विकासन्युज

लिवर्टी इनर्जीको साधारणसभा सम्पन्न, ७५ करोडको हकप्रद सेयर जारी गर्ने

काठमाडौं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडको चौधौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार कम्पनी सञ्चालक समितिका अध्यक्ष डा. आत्माराम घिमिरेको सभापतित्वमा सभा सम्पन्न भएको हो । उक्त साधारण सभाले कम्पनीको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण पारित गर्ने, अन्य कम्पनीलाई प्राप्ति तथा मर्जरको प्रकृया अघि बढाउन अख्तियारी दिनेलगायतका प्रस्तावहरु पारित गरेको छ । साधारणसभाले कम्पनीको कुल जारी पूँजी १ अर्ब ५० करोडमध्ये १ अर्ब १२ करोड ५० लाख संस्थापक सेयर र बाँकी ३७ करोड ५० लाख रुपैयाँ बराबरको आयोजना प्रभावित स्थानीय तथा सर्वसाधारण समेतलाई साधारण सेयर जारी भई चुक्ता भएको छ । साधारण सभाबाट कम्पनीको अघिल्लो साधारण सभाबाट हालको चुक्ता पूँजीकोको ५० प्रतिशतका दरले हुन आउने रकम ७५ करोड‍ बराबरको हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित भएको छ । हाल कम्पनीसँग ३ वटा जलविद्युत आयोजनाको स्वामित्व रहेकोमा लमजुङ जिल्ला स्थित २५ मे.वा. क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजना निर्माण सम्पन्न भई गत २०७९ मंसिर १७ गतेबाट व्यापारिक उत्पादन भइरहेको छ । साथै, कम्पनीको स्वामित्वमा रहेका अन्य आयोजनाहरुमा १.६ मे.वा. क्षमताको लोदो खोला साना जलविद्युत आयोजनाको विद्युत खरीद बिक्री सम्झौता भएको तथा २४.६ मे.वा क्षमताको बडिगाड खोला जलविद्युत आयोजनाको समेत कनेक्सन एग्रिमेन्ट सम्पन्न भई विद्युत उत्पादनको अनुमतिपत्र प्राप्त गरि विद्युत खरीद बिक्री सम्झौता हुने क्रममा रहेको अध्यक्ष डा. आत्माराम घिमिरेले जानकारी गराए । कम्पनीका सेयरधनीहरुको उल्लेख्य उपस्थिति रहेको उक्त साधारण सभा सम्पूर्ण सेयरधनीहरुको जिज्ञासाको जवाफ दिँदै प्रस्तुत प्रस्तावहरु सर्वसम्मतिले पारित गर्दै सौहार्दपूर्ण रुपमा उल्लासपूर्वक सम्पन्न भएको कम्पनीले बताएको छ ।

