काठमाडौं । निर्माण व्यवसायीलाई सरकारका तर्फबाट भुक्तानी गर्नुपर्ने रकम तत्काल भुक्तानी हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्ष सिंहदरबारमा आइतबार सम्पन्न छलफलपछि निर्माण व्यवसायीले भुक्तानी पाउनुपर्ने रकम निकासाको प्रक्रिया अगाडि बढाउने निर्णय भएको हो ।
अर्थमन्त्री डा.प्रकाशशरण महत, भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला, मुख्यसचिव डा.बैकुण्ठ अर्याल, अर्थसचिव डा.कृष्णहरि पुष्कर, भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालसहितको छलफलपछि आइतबार नै भुक्तानीको प्रक्रिया अगाडि बढाउने निर्णय भएको हो ।
छलफलमा प्रधानमन्त्रीले निर्माण व्यवसायीको गत आर्थिक वर्षकै भुक्तानी गर्न बाँकी १ अर्ब ७१ करोड र चालु आवको अहिलेसम्मको दायित्व गरी ६ अर्ब ३० करोड रुपैयाँ तत्काल निकासा गरेर विकास निर्माणका काममा गति दिन अर्थ मन्त्रालयलाई निर्देशन दिइएको हो ।
प्रधानमन्त्रीको निर्देशनपछि भएको छलफलमा अर्थ मन्त्रालयले आइतबार नै भुक्तानीको प्रक्रिया अगाडि बढाउने निर्णय भएको हो । यो निर्णयसँगै विकास निर्माणका कामले गति लिने र अर्थतन्त्र थप चलायमान हुने अपेक्षा गरिएको छ ।