धरानबाट घोरेटार आउँदै गरेको जीप दुर्घटना, ६ को मृत्यु
टक्सार । धरानबाट भोजपुरको दक्षिण घोरेटार आउँदै गरेको जीप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । को१ज २५९३ नम्बरको जीप उदयपुरको मैनमैनीमा दुर्घटना भएको हो । दुर्घटनामा छजनाको मृत्यु भएको र अन्य आठजना घाइते भएको प्रहरीले जनाएको छ । जीपमा १४ जना सवार रहेको सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटनास्थलमा प्रहरी पठाइएकाले विस्तृत विवरण आउन बाँकी रहेको जनाइएको छ । जीप चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको सनाखत भइसकेको छैन । घटनास्थलमा उद्धारकार्य जारी रहेको र घाइतेलाई थप उपचारका लागि धरान लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुदीपराज पाठकले बताए । स्थानीयका अनुसार जीप सडकबाट करिब आठ सय मिटर तल खसेको थियो । रासस
सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले बुझायो प्रतिवेदन
काठमाडौं । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० ले सरकारलाई प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष डिल्लीराज आचार्यले आज उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई उक्त प्रतिवेदन हस्तान्तरण गरे । प्रतिवेदन बुझ्दै गृहमन्त्री लामिछानेले प्रतिवेदनमा दिइएका सुझाव कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे । ‘दोषीलाई कारबाही र सुधारका लागि सुझाइएका उपायको कार्यान्वयन गरिनेछ’, उनले भने । जुनसुकै खालको कमजोरी गर्ने निकाय र व्यक्तिविरुद्ध कारबाही हुने दृढता व्यक्त गर्दै उपप्रधानमन्त्री लामिछानेले विगतमा उन्मुक्ति दिन सहयोग गर्नेलाई पनि कानून मातहत ल्याइने बताए । सरकारले गत असोज १५ गते सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० गठन गरेको थियो । पूर्वन्यायाधीश आचार्यको अध्यक्षतामा गठित आयोगमा सहकुलबहादुर थापा, किशोरजङ्ग कार्की र प्रेमराज जोशी सदस्य रहेका थिए ।
‘अलिबाबा’ ले दक्षिण कोरियामा १ अर्ब १ करोड डलर लगानी गर्ने
चिनियाँ ई–कमर्स कम्पनी अलिबाबा समूहले आगामी तीन वर्षमा दक्षिण कोरियामा एक अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने योजना बनाएको छ । दक्षिण कोरियाको योन्हप समाचार एजेन्सीका अनुसार अलिबाबाले दक्षिण कोरियामा आफ्नो व्यवसाय विस्तार गर्न आगामी तीन वर्षमा १ अर्ब १ करोड डलर लगानी गर्ने योजना बनाएको छ । अलिबाबाले यस वर्ष कोरियामा १८ हजार वर्ग मिटरको लजिस्टिक सेन्टर निर्माण गर्न २० करोड डलर खर्च गर्ने योजना बनाएको छ । अलिबाबाले हालै दक्षिण कोरिया सरकारलाई लगानी योजना बुझाएको छ । यस्तै, अलीबाबले सानो र मध्यम आकारका दक्षिण कोरियाली कम्पनीहरूलाई आफ्नो सामान बेच्न १० करोड डलर खर्च गर्नेछ । दक्षिण कोरियामा उपभोक्ताको बढ्दो गुनासोको बारेमा अलिबाबाको ई–कमर्स प्लेटफर्म ‘अली एक्सप्रेस’ ले अध्ययन गरिरहेको छ । अध्ययनपछि उपभोक्ताको मन जित्ने क्षेत्रमा लगानी लगाउने तयारी छ । एजेन्सीकाे सहयाेगमा
लुम्बिनी विकास बैंकको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त
काठमाडौं । लुम्बिनी विकास बैंकको स्वतन्त्र सञ्चालकमा जय देव श्रेष्ठ नियुक्त भएका छन् । फागुन ३० गते बसेको बैंक सञ्चालक समितिको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालकको पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
रुरु जलविद्युतको ‘लकइन’ अवधि सकिँदै
