अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव वैशाखमा हुने
काठमाडौं । नेपाल १७ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला–२०८१ आगामी वैशाख २६ गतेदेखि राजधानीमा आयोजना हुने भएको छ । स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनीको १७ औं श्रङ्खला यस पटक अगामी वैशाख २६ देखि ३० गतेसम्म राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आयोजना हुन लागेको हो । कोरोनापछि विश्वभर आएको आर्थिक मन्दीको प्रभावबाट प्रभावित नेपाली उद्योगहरुको वर्तमान अवस्था झल्काउनु र उनीहरुको व्यापार प्रवद्र्घन गर्न सहयोग पुर्याउने मुख्य उद्देश्यका साथ ‘खोजौं नेपाली, रोजौं नेपाली’ र ‘नेपाली वस्तुको प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ भन्ने मूल नाराका साथ मेला आयोजना हुँदैछ । मुलुकभरका झण्डै छ लाख भन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरु र कृषि व्यवसायमा संलग्न उद्यमीहरुलाई प्रदर्शनीले प्रतिबिम्बित गर्ने महासंघका अध्यक्ष उमेशप्रसाद सिँहले जानकारी दिएका छन् । प्रदर्शनीले मुलुकका लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरुको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुसी, बीटुजी जस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि कार्यक्रम प्रदर्शनीका थप आकर्षण हुने बताइएको छ । प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेशलगायत सार्क मुलुक तथा चीनको सहभागिता रहने महासंघले जनाएको छ । प्रदर्शनीमा २५० वटा स्टल रहने र दुई लाख भन्दा बढी अवलोकनकर्ताहरूले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ भने सात करोड रुपियाँभन्दा बढीको आर्थिक कारोबार हुने प्रक्षेपण गरिएको अध्यक्ष सिंहले बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा हुने प्रदर्शनीको सह–आयोजकको रुपमा नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय – लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र, बागमती प्रदेश सरकार अन्तरगत उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्रालय, काठमाडौं महानगरपालिका, नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रलगायत विभिन्न सरकारी निकाय तथा विभिन्न उद्योग, बैंक तथा व्यवसायिक संघसंस्थासँगको सहकार्यमा मेला आयोजना हुने महासंघले जनाएको छ ।
स्वदेशी उत्पादनको प्रवर्द्धनमा रमाउँदै दाहाल दम्पती, २५ जनालाई रोजगारी
