विकासन्युज

पाथीभरा क्षेत्रका ‘साइन बोर्ड’ हटाउन निर्देशन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा  (मुक्कुमलुङ) क्षेत्रमा राखिएका ‘साइन बोर्ड’ र ‘ब्यानर ’ हटाइने भएको छ । वनस्पति तथा प्राकृतिक सुन्दरतामा असर पुगेको जनाउँदै पाथीभरा क्षेत्र विकास समितिले ब्यानर हटाउन आग्रह गरेको हो । यसका लागि समितिले आगामी माघ १५ गतेभित्र पाथीभरा जाने पदर्मागमा राखिएका विभिन्न साइन बोर्ड हटाउन सूचना समेत जारी गरेको छ । समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङद्वारा जारी सूचनामा तोकिएको समयसीमाभित्रसामग्री हटाउन सम्बन्धित सबैलाई आग्रह गरिएको छ । पाथीभरा पदमार्गका विभिन्न ठाउँमा अव्यवस्थितरूपमा र त्यहाँ रहेका वनस्पति तथा रुखमा फलामका काँटी ठोकेर राखिएका साइन बोर्डले प्राकृतिक सौन्दर्यतामा प्रतिकूल असर पुर्याइरहेको सूचनामा उल्लेख छ । त्यस्तै फलामजन्य धातुका काँटी प्रयोग गर्नाले लोपोन्मुख तथा संरक्षित वनस्पति र बोटबिरुवा मासिने अवस्था देखिएको जनाइएको छ । पाथीभरा क्षेत्रको प्राकृतिक सौन्दर्यतालाई बचाउन र स्वच्छ वातावरण कायम राख्नेगरी सुरु गरिएको अभियानलाई सहयोग गर्न समितिका कार्यकारी निर्देशक हाङ्बाङले सबै पक्षलाई अपिल समेत गर्नुभएको छ । तोकिएको समयभित्र सामग्री नहटाएमा समितिले आवश्यक कदम चाल्ने पनि सूचनामा उल्लेख छ । रासस

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

जलेश्वर । महोत्तरीको जलेश्वर–बर्दिबास सडकखण्डमा गए राति दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  रामगोपालपुर नगरपालिकाको थलही विर्ताका ३० वर्षीय मुकेश चमार र  भङ्गहा नगरपालिका–३ का ३२ वर्षीय धमेन्द्र महतो रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए । दुर्घटनामा ती मोटरसाइकलको पछाडिमा सवार भङ्गहा –५ का ३१ वर्षीय श्रीराम गोसाई र बर्दिबास नगरपालिका प्रेमनगरका ३६ वर्षीय प्रदीपकुमार यादव घाइते भएका छन् । उनीहरूको बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहको छ । गए राति  जलेश्वरबाट बर्दिबासतर्फ जाँदै गरेको ज११प ८०९९ नम्बरको मोटरसाइकल र बर्दिबासबाट जलेश्वरतर्फ आउँदै गरेको प्र२–०२–००४प १८४० नम्बरको मोटरसाइकल औरही नगरपालिका–१ स्थित वडा कार्यालय नजिकै ठक्कर खाँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको प्रनाउ गिरीले बताए । बाक्लो हुस्सुका कारण तीव्रगतिमा रहेका दुवै मोटरसाइकलका चालकले एकअर्कालाई  नदेखेको र अचानक ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ  । दुर्घटनापश्चात गम्भीर घाइते दुवै चालकलाई उपचारका लागि शुभस्वस्तिक अस्पतालमा लगिएकामा उपचारका क्रममा उनीहरूको मृत्यु भएको थियो । रासस

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं । चिसो बढेसँगै तराईका अधिकांश भागमा हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज बिहान सार्वजनिक गरेको मौसम बुलेटिनमा कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको र तराईका अधिकांश भू–भागमा हुस्सु/कुहिरो लागेको उल्लेख छ । विभागले आज दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्नसक्ने हुँदा त्यसबाट हुनसक्ने असरका साथै चिसोबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन अनुरोध गरेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागद्वारा प्रकाशित सो बुलेटिनमा उल्लेख छ । राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । आउँदो २४ घण्टामा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने तथा तराई भू–भागका केही स्थानमा बिहानीपख हुस्सु÷कुहिरो लाग्ने तथा अपराह्नसम्ममा क्रमिकरूपमा सुधार हुने जानकारी दिइएको छ । यही पुस २५ गते बुधबार कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ । यस्तै त्यस दिन राति कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

