विकासन्युज

सन् २०२४ मा विश्वका ५० भन्दा बढी मुलुकमा निर्वाचन हुँदै

एजेन्सी । पृथ्वीको आधा जनसङ्ख्या बसोबास गर्ने ५० भन्दा बढी मुलुकमा सन् २०२४ मा राष्ट्रिय निर्वाचन हुन लागेको छ । यद्यपि मतको अधिकार प्रयोग गर्ने नागरिकहरूको सङ्ख्या राम्रो समाचार होइन । यो वर्ष सबैभन्दा बलियो लोकतन्त्रको पनि परीक्षा लिने र अधिनायकवादी नेताहरूको हात बलियो बनाउनका लागि तयार भए जस्तो देखिन्छ । रुस, ताइवान र संयुक्त अधिराज्यदेखि लिएर भारत, एल साल्भाडोर र दक्षिण अफ्रिकासम्म राष्ट्रपति र विधायिकी प्रतिस्पर्धाहरूले मानव अधिकार, अर्थतन्त्र, अन्तर्राष्ट्रिय सम्बन्ध र अस्थिर विश्वमा शान्तिको सम्भावनाहरूमा ठूलो प्रभाव पार्छ । केही मुलुकमा मतदान न स्वतन्त्र हुनेछ न त निष्पक्ष नै । साथै केही मुलुकमा विपक्षी उम्मेदवारमाथि अङ्कुश, थकित मतदाता र हेरफेर तथा गलत सूचनाको सम्भावनाले लोकतन्त्रको भाग्यलाई एउटा प्रमुख अभियानको मुद्दा बनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र उहाँका पूर्ववर्ती डोनाल्ड ट्रम्पबीच सम्भावित पुनः प्रतिस्पर्धा चुनावी क्यालेन्डरमा ठूलो देखिन्छ । नोभेम्बरमा ट्रम्पको जित सम्भवतः सबैभन्दा ठूलो वैश्विक वाइल्डकार्ड हो । यद्यपि त्यसभन्दा पहिला उच्च दाउको मतले दूर–दराजका मतदाताहरूबिच ‘असन्तोष, अधैर्य, असहजताको मनोदशा’ को आकलन गर्ने लन्डनस्थित थिङ्क–ट्याङ्क चाथम हाउसका निर्देशक ब्रोनवेन म्याडक्सले बताए । नेताहरूमा आफ्नो पकड बलियो बनाउने चाहना विश्वको सबैभन्दा लामो समयसम्म सेवा गर्ने महिला नेत्री बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाले विपक्षी दलहरूले बहिष्कार गरेको सोमबारको निर्वाचनमा लगातार चौथो कार्यकाल जितेकी छन् । हसिनाको अवामी लिग पार्टी ४० प्रतिशतको कम मतदानमा पुनः निर्वाचित भएको छ र असहमतिलाई दबाउँदा राजनीतिक उथलपुथल हुने खतरा बढेको छ । विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको मुलुक भारतमा सन् २०२४ को मध्यसम्ममा आम निर्वाचन हुँदैछ । निर्वाचनमा दक्षिणपन्थी हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टीका प्रधानमन्त्री नरेन्द्र मोदीलाई लगातार तेस्रो कार्यकाल प्राप्त हुने सम्भावना छ । आफ्ना समर्थकहरूका लागि मोदी राजनीतिक बाहिरी व्यक्ति मानिन्छन् । उनले भारतलाई उदीयमान वैश्विक शक्ति बनाउन सफल भएका छन् । आलोचकहरूले भारतमा प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथि हमलाका साथै हिन्दू राष्ट्रवादीहरूले धार्मिक अल्पसङ्ख्यकहरूमाथि हमला उनको निगरानीमा बढेको बताएका छन् । सत्ता कायम राख्ने चाहना राख्ने अर्का नेता एल साल्भाडोरका राष्ट्रपति नायब बुकेले छन् । उनले अति हिंसात्मक सडक गिरोहमाथि आक्रामक कारवाहीका लागि आपत्कालीन शक्तिहरूको प्रयोग गरेदेखि व्यापक समर्थन हासिल गरेका छन् । लगातार दुई कार्यकालसम्म सेवा गरेका राष्ट्रपतिहरूमाथि संवैधानिक प्रतिबन्धका बावजुद उहाँको पार्टीले नियुक्त गरेका मानिसहरूले भरिएको सर्वोच्च अदालतले फेब्रुअरी ४ मा बुकेलेलाई राष्ट्रपति पदका लागि मञ्जुरी दिएको छ । विदेशी सरकारहरूले केही नागरिक अधिकारहरूको निलम्बनको आलोचना गरेको भए पनि बुकेलेले