विकासन्युज

एनसेल र जल तथा मौसम विज्ञान विभागबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । एनसेलले जल तथा मौसम विज्ञान विभागसँगको आफ्नो सहकार्यलाई थप विस्तार गरेको छ । यससँगै अब एनसेलले जल तथा मौसम दुवैका कारण हुने प्राकृतिक प्रकोपहरुका बारेमा पूर्वसूचना प्रवाह गर्ने भएको छ । यस सम्बन्धमा बुधवार दुवै पक्षले एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । यो समझदारी पत्र अनुसार, एनसेल र जल तथा मौसम विज्ञान विभागले पूर्व सूचना प्रणाली अन्तर्गत अब १३ वटा प्रकोपहरुका बारेमा आम जनमानसलाई प्रकोप पूर्व सूचना प्रवाह गर्नेछ । ती १३ प्रकोपहरुमा बाढी, आकस्मिक बाढी, वर्षा, चट्याङ, हावा हुरी, आँधी, पहिरो, हिमपहिरो, हिमपात, शीतलहर, डढेलो, वायु प्रदुषणलगायत रहेका छन् । एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. जगदिश्वर कर्माचार्यले बुधबार एनसेलको कर्पोरेट कार्यलय लैनचौरमा आयोजित एक कार्यक्रममा उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । यस सहकार्यका बारेमा आफ्नो उत्साह व्यक्त गर्दै महानिर्देशक डा. जगदिश्वर कर्माचार्यले भने, ‘पूर्व सूचना प्रणालीमा अग्रणी भूमिका खेल्दै सन् २०१६ देखि बाढीको पूर्वसूचना पहललाई अगाडि बढाएकोमा एनसेललाई धन्यवाद दिन चाहन्छु । कुनै प्राकृतिक विपद् घट्नु भन्दा अगावै प्राप्त हुने पूर्व सूचना त्यस जोखिमबाट बच्न सफल मानिसका लागि जीवनदान सरह हुन्छ । ग्रासरुट–टु–ग्लोबल एक्सनको अवधारणा अनुरुप पूर्व सूचना प्रवाहकालागि गरिएको यो सहकार्य एक उत्कृष्ट उदाहरण हो । थप १० मौसममा आधारित जोखिमहरुलाई समेट्दै पूर्व सूचना प्रणाली तथा प्रवाहकालागि गरिएको योे सहकार्य एक अर्को कोशेढुङ्गा हो । एनसेल र अन्य साझेदारहरुसँगको सहकार्यमा गरिएको कार्यले जोखियुक्त क्षेत्रमा बसोबास गर्ने मानिस समक्ष सम्पर्क गर्न सहज बनाई हजारौं मानिसहरुको जीवन रक्षा गर्न सफल भएका छौ । बाढीको प्रकोप बढ्दै गए पनि त्यसबाट हुने मानविय क्षति भने धेरै कम भएको छ र यो हामी सबैको सहकार्यले गर्दा सम्भव भएको हो । यसका लागि एनसेलको योगदानको कदर गर्न चाहन्छु ।’ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले जल तथा मौसम विज्ञान विभागसँग १३ वटा विपद्हरुलाई पूर्व सूचना प्रणालीमा समेट्ने गरी यो सहकार्य गर्न पाएकोमा गौरवान्वित भएको बताए । उनले भने, ‘हामीले सेवा प्रदान गर्ने समुदाय र त्यहाँका नागरिकको सुरक्षा सुनिश्चित गर्ने हाम्रो प्रतिबद्घता अनुरुप गरिएको यो कार्य एक कोशेढुङ्गा हो । सन् २०१६ देखि पूर्व सूचना प्रणालीलाई अघि बढाउँदै आएका छौं र आम नेपाली जनमानसलाई यस प्रणाली मार्फत सम्भावित विपद्बाट जोगाउने हाम्रो निरन्तरको प्रयास जारी रहने छ । एनसेल र विभागको यो सहकार्य सार्वजनिक निजी साझेदारीमा कसरी प्रभावकारी कार्यहरु गर्न सकिन्छ भन्ने एक ज्वलन्त उदाहरण हो । एनसेल नेपाल र नेपालीको हितको लागि सदैव काम गर्न तत्पर छ र यसै अनुरुप आगामी दिनमा पनि प्रभावकारी कार्यहरुमा सहकार्य गर्न हामी तत्पर छौँ ।’ पूर्व सूचना प्रणालीले जोखिम क्षेत्रभित्र रहेका मानिसहरुलाई सम्भावित जोखिमको बारेमा सुचित गर्दै आ–आफ्ना सामानहरु लिएर सुरक्षित स्थानमा जानलाई अग्रिम जानकारी दिने बताइएको छ । सन् २०१६ देखि एनसेल र विभागले निरन्तर सहकार्य गरी बाढीको जोखिम रहेको ठाउँमा बसोबास गर्ने मानिसहरुलाई पूर्व सूचना प्रवाह गदै आएको छ । २०२३ मा एनसेलले ९० लाख भन्दा बढी पूर्व सूचना प्रवाह गरेको थियो ।

