विकासन्युज

स्केट खेललाई हेर्ने दृष्टिमा परिवर्तन हुँदै

काठमाडौंं । तिलोत्तमा–४ स्थित डिङ्गनगरका रामकृष्ण परियारलाई आजकल स्केट खेलप्रति आकर्षण बढेको छ । पहिला छोरा अभिषेकले स्केट खेल खेलेको पटक्कै मन पर्दैनथ्यो । छोराले स्केट खेलमै प्रगती गर्न थालेपछि उनी यस खेलप्रति आकर्षित भएका हुन् । रूपन्देहीको तिलोत्तमास्थित स्केट पार्कमा आयोजना गरिएको ‘पाँचौ दक्षिण एसियालीस्तरीय स्केट बोर्ड प्रतियोगिता तथा स्केट जात्रा’ मा हेर्न आएका रामकृष्ण भन्छन्, ‘आजकाल त मलाई पनि खेल मन पर्न थालेको छ, म बुढो मान्छेलाई खेल्न त आउँदैन तर छोराले खेलेको देखेर खुसी लाग्छ, हामी बूढाबूढी छोराको स्केट खेल हेर्न तीन दिनदेखि दैनिक आउने गरेका छौँ ।’ आफ्नो छोराले राम्रो खेलेको देखेर रामकृष्णकी श्रीमती अर्जनालाई पनि यो खेल राम्रो लाग्न थालेको छ । “सुरुमा त छोराले घरमै स्केट बोर्ड लिएर आउँदा अब छोरो बिग्रिने भयो, गलत बाटोमा लाग्ने भयो भन्ने चिन्ता लागेको थियो, यो खेलको बारेमा बुझेपछि विस्तारै हामीलाई पनि मज्जा लाग्दै गयो, अहिले छोराले राम्रो खेलेको देख्दा रमाइलो लाग्छ” अर्चनाले भने । तिलोत्तमा–४ स्थित ड्राइभरटोलका अमर विकलाई पनि आफ्नो छोराले स्केल खेलमा प्रगति गरेको देख्दा खुसी लाग्छ । १९ वर्षिय छोरा सुनिलले स्केट खेलबाटै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कार समेत जितिसकेका छन् । उनी स्केट खेलका लागि भारत र थाइल्याण्डसमेत पुगेका छन् । ‘हामीलाई छोराले यही स्केट खेलमै राम्रो गर्न सक्छ भन्ने लागेको छ’, विकले भने । ड्राइभरटोलकै बाबु रामबहादुर कामु र आमा प्रेमकुमारी कामुका १५ वर्षिय छोरा यमबहादुर कामुले पनि जात्रामा आयोजना गरिएको प्रतियोगितामा भाग लिएका थिए । छोराले प्रतियोगितामा भाग लिएको देख्दा बाबु रामबहादुर र आमा प्रेमकुमारी दङ्ग थिए । यो स्केट खेल पनि अरु फूटबल, भलिबल जस्तै खेलिने खेल रहेछ भन्ने लागेको छ उनीहरुलाई । अर्का खेलाडी खुसी विकेका बाबु मधु विके पनि स्केट जात्रा हेर्नका लागि लगातार तीन दिनदेखि उपस्थित भएका थिए । जात्रामा पाँच हजार खेलप्रेमीको सहभागिता रहेको थियो । युवादेखि वयस्क र वृद्धवृद्धाले समेत चासोका साथ जात्राबाट मनोरञ्जन लिएका थिए । जात्रामा सहभागी रमेश रानाभाटले भने, ‘आफूले अहिलेसम्म यस किसिमको खेल खेलेको देखेको थिएन, निकै रमाइलो लाग्यो । अब यो खेललाई पनि सरकारले प्राथमिकता दिनुपर्छ, यस्को संरक्षण गर्नुपर्छ र नेपालले यस खेलमा अन्तराष्ट्रिय प्रतिस्पर्धामा सफलता पाउन सक्छ ।’ हिजोका दिनमा यो खेल सडकमै खेल्नुपर्ने अवस्था थियो भने आज पार्कमै खेल्न सक्ने अवस्था रहेको अध्यक्ष पहाडीको भनाइ छ । ‘हिजोका दिनमा सडकमा खेल्न प्रहरीले दिंदैनथे, अभिभावकले पनि नकारात्मक रुपमा लिने गरेका थिए, तर आजको दिनमा विस्तारै सबैलाई बुझाउन सकिएको छ’, उनले भने । पछिल्लो समयमा नेपाली स्केट खेलाडीहरु भारतका विभिन्न स्थानमा हुने स्केट प्रतियोगितामा विजयी हुन थालेका छन् । कतिपयले स्केट खेलबाटै आम्दानीको स्रोत पनि बनाउन सुकेका छन् । विस्तारै नेपालमा स्केट खेललाई हेर्ने दृष्टिमा सकारात्मक परिवर्तन आउन थालेको छ । स्केट खेल प्रतियोगिताका लागि नेपाली खेलाडीहरु जापान, दुवै, थाइल्याण्ड, भारत र इन्डोनेसियालगायतका मुलुकमा पुगिसकेका छन् । सन् २०१६ मा थाइल्याण्डमा आयोजना गरिएको राष्ट्रिय प्रतियोगितामा मिलन शाह ठकुरी विजयी भएका थिए । पहाडीले भने, ‘हिजोका दिनमा हामी सात दोबोटोको सम्म भागमा खेल्नुपर्ने थियो भने अहिले सडकबाट स्केट पार्कमा छिरिसकेको छ, पछिल्लो जात्रामा भाग लिनका लागि भारतलगायतका देशबाट लामो यात्रा गरेर पनि खेलाडीहरु आएका थिए ।’ स्केट–एड नेपालले स्केट खेलको सकारात्मक प्रभावका लागि विभिन्न विद्यालय र क्याम्पसहरुमा सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । स्कूल र क्याम्पस पढ्ने अधिकांश विद्यार्थी तथा युवाको रुचीको खेल स्केट बन्दै गएको छ । संस्थाले सचेतनाको साथसाथै स्केट खेलसम्बन्धी सामग्री पनि हस्तान्तरण गर्दै आएको छ । सुरुको चरणमा नेपालमा स्केट खेल शून्य मात्रामा थियो भने आजकाल स्केट खेल खेल्ने खेलाडीको संख्यामा पनि वृद्धि भएको छ । स्केट पनि एउटा खेल हो भन्ने धेरैको बुझाइ भएको छ । पहिला स्केट भन्ने बित्तिकै दुव्र्यसनमा लागेका मानिसले खेल्ने खेल हो भनेर चिन्ने गरिन्थ्यो भने अहिले सोचाइमा परिवर्तन आएको छ । यो पनि भलिबल, फुटबल जस्तै एउटा खेल हो भन्ने चेतनाको विकास भएको छ । विश्वमा खेलिने फुटबल र क्रिकेटलगायतका खेलहरूमा जस्तै स्केट खेलमा पनि नेपालका युवाहरूको पछिल्लोपटक आकर्षण बढ्दै गएको हो । खासगरी अमेरिका, अस्ट्रेलियालगायत युरोपियन देशहरूमा साहसिक खेलको रूपमा खेलिने स्केट खेलप्रति नेपालका युवाहरू पनि सक्रिय बन्दै गएका छन् । सन् १९६० तिर अमेरिकाको एक शहरमा स्केट बोर्डलाई साधनको रुपमा लिने गरेको पाइन्छ । त्यसपछि युरोपियन देश हुँदै विश्वका अन्य देशहरुमा विकास भएको पाइन्छ । नेपालमा स्केट खेलको इतिहास हेर्ने हो भने सुरुसुरुमा विदेशहरु नेपाल आउँदा स्केट बोर्ड लिएर आउने र खेल्ने गरेको पाइन्छ । नेपालमा पहिले धनी परिवारका छोराछोरीले विदेशबाट ल्याएर खेल्ने गरे तापनि त्यसको व्यवस्थापन हुन सकेको थिएन । सन् २०११ मा स्केट खेलाडीहरुको एउटा सूमह बन्यो । यसले यो खेललाई व्यवस्थित बनाउन कोसिस ग¥यो । पछि सन् २०१३ मा युवा फर चेन्जलगायत निजी क्षेत्रबाट विभिन्न सङ्घसंस्थाले स्केट खेलको संरक्षण र प्रवद्र्धनमा काम सुरु गरेको पाइन्छ । अहिले नेपालभरि करिब एक हजार स्केट खेलाडी सक्रिय रहेका छन् । स्केट खेललाई प्रवद्र्धन गर्ने उद्देश्यले सरकारले २०७१ सालमा नेपाल स्केटिङ तथा स्केट बोडिङ सङ्घसमेत गठन गरेको छ । युवा फर चेन्ज संस्थाले बुटवलमा स्केट र अन्य खेलबारे समेत जानकारी लिन सकिने इन्डोर स्केट पार्क र रिसोर्स सेन्टर