गम्भीर प्रतिस्पर्धाको सामना गर्ने अपेक्षा गरिएको छैन । कोसेढुङ्गा र त्योभन्दा पनि धेरै मेक्सिको जुन २ मा आफ्नो पहिलो महिला राष्ट्रपति निर्वाचित गर्न तयार छ । निर्वाचनमा राष्ट्रपति आन्द्रे म्यानुअल लोपेज ओब्रेडोरकी शिष्या एवं मेक्सिको सिटीका पूर्वमेयर क्लाउडिया सेनबाउम वा पूर्वविपक्षी सिनेटर जोचिटल ग्याल्वेज निर्वाचित हुनुहुनेछ । विजेताले लागु पदार्थसँग सम्बन्धित डरलाग्दो हिंसा र बढ्दो प्रभावशाली सेना भएको मुलुकमा शासन गर्नेछ । दक्षिणपूर्वी एसियाको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक इन्डोनेसियामा मतदाताहरूले फेब्रुअरी १४ मा राष्ट्रपति जोको विडोडोका उत्तराधिकारी चयन गर्दैछन् । जनमत सर्वेक्षणहरूले दक्षिणपन्थी राष्ट्रवादी रक्षामन्त्री प्रबोवो सुबियान्तो तथा मध्य जाभाका पूर्वगभर्नर गन्जर प्रणवोबिच कडा प्रतिस्पर्धा हुने सङ्केत दिएका छन् । दुवै उम्मेदवार सत्ताधारी दलका छन् । सुबियान्ताका प्रतिस्पर्धी मित्र निवर्तमान नेता विडोडोका छोरा हुन् । यसले वंश निर्माणको अडकल लगाइएको छ । यद्यपि कुनै पनि विजेताले सन् १९९८ मा सुहार्तोको तानाशाहीको अन्त्यपछि इन्डोनेसियामाथि प्रभुत्व जमाएको भ्रष्टाचारले भरिएको राजनीतिक निरन्तरतालाई सङ्केत गर्नेछन् । पाकिस्तानमा फेब्रुअरी ८ मा हुने संसदीय निर्वाचनमा पनि मुलुकको शक्तिशाली सेनाको निगरानीमा स्थापित राजनीतिज्ञहरूले प्रतिस्पर्धा गर्दैछन् । लोकप्रिय विपक्षी नेता एवं पूर्वप्रधानमन्त्री इमरान खान कारागारमा छन् र निर्वाचन अधिकारीहरूले उनलाई निर्वाचनमा उम्मेदवार हुन रोकेका छन् । उनका प्रतिद्वन्द्वी एवं तीन पटकका प्रधानमन्त्री पाकिस्तान मुस्लिम लिगका नेता नवाज शरिफलाई उनीमाथिको भ्रष्टाचारको अभियोग खारेज भएपछि मतदानमा सामेल हुन अनुमति दिइएको थियो । पूर्वविदेशमन्त्री बुलावल भुट्टो जर्दारी नेतृत्वको पाकिस्तान पिपुल्स पार्टीले पनि निर्वाचनमा उम्मेदवारी दिएको छ । विश्लेषकहरूले निर्वाचनबाट अस्थिर सरकार बन्ने सम्भावना रहेको बताएका छन् । तालिबान नियन्त्रित छिमेकी मुलुक अफगानिस्तानसँगको सम्बन्धमा गिरावट र पाकिस्तान सुरक्षा बलहरूमाथि घातक हमलाका बिच मतदान स्थगित हुने सम्भावना पनि रहेको छ । लोकप्रियता चरमोत्कर्षमा पुगेको हो ? युरोपले आर्थिक अस्थिरता र अन्यत्रबाट ठूलो मात्रामा बसाइँसराइको अनुभव गरेपछि युरोपमा लोकप्रियतावाद बढेको छ । सत्ताइस देशको युरोपेली युनियन (इयु) को संसद्का लागि जुनमा हुने निर्वाचन परम्परागत पार्टीहरूले लोकप्रिय प्रतिद्वन्द्वीहरूलाई हराउन सक्छन् वा सक्तैनन् भन्ने सङ्केत हुनेछ । यी मुलुकमध्ये धेरैले युक्रेनका लागि सैन्य समर्थनलाई लिएर आशङ्का गरिरहेका छन् । गत वर्षको राष्ट्रिय निर्वाचनहरूले मिश्रित सङ्केत दिएका थिए । स्लोभाकियाले रुस समर्थक लोकप्रिय प्रधानमन्त्री रोबर्ट फिकोलाई निर्वाचित गर्यो तर पोल्यान्डमा मतदाताहरूले रूढिवादी सरकारको स्थानमा मध्यमार्गी डोनाल्ड टस्कको नेतृत्वको गठबन्धनका साथ परिवर्तन गरे । राजनीतिक परामर्शदाता युरेसिया ग्रुपका मुजतबा रहमानले आगामी युरोपेली संसद्को प्रतिस्पर्धामा लोकप्रिय बहुमत प्राप्त नहुने तर सन् २०१९ मा प्राप्त मतको तुलनामा केन्द्रले