बीमामा शिखर चुम्न सफल, नम्बर वानमा रहिरहने अठोट

काठमाडौं ।  दीपप्रकाश पाण्डे बीमा क्षेत्रमा चिनाइरहनुपर्ने नाम होइन । बीमा क्षेत्रमा जीवनका तीन दशक बिताएका दीप उनकै शब्दमा ‘बाई डिफल्ट’ यो क्षेत्रमा प्रवेश गरेका थिए । बीमामा घुम्दा घुम्दै पाण्डे अहिले शिखर इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) भए । स्थापनादेखि लगातार दुई दशक कार्यकारी प्रमुख रहेका दीपले शिखर इन्स्योरेन्सलाई वास्तवमै शिखरमा पुर्‍याएका छन् । ५६ वर्षअघि काठमाडौंको मध्यमवर्गीय परिवारमा जन्मिएका दीप पूर्वसचिव दुर्गा प्रकाश पाण्डेका छोरा हुन् । धेरैलाई थाहा छ भेट्रान बैंकर्स ज्योति प्रकाश पाण्डेको भाइ पनि हुन् दीप । उच्च माध्यमिक तह सकेर चार्टर्ड एकाउन्टेन्सी (सीए) पढ्ने सोच बनाएका उनी त्यसपछि विदेश जाने योजनामा थिए । त्यहीबेला घरमा उनको विवाहको कुरा चल्यो । त्यो समयमा जागिर नभएकालाई छोरी दिने चलन खासै थिएन । त्यही भएर उनले जागिर गर्दै त्रिभुवन विश्वविद्यालयबाट व्यापार प्रशासनमा स्नातकोत्तर गरे । अनि लगत्तै बीमा क्षेत्रमा प्रवेश गरे । तत्कालीन एभरेष्ट इन्स्योरेन्स (हालको हिमालयन एभरेष्ट) बाट बीमा क्षेत्र प्रवेश गर्दा निजी क्षेत्रबाट प्रवर्द्धित हिमालयन, युनाईटेड, प्रिमियर र एभरेष्ट गरी ४ वटा मात्र निर्जीवन बीमा कम्पनी थिए । ती कम्पनीमा जनशक्ति सरकारी कम्पनी राष्ट्रिय बीमा संस्थानबाटै जान्थे । बीमा क्षेत्रमा अनुभवि जनशक्ति अभाव रहेकाले एभरेष्टले आफैं जनशक्ति विकास गर्दै जाने योजना बनायो । फाइनान्स एडमिनिस्ट्रेसनमा बसेका पाण्डे एकाएक टेक्निकल फिल्डमा गए । ‘सजिलो थिएन । तर पनि गर्दै गएँ, अनुभव बटुल्दै गएँ, सिक्दै गएँ,’ पाण्डे सुनाउँछन् । इन्स्योरेन्सको टेक्निकल फिल्डमा तीन पक्ष हुन्छ । अण्डरराइटिङ, रि-इन्स्योरेन्स र क्लेम (दाबी भुक्तानी) । पाण्डेले सुरुमा अण्डरराइटिङ बुझेकै थिएनन् । बुझे । सिके । र, विभिन्न कक्षासँगै बाहिर तालिम पनि लिए । यसपछि उनमा आत्मविश्वास बढ्दै गयो, अनुभव बटुल्दै गए । ‘सही क्षेत्रमा आएछु भन्दा पनि यो क्षेत्रमा बाई डिफल्ट नै आएको हुँ, जागिर खाइहालौं, अनुभव बटुलौं भन्ने थियो । तर, ३२ वर्षको उमेरमा एभरेष्ट इन्स्योरेन्समा कार्यकारी प्रमुख भएँ । त्यतिबेला सीईओलाई महाप्रबन्धक (जीएम) भनिन्थ्यो । त्यो मेरो लागि जोखिमपूर्ण जिम्मेवारी थियो, लिएँ’ उनी थप्छन्- ‘पूर्ख्यौली सम्पत्ति नै जागिर नै हो भन्ने भयो । त्यसपछि कहाँ जानु ?’ बैंकको नियुक्ती अस्वीकार ‘विवाहभन्दा लामो समय भयो, २८ वर्षमा विवाह गरेको ३० वर्ष त बीमा क्षेत्रमै भइसक्यो,’ उनी हाँस्दै भन्छन्, ‘श्रीमतीभन्दा लामो सम्बन्ध इन्स्योरेन्ससँग छ ।’ विवाह गर्दा जम्मा तीन दिनमात्र अफिस बिदा लिएको हाँस्दै सुनाउँछन् पाण्डे । ‘दिनरात भनिएन । पूरै खटियो । चुनौती धेरै थियो । र, मनमा एउटै मात्र के थियो भने, जागिरमा सफल भइएन भने जिन्दगीको पाटो नै कता मोडिन्छ भन्ने डर थियो,’ पाण्डे स्मरण गर्छन् । त्यतिबेला उनका दाइ ज्योतिप्रकाश पाण्डे इन्भेष्टमेन्ट बैंकमा म्यानेजर थिए । दाइले बैंकमा राखिदिन्छु पनि भनेका थिए, तर दीपप्रकाशले मानेनन् । ‘मैले अफिसर मागेको थिएँ, उहाँहरूले सुपरभाइजर दिनुभयो । तर, मैले नियुक्ति पत्र लिएर पनि फिर्ता गरिदिएँ । यहाँ म्यानेजर लेभलमा । त्यहाँ सुपरभाइजरमा फेरि फर्किएर त्यही पदमा जानुजस्तो नराम्रो केही लागेन । त्यसैले गइनँ,’ विगतका पल स्मरण गर्दै पाण्डे सुनाउँछन् । शिखरको सफलता नेपालको एयरलाइन्स क्षेत्रका दुई हस्ती बीरेन्द्रबहादुर बस्नेत (बुद्ध एयर) र आङछिरिङ शेर्पा (यती एयरलाइन्स) ले पाण्डेलाई ‘केही गरौं, एउटा कम्पनी सुरु गरौं’ भनेपछि शिखर इन्स्योरेन्सको भ्रूर्ण पैदा भएको पाण्डे बताउँछन् । त्यसपछि एउटा मोडेलसँगै टीम बनाएर जाने योजना भयो । कसैले पनि १० प्रतिशतभन्दा बढी सेयर नराख्ने मोडेलमा लगानी जुट्यो । अरु बोर्डमा बसे । दीपले व्यवस्थापन समूहको नेतृत्व गरे । शिखर खुल्दा १५औं बीमा कम्पनी थियो । त्यसपछि दुईटा आयो । १७ भयो । फेरी ३ वटा आएर २० भएको हो । कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड बनाउनु पर्छ भनेपछि १२ वटा कम्पनी मर्जमा गई ६ वटा भने र कुल संख्या १४ मा झरेको छ । १५ औं कम्पनीभित्र जन्मेको शिखर १२ वर्ष भित्रमा नम्बर वान कम्पनी बन्न सफल भयो । ‘शिखर स्थापना भएको १२ वर्षमा हामी नेपालको नम्बर वान इन्स्योरेन्स कम्पनी बन्यौं’ पाण्डे भन्छन्- ‘बीमा कम्पनीलाई नम्बर वानमा पुर्याउने धेरै शीर्षकहरू छन् । सबैभन्दा पहिला २ सय ५० करोडको पुँजी पुर्‍याउने शिखर नै पहिलो हो । बिजनेशमा, नाफामा, लगानीको प्रतिफल वितरणमा, ब्राण्डिङ, नेटवर्किङमा, सर्भिसमा, रोजगारी सिर्जनामा, सेवाको गुणस्तरमा र नविनतामा । हेर्नुहोस् न, हाम्रो पोजिसन ।’ बुबा सचिव हुनुभयो । दाइ बैंकको सीईओ हुनुभयो । म पनि बैंकमा लागेको थिए भने सीईओ हुन्थे होला । तर समय धेरै लाग्थ्यो । ३२ वर्षमा नै बैंकको सीईओ हुन सक्दिन थिएँ होला । पुराना तथा नयाँ कम्पनीहरू मर्ज भएर ठूलो बन्दा र शिखर इन्स्योरेन्स मर्ज नगरिकन पनि अझै धेरै परिसूचकमा शिखर अब्बल छ, नम्बर वान मै छ । आजको दिनमा शिखरका १ सय १३ शाखा भइसकेको छ । थप ७ वटा खोल्ने तयारी छ । ६ सय ४० कर्मचारी छन् । लाखौं मानिसले सेयरमा लगानी गरेका छन् । उनीहरु सबैको विश्वासिलो नेतृत्व बनेका छन् दीप प्रकाश । यो सफलता सजिलै प्राप्त भएको होइन । ‘एउटा रहर, अर्को बाध्यता, अनि अर्को कम्पनीप्रतिको माया । कम्पनीको मात्र होइन, बीमा क्षेत्रकै माया छ,’ पाण्डेले मार्मिक कुरा सुनाए- ‘भन्न मिल्ला कि नमिल्ला । श्रीमतीलाई भन्दा बढी माया कम्पनीलाई गरियो ।’ हामीले पनि लेख्ने दृष्टता गर्यौं । उनी पुराना कुरामा अलि खुले । ‘शुरुका दिन मार्केटिङ गर्न जाँदा शिखर सानो कम्पनी हो भन्थे । यो ग्रुप तर त्यो ग्रुपको भन्थे, इन्स्योरेन्स र बैंक दुवै ग्रुप मिलेर गर्थे । सजिलो थिएन नि काम गर्न’ उनले भने । पाण्डे व्यवस्थापकमा मात्रै नभई मार्केटिङ्गमा पनि अब्बलरूपमा चिनिन्छन् । मार्केट क्रिएट गरेपछि आफै माकेटिङ्ग हुनेमा उनी विश्वस्त छन् । ‘मलाई बुढापाकाले भनेको जहिल्यै याद आउँछ, पोखरी खन न बाबु पोखरी खन्यो भने पानी त भरिइहाल्छ नि,’ उनी भन्छन्, ‘हामी पनि पोखरी खन्न थाल्यौं । हामीले किसानहरूको व्यवसाय बढ्ने खालको पूर्वाधार बनाइदियौं भने त्यसले मार्केट आफै बढाउने रहेछ ।’ एभरेष्ट इन्स्योरेन्सको त्यो गुन  झन्डै एक दशक एभरेष्ट इन्स्योरेन्समा बिताएका पाण्डेले २० वर्षपछि पनि त्यसको गुन बिर्सिएका छैनन् । ‘मलाई बीमा क्षेत्रमा चिनिन सक्ने मान्छे बनाएको नै एभरेष्टले हो । सायद, मैले मिहिनेत गरेँ होला, त्यो अर्को पाटो हो । तर, यो अवसर पाउनु भनेको मेरा लागि ठूलो कुरा हो’ उनले भने । मोहनगोपाल खेतान एभरेष्ट इन्स्योरेन्सको पहिलो अध्यक्ष थिए । उनी पाण्डेका गुरुजस्तै थिए । खेतानले ‘सक्ने काम त जसले पनि गर्छ । नहुने काम, अरूले गर्न नसक्ने काम सफलतापूर्वक गर्न सक्यो भने पो आफूलाई सक्सेस् लाग्छ’ भनेको पाण्डे सम्झिन्छन् । लक्की म्यान  पाण्डे आफूलाई लक्की (भाग्यमानी) मान्छन् । उनी परिवारको कान्छो छोरा । त्यहीँबाटै आफ्नो लक सुरु भएको उनको बुझाइ छ । उनलाई बुबाआमाले कहिल्यै पनि होस्टलमा राखेनन् । माया बढी पाए । दाइले राम्रो गरेपछि उनी लक्की सावित भए किनभने दाइको नामबाट चिनिन्थ्यो । फलानोको छोरा, फलानोको भाइ भनेपछि लक्की भएको उनी बताउँछन् । पाण्डे आफ्नो सफलताको उचाइलाई लकसँग जोड्छन् । फाइनान्स एन्ड एडमिनिस्ट्रेशनमा म्यानेजर भएर सुरु गरेको, म्यानेजरबाट सिनियर म्यानेजर र तीन वर्षमा डीजीएमबाट कामु जीएम पाउनु लक नै भएको उनी सुनाउँछन् । ‘बुबा सचिव हुनु भयो । दाइ बैंकको सीईओ हुनुभयो । म पनि बैंकमा लागेको थिए भने सीईओ हुन्थे होला । तर समय धेरै लाग्थ्यो । ३२ वर्षमा नै बैंकको सीईओ हुन सक्दिन थिएँ होला । बीमा क्षेत्रमा आएर नयाँ अनुभव भयो । राम्रो पनि गरेँ जस्तो लाग्छ ।’ छोटो कार्यकालले बीमा क्षेत्रमा असर  आजको दिनमा बीमा कम्पनीलाई दीर्घकालीन लगानी पूर्वाधार क्षेत्रमा गर भनेर मार्गदर्शन गरिएको छ । तर, सीईओहरूले अल्पकालीन लगानी नै गर्न नसकेको पाण्डे बताउँछन् । सीईओको कार्यकाल ४ वर्षको हुन्छ । उनीहरु आफ्नै कार्यकालमा नाफा बढोस् भनेर प्रयास गर्छन् । नाफाको लागि सेयर बजारमा खेल्ने, बैंकमा राख्ने अभ्यास छ । नयाँ प्रडक्ट डेभलप गर्न रिसर्च गर्नुपर्छ । कर्मचारीलाई तालिम दिएर क्षमता विकास गर्नुपर्छ । कुनै पनि नयाँ प्रडक्टले तत्काल नतिजा दिँदैन । ‘चार वर्षमा संस्थामा कति नै काम गर्न सकिन्छ र ?’ उनले प्रश्न गरे । शिखरलाई नम्बर वानकै रेसमा राख्न सक्दो प्रयास गरिरहेका छन् दीप प्रकाश ‘नम्बर वानको रेस छोड्यो भने त नबसे पनि हुन्छ यो इन्डस्ट्रीमा । इन्डिकेट नै गर्ने हो भने सायद म रेस्ट गरेर बसेको पो छु कि,’ मुस्कुराउँदै उनले भने, ‘लङ डिस्ट्यान्स रेस गर्ने हो भने अलिकति रेष्ट गरेर पछि तुफान दौडिन्छु कि, के थाहा ?’ ‘हाइड्रोपावरमा लगानी गरियो भने ४/५ वर्ष नभई रिटर्न आउँदैन, अझ बढी लाग्ला,’ उनी भन्छन्, ‘तर ४० करोड लगानी राख्दा १० प्रतिशतले मात्रै पनि ४ करोड नै भए पनि नाफा बढ्छ । ४ वर्षमा १७/१८ करोड कमाइन्छ । जलविद्युतमा लगानी गर्दा तत्काल नाफा देखिँदैन । त्यसैले सीईओहरुको ध्यान छिटो नाफा हुने क्षेत्रमा केन्द्रीत भएको छ ।’ नियम कानुन बनाउने काम रेगुलेटर (नियामक निकाय)ले अध्ययन गरेर ल्याउने हो । यसमा सीईओहरूले कुरा गर्दा स्वार्थको कुरा जोडिन्छ । तर, बीमाको बजार बढाउन नियामकले कम्पनीहरूको सीईओको कार्यकाल बढाउनु पर्ने उनी सुझाउँछन् । शिखरको उद्देश्य  शिखर इन्स्योरेन्सको ४ वटा प्राथमिकता छन् । जनशक्तिको क्षमता विकास, बाहिर पैसा नपठाउने, लगानीकर्तालाई प्रतिफल र व्यावसायिक रुपमा ग्राहकलाई राम्रो सेवा दिने हो । व्यवसायिक ग्राहकलाई सर्भिस दिन नसके कम्पनीले ग्रोथ गर्न नसक्ने पाण्डे बताउँछन् । ‘ग्राहकको अपेक्षा भनेको बीमा गरिसकेपछि केही भएको अवस्थामा बीमाले हेरिदियोस् भन्ने हो,’ उनी भन्छन्, ‘बीमालाई दुःखको साथी भनिन्छ, तर दुःखमात्रै होइन अन्य अवस्थामा पनि बीमाको साथ आवश्यक हुन्छ ।’ इन्स्योरेन्स क्षेत्रमा जति बीमा दाबी तिर्यो उति नै बिजनेस विस्तार भएको अनुभव सीईओ पाण्डेसँग छ । बीमा दाबी तिर्यो भने बजार बढ्नेमा पाण्डे विश्वास गर्छन् । कारण बीमाले घाटा तिर्ने रहेछ भन्ने हो । त्यसमा कन्फिडेन्स आएपछि अरु जोखिम जहाँ जसरी पनि कम गर्न सकिने बुझाइ उनको छ । सहकर्मीका ‘नरिवल’  ‘सहकर्मीहरुले मलाई नरिवल भन्छन् । बाहिरबाट हेर्दा कडा भित्र नरम । कडा हुन मलाई मेरो बुबाले सिकाउनु भएको हो । तर, परिवारिक संस्कृतिमा त्यो नरमपन पनि छ,’ उनी भन्छन्, ‘राम्रोसँग चिनेको मान्छेले मलाई यो नरिवल हो भन्छन् । मैले गाली गर्दा पनि कोही रिसाउँदैनन्, दीप सर हो पछि माया गर्छ भन्छन् । मसँग संगत गर्नेले यो मान्छे नराम्रो हो है भनेर कसैले भनेको जस्तो मलाई लाग्दैन ।’ इन्भेष्टर्सलाई आफू हार्ड वर्किङ, म्यान उथ इन्टिग्रिटी एण्ड डिटरमिनेशन वीथ डेलिभरको नामले चिनाउने पाण्डे भन्छन्, ‘आश छोड्नु हुन्न भन्छन् नि म त्यस्तै छु । आई एम अ भेरि गुड इन क्राइसिस् म्यानेजर ।’ नम्बर वानको ताज कायम गर्न त्यो दौड  करिब ७/८ वर्षदेखि शिखर इन्स्योरेन्स विभिन्न इन्डिकेटरमा नम्बर वानमा छ । पछिल्लो समय कम्पनीहरू एक आपसमा मर्जरमा गएर एकदमै नजिकको प्रतिस्पर्धी भएर आएका छन् । यो अवस्थामा शिखरलाई नम्बर वानकै रेसमा राख्न सक्दो प्रयास गर्ने दीपको योजना छ । ‘नम्बर वानको रेस छोड्यो भने त नबसे पनि हुन्छ यो इन्डस्ट्रीमा । इन्डिकेट नै गर्ने हो भने सायद म रेस्ट गरेर बसेको पो छु कि,’ मुस्कुराउँदै उनले भने, ‘लङ डिस्ट्यान्स रेस गर्ने हो भने अलिकति रेष्ट गरेर पछि तुफान दौडिन्छु कि, के थाहा ?’ पाण्डे टिमवर्ककै कारण कम्पनी यो स्थानसम्म आइपुगेको बताउँछन् । ‘मलाई कहाँ कन्फिडेन्ट छ भने मैले जुन पोखरी खनेको छु, मेरो जुन टिम छ, सबै एउटै पाटोमा छन् । त्यसमा मलाई विश्वास छ । उहाँहरूले नै गर्दा कम्पनी आजको दिनमा यो स्थानमा छ । टिम एकदमै स्ट्रङ छ,’ दाबीका साथ उनी भन्छन्, ‘आई थिंक आई क्यान अफोर्ड टु डु द्याट । हाम्रो टाग्रेट लङ रेसकै हो । लङ रेसमा कोही आए भने कहिलेकाहीँ सँगसँगै दौडिन्छु होला, तर त्यो बेलासम्म मेरो थकाइ मेटिइसक्छ, म अगाडि दौडिन सक्छु जस्तो लाग्छ । गर्नुपर्छ भन्ने वातावरण पनि छ ।’ जति एक्टिभ, त्यति क्वालिटीको लाइफ  ५६ वर्षका उनी । ६० देखि ७० वर्षको उमेर प्रडक्टिभ हुन्छ भन्ने उनी पनि स्वीकार्छन् । ‘अबको जीवनशैली हेर्ने हो भने आफूलाई जति एक्टिभ राख्यो त्यति क्वालिटी अफ लाइफ मेन्टन हुन्छ की जस्तो लाग्छ मलाई,’ उनी भन्छन् । पाण्डेले अब रिटायर्डमेन्ट नभई अन्त नसोच्ने बताए । ‘आजको दिनमा मैले हेर्ने भनेको मेरो छोराछोरीको फ्युचर हो । मलाई मेरो बुबाले सिकाउनु भएको पनि त्यही हो,’ उनी भन्छन्, ‘हामीले कहिल्यै पनि लाउने खानेदेखि अन्य कुनै कुरामा कम्पर्माइज गर्नु परेन । मैले पनि आफ्नो छोरा छोरीमा त्यही गर्न खोजेको हो ।’ पाण्डेको श्रीमती सञ्जिता पाण्डे बैंकर हुन् । पाण्डेका छोराछोरी दुई जना छन् । छोरी डाक्टर हुन् । अहिले यूकेमा मास्टर्स गर्दै छिन् । छोराले पनि यूकेबाटै मास्टर्स गरेर आएका छन् । अहिले उनी स्टार्टअपमा फोकस छन् । ‘मैले उनीहरूको फ्युचर हेर्न हो । अरु भनेको लाइफमा जति गरे पनि पुग्दैन । इच्छा चाहना बढ्दै जान्छ,’ उनी हास्दै सुनाउँछन्, ‘तर, आजको दिनसम्म परिवार लिएर घुम्न एकपटक मात्रै गएको छु । हेरौं रिटायर्ड भइयो भने घुमघामको लाइफ सुरु होला ।’ यद्यपि, पाण्डेले आफ्नो बाँकी जीवन पनि बीमा क्षेत्रमै बिताउने योजना बनाएका छन् । देशविकासबाट बैंकिङमा ‘बोल्ड’ बज्राचार्यः कडा स्वभाव, तत्काल निर्णय    नेपालमा पाँच प्रकारका व्यवस्थापक; देशको खाँचो गगन प्रधान र मीनबहादुर गुरुङ्गजस्ताको

