एआई र मानव सङ्गीत छुट्याउन नसक्ने अवस्थामा मानिसहरू : विश्वव्यापी सर्वेक्षणको निष्कर्ष
पेरिस । हालै सार्वजनिक गरिएको एक अन्तर्राष्ट्रिय सर्वेक्षणले मानिसहरूका लागि कृत्रिम बुद्धिमत्ता (एआई) द्वारा सिर्जना गरिएको सङ्गीत र मानवद्वारा कम्पोज गरिएको सङ्गीतबीचको भिन्नता छुट्याउन झण्डै असम्भव भइसकेको देखाएको छ । फ्रान्सस्थित सङ्गीत स्ट्रिमिङ प्लेटफर्म डिजरका लागि पोलिङ फर्म इप्सोसले गरेको अध्ययनमा करिब नौ हजार सहभागीलाई एआईले पूर्ण रूपमा उत्पन्न गरेको दुईवटा सङ्गीत क्लिप र मानवद्वारा सिर्जना गरिएको एउटा क्लिप सुन्न आग्रह गरिएको थियो । नतिजा अनुसार, 'सर्वेक्षणमा सहभागी ९७ प्रतिशत व्यक्तिले एआई–निर्मित र मानव–निर्मित सङ्गीतबीचको स्पष्ट भिन्नता छुट्याउन सकेनन्', डिजरले बुधबार जारी गरेको विज्ञप्तिमा जनाएको छ । सर्वेक्षण अक्टोबर ६ देखि १० सम्म ब्राजिल, बेलायत, क्यानाडा, फ्रान्स, जर्मनी, जापान, नेदरल्यान्ड्स र संयुक्त राज्य अमेरिकामा सञ्चालन गरिएको थियो । डिजरका अनुसार आधाभन्दा बढी सहभागीहरूले फरक छुट्याउन नसक्दा आफूलाई ‘असहज’ महसुस गरेको बताएका थिए । अध्ययनका क्रममा एआई प्रविधिको व्यापक प्रभावबारे पनि प्रश्नहरू सोधिएको थियो । करिब ५१ प्रतिशत उत्तरदाताले एआईका कारण स्ट्रिमिङ प्लेटफर्महरूमा ‘कम गुणस्तरको सङ्गीत’ बढ्ने विश्वास व्यक्त गरे भने झण्डै दुई तिहाइले यसले ‘सङ्गीतमा मौलिक रचनात्मकता घटाउने जोखिम’ रहेको धारणा राखे । डिजरका प्रमुख कार्यकारी अधिकृत एलेक्सिस ल्यान्टर्नियरले विज्ञप्तिमा भने, 'यो सर्वेक्षणले श्रोता समुदायले सङ्गीतप्रति गहिरो चासो राख्छन् भन्ने स्पष्ट रूपमा देखाउँछ । उनीहरू एआईले बनाएको वा मानिसले सिर्जना गरेको ट्र्याक सुन्दैछन् भनेर थाहा पाउन चाहन्छन् ।' कम्पनीका अनुसार पछिल्ला महिनाहरूमा यसको प्लेटफर्ममा एआई–निर्मित सामग्रीको अपलोड दर तीव्र गतिमा बढिरहेको छ र यस्ता गीतहरूले ठूलो सङ्ख्यामा श्रोता पनि पाएका छन् । सन् २०२५ को जनवरीमा प्रत्येक दिन स्ट्रिम गरिएका १० मध्ये केवल एउटा ट्र्याक एआई–निर्मित थियो, तर दश महिनापछि त्यो अनुपात बढेर तीनमध्ये एक अर्थात् दैनिक झण्डै ४० हजार एआई गीतसम्म पुगेको छ । सर्वेक्षणमा सहभागी ८० प्रतिशत उत्तरदाताले एआई–निर्मित सङ्गीतलाई स्पष्ट रूपमा चिह्न लगाएर प्रस्तुत गर्नुपर्ने माग गरेका छन् । डिजर हालसम्मको एक मात्र प्रमुख स्ट्रिमिङ प्लेटफर्म हो जसले आफ्ना प्रयोगकर्ताका लागि पूर्ण रूपमा एआई–निर्मित सामग्रीलाई व्यवस्थित रूपमा लेबल गर्दै आएको छ । यस वर्षको जुन महिनामा द भेलभेट सनडाउन नामक एउटा ब्यान्डको गीत स्पोटिफाइमा भाइरल भएपछि यो विषयले थप चर्चा पाएको थियो । पछि मात्र त्यो गीत वास्तवमा एआई–निर्मित भएको पुष्टि भएको थियो । सो ब्यान्डको सबैभन्दा चर्चित गीत ३० लाखभन्दा बढी पटक स्ट्रिम गरिएको छ । यस घटनापछि स्पोटिफाइले कलाकार र प्रकाशकहरूलाई सङ्गीत निर्माणमा एआई प्रयोगबारे स्पष्ट खुलासा गर्न प्रोत्साहित गर्ने ‘स्वैच्छिक उद्योग आचारसंहिता’ मा हस्ताक्षर गर्न आग्रह गर्ने घोषणा गरेको छ । रासस
गगनलाई जीतजंगको प्रश्न- क्रियाशील सदस्यता टुंग्याएको खोइ ?