मैदान गुमाउने भविष्यवाणी गरे । युरोपेली युनियनको पूर्वसदस्य संयुक्त अधिराज्यमा लोकप्रियतावादलाई सन् २०१६ को ब्रेक्सिट जनमत सङ्ग्रह तथा पूर्वप्रधानमन्त्री बोरिस जोनसनको अशान्तिपूर्ण कार्यकालमा अभिव्यक्ति प्राप्त गर्यो । यस वर्ष संयुक्त अधिराज्यको आम निर्वाचनमा सत्ताधारी कन्जरभेटिभलाई केन्द्र–वामपन्थी लेबर पार्टीका विरुद्ध खडा गर्नेछ । चौध वर्षपछि सत्ता हासिल गर्न चाहेको लेबर पार्टी जनमत सर्वेक्षणहरूमा बलियोसँग अगाडि देखिन्छ । अफ्रिकामा लोकतन्त्रका चुनौतीहरू जलवायु परिवर्तन, युक्रेन युद्धले अन्नको आपूर्तिमा अवरोध र चीन तथा रुसको बढ्दो ध्यान विश्वको सबैभन्दा तीव्ररूपमा बढिरहेको महादेश अफ्रिकालाई नयाँ आकार दिने शक्तिमध्येका एक हुन् । सन् २०२० पछि आठ पश्चिमी अफ्रिकी मुलुकमा सैन्य विद्रोह भएका छन् । यसमा सन् २०२३ मा नाइजर र ग्याबोन पनि समावेश भएका छन् । सेनेगललाई यस क्षेत्रमा स्थिरताको गढ मानिएको छ । अहिले राष्ट्रपति म्याकी सालले पद छाड्दै गर्दा उनको मुलुकमा फेब्रुअरी २५ मा हुने निर्वाचनलाई मुलुकको राजनीतिक लचिलोपनको सूचकका रूपमा हेरिएको छ । विपक्षी नेता ओस्मान सोनकोका समर्थकहरूले उनीमाथि सरकारले विभिन्न कानूनी मामिला चलाउनबाट रोक्ने कोसिस गरेको आरोप लगाएका छन् । यसले घातक प्रदर्शनहरू निम्त्याएको छ । युरेसिया समूहका विश्लेषक तोची एनी–कालुले भने, ‘राष्ट्रपति निर्वाचनले विगतका वर्षहरूका मापदण्डमा फर्कन वा थप अस्थिर राजनीतितर्फ स्थायी परिवर्तनको सङ्केत गर्न सक्छ ।’ दक्षिण अफ्रिकामा मे र अगस्टबिच हुने विधायिकाको निर्वाचनको राजनीतिक पृष्ठभूमिमा सङ्घर्षरत अर्थतन्त्र, विद्युत् कटौती र करिब ३२ प्रतिशतको बेरोजगारी दर रहेको छ । लामो समयदेखि प्रभावशाली अफ्रिकी राष्ट्रिय कांग्रेस ९एएनसी० का लागि मतदाताहरूको भ्रम हटाउने चुनौती हुनेछ । सन् १९९४ मा मुलुकको जातीय रङ्गभेदी प्रणालीको अन्त्य भएदेखि एएनसीसँग राष्ट्रपति पद र संसद्मा बहुमत कायम छ तर पहिला सम्मानित उक्त दलले सन् २०२१ को स्थानीय निर्वाचनमा आधाभन्दा कम मत हासिल गरेको छ । यदि उसको समर्थन ५० प्रतिशतभन्दा कम भयो भने सांसदहरूले राष्ट्रपति सिरिल रामफोसालाई पुनः निर्वाचित गर्नका लागि पार्टीलाई गठबन्धन बनाउनुपर्ने आवश्यकताको सुनिश्चित गर्नुपर्नेछ । विश्वको सबैभन्दा कान्छो मुलुक दक्षिण सुडानले आफ्नो लामो समयदेखि विलम्ब भएको निर्वाचन डिसेम्बरमा गर्ने योजना बनाएको छ । मतदान कोसेढुङ्गा साबित हुनेछ तर विद्यामान परिस्थितिमा खतरा र असफलताको चपेटामा पर्नसक्ने आशङ्का गरिएको छ । दक्षिण सुडानी नागरिकहरूका लागि विश्वसनीय र स्वीकार्य मानिने मतदाता दर्ता विवरण, सुरक्षा योजना र विवाद समाधान गर्ने तरिका स्वतन्त्र निर्वाचन सुनिश्चित गर्न आवश्यक पर्ने हराएका तत्वहरू भएको दक्षिण सुडानमा संयुक्त राष्ट्रसङ्घका मिसन प्रमुख निकोलस हेसोमले गत महिना सुरक्षा परिषद्मा बताएका थिए । रबर स्ट्याम्प अभ्यासहरू मार्चमा रुसको राष्ट्रपति निर्वाचनमा कसले जित्नेछ भन्नेमा कुनै सन्देह छैन । राष्ट्रपति भ्लादिमिर पुटिनले पाँचौँ कार्यकालका लागि केवल साङ्केतिक विरोधको सामना गर्नुपरिरहेको छ । उनका प्रमुख प्रतिद्वन्द्वी कारागारमा