विकासन्युज

१०९ क्षेत्रमा मत गणना हुँदा रास्वपा ८४ ठाउँमा अगाडि, कांग्रेस र नेकपाबीच दोस्रो हुने प्रतिस्वपर्धा

काठमाडौं ।  प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले ८३ ठाउँमा अग्रता लिएको छ । विभिन्न निर्वाचन क्षेत्रमा भइरहेको मतगणनाको पछिल्लो अपडेट अनुसार रास्वपा ८३ वटा ठाउँमा अग्रता लिएको छ । हालसम्म रास्वपाले एक ठाउँमा विजय हासिल गरिसकेको छ । काठमाडौं क्षेत्र १ का उम्मेदवार रञ्जु दर्शना विजयी भइसकेकी छन् ।  यस्तै, नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीबीच प्रतिस्पर्धा भइरहेको छ । नेपाली कांग्रेसले पनि एक ठाउँमा विजयको खाता खोलिसकेको छ । मुस्ताङ–१ बाट कांग्रेसका योगेश गौचन थकाली विजयी भइसकेका छन् । कांग्रेस र नेकपा दुवै पार्टी ८ वटा ठाउँमा अगाडि छन् भने नेकपा एमाले ७ ठाउँमा अगाडि छ ।  हाल १०७ ठाउँमा मतगणना भइरहेको छ । दुई ठाउँको नतिजा आइसकेको छ । 

पर्सा -२ मा रास्वपाका कानु १ हजार मतसहित अगाडि

वीरगञ्ज । पर्सा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशीलकुमार कानुले १ हजार ७७ मतसहित अग्रता लिएका छन् ।  निर्वाचन अधिकृत मधुसुदन आचार्यका अनुसार २३ सय ४७ मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार रिमा यादवले ७ सय ४३, नेपाली कांग्रेसका अजयकुमार चौरसियाले ३३० मत प्राप्त गरेका छन् ।  पर्सा-२ मा  विभिन्न दलका १७ र स्वतन्त्र १२ जना गरी ३१ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यसैगरी, ९५ हजार १२० जना मतदाता रहेकामा यहाँ प्रत्यक्षतर्फ ६६ हजार ५७ र समानुपातिकतर्फ ६७ हजार ५७ मत खसेको छ ।  

बैतडीमा मतगणना सुरु

काठमाडौं । बैतडी जिल्लामा सम्पन्न निर्वाचनको मतगणना सुरु गरिएको छ ।  मतदान केन्द्रबाट संकलित मतपेटिका कडा सुरक्षा व्यवस्थाका बीच जिल्ला सदरमुकाम गढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएपछि मतगणना प्रक्रिया थालिएको हो ।  मतगणना सिगास गाउँपालिकाबाट सुरु भएको बताइएको छ । बिहीबार भएको मतदानमा ७३ हजार १४८ मत मत खसेको थियो ।  प्रतिनिधि सभाका लागि एक मात्रै निर्वाचन क्षेत्र रहेको बैतडीमा ११ जना चुनावी मैदानमा रहेका छन् । 

तीन पूर्वप्रधानमन्त्री: ओली र नेपाल रेड जोनमा, अग्रता लिँदै प्रचण्ड

काठमाडौं । प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका तीन पूर्वप्रधानमन्त्रीमध्ये पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अग्रता कायम गरेका छन् भने केपी शर्मा ओली र माधवकुमार नेपाल पछि परेका छन् । तीन पूर्वप्रधानमन्त्रीमध्ये ओली झापा जिल्ला क्षेत्र नम्बर-५, प्रचण्ड रुकुम पूर्व जिल्ला र नेपाल रौतहट जिल्ला क्षेत्र नम्बर-१ बाट उम्मेदवार छन् । यी क्षेत्रमा अहिले मतगणना जारी रहेको छ। पछिल्लो मतपरिणाम अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजकसमेत रहेका प्रचण्डले रुकुम पूर्वमा ५ हजार ९२४ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् । नेकपा (एमाले) का उम्मेदवार लीलामणि गौतमले २ हजार ९१ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसकी कुसुमदेवी थापाले १ हजार ७०९ मत प्राप्त गरेकी छन् । त्यस्तै झापा-५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह अग्रस्थानमा रहेका छन् । ७ हजार ६५१ मत गणना हुँदा साहले ५ हजार २५४ मत प्राप्त गरेका छन् भने नेकपा एमाले का अध्यक्ष ओलीले १ हजार २४८ मत पाएका छन् ।  यसैगरी रौतहट जिल्ला क्षेत्र नम्बर-१ मा पनि रास्वपाका राजेश चौधरी अग्रस्थानमा रहेका छन् । गरुडा-१ जगनगरमा ३ हजार ३६१ मतगणना हुँदा चौधरीले १ हजार ४९९ मत प्राप्त गरेका छन् । जनता समाजवादी पार्टीका योगेन्द्र यादव ले ६३१ मत, नेपाली कांग्रेस का अनिल कुमार झाले ३६६ मत प्राप्त गरेका छन् भने पूर्वप्रधानमन्त्री नेपालले ३२० मत प्राप्त गरेका छन् ।

