रसुवाको जुरेढुङ्गा केन्द्रविन्दु भएर भूकम्प
काठमाडौं । काठमाडौंको उत्तरी क्षेत्र रसुवा जिल्लाको जुरेढुङ्गा केन्द्रविन्दु भएर भूकम्प भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार बिहान ९ः४४ बजे रसुवा जिल्लाको जुरेढुङ्गा आसपास केन्द्रविन्दु भएर चार रिक्टरस्केलको भूकम्प भएको हो । यसअघि फागुन २८ गते बाजुरा जिल्लाको जुगाडा केन्द्रविन्दु भएर चार दशमलव तीन रिक्टरस्केलको भूकम्प भएको थियो । नेपालमा पछिल्लो समय कम शक्तिशाली भूकम्प हुने क्रम जारी रहेको छ । नेपालमा अधिक हिमाली क्षेत्र भएकाले सधै भूकम्पीय जोखिममा रहेकोे भूकम्पविद्हरू बताउँछन् ।
‘मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता दिइन्छ’
गण्डकी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति सरकारको प्राथमिकतामा रहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा सञ्चालित प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान अर्पण समारोहमा उनले आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति सरकारको प्राथमिकतामा रहेको बताए । मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र संवर्द्धन गर्ने सरकारको नीति रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सञ्चारमाध्यम र सञ्चारकर्मीको प्रवर्द्धन र हितका निम्ति सञ्चारमाध्यमको व्यावसायिक र संस्थागत विकास गरिनेमा जोड दिए । सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेण्टी गर्ने गरी आवश्यक संरचना र पूर्वाधारको निर्माण गर्नुका साथै कानुनी र व्यावहारिक सुनिश्चितता गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ । पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन सम्बन्धमा पहल भइरहेको बताउँदै उहाँले त्यसका लागि दुवै छिमेकी राष्ट्रसँग पहल भइरहेको बताए । विमानस्थलको निर्माण लागेको ऋणको व्यवस्थापनका सम्बन्धमा पनि पहल भएको उनले बताए । प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखेको योगदानको स्मरण गर्दै उनको नाममा स्थापित पुरस्कारले पोखरामा मात्र नभई देशभर सकारात्मक सन्देश प्रवाह भएको बताए । उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डले प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पुरस्कारबाट दीपेन्द्र श्रेष्ठ र मरणोपरान्त त्रिभुवन पौडेललाई सम्मान गरेका थिए ।
आशा लघुवित्तले लाभांश नदिने, सेयरधनीको हात खाली
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले पनि लाभांश नदिने भएको छ । संस्थाले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै सेयरधनीका हात खाली हुने भएको हो । चैत २ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको हो । त्यस्तै, संस्थाले कम्पनीको नाफा नोक्सान, हिसाव र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने लगायतका वित्तीय विवरणहरु अनुमोदनको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने छ । उक्त विवरणहरु स्वीकृत भएपछि संस्थाको साधारण सभाले पारित गर्ने छ ।