वनस्पतिबाट साबुन बनाउने उद्योग सञ्चालन गर्दै मनिता घिमिरे

धरान । धरानकी मनिता घिमिरेले तितेपाती, निम, घिउकुमारी, बकाइनोजस्ता वनस्पतिबाट साबुन बनाउने घरेलु उद्योग सञ्चालनमा ल्याएकी छन् । उनले उत्पादित साबुन मेला, महोत्सव, प्रदर्शनी लगायत अन्यत्र बिक्री गर्दै आएकी छन् । उनले भनिन्, ‘अनलाइनबाट पनि राम्रो बिक्री भइरहेको छ। अग्र्यानिक सामान पाइने पसलमा पनि साबुन बिक्री हुन्छ ।’ नेपाली विषयमा स्नातकोत्तर गर्नुभएकी घिमिरे पहिल्यैदेख अन्यत्र रोजगारी खोज्नुभन्दा आफैँ केही गर्नुपर्छ भन्ने सोचमा थिइन् । उनले भनिन्, ‘केही वर्षअघि काठमाडौँको ठमेलमा विदेशीले प्राकृतिक साबुन खोजी गरेपछि यसको महत्व बुझेँ । ठमेलमै एक जना विदेशीबाट साबुन बनाउने तालिम पनि लिएँ । यसरी सिकेको सीप खेर जान दिनुहुँदैन भनेर त्यसलाई व्यवहारमा उतार्न थाले ।’ विगत छ वर्षदेखि धरान-१५ स्थित आफ्नै घरमै साबुन उद्योग सञ्चालन गरिरहेकी उनी ५० हजार लगानीमै साबुन उत्पादन सुरु गर्न सकिने बताउँछिन् । थोरै लगानीबाट धेरै आम्दानी गर्न सकिने उनको भनाइ छ । ‘मैले त छ वर्षअघि २५-३० हजार लगानीबाट सुरु गरेकी थिएँ। यसबाट सोचेभन्दा राम्रै फाइदा भयो’, उनले भनिन्, ‘अहिले सामाजिक सञ्जालबाटै धेरै माग आउँछ । पसलबाट पनि माग आउँछ । साबुनबाटै आफूलाई चाहिने खर्च पूरा गरेकी छु ।’ उनले पछिल्लो समय महिलालाई साबुन बनाउने तालिम पनि दिँदै आएकी छन् । उनले उदयपुरको गढी गाउँपालिका, सुनसरीको इटहरी उपमहानगरपालिकालगायत स्थानमा तालिम सञ्चालन गरिसकेकी छन् । उनी भन्छिन्, ‘आफ्नै गाउँघरमा पाइने वनस्पतिको प्रयोग गरेर साबुन बनाउँदा देशको पैसा बाहिरिन पाउँदैन । यसबाट उपभोक्तादेखि देशसम्मलाई फाइदा हुन्छ ।’ फुर्सदको समय सदुपयोग गरेर साबुन बनाई आम्दानी गर्नसक्ने उनको बुझाइ छ । यसका लागि घर परिवारको साथ र स्थानीय सरकारले सहयोग गरे धेरै महिला घर बसेरै स्वरोजगार बन्न सक्ने उनको धारणा छ । ‘थोरै खर्चमा सुरु गर्न सकिने यस्तो व्यवसायका लागि स्थानीय तहमा वडा कार्यालयले पनि विपन्नलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गर्न सक्छन्’, उनी भन्छिन्, ‘हेर्दा सामान्य कामजस्तो लागे पनि यसबाट एकातिर बेरोजगारले रोजगार पाउँछन, स्वास्थ्यका लागि पनि फाइदाजनक छ । साबुनका नाममा बाहिरिने रुपैयाँ पनि कम गर्न सकिन्छ ।’ रासस

