सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई होटल शारामा छुट
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई होटल शारामा छुट हुने भएको छ । सांग्रिला डेभलपमेन्ट बैंक र होटल शाराबीच बैंकका ग्राहकहरुलाई विभिन्न किसिमका आवाश तथा रेष्टुरेन्ट सम्बन्धी सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र होटल शाराका तर्फबाट उक्त कम्पनीका कार्यकारी निर्देशक पृथ्वी सुवेदीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकका भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले होटल शारामा खाना, सौना र स्पा तथा पेय पदार्थमा १० प्रतिशत तथा आवाशमा २५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । साथै भोजका निम्ति हलहरुमा १५ प्रतिशत छुट सम्म दिइएको छ । यस सम्झौताले बैंकमा कार्यरत कर्मचारीहरु तथा ग्राहकहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।
केएल दुगड ग्रुपले ल्यायो ‘ज्ञान मसला’
काठमाडौं । केएल दुगड ग्रुपले ‘ज्ञान मसला’ बजारमा ल्याएको छ । ज्ञान चक्की आटा, धारा शुद्ध तोरीको तेल, धारा हेल्थ सूर्यमुखी तेल, ज्ञान चामल जस्ता उच्च गुणस्तरको विभिन्न खाद्य सामग्री उपभोक्ता माझ उपलब्ध गराउँदै आएको केएल दुगड ग्र्रुपले ‘ज्ञान मसला’ बजारमा ल्याएको हो । ज्ञान हल्दी, ज्ञान धनिया, ज्ञान रेड चिल्ली, ज्ञान जीरा, ज्ञान अम्चुर गरी ५ वटा विभिन्न स्वादमा ५०० ग्रामको उपभोक्ता प्याकमा उपलब्ध छन् । अब ग्राहकहरुले भाटभटेनी, बिगमार्ट, दराज तथा स्थानीय किराना पसलहरुमा ज्ञान मसला सजिलै प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ ।
हिमालय एयरलाइन्सको सेवा आईओएस मापदण्डअनुसार, प्रमाणपत्र लिन १ करोड ६० लाख खर्च
काठमाडौं । हिमालय एयरलाइन्स आईओएसएमा दर्ता हुने पहिलो नेपाली वायुसेवा कम्पनी बनेको छ । २८ डिसेम्बर २०२३ मा इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसनद्वारा ३ मार्च २०२५ सम्म मान्य हुने गरी प्राप्त आईओएसए प्रमाणीकरण एक कोसेढुंगाका रूपमा हिमालय एयरलाइन्सले उपलब्धि हासिल गरेको छ । ‘हिमालय एयरलाइन्स आईओएसए कार्यक्रम म्यानुअलको प्रावधानअनुसार आईएटीए अपरेशनल सेफ्टी अडिट प्रोग्राम (आईओएसए) अन्तर्गत आईओएसए अपरेटरको रूपमा सफलतापूर्वक दर्ता भएको छ,’ उक्त प्रमाणपत्रमा लेखिएको छ । आईओएसए प्रमाणीकरणले यात्रुहरूलाई सुरक्षित र भरपर्दो यात्राको अनुभव प्रदान गर्दै उच्च सुरक्षा मापदण्ड र उत्तम अभ्यासहरू पालना गरेको पुष्टि भएको कम्पनीको भनाइ छ । नेपालको पहिलो र एकमात्र आईओएसए प्रमाणित वायुसेवाको रूपमा हिमालय एयरलाइन्सले हवाई सुरक्षाको आफ्नो प्रतिबद्धताका सम्बन्धमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ । आईओएसएको यस कठिन परीक्षण प्रक्रियाले वायुसेवा सञ्चालनका विभिन्न पक्षहरूको मूल्यांकन गर्दै दक्षता, जोखिम व्यवस्थापन र समग्र कार्यसम्पादन सुधार भएको कम्पनीले बताएको छ । ‘यो कोसेढुंगाले नेपालको उड्डयन उद्योगमा सकारात्मक परिवर्तनको संकेत गर्छ । हवाई सुरक्षा र अपरेशनल उत्कृष्टताका लागि नयाँ आयामहरू स्थापित गर्दै यस क्षेत्रको उदाहरणका रूपमा नेतृत्व गर्न पाउँदा हामी गर्व गर्दर्छौं,’ हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘यस प्रमाणीकरणले उच्च सुरक्षा मापदण्डहरू कायम राख्नका लागि हाम्रा निरन्तर प्रयासहरूलाई मात्र प्रमाणित गर्दैन, हामीलाई विश्वव्यापी उड्डयन समुदायमा एक विश्वसनीय वायुसेवाको रूपमासमेत स्थान दिन्छ । हामी आगामी वर्षहरूमा यस उपलब्धिलाई जारी राख्न तत्पर छौं ।’ उड्डयन सुरक्षा तथा सुरक्षा नियमन निर्देशनालयकी उपमहानिर्देशक नविना कर्माचार्यले नेपाल नागरिक उड्डयन प्राधिकरणको तर्फबाट हिमालय एयरलाइन्सलाई हवाई सुरक्षाप्रतिको असाधारण समर्पणका लागि तथा प्रतिष्ठित आईओएसए प्रमाणपत्र प्राप्त गर्न सफल भएकोमा खुसी व्यक्त गरिन् । हिमालय एयरलाइन्सको यो उपलब्धिले निश्चितरूपमा यात्रुहरूको विश्वासलाई सुदृढ गर्न तथा देशमा हवाई यात्राको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्याउँछ,’ उनले भनिन् । आईएटीए अपरेशनल सेफ्टी अडिट (आईओएसए) अन्तर्राष्ट्रिय एयर ट्रान्सपोर्ट एसोसिएसन (आईएटीए) द्वारा वायुसेवाहरूको लागि विश्वव्यापीरूपमा मान्यता प्राप्त परीक्षण कार्यक्रम हो, जुन अपरेशन सुरक्षा वृद्धि गर्ने र वायुसेवा उद्योगभित्र साझा सुरक्षा मानक प्रवर्द्धन गर्ने प्राथमिक लक्ष्यका साथ वायुसेवाको अपरेशन व्यवस्थापन र नियन्त्रण प्रणालीहरूको मूल्यांकन गर्नका लागि विकास गरिएको हो । यो प्रक्रियामा वायुसेवाहरूको नीति, प्रक्रिया र अभ्यासहरूको परीक्षण समावेश हुन्छ । यसमा कागजातहरूको मूल्यांकनका साथै साइटको समीक्षासमेत समावेश हुने गर्दछ । परीक्षणको सफलता र सबै निष्कर्षहरूको पालनापछि वायुसेवाहरूलाई आईओएसए प्रमाणीकरण प्रदान गरिन्छ । आईओएसए दर्तालाई सुरक्षा उत्कृष्टताको चिह्नको रूपमा हेरिन्छ, जुन आईएटीए सदस्यताको लागि पूर्वशर्त पनि हो । आईओएसएमा दर्ता र प्रमाणिकरण हुने क्रममा करिब एक करोड ६० लाख रुपैयाँ खर्च भएको उपाध्यक्ष श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष पक्राउ गरेपछि सीआईबीले भन्यो- रियल गोर्खा सहकारीका पीडित सम्पर्कमा आउनुस्
=काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंको तीनकुनेस्थित रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाबाट ठगीमा परेका पीडितलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले सहकारीका केही व्यक्ति पक्राउ परेकाले उनीहरुविरुद्ध मुद्दा अघि बढाउनुपर्ने हुँदा ठगीमा परेकालाई समयमै सम्पर्कमा आएर जाहेरी दिन सार्वजनिक अनुरोध गरिएको जानकारी दिए । उनले भने, ‘सहकारी ठगीमा सञ्चालकलाई मुद्दा चलाउनुपर्ने हुन्छ, सबै पीडित आएमा बिगो कायम तथा जेल सजायाका लागि प्रतिवेदन तयार पारी जिल्ला सरकारी वकिलमार्फत मुद्दा चलाउन सकिने भएकाले जतिसक्दो छिटो सम्पर्कमा आएर जाहेरी दिन आग्रह गरेका छौँ ।’ प्रहरी उपरीक्षक अधिकारीले काठमाडौंको तीनकुने केन्द्रीय कार्यालय भई जोरपाटी र भक्तपुरका विभिन्न क्षेत्रमा उक्त सरकारीले सेवा दिएको र सोही क्रममा सञ्चालक समितिका सदस्यले निक्षेपकर्तालाई आर्कषक ब्याजदर दिन्छु भनी प्रलोभन देखाइ निक्षेपकर्ताको ठूलो रकम हिनामिना गरेको पाइएको बताए । अहिलेसम्मको अनुसन्धानमा रु १२ करोड ३५ लाख बचत रकम अपचलन तथा हिनामिना गरेको पाइएको उनले बताए । यसरी रकम हिनामिना गरी फरार रहेका अध्यक्ष हर्कबहादुर कठायत र सदस्य विनोदकुमार ओझालाई पक्राउ गरी अनुसन्धान थालिएकाले बचतकर्तालाई सम्पर्कमा आएर जाहेरी दिन ब्यूरोले आग्रह गरेको छ । कठायत र ओझाले सर्वसाधारणलाई सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, सेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई मासिक/त्रैमासिक/वार्षिकरुपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वासका पारी रकम सङ्कलन गरेका थिए । समय पुगेपछि उक्त संस्थामा बचतकर्ताले जम्मा गरेको रकमको साँवा, ब्याज फिर्ता नदिएको तथा लामो समयदेखि ध्यानाकर्षण गराउँदासमेत नियमानुसार पाउनुपर्ने निक्षेप तथा सोको ब्याज रकम उपलब्ध गराउन आवश्यक पहल नगरी संस्था नै बन्द गरेर फरार भएपछि पीडितले प्रहरीमा जाहेरी दिएका थिए ।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । खनालले मंगलबार बिहान सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर राजीनामा बुझाएका हुन् । २०७६ साउनमा प्राधिकरणको अध्यक्ष भएका खनालको कार्यकाल आगामी साउनसम्म बाँकी थियो । तर, आफ्नो कार्यकालमा विभिन्न प्रकरणमा मुछिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा समेत तानिएपछि उनले राजीनामा दिएका हुन् । पछिल्लो समय टेरामक्स खरिद प्रकरण, मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) स्मार्ट सेल खारेजी र एनसेलको सेयर खरिद बिक्रीमा प्राधिकरण नेतृत्वले ठोस कदम चाल्न नसकेको भन्दै आलोचना भइरहेको छ । टेरामक्स र एमडीएमएस प्रणालीमा अनियमितता भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानिबन समेत अगाडि बढाएको छ । यसैबीच अध्यक्ष खनालले राजीनामा दिएका हुन् ।
नयाँ ब्रोकर कम्पनी बेनी सेक्युरिटिज सञ्चालनमा