सेयर बजारमा हस्तक्षेप आवश्यक, नागरिक स्टक डिलरको काम छैन-अधिकारी
काठमाडौं । नेपाल धितोपत्र बोर्डका निमित्त अध्यक्ष डा. नवराज अधिकारीले सेयर बजारमा सकारात्मक हस्तक्षेप आवश्यक रहेको बताएका छन् । नागरिक लगानी कोषको ३४औं वार्षिकोत्सब कार्यक्रममा बोल्दै उनले पुँजी बजारको विकास तथा विस्तारका लागि सकारात्मक हस्तक्षेपको आवश्यक रहेको बताएका हुन् । उनले नागरिक लगानी कोषका सहभागीहरूलाई प्रतिफल बढाउन आवश्यक रहेको पनि बताएका छन् । उनले पैसलाई बैंकमा मुद्दती निक्षेपकारूपमा नराखेर अन्य क्षेत्रमा लगानी गर्नुपर्ने धारणा राखे । उनले पुँजी बजारको गतिशीलतामा जोड दिन लगानी गर्नुपर्ने बताएका हुन् । ‘कुल लगानीको ५१ प्रतिशत मुद्दती निक्षेपमा छ, जसमध्ये ३२ अर्ब २२ करोड रुपैयाँ (१६%) मात्रै सेयर बजार (संस्थापक सेयर समेत)मा छ, पुँजी बजारमा सकारात्मक हस्तक्षेप गर्न आवश्यक छ,’ उनले भने । यस्तै, उनले सहायक कम्पनी नागरिक स्टक डिलरको भूमिका पुँजी बजारमा शून्यजस्तै रहेको धारणा राखे । बोर्डले दिएका निर्देशन पालना गरेन भने नागरिक स्टक डिलरलाई कारबाही गर्ने चेतावनी पनि उनले दिएका छन् ।
प्रविधिको प्रयोगबाट समृद्धि प्राप्त हुन्छ भन्ने सत्यलाई आत्मसात् गरौँ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको प्रयोगबाट समृद्धि प्राप्त हुन्छ भन्ने वर्तमान सत्यलाई आत्मसात् गर्नुपर्ने बताएका छन् । आइतबार पोखरामा आयोजित प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले वर्तमान युग विज्ञान–प्रविधि र मुख्यतः सूचना प्रविधिको युग भएको बताए । ‘आज दुनियाँमा त्यस्तो कुनै क्षेत्र छैन, जहाँ सूचना–प्रविधिको निर्णायक भूमिका नहोस्’, प्रधानमन्त्री दाहालले भने, ‘हिजो सूचना सम्प्रेषणको माध्यमका रूपमा विकसित प्रविधिको क्षेत्र ज्ञान–विज्ञान, उत्पादन, निर्माण, ज्ञान उत्पादन, सम्प्रेषणसहित अर्थतन्त्रको निर्णायक क्षेत्रका रूपमा उपस्थित छ ।’ सूचना–प्रविधिको विकास र यसबाट सिङ्गो विश्व र राष्ट्रिय जीवनमा पारेको प्रभाव एवं राष्ट्रको बृहत्तर विकास तथा समृद्धिका लागि यसको सर्वव्यापी र निर्णायक भूमिका रहेको प्रधानमन्त्रीले उल्लेख गरेको उनको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहालले भने, ‘चौथो औद्योगिक क्रान्तिका रूपमा विकसित सूचना प्रविधिले मानव जाति र सामाजिक जीवनका सम्पूर्ण अवयवहरूमा सकारात्मक प्रभाव मात्र पारेको छैन, अपितु सूचना–प्रविधिभन्दा बाहिरबाट मानव जातिको अस्तित्वको कल्पना नै गर्न नसकिने ठाउँमा सिङ्गो विश्व आइपुगेको छ ।’ रासस
भावी सन्ततिका निम्ति जमिनमुनिको जल जोगाउन विज्ञहरूको सुझाव
