विकासन्युज

सरकारी विद्यालयमा छोराछोरी पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा

काठमाडौं । आँबुखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । गाउँपालिकाले पहिलो चरणमा विकट तथा आर्थिक रुपले पिछडिएका क्षेत्रका अभिभावकको स्वास्थ्य बीमा गर्न लागेको हो । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन यो नीति ल्याइएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । चुमानका अनुसार पहिलो चरणमा वडा नम्बर ४, ५ र ६ मा यो कार्यक्रम लागू हुनेछ । उनले भने, “सामुदायिक विद्यालयमा छोराछोरी पढाएका अभिभावक तथा विद्यार्थीका लागि स्वास्थ्य बीमा लागू हुनेछ । यसले सामुदायिक विद्यालयप्रति आकर्षण बढाउने अपेक्षा गरेका छौँ ।” स्वास्थ्य बीमाका लागि पालिकाले नीति, कानुन निर्माण गरिसकेको छ । यसका लागि सम्बन्धित विद्यालयको सिफारिससहित वडाबाट विद्यार्थीको विवरण सङ्कलन, बीमा फारम, नवीकरणलाई अगाडि बढाइएको चुमानले बताए । माघभित्र ती वडाका सबै विद्यार्थी र अभिभावकको स्वास्थ्य बीमा गरिसक्ने चुमानको भनाइ छ । उनले भने, “आवश्यकता बमोजिम आगामी वर्षमा प्राथमिकतामा आधारमा अन्य वडामा पनि यो कार्यक्रम विस्तार गर्ने लक्ष्य छ ।” गाउँपालिकाले यसै शैक्षिक शत्रदेखि जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा अध्ययन गराउने निर्णय कार्यान्वयन गरेको थियो । सामुदायिक विद्यालयको शैक्षिक सुधार अभियानअन्तर्गत जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउने निर्णय कार्यान्वयनमा आइसकेको छ । गाउँपालिकाले विसं २०८० लाई सामुदायिक विद्यालयको शिक्षा रुपान्तरणको अभियानको रुपमा अगाडि बढाएको छ । सामुदायिक विद्यालयको सुधारका निम्ति सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्थापन, पूर्ण दरबन्दीको व्यवस्थापन, सिकाइ गुणस्तर अभिवृद्धिलगायतका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । गाउँपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधार योजनाको सुरुवात गरेको छ । गाउँपालिकाले रुप फेर्ने, सिकाइ गुणस्तर, अनुगमन र प्रोत्साहन गरी चार विषयलाई प्राथमिकता दिएको अध्यक्ष चुमानले जानकारी दिनुभयो । चुमानले भने, “हामी निर्वाचित भएर आएदेखि नै शिक्षाको गुणस्तर वृद्धिका लागि के गर्न सक्छौँ भनेर कार्ययोजना बनाएर लागेका छौँ । शिक्षाको गुणस्तर सुधारका लागि यसलाई मुख्य प्राथमिकता दिएका छौँ ।” आँबुखैरेनी गाउँपालिकाका(६ वटा वडामा ३५ सामुदायिक विद्यालय छन् । ती विद्यालयमा करिब चार हजार पाँच सय विद्यार्थी अध्ययनरत छन् । “सामुदायिक विद्यालयको स्तर सुधार्नुपर्छ भनेर भाषणमा भन्दा पनि व्यवहारमा लागू गरेका छौँ”, चुमानले भने । गाउँपालिकाले सामुदायिक विद्यालयमा पढाउने परिवारलाई कर छुट दिने नीति ल्याएको छ । रासस

धमाधम नेपाल रिको सेयर बेच्दै विशाल ग्रुप, थप ४८.७५ करोडको बिक्रीमा राख्यो

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको दोस्रो ठूलो सेयरधनी हो, विशाल ग्रुप । आर्थिक वर्ष २०७८/७९को तथ्याङ्क अनुसार नेपाल पुनर्बीमा कम्पनीमा यस ग्रुपको ३.०२ प्रतिशत अर्थात् ३५ लाख २२ हजार ५२८ कित्ता सेयर स्वामित्व छ । तर, विशाल ग्रुपले नेपाल रिमा भएको आफ्नो स्वामित्व धमाधम बिक्री गरेर बाहिरिन लागेको छ । ग्रुपले कम्पनीमा रहेको आफ्नो स्वामित्वको १५ लाख कित्ता सेयर बिक्रीमा राखेको हो । कम्पनीले उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३२५ रुपैयाँ तोकेको छ । सो मूल्यका आधारमा ग्रुपले ४८ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेको हो । यसअघि गत असोजमा ग्रुपले आफ्नो स्वामित्वको १० लाख कित्ता सेयर बिक्री गरिसकेको छ । उक्त सेयर फरक फरक मूल्यमा बिक्री भएको थियो । कम्पनीको सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज पुस २४ गतेदेखि माघ २९ गतेसम्म निवेदन पेश गर्नु पर्नेछ । कम्पनीको सेयर विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाले खरिद गर्न सक्ने बताइएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । नेपाल पुनर्बीमाबाट बाहिरिँदै विशाल ग्रुप, साढे ३३ करोडको सेयर बिक्रीमा राख्यो नेपाल पुनर्बीमाको सेयर बिक्री नभएपछि मूल्य घटाएर बेच्दै विशाल ग्रुप नेपाल रिबाट बाहिरिए विशाल ग्रुप र नेपाल इन्स्योरेन्स, एक अर्बको कारोबार

नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने वर्कशप सम्पन्न, ५ जना कर्मचारी सम्मानित

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने इम्प्लोई स्कील इनह्यान्समेण्ट वर्कशप सम्पन्न भएको छ । ‘एक्सेल एण्ड इलिभेट २०८०/८१’ नाराका साथ आयोजित उक्त वर्कशप चितवनस्थित होटल सोल्टी वेस्टेण्डमा सम्पन्न भएको हो । कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गर्ने उदेश्यले सम्पन्न गरिएको उक्त कार्यक्रममा जीवन बीमा व्यवसायसँग सम्बन्धित विभिन्न वर्तमान पाटो बारे विवेचनागरी आगामी वर्षको लागि तय भएको व्यवसायिक लक्ष्य र रणनीतिसँग प्रशिक्षित गराइएको थियो । २०० जनाभन्दा बढीको सहभागिता रहेको उक्त कार्यक्रमको उद्घाटन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले बीमा व्यवसाय प्रतिष्पर्धात्मक र जटिल हुँदै गैरहेको वर्तमान स्थितीमा आफ्नो दक्षता, मेहनत र आपसी समन्वयबाट कम्पनीको व्यवसायिक लक्ष्य हाशिल गरी बीमा बजारमा अग्र स्थानमा पुर्याउन मार्केटिङ कर्मचारीहरुको जत्तिकै भुमिका प्रशासनिक कर्मचारीहरुको पनि हुने बताए । त्यसैले सबैले आ– आफ्नो जिम्मेवारी वहन गर्दै अधिकतम प्रयास गर्नु पर्ने उनको भनाई थियो । साथै, दक्ष कर्मचारीहरुबाट नै उत्कृष्ट परिणाम प्राप्त गर्न सकिने भएकोले कम्पनीले कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि लगानी गर्दै जानेमा उनले प्रतिवद्धता जनाए । कार्यक्रममा सहभागी कर्मचारीहरुलाई मोटिभेसनल स्पीकर मानसी अग्रवालले मोटिभेसनल तथा स्कील डेभलपमेण्ट सम्बन्धमा प्रशिक्षण प्रदान गर्नु हुँदै सबै कर्मचारीहरु कम्पनीको ब्राण्ड एम्बेसडर रहेको र कम्पनीको प्रवर्द्धनमा सबै जिम्मेवार हुनुपर्ने तर्फ सचेत रहन आग्रह गरे । यसैगरी, नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका सुदुरपश्चिम प्रदेश प्रमुख हृदयश्वर पण्डितले बीमालाई माध्यम बनाएर विभिन्न बहानामा सम्पत्ति शुद्धिकरण गर्न सकिनेतर्फ सचेत रहन आग्रह गरे । साथै, उनले राष्ट्रिय हितका लागि आतंकवादि वित्तीय लगानी रोक्नु सबैको कर्तव्य भएको बताए । कार्यक्रममा कर्मचारीहरुको दक्षता जाँच गर्नका लागि सहभागि प्रशासनिक कर्मचारीहरुको परीक्षा सञ्चालन गरिएको थियो । सो परीक्षाबाट प्रथम, द्धितीय र तृत्तीय हुन सफल क्रमशः सुरक्षा सिंह, चुडामणी गौतम र खगेन्द्र श्रेष्ठलाई सीईओ खत्रीले नगद पुरस्कारसहित सम्मान गरेका थिए । त्यस्तै, देशैभरिबाट उत्कृष्ट कार्य सम्पादन गर्ने ५ जना प्रशासनिक कर्मचारीहरु महेन्द्रनगर शाखाका ओम प्रकाश पाण्डे, तुल्सीपुर शाखाकी मिना चौधरी, कलंकी शाखाका रोशन शाक्य, इटहरी शाखाकी बन्दिता ढकाल र केन्द्रिय कार्यालयका नवराज थापा मगरलाई पनि सीईओ खत्रीले सम्मान तथा पुरस्कृत गरेका हुन् ।

साढे १२ करोड फिर्ता नगर्ने रियल गोर्खा सहकारीको अध्यक्ष कठायत र सदस्य ओझा सीआईबीका फन्दामा

