वीर अस्पतालमा १० वटा भाइरसको परीक्षण एकै पटक, समय र खर्च दुवै बचत
काठमाडौं । वीर अस्पतालमा श्वासप्रश्वास सम्बन्धी १० वटा विभिन्न रोगका भाइरसको एकै पटक परीक्षण सुरु गरिएको छ । अस्पतालको मेडिकल जेनेटिक्स (अनुवाङ्शिक) प्रयोगशालामा श्वासप्रश्वास सम्बन्धी १० प्रकारका रोगको भाइरसको एकै पटक एकै समयमा परीक्षण सुरु गरिएको अस्पतालका मेडिकल अनुवाङ्शिक विभागका प्रमुख डा. निलम ठाकुरले जानकारी दिइन्। उनले बिरामीको एउटा रोगको भाइरसको फरक–फरक परीक्षण गर्दा रोग पत्ता लगाउन समस्या भएकाले एकै पटक १० वटा रोगका भाइरसको परीक्षण गर्न थालिएको बताइन् । 'पहिले ति १० वटा रोगका भाइरसको फरक–फरक समयमा परीक्षण गर्ने गरेका थियौं, तर अहिले एकै पटक एकै समयमा परीक्षण गर्दा खर्च पनि कम लाग्दछ', उनले भनिन्, 'कुन भाइरसका कारणले कुन रोग लागेको हो भन्ने कुरा पनि पत्ता लाग्दछ, धेरै पटक परीक्षण आवश्यक पर्दैन ।' उनले भाइरसले रोग पत्ता लगाएपछि अस्पतालमा नै उपचार गरिने बताइन् । यस्तै प्रयोगशालामा मस्तिष्क सङ्क्रमण सम्बन्धी छ वटा भाइरसको पनि एकै पटक परीक्षण सुरु गरिएको विभागका प्रमुख डा. ठाकुरले जानकारी दिइन् । प्रयोगशालामा फोक्सोबाहेक अन्य भागमा लाग्ने क्षयरोगको पनि परीक्षण गरिन्छ । विसं २०७३ मा अनुवाङ्शिक (जेनेटिक) रोगको पहिचान र उपचार गर्न स्थापना गरिएको प्रयोगशालामा जनशक्ति तथा उपकरण अभावले रोगको परीक्षण नियमित हुन सकेको छैन । जिन (वङ्श)मा भएको अवस्थाले जन्मिने रोगलाई अनुवांशिक रोग भनिन्छ । 'सरकारी रुपमा अनुवाङ्शिक रोगको पत्ता लगाउने यही नै प्रयोगशाला रहेको छ', उनले भनिन्, 'तर, हामीसँग तीन जना मात्र जनशक्ति भएको र उपकरण पनि प्रयाप्त मात्रामा नभएका कारणले दैनिक रोगको परीक्षण गर्न सकिरहेका छैनौं ।' उनका अनुसार एक दिन बिराएर पालोअनुसार रोगहरुको परीक्षण गर्ने गरिएको छ । अहिले प्रयोगशालामा २५ वटा अनुवाङ्शिक रोगका भाइरसको नियमति परीक्षण गर्ने गरिएको छ । रासस
अल्टिच्यूड एयरले एक वर्षमा गर्याे ५६ करोड रुपैयाँको व्यापार
काठमाडौं । अल्टिच्यूड एयर प्रालिले एक वर्षमा ५६ करोड रुपैयाँ बराबरको कारोबार गरेको छ । हेलिकप्टर सेवा प्रदान गर्दै आएको कम्पनीले सन् २०२५ मा ५६ करोड रुपैयाँ बराबरको कारोबार गरेको जनाएको छ । कम्पनीले यसअघि सन् २०२४ मा ५० करोड २० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । सन् २०१५ अगस्टमा स्थापित अल्टिट्यूड एयरले अक्टोबर २०१६ बाट व्यावसायिक रुपमा उडान सुरु गरेको थियो । कम्पनीका अनुसार सन् २०२३ मा ४७ करोड ८० लाख रुपैयाँ र सन् २०२२ मा ३० करोड ९० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ । एयरबस हेलिकप्टमार्फत कम्पनीले चार्टर उडान, पर्वतीय उडान, उद्धार उडान, मेडेभ्याक उडान, तीर्थयात्रा उडान, फिल्मांकन उडान, चेसिङ उडान जस्ता विभिन्न हेलिकप्टर सेवा दिइरहेको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ८५ करोड ७ लाख रुपैयाँ ऋण लिएको छ । कम्पनीका अनुसार ६३ करोड १ लाख रुपैयाँ अल्पकालीन ऋण लिएको छ । कम्पनीले