आइएमई लाइफको नयाँ बोनसदर घोषणा, कुन बीमालेखमा कति ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९÷८०को नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७९/८०को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृत भई नाफामा सरिक हुने गरी जारी बीमालेखहरुमा बोनस दर सार्वजनिक गरेको हो । कम्पनीले सावधिक, बाल सावधिक तथा सामूहिक सावधिक बीमा योजनामा ९ वर्ष अवधिको लागि प्रतिहजार ३२ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिको ३२ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिको ४० रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिको ५२ रुपैयाँ, २५ वर्षदेखि २९ वर्ष अवधिको लागि ६७ रुपैयाँ र ३० वर्ष वा सोे भन्दा बढी अवधिको ७० रुपैयाँ बोनसदर निर्धारण गरेको छ । सावधिक तथा सामुहकि जीवन बीमालेखमा ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३२ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिको ३२ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिको ४५ रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिको ५५ रुपैयाँ, २५ वर्षदेखि २९ वर्ष अवधिको लागि ६५ रुपैयाँ र ३० वर्ष वा सोे भन्दा बढी अवधिको ८० रुपैयाँ बोनसदर निर्धारण गरेको छ । यस्तै, अग्रिम भुक्तानी तथा आजीवन बीमालेखमा १० वर्षदेखि १४ वर्ष अवधिको ३२ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिको ३८ रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिको ५० रुपैयाँ र २५ वर्षदेखि २९ वर्ष अवधिको ६३ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । अग्रिम भुक्तानी सावधिक बीमालेखमा १० वर्षदेखि १४ वर्ष अवधिको ३० रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिको ३५ रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिको ४८ रुपैयाँ र २५ वर्षदेखि २९ वर्ष अवधिको ६३ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । बाल अग्रिम भुक्तानी सावधिक बीमालेखमा १० वर्षदेखि १४ वर्ष अवधिको ३० रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिको ३७ रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिको ५० रुपैयाँ र २५ वर्षदेखि २९ वर्ष अवधिको ६५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । वार्षिक अग्रिम भुक्तानी सावाधिक जीवन बीमालेख (बाल किरण)मा १० वर्षदेखि १४ वर्ष अवधिको ३० रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिको ४० रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिको ४४ रुपैयाँ र २५ वर्षदेखि २९ वर्ष अवधिको ६० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । त्यस्तै, वार्षिक अग्रिम भुक्तानी सावधिक (धन सरिता) जीवन बीमालेखको सबै अवधिमा २२ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ । कम्पनीले घोषणा गरेको बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुनेछ । साथै कम्पनीको आगामी बीमाङ्कीय मूल्याङ्कन नभएसम्म सोही बोनसदर लागू हुने कम्पनीले जनाएको छ ।

वीरगञ्ज महानगरको बजेट ३ अर्ब ४६ करोड

काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटलाई ३ अर्ब ४६ करोड रुपैयाँ पुर्याएको छ । बुधबारदेखि सुरु भएको महानगरपालिको १४औँ अधिवेशनमा चालु आव २०८०/८१ को वार्षिक बजेटमा २५ करोड रुपैयाँ थप गरी ३ अर्ब ४६ करोड रुपैयाँ पुर्याएको हो । चालु अधिवेशनले विनियोजन ऐन, २०८० मा समावेश भएको चालु आव २०८०/८१ को वार्षिक बजेट ३ अर्ब ४६ करोड रुपैयाँ पुर्याउने प्रस्ताव गरिएको महानगरप्रमुख राजेशमान सिंहले जानकारी दिए । चौधौँ अधिवेशनको नगरसभाले वार्षिक बजेट तथा कार्यक्रममा परेर पनि कार्यान्वयनमा आउन नसक्ने अवस्था रहेका कार्यक्रम परिमार्जन गर्दै चालु आवको बजेट थप गरेको हो । यस्तै नगरसभाले विभिन्न योजना तथा कार्यक्रम परिमार्जन पनि गरेको छ । नगरसभाले खानेपानीका लागि महानगरवासीको ४ हजार घरधुरीमा धारा जडान गर्न ८० लाख रुपैयाँ थप बजेट छुट्याएको महानगर प्रमुख सिंहले बताए । भारतीय दूतावाससँगको सहकार्यमा महानगरका ४ हजार घरमा धारा जडानका लागि थप बजेट छुट्याइएको उनको भनाइ छ । दूतावासको ८० प्रतिशत र महानगरको २० प्रतिशत लगानी हुने गरी धारा जडानको कार्य अघि बढाउन बजेटमै संशोधन गरेर महानगरले भुक्तानी गर्नुपर्ने २० प्रतिशत रकम विनियोजन गरेको महानगर प्रमुख सिंहले बताए । यस्तै नगरसभामा विभिन्न विधेयक पनि पेश गरिएको छ । वीरगञ्ज महानगरसभाको कार्यसञ्चालन विधेयक, संस्कृति तथा सम्पदा संरक्षण एवं सम्वद्र्धन विधेयक, सङ्घसंस्था दर्ता तथा नियमनसम्बन्धी विधेयकसभामा पेश गरिएको छ । साथै बस्ती विकास सहरी योजना तथा भवन निर्माण मापदण्ड तथा भवन निर्माण इजाजतसम्बन्धी कार्यविधि २०७५ तेस्रो संशोधन, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण संशोधन विधेयक पनि पेश गरिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले जानकारी दिए । आवश्यक कानुन अभावमा काम गर्न असहज भएकाले सभामा विधेयक पेश गरिएको उनले बताए ।

