विकासन्युज

उतारचढाव देखिएको बुधबारको बजारमा ५ कम्पनीको सेयरमा लाग्यो सर्किट

काठमाडौं । बुधबारको सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । दिनभरको बजारमा बढेर २११६ बिन्दुमा पुगेको परिसूचक अन्तिममा २०८९.६२ बिन्दुमा झरेको छ । समग्रमा बुधबारको नेप्से परिसूचक मंगलबारको तुलनामा ९.५० अंकले बढेर २०८९.६२ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.४५ प्रतिशतले बढेको छ । बजारमा ५ अर्ब १३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन मंगलबारको तुलनामा घटी हो । मंगलबारको बजारमा ६ अर्ब ११ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । सो दिन ९ वटा कम्पनीको १० करोडमाथिको सेयर कारोबार भएको छ । जसमध्ये सोनापुर मिनिरल्स एण्ड आयलको सर्वाधिक अर्थात ३२ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य बढेर प्रतिकित्ता ५२७ रुपैयाँ पुगेको छ । बुधबार ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको १० प्रतिशत, मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङ्ग कम्पनीको ९.९९ प्रतिशत र न्यादी ग्रुप पावरको ९.९६ प्रतिशतले सेयर मूल्य बढेको छ । बजारमा ११८ कम्पनीको सेयर मूल्य बढ्दा ११८ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै, ११ कम्पनीको सेयर मूल्य भने मंगलबारको तुलनामा स्थीर रहेको छ । बिहीबार छिमेक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा बढी अर्थात ५.९५ प्रतिशतले घटेर प्रतिकित्ता ८०८.८० रुपैयाँमा झरेको छ ।

नेप्सेमा एक वाणिज्य बैंकको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सानिमा बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको ९ प्रतिशत बोनस सेयर बुधबार नेप्सेमा सूचीकृत भएको हो । यससँगै नेप्सेमा बैंकको थप एक करोड १२ लाख १४ हजार १०३ कित्ता बोनस सेयर थपिएको छ । जुन अबको सेयर बजारमा किनबेच गर्न मिल्ने छ ।

एक वर्षमा बिएमडब्ल्यूले गर्यो २५ लाख ६० हजार कार बिक्री

जर्मन । जर्मन कार निर्माता कम्पनी बिएमडब्ल्यू ग्रुपले मिनी रोल्स रोयस कारको विश्वव्यापी बिक्रीमा वार्षिकरूपमा ६.५ प्रतिशतले वृद्धि गरी सन् २०२३ मा २५ लाख ६० हजार पुगेको मङ्गलबार जनाएको छ । ब्याट्रीबाट चल्ने विद्युतीय बाहन (बीईभी) को डेलिभरी वार्षिक रूपमा ७४.४ प्रतिशतले बढेर तीन लाख ७६ हजार भन्दा बढी सङ्ख्या पुगेको कम्पनीले जनाएको छ । बिएमडब्ल्यू एजीको बोर्ड अफ म्यानेजमेन्टका सदस्य जोचेन गोलरले भने, ‘हाम्रा नयाँ, अत्यधिक आकर्षक र प्राविधिक रूपमा उत्कृष्ट सवारी साधनहरूको साथ, हामी २०२३ मा विद्युतीय आवागमनलाई अझ गतिशील रूपमा बढाउन सक्षम भएका छौं ।’ यस वर्ष, कम्पनीका नवनिर्मित कारको हरेक पाँचमध्ये एक बीईभी हुने र सन् २०२५ सम्ममा कूल उत्पादनको चारमध्ये एक बीईभी कार बनाउने लक्ष्य राखिएको छ । गोलरले भने, ‘हाम्रो पूर्ण विद्युतीय उत्पादनहरूको लागि हामीले माग निरन्तर उच्च भइरहेको देखेका छौँ ।’ चीनमा बिएमडब्ल्यू ब्रान्ड र मिनीको बिक्री ४।२ प्रतिशतले बढेर करिब आठ लाख २५ हजार पुगेको छ । रासस