काठमाडौं । बचतकर्ताको साढे १२ करोड रुपैयाँ अपचलन तथा ठगी गरेको आरोपमा रियल गोर्खा बचत तथा ऋण सहकारीका अध्यक्ष हर्कबहादुर कठायत पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सहकारीका अध्यक्ष कठायत र सञ्चालक विनोद कुमार ओझालाई पक्राउ गरेको प्रहरी उपरीक्षक तथा प्रवक्ता नबराज अधिकारीले जानकारी दिए । डोटीको शिखर नगरपालिकाका ३१ वर्षीय कठायत र काभ्रेको धुलिखेल नगरपालिकाका ३५ वर्षिय ओझालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रवक्त अधिकारीले बताए । विभिन्न ठाउँमा शाखा कार्यालय खोलेर सञ्चालनमा भइरहेको उक्त सहकारीले निक्षेपकर्ताको करिब १२ करोड ३५ लाख ४८ हजार रुपैयाँ फिर्ता गर्न नसकेपछि उजुरी परेको थियो । बचतकर्ताको रकम सहकारीका अध्यक्ष कठायत र सञ्चालक ओझाले अपचलन गरेको आरोप बचर्तकर्ताहरूले लगाएका छन् । रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाको केन्द्रीय कार्यालय काठमाडौंको तिनकुनेमा छ भने शाखा कार्यालय जोरपाटी र भक्तपुरमा छन् । शाखा कार्यालयका सदस्यहरूले निक्षेपकर्ताहरूलाई आर्कषक ब्याजदर दिन्छु भनि प्रलोभन देखाई बचत जम्मा गर्न लगाउने गरेको प्रवक्ता अधिकारीको भनाइ छ । साथै, निक्षेपकर्ताको रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, सेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई मासिक, त्रैमासिक तथा वार्षिक रुपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वास दिने गरेका थिए । तर, बचतकर्ताहरुले आफूले जम्मा गरेको साँवा, ब्याज पटक–पटक फिर्ता माग्दा नदिएकोले आफ्नो निक्षेप जोखिममा रहेको ठानी रकम उपलब्ध गराइदिन आवश्यक पहल गर्न बचतकर्ताहरूले उजुरी दिएका थिए । सोही आधारमा अध्यक्ष कठायत र सदस्य ओझालाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको उनको भनाइ छ ।

स्वास्थ्य क्षेत्रको दरबन्दी बढाउँदै छौं : मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रको दरबन्दी बढाउने तयारी भइरहेको बताएका छन् । सोमबार नरदेवी आयुर्वेद चिकित्सालयले आयोजना गरेको राष्ट्रिय योग दिवसका अवसरमा आयोजित सप्ताहव्यापी आयुर्वेद तथा योगसम्बन्धी कार्यक्रमको शुभारम्भ कार्यक्रममा मन्त्री बस्नेतले लामो समयदेखि दरबन्दी थप नभएकाले अब दरबन्दी थप गर्न लागिएको बताएका हुन् । ‘देशभरमा अहिले ९२ हजार स्वास्थ्यकर्मी तत्काल आवश्यक छ । तर आवश्यकताभन्दा कम दरबन्दी भएकाले थप गर्न लागिएको हो ।’ उनले भने । लामो इतिहास बोकेको नरदेवी आयुर्वेद चिकित्सालयलाई सरकारले विषेश ध्यान दिने उनको भनाइ छ । आयुर्वेदिक उपचार महत्वपूर्ण उपचार पद्धति रहेको भए पनि सरकारले जति ध्यान दिनुपर्ने हो त्यसरी दिन नसकेको उनको भनाइ थियो । त्यस अवसरमा नरदेवी आयुर्वेद चिकित्सालयका निर्देशक डा. श्यामबाबु यादवले अस्पतालको भौतिक पक्ष थप बलियो बनाउन र जनशक्ति वृद्धि गर्नका लागि मन्त्रीसमक्ष आग्रह गरे । उनले निकट भविष्यमै यस अस्पतालमा सिटीस्क्यान सेवासमेत सुरु गर्ने तयारी रहेको जानकारी दिए । अस्पतालमा निःशुल्क उपलब्ध हुने शय्या बढाएर १५ बाट २५ पुर्याइएको जानकारी दिँदै सम्पूर्ण बिरामीलाई निःशुल्क उपलब्ध गराइएको बताए । अस्पताललाई आगामी दिनमा अन्तर्राष्ट्रिय अस्पतालका रुपमा विकास गर्नका लागि निरन्तर प्रयास भइरहेको पनि उनको भनाइ थियो । अस्पताल १९७४ सालमा स्थापना भएको थियो । हाल अस्पतालमा एक सय १८ शय्या छन् । रासस

