भारतीय दुतवासले सिधै २० करोड खर्च गर्न पाउने सम्झौतामा धेरै तनाव लिनुपर्दैन : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग भएको भारतीय दुतवासले सिधै २० करोड रुपैयाँ नेपालमा खर्च गर्न पाउने सम्झौतामा धेरै तनाव लिनुपर्ने अवस्था नरहेको बताएका छन् । बुधबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भारतसँग हाल भएको सम्झौतामा भारतीय पक्षलाई एकपक्षीय रूपमा आयोजना छनौट गर्न र कार्यान्वयन गर्न कुनैपनि त्यस्तो प्रावधान नराखिएको बताए । उनले भने, ‘भारतसँग हाल भएको सम्झौतामा कुनैपनि त्यस्तो प्रावधान राखिएको छैन । जसले भारतीय पक्षलाई एकपक्षीय रूपमा आयोजना छनौट गर्न र कार्यान्वयन गर्न सुविधा दिन्छ । यसका साथै आयोजना कार्यान्वयनको नियमित अनुगमन गर्ने र आद्यावधिक समीक्षा समेत नेपाल सरकारकै संयन्त्रबाट हुन्छ । यो परिस्थितिमा यो सम्झौता बाहेक धेरै हामीले तनाव लिनुपर्ने कारण छैन । नेपाल सरकारले चाहेको बेलामा जुनसुकै निर्णय लिनसक्छ ।’ उनले सम्झौतामा नेपाल सरकारले चाहेको बेलामा जुनसुकै निर्णय गर्नसक्ने बताए ।
यति कार्पेटले एक वर्षमै ५२ प्रतिशतले बढायो व्यापार, गर्यो ४६ करोड बढी आम्दानी
काठमाडौं । केडिया अर्गनाइजेशनको उत्पादन यति कार्पेट प्राइभेट लिमिटेडले एक वर्षमा ५२.३० प्रतिशतले आफ्नो व्यापार बढाएको छ । गत आर्थिक वर्ष २०२२ को तुलनामा आर्थिक वर्ष २०२३ मा कम्पनीको आम्दानी ५२ प्रतिशत अर्थात १५ करोड ९० लाख रुपैयाँले बढेको हो । कम्पनीको अपरिस्कृत विवरण अनुसार २०२३ मा कार्पेटले ४६ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । जबकी कम्पनीले २०२२मा ३० करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । त्यस्तै, आर्थिक वर्ष २०२१ मा यस्तो आम्दानी १९ करोड २० लाख रुपैयाँ थियो । यति फ्याब्रिक प्रा. लिको नामबाट कार्पेट उत्पादन गर्दै आएको कम्पनी सन् २०१८ को फेब्रअरीमा यति कार्पेट प्रा.लि.मा परिणत भएको हो । यति कार्पेट नेपालमा स्थापित दुई व्यापारिक घरना केडिया अर्गनाइजेशन र रिलायन्स समूहबीचको संयुक्त उद्यम हो । जसमा दुबैको ५०/५० प्रतिशत सेयर स्वामित्व रहेको छ । आर्थिक वर्ष २०२० सालदेखि सञ्चालनमा आएको कम्पनीले फाइबर र धागोजस्ता कच्चा पदार्थ आयात गरेर गलैंचा बनाउँदै आएको छ । सन् २०२३ देखि कम्पनीको प्रमुख सेयरधनीहरुमा अनिलकुमार केडिया, आयुष केडिया, नरेन्द्रकुमार अग्रवाल र लोकेश तोदी रहेका छन् । जसमध्ये अनिलको २५ प्रतिशत, आयुषको १५ प्रतिशत, अग्रवालको १३ प्रतिशत र तोदीको १३ प्रतिशत सेयर लगानी छ । मधेश प्रदेशको वीरगञ्जमा स्थापित यो कारखानाले हालै ५७ करोड ४९ लाख रुपैयाँ बराबरको कर्जाको लागि इक्रा नेपालमा रेटिङ्ग गराएको छ । इक्रा नेपालले दीर्घकालिन अवधिको लागि अर्थात ४४ करोड ९९ लाख रुपैयाँको कर्जाको लागि इक्राएनपी एलबी प्लस रेटिङ्ग दिएको छ भने बाँकी १२ करोड ५० लाख कर्जा (अल्पकालिन अवधि) को लागि इक्राएनपी एफोरको रेटिङ्ग दिएको छ । यसअघि कम्पनीले ५९ करोड ९६ लाख रुपैयाँ कर्जाको लागि रेटिङ्ग गराएको थियो । इक्रा नेपालले भने ५७ करोड ४९ लाख रुपैयाँ बराबरको कर्जाको लागि पुनः पुष्टि गरिदिएको हो ।
ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक पाइने
