लाभांश घोषणा गरेको मैलुङ खोलाको सेयर कारोबार रोक्का
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले मैलुङ खोला जलविद्युत कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको छ । नेप्सेले संस्थासँग तीन दिने स्पष्टिकरण माग्दै कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको हो । कम्पनीले सेयर कारोबार खुला भएको समयमा लाभांश घोषणा सम्बन्धी निर्णय गरेको भन्दै नेप्सेले कारबाही स्वरुप कम्पनीको सेयर कारोबार रोकिदिएको हो । कम्पनीको चैत ७ गते दिउँसो साढे ३ बजे बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई २.२२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । तर, कम्पनीले उक्त सूचना नेप्सेलाई चैत ८ गते बिहान ११ बजेर १७ मिनेट अर्थात नियमित कारोबारको समयमा जानकारी गराइएको बताइएको छ । यससँगै धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनिमय २२(१) मा भएको व्यवस्था बमोजिम धितोपत्रको मूल्यमा प्रभाव पार्ने निर्णय वा सूचना नेप्सेलाई जानकारी सोहि दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि नै सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने उल्लेख छ । तर कम्पनीले त्यसको विपरित अर्थात कारोबार खुला रहेको समयमा लाभांश सम्बन्धी जानकारी गराएको भन्दै नेप्सेले कम्पनीको कारोबार स्थगन गरेको हो । साथै, यस विषयमा के भएको हो ? के कारणले समयमा नै जानकारी दिन नसकेको हो ? भन्दै यसमा नेप्सेले कम्पनीसँग यसको स्पष्टिकरण माग गरेको छ । जसको लागि तीन कार्यदिनको समय दिइएको छ ।
अब बैंकका ऋणीहरूको मनोवैज्ञानिक परीक्षण गरिने
काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका ऋणीहरूको मनोवैज्ञानिक परीक्षण गरिने भएको छ । नेपाल राष्ट्र बैंकले साइकोमेट्रिक स्कोरिंग सोलुसन कर्जा सूचना केन्द्रलाई हस्तान्तरण गरेसँगै ऋणीहरूको व्यवहार र कर्जा भुक्तानी क्षमताको मनोवैज्ञानिक परीक्षण गरिने भएको हो । राष्ट्र बैंकसँगको समझदारीबमोजिम तयार भएको साइकोमेट्रिक स्कोरिंग सोलुसन बिहीबार अन्तर्राष्ट्रय वित्त निगमले कर्जा सूचना केन्द्र लिमिटेडलाई हस्तान्तरण गरिएको हो । राष्ट्र बैंकका अनुसार नयाँ ऋणीको व्यवहार र कर्जा भुक्तानी क्षमताको मनोवैज्ञानिक परीक्षण गर्ने उद्देश्यका साथ उक्त प्रणाली तयार गरिएको हो । यस प्रणालीबाट विगतमा कर्जा नलिएका र बिनाधितो सानो आकारका कर्जा लिन चाहने ऋणीको मनोवैज्ञानिक परीक्षण हुने राष्ट्र बैंकले जनाएको छ । यसको कार्यान्वयनसँगै नेपालमा वित्तीय समावेशीकरणको प्रवद्र्धनमा समेत सहयोग पुग्ने अपेक्षा राखिएको राष्ट्र बैंकको भनाइ छ ।
लोकसभा चुनाव नजिक दिल्लीका मुख्यमन्त्री केजरीवाल गिरफ्तार
एजेन्सी । भारतमा सन् २०२४ को लोकसभा चुनाव नजिकिँदै गर्दा नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल गिरफ्तारमा परेका छन् । पर्वतन निर्देशनालय (इडी)ले मदिरा सम्बन्धी नीतिमा भएको भ्रष्टाचारको आरोपमा मुख्यमन्त्री केजरीवालाई पक्राउ गरेको भारतका सञ्चारमाध्यमहरुले जनाएका छन् । इडीले बिहीबार राती केजरीवाललाई उनकै आवासबाट गिरफ्तार गरेको थियो । गिरफ्तारपछि उनको मेडिकल चेकअप गरिएको छ । साथै उनलाई आज नै अदालत पेस गरेर थप अनुसन्धानको लागि इडीले हिरासतमा राख्न अनुमति लिने बताइएको छ । मुख्यमन्त्री केजरीवालको गिरफ्तारीपछि आम आद्मी पार्टीले विरोध प्रदर्शन शुरु गरेको छ भने भने पार्टीको तर्फबाट सर्वोच्च अदालत जाने बताइएको छ । मुख्यमन्त्री केजरीवालको गिरफ्तारीलाई लिएर भारतीय कांग्रेसका नेता राहुल गान्धीले डराएको तानसाहले एक मरेको लोकतन्त्र बनाउन चाहेको बताएका छन् । अर्की कांग्रेसकी नेतृ प्रियंका गान्धीले चुनावको बेलामा मुख्यमन्त्रीको टार्गेट गरेर गिरफ्तारी गर्नु एकदमी गलत र असंवैधानिक भएको बताएकी छन् । त्यस्तै, समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले पनि अब भारतीय जनता पार्टी सत्तामा नआउने डरले विपक्षी दलका नेताहरुलाई गिरफ्तार गरेको भन्दै यसले नयाँ जनक्रान्ती जन्माउने प्रतिक्रिया दिएका छन् ।
गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिऔँ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय मापदण्डबमोजिमको गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताएका छन् । चिकित्सा शिक्षा आयोगको १३ औँ बैठकलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्रीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश, सन्दर्भ र आवश्यकताको अध्ययन विश्लेषण गरी गुणस्तरीय जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए । उत्पादित जनशक्ति र सम्मानजनक रोजगारीबीच तालमेल हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले स्वास्थ्यजस्तो संवेदनशील विषयमा गुणस्तरमा सम्झौता नहुने स्पष्ट पारे । ‘गुणस्तरका मापदण्ड परिपालना र कार्यान्वयनमा आयोग क्रियाशील हुनैपर्दछ’, प्रधानमन्त्रीले भने, ‘दक्ष जनशक्ति उत्पादन वृद्धिका साथै गुणस्तरीय अध्ययन अध्यापनका न्यूनतम मापदण्डको परिपालनसमेत उत्तिकै अनिवार्य र महत्वपूर्ण छ ।’ प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बाहिरी मुलुकबाट नेपालमा चिकित्सा शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीका लागि नेपालको चिकित्सा शिक्षा प्रणाली आकर्षणको केन्द्रका रूपमा स्थापित हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले आयोगबाट प्रस्तुत प्रतिवेदनमा विदेशी विद्यार्थीको सङ्ख्या बढ्दै जानुले चिकित्सा क्षेत्रमा आकर्षण बढ्दै गएको देखिएको बताए।
१३ सयले घट्यो सुनको मूल्य, चाँदी प्रतितोला १५ सय रुपैयाँ
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार प्रतितोला १३ सय रुपैयाँले घटेर १ लाख २६ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य पनि घटेर प्रतितोला १ लाख २५ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले घटेर १५ सय रुपैयाँमा कारोबार भएको छ ।
कामना सेवा विकास बैंकले गर्यो वित्तीय साक्षरता कार्यक्रम
काठमाडौं । विश्व वित्तीय सप्ताहको अवसरमा कामना सेवा विकास बैंकले बिहीबार वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउने ‘अर्गनाइजेसन अफ इकोनोमिक्स कर्पोरेसन एण्ड डेभलपमेन्ट’ को संयोजनमा हरेक वर्ष मार्च २२ देखि २८ सम्म मनाउने गरिन्छ । उक्त सप्ताहको अवसरमा बैंकले विभिन्न साक्षरता कार्यक्रम आयोजना गदैंछ । ग्लोबल मनी विक २०२४ अन्तर्गत कामना सेवा विकास बैंकले अमलटारी, पोखरामा इको टुरिजम कृषि समुह तथा इको टुरिजम युथ क्लबको सहर्कायमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा क्लबका अध्यक्ष तथा क्लबका ४० जना भन्दा बढी सदस्यहरुको सहभागीतामा बैंकका कवासोती शाखा प्रमुख हरि प्रसाद साप्कोटा तथा डण्डा शाखा प्रमुख टिकाराम अधिकारीले प्रस्तुतिकरण गरेका थिए । बैंकङ्ग सुविधा, बचत, ऋण तथा विभिन्न किसिमका डिजिटल कारोवारको जानकारी होस् भन्ने हेतुले उक्त कार्यक्रम गरिएको थियो । बैंकहरुले यस्ता वित्तीय साक्षरता कार्यक्रम गर्नाले बचत, ऋण तथा बैंकिङ कारोवारको बारेमा थप जानकारी प्राप्त गर्न सकेकोले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्नेमा सहभागीहरुको भनाई रहेको थियो । हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला द्रूत गतिमा निर्माण हुन्छ : रेनु दाहाल
