६९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न पुस २९ गते केन्द्रिय कार्यालय कटहरी मोरङ्गमा पाँचौ वार्षिक साधारणसभा बोलाएको छ ।
उद्योगमन्त्री रमेश रिजालको यस्तो छ ९ महिनाको प्रगति
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पछिल्ला ९ महिनामा औद्योगिक क्षेत्रको प्रवद्र्धन, अन्तर्राष्ट्रिय व्यापार सहजीकरण र उपभोक्तामैत्री बजार स्थापित गरेको जनाएको छ । उद्योग मन्त्रीका रुपमा रमेश रिजालले कार्याभार सम्हाल्नुभए यता संस्थागत सुधार, बजेट कार्यान्वयन, कानुन निर्माणलगायत क्षेत्रमा उल्लेख्य प्रगति हासिल भएको मन्त्रालयले जनाएको छ । मन्त्री रिजालको नेतृत्वपछि नेपाल आयल निगमको सुधारसँगै बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म ६२ किलोमटर पेट्रोलियम पाइपलाइन विस्तार तथा भारतको सिलिगुडीदेखि झापाको चारालीसम्म ५० किलोमिटर पेट्रोलियम पाइपलाइन निर्माण भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पोखरामा नयाँ इन्धन भण्डारण गृहको शिलान्यास र सिमरा बिमानस्थलमा हवाइ इन्धन भर्ने सुविधाको सुरुआत, पेट्रोलियम पदार्थको अटो बिलिङ्ग तथा ट्यान्कर लक सिस्टमजस्ता प्रमुख काम मन्त्री रिजालको आगमन पछि सम्पन्न भएको छ । त्यस्तै चीनसँगका प्रमुख दुई नाका तातोपानी नाका र रसुवागढी केरुङ सञ्चालन ल्याइनु, करिब ११ महिनादेखि बस्न नसकेको औद्योगिक तथा लगानी प्रवर्दन बोर्डको बैठक सञ्चालन गर्न सफल हुनु, निर्यात अनुदान पाउने उद्योगको सङ्ख्या बढाइ कूल वैदेशिक व्यापारमा निर्यातको हिस्सा वृद्धि गर्न सक्नुलगायत उपलब्धी मन्त्री रिजालको अग्रसरतामा सफल भएको जनाएको छ । यस्तै १५ वटा मझौला उद्योग, १४२ हजार घरेलु तथा साना उद्योग, १० हजार कम्पनीलगायत चालू आवको मङ्सिर मसान्तसम्म २२ वटा ठूला उद्योग दर्ता भएका छन् । आव २०८०/८१ मा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि ८ अर्ब १३ करोड ८० लाख रुपैयाँ विनियोजन भएको मन्त्रालयले जनाएको छ । मङ्सिर मसान्तसम्म विभिन्न १७ वटा नीति तथा कानुन तर्जुमाका लागि अर्थ मन्त्रालय तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा रायका लागि पठाइएको मन्त्रालयले जानकारी दिएको छ ।