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले पार्टीका महामन्त्री गगनकुमार थापामाथि विशेष महाधिवेशनको नाममा संगठन कब्जा गर्ने प्रयास गर्न खोजेको आरोप लगाएका छन् । ‘आफूले गर्नैपर्ने क्रियाशील सदस्यता व्यवस्थापनको काम एक तिहाइ पनि नगर्ने अनि विशेष महाधिवेशनको माग गर्ने?,’ उनले थापालाई सोधेका छन । उनले थापालाई ‘क्रियाशील सदस्यता नवीकरण कहिले टुंगिन्छ’ भन्ने प्रश्नसमेत गरे । सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बुधबार बोल्दै बस्नेतले विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षर संकलनको जिम्मेवारीसमेत महामन्त्री थापाले लिएको भन्दै शंका व्यक्त गरे । उनले भने, ‘विशेष महाधिवेशनका नाममा संगठन कब्जा गर्ने सोच त होइन ?’ बस्नेतले अहिलेको मुख्य प्राथमिकता नेतृत्व परिवर्तन नभई पार्टीको नीति, कार्यक्रम र सञ्चालन प्रणालीको पुनरावलोकन हुनुपर्ने बताए । उनका अनुसार आजको आवश्यकता नेतृत्व बदल्नु होइन, पार्टीलाई कसरी मजबुत बनाउने भन्ने हो । थापाको नेतृत्वमा केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर संकलन सुरु गरेका थिए । सो पहललाई केही नेताहरूले सकारात्मक रूपमा लिए पनि केहीले यसलाई संगठनभित्र अस्वस्थ प्रतिस्पर्धा बढाउने कदमका रूपमा व्याख्या गरिरहेका छन् ।
मेरो माइक्रोफाइनान्सले मनायो १३औं वार्षिक उत्सव, १५ अर्बभन्दा बढी कर्जा लगानी
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १३औं वार्षिक उत्सव देशभरका शाखा कार्यालयहरूसँगै उत्साहपूर्वक मनाएको छ । संस्थाले स्थापना दिवसको अवसरमा केन्द्रीय कार्यालयदेखि सबै शाखा कार्यालयसम्म विविध कार्यक्रमका साथ उत्सव सम्पन्न गरेको हो । नुवाकोटको बट्टारमा २०६९ साल कात्तिक २६ गते राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाका रूपमा स्थापना भएको मेरो माइक्रोफाइनान्सले छोटो अवधिमा उल्लेखनीय प्रगति गर्न सफल भएको जनाएको छ । संस्थाको पहिलो वर्षमा १५ शाखामार्फत १४ हजारभन्दा बढी घरपरिवारलाई वित्तीय पहुँच दिलाएको संस्थाले हालसम्म देशका ६४ जिल्लामा १४९ शाखा सञ्जालमार्फत १ लाख ५३ हजारभन्दा बढी घरपरिवारसम्म सेवा विस्तार गरेको छ । हालसम्म संस्थाले ३ अर्ब ९८ करोड निक्षेप संकलन गरी १५ अर्ब रूपैयाँभन्दा बढी कर्जा लगानी गर्न सफल भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले छोटो अवधिमा संस्थाले पाएको सफलता ग्राहकको माया, नियमनकारी निकायको मार्गदर्शन, सेयरधनी सदस्यहरूको भरोसा र कर्मचारीहरूको अतुलनीय योगदानको परिणाम भएको बताएका छन् । उनले संस्थाको छवि आज माइक्रोफाइनान्स क्षेत्रमा अग्रणी संस्थाका रूपमा स्थापित हुन सफल भएकोमा खुसी व्यक्त गरे । दाहालका अनुसार संस्थाले कारोबार विस्तारसँगै जोखिम व्यवस्थापनलाई पनि प्रभावकारी रूपमा अघि बढाएको छ । हाल संस्थाले ८ वटा विभाग, ७ वटा प्रदेशीय संरचना र १९ वटा अनुगमन स्टेशनमार्फत कार्यक्रमको प्रभावकारिता मापन गर्दै आएको छ । देशका ७ बाणिज्य बैंक र १ विकास बैंकको संयुक्त लगानीमा प्रवर्द्धन भएको मेरो माइक्रोफाइनान्सले ग्राहकका आवश्यकताअनुसार बचत, कर्जा, बीमा र रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ । संस्थाले कर्जा तर्फ बिना धितो, सामूहिक जमानी र धितो कर्जाका विभिन्न योजना सञ्चालन गर्दै आएको छ भने डिजिटल पहुँच बढाउँदै मोबाइल बैंकिङ र एसएमएस बैंकिङ सेवा पनि प्रदान गरिरहेको छ । संस्थाले आगामी वर्षहरूमा पनि प्रविधिमैत्री, समावेशी र सुरक्षित वित्तीय सेवाको दायरा अझ विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ ।