सन्दीप लामिछानेलाई ८ वर्ष कैद र ५ लाख जरिवाना

काठमाडौं । बलात्कारको आरोपमा दोषी ठहर भएका किक्रेट खेलाडी सन्दिप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले बुधबार सजाय सुनाएको छ । गत पुस १३ गते बलात्कार मुद्दामा दोषी ठहर भएका उनलाई अदालतले बुधबार ८ वर्ष कैद र तीन लाख जरिवाना र दुई लाख पीडितलाई क्षतिपूर्ति भराउने निर्णय गरेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले बुधबार उक्त आदेश दिएको हो । मुद्दामा जाहेरवालापक्षले अधिकतम र लामिछानेका वकिलले न्यूनतम सजाय माग गर्दै बुधबारको इजलासमा बहस गरेका थिए ।

नेपाल ल्यूव आयलको ३० प्रतिशत लाभांश पारित

काठमाडौं । नेपाल ल्यूव आयलले ३० प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीले ३२ औं वार्षिक साधारण सभाबाट ३० प्रतिशत लाभांश (२५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको हो । हाल देशभरी नै फैलिरहेको आर्थिक मन्दीले सबै व्यापारिक क्षेत्र अस्थिर र अन्योल अवस्थाबाट गुज्रिरहेको छ । यो स्थितिमा पनि कम्पनीले अघिल्लो वर्षझैँ लाभांश पारित गरेकोमा सेयरधनीहरुले खुल्ला प्रशंसा गरेको कम्पनीले बताएको छ । उक्त सभामा अध्यक्ष अरुण कुमार चौधरी तथा सञ्चालक समिति, कम्पनी सचिव, लेखा परिक्षक, व्यवस्थापक समूह र अन्य सेयर धनीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा ७८.४ प्रतिशत सहभागी उपस्थित रहेको थियो । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष अरुण कुमार चौधरीले भने, ‘देश र बजारको हालको अवस्था निकै नै गम्भीर छ यसमा सबै सरोकारवालाको ध्यान केन्द्रित हुन जरुरी छ र संस्थाको रुपमा हामीले पनि बजारलाई पोजिटिभ तिर मोड्न आफ्नो भूमिका निर्बाहा गर्नुपर्छ । नेपाल ल्युब आयल लिमिटेड यहि विचारधारामा आगाडी बढीरहेको छ र रहने छ । व्यवस्थापन र अन्य टोली सदस्यहरू यसमा प्रतिबद्ध छन् ।’ नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्री/वितरण समेत गर्दछ । गल्फ अन्तर्राष्ट्रिय लुब्रिकेन्ट ब्राण्ड हो । गल्फ लूब्रिकेन्टस् नेपालमा मूख्य रुपमा रुचाईएको प्रतिष्ठित र धेरै बजार क्षेत्र ओगटन सफल ब्राण्डको रुपमा चिनिन्छ । गल्फ ब्राण्डका उत्पादनहरुको विविधताले सवै अटोमोबाईल र मेशिनरीहरुलाई समेटन सक्ने गरि व्यापक क्षेत्रमा फैलन सफल रहेको छ ।

अर्थमन्त्री महतले विभिन्न देशका लगानीकर्तालाई दिए लगानी सम्मेलनको निम्तो

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले भारत र अन्य देशका लगानीकर्तालाई नेपालमा वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनमा सहभागी हुन निम्तो दिएका छन् । भारतको गुजरातमा आयोजित भाइब्रेन्ट गुजरात ग्लोबल समिट २०२४ मा सहभागी विभिन्न देशका राष्ट्रप्रमुख, मन्त्रीहरु र लगानीकर्तालाई सम्बोधन गर्दै मन्त्री डा. महतले निम्तो दिएका हुन् । सम्बोधनका क्रममा मन्त्री डा. महतले भने, ‘नेपालमा वैशाख १६ र १७ गते लगानी सम्मेलन हुँदै छ । यो कार्यक्रमबाट म भारतसँगै अन्य देशका लगानीकर्ताहरुलाई पनि निम्तो गर्छु । तपाईंहरुको इनोभेटिभ बिजनेस आईडिया र लगानीको निर्णयले नेपालको विकासका लागि नयाँ माइलस्टोन खोल्नेछ भन्ने आशा गर्दछु ।’ उनले नेपालमा ऊर्जा, पर्यटन, कृषि व्यवसाय र आईटीमा लगानीको ठूलो अवसर रहेको बताउदै स्वास्थ्य, शिक्षा, उत्पादन, निर्माण र यातायात, खानी, बैंकिङ र वित्तीय सेवा जस्ता लगानीका अन्य सम्भावित क्षेत्रहरू पनि रहेको जानकारी गराए । ‘दिगो र समावेशी वृद्धिलाई प्रवर्द्धन गर्नका लागि व्यावसायिक सञ्जाल, ज्ञान आदानप्रदान र रणनीतिक साझेदारीका लागि यो विश्वव्यापी फोरम अब सबैका लागि एउटा फोरम भएको छ । ‘मोदी जीले २००३ मा परिकल्पना गर्नुभएको भाइब्रेन्ट गुजरात अवधारणाको प्रशंसा गर्दै उहाँले भन्नुभयो, ‘राष्ट्रव्यापी रूपमा अनुसरण भइरहेको भाइब्रेन्ट गुजरात विकास मोडल यो समयको आर्थिक, सामाजिक र वातावरणीय चुनौतीहरूलाई सम्बोधन गर्न वित्तीय स्रोत र प्राविधिक ज्ञानको व्यवस्थापन गर्न नेपाललगायत धेरै देशहरूका लागि प्रेरणाको स्रोत भएको छ’, मन्त्री महतले भने । ‘सन् २०१४ मा नेपालको संसदमा मोदीजी भन्नुभएको कुराको ताजा सम्झना छ, मन्त्री डा. महतले भने, ‘विशेष गरी, तपाईंले ‘हिट’ मा जोड दिनुभएको थियो, त्यो हो हाइवे, इन्फर्मेसन र ट्रान्समिसन लाइन । हामी यी सबै क्षेत्रमा कनेक्टिभिटी सुधार गर्न, बजार सम्बन्धलाई बलियो बनाउन र लेनदेन लागत घटाउन सँगै काम गरिरहेका छौं भन्ने कुरा राख्न पाउँदा मलाई खुशी लागेको छ।’ हालै नेपाल र भारतबीच १० वर्षको अवधिमा भारतमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने दीर्घकालीन विद्युत् खरिद सम्झौतामा हस्ताक्षर भएको छ । यसले नेपालमा जलविद्युतमा लगानीको ठूलो अवसर खोल्नेछ र यसले नेपालमा मात्र नभई भारतमा पनि हरित ऊर्जा सङ्क्रमण लक्ष्य हासिल गर्न मद्दत गर्न मन्त्री महतको भनाइ छ । मन्त्री डा. महतले भने, ‘दुई विश्व आर्थिक शक्ति राष्ट्रहरूको बीचमा अवस्थित नेपालले ९० को दशकको शुरुदेखि नै उदार, बजारमुखी आर्थिक नीति अपनाएको छ र धेरै अन्तर्राष्ट्रिय संस्था र बहुपक्षीय एजेन्सीहरूको सदस्य छ । र, हामीले अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यापार तथा लगानी नीति र नियमन लागू गरिरहेका छौं ।’