निर्माण गरेको छ । स्वदेशी एंम विदेशी खेलप्रेमी, उद्योगी, व्यवसायी, शिक्षाविद्, राजनीतिकर्मी, सञ्चार तथा कलाकर्मीहरुको समेत सहयोग र सद्भावमा आर्थिक सङ्कलन गरी बुद्धजन्मस्थल पवित्र भूमि लुम्बिनीस्थित रुपन्देहीको तिलोत्तमा–४ मा ‘इनडोर स्केट पार्क एवं रिर्सोर्स सेन्टर’ निर्माण प्रारम्भ गरिएको हो । पार्कमा सबै वर्गका खेलप्रेमी युवायुवतीलाई समान अवसर सिर्जना गर्ने गरी प्रशिक्षण, तालिम एवं होस्टेल र कार्यक्रम हल, पुस्तकालय समेत निर्माण गरी निःशुल्क सेवा प्रदान गरिँदै आएको छ । स्केट पार्क फ्रान्स, जर्मनी, क्यानडा, स्पेन, जापान, भारत र नेपालका स्केट क्षेत्रमा लागेका र अन्य सहयोगी व्यक्तिहरुको सक्रियतामा निर्माण गरिएको हो । स्थानीय उत्पादनको प्रवद्र्धनका साथै बालबालिका र युवा वर्गलाई लक्षित गरी यसपटक स्केट जात्राको आयोजना गरिएको हो । रूपन्देहीको तिलोत्तमास्थित स्केट पार्कमा यही पुस ५ देखि ७ गतेसम्म आयोजना गरिएको जात्रामा नेपालले तीन स्वर्ण, दुई रजत र तीन कास्य पदक जितेको छ । प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश, श्रीलङ्का, भुटान, पाकिस्तान र माल्दिभ्सका तीन सय खेलाडीको सहभागिता रहेको थियो । जात्रामा स्केटिङ प्रतियोगिताका साथै विभिन्न स्टलहरुसमेत राखिएको थियो । आगामी वर्षको छैटौँ संस्करण भारतमा गरिने भएको छ । पहिलो संस्करण काठमाडौंं हुँदै पाल्पा, र तेस्रो, चौँथो र पाँचौ रुपन्देहीमै आयोजना गरिएको थियो । लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्याक्र्याल लामाले आफू विभिन्न देशमा जाने क्रममा त्यहाँ स्केट र स्केटिङको बारेमा जान्ने र बुझ्ने मौका पाएको र नेपालमा पनि त्यसको विकास गर्नुपर्नेमा जोड दिए । ‘ओलम्पिकमा गइसकेको खेल भएका कारण पनि स्केट खेललाई नेपालमा मात्रै नभएर दक्षिण एसियामै प्रवद्र्धन गर्नुपर्छ, जापान र युरोपियन मुलुकहरुमा राम्रो प्रवद्र्धन भइरहेको छ’, उनले भने । नयाँ संविधानको कार्यान्वयनसँगै नेपाललाई सम्वृद्ध नेपाल बनाउने भनिएको छ । सम्वृद्ध नेपाल निर्माण हुँदै गर्दा नेपालको खेलकुद क्षेत्रको विकासलाई पनि तीव्र गतिमा अगाडि बढाउन जरुरी छ । लुम्बिनी प्रदेश खेलकुद विकास समितिका सदस्यसचिव गोविन्द भट्टराईले स्केट र स्केटिङको विकासको निम्ति स्थानीय, प्रदेश र सङ्घ गरी तीनै तहका सरकारले उत्तिकै चासोका साथ प्रवद्र्धन र विकासमा जोड दिनुपर्ने बताए । सन् २०२० को जापानमा भएको ओलम्पिकमा रोलर स्केटिङले खेलको मान्यता पाएको सन्दर्भमा नेपालमा पनि स्केट खेललाई पनि फुटबल, भलिबल वा अन्य खेलहरुलाई जस्तै मान्यता दिँदै सकारात्मक सोचका साथ सरकारले त्यसको विकास र संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । विश्वका अन्य मुलुकहरुमा स्केट खेलको विकाससँगै खेलाडीहरु उत्साहका साथ अगाडि बढिरहेका सन्दर्भमा नेपालमा पनि अबका युवा पुस्तालाई प्रोत्साहन र हौसला दिन जरुरी छ । रासस