काठमाडौं । ग्लोबल आइएमई बैंकले ग्लोबल रेमिटमार्फत विदेशबाट पैसा पठाउँदा २५० रुपैयाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ । पैसा आउने, थपेर पाउने नारा सहित सार्वजनिक गरेको क्यासब्याक योजनामा ग्लोबल रेमिटमार्फत विदेशबाट ग्लोबल आइएमई बैंकमा रहेको खातामा पैसा पठाउँदा २५० रुपैयाँसम्मको क्यासब्याक पाइने बैंकले जनाएको छ । बैंकले रेमिट्यान्स कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ ग्लोबल रेमिटमार्फत विदेशबाट पैसा पठाउने व्यक्तिले यस क्यासब्याक योजनाअन्तर्गत २५,००० रुपैयाँसम्म पैसा पठाउँदा १०० रुपैयाँ, त्यसैगरी ५०,०० रुपैयाँसम्म पैसा पठाउँदा २०० रुपैयाँ र ५०,०० रुपैयाँभन्दा बढि पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् । यो योजना जनवरी ३१, २०२४ सम्म लागू रहनेछ । ग्लोबल आइएमई बैंकमा नयाँ खाता खोलेर वा निष्क्रिय खातालाई पूनः सक्रिय बनाएर उक्त खातामा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा बैंकले रेमिट्यान्समार्फत आएको पैसामा २५० रुपैयाँ सम्म थप गरिदिने बैंकले जनाएको छ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचक अनुसार मुलुककै सबैभन्दा ठुलो वाणिज्य बैंक हो । बैंकले देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क/वैदेशिक प्रतिनिधि कार्यालय सहित १,१०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ । त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
महोत्तरीमा चिसो बढेपछि विद्यालय बन्द
जलेश्वर । महोत्तरी जिल्लामा चिसो बढेपछि यहाँका सामुदायिक विद्यालय बन्द हुन थालेका छन् । चिसो स्याँठ, बाक्लो हुस्सु र शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि जिल्लाका पालिकाले सामुदायिक विद्यालयले बन्द गर्ने निर्णय गरेका हुन् । जिल्ला सदरमुकाम जलेश्वर, मनरासिस्वा , भङ्गहा, गौशाला, बर्दिबास नगरपालिका सहित पिपरा, एकडारा, सोनमा र सम्सी गाउँपालिकाले आफ्ना क्षेत्रका सम्पूर्ण विद्यालय बन्द गरेका छन् । जिल्ला शिक्षा तथा समन्वय एकाइ महोत्तरीका प्रमुख राजदेव यादवले चिसोबाट जनजीवन प्रभावित हुन थालेपछि विद्यालयमा पठनपाठन बन्द गरेको बताए । उनका अनुसार बर्खे बिदाबाट कट्टा हुनेगरी चारदेखि आठ दिनसम्मका लागि विद्यालय बन्द भएका हुन् । रासस
बाघको सङ्ख्यामा वृद्धि : सोमेश्वर जैविकमार्गमा १४ पाटेबाघ भेटिए
फाइल फाेटाे चितवन । चितवन राष्ट्रिय निकुञ्ज र भारतको बाल्मिकी टाइगर रिजर्भसँग जोडिएको चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा १४ वटा पाटेबाघ भेटिएका छन् । निकुञ्जले गत असोज २५ गतेदेखि ४० दिनसम्म सञ्चालन गरेको अनुगमनका क्रममा आठ पोथी र छ भाले बाघ भेटिएको हो । सो मार्गलाई ६२ ‘ग्रिड’मा विभाजन गरी बाघको अनुगमन गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार ६२ जोडी ‘क्यामेरा’ दुईरदुई वर्ग किलोमिटरको क्षेत्रफलमा जडान गरिएको थियो । सो क्षेत्रमा सन् २०१८ मा गरिएको सर्वेक्षणमा तीन र सन् २०२२ को राष्ट्रिय बाघ सर्वेक्षणमा आठ बाघ फेला परेका थिए । संरक्षणमा स्थानीय समुदायको सहभागिता र कार्यालयको अथक प्रयासपछि बाघको सङ्ख्या उल्लेख्यरूपमा वृद्धि भएको सूचना अधिकारी तिवारीले बताए । रासस
नेपाली कागजको माग बढी, उत्पादन कम