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको मधेश प्रदेशमा नयाँ शाखा

सिमरा । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बुधबारदेखि बारा जिल्ला सिमरा उपमहानगरपालिका वडा नम्बर ०२, सिमरा रोड स्थित नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यो संगै मधेश प्रदेशमा बैंकको २१ वटा शाखाहरु भएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले सिमरा शाखाको उद्घाटन गरे । उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले आर्थिक कारोबार अब बैंकमार्फत नै हुने भएकाले त्यस क्षेत्रका बासिन्दाहरुलाई सहज हुने बताए । उनले बैंकिङ सेवाको पहुच बाहिर रहेको सिमरा तथा आसपास क्षेत्रमा बसोबास गर्ने सेवाग्राही तथा उद्योग व्यवसायीहरुलाई बैंकिङ सुविधा सहज रुपमा उपलब्ध हुने बताए । बैंकका सिमरा शाखा प्रमुखले सेवाग्राहीहरुलाई यस शाखा मार्फत बैंकले प्रभावकारी सेवा दिइने बताए । हाल बैंकले २६२ शाखा कार्यलय र ६३ वटा एक्सटेन्सन काउन्टर मार्फत सुविधा दिँदै आएको छ ।

बजारमा नयाँ आयाम थप्दै एफवान सफ्ट, सञ्चालनमा ल्यायो ‘फोनपोईन्ट्स’ कम्पनी

ललितपुर । नेपालको अग्रणी फिनटेक समूह एफवान सफ्ट ग्रुपले ‘फोनपोईन्ट्स’ नामक कम्पनीको सुरुवात गरेको छ । एफवान सफ्टले पुस २५ गतेदेखि आधिकारिक रुपमा फोनपोईन्ट्सको सुरुवात गरेको हो । फोनपोईन्ट्सको उद्देश्य नेपालको ‘रिवार्डस्’ र ‘लोयल्टी प्रोगाम’ मार्केटमा नयाँ आयाम थप्नु रहेको छ । फोनपोईन्ट्स, लोयल्टी पोइन्टको ‘रिडेम्पसन’ सुविधा प्रदान गर्दै उक्त पोइन्टहरूको प्रवर्द्धन र व्यवस्थापन गर्ने एक प्लेटफर्म हो । फोनपोईन्ट्सको उद्देश्य ग्राहकहरुको दैनिक भुक्तानीलाई इनामदायी गराउनुको साथै उक्त प्लेटफर्ममा संलग्न व्यवसायीहरुको लागि एक लोयल्टी प्रोग्रामको पूर्वाधार सृजना गराउनु पनि हो । फोनपोईन्ट्सद्वारा ग्राहकहरुले विभिन्न व्यवसायी स्थानहरुमा भुक्तानीको दौरान केहि पोईन्ट्सहरु आर्जन गरी, सो पोईन्ट्सहरुबाट विभिन्न तरिकाको लाभहरु लिन मिल्ने आधार तयार गरिएको छ । कम्पनीको शुरुवात गर्दै फोनपोईन्ट्सका प्रमुख कार्यकारी अधिकृत सागर पौडेलले भने- ‘हाम्रो मिशन प्रत्येक लेनदेनलाई रिवार्डिङ् बनाउनु हो । साथै, ग्राहक र हाम्रो पार्टनरहरूको व्यापारमा लोयाल्टी बढाउनु हो । फोनपोईन्ट्स एक लोयल्टी प्लेटफर्म मात्र नभई यो बिजनेसहरूलाई ग्राहक रिटेन र इन्गेज गर्नका लागि डिजाइन गरिएको एक समाधान हो ।’

दूध दान : बच्चाहरूका लागि अमृत बन्दै ‘ह्युमन मिल्क बैंक’

