विकासन्युज

ग्लोबल आइएमईले गर्यो वित्तीय साक्षरता कार्यक्रम आयोजना, १४ हजार बढीको सहभागिता

काठमाडौं । ग्लोबल आइएमई बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका १११ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । बैंकले ग्लोबल मनि विक २०२४ को अवसर पारेर देशव्यापी रुपमा आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा १४ हजार भन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरुको सहभागिता रहेको थियो । ग्लोबल आइएमई बैंकले आफ्ना ३५४ वटै शाखाहरुमार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग प्रवद्र्धन कार्यक्रमहरुसञ्चालन गर्ने उद्देश्य राखेको छ । कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन । ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ । त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रथम वार्षिकोत्सव सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रथम वार्षिकोत्सव सम्पन्न भएको छ । साबिकका सानिमा लाईफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स गाभिएर २०७९ चैत्र ९ गतेका दिन बनेको सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको शुक्रबार विविध कार्यक्रमको आयोजना बीच प्रथम वार्षिकोत्सव मनाएको छ । कम्पनीका संचालक समितिका अध्यक्ष, संचालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, उच्च पदाधिकारीहरू लगाएतका सहभागितामा विभिन्न संदेश मूलक प्लेकार्ड सहित प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रम कम्पनीको कमलादी कार्यालयबाट सुरुवात भई घन्टाघर-भद्रकाली-जमल हुदै पुन : कमलादीमा पुगेर टुंगिएको थियो । साथै मानव जीवनको रक्षा गर्ने उदेश्यले नेपाल रेड क्रस सोसाईटिसंगको सहकार्यमा कम्पनीको प्रधान कार्यालय, बानेश्वरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा ५५ जना भन्दा बढी सहभागीहरुले रक्तदान गरेका  थिए। साथै काठमाडौं शान्तिनगर स्थित असहाय वृद्धबृद्धाहरुको लागि विशेष आश्रय प्रदान गरिरहेको नि: सहाय सेवा सदनमा आहार बिहार र देशैभरि विभिन्न शाखा कार्यालयहरू मार्फत सामाजिक उत्तरदायित्व अन्तर्गत सोही किसिमका कार्यक्रमहरूको आयोजना गरि मनाईराखीएको छ । बीमा कम्पनीहरूको पुँजी वृद्धि गरि समग्र बीमा क्षेत्रलाई अझै मजबुत बनाई उत्कृष्ट ग्राहक सेवा प्रवाह गर्नका लागि बीमा नियमनकारी निकायको पहलमा दुई कम्पनी गाभिएर बनेको बीमक सानिमा रिलायन्सको चुक्ता पुँजी ४. १८ अर्ब रहेको छ भने लगानी १७ अर्ब नजिक र जीवन बीमा कोष १२. ६९ अर्ब रहेको छ । देशभरि १७५ साखा संजाल मार्फत आफ्नो सेवा प्रदान गर्दै आएको कम्पनीको व्यवसाय तथा अधिकांश आर्थिक सूचकाङ्कहरू सकारात्मक रहेका छन् ।

महिलामा बिकराल बन्दैछ पाठेघरको मुखको क्यान्सर, संक्रमण रोक्न एचपीभी खोप लगाइँदै

