काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका ऋणीहरूको मनोवैज्ञानिक परीक्षण गरिने भएको छ । नेपाल राष्ट्र बैंकले साइकोमेट्रिक स्कोरिंग सोलुसन कर्जा सूचना केन्द्रलाई हस्तान्तरण गरेसँगै ऋणीहरूको व्यवहार र कर्जा भुक्तानी क्षमताको मनोवैज्ञानिक परीक्षण गरिने भएको हो ।
राष्ट्र बैंकसँगको समझदारीबमोजिम तयार भएको साइकोमेट्रिक स्कोरिंग सोलुसन बिहीबार अन्तर्राष्ट्रय वित्त निगमले कर्जा सूचना केन्द्र लिमिटेडलाई हस्तान्तरण गरिएको हो । राष्ट्र बैंकका अनुसार नयाँ ऋणीको व्यवहार र कर्जा भुक्तानी क्षमताको मनोवैज्ञानिक परीक्षण गर्ने उद्देश्यका साथ उक्त प्रणाली तयार गरिएको हो ।
यस प्रणालीबाट विगतमा कर्जा नलिएका र बिनाधितो सानो आकारका कर्जा लिन चाहने ऋणीको मनोवैज्ञानिक परीक्षण हुने राष्ट्र बैंकले जनाएको छ । यसको कार्यान्वयनसँगै नेपालमा वित्तीय समावेशीकरणको प्रवद्र्धनमा समेत सहयोग पुग्ने अपेक्षा राखिएको राष्ट्र बैंकको भनाइ छ ।