पूर्वगृहमन्त्री लेखकको दावी– स्थानहद र राहदानी रोक्का गरिएकोबारे जानकारी छैन
काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले अन्तरिम सरकारले आफूलाई स्थानहद तोकेको र राहदानी रोक्का गरेको विषयमा कुनै पनि औपचारिक जानकारी नदिएको दावी गरेका छन् । उनले सरकार वा कुनै पनि निकायले न त लिखित रूपमा न त मौखिक रूपमा सूचना दिएको जनाएका छन् । कांग्रेस केन्द्रीय समिति बैठकमा सरकारको निर्णयबारे बोल्दै कुन संविधान, कुन कानुन, कुन ऐनको कुन प्रावधानअनुसार यस्तो निर्णय गरियो भन्ने आजसम्म थाहा नपाएको बताए । उनले स्थानहद गर्ने वा राहदानी रोक्का गर्ने निर्णय किन र कति अवधिका लागि गरिएको हो भन्नेबारे पनि जानकारी नभएको स्पष्ट पारे । लेखकका अनुसार करिब दुई महिना अघि आफू र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्थानहद तोकेर राहदानी रोक्का गर्ने निर्णय भएको कुरा आफूले समाचारका माध्यमबाट मात्र सुनेको दावी गरे ।
रेसुंगा विमानस्थलमा अब हप्तामा चार दिन नियमित उडान हुने
काठमाडौं । गुल्मीको रेसुंगा विमानस्थलबाट अब हप्तामा चार दिन नियमित उडान हुने भएको छ । नेपाल वायुसेवा निगमले विन्टर सेड्युलअन्तर्गत नयाँ उडान तालिका सार्वजनिक गर्दै यो व्यवस्था लागू गरेको हो । नयाँ तालिका नोभेम्बर १२ देखि नोभेम्बर ३० सम्मका लागि प्रभावकारी हुने निगमले जनाएको छ । सार्वजनिक तालिकाअनुसार आइतबार, मंगलबार, बिहीबार र शनिबार काठमाडौं–रेसुंगा–काठमाडौं रुटमा नियमित उडान हुनेछ । उडान समयअनुसार आइतबार बिहान सवा ८ बजे र मंगलबार, बिहीबार र शनिबार बिहान साढे छ बजे उडान हुने व्यवस्था गरिएको छ । यो व्यवस्था रेसुंगादेखि काठमाडाैं रुटमा पनि लागू हुनेछ । यो रुटमा निगमले आफ्ना ट्विनटर विमान प्रयोग गर्नेछ । काठमाडौंदेखि रेसुंगासम्मको उडान समय करिब ४५ देखि ५० मिनेट रहनेछ । नेपाल वायुसेवा निगमका अनुसार यात्रुको माग र हावापानीको अवस्थालाई ध्यानमा राख्दै तालिका परिमार्जन गरिएको हो । निगमले रेसुंगा रुटलाई ग्रामीण हवाई सेवा सञ्जालको महत्त्वपूर्ण हिस्सा मानेको छ । रेसुंगा विमानस्थलमा नियमित उडान विस्तारले गुल्मी, पाल्पा, स्याङ्जा र आसपासका क्षेत्रका नागरिकका लागि राजधानी आवतजावतमा सहजता र समय बचतको अवसर प्रदान गरेको छ । यससँगै, देशका अन्य साना विमानस्थलहरूमा पनि विन्टर सेड्युल अनुसार नयाँ तालिका कार्यान्वयन हुँदै गएको निगमले जनाएको छ ।
स्काउटभित्रको आर्थिक अनियमितता छानविनका लागि समिति गठनको माग
काठमाडौं । नेपाल स्काउट शुद्धीकरण अभियान र नेपाल स्काउट प्रगतिशील संघर्ष समितिले स्काउटभित्र देखिएका आर्थिक अनियमितता, विकृति र विसंगतिबारे छानविन गर्न स्वतन्त्र समिति गठन गर्न माग गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा आयोजित संयुक्त पत्रकार सम्मेलनमार्फत दुबै संगठनले युवा तथा खेलकुद मन्त्रालयलाई महालेखा परीक्षक कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, आन्दोलनरत संस्था तथा नेपाल स्काउटका प्रतिनिधिलाई समावेश गरी छानविन समिति गठन गर्न आग्रह गरेका हुन् । नेपाल स्काउट शुद्धीकरण अभियानका संयोजक देवदूत अधिकारीले स्काउटभित्रका बेथिति, भ्रष्टाचार र गैरजिम्मेवार गतिविधिका विरुद्ध आफूहरू निरन्तर आन्दोलनरत रहेको बताएका छन् । उनका अनुसार तत्कालीन युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुको पालादेखि नै आन्दोलन जारी रहेको र सम्बन्धित निकायले अझै गम्भीर ध्यान नदिएको बताइएको छ । संघर्षरत समूहले स्काउट संस्था युवाको चरित्र निर्माण र सामाजिक नेतृत्व विकासका लागि स्थापित भए पनि पछिल्ला वर्षमा यस संस्थाभित्र आर्थिक पारदर्शिताको अभाव र आन्तरिक राजनीति हावी भएको आरोप पनि लगाएका छन् । उनीहरूले छानविन समितिको प्रतिवेदन सार्वजनिक गरी दोषी ठहरिएका व्यक्तिलाई कानूनी कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
२५४४ बिन्दुमा नेप्से, ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट
काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २० अंकले घटेर २५४४ बिन्दुमा झरेको हो । नेप्सेका अनुसार ४९ कम्पनीको सेयर मूल्य बढ्दा १९८ कम्पनीको मूल्य घटेको छ । ७ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बुधबार ३२१ कम्पनीको ८४ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्राइस्ट्रक्चरको भएको छ । एनआरएनको ४० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, राधी विद्युत कम्पनीको २२ करोड, साहस उर्जाको १४ करोड, युनियन हाइड्रोपावरको १३ करोड र शिवम् सिमेन्टको ७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । भुगोल इनर्जी र सागर डिस्टीलरीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यसैगरी बुंगल हाइड्रो र बन्दिपुर केबलकारको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । बुधबारको कारोबारमा उत्पादन बाहेक सबै समूहका सूचक घटेका छन् । उत्पादन समूह ०.२३ प्रतिशतले बढेको छ । त्यस्तै व्यापार समूह सबैभन्दा धेरै २.३५ प्रतिशत घटेको छ । बैंकिङ ०.६७, विकास बैंक ०.३०, फाइनान्स ०.७९, होटल तथा पर्यटन ०.१८, हाइड्रोपावर ०.७०, लगानी ०.९९, जीवन बीमा ०.९९, माइक्रोफाइनान्स ०.६९, निर्जीवन बीमा ०.५४ र अन्य समूह १.३३ प्रतिशतले घटेको छ ।
कांग्रेस केन्द्रीय समितिमा श्याम घिमिरेको प्रस्ताव– कांग्रेस संसद् पुन:स्थापनाको पक्षमा उभिनुपर्छ
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्याम घिमिरेले पार्टी संसद् पुनःस्थापनाको पक्षमा स्पष्ट रूपमा उभिनुपर्ने सुझाव दिएका छन् । जारी केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टीले अघिल्लो धारणा र संवैधानिक व्याख्यामा संलग्नता कायम गर्नुपर्ने बताएका हुन् । घिमिरेका अनुसार कांग्रेसले यसअघि नै वर्तमान सरकारको गठन प्रक्रिया र संसद् विघटनलाई असंवैधानिक भनेको हुँदा अहिले पुन:स्थापनाको पक्षमा उभिनु पार्टीको राजनीतिक र नैतिक दायित्व हो । ‘हामीले असंवैधानिक भनिसकेका कुरा सुधार्ने उपाय संसद् पुनःस्थापना हो, त्यसैले कांग्रेसले अब त्यसको पक्षमा नेतृत्व लिनुपर्छ,’ उनले बैठकमा भनेका छन् । घिमिरेले हालको राजनीतिक अवस्थाबारे पनि चिन्ता व्यक्त गर्दै लोकतान्त्रिक व्यवस्थाको संरक्षणका लागि संसद् पुनःस्थापनालाई आवश्यक कदमका रूपमा व्याख्या गरेका छन् । उनका अनुसार संविधानको मर्मअनुसार जनप्रतिनिधिहरूले आफ्नो कार्यकाल पूरा गर्न पाउनुपर्छ । संसद् विघटनले जनताको अधिकार कमजोर बनाउने उनको भनाइ छ । घिमिरेको यो भनाइ कांग्रेसभित्रको जारी छलफलसँग जोडिएको छ, जहाँ नेताहरूबीच सरकारको असंवैधानिकता, आगामी राजनीतिक रणनीति र पार्टीको भूमिकाबारे मतभेद देखिएको छ । केही नेताहरूले तत्काल निर्वाचनको तयारीमा जोड दिइरहेका छन् भने केहीले संसद् पुनःस्थापनालाई लोकतन्त्रको निरन्तरताका लागि अनिवार्य ठहर गरिरहेका छन् ।