काठमाडौं । पाठेघरको मुखमा हुने क्यान्सरबाट जोगाउन किशोरीलाई दोस्रो मात्राको एचपीभी खोप लगाउन सुरु गरिएको छ । पहिलो खोप लगाइसकेका १४ वर्ष पूरा भई १५ वर्ष नकटेका किशोरीलाई दोस्रो मात्रामा खोप लगाउन सुरु गरिएको स्वास्थ्य सेवा विभाग अन्र्तगतको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ । खोप शाखाका प्रमुख अभियान गौतमका अनुसार सातवटै प्रदेशमा खोपको पहिलो मात्रा लगाइसकेका किशोरीलाई खोप लगाइनेछ । चैत ६ गतेदेखि सुरु भएको कर्यक्रम १५ गतेसम्म लगाइने छ । जसअनुसार चैत ६ गते लुम्बिनी प्रदेशको भेरी अस्पताल, ७ गते कोशी प्रदेशको कोशी अस्पताल विराटनगर, मधेशको नारायणी अस्पताल विरगञ्ज, गण्डकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णालीको प्रदेश अस्पताल विरेन्द्रनगरमा खोप कार्यक्रम सुरु भएको छ । यस्तै बागमती प्रदेशको परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल र सुदूुरपश्चिमको डडेल्धुरा अस्पतालमा चैत १५ गते खोप लगाइने छ । पहिलो मात्रा खोप लगाएका ९ हजार ९ सय ९९ किशोरीलाई दोस्रो मात्रा लगाउन थालिएको हो । किशोरीहरूले खोप लगाउन पहिलो खोप लगाएको केन्द्रमै जानु पर्नेछ । सरकारले चीन सरकारसँग महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको २० हजार मात्रा खोप खरिद गरेको थियो । १० हजार मात्रा पहिलो पटकको अभियानमा लगाइएको थियो भने बाँकी मात्र दोस्रो पटक लगाइने भएको हो । यो खोपको दुवै मात्रा लगाएपछि पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमणबाट ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने दाबी गरिएको छ । यसअघि सरकारले सन् २०१६/१७ मा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप नमुनाका रूपमा चितवन र कास्कीमा लगाएको थियो । बाँकी रहेका किशोरीलाई आगामी दिनमा खोप लगाइने शाखाले जनाएको छ । महिलामा बिकराल पाठेघरको मुखको क्यान्सर आजभोली स्वास्थ्य संस्थामा पुग्ने धेरै जसो महिलामा पाठेघरको मुखको क्यान्सर भएको पाइन्छ । यो समस्या महिलामा विकरालरूपमा देखिएको छ । पाठेघरको मुखको क्यान्सर ह्युमन प्यापपिलोमा भाइरस (एचपीभी) एउटा भाइरसको संक्रमणका कारण लाग्ने गर्छ । साथै, धेरै पुरुषसँग सम्पर्क राख्दा पनि यो रोग लाग्छ भने कम उमेरमा धेरै सन्तान जन्माउने महिलाहरूमा पनि यस्तो समस्या देखिने गर्छ । जुनसुकै अंगमा सामान्य भन्दा धेरै कोषीका बढ्नु राम्रो होइन, यो हुनु भनेको क्यान्सर हो । पाठेघरमा पनि असामान्यरूपमा कोषहरू वृद्धी हुँदा क्यान्सर हुन्छ । डिम्बाशयको क्यान्सर र पाठेघरको मुखको क्यान्सरपछि पाठेघरको क्यान्सर नै प्रजनन् प्रणालीको क्यान्सरबाट हुने मृत्युको तेस्रो कारक तत्व हो । पाठेघरको मुखको क्यान्सरका कारण नेपालमा वर्षेनी दुई हजार देखि तीन हजार महिलाको मृत्यु हुने गरेको छ । के हो एचपीभी ? ह्युमन प्यापिलोमा (एचपीभी) एउटा भाइरस हो । यो सानो र सामान्य डीएनए भाइरस हो । यसले शरीरका भित्री अङ्गको सतहमा हुने झिल्लीमा रहेको कोशिकामा सङ्क्रमण गर्छ । अहिलेसम्मको अध्ययन अनुसार महिलाहरूको पाठेघरमा लाग्ने क्यान्सरको प्रमुख कारण एचपीभी हो । यसका अनगिन्ती प्रजातिहरू हुन्छन् । पाठेघरको मुखमा हुने क्यान्सर मध्ये ९५ प्रतिशत बढी क्यान्सर यसले गराउँछ । सामान्यतया यसको सङ्क्रमणले कुनै लक्षण देखाउँदैन । तर, कुनै कुनैले भने शरीरमा ‘मुसा’ उत्पन्न गराउँछ । संक्रमण भएको बेलैमा थाहा