काठमाडौं । रैथाने उत्पादनमा धेरैले फाइदा देख्दैनन् । त्यसमाथि सातै प्रदेशका स्थानीय उत्पादनलाई एउटै बृहत् बजारको आकार दिनु र एकै ठाउँमा देशैभरका मौलिक स्वाद चखाउनु सजिलो पक्कै होइन । सुमन र राधिका दाहालको अथक प्रयासले स्वदेशी वस्तु र स्वादलाई स्थानीय क्षेत्रबाट उठाएर ‘ब्राण्डिङ’ गरिदिएको छ । सातै प्रदेशको स्वदेशी उत्पादनको बजार व्यवस्थापन र प्रवर्द्धनले व्यापारमा एउटा आशलाग्दो जग बसाएका छन् दाहाल दम्पतीले । उनीहरुले स्थानीय उत्पादनको व्यापारलाई दुई वर्षभित्रै करोडौँको बनाउन सफल भए भने थुप्रैलाई रोजगारसमेत प्रदान गरेका छन् । मनले आँटे देशमै रुपैयाँ फलाउन सकिन्छ भन्ने कुराको सबल उदाहरण हुन् दाहाल दम्पती । काठमाडौं कपनमा पाँच लाख रुपैयाँको लागानीबाट सुरु भएको मौलिक भान्सा तथा मौलिक बजारसहितको व्यापार अहिले १५ करोड रुपैयाँ पुगिसकेको राधिका दाहाल बताउँछिन् । उनी सुनाउँछिन्, ‘व्यवसाय सुरु गर्दा श्रीमान्–श्रीमतीले काम गरेका थियौँ । दुई वर्षमा २५ जनालाई रोजगारी दिन सफल भएका छौँ’, उनले भनिन्, ‘मौलिक भान्सा र मौलिक बजारबाहेक हर्बल कस्मेटिक, अदुवा–लसुनको पेस्टसहितको उद्योगको राम्रो बजारीकरण सुरु गरेका थियौँ । त्यसको कमाइले व्यवसाय बढाउन सकेका हौँ ।’ सात प्रदेशको स्वाद र उत्पादन स्वदेशी तथा मौलिक उत्पादनको प्रवद्र्धन तथा बजार व्यवस्थापन गर्न सकिन्छ भन्ने सोच मौलिक बजारका अध्यक्ष सुमन दाहाललाई पाँच वर्ष अगाडि नै आएको थियो । सोही परिकल्पनाको आधारमा उनले ‘मौलिक बजार कपन जाऔँ, मौलिक भान्सामा रमाऔँ, सात प्रदेशको परिकार खाऔँ सात सय ५३ पालिकाको उत्पादन लैजाऔँ’ भन्ने मुख्य उद्देश्य साथ परियोजनाको खाका कोरेका छन् । दाहालका अनुसार मौलिक बजारमा प्रत्येक साय सय ५३ पालिकाको नामकरण र एक उत्पादनको ब्राण्डिङ गर्नु यसको उद्देश्य हो । दाहाल भन्छिन्, ‘अवधारणा अलि अगाडि बनाए पनि कार्यान्वयन भएको दुई वर्षमात्रै भएको छ । एक स्थानीय तह एक उत्पादनको ब्राण्डिङ गर्ने अवधारणा राख्यौँ । त्यसका लागि सात सय ५३ वटा खण्डहरु बनाएर प्रत्येक स्थानीय तहअनुसारको नामकरण गर्यौँ र पालिकाहरुलाई आह्वान गर्यौँ । एउटा पालिकाबाट एउटा उत्पादन ब्राण्डिङ्ग गरेर हामी बिक्रीवितरण गर्छौं भनेर अगाडि बढ्यौँ । अहिले जम्मा तीन सय छ पालिकाको सामान यहाँ उपलब्ध छ । उनका अनुसार चाँडै सबै पालिकाबाट स्थानीय उत्पादन ल्याइनेछ ।’ सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका–२ घर भएका सुमन दाहालले आयुर्वेद अध्ययन गरेका छन् भने मण्डनदेउपुर–५ काभ्रेकी राधिकाले पत्रकारिता र राजनीतिशास्त्रमा स्नातकोत्तर एवं एलएलबी समेत गरेका छन् । श्रीमानले परिकल्पना गरेको मौलिक वस्तुलाई बजारीकरण गर्ने र मौलिक स्वाद पस्किने सपनालाई राधिकालाई पनि उचित ल्याग्यो र यसमा दुबै दम्पती सक्रिय भएका छन् । मौलिक भान्सा र बजारको व्यवस्थापनदेखि बजारीकरणको जिम्मा राधिकाले लिएकी छिन् । उनी सुनाउँछिन्, ‘चुनौतीहरु धेरै छन् । त्यो पार गर्दै धेरै यसमा लाग्नुपर्छ । अहिलेको विश्वव्यापी मन्दीको अवस्थामा उत्पादनमा जानुको विकल्प छैन ।’ मौलिक परिकारमा बगियादेखि भक्कासम्म मौलिक भान्सामा सात प्रदेशको विशेष परिकार पाक्दै आएको छ । मौलिक खानाको पारखीहरुको लागि उत्तम गन्तव्य हुनसक्छ मौलिक भान्सा । दाहाल भनिन्, ‘हामीले सबै प्रदेशको विशेष चर्चित परिकार पस्कँदै आएका छौँ । प्रदेश १ को किनेमा र झ्याउ, तराईको भक्का, मधेश प्रदेशको बगिया र गहुँको रोटी बागमती प्रदेशको नेवारी खाजा सेट र योमरी, गण्डकी प्रदेशको पोखरेली जेठोबुढो चामलको खिर र सेलरोटी लुम्बिीको खिचडी र ढिकरी, कर्णालीको मार्सीको खाना र कसार तथा सुदूरपश्चिमबाट माडा र रोटा आदि परिकारहरु विशेष परिकारमा सामेल छ ।’ उनले भनिन्, ‘ढिँडो, खिर, चाम्रे, पुवादेखि लिएर स्थानीय मौलिक सबै परिकारलाई हामीले पेय र खाजा, खानका रुपमा पस्किँदै आएका छौँ । बजार व्यवस्थापक राधिकाका अनुसार, मेरो ठाउँको के उत्पादन आयो भनेर खोज्दै आउनेहरुको भीड बढ्दो छ । आफ्नो गाउँघरको उत्पादन पाएपछि खुशी हुनेहरु पनि उत्तिकै हुनुहुन्छ । यसलाई पैसासँग दाँज्न सकिँदैन मौलिक बजार तथा भान्सा घर परियोजनाअन्तर्गत सङ्ग्रहालयसमेत बनाइएको छ । यसभित्र देशैभर उत्पादन हुने एक सय ४० प्रकारका बीउहरु राखिएका छन् । त्यस्तै परम्परागत सीपमा आधारित विभिन्न वस्तुहरु सङ्ग्रहालयभित्र छ ।’ मौलिक भान्साघरले प्रत्येक वर्षको माघ महिनामा व्यञ्जन महोत्सवको आयोजना गर्दै आएको अध्यक्ष सुमन बताउँछन् । यसअन्तर्गत यस वर्षको माघ १ गते ८४ व्यञ्जनसहितको मेला आयोजना गरिएको थियो । दाहालका अनुसार, स्वदेशी वस्तुको प्रवद्र्धन र विस्तारका लागि हामीले विभिन्न मेला र आयोजनाहरु गर्दै आएका छौँ । यस वर्षको मेलाको परिकल्पनाअनुसार हप्तामा सातै बार, सात प्रदेश, सात विशेष परिकार, सात पंक्षी, सात स्वाद अनि सात संस्कृति तथा सात पहिरनका साथै सातै दिन सांस्कृतिक साँझको अवधारणा राखेर कार्यक्रमसहितको मेला आयोजना गरिएको थियो । यसवर्षका ५२ हप्तामा साप्ताहिक उत्पादन तथा मेला सञ्चालन भइरहेको छ । मौलिक उत्पादनहितको परियोजना सात रोपनी जग्गामा सञ्चालित रहेको छ । अध्यक्ष सुमन भन्छन्, ‘बासँघारी रहेको भिरालो जमिनलाई परिस्कृत गरेर अर्गानिक खेतीको सुरुआत गर्यौँ तर पाँच वर्षअघि लिएको जग्गामा लगातार चार वर्ष राम्रो उत्पादन भएन । तैपनि हामी हतास भएनौँ र निरन्तर खेती गरिरह्यौँ । विस्तारै खेती सप्रिँदै गयो र यस वर्ष राम्रै उब्जनी भएको छ ।’ आयुर्वेदको अध्ययन गरेकाका दाहाल हर्बल कस्मेटिक्सको प्रोडक्सनहरुसमेत बजारमा ल्याएका छन् । यसका साथै अदुवा र लसुनको पेस्ट बनाउने उद्योग सञ्चालनमा ल्याएर सुपथ मूल्यमा उपलब्ध गराउँदै आएका छन् । प्रशोधनदेखि ब्रण्डिङ र प्याकेजिङसम्म मौलिक बजारको कम्पाण्डभित्र पाँच वटा प्रोजेक्ट सञ्चालनमा रहेको राधिका बताउँछिन् । मौलिक भान्सामा गाउँगाउँको मौलिक उत्पादनलाई बजारीकरण गर्ने गरिएको छ भने प्रसोधन उद्योगसमेत सञ्चालनमा रहेको छ । यसले हाम्रो उत्पादनको प्रशोधन, ब्रण्डिङ र प्याकेजिङसम्मको काम गर्छ । ‘फ्यामिली प्रोडक्सन हाउस’ भनेर नामकरण गरिएको यस उद्योगले सामानलाई बजारीकरण गर्नु अघिको सबै प्रकृया पूरा गर्छ । यसका साथै पाँच रोपनी जग्गामा सञ्चालन गरिएको अर्गानिक कृषि फार्ममा तरकारी, सागसब्जी उत्पादन गर्नुका साथै पशुपन्छी पालन गरेको बताउँछिन् । राधिका भन्छिन्, ‘व्यापारको दृष्टिकोणले व्यवस्थापन गर्न सक्यौँ भने सजिलो हुने रहेछ ।’ मौलिक खानाको स्वाद लिनेहरुले हप्ताका सातै दिन सातै प्रदेशका सांस्कृतिक झाँकी र नृत्यहरुको मजासमेत लिन सक्नेछन् । मौलिक भान्सा घरसँगै बनाइएको सांस्कृतिक हलमा संस्कृतिक कार्यक्रम प्रस्तुत हुने गर्दछ । यहाँ अग्रिम बुकिङ्ग गरेर पनि कार्यक्रमहरु गर्न सकिन्छ । बुकिङ्ग गर्नेले आफ्नै कलाकार ल्याएर पनि कार्यक्रम गर्न सकिने उनको भनाइ छ । बस्न खानको लागि कटेजहरुको व्यवस्था गरिएको छ । चुनौतीहरु पन्छिँदै जान्छ मौलिक बजारको बजार व्यवस्थापनको जिम्मेवारी सम्हालेकी राधिका भन्छिन्, ‘नेपाली उत्पादनहरुलाई विश्वास नगर्ने एउटा चुनौती छ । हामीसँग यति राम्रो कस्मेटिकको उत्पादन छ तर भित्रको वस्तु नहेरेर बाहिरको आकर्षक प्याकेजिङलाई विश्वास गर्ने चलन हटाउन सकिएको छैन । सीमित स्रोत साधनमा हामीले जे उत्पादन दिन खोजिरहेका छौँ त्यो चीन र भारतबाट आएको सामानको प्याकेजिङ जस्तो नदेखिने हुँदा बजारीकरणमा समस्याको सामना गर्नुपरेको छ । यद्यपि हामीले विस्तारै जनमानसको विश्वास जित्ने प्रयास गर्दै आएका छौँ ।’ उनका अनुसार विस्तारै नेपाली उत्पादनलाई माया गरेर प्रयोग गर्ने क्रम बढ्न थालेको छ । नेपाली पैसा नेपालमै राख्नुपर्छ भन्ने भावना बढ्दैछ । प्रविधि र जनशक्तिको समस्या पनि मुख्य चुनौतीका रुपमा रहेको राधिका बताउँछिन् । उनी भन्छिन्, ‘हामीसँग प्रविधि सिमित छ । मेसिन हामीले भारत र चीनबाटै मगाउनुपर्छ । सामानको प्याकेजिङ र ब्राण्डिङका लागि यहाँ राम्रो मेसिन चलाउन जन्ने मान्छेको अभाव छ । पाइहाले पनि टिकाउन नसक्ने अवस्था छ ।’ आर्थिक मन्दीको प्रभावले व्यवसाय सञ्चालन गर्न समस्या भएको उनको भनाइ छ । सिमित स्रोत साधनले काम गर्नुपरेको बताउँदै उनी भन्छिन्, ‘महिला उद्यमशीलताका लागि राज्यबाट सहुलियत पाएका छैनौँ । धितो नभएसम्म बैंकिङले ऋण दिन पनि मान्दैन । महिला सहुलियत कर्जा, दलित कर्जालायतको छ तर त्यसका लागि पनि अन्त्यमा चाहिने धितो नै रहेछ ।’ यस क्षेत्रमा निकै धेरै सम्भावना रहे पनि स्वदेशी र मौलिक उत्पादनलाई बढावा दिन सरकारले जनचेतना बढाउने उद्देश्य राखेर प्रचारप्रसार नहुँदा बजारीकणको समस्याले उत्पादनमा वृद्धि हुन सकेको छैन, युवाहरुले स्वदेशमै रोजगार नपाउँदा विदेश जानुपर्ने बाध्यता रहेको उनको भनाइ छ । सरकारले विदेशी केही वस्तुहरुमा कर र भ्याटलाई कडाइ गर्यो भने स्वतःस्वदेशी उत्पादनको माग बढ्ने छ र यसले बजार पाउने उनी बताउँछिन् । रासस
ड्रिम कार कस्तो हुन्छ ? टोयोटाले विश्वका ८०० बालबालिकासँग माग्यो डिजाइन