६० महिनाको किस्ताबन्दी सेवा लिन ३० दिनभित्र आवेदन दिनू : विद्युत प्राधिकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले किस्ताबन्दीमा बक्यौता रकम बुझाउने सुविधा लिन ३० दिनको समय दिएको छ । प्राधिकरणले मंगलबार एक सूचना प्रकाशन गरी बक्यौता रकम किस्ताबन्दीमा बुझाउने भए ३० दिनभित्र आवेदन दिन भनेको हो । गत पुस १६ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले विद्युत सेवा प्राप्त गरी बक्यौता रकम बाँकी रहेका लागि किस्ताबन्दीमा रकम बुझाउने व्यवस्था गर्ने निर्णय गरेको थियो । प्राधिकरणका विभिन्न संचरनाबाट विद्युत सेवा प्राप्त गरेका उपभोक्ताका लागि बढीमा ६० महिनासम्मको किस्ताबन्दीको व्यवस्था गरिएको छ । यो सेवा लिनका लागि प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा ३० दिनभित्र आवेदन दिन सूचना जारी गरिएको छ ।

हिमालयन लाइफले ३ वटा कार बेच्दै, मूल्य ७ लाखदेखि १ करोड ४ लाखसम्म

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । कम्पनीले विभिन्न कम्पनीका चालू अवस्थामा रहेका तीन वटा सवारी साधन लिलामीमा बिक्री गर्ने जनाएको छ । कम्पनीले सन् २०२२ मा बनेको १ हजार ९९९ सि.सिको हुन्डाई टक्सन सवारी बिक्री गर्ने भएको हो । उक्त सवारीको मूल्य न्यूनतम १ करोड ४ लाख रुपैयाँ तोकेको छ । यस्तै, सन् २०२१ मा बनेको १ हजार ४९७ सिसिको हुन्डाई क्रेटा र सन् २०१४मा बनेको ९९८ सिसिको मारुती सुजुकी बिक्रीमा राखेको छ । हुन्डाई क्रेटाको न्यूनतम मूल्य ४० लाख १५ हजार रुपैयाँ र मारुती सुजुकीको ७ लाख रुपैयाँ तोकेको छ । कम्पनीले बिक्री गर्न लागेका सवारी जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने जनाएको छ । सो सवारी साधन खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी र संस्थाले लिन चाहेको रकम उल्लेख गरी ७ दिनभित्र शीलबन्दी बोलपत्र पेश गर्न कम्पनीले आग्रह गरेको छ ।