नेपाल र आयरल्याण्डका सांसदबीच शैक्षिक सहकार्यबारे छलफल

काठमाडौं । नेपाल र आयरल्याण्डकबीच दुई देशको शिक्षा विकासका क्षेत्रमा सहयोग र सहकार्य बढाउन छलफल भएको छ । नेपाल पाँच दिने भ्रमणमा रहेको आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष जेरी बट्टिमरसहितका सिनेटरसँग बुधबार सङ्घीय संसद्, सचिवालयले आयोजना गरेको शैक्षिक सहकार्यसम्बन्धी छलफल कार्यक्रममा गुणस्तरीय शिक्षा, स्तरीकृत परीक्षा, नवप्रवर्तन, अनुसन्धान, युवा परिचालन आदि विषयमा अनुभव आदानप्रदान र सहकार्य बढाउने सकिने बताइएको हो । अध्यक्ष जेरीले सामुदाय र नागरिक क्षेत्रको सहकार्यका आधारमा शिक्षाको स्तरलाई माथि उठाउन र उच्च शिक्षाका क्षेत्रमा पनि नयाँ नयाँ सम्भावना खोज्न सकिने बताए । प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले विद्यालय शिक्षालाई कुन ढाँचामा सञ्चालन गर्दा गुणस्तरीय शिक्षा दिन सकिन्छ भन्नेबारेमा समितिले विद्यालय शिक्षा विधेयकमाथि छलफल गरिरहेको जानकारी दिए । काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले विदेशी विद्यार्थीका लागि समेत आफूहरुले छात्रवृत्ति दिएको जानकारी दिँदै नेपाललाई शैक्षिक हब बनाउन प्रयास भइरहेको जनाए । सङ्घीय संसद्, सचिवालयका सचिव डा रोजनाथ पाण्डेले सचिवालयले पुस्तकालयलाई व्यवस्थित बनाउन र स्रोत केन्द्र सञ्चालन गर्न तयारी गरिरहेको अवगत गराए । उच्च शिक्षालय तथा विद्यालय सङ्घ (हिसान) का अध्यक्ष रमेश सिलवालले नेपालमा उत्कृष्ट उच्च शिक्षा दिलाउन यहाँका कलेज सक्षम रहेको स्पष्ट गर्दै विदेशका अशल अभ्यासलाई अनुशरण गरिने बताए । रासस

यी हुन् लक्ष्मी सनराइज बैंकका ३६ ठूला सेयरधनी, मोतिलाल दुगड र राजेन्द्र खेतानको कति ?

काठमाडौं । लक्ष्मी सनराइज बैंकमा ३६ व्यक्ति तथा कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको छ । वार्षिक प्रतिवेदन अनुसार बैंकमा ३६ व्यक्ति तथा कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको तथ्याङ्क छ । बैंकमा लक्ष्मी कर्पको बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व छ । लक्ष्मी कर्प नेपाल प्रालिको ७.७८ प्रतिशत अर्थात् १ करोड ६८ लाख ६२ हजार ४६८ कित्ता सेयर स्वामित्व रहेको छ । यस्तै, नागरिक लगानी कोषको ४.६३ प्रतिशत अर्थात् १ करोड २ लाख ८ हजार २ कित्ता, सारिका खेतानको ४.१७ प्रतिशत अर्थात् ९० लाख ३६ हजार ७२८ कित्ता, स्नेहा खेतानको ३.९१ प्रतिशत अर्थात् ८४ लाख ६४ हजार ३९६ कित्ता, मोतिलाल दुगडको २.७७ प्रतिशत अर्थात् ६० लाख १० हजार ७४६ कित्ता सेयर स्वामित्व रहेको छ । यस्तै, मालचन्द्र दुगडको २.४० प्रतिशत अर्थात् ५२ लाख ३ हजार ६९९ कित्ता, रतन लाल संघईको २.३९ प्रतिशत अर्थात् ५१ लाख ८० हजार २८२, गोपि कृष्ण सिकरियाको २.३५ प्रतिशत अर्थात् ५१ लाख २ हजार ३०६ कित्ता, राजेन्द्र कुमार खेतानको २.३५ प्रतिशत अर्थात् ५० लाख ९९ हजार १४ कित्ता सेयर स्वामित्व रहेको छ । यस्तै हिमालयन एक्जीम प्रालिको १.९७ प्रतिशत अर्थात् ४२ लाख ६३ हजार ५५, कैलाश चन्द्र गोयलको १.८९ प्रतिशत अर्थात् ४० लाख ९२ हजार २६४ कित्ता, श्रवण कुमार गोयलको १.६१ प्रतिशत अर्थात् ३४ लाख ९६ हजार ८९७ कित्ता, सुरेन्द्रा दुगडको १.४१ प्रतिशत अर्थात् ३० लाख ५२ हजार ५९९ कित्ता, विवेक दुगडको १.३३ प्रतिशत अर्थात् २८ लाख ९१ हजार ३३३ कित्ता सेयर स्वामित्व छ । यस्तै, एमटीसी इन्भेष्टमेन्ट प्रालिको १.२८ प्रतिशत अर्थात् २७ लाख ७३ हजार ७४२ कित्ता, बच्छराज तातेडको १.१५ प्रतिशत अर्थात् २४ लाख ९२ हजार ६५८ कित्ता, राष्ट्रिय जीवन बीमा कम्पनीको ०.९९ प्रतिशत अर्थात् २१ लाख ५२ हजार ९८६ कित्ता, पुजा अग्रवाल खेतानको ०.८६ प्रतिशत अर्थात् १८ लाख ५८ हजार ५१९ कित्ता सेयर स्वामित्व छ । यस्तै, निधि दुगडको ०.८४ प्रतिशत अर्थात् १८ लाख ११ हजार २१४ कित्ता, पुजा दुगडको ०.७९ प्रतिशत अर्थात् १७ लाख १२ हजार ८०६ कित्ता, श्रद्धा दुगडको ०.७८ प्रतिशत अर्थात् १६ लाख ८३ हजार ७५० कित्ता, विवेक तातेडको ०.७७ प्रतिशत अर्थात् १६ लाख ७४ हजार ४३८ कित्ता, विशाल तातेडको ०.७७ प्रतिशत अर्थात् १६ लाख ६१ हजार ७७३ कित्ता, शौरभ तातेडको ०.७७ प्रतिशत अर्थात् १६ लाख ६१ हजार ७७३ कित्ता सेयर स्वामित्व छ । यस्तै, श्री निवास शारडाको ०.७७ प्रतिशत अर्थात् १६ लाख ६१ हजार ७७० कित्ता, ओम प्रकाश सिकारियाको ०.७६ प्रतिशत अर्थात् १६ लाख ४९ हजार ३९७ कित्ता, प्रियंका अग्रवालको ०.६४ प्रतिशत अर्थात् १३ लाख ७८ हजार ७१२ कित्ता, सरोज दुगडको ०.६० प्रतिशत अर्थात् १३ लाख २ हजार ७४६ कित्ता, जमुना पौड्यालको ०.५५ प्रतिशत अर्थात् ११ लाख ९८ हजार ८२१ कित्ता सेयर स्वामित्व छ । यस्तै, राधेश्याम शारडाको ०.५५ प्रतिशत अर्थात् ११ लाख ८५ हजार ५१० कित्ता, पवन कुमार शारडाको ०.५५ प्रतिशत अर्थात् ११ लाख ८५ हजार ५०९ कित्ता, शिवरतन शारडाको ०.५५ प्रतिशत अर्थात् ११ लाख ८५ हजार ५०९ कित्ता, सुभम दुगडको ०.५४ प्रतिशत अर्थात् ११ लाख ६७ हजार १६४ कित्ता, भोगेन्द्र कुमार गुरागाईंको ०.५२ प्रतिशत अर्थात् ११ लाख ३४ हजार ४७९ कित्ता, कविता लोहियाको ०.५१ प्रतिशत अर्थात् ११ लाख १३ हजार ७३७ कित्ता र मानव अग्रवालको ०.५१ प्रतिशत अर्थात् ११ लाख ६३ कित्ता सेयर स्वामित्व छ ।

