विकासन्युज

वायुसेवा निगमको जीएमका लागि दरखास्त आह्वान, १५ दिनभित्र निवेदन दिनुपर्ने

काठमाडौं । नेपाल वायुसेवा निगमले खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक (जीएम) नियुक्त गर्ने भएको छ । निगमको महाप्रबन्धक छनोट समितिले एक सूचना जारी गरी योग्य उम्मेदवारलाई आवेदनका लागि आह्वान गरेको हो । महाप्रबन्धक बन्न इच्छुक योग्य व्यक्तिले १५ दिनभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा आवेदन दिन सक्ने छन् । योग्यता, पारिश्रमिक तथा सुविधाहरू यसअघि नै सरकारले तय गरी मन्त्रालयको वेभसाइटमा राखिसकेको छ । कात्तिक दोस्रो साता खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरिएको थियो । समितिमा क्याप्टेन कुलबहादुर लिम्बू विज्ञ सदस्य छन् । मन्त्रालयका योजना तथा प्रशासन महाशाखा प्रमुख एवं सहसचिवले सदस्य सचिवको काम गर्नेछन् ।

जेनजी आन्दोलनको असर मदिरा व्यवसायमा, हिमालयन डिष्टिलरीको नाफा ५४.६१ प्रतिशत घट्यो

काठमाडौं । हिमालयन डिष्टिलरीको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा खुद नाफा ५४.६१ प्रतिशत घटेर ९ करोड २ लाख ५८ हजार रुपैयाँ गरेको छ । जबकि गत वर्षको असोजमा १९ करोड ८८ लाख ७१ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।  चालु आवको असोज मसान्तसम्ममा कम्पनीको कुल बिक्री आम्दानी २७.६४ प्रतिशत घटेर १ अर्ब ७ करोड ५७ लाख ८८ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ४८ करोड ६६ लाख १४ हजार रुपैयाँ कुल बिक्री आम्दानी गरेको थियो ।  समीक्षा अवधिमा कम्पनीको कसल नाफा १५.१६ प्रतिशत घटेर ३६ करोड १० लाख रुपैयाँ र सञ्चालन नाफा ५२.४७ प्रतिशत घटेर १२ करोड ५७ लाख रुपैयाँ गरेको छ ।  कम्पनीको चुक्ता पुँजी १५ प्रतिशत बढेर ३ अर्ब ७ करोड ३४ लाख रुपैयाँ र जगेडा कोष ३२.६५ प्रतिशत बढेर १ अर्ब १८ करोड ९४ हजार रुपैयाँ रहेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी १८.०२ रुपैयाँ घटेर ११.७५ रुपैयाँमा सीमित भएको छ । असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १३८.०४ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १११.५२ गुणा रहेको छ । समीक्षा अवधिमा देशभर परेको भारी वर्षाबाट बाढी पहिरो, डुबानका कारण मदिराको विक्री वितरण गर्न प्रत्यक्ष प्रभाव पर्यो भने तराईमा भएको डुबानका कारणबाट स्थानीय स्तरमा हुने मदिरा कारोबार तथा खपतमा समेत प्रत्यक्ष प्रभाव परेको कम्पनीले जनाएको छ ।  साथै, जेनजी आन्दोलनको प्रभाव पनि देशभर परेको र आन्दोलनको प्रभाव मदिरा खरिद बिक्रीमा मात्र नभई केही समय सम्म उत्पादनमा समेत परेको कम्पनीको दाबी छ । सो आन्दोलनको प्रभाव अहिलेसम्म पनि उद्योगी, मदिरा व्यवसायीमा रहेको कम्पनीले जनाएको छ । जसबाट मदिरा व्यवसायले आफ्नो लय लिन कठिनाइ परिरहेको कम्पनीको भनाइ छ । 