प्रतिकित्ता ११५ रुपैयाँमै माछापुच्छ्रे बैंकको १.१२ करोड कित्ता सेयर बिक्रीमा

काठमाडौं । माछापुच्छ्रे बैंकका सबैभन्दा ठूला सेयरधनी सुरेन्द्र महतोलाई सेयर बिक्री गर्न सकस परेको छ । महतोलाई आफ्नो स्वामित्वको करोडौं कित्ता सेयर बिक्री गर्न सकस परेको हो । संस्थापक सेयरधनी महतोले आफ्नो स्वामित्वको १०.९५ प्रतिशत अर्थात् १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता सेयर बिक्री गरेर बाहिरिन चाहेका छन् । तर, उक्त बिक्री नै हुन नसकेपछि उनलाई उक्त सेयर बिक्रीमा सकस खेप्नु परेको हो । महतोले गत असोज २५ गते पहिलोपटक संस्थापक सेयरधनीहरूलाई प्राथमिकतामा राखेर सेयर बिक्रीमा राखेको थियो । तर, ३५ दिनभित्र कुनै पनि संस्थापकले आवेदन नदिएपछि गत मंसिर २९ गते फिट एण्ड प्रर्पर टेस्टको माध्यमबाट आवेदन दिन बैंकले आग्रह गरेको थियो । इच्छुक व्यक्ति तथा संस्थालाई १५ दिनको समय दिइएको थियो । सो अवधिमा कसैको आवेदन नपरेपछि पुनः आज पुस २५ गते सूचना प्रकाशन गरी उक्त सेयर बिक्रीमा राखेको हो । बैंकले बिक्रीमा राखेको सो सेयरको मूल्य न्यूनतम प्रतिकित्ता ११५ रुपैयाँ तोकिएको छ । सोही मूल्यमा उक्त सेयर बिक्री भएमा महताले १ अर्ब २९ करोड १७ लाख रुपैयाँको सेयर बिक्री वापत संकलन गर्ने छन् । खरिद गर्न इच्छुक लगानीकर्ताहरूले न्यूनतम १० लाख कित्ता आवेदन दिनु पर्नेछ । बैंकको सेयर बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटलमा बोलपत्र पेश गर्नु पर्नेछ ।

बम्जनको विलासी जिन्दगी : ल्यान्ड क्रुजरमा यात्रा, ५ करोडको नयाँ गाडी किन्न सोरुमलाई ३ करोड भुक्तानी

काठमाडौं । आफूलाई तपस्वी बताउँदै आएका बम्जनले सुखसयल जिन्दगी बिताइरहेको अनुुसन्धानबाट खुलेको छ । प्रहरीको अनुसन्धानबाट उनले विलासी जीवन बिताउँदै आएको देखिएको हो । उनले प्रदेश–३–०१ ०२४ च ६७२९ नम्बरको तुलाराम तामाङको नाममा रहेको सेतो टोयोटा फर्चुनर प्रयोग गर्दै आएको पनि अनुसन्धानबाट खुलेको छ । उनले ल्यान्डक्रुजर–जेडएक्स किन्नका लागि ३ करोड रुपैयाँ सोरुमलाई बुझाइसकेको पनि सीआईबीले जनाएको छ । उनको प्रयोगका लागि धुम्बाराहीमा रहेको युनाइटेड ट्रेडर्स सिन्डिकेट प्राइभेट लिमिटेडमा सेतो रङको ल्यान्डक्रुजर किन्नका लागि ५ करोडमा बुकिङ गरिएको थियो ।