साल्ट ट्रेडिङ्गको १५.७९ प्रतिशत लाभांश घोषणा

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पाेरेशनले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको पुस २५ गते बसेको बैठकले १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद गरी कूल १५.७९ प्रतिशत लाभांश लाभांश प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको बाटो खुल्यो, सरकारले दियो सहमति

भरतपुर । अलपत्र परेको गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणको बाटो खुलेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले रंगशालालाई बागमती प्रदेश सरकारसँगको साझेदारीमा बनाउन चितवनको भरतपुर महानगरपालिकालाई सहमति दिएको छ । भरतपुर महानगरपालिकालाई  रंगशाला निर्माण, सञ्चालन र व्यवस्थापन प्रयोजनका लागि सहमति प्रदान गरिएको नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिए । महानगरसँग प्रदेश सरकारले पहिलो चरणमा ७५ करोड रुपैयाँको काम गर्ने गरी सहमति भइसकेको थियो । तर, भरतपुर महानगरपालिकाले तयार गरेको लागत इस्टिमेटअनुसार राष्ट्रिय स्तरका खेल खेल्न मिल्ने बनाउन एक अर्ब लाग्ने देखिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले लागत अनुमान (इस्टिमेट) बनाउँदा एक अर्ब रुपैयाँ लाग्ने देखिएकोले यसअघिको सहमतिअनुसार बजेट सुनिश्चितता गर्न प्रदेश सरकारलाई हिजो नै प्रस्ताव पठाइएको बताइन्  । पहिलो चरणमा खेल मैदान र प्याराफिट लगायतका काम सकेर खेल खेल्न मिल्ने बनाइने उनले जानकारी दिए, ‘लागत तयार गर्दा पहिलो चरणमा एक अर्बको काम गर्नैपर्ने देखिएकाले ७० करोड प्रदेशलाई व्यवस्था गर्न भनेका छौँ । ३० करोड हामी व्यहोर्छाैं ।’ चन्दा उठाएर रंगशाला निर्माण सुरु गरेको धुर्मुस सुन्तली फाउन्डेसनले १९ करोड ऋण लागेको भन्दै २ वर्षअघि निर्माणको काम छाडेको थियो । त्यसपछि यो रंगशाला अलपत्र छ । अब ठेक्का आह्वान गरेर निर्माणको काम अघि बढाउन बाटो खुलेको छ । नेपाल सरकारले गौतम बुद्ध क्रिकेट रंगशालासहित ३ वटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा राखेको छ ।