काठमाडौं । काठमाडौंको सीतापाइँलाकी लक्ष्मी सिवाकोटी थापाथली अस्पताल बसेको २४ दिन भयो । उनको बच्चा एनआईसियूमा छ । अस्पतालमा उनी छटपटीमा छिन् । उनी दैनिक एनआइसीयूको ढोकामा पुग्छिन, फनक्क फर्किन्छन्, किनकि बच्चा राखिएको ठाउँमा घरी–घरी जान मिल्दैन । डाक्टर नर्स जो भेटिन्छन्, छोराको बारेमा सोध्छिन्, डाक्टरको जवाफ हुन्छ, ‘बिस्तारै नर्मल हुन्छ, आत्तिनु पर्दैन ।’ एकपटक मन शीतल भए पनि छोरा काखमा नपाउँदा मन फेरि अशान्त हुन्छ । बेलाबेला टनक्क दूध भरिन्छ । दूध भरिने बित्तिकै उनी अस्पतालको नयाँ बनेको भवनको दोस्रो तलामा पुग्छिन्, जहाँ ‘ह्युमन मिल्क बैंक’ (अमृत कोष )छ । मिल्क बैंकमा पुगेर दूध जम्मा गर्छिन् । फेरि तल झर्छिन् । उनको आजभोलिको दैनिकी यसैगरी चलेको छ । ‘बच्चा एनआईसीयूमा छ, दूध चुसाउन पाएको छैन, २१ दिन भयो,’ उनी भन्छिन, ‘दैनिक तीन÷चार पटक दूध जम्मा गर्छु, बस्छु, यसरी नै दिन बित्छ ।’ डाक्टरले लक्ष्मीको बच्चा जन्माउने समय फागुन १३ गतेको दिएको थियो । तर, बच्चा पुस १ गते नै जन्मियो । समय नपुग्दै जन्मेको बच्चामा श्वासप्रश्वासको समस्या देखियो । जसकारण छोरा एनआईसीयूमा राख्नुपरेको उनको भनाइ छ । छोरालाई दूध चुसाउन नमिलेपछि उनी आफ्नो दूध ‘ह्युमन मिल्क बैंकमा’ राख्दै आएकी छन् । ‘यति दिन भइसक्यो बच्चालाई काखमा राखेर दूध चुसाउन पाएको छैन,’ उनी भावुक हुँदै भन्छिन्, ‘बेला-बेला दूध भरिन्छ, आफैंले बच्चालाई खुवाउने अवस्था छैन, दूध दान गर्छु, मेरो बच्चालाई पनि हुन्छ, अरु बच्चालाई पनि पुग्छ ।’ लक्ष्मी जस्ता धेरै महिला अहिले दूध दान गरिरहेका छन् । यस्ता महिलाले दान गरेको दूधले कसैका लागि अमृतको काम गरिदिन्छ । थापाथलीमा आमाहरूले गरेको दूध दानले दार्चुलाको मालीकार्जुनकी राधा धामीले छोरा बचाउन सकिन् । शिक्षण अस्पताल महाराजगञ्जको एनआईसीयूमा राखेको छोरालाई ‘ह्युमन मिल्क बैंक’बाट दूध लिएर दिन पाउँदा अहिले छोरा काखमा बोकेर घर फर्कन पाएको खुसी उनले हामीसँग बताइन् । राधा गर्भमा बच्चा बसेदेखि नियमित जाँच गर्दै आएकी थिइन् । अवस्था ठिकै थियो । तर, उनमा थाइराइड देखियो । केही समयपछि एनिमिया भएको थाहा भयो । दुई जीउको अवस्थामा स्वास्थ्य समस्या देखियो । राधाको यसअघिका २ गर्भपनि खेर गए । यो पटक पनि जोखिम हुने भन्दै नियमित जाँचमा रहन डाक्टरले सल्लाह दिएका थिए । सल्लाह बमोजिम उनी बच्चा जन्माउन दार्चुलाबाट काठमाडौं आइन् । ‘दार्चुलामा न राम्रो अस्पताल नत राम्रा डाक्टर, कतै गाह्रो पो पर्छकी भन्ने हामीलाई डर थियो, त्यसैले हामीले अगाडि नै काठमाडौं बोलायौं,’ राधाका देवर कमल धामीले भने । डाक्टरले राधालाई बच्चा जन्माउने समय मंसिर २६ गते दिएको थियो । तर, आमा र बच्चा दुवैमा समस्या देखिएपछि मंसिर १५ गते नै अप्रेसन गरी बच्चा निकालियो । बच्चा गर्भमै रहँदा जण्डिस देखियोे । बच्चाको तौल २१ सय ग्राम मात्र थियो । तौल र जण्डिसले गर्दा बच्चाको अवस्था जटिल देखिएपछि शिक्षण अस्पताल महाराजगञ्जमा अप्रेसन गरेर निकाल्नु पर्‍यो । आमाको अवस्था पनि नर्मल नहुँदा बच्चालाई दूधको आवश्यकता पर्‍यो । धामी परिवारले थापाथली अस्पतालमा ‘मिल्क बैंक’ रहेको थाहा पाएपछि कमल थापाथली अस्पताल पुगे । अस्पताललाई आफ्नो समस्या बताएपछि एक साताका लागि बच्चालाई दूध दिने सहमति भयो । ‘बच्चालाई दैनिक आवश्यक पर्ने दूधको मात्रा थापाथली अस्पतालले दियो,’ कमल भन्छन्, ‘थापाथलीको मिल्क बैंकको दूध हाम्रो बच्चाको लागि साच्चिकै अमृत बन्यो, अहिले आमा र बच्चा सकुशल दार्चुला फर्किएका छन् ।’ राधाजस्तै धेरै आमाहरूले मिल्क बैंकबाट दुध लिएर बच्चाको जीवन बचाएका छन् । उनीहरूले मिल्क बैंकप्रति आभार प्रकट गरिरहेका छन् । बच्चा एनआईसीयूमा, आमा दूध दानमा मिल्क बैंकमा सबैभन्दा धेरै दूध दिने भनेको बाध्यतावस अस्पतालमै बस्नु परेका आमाहरू छन् । जसको बच्चा बिरामी छ, तौल कम छ, एनआइसीयूमा राख्नुपर्ने अवस्था छ, त्यस्ता आमाहरू लामो समय अस्पताल बस्नुपर्ने हुन्छ । बच्चा एनआइसीयूमा राख्दा दूध चुसाउन मिल्दैन । तिनै आमाहरू आफ्नो बच्चाको लागि र बाँकी दूध दानको रुपमा दिने गर्छन् । त्यस्ता आमाहरू एकपटक भनिसकेपछि अस्पताल रहुञ्जेलसम्म दैनिक रुपमा दूध दान गर्ने गर्छन् । अस्पतालमै सुत्केरी भएका सबै महिलाहरू अस्पतालमा लामो समय नरहने भएकाले दान गर्ने आमाको संख्यामा कमी रहेको अस्पतालका डाक्टर शैलेन्द्र बिक्रम कर्माचार्य बताउँछन् । ‘टाढा-टाढाबाट बच्चा जन्माउन आमाहरू अस्पताल आउनुहुन्छ, नर्मल बच्चा पाउनेहरू तत्कालै गइहाल्नुहुन्छ, उनीहरूलाई दूध दान गराउनकै लागि अस्पतालमा रोकाउन सक्ने अवस्था छैन, जसकारण पनि दान गर्नेहरूको संख्याको कम देखिएको हो,’ उनले भने । ४ सय ५५ लिटर दुध संकलन २०७९ साल भदौ ३ गते परोपकारी प्रसूति तथा स्त्री रोग अस्पतालमा ‘ह्युमन मिल्क बैंक’ (अमृत कोष) स्थापना गरिएको थियो । झण्डै डेढ वर्षको अवधिमा करिब १ हजार १ सय बढी आमाहरूले दूध दान