ग्लोबल आइएमई बैंकले सञ्चालनमा ल्यायो थप दुई नयाँ शाखा

काठमाडौं । ग्लोबल आइएमई बैंकले २ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले सर्लाहीको मलगंवा नगरपालिका–८, मलगंवा र काभ्रेको धुलिखेल नगरपालिका-३, धुलिखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यी दुई नयाँ शाखाहरुबाट सोमबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध हुनेछन् । बैंकले हाल देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क/वैदेशिक प्रतिनिधि कार्यालय सहित १,१०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

महसुल उठ्ने र उद्योग चल्ने विकल्पमा जानुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ट्रंक र डेडिकेटेड महसुल विवाद समाधानका लागि मध्यमार्गी उपायको खोजी गर्न सम्वद्ध निकायलाई आग्रह गरेका छन् । नेपाल विद्युत् प्राधिकरणलाई भुक्तानी गर्नुपर्ने बक्यौता उठ्ने तथा उद्योग पनि चल्ने विकल्पमा जानुपर्ने उनले बताए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित छलफल कार्यक्रममा प्रधानमन्त्री दाहालले उद्योग चल्ने र महसुल उठने उपायको खोजी गर्नुपर्ने बताएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सङ्घीय संसद्का विभिन्न समितिको निर्देशनलाई मनन गरेर समस्या समाधानमा लाग्नुपर्ने उल्लेख गर्दै महान्यायधिवक्ता कार्यालयको राय लिएर निष्कर्षमा पुग्नुपर्नेमा उनले जोड दिए । प्रधानमन्त्री दाहालले भने, ‘संसदीय समिति र अख्तियारको निर्देशन पनि हेरौँ । महान्यायधिवक्ता कार्यालयको राय पनि लिउँ । त्यसपछि बक्यौता पनि उठ्ने र उद्योग पनि चल्ने विकल्पमा जानु राम्रो हुन्छ । त्यसका लागि तपाईहरूले विकल्प खोजेर समाधान खोज्नेतिर लाग्नुस् ।’ बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकारसँग भएका तथ्य र प्रचलित कानुनका आधारमा टं«क र डेडिकेटेड लाइनसम्बन्धी विवाद छिटो समाधान गर्न मन्त्रालय प्रयासरत रहेको बताए । किस्ताबन्दीमा बक्यौता महसुल भुक्तानी गर्न व्यवसायीलाई समय दिइएकाले महान्यायाधिवक्ताको कार्यालयको कानुनी राय र सल्लाह लिएर सहमतिमै समस्याको समाधान हुने उनले विश्वास व्यक्त गरे । त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योगीले उठाएका विषयमध्ये जायज र सम्बोधन गर्न सकिने मागमा सहजीकरणको सम्भावना खोज्नुपर्ने उल्लेख गर्दै उद्योग सञ्चालनका लागि मन्त्रालयले समन्वय गरिरहेको उनले बताए । नेपाल सरकारका मुख्यसचिव डा बैकुण्ठ अर्यालले विद्युत् नियमन आयोगको निर्णय र प्रचलित कानुन तथा कार्यविधिअनुसार नै समाधान निकाल्नुपर्ने बताए । छलफलमा सहभागी नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणका प्राथमिकता, काम र आगामी कार्ययोजनाबारे जानकारी गराउँदै ट्रंक र डेडिकेटेड लाइनका सम्बन्धमा देखिएको अन्योलता समाधान गरिने बताए । उनले विद्युत् महसुल निर्धारण आयोगसँग आवश्यक परामर्श गरी प्राधिकरण ठोस् निर्णयमा पुग्न चाहेको र त्यसका लागि आवश्यक पहल गरिरहेको बताए । छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ, ऊर्जा सचिव गोपालप्रसाद सिग्देललगायत सहभागी थिए । रासस

सिटिजन्स बैंकको १० प्रतिशत ऋणपत्र सूचीकृत, मंगलबारदेखि कारोबारमा आउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको १० प्रतिशत डिबेन्चर (ऋणपत्र)नेप्सेमा सूचीकृत भएको छ । पुस २३ गते सोमबार बैंक र नेप्सेबीच ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ ऋणपत्र सीआईजेडबीडी९० सूचीकृत गर्ने सम्झौता भएको हो । यससँगै बैंकको १० वर्षे अवधि रहेको प्रतिथान एक हजार रुपैयाँ रहेको कूल ३० लाख कित्ताको सूचीकरण भएको छ । कम्पनीले सर्वसाधारण समक्ष हिमालयन क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कम्पनी) मार्फत खुल्ला बिक्री आव्हान गरेको थियो । सोमबार सूचीकृत भएको उक्त ऋणपत्र मंगलबारदेखि नेप्सेमा कारोबार हुने छ । जसको वार्षिक ब्याजदर १० प्रतिशत छ । बैंकले १९० वटा शाखा, १५१ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ९६ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।