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अधुराे काम द्रूत गतिमा निर्माण हुने बताएकी छन् । बिहीबारदेखि सुरु भएको ईन्डो नेपाल टि–२० च्याम्पियनसिप प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख दाहालले यू १९ महिला विश्वकप खेल यही रंगशालामा खेलाउने गरी निर्माणको सम्पन्न गर्ने उल्लेख गरिन् । ‘फागुन १७ गते टेण्डर आह्वान भएको छ’, उनले भनिन्, ‘रंगशाला निर्माण हुन्छ कि हुदैन भन्ने आशंका पनि हट्यो । महानगरले द्रुत गति रंगशला निर्माणको नेतृत्वदायी भूमिका निर्वाह गर्छ ।’ यू १९ महिला विश्वकप क्रिकेट प्रतियोगिता गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा गराउनका लागि नेपाल क्रिकेट संघ, खेलकुद मन्त्रालय र खेलकुद परिषदलाई अनुरोध गरिएको उनको भनाइ छ । रंगशाला निर्माणको लागि संघ, प्रदेश र भरतपुर महानगरको संयुक्त रुपमा सहकार्य गरी अगाडि बढेकाले निर्माणको कार्यले छिटोभन्दा छिटो पूर्णता पाउने प्रमुख दाहालले बताइन् । भरतपुर महानगरपालिका क्रिकेटमा मात्र नभई सबै प्रकारको खेलकुद गतिविधि गर्ने नेपालकै उत्कृष्ट पालिकाको रुपमा सम्मानित भएको स्मरण गरिन् । प्रमुख दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा विगत ५ महिनादेखि निरन्तर रुपमा खेलकुद गतिविधि सञ्चालन हुँदै आइरहेको बताइन् । अगामी चैत २६ गतेदेखि वागमती प्रदेश सरकारको आयोजनामा अन्तर प्रदेश स्तरीय खेलकुद प्रतियोगिता भरतपुरमै हुन लागेको सो अवसरमा जानकारी दिइन् । प्रतियोगितामान क्रिकेट, फुटबल, भलिबल, स्वीमिङ, तेक्वान्दोलगायतका विभिन्न विद्याको खेल हुँदैछ । महानगरपालिकाले यस अघि विद्यालयस्तरीय क्रिकेट लिग प्रतियोगिता गरिसकेको छ । चितवन जिल्ला क्रिकेट संघको आयोजनामा यही चैत ८ (बिहीबार) देखि १८ गतेसम्म चल्ने छ । सिंगल राउन्ड रोबिनका आधारमा हुने खेलमा नेपालका ४ टिम बागमती प्रदेश, मधेस प्रदेश, सुदूरपश्चिम प्रदेश, आयोजकको तर्फबाट भरतपुर मेयर्स ११ र भारतीय टोलीमा कलकत्ता र लखनउ ११ गरी ६ टीमबीच प्रतिस्पर्धा हुनेछ ।
पर्यटनमा नीतिगत सुधारका लागि मन्त्रालय तयार छ : मन्त्री तामाङ
काठमाडौं । नेपाल पर्यटन बोर्डले नव नियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङको स्वागत गरेको छ । पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष डा. दीपक काफ्ले तथा बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले मन्त्री तामाङलाई स्वागत गरेका हुन् । कार्यक्रममा बोल्दै मन्त्री तामाङले पर्यटन क्षेत्रको विकासको लागि आवश्यक नीतिगत सुधारको लागि मन्त्रालय तयार रहेको बताउँदै बोर्डलाई प्रभावकारी ढंगले पर्यटन प्रवद्र्धनका कार्य गर्न आग्रह गरे । पर्यटन विकासका लागि अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन रणनीति अनुुरुप क्रमशः काम गर्दै अघि बढ्ने उल्लेख गर्दै मन्त्री तामाङले मन्त्रालयले रचनात्मक कार्यका लागि सरोकारवालासबैसंग सहकार्य गररै अघि बढ्ने बताए । ‘केही नीतिगत कुराहरु रहेका छन् त्यसलाई क्रमशः सुधार गर्दै लगिनेछ । रिक्त रहेका बोर्ड सदस्य नियुक्ति देखि कार्यकारी प्रमुखको छनोट लगायतका सबै काम प्रक्रियामा छन् । अब यी सबै काम छिट्टै टुङ्गिन्छन’, उनले भने । मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष काफ्लले बोर्डको विगत गौरवपूणर् रहेको चर्चा गर्दै पर्यटन प्रर्वद्धनका लागि बोर्डलाई थप चलायमान बनाउनु आजको आवश्यक्ता रहेको बताए । उनले सबैले आआफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दा संस्थागत उद्देश्य तथा लक्ष्य हासिल गर्न सकिने बताए । बोर्डका कार्यकारी सदस्य मदन आचार्यले पर्यटनमा निजी क्षेत्रको अर्बौ लगानी भइसकेको अवस्थामा निजी क्षेत्रमैत्री कानून र सोही अनुरुपको सहकार्य आवश्यक भएको बताए । सो बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह एरले नेपालको पर्यटन विकासको लागि गठित बोर्डको अवधारणा, भइरहेका गतिविधी तथा भावी कार्यक्रमबारे जानकारी दिँदै विदेशका कार्यक्रम गर्नका लागि कार्यविधि नहुँदा विदेशमा आयोजना गरिने धेरै कार्यक्रम प्रभावित भएको भन्दै सहजिकरण गरिदिन मन्त्री तथा सचिवसंग आग्रह गरे । कार्यक्रममा बोर्डका कर्मचारी युनियनको तर्फबाट धारणा राख्दै अधिकृत सुदन सुवेदीले कर्मचारीका समस्या,नीतिगत अस्पष्टताले काममा भइरहेका बाधाबारे धारणा राखेका थिए ।