संक्रमित बढेपछि ग्रिक सरकारले दियो कोभिड १९ र इन्फ्लुएन्जाविरूद्ध खोप लगाउन निर्देशन

काठमाडौं । ग्रिस सरकारले कोरोना संक्रमणको वृद्धि भएसँगै कोभिड १९ र इन्फ्लुएन्जाविरूद्ध खोप दरमा थप वृद्धि गर्न आग्रह गरेको छ । एथेन्समा एक पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री एडोनिस जर्जियाडिसले कोरोना संक्रमण बढेकाले शतर्क रहन आग्रह गरे । गत सेप्टेम्बरदेखि देशभर कोभिड–१९ सँग सम्बन्धित १ हजार २८ मृत्युमध्ये दुईजनालाई मात्रै खोप लगाइएको थियो । करिब १० करोड जनसंख्या भएको देशमा २ लाख १० हजारले मात्र कोभिड–१९ विरूद्धको खोपको पछिल्लो डोज पाएका छन् । गत वर्ष ३.४ मिलियनको तुलनामा हालसम्म २९ लाख नागरिकले फ्लूविरुद्धको खोप लगाएका छन् । नोभेम्बरदेखि ग्रीसले कोभिड–१९ मा क्रमिक वृद्धि भएको रेकर्ड गरेको छ ।

कम्बोडियाले एक वर्षमा कृषि उत्पादन निर्यातबाट ४.३ बिलियन अमेरिकी डलर कमायो

काठमाडौं । कम्बोडियाले २०२३ मा कृषि उत्पादनको निर्यातबाट ४.३ बिलियन अमेरिकी डलरको कुल राजस्व कमाएको कृषि, वन तथा मत्स्यपालन मन्त्रालय (एमएएफएफ) ले जनाएको छ । दक्षिणपूर्वी एशियाली देशले गत वर्ष जनवरीदेखि डिसेम्बरको अवधिमा करिब ७५ देश र क्षेत्रहरूमा झन्डै ८४ लाख ५० हजार टन कृषि उत्पादन पठाएको प्रतिवेदनले जनाएको छ । निकासीका प्रमुख कृषि वस्तुहरूमा चामल, रबर, आँप, केरा, मरिच, काजू, मकै, पाम तेललगायत पर्छन् । चीन, भियतनाम र थाइल्याण्ड कम्बोडियाका कृषि वस्तुका प्रमुख आयातकर्ता हुन् । इ–कमर्स प्लेटफर्म एग्रीबी (कम्बोडिया) का अध्यक्ष माक चामरोउनले चीन कम्बोडियन कृषि उत्पादनको प्रमुख क्रेता भएको बताए । कपडा निर्यात, पर्यटन, निर्माण र घरजग्गाको अतिरिक्त कम्बोडियाको आर्थिक वृद्धिलाई समर्थन गर्ने चार स्तम्भमध्ये कृषि एक हो ।