नहुँदा शरीरको प्रतिरोध प्रणालीले कुनै उपचारबिना नै भाइरस सखाप पारिदिन्छ । यो भाइरस छालाको सम्पर्कबाट सर्छ । अझै भन्नुपर्दा यौन क्रियाकलापको माध्यमबाट महिलामा सर्ने गर्दछ । तर, यो संक्रमित व्यक्तिको यौनांगको छाला श्लेष्म झिल्ली (म्युकस मेम्ब्रेन) वा तरल पदार्थ (सेक्रेसन)सँगको सम्पर्क मार्फत् पनि सर्ने हुन्छ । यसको संक्रमण पुरुष र महिला दुवैमा हुन्छ । लक्षणहरू के हुन् ? सुरुमा त यो संक्रमण भएको धेरैलाई थाहै हुँदैन । तर, बिस्तारै तल्लो पट दुख्ने, अनियमित रुपमा रगत बग्ने, गन्हाउने पानी बग्ने लक्षणहरू देखा पर्दछन् । यसको संक्रमण भएको आफैं थाह हुँदैन । यसका लागि स्वास्थ्य संस्थामा गइ पाठेघरको मुखको पानीको परीक्षण गर्नुपर्छ । कसरी हुन्छ रोकथाम ? यो संक्रमण असुरक्षित यौन सम्पर्कबाट हुने भएकाले सुरक्षित तबरले सम्पर्क राख्नुपर्छ । यो संक्रमणबाट बच्ने भरपर्दो उपचार भनेको एचपीभी विरुद्धको खोप नै हो । यौन सम्पर्क राख्ने उमेर भन्दा पहिले नै किशोरीलाई खोप लगाउनुपर्छ । यो खोप लगाउँदा कुनै असर पर्छ ? कुनैपनि खोप लगाउँदा कतिपयलाई यसले असर गर्छ । प्रायः खोप लगाइसकेपछि ज्वरो आएको महसुस हुन्छ । एचपीभी खोपले पनि किशोरीहरूमा केही समस्या देखिन सक्छन् । यो खोप लगाइसकेपछि खोप लगाएको ठाउँमा दुख्ने, सुन्निने, टाउको दुख्ने, वाकवाकी लाग्ने, थकान महसुस हुने, रिँगटा लाग्ने, ज्वरो आउने, एलर्जी रियाक्सन हुने हुन्छ । यी असरहरू सामान्य हुने भएकाले पछि आफैं निको हुन्छ । तर, यस्ता असरहरू रहिरहेमा वा गम्भीर लक्षणहरु देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ ।

बन्दीपुरमा चट्टान आरोहणको सम्भावित क्षेत्र खोजी गर्दा भेटियो नयाँ गुफा

तनहुँ । पहाडकी रानी उपनामले परिचित बन्दीपुरमा नयाँ गुफा फेला परेको छ । बन्दीपुर गाउँपालिका–२ पौवा नजिक करिब २० मिटर लम्बाइ भएको सरपानी गुफा भेटिएको हो । बन्दीपुरमा चट्टान आरोहणको सम्भावित क्षेत्र खोजी गर्ने सिलसिलामा बिहीबार उक्त गुफा भेटिएको गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिए । उनका अनुसार खोजी कार्यमा साहसिक पर्यटन व्यवसायी चन्द्र आले, प्याराग्लाइडिङ पाइलट समन्वय प्रधान, पर्यटन व्यवसायी सुकराम तामाङसहितको टोली सहभागी थियो । नयाँ गुफा भेटिएपछि बन्दीपुरको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्न सहयोग पुग्ने विश्वास लिइएको अध्यक्ष थापाले बताए । उनका अनुसार बन्दीपुर बजारबाट करिब एक किलोमिटर दूरीमा उक्त स्थानमा पुग्न सकिन्छ । ‘कालोपत्र सडकबाट करिब दुई सय मिटर दूरी पैदलयात्रापश्चात् गुफामा पुग्न सकिन्छ’, अध्यक्ष थापाले भने, ‘बन्दीपुर घुम्न आउने पर्यटकले गुफाको अवलोकन र चट्टान आरोहणसमेत गरी मनोरञ्जन लिन सक्नेछन् ।’ उक्त गुफा बाहिरको पहरा करिब तीन सय मिटर फराकिलो र ५० मिटर उचाइको रहेकाले चट्टान आरोहणका लागि प्रचुर सम्भावना देखिएको उनको भनाइ छ । मुख्यमन्त्री नवप्रवर्तन कार्यअन्तर्गत चट्टान आरोहण कार्यक्रम रहेकाले यसका लागि आवश्यक सामान खरिद गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको जनाउँदै यसले यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने गाउँपालिकाका अध्यक्ष थापाले बताए । ‘करिब ३६ वर्ष बन्दीपुर बस्दा पनि यहाँ गुफा छ भन्ने थाहा थिएन । स्थानीय कसैले पनि भन्नुभएको थिएन’, उनले भने, ‘चट्टान आरोहणको सम्भावित क्षेत्र खोजी गर्ने क्रममा गुफा भेटिएको छ । यसको संरक्षण गरी पर्यटन प्रवर्द्धनका योजना बनाउँदै जानेछौँ ।’ गाउँपालिकाले तत्काल यहाँ सङ्केत चिन्ह (बोर्ड) राखेर प्रचारप्रसार गर्नुका साथै गुफासम्म पुग्ने बाटो निर्माण गर्ने योजना बनाइसकेको अध्यक्ष थापाले जानकारी दिए । गुफाभित्र विभिन्न आकृतिमा कुदिएका ढुङ्गालगायत मनोरम दृश्य देख्न सकिन्छ । साथै करिब ४०-५० जना क्षमताको गुफाभित्र हलसमेत रहेको उनले बताए । रासस

क्रिकेट प्रतियोगिता एक्सन स्पोर्टस् च्यानलले प्रसारण गर्ने

काठमाडौं । टेष्ट राष्ट्र आयरल्याण्डको ‘ए’ टोली (आयरल्यान्ड वुल्भ्स) र नेपालबीच हुने क्रिकेट प्रतियोगिताका खेलाहरु डिशहोमको एक्सन स्पोर्टस् च्यानलले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । डिशहोम र क्यानको सम्झौता अनुसार आयरल्यान्ड वुल्भ्सले नेपालमा खेल्ने ८ खेल एक्सन स्पोर्टस्ले प्रत्यक्ष प्रशारण गर्ने छ । नेपाल को राष्ट्रिय टोली गुजरात र बडोदासँग टी-२० त्रिकोणात्मक सिरिजका लागि भारत जानुअघि पाहुना टोली आयरल्यान्ड वुल्भ्ससँग चैत १२ र र १३ गते टी २० क्रिकेट खेल्ने कार्यक्रम रहेको छ । त्यसपछि आयरल्यान्ड वुल्भ्सले नेपाल ए विरुद्ध तीन खेलको टी-२० सिरिज र त्यसपछि तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका रहेको छ । त्यसपछि ए टिमसँग टी २० चैत १५ गते, चैत १६ गते र चैत १८ गते गरी तीन वटा म्याच खेल्ने छ । यस्तै, तीन वटा एक दिवसीय खेलहरु भने चैत २१, २३ र २५ गते हुने छन् । प्रतियोगिताका सवै खेलहरु त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने छन् ।

हाजिरी जमानीमा छोडियो पूर्वसभामुख महरालाई

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा आज हाजिरी जमानीमा रिहा भएका छन् । महरालाई उनका छोरा निर्मल महराको जिम्मामा हाजिरी जमानीमा छाडिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का  प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए । सीआईबी र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको टोलीले पूर्वसभामुख महराको शुक्रबार बयान सकिएपछि उनलाई हाजिरी जमानीमा रिहा गरिएको हो । यसअघि आजै ब्यूरोका प्रवक्ता बोगटीले जिल्ला सरकारी वकिल कार्यालय र ब्यूरोको टोलीले पूर्वसभामुख महराको बयान सकिएको जानकारी दिएका थिए । महरालाई गत सोमबार कपिलवस्तुबाट नेपाल प्रहरीले पक्राउ गरी काठमाडौं ल्याएको थियो । महरालाई जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको थियो । सुनको अवैध तस्करी एवम् नियन्त्रणसम्बन्धमा जाँचबुझ गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वमा गठित आयोगले महराविरुद्ध मुद्दा चलाउनुपर्ने सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा ब्यूरोले महरालाई पक्राउ गरेको थियो । रासस

बैंकका ठूला सेयरधनीलाई कडाइ गर्न लागिएको हो ?