२ लिटरबाट सुरु गरेका राना अहिले बेच्छन १ हजार ५ सय लिटर दुध, १३ लाख आम्दानी

  काठमाडौं । भारतमा मजदुरी गरेर परिवारको जोहो गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ का शिवचरण राना अहिले आफ्नै गाउँमा दूध बिक्रीबाट मनग्य आम्दानी गरिरहेका छन् । मजदुरी गर्दा अनेक दुःख भोगेका राना गाउँमा नै केही गर्ने योजना बनाएर भारत छोडेर स्वदेश फर्किएका हुन् । कुनै बेला भारतमा मजदुरी गर्ने राना अहिले गाउँमा डेरीका मालिक बनेका छन् । मजदुरी छोडेर मालिक बन्न रानाले धेरै मेहनत र सङ्घर्ष गर्नुपर्यो । विसं २०६८ देखि साइकलमा दूध सङ्कलन गरेर बिक्री गर्न सुरु गरेका उनी अहिले डेरी मालिक बन्न सफल भएका छन् । रानाले २ लिटर दूधबाट व्यवसाय सुरु गरेका हुन् । अहिले उनी दैनिक १ हजार ५०० लिटर दूध सङ्कलन गरेर बिक्री गर्दै आएका छन् । ‘भारतमा मजदुरी गर्दा अनेक दुःख पाइयो, गाउँ फर्किएर साइकलमा दूध बिक्री गर्न थालेँ,’ रानाले भने, ‘यसैबाट कमाएको रकम बचत गरेपछि अहिले आफ्नै डेरी व्यवसायसमेत सञ्चालन गरेको छु ।’ सुरुवातमा साइकलमा दूध सङ्कलन गर्दै हिँड्ने रानाले आफूलाई स्थापित गर्न धेरै सङ्घर्ष गरे । त्यही लगन र परिश्रमले उहाँलाई राम्रो आम्दानीसँगै सफल व्यवसायी समेत बने । गाउँगाउँबाट दूध सङ्कलन गरेर रानाले स्थानीय झलारी बजार, अत्तरिया र कैलालीमा बिक्री गर्दै आएका छन् । दूध बोक्न ६ जनालाई मासिक २० हजार रुपैयाँदेखि २६ हजार रुपैयाँसम्म तलब दिएर उहाँले कामदार राखेका छन् । ‘२ लिटर दूधबाट सुरु गरेको थिएँ, बिस्तारै दूध बढी सङ्कलन हुन थाल्यो । अहिले १ हजार ५०० लिटर दूध सङ्कलन हुन्छ,’ उनले भने ।  यसै व्यवसायबाट रानाले करिब ९० लाख रुपैयाँ बराबरको सम्पत्ति समेत जोडेका छन् । दूध बिक्रीबाट अहिले सबै खर्च कटाएर वार्षिक १३ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको रानाले बताए ।  ‘यसबाट म एकदमै खुसी छु, अहिले छोरालाई पनि यसै व्यवसायमा लगाएको छु,’ उनले भने ।