छन्, निर्वासनमा छन् वा मरिसकेका छन् । साथै युक्रेनमा शान्तिको माग गर्ने एक राजनीतिज्ञलाई अयोग्य घोषित गरिएको छ । राष्ट्रपति अलेक्जेन्डर लुकासेन्को नेतृत्वको बेलारुसमा पनि यस्तै कथा छ । लुकासेन्कोको सरकारले पुटिन सहयोगीको विवादित पुनरनिर्वाचनविरुद्धको विरोध प्रदर्शनलाई दबाएपछि फेब्रुअरी २५ मा मुलुकको पहिलो संसदीय निर्वाचन हुने अपेक्षा गरिएको छ । हजारौँ विरोधी कारागारमा छन् वा मुलुक छाडेर भागेका छन् । अझै पनि आफ्ना सबै समस्याका बावजुद यहाँसम्म कि अधिनायकवादी नेताहरूका लागि समेत लोकतान्त्रिक आदर्शले व्यापक अपिल राख्ने म्याडक्सले बताए । ‘तथ्य के हो भने उनीहरूले निर्वाचन गराउने निर्णय गरेका छन्, उनीहरूले स्वतन्त्र मतदानको दाबीको महत्त्वलाई हेरेको यसबाट थाहा हुन्छ ।’

आर्थिक वृद्धिदर पाँच प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । विश्व बैंकले आर्थिक वर्ष २०२४/२५ मा नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशत रहने प्रक्षेपण गरेको छ । विश्व बैंकले ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स, जनवरी २०२४’ सार्वजनिक गर्दै गत वर्षको तुलनामा आगामी वर्ष नेपालको आर्थिक वृद्धिदर सकारात्मक रहने अनुमान गरेको हो । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर तीन दशमलव नौ प्रतिशत रहने  बैंकले जनाएको छ । औद्योगिक र सेवा क्षेत्रमा सुधार हुँदा आगामी वर्ष आर्थिक वृद्धिदर अहिलेको भन्दा केही बढ्न सक्ने प्रक्षेपण गरिएकोे हो । लचिलो मौद्रिक नीति र आयातमा लगाइएको प्रतिबन्ध फुकुवाका कारण पनि अहिलेको भन्दा सहज आर्थिक अवस्था हुने आकलन  गरिएको हो । अहिले विश्व अर्थतन्त्रमा देखिएको शिथिलता सन् २०२४ मा पनि कायम रहने विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ । विशाल अर्थतन्त्र भएका मुलुकका केन्द्रीय बैंकले अवलम्बन गरेको कडा खालका मौद्रिक नीति, सहज अवस्थामा फर्किन नसकेको विश्व व्यापार र लगानीको अवस्थाका कारण आर्थिक वृद्धिदर न्यून देखिने प्रक्षेपण गरिएको हो । मुद्रास्फीति र महँगो ब्याजदरका कारण पनि यसवर्ष उपभोक्ता तथा मौद्रिक बजारलाई असर गर्ने ठानिएको छ । विश्वको अर्थतन्त्र सन् २०२४ मा दुई दशमलव चार प्रशितमा खुम्चिने अनुमान गरिएको छ । सन् २०२१ मा विश्व अर्थतन्त्र छ दशमलव दुई प्रतिशत रहेकोमा सन् २०२२ मा घटेर तीन प्रतिशत पुगेको थियो । सन् २०२३ मा दुई दशमलव चार प्रतिशतको विश्व आर्थिक वृद्धिदर अनुमान गरिएकामा आगामी वर्ष दुई दशमलव चार प्रतिशतमा झर्ने अनुमान गरिएको छ ।

विपद् व्यवस्थापन कोषमा दुई अर्ब उपलब्ध गराउने सरकारको निर्णय

काठमाडौं । सरकारले ‘प्रधानमन्त्री दैवीप्रकोप सहायता कोष’ मा मौज्दात रकममध्येबाट विपद् व्यवस्थापन कोषमा दुई अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले उक्त निर्णय गरेको हो । बैठकले राष्ट्रिय विकास परिषद्मा विभिन्न जिल्ला समन्वय समिति, स्थानीय तह, विभिन्न निकायका पदाधिकारी÷व्यक्तिमध्येबाट २५ जना सदस्य मनोनयन गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद्बाट विभिन्न मितिमा सहिद घोषणा भई विवरण फरक परेका सहिदहरुको विवरण सच्च्याउने, नेपाल राजपत्रमा प्रकाशित हुन छुट सहिदको नाम प्रकाशन गर्ने र थप सहिद घोषणा गर्ने निर्णय गरेको जानकारी दिइन् । सरकारका प्रवक्ता मन्त्री शर्माले भनिन्, ‘मन्त्रिपरिषद्ले सशस्त्र प्रहरी बल, नेपालको श्रेणीविहीन पदमा स्तरवृद्धि कायम भएका श्रेणीविहीन प्रथमस्तर, द्वितीयस्तर, तृतीयस्तर, चतुर्थस्तर र पाँचौँस्तर पदको सुरु तलबमान, ग्रेड सङ्ख्या र ग्रेड दर स्वीकृत गर्ने निर्णय गरेको छ ।’ विसं २०८० पुस २७-२८ मा काठमाडौंमा हुने नेपाल-भारत वाणिज्य सहसचिवस्तरीय अन्तरसरकारी उपसमितिको बैठकका लागि सहसचिवको नेतृत्वमा वार्ता टोली र कार्यसूची स्वीकृत गरेको उनले जानकारी दिइन् । ‘गोदक सोयाक १३२ केभी प्रसारण लाइनको इलाम नगरपालिका-९, १० र ११ मा निर्माणाधीन प्रसारण केन्द्रबाट दायाँ नौ मिटर र बायाँ नौ मिटर गरी जम्मा १८ मिटर क्षेत्रभित्र पर्ने जग्गा र त्यसभित्रका अन्य संरचनाको क्षतिपूर्ति निर्धारण गर्न अध्यक्ष र विशेषज्ञ सदस्य तोक्ने निर्णय सरकारले गरेको छ’, मन्त्री शर्माले भनिन् । उनका अनुसार सरकारले ताप्लेजुङ जिल्लाको मैवाखोला तथा आठराइ त्रिवेणी गाउँपालिका र पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिकामा निर्माणाधीन प्रसारण लाइनको केन्द्र रेखाबाट दायाँ नौ मिटर र बायाँ नौ मिटर अधिकार क्षेत्रभित्र पर्ने निजी जग्गा र सोभित्र रहेका अन्य संरचनाको क्षतिपूर्ति निर्धारण गर्न अध्यक्ष र विशेषज्ञ सदस्य तोक्ने पनि निर्णय गरेको छ । यसैबीच, मन्त्री शर्माले देशमा शान्ति सुव्यवस्था कायम गर्न सरकार प्रतिबद्ध रहेको बताइन् । रासस

ठूला बिजनेस ग्रुप कलेजमै, विद्यार्थीलाई पढ्दा पढ्दै काम

काठमाडौं । हातमा केही कागजात बोकेका विद्यार्थी लाईनबद्ध छन् । कोही अन्तर्वार्ता दिँदै गरेका त कोही लाइनमा बसिरहेका । अन्तर्वार्ता दिइसकेका विद्यार्थी अर्को साथीसँग अनुभव सेयर गर्दै छन् । माहोल अनौठो थियो । कलेज भित्र विभिन्न स्टल, हरेक स्टलभित्र विद्यार्थीको परीक्षा हुँदै थियो । त्यो परीक्षा कक्षा पास गरेर अर्को कक्षा जान होइन कि विद्यार्थीले आफ्नो भविष्य बनाउने जागिरको थियो । त्यो दृश्य बुधबार दिउँसो तिनकुनेको गैरीगाउँमा रहेको आईएसएमटी कलेजको हो । कलेजले आयोजना गरेको ‘आईएसएमटी जबफेर २०२४’ मा विद्यार्थीले काम र कम्पनीले कामदार खोजिरहेका थिए । हातमा डिग्रीको सर्टिफिकेट हुँदा पनि जागिर पाइँदैन, तपाईं हामी सबैले देखेकोे, भोग्दै आएकै कुरा हो । जागिर नपाएकै कारण दिनहुँ नेपाली युवा परदेश जान विवश छन् । ‘नो अब्जेक्सन लेटर’ (एनओसी) लिएर विदेशमा काम गर्न जाने विद्यार्थीको पनि लर्को छ । तर, कतिपय यस्ता कलेज छन्, जहाँ पढेका विद्यार्थीहरूका लागि स्वदेशमै जागिरको अवसरको खोजी हुन्छ । काठमाडौंको तीनकुनेमा रहेको आईएसएमटी कलेजले बीबीए, बीएचएम, एसएससी आईटी र बीएससी पढेका विद्यार्थीका लागि नेपालका विभिन्न कम्पन्नीसँग समन्वय गरेर विद्यार्थीहरूलाई काम गर्ने अवसर सिर्जना गर्ने गर्छ । त्यसका लागि कलेजले प्रत्येक वर्षमा दुई पटक ‘आईएसएमटी जबफेयर’ गर्ने गर्छ । गुल्मीका युवराज कँडेल मंगलबार रातभर बसको यात्रा गर्दै बुधबार बिहान ४ बजे काठमाडौं आइपुगे । बिहान काठमाडौंमै रहेका उनी आफन्त कहाँ झोला बिसाउँदै सिधै