अब कामदार भिसामा युरोपका मुलुक जान पाइने

फाइल फोटो काठमाडौं । सरकारले संस्थागत अर्थात् वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीमार्फत नेपाली श्रमिकलाई युरोप पठाउनका लागि कानुनी बाटो खुला गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ र स्वीकृत गर्ने कार्यविधि–२०८०’ ल्याएसँगै संस्थागत मागपत्र प्रमाणीकरण प्रक्रियाको बाटो खुलेको हो । व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर युरोप जाने प्रवृत्ति बढिरहेका बेला श्रम मन्त्रालयले कार्यविधि बनाएर कार्यान्वयनमा ल्याएको छ । कार्यविधिमा मागपत्र जाँचबुझ गरी प्रमाणीकरण गर्नका लागि श्रम मन्त्रालयको रोजगार व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय मागपत्र प्रमाणीकरण समिति रहने उल्लेख छ । समितिमा संयोजकसहित परराष्ट्र मन्त्रालयका उपसचिव, वैदेशिक रोजगार विभागका उपसचिव, कानुन तथा फैसला कार्यान्वयन शाखाका उपसचिव सदस्य रहने र रोजगार समन्वय तथा सूचना शाखाका उपसचिव सदस्यसचिवको रूपमा रहने व्यवस्था गरिएको छ । समितिमा रोजगारदाताले श्रमिकलाई उपलब्ध गराउने पारिश्रमिक एवं सेवा सुविधा र विगत तीन महिनाको पारिश्रमिक वितरणको अवस्था, श्रमिकको कार्यस्थल, आवास, स्वास्थ्य र सुरक्षासम्बन्धी अवस्था, रोजगारदाता कालोसूचीमा परे वा नपरेको विवरण, रोजगारदाताको वैधानिकता, रोजगारदाताले श्रम गन्तव्य मुलुकको सरकारबाट प्राप्त नेपाली कामदार र माग गर्न दिएको स्वीकृतिसम्बन्धी कागजात पेस गर्नुपर्ने छ । मागपत्र प्रमाणीकरण भएमा खाडी क्षेत्र र मलेसियाका रोजगारदाताले एक सय जनाभन्दा कम श्रमिक लैजान चाहेमा ४० हजार रुपियाँ, एक सय जनाभन्दा माथिका लागि ६० हजार रुपियाँ पेस गर्नुपर्ने छ । त्यस्तै पूर्वी एसिया, जापान, दक्षिण कोरिया, इजरायललगायतका देशमा एक सयभन्दा कमका लागि ५० हजार र एक सयभन्दा बढीका लागि ७५ हजार रुपियाँ पेस गर्नुपर्ने छ । युरोप तथा अरू देशमा एक सयभन्दा कमका लागि ३५० अमेरिकन डलर र एक सय जनाभन्दा बढीका लागि ५०० डलर राजस्व बुझाउनुपर्ने कार्यविधिमा उल्लेख छ । श्रम मन्त्रालयका प्रवक्ता राजीव पोखरेलले उक्त कार्यविधिमार्फत संस्थागत मागपत्र पेस भएको १५ दिनभित्र दूतावासले प्रमाणीकरण नगरेमा सिधै श्रम मन्त्रालयले हेर्ने व्यवस्था गरिएको जानकारी दिए । कार्यविधिमा भएको व्यवस्थाले दूतावास भएका मुलुकबाट महिनौँसम्म माग प्रमाणीकरण नहुुने समस्या अन्त्य हुने र दूतावास नभएका युरोपेली मुलुकमा माग प्रमाणीकरण गर्ने दूतावास नहुँदा ती देशबाट आएको माग त्यतिकै खेर जाने समस्याको अन्त्य हुने पनि उनले भने । यसअघि वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका २०७५ अनुसार दूतावासबाट मागपत्र प्रमाणित भएपछि मात्रै श्रमिक भर्ना प्रक्रिया सुरु हुन्थ्यो । अब संशोधित व्यवस्था अनुसार युरोपसहित गन्तव्य देशका रोजगारदाताले नेपाली श्रमिक ल्याउनका लागि नेपाली दूतावासमा मागपत्र प्रमाणीकरणका लागि पेस गर्नुपर्ने हुन्छ । यस्तै १५ दिनभित्र जाँचबुझ भई नआएको अवस्थामा प्राप्त रोजगारीका अवसर गुम्न नदिन एवं वैदेशिक रोजगारलाई विश्वसनीय र व्यवस्थित बनाउनका लागि मन्त्रालयमा नै मागपत्र पेस गर्न सकिने नयाँ व्यवस्था यस कार्यविधिमा गरिएको छ । वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले सरकारले वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ र स्वीकृत गर्ने कार्यविधिले दूतावास नभएका देश युरोपबाट आएका मागपत्र प्रमाणीकरणका लागि धेरै राम्रो भएको प्रतिक्रिया दिए । यस कार्यविधिले नेपाली श्रमिकका श्रम गन्तव्य देश युरोप बनाउने राम्रो अवसर हुने र देशमा हाल भित्रिने विप्रेषणको दरमा अझै वृद्धि हुने उनको भनाइ छ । आजको गोरखापत्रबाट