दूधको समयमै भुक्तानी गर्न किसानको माग

काठमाडौं । चितवनका किसानले दूधको समयमै भुक्तानी गर्न माग गरेका छन् । बुधबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर उनीहरुले दूध बिक्री गरेको पैसा नपाउँदा पलायन हुनुपर्ने अवस्था आउन लागेको गुनासो व्यक्त गरेका हुन् । उनीहरुले सम्बन्धित निकाय समक्ष विभिन्न पाँच बुँदे माग समेत राखेका छन् । ती मागमा सहुलियत ऋण सुलभ तरिकाले प्रदान गर्नुपर्ने, बीमामा देखिएको समस्यामा तत्काल सम्बोधन हुनुपर्ने, बागमती प्रदेश सरकारद्वारा दिँदै आएको दूध उत्पादनमा आधारित अनुदान रकम सबै दुग्ध किसानले सहज तरिकाले प्राप्त गर्नुपर्ने लगायतका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगाले चितवनका दुग्ध किसानका समस्या समाधानमा सरोकारवाला निकाय उदासिन बनेको गुनासो गरे । दूधको भुक्तानी समयमै हुनुपर्ने जनाउँदै उनले दूधको बजारीकरणमा समेत समस्या रहेको पत्रकार सम्मेलनमा बताए । सङ्घका सचिव कल्याण अधिकारीले बजारीकरणमा समस्या भोगिरहेका दुग्ध किसानको भुक्तानीमा ढिलाइ हुँदा समस्या झन जटिल हुँदै गएको बताए । उनले भने, “न उत्पादन बढी हुँदा बिक्री गर्न सकिन्छ, न त बिक्री भएको दूधको भुक्तानी पाइन्छ, हामी चेपुवामा परेका छौँ ।” आत्मनिर्भरता उन्मुख हुँदै गएको दुग्ध क्षेत्रलाई राज्यको नीतिले सम्बोधन नगरेको र किसानलाई प्रोत्साहन नभएको उनको गुनासो छ ।