काठमाडौं । नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिण्डिकेन्टले १७ औं टोयोटा ड्रिम कार आर्ट कन्टेस्ट सम्पन्न गरेको छ । आईतबार काठमाडौंमा एक कार्यक्रमबीच १७ औं टोयोटा ड्रिम कार आर्ट कन्टेस्ट सम्पन्न गरेको बताएको हो । सिण्डिकेन्टले नेपालबाट १७ औं टोयोटा ड्रिम कार आर्ट कन्टेस्टका लागि ९ जना छनोट गरेको बताएको छ । कार्यक्रमका क्रममा बोल्दै सिण्डिकेन्टका प्रतिनिधि प्रशान्त खत्रीले नेपालबाट टोयोटा ड्रिम कार आर्ट कन्टेस्टमा विश्व प्रतिष्पर्धाका लागि ९ जना छनोट गरिएको र उनीहरुलाई जापान विश्वस्तरको प्रतिष्पर्धाका लागि जापान पठाइने बताए । उनले युनाइटेड ट्रेडर्स सिण्डिकेन्टले तीन क्याटोगरीमा सात वर्षसम्म, ८ देखि ११ र १३ देखि १५ वर्षसम्मा विभाजन गरी तीन क्याटोगरीबाट समान ३/३ जना छनोट गरेको बताए । उनले भने, ‘१७ औं टोयटा ड्रिम कार आर्ट कन्टेस्ट नेपालमा मात्र नभइ विश्वभर आर्ट कम्पिटिशन भइरहेको छ । नेपालमा पनि यसको इभेण्ट हामीले गरिरहेका छौँ । यो गत वर्ष ९० वटा देशबाट लगभग ८ लाख सहभागी भएका थिए । त्यसमा नेपालबाट पनि हुनुहुन्थ्यो । एउटा सात वर्षसम्मको क्याटोगरी, अर्को ८ देखि ११ र १३ देखि १५ वर्षसम्मको तीन वटा क्याटोगरी छ । यसको कन्सेप्ट साना बालबालिकाहरुको लागि एउटा ड्रिम कन्सेप्ट कार हुन्छ भन्ने हिसावले आर्ट कन्टेस्ट गरिएको हो । तीन वटा क्याटोगरीबाट ९ जना छनोट हुनुभएको छ । यो हामीले वल्र्ड कम्पिटिशनका लागि जापान पठाउनेछौँ । यसमा ८ सय बढी बालबालिकाहरुको सहभागिता रहेको छ ।’ सातौं टोयोटा ड्रिम कार आर्ट कन्टेस्ट मा नेपालमा ८ सय बढी विद्यार्थीहरुले सहभागिता जनाएका थिए । यसले साना बालबालिकाहरुको लागि भविष्यको कार कस्तो हुनुपर्छ भन्ने कन्सेप्ट तयार पार्न सहज हुने बताइएको छ । भविष्यका इन्भेन्टर्स, थिंकर्स र ड्रिमर्स बालबालिकाहरुको प्रतिभालाई प्रस्फुटन गर्न यसले सहयोग पुर्याउने टोयोटाले अपेक्षा गरेको बताएको छ । सन् २००४ देखि टोयोटाले आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत यस प्रकारको प्रतियोगिता आयोजना गर्दै आएको छ ।
पूर्व सभामुख महरालाई कारवाही गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई कारबाही गर्न निर्देशन दिएका छन् । आइतबार सुरक्षा प्रमुखहरूसँग छलफल गर्दै महरालाई कारबाही गर्न निर्देशन दिएका हुन् । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न निर्देशन दिइएको बुझिएको छ ।
तोलामा ४ सयले घट्यो सुन
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले ओरालो लागेको हो । महासङ्घका अनुसार आजका लागि छापावाला सुन प्रतितोला एक लाख २५ हजार रुपैयाँ कायम छ । शुक्रबार छापावाला सुन प्रतितोला एक लाख २५ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख २४ हजार चार सय रुपैयाँ तोकिएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला एक लाख २४ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार प्रतितोला एक हजार पाँच सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार भने एक हजार पाँच सय ३० रुपैयाँ कायम गरिएको छ ।