चीनको ब्याट्री उद्योगमा तीव्र वृद्धि, शीर्ष १० विश्व कम्पनीमध्ये ६ वटा चिनियाँ

काठमाडौं । चीनको ब्याट्री उद्योग यस वर्षको पहिलो तीन महिनामा द्रुत विकास भएको छ। बिक्री अघिल्लो वर्षको तुलनामा ४८.९ प्रतिशतले बढेको छ। नयाँ उर्जा सवारी साधनको विश्वव्यापी लोकप्रियताले ब्याट्रीको मागलाई बढाएको उद्योग सम्मेलनले जनाएको छ । चीनको ब्याट्री निर्यात यस अवधिमा १२९ गिगावाट घण्टा पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३२.७ प्रतिशतले बढी हो । २०२५ विश्व ब्याट्री सम्मेलन यिबिनमा आयोजना गरिएको थियो, जहाँ नयाँ डाटा सार्वजनिक गरिएको थियो । विश्वव्यापी रूपमा, चीनले ब्याट्री क्षेत्रमा आफ्नो अग्रणी स्थिति अझ बलियो बनाएको छ । सन् २०२४ मा शीर्ष १० विश्व ब्याट्री कम्पनीमध्ये ६ वटा चिनियाँ कम्पनी रहेका छन् । यी कम्पनीहरूले विश्वव्यापी ब्याट्री स्थापना भोल्युमको ६७.१ प्रतिशत भाग ओगटेका छन्, जुन अघिल्लो वर्षको तुलनामा करिब ४ प्रतिशतले बढी हो । गत वर्ष विश्वव्यापी ब्याट्री स्थापना भोल्युम ८९४.४ गिगावाट घण्टा पुगेको छ, जुन वार्षिक रूपमा २७.२ प्रतिशतको वृद्धि हो । नयाँ उर्जा सवारी साधनको बिक्री र पहुँचले यस वृद्धिमा ठूलो योगदान दिएको छ । सन्‌ २०२५ विश्व ब्याट्री सम्मेलनमा उद्योग प्रतिनिधि, विज्ञ र प्रमुख कम्पनीहरू सहभागी भएका थिए । सम्मेलनमा चीनका प्रमुख ब्याट्री निर्माता कम्पनीहरू पनि उपस्थित थिए । वार्षिक सम्मेलन २०२२ मा यिबिनमा सुरु भएको हो, जुन चीनको प्रमुख ब्याट्री उत्पादन केन्द्र हो । विगत तीन वर्षमा सम्मेलनमार्फत ६०० भन्दा बढी नयाँ उत्पादनहरू सार्वजनिक भएका छन् र २४९ ठूला परियोजनामा करिब ३०० अर्ब युआनको लगानी भएको छ ।

एआईमा अमेरिकापछि चीन दोस्रो स्थानमा, आम्दानी ६.७९ प्रतिशतले वृद्धि

काठमाडौं । संयुक्त राज्य अमेरिका र चीन कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विकासमा विश्वका २ प्रमुख अगुवा राष्ट्रका रूपमा रहेका छन् । सन् २०१४ देखि २०२३ सम्म चीनले कृत्रिम बुद्धिमत्ता सम्बन्धी सबैभन्दा धेरै आविष्कार दर्ता गरेको एक विज्ञले बताए । अन्तर्राष्ट्रिय व्यवस्थापन विकास संस्थानद्वारा सार्वजनिक दोस्रो कृत्रिम बुद्धिमत्ता प्रगति सूचकाङ्क अनुसार, प्रविधि क्षेत्रमा अमेरिकी कम्पनीहरू अग्रस्थानमा छन् भने चीनका कम्पनीहरू दोस्रो स्थानमा रहेका छन् । उक्त संस्थानका रणनीति तथा डिजिटल अध्ययनका प्राध्यापक माइकल वेडका अनुसार, चीनले कृत्रिम बुद्धिमत्ताको प्रयोग उद्योग, स्वास्थ्य उपचार र स्वचालित सवारी साधनजस्ता व्यावहारिक क्षेत्रमा विस्तार गर्न केन्द्रित भएको छ । यसले देशको आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने उनको भनाइ छ । वेडले भने, ‘उन्नत कम्प्युटर चिप्स प्राप्त गर्न कठिनाइ भए पनि चीनले सन् २०१४ देखि २०२३ सम्म ३८ हजारभन्दा बढी कृत्रिम बुद्धिमत्तासम्बन्धी आविष्कार दर्ता गरेको छ, जुन सङ्ख्या अमेरिकाभन्दा निकै बढी हो ।’ उनका अनुसार चीन अत्यन्त शक्तिशाली प्रणाली निर्माणभन्दा पनि त्यसलाई सुलभ र व्यावहारिक रूपमा जनजीवनमा प्रयोगमा ल्याउन बढी ध्यान दिइरहेको छ । प्रविधि र सञ्चार क्षेत्रका ठूला कम्पनीहरूले कृत्रिम बुद्धिमत्ताको प्रयोगका लागि ठूलो परिमाणमा लगानी गरिरहेका छन् । चीनका प्रविधि र बीमा क्षेत्रका कम्पनीहरू सबैभन्दा सक्षम देखिएका छन्, भने ऊर्जा र निर्माणजस्ता परम्परागत सरकारी उद्योगहरू अझै पछि रहेका छन् । प्रतिवेदनले कृत्रिम बुद्धिमत्ता प्रयोगमा परिपक्व कम्पनीहरूले औसत वार्षिक आम्दानी ६.७९ प्रतिशतले वृद्धि गरेका देखाएको छ भने यस प्रविधिमा कमजोर कम्पनीहरूको आम्दानी ०.५१ प्रतिशतले घटेको छ । स्विट्जरल्यान्डमा मुख्य कार्यालय रहेको उक्त संस्थानले लोजान र सिङ्गापुरमा शिक्षण केन्द्र सञ्चालन गर्दै आएको छ र हालै चीनको शेन्जेन शहरमा पनि आफ्नो कार्यदल स्थापना गरेको छ ।