अघि बढ्यो सुनकोशी तेस्रो जलाशययुक्त आयोजनाको प्राविधिक तयारी

काठमाडौं । सुनकोशी तेस्रो जलाशययुक्त आयोजनाको प्राविधिक तयारीको काम सुरु भएको छ । ६८३ मेगावाट क्षमताको सुनकोशी तेस्रो जलाशययुक्त जलविद्युत्को सर्वेक्षण अनुमतिपत्र (सर्वे लाइसेन्स) नेपाल विद्युत् प्राधिकरणले पाएसँगै आयोजनाको विस्तृत इञ्जिनियरिङ डिजाइन तथा बोलपत्र कागजात तयारीको काम अगाडि बढेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले काभे्रपलाञ्चोक र रामछाप जिल्लाको सिमानामा पहिचान भएको सुनकोशी तेस्रो जलाशययुक्त जलविद्युत् आयोजनाको सर्वे लाइसेन्सको काम गत मङ्सिर २५ मा प्राधिकरणलाई दिएको थियो । विद्युत् विकास विभागमार्फत सम्भाव्यता अध्ययन भएको आयोजनाको लाइसेन्स लिन प्राधिकरणले करिब ७० करोड सरकारलाई बुझाएको थियो । आयोजनाको आवश्यक तयारीको काम सम्पन्न गर्न ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले प्राधिकरणलाई निर्देशन दिए । प्राधिकरणको सञ्चालक समितिका अध्यक्षसमेत रहेका मन्त्री बस्नेतले आवश्यक प्राविधिक काम सम्पन्न गर्न सरकारको तर्फबाट आवश्यक सहजीकरण गरिने बताए । प्राधिकरणले आज आयोजनाको विस्तृत इञ्जिनियरिङ डिजाइन तथा बोलपत्र कागजात तयारीका लागि अन्तर्राष्ट्रिय परामर्शदाता छनोटका लागि आशयको सूचना जारी गरेको छ । इन्छुक अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनीले आगामी फागुन २ गतेभित्रमा प्रस्ताव पेस गर्न सक्ने व्यवस्था गरिएको छ । प्राधिकरणले परामर्शदाता छनोटको सम्पूर्ण प्रक्रिया पूरा गरी आगामी वर्षको माघबाट विस्तृत इञ्जिनियरिङ डिजाइन तथा बोलपत्र कागजात तयारीको काम सुरु गर्ने लक्ष्य राखेको छ । उक्त कार्य २४ महिनामा पूरा गर्ने बताइएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हाल सम्भाव्यता चरणमा रहेको आयोजनालाई जतिसक्दो छिट्टो कार्यान्वयनमा लैजानका लागि फिल्ड अनुसन्धान, बोलपत्रको कागजातको तयारी बहुर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थालाई ऋण लगानीका लागि आवश्यक पर्ने सर्त पूरा हुनेगरी विस्तृत इञ्जिनियरिङ डिजाइन गर्न लागिएको बताए । “परामर्शदाताले हालको सम्भाव्यता अध्ययनको पुनरावलोकन, भौगर्भिक तथा जियोटेक्निकल अनुसन्धान, विद्युत् प्रवाह अध्ययन, निर्माण गरिने हरेक संरचनाको विस्तृत डिजाइन, लागत अनुमान, वित्तीय विश्लेषण, लगानी योजनालगायतका कार्य गर्नेछ”, कार्यकारी निर्देशक घिसिङले भने । उनका अनुसार आयोजनालाई नेपाल र बङ्गलादेशको संयुक्त लगानीमा निर्माण गर्न दुई देशबीचका ऊर्जा संयन्त्रका विभिन्न समयमा भएका बैठकमा सहमति भइसकेको छ । गत जेठ २ गते नेपाल–बङ्गलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको पाँचौ बैठकले आयोजनाको निर्माण र विकास गर्नका लागि नेपाल विद्युत प्राधिकरण र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डबीच छ महिनाभित्र संयुक्त उपक्रममा हस्ताक्षर गर्ने सहमति भएको थियो । लगानीसम्बन्धी उक्त सम्झौतामा अहिलेसम्म हस्ताक्षर भने हुनसकेको छैन । विसं २०७९ को भदौमा बङ्गलादेशको विद्युत्, ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव नेतृत्वको टोली र नेपालको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, विद्युत् विकास विभाग तथा विद्युत् प्राधिकरणको संयुक्त टोलीले आयोजनाको प्रस्तावित निर्माणस्थल र जलाशय क्षेत्रको स्थलगत अवलोकन भ्रमण गरेको थियो । बङ्गलादेश नेतृत्वको टोलीले आयोजना निर्माण अघि बढाउन बङ्गलादेश तयार रहेको बताएको थियो । आयोजनाको अनुमानित लागत एक अर्ब ४५ करोड ८० लाख अमेरिकी डलर रहेको छ । यसमध्ये सिभिल निर्माणतर्फ ५८ करोड, हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकल तथा प्रसारणलाइनतर्फ रू १७ करोड ४९ लाख र जग्गा अधिग्रहण, पुनः स्थापना जस्ता सामाजिक तथा वातावरणीय कार्यका लागि ३७ करोड डलर लाग्ने अनुमान गरिएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले कोशी नदी जलस्रोत विकास अध्ययनका क्रममा सन् १९८५ मा आयोजनाको पहिचान गरेको थियो । जाइकाले गरेको अध्ययनलाई सन् २०१४ मा अध्यावधिक गरिएको थियो । बिपी राजमार्गको नेपालथोकबाट करिब एक किलोमिटर रामेछापको खाँडादेवी र काभ्रेको तेमाल गाउँपालिको सिमानामापर्ने लुभुघाटमा एक सय ८० मिटर अग्लो बाँध निर्माण गरी नदीलाई थुनिने छ । आयोजनाको जलाशय ४५ किलोमिटर माथिसम्म फैलिन्छ । जसअनुसार, सिन्धुपाल्चोकस्थित सुनकोशी नदीतर्फ बलेफी बजार भन्दामाथि र इन्द्रावती नदीतर्फ सिपाघाटसम्म जलाशय फैलिने छ । आयोजनाको वातावरणीय प्रभाव अध्ययन (इआईए) स्वीकृत भइसकेको छ । इआईए प्रतिवेदनअनुसार, आयोजनाबाट सिन्धुली, काभ्रे, रामेछाप र सिन्धुपाल्चोकका १३ स्थानीय तहका ४५ वटा वडा प्रभावित हुनेछन् । आयोजनाबाट तीन हजार दुई सय ३७ हेक्टर जग्गा डुवानमा पर्ने छ । यसका लागि तीन हजार तीन सय हेक्टर निजी जग्गा अधिग्रहण गर्नुपर्ने छ भने छ सय ५५ हेक्टर वन क्षेत्रको जग्गा पर्ने छ । आयोजनाबाट एघार हजार सात सय जनसङ्ख्या विस्थापित हुने देखिएको छ । आयोजनाको सम्पूर्ण काम सम्पन्न भए पश्चात् यहाँबाट वार्षिक रुपमा दुई अर्ब ३५ करोड ६२ लाख युनिट विद्युत् उत्पादन हुने छ । त्यसमध्ये हिउँदयाममा ६२ करोड २३ लाख युनिट उत्पादन हुने अध्ययनले देखाएको छ । रासस