चैत अन्तिम सातादेखि ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो हुने
ललितपुर । मेड इन नेपाल नारा सहित आगामी चैत अन्तिम साता ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ आयोजना हुने भएको छ । ललितपुरस्थित जावलाखेल फुटबल ग्राउण्डमा चैत २२ गतेदेखि २६ गतेसम्म आयोजना हुने इन्टरनेशनल ट्रेड एक्स्पोमा मेड इन नेपाल प्याभिलियनमा विशेष आकर्षण रहने आयोजक पक्षले जनाएको छ । ललितपुर चेम्बर अफ कमर्शको आयोजनामा सञ्चालन हुने इन्टरनेशनल ट्रेड एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका बंगलादेश, थाइलैण्ड, टर्की, मलेसिया, चाइनालगायतका देशहरुमा उत्पादित विविध वस्तु तथा सामग्री, मौलिक उत्पादन र सेवा सम्बन्धी इन्टरनेशनल ट्रेड एक्स्पोमा राखिने बताइएको छ । ललितपुर महानगरपालिका सहआयोजक, नेपाल चेम्बर अफ कमर्शको सहयोग, जावलाखेल युथ क्लबको सहयोगमा सञ्चालन हुने इन्टरनेशनल ट्रेड एक्स्पोमा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, सारी, कुर्था, बेडसिट, जुत्ता–चप्पल, नक्कली गरगहनालगायतका सामग्री प्रदर्शनीमा उपलब्ध हुने आयोजक पक्षले जनाएको छ । पहिलो पटक ललितपुरमा आयोजना गर्न लागेको एक्स्पोमा सहभागी राष्ट्रका प्रतिष्ठित व्यापारीहरुको सहभागीता रहने छन् । मेलाको सहयोगी संस्थाका रुपमा लक्ष्मी सनराइज बैंक र नेपाल हस्तकला महासंघ रहेका छन् । एक्स्पोले आर्थिक गतिविधिलाई बढाउनुको अतिरिक्त दुबै मुलुकलाई समृद्धिको दिशामा अघि बढ्न पनि यस्ता मेलाहरु फलदायी हुने अपेक्षा रहेको ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष पुष्परत्न शाक्यले बताए। सार्क मुलुकमा निर्मित सामग्रीहरुले नेपाली बजार लिएको र नेपालका हस्तकलाका सामग्रीहरूले अन्य मुलुकमा प्रभाव जमाएको भन्दै अध्यक्ष शाक्यले मेलामार्फत सहभागी देशहरुको उत्पादनको प्रबद्र्घनमा सघाउ पुग्ने अपेक्षा शाक्यले गरे । यस्तो मेलाले सहभागी मुलुकका व्यवसायीलाई सामिप्यमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा रहेको इन्ट्रोडक्सन ट्रेड शोका मेनेजीङ डाइरेक्टर सुमन महर्जनले बताए । मेलाको आकर्षणको रुपमा खानाको लागि विभिन्न देशका स्वादमा फुड स्टल, साना केटाकेटीहरुका लागि गेमिङजोन, फोटो सुट, विविध सांस्कृतिक कार्यक्रमका साथै जावलाखेल फुटबल ग्राउण्ड परिसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने एक्स्पोका संयोजक सुनिल विष्टले जानकारी दिए। मेलामा व्यापार प्रवद्र्घनका लागि अझै पनि केही स्टल बाँकी रहेको भन्दै आयोजक पक्षले नेपाल, भारत, पाकिस्तान र बंगलादेशको कुम्भ मेलामा आफ्नो ब्राण्ड प्रवद्र्घन गर्न र व्यापार गर्न चाहने फर्म तथा कम्पनीलाई पनि आब्हान गरेको छ ।