काठमाडौं । खानेपानीको क्षेत्रमा काम गर्ने विज्ञहरूले खानेपानीको सङ्कट समाधानका लागि जमिनमुनिको पानी तानेर अहिलेको पुस्ताले सन्ततिको भागको पानी पनि सकिदिन लागेको आरोप लगाएका छन् । उनीहरूले भावी सन्ततिको भागको पानी जोगाउन सुझाव दिएका छन् । यही चैत ५ र ६ गते राजधानीमा हुन लागेको ‘वर्षात्को पानी सङ्कलन र व्यवस्थापन’ विषयक क्षेत्रीय सम्मेलनको पूर्वसन्ध्यामा शनिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा खानेपानी विज्ञहरूले यस्तो सुझाव दिएका हुन् । पूर्वमन्त्री तथा सम्मेलन आयोजक समितिका सल्लाहकार गणेश साहले भने, ‘हामीले हाम्रा सन्ततिको भागको जमिनमुनिको पानी पनि तानेर खाइसक्यौँ । खोला नदी प्रदूषित गर्यौँ । ताल पोखरी पुरिँदै गए । हाम्रा सन्ततिले उनका भागको पानी खै भनेर सोध्दा यो पुस्ता नाजवाफ हुनुपर्ने अवस्था छ । त्यसैले अब पानी बचत गरौँ ।’ आयोजक समितिका अध्यक्ष तथा स्मार्ट वास सोलुसन्स प्रालिका अध्यक्ष इन्जिनियर रामदीप साहले वर्षात्को पानीको महत्व, आसन्न सम्मेलनको उद्देश्य, सहभागिता र अपेक्षित उपलब्धिबारे जानकारी दिएका थिए । उनले मानिसका हरेक क्रियाकलाप र विकास गतिविधि पानीसँग अभिन्नरूपमा जोडिएको उल्लेख गर्दै भने, ‘पानी बहुउपयोगी पनि छ तर यस्तो अत्यावश्यक पानी संसारभर समान रूपमा उपलब्ध छैन । जलवायु परिवर्तनका कारण वर्षाको प्रवृत्तिमा आएको परिवर्तनले भइरहेका पानीका स्रोतमा पनि प्रतिकूल असर परिरहेको छ । पानीका मूल सुक्दै गएका छन् । पानीको अभाव हुन नदिन हामीले आफूलाई वर्षभरि चाहिने पानीको जोहो गर्न व्यक्तिगत र सामूहिकरूपमा सोच्नुपरेको छ । पारिवारिक, सामुदायिक, पालिकास्तरीय, प्रदेशस्तरीय र राष्ट्रिय योजना बनाएर जमिनमुनिको पानी बचाउ अभियान कार्यान्वयन गर्नुपर्ने खाँचो छ ।’ बढ्दै गएको पानीको अभाव र अधिक वर्षाका कारण हुने क्षतिलाई दृष्टिगत गरी तिनको समाधान खोज्न स्मार्टवास सोलुसन्स् प्रालिले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँगको सहयोगमा सम्मेलन आयोजना हुन लागेको हो । सम्मेलनमा यस क्षेत्रमा पानी आपूर्तिका क्षेत्रमा काम गरिरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधि, विज्ञ र वैज्ञानिक, विश्वविद्यालयका प्राज्ञ तथा खानेपानीका क्षेत्रमा अध्ययन र अनुसन्धान गरिरहेका विद्यार्थी, पानी आपूर्तिका उद्योग सञ्चालन गरेका उद्योगी हुनेछन् । प्राविधिक समितिका अध्यक्ष सुनिलबाबु श्रेष्ठले सम्मेलनको प्राविधिक पक्षमा प्रकाश पार्नुभएको थियो । सम्मेलनमा विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय विज्ञहरूबाट ३१ वटा कार्यपत्र प्रस्तुत हुनेछन् । सम्मेलन अवधिमा यस क्षेत्रमा आएका नवीनतम् प्रविधिको प्रदर्शनी पनि हुनेछ । इन्टरनेशनल रेन वाटर हार्भेष्टिङ एलायन्सका अध्यक्ष हान हाइजनले वर्षात्को पानीलाई उपयुक्त समयमा उपयुक्त स्थानमा सङ्कलन गरेर मानवीय आवश्यकता पूरा गर्न सकिने बताउनुभएको थियो । स्मार्ट वास सोलुसन र नेदरल्याण्ड विकास संस्थाले खानेपानी तथा ढल व्यवस्थापन विभाग र नेपाल रेनवाटर हार्भेस्टिङ एलायन्सको समन्वयमा सम्मेलन हुन लागेको हो । रासस