प्राधिकरणले आरबीसी र ओर्सा कार्यान्वयन गर्न लागेको छ : अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरणले आरबीसी र ओर्सा कार्यान्वयन गर्न लागेको बताएका छन् । नेपाल बीमा प्राधिकरण र लेखामान बोर्ड, नेपालको संयुक्त आयोजनामा मंगलबार काठमाडौंमा ‘नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) १७ इन्स्योरेन्स कन्ट्रयाक्ट्स’ विषयक छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मान (आइएफआरएस) बमोजिम नेपालको बीमा क्षेत्रमा एनएफआरएस – १७ लागू गर्नका लागि गर्नुपर्ने तयारी, आउनसक्ने चुनौती र सम्बोधन गर्नुपर्ने लगायतका विषयका बारेमा सम्बद्ध नियामक निकायहरू र बीमकहरूबीच छलफल गरी निष्कर्ष निकाल्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रमा एनएफआरएस – १७ लागू गर्नका लागि वातावरण बनाउन र क्षमता अभिवृद्धि गर्नका लागि प्राधिकरण, लेखामान बोर्ड, नेपाल र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आ–आफ्नो जिम्मेवारी बर्गीकरण गरी कार्य गर्नुपर्ने आवश्यकता औंल्याए । अध्यक्ष सिलवालले भने, ‘सम्बद्ध नियामक निकायहरू आ–आफ्नो जिम्मेवारी एकीन गरी अगाडि बढेमा यस वर्ष नसकिए पनि अर्को वर्ष पूर्णरूपमा एनएफआरएस – १७ लागू गर्न सकिन्छ, त्यसका लागि वातावरण बनाउनुपर्छ, प्राधिकरण र बीमा कम्पनीहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ ।’ एनएफआरएस – १७ लागू हुँदा नेपालको बीमा क्षेत्रप्रतिको अन्तर्राष्ट्रिय विश्वास अझ बढ्ने र पुनर्बीमा गर्न तथा दाबी भुक्तानी पाउन सहज हुने उल्लेख गर्दै अध्यक्ष सिलवालले भने, ‘प्राधिकरणले आरबीसी र ओर्सा कार्यान्वयन गर्न लागेको छ, त्यसबाट एनएफआरएस – १७ लागू गर्न सहयोग पुग्नेछ, बीमा कम्पनीहरूमा एनएफआरएस – १७ लागू गर्ने प्रतिवद्धता देखिएको छ, एनएफआरएस – १७ लागू हुँदाको अवस्थामा कर लगायत अन्य नीति कस्तो हुने हो भन्ने सम्बन्धमा सम्बद्ध सरकारी निकायहरूको साझा बुझाई हुनुपर्छ ।’ लेखामान बोर्ड, नेपालका अध्यक्ष प्रकाश जंग थापाले आगामी साउन १ गतेदेखि नै एनएफआरएस १७ लागू गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको जानकारी दिँदै अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मानको मूल प्रावधानमा असर नपर्ने गरी एनएफआरएस – १७ लागू गर्दा आइपर्ने समस्या समाधान गर्न बोर्ड तयार रहेको बताए । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष सुजन काफ्लेले एनएफआरएस – १७ लागू गर्नका लागि बीमा कम्पनीहरूलाई यसको महत्वका बारेमा बुझाउनुपर्ने, पूर्वाधारमा लगानी गर्नुपर्ने र साझा सफ्टवेयर बनाउनुपर्ने आवश्यकता औंल्याए । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले स्वागत मन्तव्य व्यक्त गर्दै एनएफआरएस – १७ लागू गर्नका लागि सम्बन्धित निकाय निकायहरूको सहभागितामा गठित उच्चस्तरीय समिति अन्तर्गतको प्राविधिक समितिले प्रारम्भिक प्रतिवेदन बुझाएको जानकारी दिए । कार्यक्रममा नेपाल बीमक सङ्घका अध्यक्ष चंकी क्षेत्री र नेपाल जीवन बीमक सङ्घका अध्यक्ष पोषक राज पौडेलले बीमा क्षेत्रमा एनएफआरएस – १७ लागू गर्न लगानीका दृष्टिले ठूलो चुनौती रहे पनि पूर्वाधार, सूचना प्रविधि र जनशक्ति लगायतका विषयमा मार्गचित्र बनाएर अगाडि बढ्नुपर्ने विचार व्यक्त गरे । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका तर्फबाट चार्टर्ड एकाउन्टेन्ट विरोध वाग्ले र लेखामान बोर्ड, नेपालका तर्फबाट चार्टर्ड एकाउन्टेन्ट मनिष उप्रेतीले एनएफआरएस – १७ सम्बन्धी छुट्टा छुट्टै प्रस्तुती दिएका थिए । नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले संचालन गर्नुभएको कार्यक्रममा लेखामान बोर्ड, नेपाल र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका पदाधिकारी, नेपाल बीमा प्राधिकरणका निर्देशक, बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू लगायतको सहभागिता रहेको थियो । एनएफआरएस – १७ लागू भएपछि नेपालको बीमा क्षेत्रप्रतिको अन्तर्राष्ट्रिय विश्वास अझ बढ्ने, अन्तर्राष्ट्रिय वित्तीय विवरणमा एकरूपता कायम हुने, देशमा बैदेशिक लगानी बृद्धि हुने र वैदेशिक व्यापारमा सहजीकरण हुने अपेक्षा गरिएको छ ।

बम्जनसँग कहाँबाट आयो १७ देशको साढे ३ करोड रकम ?

काठमाडौं । हत्या तथा यौनहिंसाका आरोपित रामबहादुर बम्जनको घरबाट बरामद गरेको ३ करोड बढी रकम प्रहरीले सार्वजनिक गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बम्जनको घरमा खानतलासी गर्दा ३ करोड ३ लाख नेपाली रुपैयाँ र ३० लाख ९२ हजार रुपैयाँबराबरको १७ देशका विदेशी मुद्रा बरामद गरेको थियो । सो रकम बुधबार सार्वजनिक गरेको हो । सीआईबीले बुधबार पत्रकार सम्मेलन गरी बम्जनको घरबाट बरामद पैसा, मोबाइल, ल्यापटप र महत्वपूर्ण कागजातसमेत सार्वजनिक गरेको हो । प्रहरीले यो रकमको विषयमा अनुसन्धान भइरहेको बताएको छ । आफूलाई ‘लिटल बुद्ध’ बताउने बम्जनमाथि आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौनहिंसा गरेको आरोपमा प्रहरीले खोजिरहेको थियो । बम्जनविरुद्ध पाँच परिवारको उजुरी छ ।