पुस २९ गतेपछि दोहोरो खाता र कार्ड प्रयोग गर्न नपाईने, शून्य मौज्दातका खाता बन्द

काठमाडौं । प्राइम कमर्सियल बैंकले एक भन्दा बढी डेबिट र क्रेडिट कार्ड एवं खाता भएका ग्राहकहरूलाई एउटै खाताबाट मात्र कारोबार गर्न आग्रह गरेको छ । स्वदेशी मुद्रामा एकै प्रकृतिको एक भन्दा बढी खाता खोलि वा एउटै प्रकारको एक भन्दा बढी कार्ड (डेबिट तथा क्रेडिट) प्राप्त गरी कारोबार गरिरहेका ग्राहकहरूले एउटा खाता वा कार्ड मात्रै प्रयोग गर्न बैंकले आग्रह गरेको हो । नेपाल राष्ट्र बैंकले प्राकृतिक व्यक्तिको नाममा स्वदेशी मुद्रामा एउटै प्रकृतिको एक भन्दा बढी खाता खोल्न नपाईने अर्थात् एकजना व्यक्तिलाई एउटै प्रकारको एक भन्दा बढी कार्ड (डेबिट र क्रेडिट) जारी गर्न नपाईने व्यवस्था गरेको छ । जसकारण बैंकको अभिलेखमा भएको मोबाइल नम्बर र अन्य सूचनाबाट दोहोरो खाता भएका ग्राहकलाई जानकारी गराइसकेको छ । पुस २९ गतेभित्र आफ्नो खाता रहेका शाखा कार्यालयमा गई एक भन्दा बढी कायम रहेको कार्ड (डेबिट र क्रेडिट) बुझाउन र दोहोरो भएको खाता बन्द गरि दिन बैंकले अनुरोध गरेको हो । सो समय पश्चात त्यस्ता खाताहरूमध्ये एक मात्र खाता कायम गरी बाँकी रहेको अन्य खाताहरू बैंकको निर्णयअनुसार बन्द गरिने, रोक्का राखिने वा कारोबारमा बन्देज गरिने बैंकले जनाएको छ । यसबाट भविष्यमा ग्राहकहरूलाई पर्न जाने हानि नोक्सानीप्रति बैंक जिम्मेवार नरहने बताइएको छ । साथै, १० वर्षदेखि शुन्य मौज्दात रही कारोबार नभएका खाताहरू ग्राहकहरूले पायक पर्ने नजिकको शाखा कार्यालयमा गई खाताको विवरण अद्यावधिक गरी खाता सञ्चालन गर्न समेत अनुरोध गरेको छ । अन्यथा, सो प्रकारका खाता बैंकले बन्द गर्न सक्ने जनाएको छ ।

एशियन लाइफका यी ३४ जना ऋणीले चुक्ता गरेनन् कर्जा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले कर्जा चुक्ता नगर्ने ऋणहरूको नाम सार्वजनिक गरेको छ । इन्स्योरेन्स कम्पनीबाट कर्जा लिई चुक्ता नगर्ने ३४ जना ऋणीलाई ३५ दिनभित्र तिर्न ताकेता गरेको हो । विभिन्न शिर्षकमा कर्जा लिई साँवा र ब्याजको रकम शर्त तथा सम्भौता बमोजिम तिर्न बुझाउन पटक–पटक मौखिक एवम् लिखित रुपमा ताकेता गर्दा समेत बेवास्ता गरी कर्जा नियमित नगरेको कम्पनीले जनाएको छ । साथै, बक्यौता फच्छ्र्यौट गर्न कुनै चासो नदेखाएको र कर्जा सम्बन्धि शर्त सम्भौता उलङघन गरेको कम्पनीको भनाइ छ । कम्पनीले ३४ जना ऋणीको नाम र साक्षि बस्नेको नाम सार्वजनिक गरेको हो । कम्पनीबाट कर्जा लिने अधिकांश सवारी साधन शिर्षकमा ऋण लिएका छन् । अबको ३५ दिनभित्र कर्जाको साँवा, ब्याज तथा अन्य सम्पूर्ण रकम चुक्ता भुक्तान गर्न कम्पनीले ताकेता गरेको हो । अन्यथा कर्जा असुलीको लागी नियमानुसार आवश्यक कानूनी कारवाही अघि बढाइ कर्जा सुचना केन्द्रको कालो सूचीमा नाम समावेश गर्न सिफारिस गरिने कम्पनीले जनाएको छ ।

कुमारी बैंकले पनि घटायो ब्याजदर

काठमाडौं । कुमारी बैंकले पनि ब्याजदर घटाएको छ । बैंकले माघ १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो । बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.११ प्रतिशतदेखि अधिकतम ६.११ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि पुसमा सोही खातामा ५.५१ प्रतिशतदेखि अधिकतम ६.६१ प्रतिशत ब्याजदर तोकेको थियो । बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ८.११ प्रतिशत र संस्थागततर्फ न्यूनतम ६.११ प्रतिशत ब्याजदर निर्धारण गरेको हो । यसअघि बैंकले व्यक्तिगततर्फ ९.३१ प्रतिशत र संस्थागततर्फ न्यूनतम ७.३१ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । बैंकले कर्जाको प्रिमियम दर अधिकतम ३.५ प्रतिशत तोकेको छ । बैंकको आधार दर १०.६६ प्रतिशत र स्प्रेड दर ४.२ प्रतिशत रहेको छ ।