बागलुङमा आधारभूत अस्पताल निर्माण : अझै जग्गाको खोजी

ढोरपाटन । सङ्घीय सरकारले आर्थिक वर्ष २०७७/०७८ मा बागलुङका आठ पालिकालाई आधारभूत अस्पताल निर्माणका लागि छनोट गरेको थियो । जिल्लामा १० पालिका रहे पनि काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाबाहेक अन्य स्थानीय तह अस्पताल निर्माणका लागि छनोट भए । अहिले केही पालिकाले स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी पालिका स्तरीय आधारभूत अस्पतालको सेवा प्रवाह गरिरहेका छन् भने कहीँ पालिकामा अस्पताल निर्माणाधीन छन् । कतिपय पालिकाले अहिलेसम्म कहाँ अस्पताल बनाउने भन्ने टुङ्गोसमेत लगाउन सकेका छैनन् । हाल जिल्लाको गलकोट नगरपालिका र तमाखोला गाउँपालिकाले सेवा सुरु गरी रहेका छन् । गलकोटले हरिचौर स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी नगर अस्पतालबाट हुने सेवा प्रवाह गरेको छ, भने तमानखोलाले बोङ्गादोभान स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी सेवा सुरु गरेको हो । गलकोटले गत वर्ष पुस १७ गतेदेखि १५ शय्याको नगर अस्पताल सुरु गरेको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बताए। नगर अस्पताल निर्माणका लागि सङ्घीय सरकारले रु १८ करोड विनियोजन गरेको उनको भनाइ छ । उनले भवन निर्माणका लागि हाल सञ्चालन रहेको अस्पताल छेउमा जग्गा व्यवस्थापन भइरहेको जानकारी दिए । हाल अस्पतालमा एक विशेषज्ञ चिकित्सक, एक मेडिकल अधिकृत, छ जना नर्सिङ, हेल्थ असिस्टेन्ट दुई, नर्स तीन, अहेव तीन, अनमी तीन, रेडियोक्राफर एक, डेल्टलहाइजेनिस्ट एक, ल्याब टेक्निसिएन एक, ल्याब असिस्टेन्ट एक, कार्यालय सहयोगी पाँच र एक जना एम्बुलेन्स चालक रहेको उनको भनाइ छ । अस्पताललाई थप व्यवस्थापन गर्नका लागि थप भवन आवश्यक रहेको प्रवक्ता भण्डारीले बताए । जग्गा खरिदका लागि अहिले आर्थिक सङ्कलन भइरहेको उहाँले जानकारी दिए । प्रवक्ता भण्डारीले भने, ‘पोहोर साल कार्यपालिकाले निर्णय गरेर नगर अस्पताल सञ्चालन गरेका छौँ, एक जना विशेषज्ञ डाक्टर पनि हुनुहुन्छ, मेडिकल अधिकृत पनि हुनुहुन्छ, अहिले यहाँको स्वास्थ्य सेवामा ठूलो परिवर्तन आएको छ, स्वास्थ्यचौकीको भवनबाट सेवा दिई राखेका छौँ, अब छिट्टै जग्गा व्यवस्थापन हुनेछ, जग्गा व्यवस्थापन भयो भने नयाँ भवन बनाउने प्रक्रिया अगाडि बढाउँछौँ, नगर यहाँ सेवा सुरु भएदेखि पोखरा, काठमाडौँ र बागलुङ जान परेको छैन ।’ तमानखोलाले पनि बोङ्गादोभान स्वास्थ्यचौकीबाट आधारभूत अस्पतालको सेवा सुरु गरेको छ । यस पालिकामा पाँच शय्याको आधारभूत अस्पताल बन्ने छ । जसका लागि सङ्घीय सरकारले रु ११ करोड विनियोजन गरेको छ । गाउँपालिकाले यही पुस ३ गतेदेखि आधारभूत अस्पालको सेवा सुरु गरेको स्वास्थ्य शाखा संयोजक तिलक छन्त्यालले बताए । गाउँपालिकाले एक जना मेडिकल अधिकृत, एक जना स्वास्थ्य सहायक, दुई जना अहेव, तीन जना अनमी, एक जना ल्याब असिस्टेन्टको व्यवस्थापन गरी सेवा प्रवाह गरेको उनको भनाइ छ । ‘स्वास्थ्य मन्त्रालयले पठाएको नमूना दरबन्दीअनुसार जनशक्ति नहुँदा गाउँपालिकाले एक जना मेडिकल अधिकृतसहित एक जना अनमी र एक जना कार्यालय सहयोगी थप गरी स्वास्थ्यचौकीमा मौजुदा रहेका कर्मचारीबाट आधारभूत अस्पताल तहको सेवा प्रवाह गर्न थालेका छौँ’, संयोजक छन्त्यालले भने, ‘अस्पताल बनाउनका लागि जग्गा प्राप्त भएको छ, तर विभिन्न प्रक्रिया नपुग्दा निर्माण हुन सकेको छैन, अब केही समयमै भवन बनाउने छौँ ।’ बागलुङ नगरपालिकाले वडा नम्बर १३ स्थित पैयुँपाटा स्वास्थ्यचौकीबाट नगर अस्पतालको सेवा प्रवाह गर्दै आएको छ । पन्ध्र शय्याको अस्पताल निर्माणको अन्तिम चरणमा रहेको भन्दै दुई वर्ष अगाडिदेखि यहाँ नगरपालिकास्तरीय अस्पतालको स्वास्थ्य सेवा दिइएको नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए । अस्पताल निर्माणका लागि सङ्घीय सरकारले रु १८ करोड विनियोजन गरेको उनको भनाइ छ । अस्पतालमा एक जना एमबिजिपी, तीन जना मेडिकल अधिकृत, चार जना स्वास्थ्य सहायकलगायतका जनशक्ति रहने प्रावधान रहे पनि अहिले कार्यरत एक जना मेडिकल अधिकृत, एक जना जनस्वास्थ्य निरीक्षक, एक जना स्वास्थ्य सहायक, एक जना स्टाफ नर्स, एक जना सिनियर अनमी, अनमी र एक जना ल्याब असिस्टेन्ट कार्यरत रहेको खनालले बताए । ढोरपाटन –९ पाखाथर उपत्यकामा १५ शय्याको अस्पताल बन्न थालेको १५ महिना भए पनि यस अवधिमा ४० प्रतिशत काम भएको छ । समयमै भुक्तानी नहुँदा हाल काम रोकिएको छ । विसं २०८२ असार २३ सम्ममा सकी सक्नुपर्ने अस्पतालको भवन करिब आधा सकिँदा पनि कामअनुसारको भुक्तानी नभएको निर्माण कम्पनी एसी कन्ट्रक्सनका प्रमुख दीपक अदैले बताए। अस्पातलको भवन निर्माणका लागि रु १२ करोड ९६ लाखमा जिम्मा उहाँको भनाइ छ । काम गर्नुभन्दा पहिले सुरुमा पेश्की रकम रु दुई करोड ४६ लाख मात्रै आएको उनले बताए । तीन महिना अगाडि रु छ करोड ६१ लाखको बिल नगरपालिकामा पठाए पनि हालसम्म भुक्तानी नभएको अदैको भनाइ छ । निसीखोला गाउँपालिका–४ झिम्पामा दुई वर्ष अगाडि सुरु भएको १० शय्याको पालिका स्तरीय आधारभूत अस्पतालको काम हालसम्म ८५ प्रतिशत काम सकिएको छ । यही पुस महिनामा सम्पन्न गर्ने गरी निर्माण भए पनि बजेट अभावका कारण काम हुन सकेको छैन । गाउँपालिकाले रु १० करोड ९४ लाखको ‘स्टिमेट’ गरेकोमा हिन्दुङ एसी आइएस जेबी कन्ट्रक्सनले रु आठ करोड २४ लाखमा निर्माण गर्ने गरी जिम्मा लिएर काम गरेको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले बताए । सङ्घीय सरकारले बजेट पठाए काम सुरु हुने जनाइएको छ । बडिगाड गाउँपालिका–५ को रिखेटारीमा १५ शय्याको अस्पताल निर्माणको अन्तिम चरणमा पुगेको प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले जानकारी दिए । केन्द्र सरकारले विनियोजन गरेको रु २४ करोड विनियोजन गरेको बजेटले काम भएको उनको भनाइ छ । अस्पतालको काम ९० प्रतिशत सकिएको भण्डारी बताउँछन् । हाल सात वटा स्वास्थ्यचौकी र चार वटा आधारभूत स्वास्थ्य केन्द्रबाट बडिगाडका नागरिकले स्वास्थ्य सेवा लिएको उनी बताउँछन् । जिल्लाको ताराखोला गाउँपालिकामा तीन वर्ष अगाडिनै पालिका स्तरीय पाँच शय्याको अस्पताल निर्माण गर्ने भनिए पनि अहिलेसम्म जग्गा व्यवस्थापन हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले जानकारी दिए । जग्गा व्यवस्थापनको प्रक्रियामा रहेको जनाउँदै मापदण्डअनुसारको पाइए कामलाई अगाडि बढाउने उनको भनाइ छ । दक्षिण बागलुङको बरेङ गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल निर्माणका लागि जग्गा निःशुल्क प्राप्त गरेको तर मापदण्डअनुसार नभएपछि भवन निर्माणको काम रोकिएको प्रमुख प्रशासकीय अधिकृत जीतबहादुर रानाले बताए । जग्गालाई स्वीकृत गर्नका लागि मन्त्रालयमा पठाइएको उनको भनाइ छ । ढोरपाटन नगरपालिका–९ का मिनबहादुर विकले अहिलेसम्म ढोरपाटन उपत्यका क्षेत्रमा अस्पताल नबन्दा यहाँका नागरिकले पर्यटकले समस्या खेप्नुपरेको बताए । ढोरपाटन निकै चिसो क्षेत्र रहेको भन्दै बाहिरबाट आउने पर्यटक बिरामी पर्दा नजिकमा उपचार गर्न नपाएको उनको भनाइ छ । पोहोर सालदेखि अस्पताल निर्माण हुन थाले पनि अहिलेसम्म सम्पन्न हुन नसकेको उनले बताए। उनले भने, ‘नगर अस्पताल भनेर बनाउन लागेको धेरै भयो, अहिले बल्ल एक तला भएको छ, कहिले सम्पन्न हुने हो ?, कहिले यहाँ डाक्टर आएर जनताको उपचार गर्ने हुन् ?, मान्छेहरु बिरामी परे भने घण्टौँ लगाएर बुर्तिबाङ जानुपर्छ, घुम्न आएका पर्यटक पनि बिरामी हुन्छन्, नजिकमा उपचार गर्ने ठाउँ नहुँदा छिट्टै फर्किने गरेका छन्, दुई/चार दिन बस्ने पर्यटक एकै दिनमा फर्किंदा यहाँको व्यापार व्यवसाय राम्रोसँग हुन पाउँदैन, सरकारले छिटो अस्पताल बनाएर डाक्टर पठाइदिए धेरै सजिलो हुने थियो, बुर्तिबाङ पुग्नुपर्ने थिएन ।’ रासस