कालीगण्डकी कोरिडोर: लस्ती-बेनी खण्ड कालोपत्र गरिँदै

काठमाडौं । कालीगण्डकी कोरिडोर अन्तर्गत लस्ती-बेनी खण्डमा कालोपत्र गर्न थालिएको छ । यो मालढुङ्गा–बेनी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मुख्य सडक हो । बेनी-जोमसोम-कोरला सडक योजनाका सूचना अधिकारी इन्जिनियर विष्णु चापागाईका अनुसार आज फर्सेदेखि बेनीतर्फको बाटो कालोपत्र गरिने छ ।  ‘१३ किलोमिटर लामो मालढुङ्गा-बेनी सडकको पहिरो प्रभावित क्षेत्रमा २ किलोमिटर ढलान भइसकेको छ,’ उनले भने । यसअघि मालढुङ्गा-बेनी सडक अन्तर्गत पर्वतको कुश्मा नगरपालिका-१ मालढुङ्गादेखि जलजला गाउँपालिका-८ नाग्लीवाङको फर्सेसम्म पाँच किलोमिटर कालोपत्र भएको थियो । मालढुङ्गा-बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर अस्फाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न २०७७ साल चैतमा ५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

४ दिनदेखि अन्धकार सदरमुकाम, बिजुली आउन शनिबारसम्म कुर्नुपर्ने

काठमाडौं । हुम्ला सदरमुकाम सिमकोट ४ दिनदेखि अन्धकार भएको छ । सदरमुकामको एक मात्र हिल्दुम जलविद्युत वितरण केन्द्रमा खराबी आएपनि मर्मत हुन नसक्दा विद्युत् आपूर्ति बन्द भएको हो । अन्य विद्युतको स्रोत नहुँदा विद्युतबाट हुने सम्पूर्ण कार्य प्रभावित भएका छन् । यतिबेला केही सरकारी कार्यालयमा ‘सोलार’ राखिएको भए पनि हिउँदको समयमा खासै घाम नलाग्ने भएकाले मोबाइल चार्ज गर्न समेत समस्या भएको छ । मोबाइल र ल्यापटप चार्ज गर्न समेत नपाएकाले समाचार सङ्कलन र सम्प्रेषणमा समेत समस्या भएको सञ्चारकर्मी नरजङ तामाङले बताए । सदरमुकाम सिमकोट र खार्पुनाथ गाउँपालिकामा विद्युत् आपूर्ति गर्दै आएको हिल्दुम विद्युत वितरण केन्द्रको विद्युत गृहलगायतका संरचनामा मर्मत कार्य गर्नुपर्ने भएकाले विद्युत् वितरण बन्द गरिएको वितरण केन्द्रका प्रमुख इन्जिनियर जितेन्द्र शाहले बताए ।  मर्मत कार्य चाँडो गर्न सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्दले मर्मत स्थलमा पुगेर निर्देशन दिएका छन् । शनिबारसम्म विद्युत आपूर्ति सञ्चालन गर्ने गरी काम भइरहेको उनको भनाइ छ ।  त्यसैगरी मुहानदेखि फर्बेसम्मको नहरमा पानी चुहिने स्थानको पनि मर्मत कार्य पूरा भएको छ । 

कुनै प्रणालीको प्रभाव नभएपछि देशभरको मौसम सफा रहने

काठमाडौं । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने बताएको छ । त्यसैगरी, आज राति देशभरको मौसम सामान्यतया सफा रहने छ ।