यसअघि ५१ करोड ५१ लाख रुपैयाँ अल्पकालीन ऋण लिएको थियो । तर, कम्पनीले दीर्घकालिन ऋण भने घटाएको छ । यसअघि ३३ करोड ५५ लाख रुपैयाँ दीर्घकालीन ऋण लिएको कम्पनीले घटाएर २२ करोड ५ लाख रुपैयाँमा झारेको छ । केयर रेटिङ नेपालले कम्पनीलाई अल्पकालीन ऋणका लागि डबल बि प्लस र दीर्घकालीन ऋणका लागि एफोर प्लस रेटिङ प्रदान गरेको छ । गत कात्तिक १२ गते कम्पनीको हेलिकप्टर सोलुखुम्बुको लुबुचेमा दुर्घटनामा परेको थियो । हेलिकप्टर ल्याण्ड हुने बेला चिप्लिएर दुर्घटना भएको कम्पनीले जनाएको थियो । कम्पनीको कार्यकारी अध्यक्ष निमा नुरु शेर्पा रहेकी छिन् । शेर्पासँग पर्यटन/साहसिक पर्यटन व्यवसायमा तीन दशक भन्दा बढीको अनुभव छ । उनले नेपाल पर्वतारोहण संघ र ट्रेकिङ एजेन्ट्स एसोसिएसन अफ नेपालको वरिष्ठ उपाध्यक्षको रूपमा पनि काम गरेको अनुभव छ ।
सुनको मूल्य प्रतिऔंस ४ हजार २०० डलर नाघ्यो, अमेरिकी शटडाउन समाप्तिपछि बजार उत्साहित
काठमाडौं । अमेरिकी सरकारको शटडाउन समाप्त हुने अपेक्षाका बीच बुधबार सुनको मूल्य २ प्रतिशतले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार २०० डलर नाघेको छ । डलरको मूल्यमा आएको गिरावटले सुनको चमक थप बढाएको हो । अमेरिकामा ४३ दिनसम्म चलेको इतिहासकै लामो शटडाउन राष्ट्रपति डोनाल्ड ट्रम्पले फन्डिङ बिलमा हस्ताक्षर गरेपछि समाप्त भएको हो । यससँगै रोकिएका आर्थिक तथ्यांकहरू सार्वजनिक हुने अपेक्षा बढेको छ, जसले डिसेम्बरमा फेडरल रिजर्भले ब्याजदर घटाउने सम्भावनालाई पनि बल दिएको छ । टीडी सेक्युरिटीजका कमोडिटी रणनीतिक प्रमुख बार्ट मेलकका अनुसार, ‘सरकारी शटडाउन अन्त्यपछि व्यापारीहरूले लामो पोजिसन बढाउने र छोटा पोजिसन बन्द गर्ने सम्भावना छ ।’ ४२ दिन लामो शटडाउनले प्रमुख सरकारी तथ्यांक प्रकाशनमा रोक लगाएको थियो, जसका कारण नीतिनिर्माताहरू र बजारहरू निजी क्षेत्रका डाटामाथि निर्भर हुन बाध्य भएका थिए । सुनसँगै अन्य बहुमूल्य धातुहरूको मूल्य पनि बढेको छ । चाँदी ४।६ प्रतिशत बढेर प्रतिऔंस ५३.५८ डलर पुगेको छ । प्लाटिनम २ प्रतिशतले उकालो भरेर प्रतिऔंस १ हजार ६१६.८० डलर र प्यालाडियम २.५ प्रतिशतले बढेर प्रतिऔंस १ हजार ४८०.५८ डलरमा कारोबार भएको छ । नेपाली बजारमा बिहीबार एक तोला सुनको मूल्य २ लाख ५० हजार २०० रुपैयाँ कायम भएको छ भने त्यति नै परिमाणको चाँदी तीन हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
तोलामा साढे २ लाख नाघ्यो सुनको मूल्य
काठमाडौं । एक तोला सुनको मूल्य बिहीबार पाँच हजार ९०० रुपैयाँले वृद्धि भएको छ । चाँदीको मोल पनि तोलामा १७० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार एक तोला सुनको मूल्य दुई लाख ५० हजार २०० रुपैयाँ कायम भएको छ भने त्यति नै परिमाणको चाँदी तीन हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार एक तोला सुन दुई लाख ४४ हजार ३०० रुपैयाँ र चाँदी तीन हजार १७५ मा खरिदबिक्री भएको थियो ।
कुमारी बैंकले लाभांश नदिने
काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कात्तिक २६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउन निर्णय गरेको हो । बैंकको हालको चुक्ता पूँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार ३४० रुपैयाँ रहेको छ । वार्षिक साधारण सभाको मिति र बुक क्लोज हुने मिति भने हालसम्म तोकिएको छैन ।
दिगो पर्वतीय पर्यटन प्रवर्द्धनका लागि आइएमटीए र एभरेष्ट अलायन्स नेपालबीच साझेदारी
काठमाडौं । अन्तर्राष्ट्रिय पर्वतीय पर्यटन महासंघ र एभरेस्ट एलायन्स नेपालबीच दिगो पर्वतीय पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण तथा सांस्कृतिक आदानप्रदानका लागि सहकार्य गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ। चीनको गुइझोउ प्रान्तमा भएको उक्त सम्झौता कार्यक्रमले विश्वव्यापी पर्वतीय पर्यटनको दिगो विकासमा नयाँ सहकार्यको ढोका खोलेको छ। तीन वर्षका लागि गरिएको सम्झौताअनुसार दुबै संस्थाले पर्वतीय पर्यटनलाई वातावरणमैत्री र समुदायमुखी बनाउन सँगै काम गर्ने भएका छन्। अन्तर्राष्ट्रिय पर्वतीय पर्यटन महासंघ विश्वकै पहिलो अन्तर्राष्ट्रिय संस्था हो जसले पर्वतीय पर्यटन प्रवर्द्धनमा विशेष ध्यान दिएको छ। नेपालमा आधारित एभरेस्ट एलायन्सले भने हिमाली क्षेत्रमा दिगो पर्वतारोहण, वातावरण संरक्षण र स्थानीय समुदाय सशक्तीकरणमा काम गर्दै आएको छ। सम्झौताअनुसार पर्वतारोहण, साहसिक खेलकुद, उद्धार तालिम, वातावरण संरक्षण र सांस्कृतिक आदानप्रदानका क्षेत्रमा दुबै संस्थाले संयुक्त रूपमा कार्यक्रम सञ्चालन गर्नेछन्। पर्वतारोहणमा जिम्मेवार अभ्यास प्रवर्द्धन गर्दै स्थानीय समुदायलाई सीपमूलक तालिम र नेतृत्व विकासमा जोड दिने योजना पनि समझदारीमा समावेश छ। सम्झौताअन्तर्गत पर्वतारोही, प्रशिक्षक र प्राविधिक विशेषज्ञबीच आदानप्रदान हुनेछन् भने संयुक्त उद्धार प्रदर्शन, नेतृत्व तालिम तथा सुरक्षा तालिम आयोजना गरिनेछ। साथै, अन्तर्राष्ट्रिय पर्वतारोहण अभियान, सांस्कृतिक महोत्सव, साहसिक प्रतियोगिता र सम्मेलनहरूमा पनि संयुक्त सहभागिता रहनेछ। वातावरणीय संरक्षणलाई प्रमुख प्राथमिकता दिँदै दुवै संस्थाले फोहोर व्यवस्थापन, पदमार्ग सरसफाइ र सचेतना अभियान सञ्चालन गर्ने सहमति गरेका छन्। जलवायु परिवर्तन, जैविक विविधता र दिगो पर्यटनसम्बन्धी जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिनेछ।सम्झौता हस्ताक्षर कार्यक्रम अन्तर्राष्ट्रिय पर्वतीय पर्यटन तथा बाह्य खेल सम्मेलन २०२५ अन्तर्गत सम्पन्न भएको हो। चीनको गुइयाङ सहरमा ‘संस्कृति, पर्यटन र खेलकुदको एकीकरण : उच्च गुणस्तरीय जीवन’ भन्ने नारामा सम्पन्न उक्त सम्मेलनमा ३० देशका झन्डै ३५० प्रतिनिधिको सहभागिता रहेको थियो।
महानगरको भवन नक्सा स्वीकृति अनलाइनमार्फत, इबीपीएस प्रणालीमार्फत ७३२ प्रक्रिया सम्पन्न
काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको वितेका ३ महिनामा ७३२ वटा भवन नक्सा सम्बन्धी प्रक्रिया टुङ्ग्याएको छ । यसमा प्लिन्थ लेभलसम्मको इजाजत २३८ वटाको र तला थप इजाजत ७ वटाका लागि प्रदान गरिएको छ । भवन निर्माण सम्पन्न प्रमाण पत्र ३९९ वटा जारी गरिएको छ । ४ वटाको डीपीसी ट्रान्सफर र ८४ वटाको स्वामित्व हस्तान्तरण भएको छ । विवरण प्रदान गर्दै सहरी व्यवस्थापन विभागका प्रमुख सिनियर डिभिजन इञ्जिनियर हरिश्चन्द्र लामिछाने भन्छन्, ‘महिनागत रुपमा हेर्दा साउन महिनामा २७० वटा, भदौमा १७४ वटा र असोज महिनामा २८८ वटा भवन नक्सा सम्बन्धी काम टुङ्गिएको छ ।’ लामिछानेका अनुसार गएको वर्ष (आव २०८१/०८२) मा महानगरपालिकाले ३ हजार ७६८ वटा भवन नक्सा सम्बन्धी काम टुङ्ग्याएको थियो । यसमा विभागले १ हजार २७२ वटा प्लिन्थ लेभल सम्मको इजाजत पत्र दिएको थियो । थप तला इजाजत ५१ वटाका लागि जारी भयो । २ हजार २८२ वटा निर्माण सम्पन्न प्रमाण पत्र जारी गर्यो । डीपीसीसम्मको २ वटा नामसारी र १८ वटा डीपीसी नामसारी प्रमाण पत्र जारी गर्यो । यस्तै १४३ वटा स्वामित्व नामसारी गर्यो । त्यस आर्थिक वर्षको महिनागत हेर्ने हो भने साउन (२०८१) मा ३९१ वटा, भदौमा ४३७ वटा, असोजमा ३५५ वटा, कार्तिकमा १८८ वटा, मंसिरमा २५७ वटा, पुसमा २७९ वटा, माघमा ३०२ वटा, फागुनमा ३२८ वटा, चैतमा ४१६ वटा, वैशाख (२०८२) मा २९६ वटा, जेठमा १८७ वटा र असारमा २७७ वटा भवन नक्सा सम्बन्धी स्वीकृत काम भएको हो । महानगरपालिकाले यी सवै प्रक्रियाहरु अनलाइनबाट सञ्चालन गर्छ । यसरी प्रक्रिया सञ्चालन गर्ने प्रणालीको नाम इबीपीएस अर्थात् इलेक्ट्रोनिक विल्डिङ् परमिट सिस्टम हो । भवन नक्सा स्वीकृत गर्न, निर्माण सम्पन्न लिन, नामसारी जस्ता भवन नक्सासँग सम्बन्धित प्रक्रिया र राजस्व भुक्तानी अनलाइन प्रणालीबाटै गर्न सकिन्छ । ५ हजार वर्गफुटसम्म क्षेत्रफल भएका भवनको अस्थायी नक्सा अर्थात् डीपीसीसम्मको नक्सा वडाबाटै स्वीकृत हुन्छ । भवनको माथिल्लो संरचना निर्माणको स्वीकृति केन्द्रबाट हुन्छ । त्यसमा ५ हजार वर्ग फुटदेखि ७ हजार वर्ग फुटसम्मको नक्सा महाशाखा प्रमुखबाट स्वीकृत हुन्छ । ७ हजार देखि ३० हजार वर्गफिटसम्मको नक्सा विभागीय प्रमुखबाट स्वीकृत हुन्छ । १० हजार वर्ग फुटभन्दा माथि क्षेत्रफल भएका भवनको नक्सा स्वीकृत गर्दा प्राविधिक निर्णायक मण्डलको मूल्याङ्कन बमोजिम गर्ने गरिएको छ । २०७० भाद्र १६ गते देखि महानगरपालिकाले वडा नम्बर १, ६, १४, १६, २६, ३१ र ३२ गरी ७ वटा वडामा यो प्रणाली परीक्षणका रुपमा प्रयोगमा ल्याएको हो । २०७१ भदौ १६ गतेदेखि वडा नम्बर ४, ७, ९, १३, १५, २९ र ३० गरी थप ७ वटामा प्रणाली सञ्चालन गरियो । २०७३ साल साउन ३१ गतेबाट सबै वडामा सेवा विस्तार गरिएको हो ।
नेचुङ भन्सारमा तीन अर्ब ४९ करोड राजस्व संकलन
मुस्ताङ । नेपाल–चीन सिमानास्थित नेचुङ भन्सार कार्यालयले तीन अर्ब ४९ करोड ८५ लाख ११ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । उक्त रकम गत भदौ ३१ देखि यही कात्तिक २५ गतेसम्म संकलन भएको हो । भन्सार प्रमुख रमेश खड्काका अनुसार उक्त अवधिमा एक हजार ६९९ वटा विद्युतीय सवारीसाधन चीनबाट पैठारी भएका छन् । यसैगरी, ८२८ वटा मालवाहक सवारीसाधन आयातित सामग्री लिएर आएका छन् । नेपालबाट ४१ वटा मालवाहक सवारीसाधन हस्तकलाका सामग्री लिएर चीनतर्फ गएका छन् ।