काठमाडौं । सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन (बाफिया)लाई संशोधन गरेर बैंक तथा वित्तीय संस्थाका ठूला सेयरधनीमाथि कडाइ गर्ने संकेत देखाएको छ । सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभामा दर्ता गरेर बैंकका ठूला सेयरधनीमाथि थप कडाइ गर्ने तयारी अगाडि बढाएको हो । अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभामा दर्ता गरेको विधेयकमा एक प्रतिशतभन्दा बढी सेयर स्वामित्व रहेका सेयरधनीहरूको भूमिकालाई थप व्यवस्थित गर्ने उल्लेख छ भने १ प्रतिशतभन्दा बढी सेयर स्वामित्व लिएका सेयरधनीलाई सोही वित्तीय संस्थाबाट ऋण लिन रोक लगाएको छ । ‘कुनै व्यक्ति वा संस्थाले एक्लै वा अन्य व्यक्ति वा संस्थासँग मिलि संयुक्त रूपमा कुनै बैंक वा वित्तीय संस्थाको चुक्ता पुँजीको १ प्रतिशत वा सोभन्दा बढी सेयर लिएको वा सेयर स्वामित्वका कारण बैंक वा वित्तीय संस्थाको प्रभाव पार्न सक्ने अवस्था सम्झनु पर्छ,’ बाफियामा उल्लेख छ । यो विषयलाई बैंकका सेयरधनीले विशेष किसिमले हेरेका छन् । बैंक तथा वित्तीय संस्थामा एकाघर तथा समूह र व्यक्तिको ठूलो हिस्सा सेयर स्वामित्व हुन नपाउने सन्देश यो व्यवस्थाले गरेको छ । तर, नेपाल राष्ट्र बैंकका सह-प्रवक्ता डा. डिल्लीराम पोखरेल यस व्यवस्थाले १ प्रतिशतभन्दा बढी सेयर स्वामित्व रहेका सेयरधनीले सञ्चालक समिति र व्यवस्थापनमा समेत विशेष भूमिका रहन सक्ने बताउँछन् । उनकाअनुसार यो व्यवस्थाले सेयर स्वामित्वमा कडाइ गर्न लागेको भन्दा पनि थप भूमिका दिन खोजिएको हो । ‘चुक्ता पुँजीको एक प्रतिशतभन्दा बढी सेयर स्वामित्व लिन नपाउने भन्न खोजिएको होइन, त्यसले प्रभाव पार्न सक्ने भन्न खोजिएको हो । एक प्रतिशतभन्दा बढी सेयर स्वामित्व भएका सेयरधनीहरूले सञ्चालक समितिमा बस्न पाउने, विशेष अधिकार दिएको हो, १ प्रतिशतभन्दा बढी स्वामित्व भयो भने भूमिका विशेष रहने भन्न खोजिएको हो,’ उनले भने । उनले ठूला सेयरधनीलाई कडाइ गर्ने बुझ्न नहुने तर्क दिए । विधेयकका अनुसार कुनै पनि बैंक तथा वित्तीय संस्थामा १ प्रतिशतभन्दा बढी सेयर लगानी गरेको व्यक्तिले सोही बैंकबाट ऋण लिन पाउने छैन । हालको व्यवस्था अनुसार कुनै पनि बैंकमा २ प्रतिशतभन्दा बढी सेयर स्वामित्व छ भने उनले सोही बैंकबाट कर्जा लिन पाउँदैन । अब दुई प्रतिशतको सीमालाई एक प्रतिशतमा झारेको हो । यसले पनि ठूला सेयरधनीलाई कडाइ गरेको देखिन्छ । यो व्यवस्थाले राष्ट्र बैंकले उद्योगी र बैंकर छुट्याउन चाहेको हो । विधेयक जस्ताको त्यस्तै पारित भएमा बैंकमा लगानी गर्ने र बैंकबाट ऋण लिएर अन्य व्यवसायमा लगानी गर्ने एक हदमा छुट्टिनेछन् । प्रस्तावित विधेयकमार्फत् बाफियामा ३० वटा दफा संशोधन गरिने उल्लेख छ । विधेयकमा डिजिटल बैंकदेखि डिजिटल करेन्सीको विषय पनि खुलाइएको छ । यस्तो छ विधेयक: [pdf id=471361]