गलेश्वर । म्याग्दीको मालिका गाउँपालिका-३ अधिवारामा सञ्चालित मालिका कागज उद्योगमा माघदेखि जेठसम्ममा दैनिक छदेखि ७ सय र असोजदेखि पुससम्ममा दैनिक तीनदेखि चार सय ताउसम्म नेपाली कागज उत्पादन हुन्छ । स्थानीय हाते प्रविधिबाट उत्पादन गरिने यस कागज उद्योगमा उच्च गुणस्तरको कागज उत्पादन हुने हुँदा विभिन्न ठाउँबाट माग आउने गर्दछ । तर स्थानीय कच्चा पदार्थ, कामदारको अभाव र विद्युत् आपूर्तिमा अनियमितताजस्ता कारणले उद्योगले मागअनुसारको कागज उत्पादन गर्न सकिएको छैन । उद्योगका सञ्चालक मोतिराज गौतमले कागजको बजारमा अत्यधिक माग हुँदा पनि मागअनुसारको उत्पादन गर्न नसकिरहेको जानकारी दिए । उनका अनुसार बजारमा जापानिज प्रविधिबाट उत्पादित कागज स्थानीय हाते प्रविधिबाट बनाइएको कागजभन्दा सस्तो छ । गुणस्तरमा स्थानीय कागज, जापानिज प्रविधिको भन्दा ७५-८० प्रतिशत सुरक्षित र बलियो हुने भए पनि जापानिज प्रविधिको कागजसँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता एकातिर छ भने अर्कातिर नेपाली कागज बनाउन प्रयोग हुने लोक्ताको सङ्कलन गर्न कानुनी प्रक्रिया पूरा गर्न पनि झन्झटिलो हुन्छ । लोक्ता सङ्कलन गर्न वनमा जाने र उद्योगमा काम गर्ने जनशक्ति नपाइनु अर्को समस्या हुने गरेको उनले बताए । यस उद्योगमा समयानुसार विभिन्न साइजका कागजको माग हुने गर्छ । कार्यालय कागज, तमसुक कागज, १८–२० ग्रामको कागज, धुप निर्माण गर्ने छ–सात ग्रामको कागज, चिना निर्माणका लागि ४० ग्रामको कागजको माग बढी हुने गरेको उद्योग सञ्चालक गौतमले बताउए । ‘मागका आधारमा हालको उत्पादनले पूर्ति गर्न सकिएको छैन । विशेषगरी १८–२० ग्राम र छ–सात ग्रामको कागज माग बढी छ । त्योमाग पूरा गर्न सकिएको छैन’, उनले भने । उद्योगमा चुनौती धेरै रहेका गौतमले सुनाए । ‘नियमित कच्चा पदार्थ लोक्ता अभाव हुन्छ । बाह्रै महिना उत्पादन गर्न सकिँदैन । वर्षात्को समय र हिउँदमा पनि घाम नलाग्दा, पानी पर्दा उत्पादन गर्न सकिँदैन । जसका कारण कामदार टिकाउन समस्या हुन्छ’, उनले भने । कामदारको अभाव, विद्युत्को अनियमितता, उपकरण फ्रेम मर्मतसम्भार, विद्युत्बाट लोक्ता (कागज बनाउन प्रयोग गरिने कच्चा पदार्थ) पकाउँदा हिटरको रड बढी जल्नेजस्ता समस्याले उद्योगको क्षमताअनुसार कागज उत्पादन गर्न नसकिएको उनको भनाइ छ । उद्योगको दैनिक एक हजार दुई सयदेखि एक हजार पाँच सय ताउसम्म कागज उत्पादन गर्नसक्ने क्षमता छ । स्थानीय प्रविधिबाट नेपाली कागज उत्पादन गर्दा उत्पादन खर्च अत्यन्त महँगो भए पनि जिल्लाको पहिचान र स्थानीय उत्पादनको संरक्षणका लागि आफूले यो उद्योगलाई निरन्तरता दिइरहेको उनले बताए । स्थानीय तह र सम्बन्धित निकायबाट सहयोग हुने, उद्योगमैत्री वातावरण मिल्ने र डिभिजन वन कार्यालयले कागज बनाउन प्रयोग गरिने कच्चा पदार्थ लोक्ताको सङ्कलन गर्न सरल नीति बनाइदिने हो भने म्याग्दीमा नेपाली कागज उद्योगको राम्रो सम्भावना रहेको उनले बताए । ‘अहिले उत्पादन खर्च नै बढी छ, तर पनि उद्योगलाई निरन्तरता दिइरहेको छु’, उनले भने । उद्योगमा अहिले प्रत्यक्ष चारजना र अप्रत्यक्ष १० जनाले रोजगारी पाइरहेका छन् । म्याग्दीको माथिल्लो पहाडी भेग (तीन हजारदेखि तीन हजार दुई सय मिटरको उचाइ)मा पर्ने लेकाली सरकारी तथा सामुदायिक वनमा प्रशस्त बरुवा (लोक्ता)का बोट छन् । तर त्यसबाट लोक्ता (पुवा) निकाल्ने कामदारको अभाव छ । उद्योग, कामदार