मर्जरको सकस अझै बाँकी, ४ बैंकले गर्न सकेनन् साधारण सभा

<p>काठमाडौं । वाणिज्य बैंकहरू कर्पाेरेट सुशासनमा सञ्चालन र व्यवस्थापनमा चुस्तदुरुस्त रहन्छन् । हरेक विषय चुस्तदुरुस्त राख्ने वाणिज्य बैंकहरूले आफ्नो वार्षिक साधारण सभा पनि समयमा गरिरहेका हुन्छन् । सकेसम्म आर्थिक वर्ष सम्पन्न भएको ६ महिनाभित्र साधारण सभा सम्पन्न गर्ने बैंकहरू पछिल्लो समय भने समयमै साधारण सभा गर्न नसक्ने अवस्थामा पुगेका छन् । विगतमा सबै बैंकहरूले पुस [&hellip;]</p>

काठमाडौं । वाणिज्य बैंकहरू कर्पाेरेट सुशासनमा सञ्चालन र व्यवस्थापनमा चुस्तदुरुस्त रहन्छन् । हरेक विषय चुस्तदुरुस्त राख्ने वाणिज्य बैंकहरूले आफ्नो वार्षिक साधारण सभा पनि समयमा गरिरहेका हुन्छन् ।

सकेसम्म आर्थिक वर्ष सम्पन्न भएको ६ महिनाभित्र साधारण सभा सम्पन्न गर्ने बैंकहरू पछिल्लो समय भने समयमै साधारण सभा गर्न नसक्ने अवस्थामा पुगेका छन् । विगतमा सबै बैंकहरूले पुस मसान्तमा आफ्नो साधारण सभा सम्पन्न गरिसक्थे । तर, यसपटक भने विभिन्न ४ बैंकले आफ्नो साधारण सभा समयमा सम्पन्न गर्न सकेनन् ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक, कुमारी बैंक र कृषि विकास बैंकको वार्षिक साधारण सभा लम्बिएको हो । यी बैंकले पुस मसान्तसम्म पनि साधारण सभा सम्पन्न गर्न नसकेपछि केही समय पर धकेलिएको हो ।

साधारण सभा समयमा सम्पन्न गर्न नसक्ने बैंकहरू मर्जरमा गएका संस्था हुन् । मर्जरका कारण पनि समयमा साधारण सभा सम्पन्न गर्न नसकेको बैंकरहरू बताउँछन् । साधारण सभा आह्वान गर्न बाँकी रहेको कृषि विकास बैंकबाहेक अन्य बैंकसँग लाभांश बाँड्ने क्षमता कम छ । त्यसकारण पनि बैंकहरूले हतार नगरी बिस्तारै साधारण सभा गर्न खोजेका हुन् ।

प्रभु बैंक मर्जरमा सामेल भएको बैंक हो । बैंकसँग गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने क्षमता कम छ । त्यसैले साधारण सभा बिस्तारै गर्ने योजना रहेको बैंक स्रोतको भनाइ छ । तर, चैत अगाडि नै साधारण सभा गर्ने तयारी रहेको स्रोत बताउँछ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) महेश शर्मा ढकालका अनुसार मर्जरका कारण साधारण सभा आह्वान ढिला हुन पुगेको बताउँछन् । साथै, सञ्चालकहरूको व्यस्तता कारण पनि साधारण सभा ढिला हुन गएको उनको भनाइ छ ।

‘मर्ज भएका बैंकहरूले वार्षिक साधारण सभा ढिलाे गरिरहेका छन्, एनआईएमबिको पनि छिट्टै वार्षिक साधारण सभा आह्वान गर्ने तयारी छ, हतार नगरी बिस्तारै गर्ने बैंकको योजना छ,’ उनले भने, ‘सञ्चालकहरूको व्यस्तताले पनि अलि ढिला हुन पुगेको हो ।’

उनका अनुसार बैंकले हिसाब मिलानको सबै काम फाइनल गरेर राष्ट्र बैंक पठाएको छ । तर, राष्ट्र बैंकले हालसम्म वित्तीय विवरण स्वीकृत गरेको छैन । हाल स्वीकृतिको प्रक्रियामा रहेकाले अनुमति पाउनेबित्तिकै साधारण सभा आह्वान गर्ने उनको भनाइ छ ।

‘बैंकले वित्तीय विवरण ढिला पठाएको कारण स्वीकृत हुन पनि ढिला भयो, त्यो स्वीकृति पाउनेबित्तिकै साधारण सभा बोलाउने तयारी छ,’ उनले भने ।