सुनकोशी मरिण डाइभर्सन: सुरुङ निर्माणमा प्रगति, ब्रेक थ्रुको तयारी

काठमाडौं । तराई मधेसमा १२ महिना नै सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ शुरु गरिएको सुनकोशी मरिण डाइभर्सन आयोजनाको सुरुङ निर्माण प्रक्रियामा उल्लेख्य प्रगति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियमितरुपमा चासो दिएपछि  आयोजनामा उल्लेख्य प्रगति देखिएको छ । कुनै भौगोलिक जटिलता उत्पन्न नभएको खण्डमा आगामी डेढ महिनाभित्र सुरुङ निर्माण सम्पन्न हुने सम्वद्ध आयोजनाले जनाएको छ । सुनकोशी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालका अनुसार कुल १३ दशमलव तीन किलोमिटर लामो सुरुङमध्ये हालसम्म १२ किलोमिटर ७९ मिटर सुरुङ निर्माण भइसकेको छ । यो विवरण बिहीबार रातिसम्मको हो । ‘सुरुङ निर्माणमा उल्लेख्य प्रगति भएको छ । कुनै भौर्गभिक जटिलता उत्पन्न नभएको खण्डमा आगामी डेढ महिनाभित्र ब्रेक थ्रु गर्ने तयारीमा छौ’, आयोजना प्रमुख बरालले भने । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आयोजना प्रमुख लगायतका अधिकारीलाई आयोजना स्थल नछाड्न, स्थानीय स्तरमा नै समस्या समाधान गर्न स्पष्ट निर्देशन दिएका छन् । निर्माण व्यवसायी परिचालनमा विशेष ध्यान दिन तथा आवश्यक सहजिकरण गरी हरेक १५ दिनमा जलस्रोत तथा सिँचाइ विभागमा प्रगति विवरण उपलब्ध गराउन समेत निर्देशन दिइएको छ । यस्तै, हरेक एक महिनामा आयोजनाको समग्र प्रगति विवरण प्रस्तुत गर्न मन्त्री बस्नेतले दिनुभएको निर्देशनअनुसार आयोजनाको प्रगति प्रभावकारी रुपमा अगाडि बढेको हो । प्रधानमन्त्री प्रचण्डले नियमित रुपमा आयोजनाका सन्दर्भमा चासो राख्दै आएकाले पनि आफूहरुलाई काम गर्न सहज भएको आयोजनाले जनाएको छ । प्रविधिले साथ दियो र काम गराउने मानिस राज्यप्रति इमान्दार भयो भने जुनसुकै आयोजनाले पनि अपेक्षित सफलता पाउन सक्छ । आयोजनाले मुलुकका अधिकांश राष्ट्रिय गौरवका परियोजनामा समय र लागत दुवै बढिरहेका बेला एउटा आयोजनाले भने यतिबेला धेरैको ध्यान आकृष्ट गरेको छ । नेपालमा पनि यो गतिमा यसरी काम हुन सक्छ र भन्दै अधिकांशले आश्चर्य प्रकट गरेका छन् । आयोजनाको निर्माणमा देखिएको सकारात्मक प्रभाव अन्यमा समेत पर्ने भन्दै खुसी व्यक्त गर्नेहरु पनि उत्तिकै छन् । सुरुङ खन्दै जाँदा चुरे र महाभारत पर्वत शृङ्खलाका बीचमा समस्या देखिँदा केही दिन प्रभावित भएको थियो । त्यसलाई समाधान गरेर हाल नियमित रुपमा सुरुङ खन्ने काम भइरहेको आयोजना प्रमुख बरालको भनाइ छ । आयोजना