‘उच्च तरलता र विदेशी मुद्राको परिचालन गर्नुपर्छ, सेयर बजारमा नीतिगत परिवर्तन आवश्यक’
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले पूर्व अर्थमन्त्रीले सुरु गरेका राम्रा कामलाई कार्यान्वयन गर्ने बताएका छन् । आइतबार नागरिक लगानी कोषको ३४औं वार्षिकोत्सब कार्यक्रममा बोल्दै उनले आफूले पूर्व अर्थमन्त्रीलाई गाली गरेर समय बर्बाद गर्नेभन्दा पनि उहाँले सुरु गरेका राम्रा कामहरूलाई आफूले कार्यान्वयन गरेर अगाडि बढ्ने बताएका हुन् । ‘मैले पुराना अर्थमन्त्रीलाई गाली गरेर अगाडि बढ्दिनँ, पूर्व अर्थमन्त्रीले गरेका राम्रा कामलाई निरन्तरता दिन्छु, त्यो मेरो प्रतिवद्धता हो, पुराना नेतृत्वले गरेका राम्रो कामलाई निरन्तरता दिनुपर्छ,’ उनले भने । कार्यक्रममा उनले विगतको तुलनामा अर्थतन्त्र केही सहज अवस्थामा रहेको बताउँदै यसलाई थप सहज बनाउनका लागि आफूले काम गर्ने धारणा राखे । आर्थिक क्षेत्रमा अहिले पनि केही सुस्तता कायमै रहेको बताउँदै उनले नेतृत्वले सही ढंगले काम गर्दा सहज भएको धारणा राखे । ‘बैंकिङ क्षेत्रमा तरलता बढी भएर समस्या आएको छ, विदेशी मुद्रा सञ्चिति बढेको छ, अब त्यसलाई परिचालनतर्फ ध्यान दिनुपर्छ,’ उनले भने । यस्तै, उनले कोषको काम कारवाहीको विषयमा पनि आफ्नो धारणा राखेका छन् । १२ सय मेगावाटको बुढिगण्डकीमा ३ खर्ब लगानी आवश्यक छ रहेको बताउँदै त्यसमा नागरिक लगानी कोषले लगानी गर्न सक्ने अवस्था सिर्जना गर्नु पर्ने धारणा राखे । उनले १० हजार मेगावाट बिजुली निर्यात गर्दा ४/५ खर्ब भित्र्याउन सकिने बताउँदै अब बिजुली उत्पादनमा केन्द्रित हुनु पर्ने बताए । यस्तै, उनले पछिल्लो समय सेयर बजारमा शिथिलता छाएको धारणा राख्दै सेयर बजारलाई उकास्न लगानीका लागि पनि नागरिक लगानी कोषले लगानी बढाउनु पर्ने धारणा राखे । ‘सेयर बजार विकासको लागि सुझाव मागेको छु, अब ती सुझावका आधारमा नीतिगत व्यवस्थामा परिमार्जन गर्छु, निजी क्षेत्रका संस्थाहरूसँग प्रतिस्पर्धा गर्ने गरी कोषले पनि अग्रसर हुनुपर्छ,’ उनले भने ।
इटालीको मुद्रास्फीति फेब्रुअरीमा ०.८ प्रतिशतमा कायम
काठमाडौं । इटालीको मुद्रास्फीति दर फेब्रुअरीमा ०.८ प्रतिशतमा स्थिर रहेको छ । जुन जनवरीमा पनि सोही थियो । नेशनल स्ट्याटिस्टिक्स इन्स्टिच्युटद्वारा जारी गरिएको तथ्याङ्कले इटालीको उपभोक्ता मूल्य सूचकांक फेब्रुअरीमा महिना–दर–महिना शर्तहरूमा ०.१ प्रतिशतले बढेको देखाएको छ । डिसेम्बर २०२३ को तुलनामा जनवरीमा सूचकांक ०.३ प्रतिशतले बढ्यो । नेशनल स्ट्याटिस्टिक्स इन्स्टिच्युटले कम मुद्रास्फीति दरलाई प्रशोधित र अप्रशोधित खाद्यान्न, यातायात सेवा र मनोरञ्जन गतिविधिहरूको मूल्य वृद्धिमा भएको कमीलाई श्रेय दिएको छ । विनियमित र अनियमित ऊर्जा उत्पादनहरूको मूल्य एक वर्ष अघिको तुलनामा घटेको छ ।