‘उच्च तरलता र विदेशी मुद्राको परिचालन गर्नुपर्छ, सेयर बजारमा नीतिगत परिवर्तन आवश्यक’

<p>काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले पूर्व अर्थमन्त्रीले सुरु गरेका राम्रा कामलाई कार्यान्वयन गर्ने बताएका छन् । आइतबार नागरिक लगानी कोषको ३४औं वार्षिकोत्सब कार्यक्रममा बोल्दै उनले आफूले पूर्व अर्थमन्त्रीलाई गाली गरेर समय बर्बाद गर्नेभन्दा पनि उहाँले सुरु गरेका राम्रा कामहरूलाई आफूले कार्यान्वयन गरेर अगाडि बढ्ने बताएका हुन् । ‘मैले पुराना अर्थमन्त्रीलाई गाली गरेर अगाडि बढ्दिनँ, पूर्व [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले पूर्व अर्थमन्त्रीले सुरु गरेका राम्रा कामलाई कार्यान्वयन गर्ने बताएका छन् । आइतबार नागरिक लगानी कोषको ३४औं वार्षिकोत्सब कार्यक्रममा बोल्दै उनले आफूले पूर्व अर्थमन्त्रीलाई गाली गरेर समय बर्बाद गर्नेभन्दा पनि उहाँले सुरु गरेका राम्रा कामहरूलाई आफूले कार्यान्वयन गरेर अगाडि बढ्ने बताएका हुन् ।

‘मैले पुराना अर्थमन्त्रीलाई गाली गरेर अगाडि बढ्दिनँ, पूर्व अर्थमन्त्रीले गरेका राम्रा कामलाई निरन्तरता दिन्छु, त्यो मेरो प्रतिवद्धता हो, पुराना नेतृत्वले गरेका राम्रो कामलाई निरन्तरता दिनुपर्छ,’ उनले भने ।

कार्यक्रममा उनले विगतको तुलनामा अर्थतन्त्र केही सहज अवस्थामा रहेको बताउँदै यसलाई थप सहज बनाउनका लागि आफूले काम गर्ने धारणा राखे । आर्थिक क्षेत्रमा अहिले पनि केही सुस्तता कायमै रहेको बताउँदै उनले नेतृत्वले सही ढंगले काम गर्दा सहज भएको धारणा राखे ।

‘बैंकिङ क्षेत्रमा तरलता बढी भएर समस्या आएको छ, विदेशी मुद्रा सञ्चिति बढेको छ, अब त्यसलाई परिचालनतर्फ ध्यान दिनुपर्छ,’ उनले भने ।

यस्तै, उनले कोषको काम कारवाहीको विषयमा पनि आफ्नो धारणा राखेका छन् । १२ सय मेगावाटको बुढिगण्डकीमा ३ खर्ब लगानी आवश्यक छ रहेको बताउँदै त्यसमा नागरिक लगानी कोषले लगानी गर्न सक्ने अवस्था सिर्जना गर्नु पर्ने धारणा राखे ।

उनले १० हजार मेगावाट बिजुली निर्यात गर्दा ४/५ खर्ब भित्र्याउन सकिने बताउँदै अब बिजुली उत्पादनमा केन्द्रित हुनु पर्ने बताए ।

यस्तै, उनले पछिल्लो समय सेयर बजारमा शिथिलता छाएको धारणा राख्दै सेयर बजारलाई उकास्न लगानीका लागि पनि नागरिक लगानी कोषले लगानी बढाउनु पर्ने धारणा राखे ।

‘सेयर बजार विकासको लागि सुझाव मागेको छु, अब ती सुझावका आधारमा नीतिगत व्यवस्थामा परिमार्जन गर्छु, निजी क्षेत्रका संस्थाहरूसँग प्रतिस्पर्धा गर्ने गरी कोषले पनि अग्रसर हुनुपर्छ,’ उनले भने ।

Share News