प्रमुख मित्र बरालका अनुसार २०७९ साल असोज २८ गतेदेखि निर्माण सुरु गरिएको सो आयोजनामा कुल १३ दशमलव तीन किलोमिटर लामो सुरुङ निर्माण हुनेछ । नेपालका विद्युत तथा अन्य सिँचाइका आयोजनामा सुरुङ निर्माण भए पनि सो आयोजनामा टनेल बोरिङ मेशिन (टिबिएम) प्रयोग गरेर खनिएको छ । यसअघि भेरी–बबई डाइभर्सन आयोजनामा पनि टिबिएमको प्रयोग गरिएको थियो । पहाडी भूभाग बढी भएको नेपालमा सुरुङ खन्न अब टिबिएम प्रभावकारी उपकरणका रुपमा स्थापित भएको छ । यसबाट अन्य आयोजनामा समेत अब सोही प्रकृतिको मेसिन प्रयोग गर्न सकिने वातावरण बन्दै गएको देखिन्छ । सुनकोशी नदीको पानी मरिण खोलामा झारेर विद्युत् उत्पादन गर्ने र तराईका एक लाख २२ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सुरु गरिएको सो आयोजनाको सुरुङ निर्माणमा अपेक्षितभन्दा बढी प्रगति भए पनि अन्य काममा भने सोहीअनुसार भएको छैन ।  सो आयोजनाको ‘कफर ड्याम’ निर्माण भइरहेको छ । निर्माण व्यवसायीले काम गरिरहेको भएपनि बाँध निर्माणमा अपेक्षित प्रगत भएको छैन । विद्युत् गृह र प्रसारण लाइन निर्माणका लागि आवश्यक तयारी भइरहेको छ । प्रसारण लाइनका लागि वातावरणीय प्रभाव मूल्याङ्कन सकिएको छ । त्यो स्वीकृतिको अन्तिम चरणमा छ । यस्तै हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलतर्फको काम पनि अगाडि बढाउन लागिएको आयोजना प्रमुख बरालले जानकारी दिए । सुरुङ निर्माण सम्पन्न हुने अरु काम भने अगाडि नबढ्ने  प्रवृत्ति देखिएको छ । भेरी–बबई आयोजनामा पनि दुई वर्ष पहिल्यै सुरुङ निर्माण सम्पन्न भए पनि बाँधस्थल र विद्युत् गृह निर्माण सकिएको छैन । ती काम कहिले सकिन्छ भन्न सक्ने अवस्थामा आयोजनाका सम्बद्ध अधिकारी छैनन । यद्यपि आयोजनाको अन्य कामलाई गति दिन मन्त्रालयले आयोजनाका सम्बद्ध अधिकारी र निर्माण व्यवसायीलाई स्पष्ट निर्देशन दिइसकेको मन्त्री बस्नेतले बताए । सुनकोशी मरिण डाइभर्सन आयोजनाबाट हाल सञ्चालनमा रहेको बिपी राजमार्गको केही भाग प्रभावित हुनेछ । हाल सञ्चालनमा रहेको राजमार्गलाई नौ सय मिटर डाइभर्सन गर्नुपर्ने हुन्छ । बाँध तथा विद्युत् गृह निर्माणका लागि भारतीय कम्पनी पटेल इजिनियरिङ र नेपाली कम्पनी रमण कन्स्ट्रक्सनको संयुक्त उपक्रमले ठेक्का पाएको छ । आगामी वैशाखसम्म बाँध निर्माणलाई एउटा स्तरमा पुर्याउने लक्ष्य राखिएको छ । वैशाखपछि नदीमा जलसतह बढ्ने भएकाले काम गर्न समस्या हुनेछ । यस्तै, विद्युत् गृह निर्माण हुने स्थानमा मुआब्जा वितरण सम्पन्न भइसकेको छ । सो आयोजनाबाट तराई-मधेसका कूल एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ । राष्ट्रिय गौरवका आयोजना भएकाले स्रोतको कुनै अभाव