काठमाडौं । रुरु जलविद्युत परियोजनाको संस्थापक सेयरको लकइन अवधि २०८१ वैशाख ३ गतेबाट सकिने भएको छ । लकइन अवधि सकिएसँगै कम्पनीका सेयरधनीले सेयर किनबेच गर्न पाउँछन् । कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावितलाई निष्काशन गरिएको सेयर, र कर्मचारीलाई सुरक्षित गरिएको सेयरको लकइन अवधि वैशाख ३ गतेबाट समाप्त हुने भएको हो । कम्पनीको संस्थापक समूहको ३९ लाख ४५ हजार ८ सय ८८ कित्ता सेयर, आयोजना प्रभावितलाई निष्काशन गरिएको ४ लाख ८९ हजार २ सय ४५ कित्ता शेयर, र कर्मचारीलाई सुरक्षित गरिएको ९ हजार ८ सय ५८ कित्ता सेयर बाँडफाँट गरिएको छ । यो अवधि सकिएसँगै लगानीकर्ताले सेयर किनबेच गर्न पाउनेछन् । कम्पनीको आईपीओ २०७८ वैशाख ३ गते बाडफाँड भएको थियो ।
नबिल बैंकले ५ अर्बको अग्राधिकार सेयर बिक्री गर्ने
काठमाडौं । नबिल बैंकले अग्राधिकार सेयर र डिबेन्चर बिक्री गर्ने भएको छ । बैंकको बिहिबार बसेको सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंकको स्वीकृति पाएको खण्डमा ५ अर्ब रुपैयाँबराबरको अग्राधिकार सेयर बिक्री गर्ने निर्णय गरेको हो । बैंकले ८ प्रतिशत लाभांश दर कायम गरी अग्राधिकार सेयर बिक्री गर्नेछ । राष्ट्र बैंकले स्वीकृति दिए मुनाफा भएको वर्षमात्र लाभांश वितरण गर्ने र सेयरको रकम फिर्ता नहुने प्रकृतिको अग्राधिकार सेयर प्राइभेट प्लेसमेन्ट गरी बिक्री गर्ने निर्णय बैठकले गरेको छ। यस्तै, ८ वर्षे अवधिको ८ प्रतिशत ब्याजदर भएको ‘८ % नबिल डिबेन्चर २०८९’ पनि जारी गर्ने निर्णय सञ्चालक समितिबाट पारित भएको बैंकले जनाएको छ।
प्रतिनिधिसभा बैठक : गृहमन्त्रीको नियुक्तिमा प्रधानमन्त्रीबाट जवाफ माग
काठमाडौंं । प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेको नियुक्तिका विषयमा सरकारसँग जवाफ माग गरेको छ । बिहीबारको बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदहरु आफ्नो स्थानबाट उठेपछि सभामुख देवराज घिमिरेले सांसद बद्रीप्रसाद पाण्डेलाई बोल्न समय दिएका थिए । सांसद पाण्डेले अनुसन्धानमा जोडिएका व्यक्ति सरकारमा पुगेकोमा असन्तुष्टि व्यक्त गरे । उनले सो विषयमा निष्पक्ष छानबिन हुनेमा आशङ्का व्यक्त गरे । सांसद पाण्डेले सो विषयमा प्रधानमन्त्री दाहालबाट यथाशीघ्र जवाफ दिन सभामुखसँग रुलिङको माग गरे । तत्पश्चात् सभामुख घिमिरेले सदनमा उठेका विषयमा आफ्नो ध्यानाकर्षण भएको र सरकारले यसबारे ध्यान दिने विश्वास व्यक्त गरे ।
नेपालमा भाइबर सामाजिक सञ्जालका रूपमा सूचीकृत
काठमाडौं । नेपालमा सामाजिक सञ्जाल एप भाइबर सूचीकृत भएको छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न तयार भएको निर्देशिका २०८० अनुसार पहिलोपटक नेपालमा भाइबर सूचीकृत भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार भाइबरले निर्देशिकाबमोजिम सम्पूर्ण प्रक्रिया पूरा गरेपछि यसलाई सामाजिक सञ्जालको रूपमा सूचीकरण गरिएको हो । भाइबरपछि लिंक्डइन पनि सूचीकरण हुने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार स्न्यापच्याटले पनि सूचीकरणको प्रक्रिया अघि बढाउने तयारीमा रहेको छ । सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० मा नेपालमा सञ्चालन हुने कुनै पनि सामाजिक सञ्जाल प्लेटफर्म सूचीकरण हुनुपर्ने उल्लेख छ । यसमा सूचीकृत नभएका सामाजिक सञ्जाल प्लेटफर्मलाई नेपालभित्र सञ्चालनमा रोक लगाउने समेत उल्लेख छ । पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढेको भन्दै गत २३ कात्तिकमा मन्त्रालयले त्यसलाई नियमन गर्न सूचीकरणको नियम ल्याएको थियो ।