कुमारी बैंकका चिफ अप्रेटिङ अफिसर मुकुन्द सुवेदीका अनुसार बैंकले गत वर्षको नाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरेको भए पनि हालसम्म वार्षिक साधारण सभा आह्वान गरेको छैन । राष्ट्र बैंकबाट स्वीकृति पाइसकेकाले चाँडै वार्षिक साधारण सभा आह्वान गर्ने उनको भनाइ छ ।

‘राष्ट्र बैंकबाट पनि स्वीकृत पाइसकेको छ, अब चाँडै हामी वार्षिक साधारण सभा आह्वान गर्छाैं, रेगुलर प्रोसेसमा अघि बढेका छौं,’ उनले भने, ‘मर्जरपछि धेरै कुरा मिलाउनुपर्ने थियो, वित्तीय विवरण मिलाएर राष्ट्र बैंक पठाउँदा स्वीकृति पाउन पनि समय लाग्यो ।’

पुस मसान्तमा साधारण सभा गर्नुपर्ने भए पनि स्वीकृति पाउन ढिलाइ भएका कारण ढिला हुन पुगेको उनको भनाइ छ । अब धेरै लामो समय नधकेल्ने उनले बताए ।

यस वर्ष पनि कृषि विकास बैंकले समयमा साधारण सभा सम्पन्न गर्न सकेन । गत वर्ष बैंकले चैतमा साधारण सभा गरेको थियो । यसपटक माघभित्रै कृषि विकास बैंकको साधारण सभा हुने कम्पनी सचिव हिमलाल पौड्यालले बताए । बैंकले अडिट गरेर महालेखामा पठाएको तर हालसम्म स्वीकृत भएर आउन बाँकी रहेको उनको भनाइ छ ।

‘हाम्रो वार्षिक साधारण सभा पुसभित्र गर्न सकिएन, अडिटरले फाइनल गरेर महालेखामा पठाएको छ । महालेखाबाट स्वीकृत भएर आएपछि माघ मसान्तसम्म गर्ने लक्ष्य छ,’ उनले भने, ‘गत वर्ष बैंकले चैतमा साधारण सभा गरेको थियो ।’

तर, यसपटक चैतसम्म नलम्ब्याउने उनको भनाइ छ । धेरै ढिलोमा फागुन पहिलो सातासम्म वार्षिक साधारण सभा गरिसक्ने उनले बताए ।

‘हामीले गर्न त चाँडै गर्न खोजेको हो तर विभिन्न समस्याका कारण ढिला भयो,’ उनले भने, ‘सबै शाखाको हिसाब किताब मिलान गर्नुपर्ने हुन्छ, हामीले पनि कतिपय विषयमा जवाफ दिनुपर्ने भयो, सबैको समय व्यवस्थापन हुन नसकेर ढिला हुन पुग्यो ।’

उनका अनुसार बैंकको लेखा हेरिरहेका कर्मचारीले राजीनामा दिएपछि ढिला हुन पुगेको हो । ‘सीए नै बाहिरिएपछि नयाँ सीए राख्यौं, नयाँ सीए राखेपछि धेरै कुरा बुझ्नुपर्छ, उसलाई बुझ्न समय लागेपछि ढिला हुन पुग्यो,’ उनले भने ।

लक्ष्मी सनराइज बैंकको २३औं वार्षिक साधारण सभा पुस २६ गते हुँदैछ । लाभांशसहित अन्य प्रस्ताव गरेको बैंकको साधारण सभा काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा दिनको २ बजे सुरु हुनेछ । राष्ट्रिय वाणिज्य बैंकले १७औं वार्षिक साधारण सभा पुस २९ गते बोलाएको छ ।

यस्तै, प्राइम कमर्सियल बैंकको १६औं वार्षिक साधारण सभा पुस २९ गते काठमाडौंको डिल्लीबजारस्थित अमृतभोग क्याटर्स कालिकास्थानमा बिहान ११ बजे, हिमालयन बैंकको ३१औं वार्षिक साधारण सभा पुस २९ गते नेपाल प्रज्ञाप्रतिष्ठान कमलादी काठमाडौंमा बिहान साढे ९ बजे  डाकेको छ ।

नेपाल बैंकको ६४औं वार्षिक साधारण सभा पुस २९ गते प्रधान कार्यालय काठमाडौंमा बिहान ११ बजे, एनएमबि बैंकको २८औं वार्षिक साधारण सभा पुस २६ गते राष्ट्रिय सभागृहमा बिहान १० बजे बोलाएका छन् ।

Share News