र खेर जाने यस्ता वन पैदावारलाई प्रोत्साहन गर्न कतैबाट पहल नभएको उहाँको गुनासो छ । जङ्गलमा बरुवा जातको (लोक्ता) बुट्यान वनस्पति खेर गइरहेको छ । तर वन डिभिजन कार्यालयले सङ्कलनका लागि अनुमति दिँदैन । अनुमति दिएपछि पनि बरुवा जातको वनस्पतिबाट लोक्ता (बोक्रा) निकाल्ने, त्यसलाई सफा गर्ने, सुकाउने काम अत्यन्त झन्झटिलो हुँदा कामदार पाउन मुस्किल हुने गरेको उनले बताए । विसं २०७५ मा स्थापना भएको यस उद्योगले अहिले कार्यालयमा चाहिने ‘एफोर’ साइजको कागज उत्पादन गर्न थालेको छ । कागजको माग बेनी, बागलुङ, पोखरा, काठमाडौँ, चितवनलगायतका सहरबाट आउने गरेको र एउटा मात्र उद्योग भएका कारण माग भएजति उत्पादन गर्न नसकेको गौतम बताउँछन्। उद्योगमा नेपाली कागजका अतिरिक्त नोटबुक, फाइल, हलुका र रङ्गीन वस्तु पनि निर्माण गर्ने गरिएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिकाको नागी, धवलागिरिको लमसुङ, रघुगङ्गाको पाखापानीमा रहेका नेपाली कागज उद्योग अहिले बन्द अवस्थामा छन् । तर ती उद्योग सञ्चालनका लागि स्थानीय सरकार र सम्बन्धित निकायले सहयोग नगरेको सञ्चालक गौतमको भनाइ छ । रासस
हिमालयन एभरेष्टले बढायो लाभांशदर, बोनस र नगद कति ?
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । पुस २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई १५ प्रतिशतले लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई ८.६३ प्रतिशत बोनस र कर प्रयोजनको लागि समेत गरी ६.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल बीमा प्राधिकरणले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने हुन्छ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ३० करोड रुपैयाँ छ । ८.६३ प्रतिशत बोनस सेयर पारितपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ४९ करोड ८५ लाख रुपैयाँ पुग्ने छ । इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई २.८९ प्रतिशत मात्रै लाभांश वितरण गरेको थियो ।
युनिक नेपाल लघुवित्तको पाँचौं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको पाँचौ वार्षिक साधारण सभा कोहलपुरमा एक कार्यक्रमका बीच सम्पन्न भएको छ । सभाबाट सञ्चालक समितिको प्रतिवेदन, आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन, आगामी वर्ष २०८०/०८१ कोलागि लेखापरीक्षकको नियुक्तिका प्रस्तावहरु सर्वसम्मतिले पारित भएको छ । सभाले भविष्यमा कुनै उपयुक्त लघुवित्त वित्तीय संस्थासँग एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्तिरसमाहित गर्ने कार्यकोलागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । त्यस्तै संचालक समितिमा सर्वसाधारण शेयरधनीबाट कोहपुर बाँकेका जागेश्वर प्रसाद चौधरीलाई सर्वसम्मतिबाट चयन गरेको छ । संस्थापक सेयरधनीहरुले राखेका जिज्ञासालाई सभाध्यक्ष शिव बहादुर चौधरी र कार्यकारी निर्देशक डा.गोपाल दहितले सहज भाषामा स्पष्ट पारेका थिए । पाँचौ साधारण सभामा ६२ प्रतिशत सेयरधनीहरुको उपस्थिति रहेको थियो । साधारण सभा युनिक वित्तीय संस्थाका अध्यक्ष शिव बहादुर चौधरीको सभाध्यक्षतामा भएको थियो । कार्यक्रम सञ्चालन सेयरधनी नरेन्द्र थारुले गरेका थिए । हाल युनिक वित्तीय संस्थाको चुक्ता पुँजी रु १४ करोड ८५ लाख ७५ हजार रहेको छ ।