खेती भएको जमिन घट्दा पनि यस वर्ष ५७ लाख २४ हजार मेट्रिक टन धान फल्यो

काठमाडौं । यस वर्ष ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान फलेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले गत आर्थिक वर्षको तुलनामा चालु आवमा ४.३३ प्रतिशतले धान उत्पादन बढेको जनाएको हो । चालु आवको धान उत्पादन पछिल्लो चार वर्षको औसत उत्पादनको तुलनामा ५.०८ प्रतिशतले बढेको जनाइएको छ । धान उत्पादन बढे पनि धान खेती भएको जमिन भने घटेको देखिएको छ । कूल धानबाली लगाइएको क्षेत्रफल गत आवको तुलनामा ०.६१ अर्थात् ८ हजार ८ सय हेक्टरले कमी आई १४ लाख ३८ हजार ९८९ हेक्टर कायम हुन पुगेको मन्त्रालयले जनाएको छ । यसवर्ष धानबाली लगाइएको क्षेत्रफल पछिल्लो चार वर्षको औसत क्षेत्रफलको तुलनामा एक दशमलव ७३ प्रतिशतले कम हो । धानको उत्पादसँगै उत्पादकत्व पनि बढेको छ । “धानबालीको औसत उत्पादकत्व गत आवको तुलनामा ४.९७ प्रतिशतले वृद्धि भई ३.९८ मेट्रिकटनप्रति हेक्टर पुगेको छ”, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, “जुन गत चार वर्षको औसत उत्पादकत्वभन्दा ६.९२ प्रतिशतले बढी हो ।” चाल आवमा धान उत्पादन कोशी प्रदेशमा उच्च छ भने कर्णाली प्रदेशमा न्यून छ । उत्पादकत्वतर्फ कोशी प्रदेशमा ४.४३ मेट्रिनटन प्रति हेक्टरसहित अग्र स्थानमा र मधेस प्रदेश ३.४९ मेट्रिकटन प्रतिहेक्टर पुछारमा रहेको छ । विगतका वर्ष जस्तै मुख्य धानको तुलनामा चैते धानको उत्पादकत्व उच्च कायम भएको मन्त्रालयले जनाएको छ । गत आवको तुलनामा उत्पादन र उत्पादकत्व वृद्धिका हिसाबले लुम्बिनी प्रदेश अग्रस्थानमा र मधेस प्रदेश ऋणात्मकमा छ । चालु आवमा धान उत्पादन वृद्धि हुनुमा उन्नत बीउको उपलब्धता र प्रयोग, रोग किराको प्रकोपमा कम बाढीपहिराबाट धान चालीमा पर्न जाने नकारात्मक असरमा कमी, मलखादको उपलब्धतामा आएको सुधार कृषि औजार र प्रविधिको प्रयोग र मौसमी अनुकूलतालाई लिइएको छ । मधेस प्रदेशका केही जिल्लामा धान रोप्ने समयमा पर्याप्त वर्षा नभएको कारणले मधेस प्रदेशमा धानको उत्पादन र उत्पादकत्वमा गत आवको तुलनामा ह्रास आएको देखिएको हो । सातवटै प्रदेशका कृषि मन्त्रालय, जिल्लागत रुपमा प्राप्त भएका प्रारम्भिक आँकडा र इसिमोडसँगको सहकार्यमा स्याटेलाइट इमेजको प्रयोग गरी धानबालीको तथ्याङ्क निकालिएको मन्त्रालयले जनाएको छ ।

मेरो माइक्रोफाइनान्सले सेयर संरचना परिवर्तन गर्दै, ११औँ साधारण सभाको मुख्य एजेण्डा

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सेयर संरचना परिवर्तन गर्ने भएको छ । लघुवित्त संस्थाले हाल कायम रहेको पुँजी संरचनालाई परिवर्तन गरी संस्थापक सेयरधनी समूहको ५९.४० प्रतिशत र सर्वसाधारण सेयरधनी समूहको ४०.६० प्रतिशत कायम गर्ने भएको हो । हाल लघुवित्तमा संस्थापक सेयरधनी समूहको ६९.४० प्रतिशत र सर्वसाधारण सेयरधनी समूहको ३०.६० प्रतिशत सेयर स्वामित्व छ । लघुवित्तले उक्त प्रस्ताव पारित गर्न आफ्नो वार्षिक साधारणसभा समेत डाकेको छ । लघुवित्त सञ्चालक समितिको पुस २३ गते बसेको बैठकले ११औँ वार्षिक साधारणसभा माघ २६ गते नुवाकोटको विदुर ४ बट्टारमा बिहान साढे ११ बजे बोलाएको हो । लघुवित्तको सभाले पबन्धपत्र संशोधन प्रस्ताव अनुमोदन गर्नेछ । आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । लघुवित्तले वार्षिक साधारणसभा प्रयोजनका लागि माघ ५ गते सेयरधनी किताब बन्द गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा अघिल्लो दिनसम्म कायम सेयरधनीहरू मात्रै साधारणसभामा सहभागी हुन सक्ने छन् ।