काठमाडौं । दोस्रो बजारमा सोमबारदेखि अर्को नयाँ ब्रोकर कम्पनीको रुपमा बेनी सेक्युरिटिज प्रालिको प्रवेश भएको छ । बेनी सेक्युरिटिज प्रालि (ब्रोकर नम्बर ९३) ले नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट आधिकारीक रुपमा गत कात्तिक २९ गते सदस्यता प्रदान गरेसँगै कम्पनी सञ्चालनमा आएको छ । बानेश्वरको रुद्रमति मार्गमा रहेको यस कम्पनीले औपचारिक रुपमा सोमबारदेखि कारोबार सुरु गरेको हो । लगानीकर्ताको बढ्दो मागलाई मध्यनजर गर्दै सेयर कारोबारका लागि सञ्चालनमा ल्याएको बेनी सेक्युरिटिज कम्पनीको चुक्तापुँजी बिस करोड रहेको छ । कम्पनीले आफ्नो नाम जस्तै सेवापनि सजिलो रुपमा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । खुला अर्थनीति र पुँजी बजारको चरित्रका आधारमा ब्रोकर लाइसेन्स सबैको लागि खुला राख्ने नीति ल्याए संगै नयाँ ब्रोकर कम्पनीले कारोबारको अवसर पाएका हुन् ।
मर्जरको सकस अझै बाँकी, ४ बैंकले गर्न सकेनन् साधारण सभा
काठमाडौं । वाणिज्य बैंकहरू कर्पाेरेट सुशासनमा सञ्चालन र व्यवस्थापनमा चुस्तदुरुस्त रहन्छन् । हरेक विषय चुस्तदुरुस्त राख्ने वाणिज्य बैंकहरूले आफ्नो वार्षिक साधारण सभा पनि समयमा गरिरहेका हुन्छन् । सकेसम्म आर्थिक वर्ष सम्पन्न भएको ६ महिनाभित्र साधारण सभा सम्पन्न गर्ने बैंकहरू पछिल्लो समय भने समयमै साधारण सभा गर्न नसक्ने अवस्थामा पुगेका छन् । विगतमा सबै बैंकहरूले पुस मसान्तमा आफ्नो साधारण सभा सम्पन्न गरिसक्थे । तर, यसपटक भने विभिन्न ४ बैंकले आफ्नो साधारण सभा समयमा सम्पन्न गर्न सकेनन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक, कुमारी बैंक र कृषि विकास बैंकको वार्षिक साधारण सभा लम्बिएको हो । यी बैंकले पुस मसान्तसम्म पनि साधारण सभा सम्पन्न गर्न नसकेपछि केही समय पर धकेलिएको हो । साधारण सभा समयमा सम्पन्न गर्न नसक्ने बैंकहरू मर्जरमा गएका संस्था हुन् । मर्जरका कारण पनि समयमा साधारण सभा सम्पन्न गर्न नसकेको बैंकरहरू बताउँछन् । साधारण सभा आह्वान गर्न बाँकी रहेको कृषि विकास बैंकबाहेक अन्य बैंकसँग लाभांश बाँड्ने क्षमता कम छ । त्यसकारण पनि बैंकहरूले हतार नगरी बिस्तारै साधारण सभा गर्न खोजेका हुन् । प्रभु बैंक मर्जरमा सामेल भएको बैंक हो । बैंकसँग गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने क्षमता कम छ । त्यसैले साधारण सभा बिस्तारै गर्ने योजना रहेको बैंक स्रोतको भनाइ छ । तर, चैत अगाडि नै साधारण सभा गर्ने तयारी रहेको स्रोत बताउँछ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) महेश शर्मा ढकालका अनुसार मर्जरका कारण साधारण सभा आह्वान ढिला हुन पुगेको बताउँछन् । साथै, सञ्चालकहरूको व्यस्तता कारण पनि साधारण सभा ढिला हुन गएको उनको भनाइ छ । ‘मर्ज भएका बैंकहरूले वार्षिक साधारण सभा ढिलाे गरिरहेका छन्, एनआईएमबिको पनि छिट्टै वार्षिक साधारण सभा आह्वान गर्ने तयारी छ, हतार नगरी बिस्तारै गर्ने बैंकको योजना छ,’ उनले भने, ‘सञ्चालकहरूको व्यस्तताले पनि अलि ढिला हुन पुगेको हो ।’ उनका अनुसार बैंकले हिसाब मिलानको सबै काम फाइनल गरेर राष्ट्र बैंक पठाएको छ । तर, राष्ट्र बैंकले हालसम्म वित्तीय विवरण स्वीकृत गरेको छैन । हाल स्वीकृतिको प्रक्रियामा रहेकाले अनुमति पाउनेबित्तिकै साधारण सभा आह्वान गर्ने उनको भनाइ छ । ‘बैंकले वित्तीय विवरण ढिला पठाएको कारण स्वीकृत हुन पनि ढिला भयो, त्यो स्वीकृति पाउनेबित्तिकै साधारण सभा बोलाउने तयारी छ,’ उनले भने । कुमारी बैंकका चिफ अप्रेटिङ अफिसर मुकुन्द सुवेदीका अनुसार बैंकले गत वर्षको नाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरेको भए पनि हालसम्म वार्षिक साधारण सभा आह्वान गरेको छैन । राष्ट्र बैंकबाट स्वीकृति पाइसकेकाले चाँडै वार्षिक साधारण सभा आह्वान गर्ने उनको भनाइ छ । ‘राष्ट्र बैंकबाट पनि स्वीकृत पाइसकेको छ, अब चाँडै हामी वार्षिक साधारण सभा आह्वान गर्छाैं, रेगुलर प्रोसेसमा अघि बढेका छौं,’ उनले भने, ‘मर्जरपछि धेरै कुरा मिलाउनुपर्ने थियो, वित्तीय विवरण मिलाएर राष्ट्र बैंक पठाउँदा स्वीकृति पाउन पनि समय लाग्यो ।’ पुस मसान्तमा साधारण सभा गर्नुपर्ने भए पनि स्वीकृति पाउन ढिलाइ भएका कारण ढिला हुन पुगेको उनको भनाइ छ । अब धेरै लामो समय नधकेल्ने उनले बताए । यस वर्ष पनि कृषि विकास बैंकले समयमा साधारण सभा सम्पन्न गर्न सकेन । गत वर्ष बैंकले चैतमा साधारण सभा गरेको थियो । यसपटक माघभित्रै कृषि विकास बैंकको साधारण सभा हुने कम्पनी सचिव हिमलाल पौड्यालले बताए । बैंकले अडिट गरेर महालेखामा पठाएको तर हालसम्म स्वीकृत भएर आउन बाँकी रहेको उनको भनाइ छ । ‘हाम्रो वार्षिक साधारण सभा पुसभित्र गर्न सकिएन, अडिटरले फाइनल गरेर महालेखामा पठाएको छ । महालेखाबाट स्वीकृत भएर आएपछि माघ मसान्तसम्म गर्ने लक्ष्य छ,’ उनले भने, ‘गत वर्ष बैंकले चैतमा साधारण सभा गरेको थियो ।’ तर, यसपटक चैतसम्म नलम्ब्याउने उनको भनाइ छ । धेरै ढिलोमा फागुन पहिलो सातासम्म वार्षिक साधारण सभा गरिसक्ने उनले बताए । ‘हामीले गर्न त चाँडै गर्न खोजेको हो तर विभिन्न समस्याका कारण ढिला भयो,’ उनले भने, ‘सबै शाखाको हिसाब किताब मिलान गर्नुपर्ने हुन्छ, हामीले पनि कतिपय विषयमा जवाफ दिनुपर्ने भयो, सबैको समय व्यवस्थापन हुन नसकेर ढिला हुन पुग्यो ।’ उनका अनुसार बैंकको लेखा हेरिरहेका कर्मचारीले राजीनामा दिएपछि ढिला हुन पुगेको हो । ‘सीए नै बाहिरिएपछि नयाँ सीए राख्यौं, नयाँ सीए राखेपछि धेरै कुरा बुझ्नुपर्छ, उसलाई बुझ्न समय लागेपछि ढिला हुन पुग्यो,’ उनले भने । लक्ष्मी सनराइज बैंकको २३औं वार्षिक साधारण सभा पुस २६ गते हुँदैछ । लाभांशसहित अन्य प्रस्ताव गरेको बैंकको साधारण सभा काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा दिनको २ बजे सुरु हुनेछ । राष्ट्रिय वाणिज्य बैंकले १७औं वार्षिक साधारण सभा पुस २९ गते बोलाएको छ । यस्तै, प्राइम कमर्सियल बैंकको १६औं वार्षिक साधारण सभा पुस २९ गते काठमाडौंको डिल्लीबजारस्थित अमृतभोग क्याटर्स कालिकास्थानमा बिहान ११ बजे, हिमालयन बैंकको ३१औं वार्षिक साधारण सभा पुस २९ गते नेपाल प्रज्ञाप्रतिष्ठान कमलादी काठमाडौंमा बिहान साढे ९ बजे डाकेको छ । नेपाल बैंकको ६४औं वार्षिक साधारण सभा पुस २९ गते प्रधान कार्यालय काठमाडौंमा बिहान ११ बजे, एनएमबि बैंकको २८औं वार्षिक साधारण सभा पुस २६ गते राष्ट्रिय सभागृहमा बिहान १० बजे बोलाएका छन् ।
डिसहोमले एक वर्षमा गर्यो ५ अर्ब बढीको आम्दानी, १० अर्बको ऋण लिँदै
काठमाडौं । डिस मिडिया नेटवर्क (डिसहोम) को वार्षिक आम्दानी बढ्दो छ । कम्पनीको अपरिस्कृत वित्तीय विवरणअनुसार डिसहोमले आर्थिक वर्ष २०२३ मा ५ अर्ब १९ करोड रुपैयाँ बराबरको आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्ष २०२२ मा यस्तो आम्दानी ४ अर्ब ८३ करोड रुपैयाँ थियो । आम्दानी बढाएको कम्पनीको नाफा भने अघिल्ला वर्षको तुलनामा घटेको छ । अघिल्लो आवमा १७.७८ प्रतिशतले बढेको कम्पनीको नाफा गत आवमा १.२५ प्रतिशतले मात्रै बढेको छ । सन् २०१०मा डाइरेक्ट टू होम (डीटीएच) सेवा प्रदायक स्याट्यालाइट च्यानल र डिस मिडिया नेटवर्क मर्ज भई डिस मिडिया नेटवर्क बनेको हो । र, सन् २०१७ जुलाई २ मा पब्लिक कम्पनीमा परिणत भएको हो । हाल कम्पनीले ७५ डिलर, ४ हजार ५ सयभन्दा बढी सब डिलर, १४ सर्भिस सेन्टरहरु मार्फत ग्राहकलाई सेवा दिइरहेको छ । त्यस्तै, कम्पनीको १५ सय प्लस सेवा फ्रान्चाइज र १० हजार पोइन्ट अफ सेल्स र ३३ वटा स्थानीय केबल अपरेटरहरु र १२५ स्थानीय केबल अपरेटरहरु देशभर छन् । डिसहोमको मूख्य सेयरधनी स्याण्डमार्टिन इन्टरनेशनल होल्डिङ्ग रहेको छ, जसको ३३ प्रतिशत सेयर स्वामित्व छ । डिसहोमले १० अर्ब रुपैयाँ बराबरको कर्जाको लागि केयर रेटिङ्ग नेपालमा रेटिङ्ग गराएको छ । जसमध्ये ५ अर्ब ७२ करोड २८ लाख रुपैयाँ दीर्घकालिन कर्जाको लागि र बाँकी रहेको ४ अर्ब २७ करोड ७२ लाख रुपैयाँ अल्पकालिन कर्जाको लागि रेटिङ्ग भएको छ । यी दुई वटै कर्जाको लागि केयर रेटिङ्गले क्रमशः केयर एनपी डबल बीप्लस र केयर एनपी एफोर प्लस रेटिङ्ग दिएको छ । डिसहोमले २३ करोड ८५ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्दै छ । जसको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।