बाँसबारी जग्गा प्रकरण : संलग्न सबैको बयान लिन गृहमन्त्रीको निर्देशन
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बाँसबारी छाला जुत्ता कारखाना जग्गा प्रकरणमा संलग्न सबैमाथि तत्काल अनुसन्धान गर्न निर्देशन दिएका छन् । आइतबार सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै उनले सो कारखानाको १० रोपनी जग्गा हडपेको विषयमा संलग्न सबैमाथि आजैदेखि अनुसन्धान गर्न निर्देशन दिएका हुन् । उनले सो जग्गा सरकार माहतल ल्याउने प्रक्रिया आजै सुरु गर्न पनि निर्देशन दिएका छन् । अब नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले चौधरीमाथि बयान सुरु गर्ने बुझिएको छ । सीआईबीले बाँसबारी छालाजुत्ताको जग्गा ठगी गर्ने विषयमा लामो अनुसन्धानपश्चात् व्यवसायी अरुण चौधरी, बाँसबारी छालाजुत्ता कारखाना तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र सिजी चाँदबाग रेसिडेन्सीका सञ्चालक सञ्जय ठाकूरलाई पक्राउ गरेको थियाे । पछि अदालतले उनीहरूलाई छाेड्न आदेश दिएको थियो । कानून विपरित सो उद्योगका तत्कालीन कार्यकारी अध्यक्ष थापाले अरुण चौधरीसमेत सञ्चालक रहेको च्याम्पियन फुटवेयर नामक कम्पनी खडा गरी सो कम्पनीलाई कारखानाको १० रोपनी जग्गा हस्तान्तरण गरेको अनुसन्धानबाट खुलेको छ । सो बेला कम्पनीको सेयरधनीमा अरुण मात्रै थिएनन् । सो कम्पनीको मुख्य सेयरधनीको रूपमा उद्योगी विनोद चौधरी पनि थिए । सीआईबीले अनुसन्धान गर्दै जाँदा तत्कालीन सेयरधनीहरू पनि अनुसन्धानमा तानिने सीआईबीको भनाइ छ । अहिले च्याम्पियन फुटवेयर कम्पनीको सेयरधनीका रूपमा अरूण र उनकी श्रीमती शिला चौधरी भए पनि त्यतिबेला सो कम्पनीको सेयरधनीकारूपमा विनोदकुमार चौधरी, लुनकरणदास चौधरी, बसन्त कुमार चौधरी, महेशकुमार अग्रवाल, बाँसबारी छाला तथा जुत्ता कारखाना र गंगादेवी चौधरी थिए ।
सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन् । गृहमन्त्री लामिछानेले गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँबर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई उक्त निर्देशन दिएका हुन् । मन्त्रालयमा केही समय अघि भएको छलफलमा मन्त्री लामिछानेले कृष्णबहादुर महरासहित प्रतिवेदनले औंल्याएका निजामती तथा प्रहरी कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएका हुन् । त्यस्तै, मन्त्री लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको दस रोपनी जग्गा सरकार माहतल ल्याउने प्रक्रिया आजै सुरु गर्न निर्देशन दिएका छन् । सो का लागि विनोद चौधरीसहितलाई अनुसन्धान प्रक्रियामा ल्याउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बयान लिने भएको छ ।