रौतहट-१ मा माधव नेपाललाई चुनौती, मतगणनामा पाँचौं स्थानमा

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन रौतहट क्षेत्र नम्बर १ को मतगणनाको प्रारम्भिक चरणमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार माधवकुमार नेपाललाई चुनौती देखिएको छ । त्यहाँ उनी पाँचौ स्थानमा छन् ।  रास्वपा उम्मेदवार राजेश चौधरीले अग्रता लिएका छन् ।  गौरको जुद्ध माध्यमिक विद्यालयमा रहेको मतगणना केन्द्रमा गरुडा १ जयनगरको मतगणना हुँदा उनले २२० मत प्राप्त गरेका छन् । रास्वपाका चौधरीको पक्षमा ७०६ मत आउँदा जसपा उम्मेदवार योगेन्द्र यादवले ५५७ र नेपाली काँग्रेस उम्मेदवार अनिलकुमार झाले ३१२ मत प्राप्त गरेका छन् । यसैगरी नेकपा एमालेका अजयकुमार गुप्ताले २८८ मत पाएका छन् ।  राजनीतिक जीवनकै जोखिमपूर्ण चुनावमा माधव नेपाल

धादिङ–१ मा आशिका दोब्बर मतले अगाडि

धादिङ ।  धादिङ- १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का आशिका तामाङ दोब्बर मतले अगाडि छिन् । पछिल्लो मत परिणामअनुसार उनी २ हजार २२३ मतले अगाडि छिन् । उनले हालसम्म कुल ४  हजार ३१७ मत प्राप्त गरेकी छिन् ।  निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा एमालेका भूमि त्रिपाठीले दुई हजार ९४ मत ल्याएका छन् । तेस्रोमा नेपाली कांग्रेसका कृष्ण रिजालले एक हजार १८६ र नेपाली कम्युनिष्ट पार्टीका राजेन्द्र पाण्डेले एक हजार १२४ मत प्राप्त गरेका छन् । 

मन्त्री छोडेर चुनावी मैदानमा गएका चार मन्त्री : खरेल र पुन अगाडि, घिसिङ दबाबमा

काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका ४ मन्त्रीहरूले पदबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरेका छन् । ऊर्जा मन्त्री कुलमान घिसिङ, सञ्चारमन्त्री जगदिश खरेल, शिक्षामन्त्री महावीर पुन र खेलकुद मन्त्री बब्लु गुप्ता चुनावी मैदानमा उत्रिएका हुन् ।  चारैमध्ये सञ्चारमन्त्री जगदिश खरेल र खेलकुद मन्त्री बब्लु गुप्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका छन् । ऊर्जा मन्त्री कुलमान घिसिङ उज्यालो पार्टीबाट र शिक्षामन्त्री महावीर पुन स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेका छन् ।  प्रारम्भिक मतगणनाले ललितपुर-२ मा खरेललाई स्पष्ट अग्रता दिएको छ । उनले ३ हजार १९९ मत ल्याउँदा दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले ४९३ मत पाएका छन् भने नेकपा एमालेका प्रेमबहादुर महर्जन ४०७ मतसहित तेस्रो स्थानमा छन् । प्रारम्भिक नतिजाले खरेलको जिततर्फ बलियो संकेत गरेको देखिन्छ ।  काठमाडौं-३ मा भने पूर्वऊर्जामन्त्री घिसिङ र रास्वपाका राजुनाथ पाण्डेबीच कडा प्रतिस्पर्धा भइरहेको छ । पछिल्लो मतगणना अनुसार पाण्डेले ६ हजार ५ सय ८४ मत ल्याउँदा घिसिङ ४ हजार २ सय २० मतमा सीमित छन् । दुई हजारभन्दा बढी मतले पछि परेका घिसिङलाई जित निकाल्न चुनौतीपूर्ण देखिएको छ । म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन पनि अगाडि छन् ।  सिराहा-१ मा भने खेलकुद मन्त्री बब्लु गुप्ता उम्मेदवार रहे पनि मतगणना सुरु भएको छैन । यस क्षेत्रमा नेपाली कांग्रेसका रामसुन्दर चौधरी र नेकपा एमालेका रामशंकर यादव मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् । तर, देशभरि र मधेस प्रदेशको राजनीतिक रुझानलाई हेर्दा गुप्ता पनि जितका बलिया दाबेदार मानिएका छन् । निर्वाचनको प्रारम्भिक परिणामले अन्तरिम सरकारका मन्त्रीहरूको राजनीतिक भविष्य कस्तो बन्छ भन्ने चासो बढाएको छ । 

रौतहट –१ मा रास्वपाका राजेश चौधरी अगाडि

रौतहट  । रौतहट- १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजेश चौधरी १ हजार ४९९ मतसहित शीर्ष स्थानमा छन् । जनता समाजवादी पार्टीका योगेन्द्र यादवले  ६३१ मत ल्याएका छन् भने  नेपाली कांग्रेसका अनिल कुमार झाले ३६६ मत ल्याएका छन् । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल  भने ३२० मतसहित  पाँचाैमा छन् ।