नहुने प्रधानमन्त्री र ऊर्जामन्त्रीको प्रतिबद्धता भएकाले आफूहरुलाई काम गर्न सहज भएको आयोजना प्रमुख बरालको टिप्पणी छ । यसअघि सुरुङ निर्माणमा भौगर्भिकरुपमा रहेको जटिलताका कारण तीन पटक समस्या देखिएको थियो । सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीस्थित सिन्धुली र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोशी नदीमा पथान्तरण गरिनेछ । सुनकोशीको करिब ६७ क्युसेक पानीलाई सुरूङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका-२ कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ । त्यसपछि बागमती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य राखिएको छ । त्यस्तै सो आयोजनाबाट ३१ मेगावाट बिजुली उत्पादन हुनेछ । आयोजनाको सुरुङ निर्माण चिनियाँ कम्पनी चाइना ओभरसिज इञ्जिनियरिङले गरिरहेको छ । बाँध निर्माणका लागि नेपालको रमण समूहसँग भारतीय कम्पनी पटेल इञ्जिनियरिङको संयुक्त उपक्रमले जिम्मा पाएको छ । बाँध र विद्युत् गृह निर्माणमा केही ढिलाइ भए पनि तोकिएको समयभित्रै पूरा गर्ने निर्माण व्यवसायीको भनाइ छ । विसं २०८४ को असोजमा सो आयोजना पूर्णरुपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । भेरी बबई डाइभर्सन आयोजनामा सुरुङ निर्माण सम्पन्न भएको लामो समय भएपनि बाँध र विद्युत् गृह निर्माणले गति नलिँदा देखिएको व्यवधान सुनकोशी मरिणमा आउन नदिन सरकार उत्तिकै चनाखो देखिएको छ । सो आयोजना सम्पन्न भएपछि अन्न भण्डारका रुपमा रहेको मध्य तराईका पाँच जिल्लामा वर्षभरि नै सिँचाइ सुविधा उपलब्ध हुनेछ । त्यसले खाद्य उपज उत्पादनमा गुणात्मक बदलाव आउने सरकारको विश्वास छ । आर्थिक वर्ष २०६८-६९ मा भेरी-बबई डाइभर्सन आयोजनामा टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गर्ने प्रसङ्ग ल्याउँदा धेरैले असम्भव प्रयासको संज्ञा दिएका थिए । नीति निर्माता तथा आयोजनालाई नै विश्वास थिएन । लगानी बढी लाग्ला, प्राविधिक नपाइएला आदि इत्यादि शङ्का गर्ने पनि उत्तिकै थिए । संसारका धेरै देशमा प्रयोग भइसकेको प्रविधि भित्र्याउन ठूलै मेहेनत गर्नुपरेको सम्बद्ध अधिकारीको भनाइ छ । असम्भव ठानिएको काम नै भेरी बबईमा सम्भव देखिएपछि सुनकोशी मरिणमा पनि टिबीएमको प्रयोग गरिएको हो । ‘ड्रिलिङ एन्ड ब्लास्ट’ प्रणालीबाट मात्रै सुरुङ खन्ने गरिएकामा टिबिएमको प्रयोग नेपालका लागि नौलो प्रविधि थियो । भेरी बबईमा डेढ वर्षमा नै सुरुङ निर्माण सम्पन्न भएपछि अन्य आयोजनामा समेत टिबिएमको प्रयोग गर्नेबारेमा प्रक्रिया अगाडि बढाइएको छ । दुधकोशी अर्धजलाशयुक्त आयोजनाको सुरुङमा समेत टिबिएमको प्रयोग गर्ने बारेमा प्रारम्भिक छलफल भएको छ । रासस