गरेका छन् । यस्तै, १ हजार ५ सय बढी बच्चाले दूध पाएका छन् भने अहिलेसम्म ४ सय ५५ लिटर बढी दूध संकलन भएको छ । अस्पतालमा दूधको माग दैनिक २ हजार ५ सय मिलि लिटर छ भने दैनिक१ हजार ५ सय एमएल संकलन हुने गरेको छ । संकलन कम र माग बढी भएकाले सबै बच्चालाई दूध पुर्‍याउन नसकिएको ‘ह्युमन मिल्क बैंक’ तथा ‘बृहत स्तनपान व्यवस्थापन’की व्यवस्थापक स्मृती पौडेल बताउँछिन् । ‘मिल्क बैंक’मा अहिले दैनिक १० देखि १५ आमाहरू दूध दान गर्ने गरेका छन् । तर, अस्पतालमा दैनिक ६० देखि ८० जना आमाहरूले बच्चा जन्माउने गर्छन् । ‘सबै आमाहरूले दूध दिन सक्ने हुँदैनन्, कस्ता आमाको दूध लिने भन्ने मापदण्ड पुरा हुनुप¥यो, अर्को ८० जनामा २० देखि २५ प्रतिशत आमाहरूको अप्रेसन हुन्छ, उनीहरू तीन दिनसम्म उठ्न सक्ने अवस्थामा हुँदैनन्, नर्मल डेलीभरी हुने आमाहरू २४ घण्टा मै डिस्चार्ज हुन्छ जसका कारण दूध दान गर्ने आमाहरू संख्या बढ्न नसकेको हो,’ उनले भनिन् । यस्तो छ मापदण्ड मिल्क बैंकमा सबै आमाहरूले दूध दान गर्न सक्छन् । त्यसका लागि अस्पतालले एउटा मापदण्ड बनाएको छ । दूध दान गर्न चाहने आमाहरूको सबैभन्दा पहिला ल्याब र शारिरीक जाँच हुन्छ । जसमा एचआईभी, भेनेरल डिजिज रिसर्च ल्याबोलरेटरी (भिडिआरएल) र हेपटाइटिस बी सर्फेस एन्टिजेन (एचबीएसजी) लगायतका परीक्षण गर्नुपर्छ । यी परिक्षणमा आमा स्वस्थ भेटियो भने मात्र त्यस्ता आमाहरूले दूध दान गर्न पाउँछन् । अस्वस्थ आमाहरूको दूध संकलन हुँदैन । स्मृती भन्छिन्, ‘कुनै पनि प्रकारको इन्फेक्सन नभएका, दूधबाट सर्न सक्ने कुनै पनि रोग नभएका, स्तन परीक्षणको रिपोर्ट राम्रो आएका आमाहरुले दूध दान गर्न पाउँछन्, यो जाँच सबै अस्पतालले गरिदिन्छ ।’ कस्ता बच्चालाई खुवाइन्छ दूध ? मिल्क बैंकमा संकलन गरिएको दूध सबैभन्दा पहिले अस्पताल भित्रका बच्चाहरूलाई दिइन्छ । जो समय अगावै जन्मिएका हुन्छन् । तौल कम छ , जन्मदा उनीहरूको राम्रोसँग विकास वृद्धि भएको हुँदैन, यस्ता बच्चाहरूलाई प्राथिमकता राखिन्छ । यस्ता बच्चाहरूलाई बट्टाको दूध खुवाउँदा झनै कुपोषण हुने, आन्द्राको समस्या बढी हुने र अरु संक्रमण हुने जोखिम हुने भएकाले यस्ता बच्चालाई यो दूध दिने गरिन्छ । त्यसपछि आमा नभएको, भएका आमामा पनि कुनै खालको संक्रमणको कारण दूध चुसाउन नमिल्ने बच्चाहरूलाई दोस्रो प्राथमिकता दिइन्छ । त्यसपछि समय पुगेरै जन्मेका बच्चाहरूमा पनि आमाको दूध प्रयाप्त मात्रामा नआए, जुम्ल्यहा, तिम्ल्हा बच्चा भएका आमाका बच्चालाई दूध दिने गरिन्छ । पहिलो र दोस्रो प्राथमिकतामा रहेका बच्चालाई दूध पुगेपनि सबै बच्चाहरूलाई पुग्ने खालको दूध भने अझै संकलन हुन सकेको छैन । विश्वभर वार्षिक १ करोड ५० लाख शिशुहरू समय नपुगि नै जन्मिने गरेको तथ्यांकले देखाउँछ । नेपाल जस्ता निम्न-मध्यम आय भएका देशहरूमा यस्तो समस्या अझ बढी छ । नेपालमा वर्षमा करिब ८१ हजार शिशु समय नपुग्दै जन्मिन्छन् । शिशुहरू आफ्नो जीवनको पहिलो महिनामा मृत्युको उच्च जोखिममा हुन्छन् भने समय नपुगि जन्मेका र कम तौल भएका शिशुहरू अझ बढी जोखिममा हुन्छन् । यस्ता जोखिममा रहेका बच्चाहरूलाई ‘ह्युमन मिल्क बैंक’ले धेरै सहयोग पुग्ने जानकारहरू बताउँछन् । स्तनपान गराउनेको संख्या बढ्यो मिल्क बैंक स्थापनापछि अस्पतालमा स्तनपान गराउनेको दर पनि बढेको छ । पहिले ४० देखि ४५ प्रतिशत महिलाले मात्र स्तनपान गराउने गरेकोमा मिल्क बैंक स्थापनापछि ८० देखि ८५ प्रतिशत आमाहरूले स्तनपान गर्ने गरेको अस्पतालले जनाएको छ । अस्पतालले स्तनपानबारे परामर्श दिन ६ जना परामर्शदाता (काउन्सिलर) राखेको छ । ६ जना काउन्सिलरको काम अस्पतालमा सुत्केरी भएका महिलाहरूलाई भेट्ने, उनीहरूलाई दूध कसरी चुसाउने भन्नेबारे जानकारी र तरिकाबारे सिकाउने काम गर्छन् । काउन्सिलर सुमित्रा गिरी स्तनपानलाई सजिलो तरिकाले लिने गरेपनि सबैभन्दा जटिले हुने बताउँछिन् । उनका अनुसार स्तनपानको कुरा गर्दा धेरैले सामान्य तरिकाले लिन्छन् तर यसको पोजिशन तथा तरिका नजान्दा साह्रै गाह्रो हुन्छ । दूध संकलन गर्न मिल्क एम्बुलेन्सको तयारी विश्वका कयौँ देशले आजभन्दा सय वर्ष अगाडि सुरुवात गरेको ह्युमन मिल्क बैंक नेपालमा पहिलो पटक थापथलीमा अस्पतालमा सञ्चालनमा छ । एउटा अस्पतालमा मात्र सीमित यो बैंकको सेवा देशभर बिस्तार गर्ने तयारी गरिरहेको छ । एउटा अस्पतालमा हुँदा सोचेजति दूध संकलन नभएको र माग बमोजिम दूध उपलब्ध गराउन नसकेकाले अब मिल्क एम्बुलेन्स सञ्चालन गर्ने योजना भइरहेको बृहत स्तनपान व्यवस्थापन केन्द्रका प्रबन्धक स्मृती पौडेल बताउँछिन् । उनका अनुसार त्यसका लागि अन्य निकायसँग समन्वय गर्ने काम भइरहेको छ । मिल्क एम्बुलेन्सले आफ्नो बच्चालाई पुगेर थप आएको दूध दान गर्न चाहाने आमाहरूको घरमै गएर दूध संकलन गर्नेछ । थापाथली अस्पताललाई मात्र लक्षित गरी सञ्चालनमा ल्याएको ‘ह्युमन मिल्क बैंक’को आवश्यकता देशभर भएकाले सेवा बढाउनका लागि यसको तयारी थालिएको हो ।