आईएसएमटी कलेज पुगे । जहाँ ‘आईएसएमटी जबफेयर २०२४’ चलिरहेको थियो । युवराज कँडेल, विद्यार्थी । ‘आज अन्तर्वार्ता, जसरी पुग्नै थियो, राती बस चढेर अहिले बल्ल अन्तर्वार्ता दिएँ,’ जब फेयरमा भटिएका युवराजले भने । युवराज आईएसएमटीको बुटवल ब्रान्चमा बीएचएम तेस्रो वर्षमा अध्ययनरत छन् । उनले कामका लागि सिप्रदी अटोमोबाइल्स कम्पनी, फुडमाण्डू र एयरलाइन्सको जागिरका लागि अन्तार्वार्ता दिएका छन् । उनी सर्टलिस्टमा परेको पनि जानकारी गराइएको छ । ‘म पहिल्यै कामको खोजिमा थिएँ किनकि कमाउँदै पढ्दै गर्नु सकुँ भन्ने चाहना छ, आफ्नै कलेजले थप सहयोग गर्दा खुसी छु, ‘सायद जागिर नै पाउँछु, नभए पनि एउटा अनुभव हुन्छ, हामीले कलेजमै यस्तो सुविधा पाउनु नै ठूलो कुरा हो,’ उनले विकासन्युजसँग भने । नेपालका अधिकांश कलेज विद्यार्थीलाई पढेको प्रमाणपत्र दिन बाहेकेको काममा सक्रिय देखिँदैनन् । तर, आईएसएमटीले आफ्नो कलेजमा पढेका हरेक संकायका विद्यार्थीका लागि पढाइसँगै प्रयोगात्मक पनि गर्ने गर्छ । विद्यार्थी जुन विषयमा पढेको हुन्छ, त्यही विषयमा काम गर्न सहजहोस् भन्ने उद्देश्यले कलेजले यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । सुनसरीका सचिन निरौला बिएससीआईटी दोस्रो सेमेस्टरमा अध्ययन गर्दैछन् । उनलाई पनि पढ्दै काम गर्न मन छ । ‘काम गर्दै पढ्दा दोहोरो फाइदा हुन्छ, एउटा त पढेको विषयलाई व्यवहारमा उतार्न सकिन्छ, अर्को काम गर्दा थप अनुभव हुन्छ, त्यसले पढाइमा पनि फाइदा हुन्छ,’ उनले भने । सचिन निरौला, विद्यार्थी । उनले पनि वल्र्डलिंक र बज्र टेक्नोलोजीमा अन्तर्वार्ता दिएर सर्टलिस्टमा परेका छन् । लोकन्थलीमा दाइसँगै बस्दै आएका सचिन बिहान कलेजमा पढ्ने र दिउँसो काम गर्ने योजना बनाइरहेका छन् । यसले आफूलाई टेवा पुग्ने उनको भनाइ छ । उनी कलेजले सर्टिफिकेटमात्र नभई विद्यार्थीलाई कामको अवसर पनि दिने भन्दै खुसी व्यक्त गर्छन् । आईएसएमटी कलेजका बिजनेश डेभलपमेन्ट हेड बासुदेव वस्ती यस्ता कार्यक्रमले विद्यार्थीलाई जागिर खोज्न र बजार धाउन नपर्ने मात्र नभइ भविष्य बनाउन पनि सहज हुने बताउँछन् । ‘कलेजले विद्यार्थीको लागि डिग्रीको सर्टिफिकेट मात्र नभई उनीहरूले अध्ययन गरेको पाठ्यक्रमका आधारमा जागिर खोज्ने ठाउँ पनि खोजी दिन्छ, यस्ता कार्यक्रमले विद्यार्थीलाई जागिर खोज्न बजारमा विभिन्न कम्पनी खोज्न तथा धाउन पर्दैन, कलेजले यस्ता कम्पनीको खोजी गरी समन्वय गरिदिन्छ,’ उनी भन्छन्, ‘यसले विद्यार्थीलाई ठूलो टेवा पुग्छ ।’ कलेजले सञ्चालन गरेको कार्यक्रममा सौरभ ग्रुप, सिप्रदी, बज्र टेक्नोलोजी, मेरियट होटेल जस्ता विभिन्न २१ वटा कम्पनीले आ–आफ्नो स्टल राखेर आवेदन दिएका विद्यार्थीसँग अन्तर्वार्ता लिएका छन् । जसमा आईएसएमटी कलेजका २५० वटा विद्यार्थी सहभागी भएका छन् । बासुदेव वस्ती, बिजनेश डेभलपमेन्ट हेड, आईएसएमटी कलेज । ‘कम्पनीका प्रतिनिधि कलेजमा आएर विद्यार्थीको क्षमता हेर्दै लिस्ट बनाउँदै अन्तर्वार्ता लिएका छन्,’ उनी भन्छन्, ‘कतिपय कम्पनीले आफ्नो आवश्यकताअनुसार आजै अन द स्पोर्ट नै सेलेक्ट गर्नुहुन्छ, कतिलाई सर्टलिस्ट गरेर फाइनलका लागि कम्पनीमै बोलाउने कुरा गरेको छ ।’ कलेजले हरेक वर्षको दुई पटक कलेजमा जबफेयर कार्यक्रम गर्ने गर्छ । सिप्रदी कम्पनीका आकर्षण महर्जन आईएसएमटी कलेजले आयोजना गर्ने यस्ता कार्यक्रमले कम्पनीलाई पनि फाइदा हुने बताउँछन् । उनी भन्छन्, ‘यसो गर्दा कम्पनीले पनि खोजेजस्तो मान्छे पाउँछ र विद्यार्थीलाई पनि सजिलो हुन्छ । ’ ‘राम्रो विद्यार्थीले पनि नेपालमा रोजगार नपाउँदा विदेसिनु परेको छ, दक्ष र क्षमतावान हुँदा पनि अवसर नपाइ विद्यार्थीले विदेश जान नपरोस, नेपालमा पनि अवसर छ भन्ने सन्देश दिन पनि यस्ता कार्यक्रमले सघाउ पुग्छ,’ उनले भने ।

हिमालयन लघुवित्तको १२औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था (हिमालयन बैंकको सहायक कम्पनी) को १२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको उक्त सभा बुधबार काठमाडौंमा सम्पन्न भएको हो । सभामा वित्तीय संंस्थाका अध्यक्ष बिजय मान नकर्मीको अध्यक्षतामा सम्पन्न साधारण सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले स्वागत मन्तव्य राखेका थिए । सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन लगायतका प्रस्तावहरु पारित गरेको छ । सभामा, वित्तीय संस्थाका अध्यक्ष बिजय मान नकर्मीले लघुवित्तको क्षेत्रमा प्रतिकूल अवस्था रहेता पनि आगामी दिनमा आफ्ना ग्राहकलाई थप गुणस्तरीय सेवा उपलब्ध गराउँदै सेयरधनीको अपेक्षा पुरा गर्न संस्था कटिबद्ध रहेको बताए । उनले संस्थाको लक्ष्य प्राप्तिका लागि सम्पूर्ण सेयरधनी र नियामक निकायहरुको साथ र सहयोग आवश्यक पर्ने बताए । राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस वित्तीय संस्थाले हालसम्म ७५ शाखा कार्यालयहरु मार्फत ७६ हजारभन्दा बढी सदस्यहरुलाई लघुवित्तीय सेवा प्रदान गर्दै आएको छ । संस्थाले हालसम्म ४ अर्ब ४० करोड रुपैयाँभन्दा बढी लगानी गरेकोे छ ।

वोन्डर्स नेपालले आईपीओ जारी गर्ने

काठमाडौं । काठमाडौंको कमलादीस्थित वोन्डर्स नेपालले आईपीओ जारी गर्ने भएको छ । पुस २५ गते सम्पन्न कम्पनीको छैटौं वार्षिक साधारण सभाले कम्पनीलाई पब्लिक लिमिटेडमा परिवर्तन गरि आईपीओ जारी गर्ने प्रस्तावलाई पारित गरेको हो । कम्पनीकै रजिष्टर्ड कार्यालय स्काईवाक नेपाल कमलादी परिसरमा सम्पन्न उक्त सभाले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण पारित गरेको छ । कम्पनीका प्रोजेक्ट डाईरेक्टरले स्काईवाक टावरमा ३६० डिग्री भ्यू देखिने गरि रेस्टुरेन्ट र क्लब निर्माण भईरहेको बताए । त्यस्तै, सिटी बन्जी जम्प लगायत थप साहसिक गतिविधि विस्तार गरि सेवाको दायरा फराकिलो बनाउदै लैजाने उनले बताए ।

एक बोतल पानीमा ३७ लाख प्लाष्टिकका टुक्रा

काठमाडौं । यदि तपाईं बोतलको पानी पिउनुहुन्छ भने एक लिटर बोतलको पानीमा औसत २४ लाख प्लाष्टिकका टुक्रा हुन सक्ने अनुसन्धानले देखाएको छ । कोलम्बिया युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले अमेरिकामा बेचिने बोतलको पानीको तीन लोकप्रिय ब्राण्डहरू विश्लेषण गरेका थिए । जसमा १ सय नानोमिटरसम्मको प्लाष्टिक कण नापिएको थियो । पीटीआईका अनुसार साे अध्ययनमा उनीहरूले प्रत्येक लिटरमा ११ लाखदेखि ३७ लाख प्लाष्टिकका टुक्रा फेला पारे । यसमा ९० प्रतिशत नानोप्लाष्टिक र बाँकी माइक्रोप्लाष्टिक समावेश छन् । यो