काठमाडौं । नेपाल धितोपत्र बोर्डका निमित्त अध्यक्ष डा. नवराज अधिकारीले सेयर बजारमा सकारात्मक हस्तक्षेप आवश्यक रहेको बताएका छन् । नागरिक लगानी कोषको ३४औं वार्षिकोत्सब कार्यक्रममा बोल्दै उनले पुँजी बजारको विकास तथा विस्तारका लागि सकारात्मक हस्तक्षेपको आवश्यक रहेको बताएका हुन् ।
उनले नागरिक लगानी कोषका सहभागीहरूलाई प्रतिफल बढाउन आवश्यक रहेको पनि बताएका छन् । उनले पैसलाई बैंकमा मुद्दती निक्षेपकारूपमा नराखेर अन्य क्षेत्रमा लगानी गर्नुपर्ने धारणा राखे ।
उनले पुँजी बजारको गतिशीलतामा जोड दिन लगानी गर्नुपर्ने बताएका हुन् । ‘कुल लगानीको ५१ प्रतिशत मुद्दती निक्षेपमा छ, जसमध्ये ३२ अर्ब २२ करोड रुपैयाँ (१६%) मात्रै सेयर बजार (संस्थापक सेयर समेत)मा छ, पुँजी बजारमा सकारात्मक हस्तक्षेप गर्न आवश्यक छ,’ उनले भने ।
यस्तै, उनले सहायक कम्पनी नागरिक स्टक डिलरको भूमिका पुँजी बजारमा शून्यजस्तै रहेको धारणा राखे । बोर्डले दिएका निर्देशन पालना गरेन भने नागरिक स्टक डिलरलाई कारबाही गर्ने चेतावनी पनि उनले दिएका छन् ।