अध्ययन जर्नल प्रोसिडिङ्श अफ द नेशनल एकेडेमी अफ साइन्सेजमा प्रकाशित भएको छ । हालैका वर्षहरूमा माटो, पिउने पानी, खाना र ध्रुबीय बरफमा माइक्रोप्लाष्टिकको उपस्थितिबारे जानकारी आएको छ । ठूला प्लाष्टिकहरू साना टुक्राहरूमा परिणत हुँदा माइक्रोप्लाष्टिकहरू सिर्जना हुन्छन् । यी प्लाष्टिकहरूले मानिस र अन्य जीवहरूमा आफ्नो बाटो पत्ता लगाउँछन्, सम्भावितरूपमा तिनीहरूको स्वास्थ्यमा असर गर्छ । । अनुसन्धानकर्ताहरूले अर्को प्रकारको प्लाष्टिक फेला पारे जुन पोलिमाइड थियो। यसमा एक प्रकारको नाइलन, पोलिमाइडभन्दा बढी मात्रामा भेटियो । नाइलन प्लाष्टिक फाइबरबाट बनेको हुन सक्छ जसले पानीलाई बोतलमा राख्नुअघि शुद्ध गर्दछ । तिनीहरूले फेला पारेका अन्य सामान्य प्लाष्टिकहरू पोलीस्टाइनिन, पोलीभाइनाइल क्लोराइड र पोलीमिथाइल मेथैक्रिलेट थिए । यी सबै विभिन्न औद्योगिक प्रक्रियाहरूमा प्रयोग गरिन्छ । तर, अनुसन्धानकर्ताहरूले पत्ता लगाएका सात प्रकारका प्लाष्टिकले बोतलको पानीको नमूनामा पाइने सबै नानो पार्टिकल्सको १० प्रतिशतमात्र हो। एजेन्सी

खाद्य कम्पनीले पाएन लक्ष्यअनुसारको धान

बेदकोट । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले लक्ष्य अनुसार धान खरिद गर्न असफल भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लक्ष्यको करिब २० प्रतिशत मात्रै धान खरिद गर्न सकेको हो । सरकारले तोकेभन्दा बजारमा धानको मूल्य बढेपछि धान बिक्रीका लागि किसान आउनै छोडेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरका सूचना अधिकारी टपेन्द्रप्रसाद उपाध्यायले जानकारी दिए । ‘खरिद सुरु गरेको एक महिनासम्म किसान धान बिक्रीका लागि आए । त्यसपछि बजारमै राम्रो मूल्य पाएपछि अहिले बिक्रीका लागि किसान आएका छैनन्’, उनले भने, ‘किसान नआउँदा अहिले धान खरिद गर्ने कार्य ठप्प जस्तै छ ।’ खाद्य व्यवस्थाले कात्तिक १५ गतेदेखि धान खरिद सुरु गरेको थियो । यसवर्ष १५ हजार क्विन्टल धान खरिदको लक्ष्य राखिएको थियो । यद्यपि लक्ष्यअनुसार धान पाउन नसकिएको सूचना अधिकारी उपाध्यायले बताए । उनका अनुसार अहिलेसम्म लक्ष्यको झण्डै २० प्रतिशत हाराहारीको दुई हजार नौ सय ५० क्विन्टल धान खरिद गरिएको छ । प्रतिक्विन्टल रु तीन हजार एक सय ९८ का दरले धान खरिद गरिएको हो । यो मूल्य गतवर्ष भन्दा बढी हो । गतवर्ष रु दुई हजार नौ सय ६७ प्रति क्विन्टलका दरले धान खरिद गरिएको थियो । गतवर्ष पनि खाद्यले लक्ष्य अनुसार धान पाएको थिएन । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका अनुसार गतवर्ष १४ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य भए पनि खाद्यले तीन हजार २१ क्विन्टल मात्रै धान खरिद गर्न सकेको थियो  । धानको मूल्य राम्रो पाएपछि गाउँमै धान बेचेको कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरकी अनिला चौधरीले बताए । ‘नजिकमा खाद्यको खरिद केन्द्र पनि छैन । धान बेच्न भाडा तिरेर महेन्द्रनगर पुग्नुपर्छ’, उनले भने, ‘त्यसैले खरिद केन्द्र टाढा हुँदा गाउँमै धान बिक्री गरेका छौँ ।’ डेढ बिघा जमिनमा धानखेती गरेका उनको यसपटक उत्पादन वृद्धि भएको छ । उनका अनुसार यसपटक ६० क्विन्टल धान उत्पादन भएको छ । रासस